सबै भन्छन
आजको समय
पुस्तान्तरणको समय हो
पुस्ताहस्तान्तरणको समय हो,
पहिलो पुस्ताले बिश्राम दिने
दोस्रो पुस्ताले जिम्मेवारी लिने
तेस्रो पुस्ता प्रशिक्षित बन्दै जाने
!
सबै सबै क्षेत्रको आवश्यकता हो रे यो
!!
शनैः शनैः पहिलो पुस्तातिर
ढल्किरहेको मेरो मन
कसरी जानोस यो पुस्तान्तरणको खेल ?
कसरी मानोस यो पुस्ताहस्तान्तरको मेल ?
अरुले समाएर हिडन सक्ने भएसम्म
अरुले लेखेर दिएको देख्न सक्ने भएसम्म
अर्थात सास रहेसम्म युवा नै हुन
चाहने
म भित्रको युवापन
सत्तरी लाग्नै लाग्दापनि युवास्थामै
रहेको मान्दछ
आर्यघाट वा कुनै घाट नपुगेसम्म
पद र शक्तिमै रहन चाहन्छ
किनकि मेरो मनले बुढयौली जान्दैन
मात्र युवापन जान्दछ
आफूजस्तो सबल र सक्षम कोही छैन भन्ने
ठान्दछ
र सकेसम्म अरु शक्तिमा नआउन भन्ने
मान्दछ
मलाई यो पुस्तान्तरण मनै पर्दैन
त्यसैले मेरो मनले पुस्ताहन्तान्तरण
गर्दै गर्दैन
अर्थात सास रहेसम्म आश राखिरहन्छ
थला परुँ
तर पद र शक्तिको आशक्तिपन जागिरहन्छ
किनकि ज्यान बुढो भएर नहुने रैछ
मन बुढो हुन पर्दो रहेछ
तर बिडम्बना मन बुढो हुन
म भित्रको म नै मर्नुपर्ने रहेछ
त्यसैले म प्रतिबद्द छुँ
जतिवेला म मर्छु
बस, त्यतिवेला अवश्य
पुस्तान्तरण गर्छु
युवाहरु हो, ढुक्क भएर बस
म जतिवेला मर्छु
बस, त्यतिवेला शक्ति र अधिकारलाई
अवश्य पुस्ताहस्तान्तरण गर्छु
मान, मेरो कस्सम गर्छु
तिम्रो कस्सम गर्छु
किनकि म अजम्बरी छैन
अवश्य एकदिन मर्छु
यो सार्वजनिक उद्घोष मेरो
भनिसकेँ नि,
युवाहरु हो, चिन्ता नगर,
मरेपछि पुस्ताहस्तान्तरण गर्छु
किनकि ज्यूँदो र जाग्दो हुदासम्म
त्याग र समर्पण गर्न नसक्ने असँख्यहरुमा
मपनि एक महानको महान मै पर्छु ।
२०७७
फागुन २६ राजबिराज
No comments:
Post a Comment