Friday, 15 August 2025

पञ्चासेको घिटकिसो (घिडघिडो)

 

 

कास्की, पर्वत र स्याङ्जाको  सिमारेखा

गुरुङ वस्तीको अर्को नमुना

सिरुवारी र घले गाउँको प्रतिस्पर्धि

प्रिय !  पञ्चासे

यसपाली तिमीलाई हेर्ने लालसा मन मै रह्यो ।१।

 

फेवा, पामे, हुदै भदौरेसम्म

उफार्दै गुड्ने मोटर चढ्ने

तिनचार घण्टा पैदल मार्च गर्दै

तिमीलाई आँखा र मनभरि राखेर पढ्ने

भित्री मनमा रहर थियो

यसपाली

त्यो रहर

मनको घिटकिसोका रुपमा रहिरह्यो ।२।

 

भन्छन दिनभन्दा रातमा

तिमी झन सुन्दरी देखिन्छयौ रे !

रोदिका चुट्का र घलेकभित्र

तिमी असाध्यै सुन्दरी भेटिन्छयौ रे !

पञ्चकोसी तालको स्वच्छतामा

तिम्रो मुहार टलक्क टल्कदा

बाराही मन्दिरको मुलको चिसो पानी

ओँदेलामा लिएर खान पल्कदा

पर्यटकहरु औधि खुसी हुन्छ रे !

गुन्द्रुकको छोपसँगै

घरपालाको चुस्कीमा खुब रम्छन रे ~!

सँगितमय बनेर सुस्याइरहन्छ रे

त्यहाको बन

त्यसैले पनि असाध्यै आल्हादित हुन्छ रे

हरेकको मन ।

 

पाँच पाण्डवको गुप्तबासी गाँउ

श्रवणकुमारको इहलिला समाप्त भएको ठाउँ

''ध्याङसिरि'' स्याङजाको बाटो हुदै

बाला चतुर्दशीका दिन तालको रातो पानी छुँदै

तिमीसँग दिर्घायूको आशिष थाप्ने

भित्रिमनको चाहना

यसपाली कल्पना मै रह्यो

प्रिय पञ्चासे  !

के गर्ने ख्वै ?

यसपाली यस्तै भयो

तिमीसँग एकरात मनभरि सुत्ने सपना पनि

अधुरै  रुपमा रह्यो ।

 

सयौँथरी प्राकृतिक सम्पदाले सिँगारिएकी

एकसय तेह् सुनगाभा

पाचसय उनासी थरी फूल

एकसय पचास थरी जडीबुटी

अठार खाले उन्निउ

आठ रेशादार बनस्पति..

कहिले कालीको तिर

कहिले फेवाको शिर

सर्लक्कै आँखामा पढ्न सकिने

धौलागिरि र लुम्बीनीको आकृति

प्राकृतिक सम्पदा पनि कति कति ?

 

कालो भालुको बन कुदाई

चराहरुको चिरबिर

रङगी चङगी पातहरुको फिरफिर्

स साना मुलका झरनाहरु

यावत यावत तिम्रा गहनाहरु

मेरा आखाँले सामुन्ने पाउन सकेनन यसपाली

त्यसैले तिमीलाई यीनै शब्दमा सम्जना राखेँ खाली ।

 

तिम्रो सँधियार बनेर

पोखरामा तिन वर्ष बिताएँ

सधै सधै तिम्रो भलो चिताएँ

तिमीले पटकौ निम्तो दिदा पनि

म मौका पारेर आउन सकिन

हो, मेरै अब्यबस्थापनले

अथवा भनौ अलमस्तिपनले

तिमीलाई मेरो काखमा पाउन सकिन ।

 

हो, पञ्चासे

ख्बै के ले हो के ले ?

तिमीसँग रमाएर

कम्तिमा एकरात बस्ने साइत

यसपाली जुर्दै जुरेन

त्यसैले शब्दमै भएपनि मज्जाले लेख्छु

र तिमीलाई भित्रीमनको आँखाले देख्छु भन्दा पनि

मेरो शब्दको मन पनि गतिलोसँग फुर्दै फुरेन ।

भदौरे र चित्रेका होमस्टेहरुमा बस्ने

आदिबासी गुरुङ गुरुङसेनीहरु सँगमात्र हैन

बाहुन, क्षेत्री, विश्वकर्मा र परियारको समिप्यतामा रहने

मेरो भित्री मनको रहर

यसपाली रहरै मात्र भयो ।

तिमीसित आँलिगित हुन नपाएकोमा

कस्तो कस्तो मन भएको छ

कुन्नी किन हो पञ्चासे

तिमीलाई हेर्ने, बुझ्ने  र रमाउने रहर

जीवनकै एक घिटकिसो बनेर रहेको छ

जीवनकै एक घिटकिसो बनेर रहेको छ ।९।

 

२०७१।०५।२५                                                                              बिरौटा

No comments:

Post a Comment