Sunday, 17 August 2025

मरेर बाँचिरहने सुकर्मका न्यायिक महारथीः स्वः हरिप्रसाद प्रधान

 

           

 ) पूर्वकथन

      ''न्यायाधीश हुनु त हरिप्रसाद प्रधान जस्तो । मुद्दा परयो कि दुधको दुध पानीको पानी छुट्याउने राजहँस जस्तो । अनि घूस नखाने । निष्पक्ष । कानुन बाहेक कसैको डर नमान्ने । प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइराला त के राजासँग पनि नडराउने निडर र इमान्दार .......''

      २०३५ सालमा प्रबेशिकाको जाचँ दिएपछि लेखापढी ब्यबसायमा लागेको केही दिनमा एक जना न्यायाधीशको सरुवाको सन्दर्भमा अभिकर्ता खिमबहादुर योगी (चौघेरा दाङ्ग) को मुखबाट उपरोक्त भावमा पहिलो पटक सुनेको हुँ प्रधान न्यायाधीश हरिप्रसाद प्रधानको बारेमा । बिशेषतः दाङ्ग देउखुरी जिल्ला अदालतमा आएका न्यायाधीशहरुको कार्यक्षमता इमान्दारिता र निष्पक्षताको बारेमा सहकर्मीहरुसँग कोठे (च्याम्बर चर्चा) गफ हुने क्रममा उनले त्यसो भनेका हुन ।

      न्यायाधीशको कार्यक्षमता इमान्दारिता र निप्षक्षताको बारेमा यसरी चर्चा वा मुल्याकँन हुने परिपाटी हिजो पर्यन्त यरी नै जारी रहेको छ । र चिरकालसम्म जारी रहनेछ ।न्यायाधीशहरुको मुल्याङ्कन न्यायपरीषदले मात्र गर्दैन । उसको मुल्याङ्कन औपचारिक मुल्याङ्कन हो । तर अनौपचारिक रुपमा गाँउ गाउँका वस्ती वस्तीहरुमा पनि मुल्याकँन हुन्छ न्यायाधीशको । किनकी न्याय गरेपनि त्यही वस्तीमा त प्रभाव पर्ने हो । अन्याय गरेपनि त्यही वस्तीमा नै असर पर्ने हो । त्यसैले हरेक न्यायाधीशहरुको पहिलो र प्रभावशाली मुल्याङनकर्ता भनेको मुद्दाको पक्ष र मुद्दाको यथार्थ तथ्य अर्थात सत्यका बारेमा जानकारी पाउने अन्य स्थानीय जनसाधारण नै हुन । भलै उनिहरुको मुल्याङनले न्यायाधीशको बढुवा वा कार्बाहीमा तत्काल प्रभाव नपार्ला तर भित्री रुपमा ठुलो प्रभाव परेको हुन्छ । अमुक न्यायाधीशले न्याय नै गर्छ कि फैसला मात्र गर्छ भन्ने बिषय जनमनको ह्दयमा रहेको हुन्छ र साँचो अर्थमा त्यँहाबाटै न्यायाधीशको मुल्याङन दिनहूँ भएको हुन्छ । ततकालिन र दीर्घकालिन प्रभाव र असरका दृष्टिबाट न्यायाधीश सबैभन्दा बढी जनमुल्याकँनको सार्वजनिक पद हो । न्यायाधीश भनेको सार्वजनिक जीवनमा प्रभाव पार्ने बिशेष जिम्मेवारी पाएको मानव प्राणी हो । जसलाई यमदूतका रुपमा सम्झनेहरु पनि छन । जनबुझाइको भावमा सक्षम, इमान्दार र निष्पक्ष भए यमदूत नभए जे मनलाग्यो त्यही गर्ने जेमदूत । राम्रो हुदा यमराज सम्झन्छन र नराम्रो हुदा जेमराजका रुपमा । निष्पक्ष न्याय दिन सके यमराज । लोभ मोलाहिजामा लागि पक्षपातपूर्ण निर्णय अर्थात न्यायमा पनपक्ष गरे जेमराज ।  

      वकिल त न्यायसम्पादनका सारथी नै भए । न्यायाधीशको काम कार्बाहीका बारेमा वकिलहरुका बिचमा च्याम्बर वा वार एशोशिएसन आदि स्थानमा कुरा हुनु स्वभाबिकै नै हो । सँस्थागत चर्चामा बढी बल हुने र ब्यक्तिगत चर्चा वा मुल्याकँनमा कम वजन हुने मात्र हो । तर सामाजिक रुपमा चर्चा वा मुल्याकँन हुन्छन । सधै भइरहन्छन र हुनु पनि पर्दछ ।

      करिब एक महिनामा स्थानीय वकिल अर्थात कानुन ब्यबसायीहरुले स्थानीय तहमा कार्यरत न्यायाधीशको कार्य क्षमता, निष्पक्षता र इमान्दारिताको पहिचान गरिसकेका हुन्छन भन्ने कुरा पनि मैले उनकै सँगतबाट उतिबेलै थाहा पाएको हुँ । बेला बेलामा भन्ने गर्दथे ''फलानो न्यायाधीश त खत्तम रहेछ छिटो सरुवा भएर गए हुन्थ्यो ....   फलानो न्यायाधीश क्या राम्रो थियो अलि धेरै बसेको भए हुन्थ्यो । छिटै सरुवा भए छ.'' यसो पनि भन्दथे । '' उनकै मुखबाट मैले पटक पटक सुनेको हुँ  ''प्रमाणले जित्ने भए जित्छ, हार्ने भए हार्छ । मुद्दा लाग्छ । म लेखिदिन्छु । बहस (त्यतिवेला अभिकर्ताले बहस गर्न नपाउने कानूनको पालनाको कडाई त्यति थिएन ) पनि गरिदिन्छू तर भनसुन  सनसुन गरेर मुद्दा जिताइदिन सक्दिन ...''

               राजधानीबाट टाढा रहेकाले हरिप्रसाद प्रधानलाई उनले सानो छँदा पनि देखेनन् । हरिप्रसाद प्रधानका बारेमा केही सुने मात्र । उनिजस्तै हरिप्रसाद प्रधानलाई नदेख्नेहरु धेरैले हरिप्रसाद प्रधानको नाम लिइरहन्छन । प्रधानको बारेमा पढ्नेको दिमागमा त हरिप्रसाद हुने नै भए । अरु अरुले भन्दै गरेका बिबिध प्रकारका कुराहरु सुन्दै र पढ्दै बुझदै जाँदा हरिप्रसाद प्रधान एक प्रकार न्यायिक मिथक बन्न पुगे । भाषण गर्दा केही कुरामा जोडदिनु परयो कि ''हरिप्रसाद प्रधान''को नाम लिने । कतै अली प्रभावपर्ने खालको न्याय र कानुन सम्बन्धी चर्चा भयो कि उनकै नाम जोडेर, अझ उनैले भनेको भन्दै केही धर्को जोडेर वा लर्को पारेर उनकै नाम लिने । हरिप्रसाद प्रधानले भनेको कुरा होस वा नहोस,  कुनै गतिलो वाक्य बनाएर ''हरिप्रसाद प्रधानले भनेका'' भनेर भन्न पनि पछि परेनन कति त ! हरिप्रसाद प्रधानको नाम लिदै यसरी लेखिएको एउटा पुनराबेदन पत्रको निम्न केही अँशको समझना आयो यतिवेलाः

      '' न्याय कानुनी प्रक्रिया मात्र हैन, तर्कसँगत र परिणाममुखी पनि हुनु पर्छ । कानुन अनुसारको कार्यविधिको साँगुरो घेराबाट न्यायको उपहास मात्र होइन, प्रमाण, नजिर र कानुनको छट्टूपुर्ण प्रयोग गरेर न्यायमाथि बलात्कार भएका समेत उदाहरण छन । जुन पक्षले तथ्य प्रमाण र कानुनलाई चतुरतापूर्बक मिलाउन सक्दछ, उसैबाट आफ्नो कुरालाई परम सत्य साबित गराई न्यायमाथि ब्रह्मलुट गरेको अवस्था रहेको छ...... नेपालको पहिलो न्यायाधीश (पहिलो प्रधान न्यायाधीश लेख्न खोजेको होला) हरिप्रसाद प्रधानले न्यायकर्ताले ऐन कानुनको जँजाल मात्र केलाउन थाल्ने हो भने, त्यसैमा अलमल्लिई न्याय भुटिन जान्छ भनेका छन ''(माया तामाङ बिरुद्ध पार्वती घिमिरे लेनदेन २०७१ को DP १९३९ पुनराबेदन पत्रमा ।पुनराबेदन अदालत हेटौडा)

      यसरी स्रोत नखुलाई हरिप्रसाद प्रधानले भनेका भनेर भन्ने र लेख्ने एक प्रकारको शैली अर्थात मोडल नै बने उनी । अझै बनिरहने छन ।  

      ''सरकार चील हो, नागरिक चल्ला । चीलले चल्लाहरुको स्वतन्त्रता हरण गर्न लाग्यो भने न्यायपालिकाले माउ बनेर चल्लाहरुको रक्षा गर्नु पर्छ ''  यस भावको वाक्यलाई फरक फरक शब्द र बनौटमा लिने गरेको पाइन्छ । सम्भवतः यो उनको अभिब्यक्तिको सबैभन्दा प्रभावशाली शब्द हो । कहाँ भने ? र कहिले भने ?? यसमा पनि बिभिन्नता छ तर न्यायिक स्वतन्त्रता र न्यायिक सर्बोच्चताको पक्षधरतामा उनले पहिलो प्रधान न्यायाधीश कालमा खेलेको सकारात्मक भुमिकाले यो उनकै अभिब्यक्तिको भावार्थ हो भन्न किन्चित पनि सँकुचित हुनुपर्ने अवस्था छैन ।

      हरिप्रसाद प्रधानको बारेमा फेरि अर्को बिशेशाङक निकाल्ने योजनामा रहेका मित्रवर शेषराज सिवाकोटीले उनको बारेमा केही लेख्न आग्रह गरिरहदा मेरो मानसपलटमा पनि हरिप्रसाद प्रधान यस्तै र त्यस्तै मिथकहरुका रुपमा पनि आए । वास्तवमा ब्यक्तिको पहिचान आफैमा कठिन कार्य हो । सबै अर्थमा खुला हुदैन ब्यक्ति । कति खुला हुने र कति छुपेरुस्तम हुने ? अर्थात कति पारदर्शी हुने र कति गोप्य हुने उसको निजात्मक स्वभाव र चेतनामा भरपर्दछ ।

      कुनै पनि ब्यक्तिको बैयक्तिक स्वभाव र क्षमताको समग्र मुल्याँकन एक ब्यक्तिबाट असम्भव छ । केही चर्चा गर्न पनि प्रथमतः उसैसँग बसेर काम गरेको हुनुपर्छ । खान, पान, मान र ब्यबहारमा उसैसँग रहेको हुनुपर्दछ । त्यो मात्र उसप्रतिको मुल्याङ्कन वा चर्चाको प्राथमिक र बिश्वासलायक प्रमाण बन्न सक्दछ । सो बाहेकको मुल्याङकन वा चर्चाको अर्को तरिकाको प्रमाणिकता भनेको सुनीसुनाई प्रमाण (Hear say evidence) सरह हो । तेस्रोः तरिका भनेको कुनै सार्वजनिक हैसियत प्राप्त ब्यक्तिबाट सम्पादित कामहरुको अध्ययन र त्यसबाट परेको सँस्थागत एवम सार्वजनिक प्रभावको मुल्याकँन नै हो । हरिप्रसाद प्रधानको योगदानको बारेमा गरिएको प्रस्तुत सम्झना वा सम्मान वा चर्चा त्यही तेस्रो धारमा टेकेर गर्ने प्रयास स्वरुप तयार भएको एउटा आलेख मात्र हो यो । यसमा खासै गुदी छैन । जिज्ञासुहरुका लागि खास खुराक पनि छैन यसमा । केवल मनोबिनोद सरह मात्र भएको यो आलेख । अझ भनौ सम्पादक मित्रको आग्रहको सादर आदर मात्र हो ।

) सम्मान र स्मरणका केही आधारहरुः

      भक्तपुरबाट भोजपुर हुदै सिक्किम रातपानीमा पुगेका भक्तपुरे कायस्थहरुको वँशका तर थर लेख्दा प्रधान लेख्ने हरिप्रसाद प्रधान नेपालका नागरिक हैनन । केवल नेपाली मुलका सन्तान मात्र हुन । बिश्वेश्वर प्रसाद कोइरालाले दार्जिलिङगको कचहरि रोडमा रहेको उनैको ल फर्ममा केही समय काम गरेकाले कानुन ब्यबसायका लागि उनी बिश्वेश्वर प्रसाद कोइरालाका पनि गुरु थिए भन्दा फरक नपर्ला । त्यही गुरुभेटी स्वरुप राणा शासनको पतनपछि गृहमन्त्री बनेका बेला बी पी ले नै उनलाई नेपाल बोलाए । प्रधान न्यायालय ऐन २००८ को धारा ३०() मा नेपालको प्रधान न्यायाधीश हुनका लागि नेपाली नागरिक हुनै पर्ने ब्यबस्थालाई ''नियुक्ति गर्न लायक नेपाली नागरिक नपाइएको अवस्थामा गैर नागरिक पनि नियुक्त हन सक्ने'' सँशोधित ब्यबस्था गरी उनलाई नेपालको प्रधान न्यायाधीशमा नियुक्त गरे । पछि २०१५ सालतिर नेपालको नागरिक पनि भए उनी ।

      मान्छे नामले सम्मानित हुदैन । कामले मात्र हुन्छ र हुनुपर्छ । उनि नामले हरिप्रसाद प्रधान भएर अजम्मरी भएका हैनन, उनीबाट सम्पादित कामले गर्दा नै हो ।

              ''न्यायपालिका राज्यको सँबिधानको गार्जेन हो'' (बेदकृष्ण श्रेष्ठको मुद्दामा)/ ''कानुनको अख्तियारी बिना कसैलाई पनि थुनामा राख्न हुदैन'' (फूलवर खबासको मुद्दामा)/ ''सँबिधान प्रतिकूल जारी भएका ऐन कानुनहरु निस्कृय र अमान्य हुन्छन'' (बिशेश्वर प्रसाद कोइरालाको मुद्दामा)/'' राजकाज ऐन सँबिधान प्रतिकूल भएकोले अबिलम्ब सँशोधन गर'' (मृगेन्द्रशमशेरको मुद्दामा)/ ''बेरितको कार्बाहीबाट बैयक्तिक स्वतन्त्रता अपहरण हुन नसक्ने'' (शुभशम्सेर तथा गणेशमान श्रेष्ठको मुद्दामा)/ आदि धेरै मुद्दाहरुमा पहिलो कार्यकालमा उनले गरेको ब्याख्या स्मरणीय र अनुकरणीय मात्र छैनन कि उनलाई अजम्मरी बनाउने न्यायिक उदघोषका रुपमा रहेका छन । दोस्रो कार्यकालका उनका फैसलाहरुमा झाँकु मियाँको मुद्दा (न्यायाधीशबाट लापर्बाहीपूर्ण रुपमा काम हुन गएका उ नै अयोग्य हुने भन्ने भावमा) र हिरालाल भण्डारीको मुद्दा (थुनुवा पुर्जि नदिइ थुनेको गैरकानुनी थुना हुने) मा भएका निर्णयाधारहरु बिशेष रुपमा स्मरणीय मानिन्छन । तत्काल ''महाराजको जिब्रोको टुप्पामा कानुन रहेको'' देश नेपालमा जग नै नबसेको न्यायपालिकाको नेतृत्व गर्नु र त्यो उचाइको काम गर्नुलाई सबै अर्थमा कमजोर रुपमा आँकलन गरियो भने उनी प्रति मात्र हैन,  नेपालको समग्र न्यायिक इतिहासप्रति नै पनि अन्याय गरेको हुन जान्छ । सेवाग्राहीले जुत्ताले हान्दा पनि सँयम हुने स्तरको उनको न्यायिक आत्मसँयतालाई कसरी बिर्सन सकिन्छ ?  कानुन नै नभएपनि न्यायपालिकामा अन्तरनिहित रहने न्यायिक स्वतन्त्रताको रक्षाको औजार अवहेलनाको हतियार प्रयोग गरेर न्यायपालिकाको गरिमाको जग बसाउने उनको कार्यलाई न्यायिक स्वतन्त्रताका पक्षधरहरुले कसरी बिर्सन सक्दछन । भलै कानुनको अभावमा पनि सजाय गर्ने अराजक प्रबृति भन्न पनि सकिएला केवल राजनीतिक आँखा वा भाकाबाट ।

      न्यायप्रशासनको सफल नेतृत्वको अर्थमा पूर्ण बैठकको सुरुवात हरिप्रसाद प्रधानले २००८ सालमै गरेका हुन । वातावरण सँरक्षणको कानुनी आवश्यकता र महत्वका बारेमा सर्बप्रथम न्यायको भाषामा बोल्ने उनै हुन । उनले जस पाएनन यसको । बरु त्यस्तै भावमा आफनै भाषा लेख्ने पश्चिमा न्यायाधीशहरुले जस पाए ।

      मुड्ने दामल गर्ने जस्ता सजायहरु नगर्न र त्यस प्रकारका अभियोगहरुका मुद्दाहरु छिन्न हतार नगर्न मातहतलाई पुर्णबैठको निर्णयको माध्यमबाट निर्देशन दिने कार्यबाट यसको सुरुवात गरेका हुन । यसैगरी दोलखाको जात भात सम्बन्धी मुद्दामा सन्तान दरसन्तानको ब्याख्या गर्दै ''छोरालाई मात्र सन्तान मान्ने बहुमतको रायका बिरुद्ध उनले छोरी पनि सन्तान नै हुन भनी ब्यक्त गरेको राय लैँगीक न्यायको मान्यताको इतिहासमा ऐतिहासिक मात्र हैन, न्यायिक स्वतन्त्रताको आन्तरिक आयामको अर्थमा र फरक राय (descending opinion) लेखनको इतिहासको पनि जग बसाल्ने काम समेत उनी बाटै भएको हो ।

      यी र यस्तै उनको कर्मक्षेत्रको उचाइको सम्मान गर्दै शम्भूप्रसाद ज्ञवालीले ''आजको पीँढीका लागि लिजेन्ट (Legend)'' भन्न पुगे भने डा. हरिवँश त्रिपाठीले ''साहस न्यायिक निष्ठा र अडानको अर्थमा अद्धितिय (Unparalleled) प्रेरणा पुरुष नभुतो न भविष्यति'' भन्न पुगेका छन । जस्लाई ''वकिल न्यायप्रशासनका आवश्यक अङग हुन भन्ने सकारात्मक सोच सिद्धान्त र ब्यबहारका धनी'' भनेर गणेशराज शर्माले भन्न पुगे ।  सर्बोच्च अदालतका पुर्व न्यायाधीशहरु प्रचण्डराज अनिलका शब्दमा ''कानुनको सर्बोपरिताको सिद्धान्तलाई ब्बयहारका उतार्ने कार्यको जग बसाउने काम हरिप्रसाद प्रधानबाटै भएको हो'' । त्यस्तै सर्बोच्च अदालत पूर्ब न्यायाधीश प्रकाश वस्तीको कलममा '' केही त गर जो इतिहाँसमा लेखियोस । प्रेरणाका स्रोत । खुला किताब । अमरत्वको अभिलाषा राख जसले तिम्रो सन्तान दरसन्तानलाई गौरवशाली अनुभूति दियोस । आयो खायो गयो जन्म लिनुभन्दा सँसारमा नआइदिएकै बेस भन्ने सन्देश दिने हरिप्रसाद ब्यक्ति हैन, सँस्था हो । उ इतिहास हैन, उद्देश्य बन्नुपर्छ '' भन्ने रहयो (न्याय भाग २१ का लेखहरुबाट)

) समालोचना

      समय वातावरण जनचेतना र पुर्बाधारको परिबेशलाई मध्यनजर राखेर हेर्दा हरिप्रसाद प्रधानले पहिलो कार्यकालमा जे गरे जसो गरे त्यो भन्दा बढी गर्न सक्थे वा गर्न पर्थ्यो भन्ने कसैलाई लाग्दछ भने त्यो उसको काल्पनाको सँसारको बिचरण मात्र हुन जान्छ । यतिचाँही भन्नु जरुरी हुन्छ कि दोस्रो कार्यकाललागि उनी जानु नै हुदैन्थ्यो । गए ! परिणामतः हरि प्रधान मात्र रहे हरि प्रसाद प्रधानका रुप्रमा रहन सकेनन । सम्मान भावको अर्थमा ''प्रसाद'' भनेको सबैले सम्मान गर्ने हैसियतको स्थान लिनु हो । अझ यसो भनौ अरुले शिरमाथि चढाउने सुपात्र बन्नु हो । उनको कार्यकालको समालोचनात्मक रुपमा यसरी हेर्न सकिन्छः

      () प्रथमतः नेपाली भुमिमा स्वतन्त्र न्यायपालिकाको जग हाल्ने काम उनले गरे । प्रथम प्रधान न्यायाधीशकाल (२००८४।२६ देखि २०१३। २।७)  जस्तो दोस्रो कार्यकाल (२०१८।८।२६ देखि  २०२०।८।२८) मा साखिलो चाखिलो र गतिलो बन्न सकेनन । बरु पहिलो कार्यकालको जसमा पनि धब्बा लाग्ने कार्यकाल बन्यो दोस्रो कार्यकाल । '' कसैको लोकमा छैन एकैनास समुन्नतिः अरुको के कुरा, हेर सन्ध्यामा सूर्यको गति''भनी कविशिरोमणि लेखनाथ पौड्यालले लेखेको कविताको भाव जस्तो भयो उनको दोस्रो कार्यकाल । शारिरीक रुपमा मात्र हैन मानसिक रुपमा समेत कमजोर र बिबादित भए उनी । वास्तवमा प्रधान न्यायाधीशका रुपमा उनको दोस्रो कार्यकालले उनैको उचाइ र ब्यक्तित्वलाई घटाई दियो ।

              () फैसलामा ''तँ तिमी'' जस्ता शब्दहरुको ओइरो पाइन्छ । यसले उनमा सामन्ति सँस्कारको प्रधान्यता थियो भन्ने देखाउँछ । न्यायपालिकाको आखाँमा सबै जनहरु समान हुन्छन न्यायको भाकामा समान रुपमा दरिन्छन भन्ने मान्यतामा उनी चुके ।

              () बी पी कोइरालाको अनुकम्पाले भारतीय नागरिक भएरपनि नेपालको प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुगेका उनी राजनीतिक रुपमा तटस्थ रहन सकेनन ।  गमेर अध्ययन र बिश्लेषण गर्दा राजनीतिक बिबादहरुमा बी पी लाई खुस पार्ने शैलीमा भए उनका केही कामहरु । जस्तोः डिल्लीरमण रेग्मी समेतलाई मानहानीमा कार्बाही र सजाय गर्दा कानुन छोडेका र समयमता तोडेको आरोप छ उनी माथि ।

      ()   ''परमात्मालाई साक्षी राखेर र परमात्माबाट आत्मवल प्राप्त गरेर'' न्यायाधीशको कार्य सम्पादन गर्ने भनेर शपथ लिने उनको कार्यले उनीभित्रको न्यायिक क्षमता उनको नभई कथित अदृश्य शक्तिको हो भन्ने देखिन्छ र अतिआध्यात्मबादी आहालमा डुबेका देखिन्छन उनी । यसबाट परोक्ष्य रुपमा मानवीय क्षमताको अबमुल्यन हुन गएको छ । परमात्माले न्याय दिने भए घूस्याहा, जाली, फटाह, सुदखोरहरु दण्डित हुनुपर्ने थियो नेपालमा । झनै रजाँई तिनैहरुको ! झनै कजाँई तिनैहरु वा त्यस्तैहरुको !! अदृश्य शक्तिको आड वा वलमा ब्रम्हलुट गर्नेहरु झन बढ्ने !!!? जनमनका आखाँमा परमात्माले न्याय बेचुवाहरुलाई सजाय गरेको देखिएको छैन आजसम्म । बरु घूस खाएको रकमले मन्दीरका गजुरको भित्रि पायनमा धब्बा लगाउनेहरु र पाप पखाल्नेहरु मनग्ने पाइन्छन नेपाली समाजमा । 

      न्याय मानव निर्मित कानुनको वलमा, मानव सदबिबेकको प्रयोगकासाथ गरिने सत्य र वास्तविकताको उद्घोष र कार्यान्वयन समेत हो । यसलाई परमात्माको जिम्मा वा आडभरोसमा छोडिदिनू मानवीय जीवन र दैनिकीमा अहम महत्व बोकेको न्यायिक जिम्मेवारीबाट पन्छिनु हो । परमात्मा सम्झेर न्याय गर्ने नाँउमा कागजको शिरको माथिल्लो भागको बिचोबिचमा ''श्री" लेखेर लेखन कार्य आरम्भ गर्ने तर भनसुन, मनसुसन र धनसुनका आधारमा निर्णयका शब्दहरु कोर्ने !? हरु भएभने परमात्माले कसरी दण्डित गर्ने र कहिले गर्ने !? न्याय परमात्माको वल वा आडको बिषय मानेर बिश्वास गर्ने वस्तुपरक आधार केलाई मानेर चित्त बुझाउने ! ? यस्तो काम जान्दैन मेरो अर्न्तरमनले र मान्दैन मेरो अन्तर चित्तले । यसअर्थ धेरै कामहरुका माध्यमबाट अब्बल न्यायकर्मी हुनेगरी देखिएका उनी यसप्रकारका अध्याराँ पक्षहरुले धेरै दूरगामी प्रभावका कामहरुको बिचमा पनि ''तर पनि, तरपनि ....  ''भन्न पर्ने अवस्थामा रहेका छन र ''तर पनि तरपनि'' बन्न पुगेका छन ।  

)  यतिबेला हरिप्रसाद प्रधान भएका भए ?

              प्रधान न्यायाधीश ब्यक्ति हैन, सँस्था हो र उसबाट सँस्थागत मान्यतामा कामहरु हुनु पर्दछ । हरिप्रसाद प्रधानदेखि हालसम्मको प्रधान न्यायाधीशहरुमा कामले नाम कमाउने र जनजनको मनमा सुनाममय घर जमाउने ब्यक्तित्व भनेर कसलाई लिने ? भनेर सोधियो भने निसन्देह हरिप्रसाद प्रधान नै अग्रपङतिमा रहन्छन । हालसम्मका कसैले पनि उनको अग्राशन ग्रहणलाई पछाडि धकेल्न सकेका छैनन । पदमा नआउदासम्म केही नँया गर्लान भनेर आश गर्नेहरुमा धेरै अनुहार भए तर धेरै जसो ''आया राम गयाराम'' बनेरै गए ।  जिबित छदाँ पनि कुनै कोठा वा गल्लिमा सिमित रहे र मरेपछि सम्झने सुकर्महरुमा मात्रात्मक एवम गुणात्मक रुपमा ज्यादै कम नै रहे । मुलुकले हरिप्रसाद प्रधानलाई बिर्साउने प्रधान न्यायाधीश सुपात्रको खोजी गरेको धेरै भयो तर त्यो खोजी केवल अन्वेषणात्मक यात्राकै रुपमा सिमित रहयो ।  यतिवेला हरिप्रसाद प्रधान न्यायको सर्बोच्चासनमा भएका भएः

·       नियुक्ति, सरुवा, बढुवामा पनपक्षे हुन दिने थिएनन । पदस्थापन बिनाको दरबन्दीमा अस्थायी मनस्थितिले स्थायी प्रकृतिको न्यायदिने गरी काजपछि काजरुपी न्यायपालिका रहन दिने थिएनन । हाम्रा मान्छे राख्ने प्रबृति र कार्यनीतीलाई हतोत्साहन गर्दै राम्रो मान्छेको खोजिको पक्षमा हुने थिए ।

·       ''मट्टितेलको लाइन'' रुपी पदोन्नतिको मान्यतालाई दाहसँस्कार गरेर ''कार्यक्षमता निष्पक्षता र इमान्दारिता'' को वस्तुपरक मुल्याङकन आधामा नियुक्ति गर्ने थिए ।

·        नाताबाद, कृपाबाद र जातिबादबाट माथि उठेर क्षमतावादको जलपले न्यायबादको सिरानी हाल्ने थिए ।

·       ''कतै काम बिनाको हाइ कडाई र कतै बढी कामले पसिना चढाई'' को दरबन्दी ब्यबस्थापन हुने थिएन ।

·       जिन्दगीभर न्यायको तराजू वरपर रहेर पसिना बगाएकाहरु न्यायको शिर्षासन अर्थात सर्बोच्च अदालतमा पुग्नै नसक्ने तर एकै पटक ब्हात ब्हाती बाह्य प्रबेशको ओइरो हुने गरी अवसरमा समानताको अभाव हुन दिने थिएन र समस्त क्याडरहरुको भित्रीमन अमिलो बनाउने थिएनन ।

·       ''मुद्दा तोकेर खाने वा मुद्दा बोकेर खाने वा न्याय बेचेर खाने'' जस्ता गैरकानुनी प्रबृतिलाई ''माथि लाने वा माथि जाने'' अवसरमा खुले आम तगारो बन्ने थिए । अर्थात इमानलाई रातो टीका र बेइमानी प्रबृतिलाई दण्डको कालो टीका लगाइ दिने थिए ।   

·       न्याय प्रशासनभित्र रहेका प्रशासकहरुको सक्षमता बढाउदै आन्तरिक स्वतन्त्रता प्रदानका साथ प्राप्त सरकारी बजेटको पूर्ण सदुपयोगमा र अदालतको ब्यबस्थापकीय जिम्मेवारीमा निपूर्णताको अवसर दिने र चुनौतीको सामना गर्ने थिए ।

·       आफूले सर्बप्रथम सम्पत्ति सार्बजनिक गरेर सबैतहका न्यायाधीशहरुको सम्पत्ति बिबरण सार्बजनिक गर्ने र गराउने थिए । 

·       ब्यक्तिमाथि मुद्दा लगाउने । फैसला हुदासम्म मुद्दाकै पछि लागेर ठहर पनि गराउने । तर फैसला अनुसारको दण्ड जरिवाना असुलीमा उस (सरकार) को जिम्मेवारी कुनै नहुने ! परिणाम स्वरुप एकलाख बर्ष जति कैद असुली र १० अर्बजति जरिवाना असुलीको लगत कागमा मात्र सिमित रहेको अवस्थाप्रति सरकारको समेत ध्यान आकर्षण गराउने थिए ।

·       कार्यबिधिका लम्बेतान तुनाहरु छोट्याएर ''चट मुद्दाः झट काम'' को नीतीले न्यायपालिकाको प्रभावकारी न्याय सम्पादनमा न्यायपालिकाको निपूर्णताले सुनामै सुनाम गराउने थिए ।

·       ''काम अनुसारको माम'' को मान्यताका साथ न्यायिक भत्तfलाई कामसँग सापेक्ष बनाउदै पदिय जिम्मेवारीका आधारमा गर्नुपर्ने न्यूनतम कामको लागि तलव र बढी कामको लागि मात्र न्यायिक भत्ता दिने थिए । काम गरे वा भएपनि अतिरिक्त भत्ता र नगरे वा नभएपनि अतिरिक्त भत्ता नीतिले प्रश्रय पाउने थिएन ।

·       ''खान (लाउन र सहज रुपमा बाँच्न) पुग्ने तलव देउ, सक्दो सेवा कर्मचारीहरुबाट लेउ'' भन्ने उदघोषका साथ सरकारी खान्गी पुग्ने हदसम्मको बान्कीमा मात्र आफू सिमित रहने थिए र अरुलाई सिमित रहन अभिप्रेरित गर्ने थिए ।

 

) बिसाउनु अघि

      पुनर्जन्मप्रति किन्चित बिश्वास छैन तर पात्रका रुपमा हरिप्रसाद प्रधान (पहिलो कार्यकालको प्रधान न्यायाधीश) नँया परिबेशमा नँया चेतना लिएर जनअपेक्षा बुझ्दै अर्को हरिप्रसाद कोही बनिदिए हुन्थ्यो लागि रहेको छ । किनकी मुलुकी न्यायप्रणालीमा आमूल परिवर्तन समयले मागिरहेको छ ।

      कुरा ठुला हैन, काम ठुला गर्ने । न्यायपालिकाको आन्तरिक प्रशासन र न्यायप्रशासन दुबैमा पनपक्षे नगर्ने र गर्न नदिने । सम्पादित न्यायको कागजमा धमिरा लाग्न र जाग्न नदिने । न्यायासनमा ऐजेरु लाग्न नदिने । कुनै पनि न्यायकर्मीलाई न्याय बेच्नकालागि यो वा त्यो कोणले केही पनि माग्न नदिने । कर्मक्षेत्रबाट कसैलाई उदासिन वा आलश्यमय बनेर भाग्न नदिने । जुरुक्क उठ्ने साहस लिने र ढाढस दिने । न्यायाशन देख्दा सबै सज्जनहरु साँच्चै सम्मानले झुक्ने र सबै दुर्जनहरु थरथरी बन्दै लुक्ने । कस्ले बनाउला ? यसका लागि एउटा हरिप्रसाद हैन कम्तिमा पनि एक दर्जन हरिप्रसादहरु नेपाली भूमिमा उठ्नु पर्छ र जुट्नु पर्छ । तर तर को जुट्ने ? को को उठ्ने ? '

              जुटे र उठे भनेपनि पत्याइदिने कस्ले ? हेर्ने आखाँहरु नै फरक छन । गाउने भाकाहरु नै फरक छन ..... कतिपय अर्थमा त आर्थिक सामाजिक साँस्कृतिक सहितका समग्र परिबेशले पनि बाधा दिएको अनुभूत हुन्छ होला धेरै न्यायकर्मीहरुलाई पनि !

      जात, वर्ग, क्षेत्र र सम्बन्धका हिसाबले आफ्ना भएका वा बनेकाहरुलाई मात्र विविध अवसर दिने र पदमा माथि माथि लाने । मुद्दा तोकेर बिबिध खाले लाभ ज्यूनार गर्ने । अझ पूर्ण स्नानादिकासाथ पिताम्बरवस्त्र फिँजाएर प्रसादी भन्दै ज्यूनार गर्ने वा ज्यूनारकै लागि देशार्टन गर्ने । आफ्नो बखान आफै गर्ने तर काम र नाममा अरु अरुभन्दा झन तल तल झर्ने जस्ता दुश्प्रयास गर्नमा हरिप्रसादको मन सायदै गयो होला । हरिप्रसाद मरेर पनि बाँचिरहने लालस बोकेका न्यायमुर्ति थिए । अर्थात बाँचेर ज्यूँदै मर्न नचाहने ब्यक्तित्व थिए । त्यसैले गलत काम गर्नमा उनको मन पुगेन । उनी ''आया राम गया राम'' हुनुमा मात्र आफूलाई सिमित राख्न चाहेनन । इतिहाँस बनाउन तिर लागे ।

      इतिहाँस बनाउन चाहने मान्छे मात्र असल मानिस र कुसल न्यायाधीश बन्न सक्दछ । जनजनको मनमा रहन सक्ने सुकामहरु जसले गर्न सक्दछ उही मात्र इतिहासमा कायम रहिरहन्छ । सारतः मरेर पनि जिबित भइरहन्छ ।   

      नाममा हरि भएजस्तै मनमा हरि लिएर काम गरयो भनेमात्र न्याय पर्छ र नाममा हरि भएर हैन । नाममा जे सुकै होस मनमा हरि भएकाले मात्रै न्यायपूर्ण कार्य गर्छ ।  मन बचन र कर्ममा ''हरि'' अर्थात सत्य बचन र कर्मधार भएकाहरु कति छन समकालिन नेपालका अदालतहरुको न्यायाशन ? त्यसैबाट मात्र समकालिन न्यायको पबित्रता र वजनको समग्र मुल्याकङन गर्न सकिन्छ ।

      फेरिपनि भन्नु उनिप्रतिको सच्चा श्रद्धा होला कि हरिप्रसाद प्रधान धेरै अर्थमा बचनमा हरि, मनमा हरि र कर्ममा हरि भएका न्यायाशनधारी ब्यक्तित्व थिए । त्यसैले त्यो वेलाको त्यो परिवेशमा पनि त्यो हदको न्यायिक उचाई कायम गर्न सक्ने हरिप्रसाद प्रधान ससम्मान हार्दिक न्यायिक सलाम छ तिमीलाई । तिमी मरेर बाँचिरहने सुकर्महरु मै छौ । त्यसैले त तिमी आजसम्मका न्यायिक महारथीमा नै परेका छौ ।

 

२०७२।९।१७                                       adrdhanbot@gmail.com

No comments:

Post a Comment