एकबिहान आहात अर्थात राजेन्द्र चापागाँइसँग
भेट भयो । बैयक्तिक जीवनका आयामहरुबारे थोरै कुरा गरी सकेपछि करिब एकघण्टा
साहित्यको सेरोफेरोमा नै रह्यौँ हामी । अँग्रेजी बिषयका गुरु तर नेपाली साहित्यमा
रमेका र जमेका । अँग्रेजी भाषा मै एक पत्रिकाका सम्पादक । बिभिन्न पुस्तकका सर्जक
। र बिषय सन्दर्भबाट भन्नुपर्दा पोखरामा र्याण्डम रिडर्स सोसाइहिटीका सँस्थापक
मध्येका अग्रणी एक रहेछन । आमन्त्रण गरे सहभागिताको लागि ।
र्याण्डम
रिडर्स नामले पुस्तक अध्येयताहरुको सामुहिक अध्ययनको थलो भन्ने अर्थ दिन्छ । सामुहिक
रुपमा पुस्तक अध्ययन क्लव हुन्छन यसै नामका । देशदेशावरमा छन यसरी अभ्यास गर्ने
चलनहरु । उदाहरणको लागि वरलाण्डोमा प्रत्येक महिनाको हरेक चौथो मँगलबार हुने
सामुहिक अध्ययनको थलोलाइ लिन सकिन्छ । जँहा प्रबेश शुल्क पाँच डलर रहेको छ र
यतिवेला लेडी जुनीफर वाकरले त्यसको सँयोजन गरिरहेकीछिन ।
झण्डै त्यस्तै रहेछ पोखराको र्याण्डम रिडर्स
पनि । र्याणडम रिडर्सको बारेमा मलाइ यस्तै यस्तै मात्र थाहा थियो र यही पोखरामै
पनि छ भन्ने सुनेको मात्र । हरेक महिनाको अन्तिम शनिवारको बिहान हुन्छ भन्नेसमेतको
बिस्तृत बिबरण थाहा पाँउदा खुसी लाग्यो । कार्यक्रममा सहभागिताको हुट्हुटी जाग्यो ।
''यदि
तिमीले पुस्तकलाइ माँया गर्छौभने तिमी पढ्नकालागि तयार भएको भन्ने अर्थ लाग्दछ र
यदी साँच्चै पढ्यो नै भने त तिमी जिन्दगीको ठीक ठाउँमा रहेका हुनेछौ'' । अँग्रेजीमा कसैले भनेको यो वाक्यको सम्झना पनि आयो तत्क्षणमा र
सहभागिताको लागि झनै उत्साह जगायो ।
शनिवारको दिन केही सहकर्मीहरुलाइ साथै लिएर
चिप्लेढुँगाको क्याफे दी गार्डेनमा निर्धारित समय अर्थात बिहान साढे सात बजे पुगेँ
। तर कार्यक्रम भने भनेको समयमा हुने छाँट देखिएन । भित्रभित्र मन छटपट्टिन थाल्यो
। भर्खर पोखरालाइ कार्यथलोको रुप अँगालेर आएका नयाँ साथीहरु (युवराज सुवेदी, श्रीमण गौतम र ऋर्षिराम
दवाडी) को अनुहार हेर्दा भतभती पोलेको पो जस्तो लाग्यो
आफैलाइ । कस्तो कार्य्रक्रममा ल्याइपुर्याछन् अचार्जले भनेर मनमनै भन्लान भन्ने
पिरले अनुहार नै बिग्रन लागेको थियो। करिब ४५ मिनेट पछि सुरु भयो । उपेन्द्र
पौडेलको उद्घोषणमा । आहातको अध्यक्षता र आफ्नै प्रमुख आतिथ्यतामा ।
मलाइ भने सुनुवाइ बिना दोषी ठहराउनु हुदैन
भन्ने दन्यायको सर्बमान्य सिद्धान्तले चिमोट्यो । सुनवाइ बिना नै साहित्यिक
कठघरामा उभ्याएको जस्तो लागिरहेको थियो । किनकी प्रमुख आतिथ्यताको पुर्ब जानकारी
थिएन । अर्कोतिर प्राज्ञ रमेश श्रेष्ठ,
तिर्थ श्रेष्ठहरु, सरुभक्त सहितका अग्रज एवम् मुर्धन्य साहित्यकारको
खचाखच र गरिमामय उपस्थिति रहेको स्थानमा मेरो प्रमुख आतिथ्यता ? भन्ने पनि लागि रहेको थियो मनमा
।
क्षतिग्रस्त पृथ्वी र र मुल सडक २०५३, शब्दहरुको नेपथ्या २०५६,
हजार वर्षको निद्रा २०६६, कविता सँग्रहहरु ।
चौबिस रिल निवन्ध सँग्रह २०६९ सहित थुप्रै लेख रचनाका स्रष्टा भूपिन खड्का अर्थात
भूपिन ब्याकूल । जन्मले बाग्लुँगे र अध्ययनले पोखरेली र कर्मले राजधानीका रहेछन् ।
कवि भनेर चिनेको मेरो मनले आज निबन्धकारका रुपमा पायो भूपिनलाइ । त्यसमा पनि आफ्नै
सामुमा शसरीर । पोखरेली अग्रज साहित्यकारहरु र साहित्त्यिक मनहरु रहेको त्यो बिहान
मैले पुरी तरकारी त खाएँ नै तर त्यो भन्दा मीठो लाग्यो साहित्यिक नास्ता ।
गुल्मेली लेखक शशी पन्थीको परिचय दिइयो ।
हरेक पटक एक न एक साहित्यकारको त्यसरी नै परिचय दिइदो रहेछ । यो पनि राम्रो लाग्यो
। हिउँका कविताहरुका स्रर्जक साहित्यकार राजेन्द्र पौडेलले लेखक भूपीन ब्याकुलको
परिचय पस्के भूपिनकै अगाडि । भूपिन धेरै त मुसुमुसु मुसुमुसु मात्रको मुखाकृतिमा
रहे र कतिखेर कतिखेर भने कपाल मुसार्ने गरे र यसो सहभागीहरुका ज्यानतिर आखाँ पनि
लगाए । मेरा आँखाहरु पनि क्षण क्षणमा भूपिनतिरै दौडिरहेका थिए ।
सुरेश रानाभाटले उनको हालसम्मको पछिल्लो
निबन्ध सँग्रह चौबिस रिलमाथिको कायर्पत्र प्रस्तुत गरे । चौबिस रिलको माध्यमबाट भूपिनले
आधुनिक नेपाली निवन्धको समसामयिक धारमा स्थापित भएको बताए । सगँसगै धर्तीका प्रीत
र गीतलाइ भूपिनले आकाशबाट हेर्ने गरेको र सुन्ने गरेको पनि उनलाइ लाग्यो । उनले थप
भने ''जीवन र जगतका मान्छेहरुका गीत गाएका छन् भूपिनले ।
उनको लेखनले मन छुन्छ पाठकको । असाध्यै रोचक पारामा कथालाइ गीत बनाएर निवन्धमा
गाएका छन् भूपिनले । निवन्धमा कविताको वन्की र फाँकी छन् । सपनाको फ्यूजन छ ।
उनलाइ नदीहरुको लिपिबद्ध नभएको गीत मन पर्छ । नदीहरुको कम्पोज नगरिएको सँगीत मन
पर्छ । विविध रँगका घटना र बिषयलाइ समाबेश गर्दा उनको बिचार कोलाज र सम्झना
अर्केष्टा जस्तो लाग्दछ । इश्वरप्रति उनको चरम अनास्था हुदा हुदैपनि बाध्यकारी
परिस्थितिमा पुजारीपनि बनेका छन आमाको मन राख्न । भतिजि निर्मलालाइ पुजारी राख्ने
उनको सपना लैँगीक विभेदमा परेको छ । ''
''अध्ययनको
आयाम र आयतन फराकिलो छ भन्दै निर्धक्क बोल्ने सर्जक भूपिनलाइ रानाभाटले सम्झाएँ म्याक्सिम
गोर्कीकी आमाले आफ्नो छोरालाइ भनेको ''सँसारमा
पुस्तक हैन मान्छे पढ्नु '' भन्ने बचनलाइ । फेरि
सम्झाए, ''म
पैसाको पछि लाग्ने हैन पैसा मेरो पछि लाग्ने बनाउँछु । पख न मलाइ चालिसको उमेर त
पार गर्न देउ '' भनेर अमेरिकी
राष्ट्रपति बारक आबामाले आफ्नै श्रीमतीलाइ भनेको सन्दर्भलाइ । निबन्धलाइ कविताको
छानो देख्ने र धेरै कविता थोरै निबन्ध लेख्ने भूपिन सुरेश रानाभाटको मनभित्रका
धेरै मन पर्ने शब्दकर्मी रहेछन् । प्रिय साथी रहेछन् । सक्नेबेलामा उनले भने ''मेरो प्रस्तुति साहू ढाँट्ने बाटोको भन्ने अर्थ नलागोस । पहिलो पटक मेरो
अनुरोधमा पढ्नु होला र दोस्रो पटक आफैलाइ मन परेर पढ्नु होला । यसो भनेको सुन्दा
भने भूपिन मज्जाले हाँसे । म अर्थात हामी पनि प्राय:
सबै हाँस्यौँ।
''भूपिनको
लेखकीय आगो अझै रापयुक्त र तापयुक्त बनोस । थुप्रै कठाँग्रीएका मनहरुले लेखनको
तातोबाट आफूहरुलाइ न्यानो बनाउन सकून । भूपिन तिमीलाइ सतत् सलाम र शुभकामन '' भनेर सुरेशरानाभाटले प्रस्तुतिको बिट मारे ।
सुरेश रानाभाटले भुपिनको चौबिस रिलमाथीको
आफ्नो हेराइ राखी सक्न लाग्दा मलाइ भने उही भूपिन नै हेर्न मन लाग्यो, भूपिनले सुरेश रानाभाटको सलामलाइ कसरी वालेकुम सलाम गर्दो रहेछ भन्ने
भावना मनमा जाग्यो तर उनी भने सुरेश रानाभाटतिरै मुन्टो फर्काएर हेरिरहेछन् ।
'' आज पोखरेली
साहित्यकारहरुको सामु त छदैछुँ, त्यतिमात्र हैन
माननीय न्यायाधीशको कठघरामा उभिएको छुँ ''
भनेर आरम्भ गरेका शब्दहरुले सबैलाइ बेजोडले हँसायो । ''दुखमा रुने सुखमा हाँस्ने वास्तविक मन मलाइ मन पर्छ । मौलिक मान्छे कसरी
हुन सकिन्छ ? यसैमा मेरो चिन्ता र प्रयास छ । बेथितिहरु मान्योभने सजिलो हुने तर
कुनैपनि सच्चा लेखकको मनले बेथितिलाइ थिति मान्दैन र कालोलाइ सेतो ठान्दै ठान्दैन भन्ने
जानेकाले होला बेथितिहरु मनै नपर्ने । जे छ सबैलाइ ठीकै मान्दा सजिलो चाही अवश्य
हुन्छ तर लेखकको अन्तरआत्माले सहन सक्दैन अथवा भनौ अन्याय अभाव र उत्पीडनलाइ
टुलुटुलू हेरेर बसी रहन सक्दैन । त्यसैले कठिन भएपनि सिर्जनामा लागिरहेको छुँ र
लागी रहने छुँ । पाठकहरुको शुभ आशिर्बाद थापी रहने छुँ '' सर्जक ब्याकूलले यस्तै यस्तै भावमा राखे आफ्नो प्रस्तुतिलाइ ।
''भूपिनले
थर्काएकोले आएको हुँ कार्यक्रममा'' भन्ने शब्द र
भावबाट सुरु गर्दै ''सिँगो भूपिन पढ्नै बाँकी रहेको । अझै पढू पढू भएको'' शब्दभाव थियो तिर्थ श्रेष्ठको ।
''समकालिन नेपाली साहित्यको पूर्णरिल हो भूपिन । ह्दयमा गोहीको अवतार
राख्ने तर बाहिरभने मयुरको प्वाँख लगाउनेहरु प्रति कठोर बन्नै पर्छ सर्जकहरु । भूपिन
यस्मा स्पष्ट छ । प्रीय छ '' बिम्बकवि रमेश
श्रेष्ठले यसरी राखे आफ्न कुरा ।
युवा सर्जक भूपिन ब्याकूल पोखरेली माटोमा
हुर्के बडेको र पढेकोमा सरुभक्तले गौरवता दर्साए । उनले थप अगिडभने ''न्यायिक क्षेत्रमा पनि स्रष्टाहरु छन् र न्याय स्वयम् आफैमा सिर्जना हो ।
त्यसैले र्याण्डम रिडर्सको ध्यान त्यतापनि जावस''
भन्ने सुझाव दिए ।
''न्याय
स्वयम् आफैमा सिर्जना हो'' भन्ने सरुभक्तको
न्याय प्रतिको सम्मान र ठम्याइले मलाइ जुरुक्क उठेर उनलाइ सलाम गर्न मन लागेको
थियो तर आफ्नै हाँडीको प्रशँशा गरेको भन्नलान कि भन्ने डरले होला आधि उठेको मेरो
नितम्ब आफै सुस्तरी बसिहाल्यो ।
मेरो बोल्ने पालो आयो । मलाइ भने आफै कठघरामा
उभिएजस्तो लाग्यो । मुर्धन्य साहित्यकारहरुका अगाडि साहित्यिक कार्यक्रममा प्रमुख
अतिथि रे ।
लेखक बाँच्ने पाठक हाँस्ने र्याण्डम यो थलो
सिर्जनाको सम्मान गर्दै गर्ने सबको भलो
शब्द बाँचे लेखक हाँस्छ पाठक हाँसे नाच्छ
स्रष्टा सधै सिर्जनामा अमर भइ बाँच्छ .................................।
यस्तै यस्तै शब्दहरु कोरेँ साहित्यिक नास्ता
लिएकै बसाइका बिचमा । त्यँहीबfटै सुरु गरेँ मन्तब्य पनि ।
''समालोचकमा
सुमसुम्याउने, हिर्काउने र बाटो देखाउने तिनै क्षमता हुनुपर्छ'' भनेर समालोचक रानाभाटतिर हेरेँ र थपेँ ''खाली
हात आएको थिएँ झोलाभरि लिएर जाने भएँ, भूपिन
त मनमा थिएनै रानाभाटलाइ पनि साथ मै लाने भएँ ''।
अली अली हाँसे सहभागी मित्रहरु । भूपिन
धरतीमा फूटवलका खेलाडी, कसैको अर्तिमा
प्रेमको खेलाडी तर यथार्थमा त शब्दको पो खेलाडी रहेछ भनेर पनि थप्न मन लाग्यो । न्यायाधीशको
ठहर के हुने हो भन्ने भूपिनको जिज्ञासालाइ ''एकल
इजलासले यस्तो गम्भीर मुद्दामा फैसला नै गर्न मिल्दैन, केवल कारण देखाउ मात्र गर्ने हो । अर्कोपटक गम्भीरतापूर्बक छलफल गरेर
सके पूर्ण इजलासबाट नभए सँयुक्तबाट पुर्ण निर्णय गरौला । किनकी कम्तिमा दुइजनाको अर्थात सँयुक्त इजलास नै चाहिन्छ अन्तिम फैसला
गर्न पुनराबेदन तहमा''
भनेर न्यायिक प्रकृयाकै शैलीमा बताएँ । बिचैमा कार्यक्रम स्थलमै क्यारकुर पारेको
कविता ''खोजीका मान्छे र रोजीका मान्छे'' भन्ने कविताका केही पँग्तिहरु पनि छ्वास्स सुनाए ।
एकल
इजलास नै सही, जादाँ जादै दुइवटा निर्देशात्मक आदेशभने जारी गर्न
मनलाग्यो र्याण्डम रिडर्सका नाँउमा । जारी गरेँ तलको भाषामा ।
पहिलो अव उप्रान्त कार्यक्रम ठीक समयमा गर्न
र दोस्रो प्रमुख अतिथिका रुपमा अरुकोहीलाइ नसिँगारेर सम्बन्धित स्रष्टालाइ सर्जक
एवम् प्रमुख अतिथिका रुपमा आसन ग्रहणा गराउन ।
आहातहरुलाइ मन पर्यो परेन थाहा भएन तर आदेश
जारी गरेर निस्केँ । सँगै गएका मित्रहरुले पनि कार्यक्रमलाइ राम्रो
सिर्जनाधर्मीहरुको मिलन र साहित्यानुरागीहरुको सुसँगितको थलो भनेर मन पराइदिए
शब्दका माध्यमबाट । आजको शनिवारको बिहान मित्रहरु सँगै साहित्यिक नास्ता लिन
पाएकोमा खुसी लाग्यो । शनिवार बिदाको दिन नै भएपनि समय अली घर्की सकेको । त्यसैले गाडीको
कान बेस्सरी निमाँठै । गाडी गुडीरह्यो । मेरा मनमा भने अनेक तर्कनाहरु गुडिरहे ।
माटोको माँया जँहा गएपनि छुट्टिने रहेनछ ।
पहिले त मेरो प्रिय जन्मभूमी प्यूठानी (दाँगबागँ
७ धन्वोट) माटोमा
पनि पुस्तक अध्ययनको यो साझा बृक्ष रोप्न पाए भन्ने नै आयो । अलिकति अगाडि बढेर
मेरो अध्ययनको थलो । मेरा धेरै शुभचिन्तकहरु रहेको थलो र मैले उच्च शिक्षाको पाइलो
राजधानीतिर बढाउन पाएको थलो अर्थात प्रिय दाँगको माटोमा अथवा भनौ अध्ययन र राष्ट्रसेवाको
मेसो समेतले धेरै गाँउ र ठाँउमा हिडेँको प्रिय दाँगको बाटोका वरिपरि पनि यसलाइ
रोप्न पाए भन्ने पो लोभ लागेर आयो ।
''हरेक महिना सम्भव भएसम्मका साहित्यिक धन वा मन भएकाहरुको समुपस्थितिमा
कम्तिमा यसरी नै बस्न र एक एक सिर्जनाको भित्रै सिँगो राप्तीका साहित्यानुरागीहरु
नै पस्न पाए'' भन्ने पो लाग्यो ।
महिनाको कुनै शनिवार गर्ने कुनै एक पुस्तकका
बारेमा लेखकको उपस्थितिमै गर्ने, एकजनाले पुस्तकको
बारेमा कार्यपत्र लेख्ने र प्रस्तुत गर्ने, पाठकहरुले
लेखकलाइ र्याख र्याख्ति पार्ने खार्ने,
हरेक सहभागीहरुबाट जनही रु पचास उठाएर त्यसैबाट सामान्य खाजा, कार्यपत्र लेखकलाइ सामाग्री उत्पादन खर्चको मेसो र स्रष्टालाइ खादा वा दोसल्लापनि
। साहित्यिक नास्ताको यस्तो शुभबिहानी । साहित्यिक चर्चाको नबिर्सने कहानी अर्थात
साहित्यिक एकाहा ।
अझ खाजा नास्ताको सौजन्य गरिदिने कुनै साहित्यिक
मनहरु देखा परे झनै राम्रो । बर्षमा १२ वटा कार्यक्रमका रिलहरु । १२ रिलको एक
पुस्तक तैयारी प्रकाशनपछि त सयौ पाठकको हातहातमा पुग्ने साहित्यिक नास्ताको
पेटभरिको खुराक हुने । सधै एकै तर घाम पानीले सुरक्षित र ब्यवस्थित स्थानमा ।
कार्यक्रममै एकजना स्रष्टाको सिर्जनाको परिचय पनि । सोही थलेमा नवसिर्जनाहरुको
बिक्री प्रवन्ध पनि । सिर्जना रमाउने स्रष्टा बाँच्ने र पाठकहरुले साहित्यक मन
साँच्ने ।
पुस्तक पठन सँस्कृतिको बिकास गर्न राजधानीमा
यस्तै रिडर्स ल्कबले पुस्तक अध्ययन प्रतियोगिता नै गर्ने गरेको छ । बिशेषत ल्पस टू का
बिधार्थीहरुलाइ लक्षीत गरी १८ देखि ३५ बर्ष उमेका बिचमा ४५ पुस्तक अध्ययन गराउने र
प्रतियोगितामा सहभागी मध्ये १८ बर्ष उमेर समूहबाट एकजना र १८।३५ समूहबाट एकजना गरी
दुइजना उत्कृष्ठ पाठकलाइ रु ५०,००० ले पुरस्कृत
गर्ने कार्यक्रम पनि राख्ने गरेका छन् । सही ज्ञान र उद्दनत समानजका लागि अध्ययन
सस्कृति अपरिहार्य छ । यसलाइ बढावा दिन र्रयाण्डम सोसाइटी जस्ता रिडर्स ल्कबहरुले
आ आफ्ना क्षेत्रमा योगदान जारी राखेका छन् ।
दागँ साहित्य तथा सँस्कृति प्रतिष्ठानको पहलमा दाँगमा २०५६ सालतिर आरम्भ
भै (हालसम्म १५३ यात्रा सम्पन्न ) जारी रहेको साहित्य सौजन्यमालाको साहित्यिक खुराक बाचन यात्रा, जो हरेक महिनाको अन्तिम शनिवार गाँउ वस्तिहरुमा गुञ्जन पुग्दछ । कहिले
पुर्ब रामपुर पुग्छ त कहिले पश्चिम हापुरे । कहिले कुनै स्कूलको प्राँगणमा हुन्छ त
कहिले कुनै आँपको बगैमा । सहभागी मध्येबाट जल्ले जता लान चाह्यो त्यतै तर सबैको
सहमतिमा । कार्क्रम लैजानेले जे खुवायो त्यही अर्नी खाने । कम्तिमा चिया
बिस्कुदेखि सँयोजको सकृयता र स्थानीयको
सहयोगले खीर तरकारी पेटभरी पनि भएका छन् यस कार्यक्रममा । यसरी एकपछि अर्को
स्थानमा चल्ने साहित्यात्राको त्यो डवलीको पनि आफ्नै महत्व रहेको छ । अझ बार्षिक
रुपमा स्मारिका प्रकाशनको मेसो । त्यो शैली र यात्रा भन्दा अली केही फरक । अर्कै
आनन्द र बेग्लै रौनकमा चलेको लाग्यो र्याण्डम रिडर्स ।
यो भन्दा सुन्दर साहित्यिक यात्रा अरु कै नै
हुन सक्दछ र ? बचनले धन्यवाद मात्र दिँए आयोजकहरुलाइ । मनमनै लोभ
पो लागेर आयो राजेन्द्रहरु अर्थात र्याण्डम रिडर्सको सँयोजनलाइ देखेर । कोठामा
पुगेपछि मन बुझाउन मेरो प्रिय जन्मभूमि प्यूठान वा मेरो प्रिय र लामो समयको अध्ययन
तथा कर्मको भूमी दाँगमा पनि यस्तै कार्यक्रम चले हुन्थ्यो भन्ने लागेर चित्त
बुझाँए यिनै शब्दहरु लेखेर ।
आगे
सम्बन्धित क्षेत्र अर्थात
राप्ती क्षेत्रका सर्जकहरु र साहित्यानुरागीहरुको जो बिचार ।
२०७० साउन २६ adrdhanbot@gmail.com
No comments:
Post a Comment