Saturday, 9 August 2025

कविताः अन्तिम इच्छा


मृत्युदण्ड कार्यान्वयनको चरण,

जेलरले जल्लादलाई आदेश दियो,

जल्लाद, कैदी सामु पुग्यो र भन्यो

तिम्रो ‘’अन्तिम इच्छा के छ ?’’।१।

 

एकछिन त कैदी अबाक भयो,

के सोधिरहेको हो भन्ने नै बुझेन,

अनि सम्झ्यो,

आफूलाई मृत्युदण्ड दिने हिजोको उदघोष! ।२।

 

जल्लादको सामु उसले भन्यो,

उसको अन्तिम इच्छा,

गरीवहरुलाई गाँस, बास र कपासको जोहो गर्ने

किसानहरुको अनुहारमा हाँसो ल्याउने,

असहायहरुको सहायतालाई प्रभावकारी बनाउने,

रोजगारीका अबसरहरु दिएर,

युवाहरुलाई पलायन हुनबाट रोक्ने,

अनि बिदेशीयका युवाहरुलाई,

स्वदेश फर्कने वातावरण बनाई आब्हान गर्ने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।३।


 

अन्धाधुन्ध राजनीतिक दलीयकरण रोक्ने,

संस्थागत रुपमा बढेको भ्रष्टाचार बिरुद्द,

सशक्त आवाज उठाउने,

निर्देशित न्याय होइन,

निष्पक्ष र स्वतन्त्र न्यायका लागि

विधिको शासनको पूर्णताका लागि

न्यायिक वातावरण सिर्जना गर्ने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।४।

 

मुलुकी पराधिनता हटाउने,

श्रमजीवीको पुजा गरेर,

बाझाँ जमिनहरुमा उर्बरता दिदै,

मुलुकी स्वधिनता जोगाउने र स्वाभिमान बढाउने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।५।

 

ल्प्स टू सम्म अनिवार्य र निशुःल्क शिक्षा गर्ने,

बार्षिक दुइलाखको स्वास्थ्य बिमा गर्ने,

सामाजिक सुरक्षाभत्ता पाँचलाख पुरयाउने,

बन्द उध्योगहरु खोल्ने र नयाँ नयाँ स्थापना गर्ने,

प्रबासी नेपालीहरुका लागि लगानी सहज बनाउने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।६।

 

राष्ट्रसेवकहरुको तलव दोब्बर पार्ने,

र भ्रष्ट्राचार गर्नेलाई झुण्याउने नीति अगाडि सार्ने,

सार्वजनिक निर्माणमा जनसहभागिता बढाउने,

ठेक्कापट्टाका कमिशनखोरीहरुलाई हटाउने,

मान्छेहरुलाई बाँच्न सहज बनाउने,

मृत्युपछिको लास ब्यवस्थापन निशुःल्क गर्ने-गराउने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।७।

 

निर्देशित शासकीय मनहरुलाई हटाउने,

दलाल पूँजिपतिहरु र नाफाखोरहरुलाई भगाउने

शासन प्रशासनका संरचनाहरुलाई पुनःसंरचित गरी,

सबैतिर उत्साह र उमङ्ग जगाउने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।८।

 

२०४६ सालपछिका सबैखाले,

राष्ट्रसेवकहरुको सम्पत्ति छानवीन गर्ने,

राजनीतिक राष्ट्रसेवकहरुको,

सेवा अवकाश पछिका सबै सुविधाहरु अन्त्य गर्ने,

दुइपटक भन्दा,

कुनैपनि पदमा निर्बाचित हुन निषेध गर्ने,

पचहत्तर कटेपछि शान्तिले घर बस भन्ने,

हजार र पाँचसयका नोटहरुमा प्रतिवन्ध लगाउने,

सुन चाँदी राष्ट्रबैङ्कले खरिद गरी सहज बितरण गराउने,

भारतीय सवारी साधनको भन्सार दर शतप्रतिशत घटाउने,

बिदेशी चोरी पैठारीहरुसहितका अपराधीहरुलाई

राजश्व दाखिला गरी उनिहरुकै देशमा पठाउने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।९।

 

३ वर्षसम्म कैदका लागि

श्रमकैदमा रुपान्तरण गर्ने,

सबैखाले भन्सार दरमा पुनरावलोकन गर्ने,

भन्सार चोरी पैठारीमा कडा नियन्त्रण गरी

राजश्व बढाउने,

चुनावी खर्च हुने वातावरण अन्त्य गर्ने,

सेनाको सँख्या घटाउने,

गाँउ वस्तीमा जनसुरक्षा गार्ड राख्दै,

पुलिसको सँख्या बढाउने,

के के छन छन मेरा अन्तिम इच्छाहरु ?

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।१०।

 

प्रदेश खारेज गरी समन्वय समिति राख्ने,

प्रदेशका अधिकार स्थानियमा लैजाने,

राजनीतिक पदका तलवहरु हटाइ,

बैठक भत्ता मात्र राख्ने,

बदमासी र काँइकुइ गरे,

कालकोठरीमा जाक्ने,

सबैका लागि सिघ्र र प्रभावकारी न्याय,

सफलता बिकास र सम्बृद्दि,

सुशासन बिकास र सर्वत्र न्याय,

क्याबात् राजनीति, जनअपेक्षा हाय हाय!!

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।११।

 

अन्याय, अभाव र उत्पीडनका कारकहरुलाई

पाता कसेर जेल हाल्ने,

जेलमै बैतर्णी दान गराएर

तिनीहरुको आश,सास र लाश

जेलभित्रै अन्त्य गर्ने-गाडने,

सक्छौ, मेरो अन्तिम इच्छा पुरा गर्न ?

कैदीले जल्लादलाई नै प्रतिप्रश्न गरयो ।१२।

 

बिचरो जल्लाद! अबाक रहयो,

रातभर,कैदी कै सामु

चुपचाप उभिइरहयो, उभिइरहयो,

उज्यालोसंगै जेल बाहिर

इन्कलाबका नाराहरु घन्कीय,

उता, जल्हाद फर्कियो,

यता, कैदीको जीवन,

कानूनतः पुनर्जीवित भइदियो ।१३।

 

अन्ततः जल्हाद बाहिरियो

कैदी बन्दीहरुको नया जीवन आयो

बाहिर जताततै उज्यालै उज्यालो छायो

हरेकका ज्यान नया युग र नया जीवन आयो ।१४।

 

 २०८१।१२।२३                 प्यूठान ऐरावती-१ हाल नरेफाँट काठमाण्डौ

 

 

No comments:

Post a Comment