१ सम्झना
न्यायमुर्ति केदारनाथ आचार्यलाई पहिलो पटक देखेको सर्बोच्च अदालतमा नै हो । डेपुटिरजिष्ट्रार वा
यस्तै के पदमा थिए उनी । कुनै कामले हैन, त्यतिवेला अचार्ज थरका रहेछन, कस्ता छन, यसो
नमस्ते गरेर हेरौँ भन्ने
लाग्यो । त्यस्तै गरेँ अर्थात परिचय दिदै नमस्ते गरेँ ।
''कहाको आचार्य नी तिमी बाबु ? उनले थोरै भएपनि अपनत्व दर्साए जसरी सोधे । प्यूठानको मात्र भने ।
''ए ए लौ राम्ररी काम गर्नु है बाबु ?, इज्जत राखेर काम गर्नुपर्छ है; अदालती काम त पबित्र काम हो । यो भन्दा पुण्य काम अरु छैन । ..." उनका शब्दहरु सकिपछि अलिझुकेर बिदाइको अनुमतिकासाथ
अभिबादन गरेँ । सायदः भित्रीमनका अलिबढी आदरभाव जागेर होला ।
उनको
कोठाबाट बाहिरिदै गर्दा आफैलाई लाग्यो ''परिवर्तनमुखी भनेर भित्रभित्र गौरव गर्ने तर उनलाई गरेको नमस्तेभने
परम्परागत अदालती खालको अर्थात ''न्युरीमुन्टे
न रुपी धनुषटँकार'' शैली पो प्रयोग भयो त जीवनमा पहिलो
पटक ? । ''आऽ होस न त, अरु
कसैले देखेको छैन । त्यस्तै गरियो, अब फिर्तापनि लिन सकिने हैन'' मनमा कुरा खेलिरहे । ततकालिन हाकिमहरुबाट ''अली ठाड् ठाडो नमस्ते गर्छ'' भनेर आलोचित मेरो मन सर्बोच्च अदालतको प्राँगणमा
रहदा त्यसप्रसँगमा एकछिन आफैभित्र बादप्रतिबादमा रहयो । त्यसपछिका दिनमा कतै
भेटिदा जागिरे स्वस्ती चढाएपनि राम्री बातचित र सहयोगीका रुपमा काम गर्ने अवसर भने
अलिपछि नै मिल्यो । तर जैले भेटेपनि मुसुक्क हाँसेर ,स्नेहीभावमा ''ठिक छ है बाबु ?'' भनिरहेको
ऐले पनि सम्झनामा आइरहन्छ ।
काठमाण्डौ
जिल्ला अदालतको डिठ्ठा पदको सेवाको यात्राबाट लोकसेवा आयोगले मध्यमान्चल क्षेत्रीय अदालतमा नायब सुब्बा पदमा
काम गर्नका लागि पठायो । त्यही मिल्यो उनको सहयोगी भइ कामगर्ने अवसर । सधै चिटिक्क
र हसिँलो देखिने उनको भित्रिमनमा निसन्तानको पिर थियो थिएन तर बाह्य रुपमा त्यसको भाव
कहिले देख्न वा सुन्न पाएनन धेरैले । फेरि सहयोगीका रुपमा रहन पाएको प्रशासकीय
अदालतको कार्यकालकामा एकपटक सिफल स्थित उनको घरमा पुगेको वेला ''यही हो डिल्लीबाबु छोरी, भाइकी छोरी, मेरीपनि छोरी'' यस्तै
केही भनेको अलिअलि सम्झना आँउछ । सधै सधै भतिज जसरी अर्ति दिन्थे । ''शहरीयापनका केही खराबीहरुमा लागेर बिग्रेलास नि'' भनेर होसियार पनि बनाउथे ।
मध्माञ्चल
क्षेत्रिय अदालतको कार्यकालमा बिशेषतः इजलास सहयोगीका रुपमा रहेर कामगर्दा उनलाई
नजिकबाट केही रुपमा जान्ने अवसर मिल्यो । ''इजलास सहयोगी होस वा इजलास अधिकृत तेस्रो न्यायाधीश हो । बाबु हो, न्यायाधीश जत्तिकै जिम्मेवारीवोधकासाथ काम गर्नु पर्छ है'' हामी त बाबुहरुले पढेको सुन्ने मात्र न हो आँखा त
बाबुहरुको पर्छ नि ल है....'' यसरी
खबरदारी मिश्रित जिम्मेवारीवोधतर्फको उनका शब्दहरु आइरहन्थे वेलावेलामा ।
इजलास सहयोगीले उठेर मिसिल पढेर न्यायाधीशहरुलाई सुनाउने, सम्बद्ध प्रमाण कागजहरु पट्टयाएर ठिक्क पारी
राखिदिने, फैसला वा आदेशको मस्यौदा गर्ने .....यावत कामहरु गर्नुपर्थ्यो । तिमीहरुपनि हामी
जत्तिकै जिम्मेवार छ है भन्दा एक प्रकारले छाती फुलेर आउथ्यो ।
फेरि
लोकसेवाले अधिकृत स्तरका लागि छान्यो । तालिमपछि प्रशासकीय अदालत बबरमहल (कुरिया गाँउ) मा पदस्थापना भएपछि लागेँ त्यतै । त्यतिवेला उनै केदारनाथ आचार्य
अध्यक्षका रुपमा कार्यरत थिए त्यतिवेला । यो क्षेत्रीय अदालतको न्यायाधीशका
अतिरिक्त उनलाई तोकिएको अर्को जिम्मेवारी थियो । क्षेत्रीय अदालतको सहकार्यता
भन्दा त्यहा अलीबेसी निकटताको सहकार्य रह्यो । अझबढी सिक्ने र बुझ्ने अवसर मिल्यो
। जागिरे जीवनको अवकाशपछि कुन चाही हो कुन्नि एउटा आयोगको अध्यक्ष भएर काम
गरिरहेका बेला राष्ट्रिय सभागृहमा भेटन गएँ । मेरा लागि उनीसँगको पछिल्लो
भलाकुसारी त्यही नै भयो ।
२ सम्मान
इजलासमा
बस्न नपाउदै एकदिन ''यसरी पनि हुन्छ, जसजति आफू लिने केही परे अपजस अरुले बेहोरुन
भनेजसरी.....'' आदि भुनभुनाउदै
सहकर्मी न्यायाधीशसँग खासखुस गरिरहेको थिए । मुख्य न्यायाधीशले त्यसदिनको कुनै
मुद्दामा दबाबको केही सँकेत गरेका रहेछन् भन्ने भावमा बुझिहालियो । अर्को
न्यायाधीशले केही आदेश गरी पन्छाउने राय राखे । उनले इन्कार गर्दै ''हेर्ने, जे जस्तो देखिन्छ त्यही गर्ने'' यसोपनि भनिरहेका थिए आपसमा । मैले भने यसमुद्दामा के कस्तो निर्णय गर्ने
रहेछन भनेर बडो उत्सुकताबस हेरिरहेको थिएँ । आखिर प्रमाण मिसिल नै आएको रहेन छ ।
त्यही सम्बन्ध मै आदेश भयो ।
वास्तवमा कुनै न्यायाधीशको इमान्दारिताको बारेमा
बढी जानकार ब्यक्तिमध्ये एक भनेको इजलास सहयोगी पनि हुन जान्छ । इजलास अधिकृत वा सहयोगी नै बिचौलीया बन्ने गरेको छभने कुरा अर्कै
हो, नत्र न्यायाधीशको इमान्दारिताका
साथसाथ समग्र क्षमताको बारेमापनि बारेमा पनि बढी जानकार ब्यक्ति इजलास अधिकृत वा सहयोगी
(सर्बोच्च अदालतमा उपसचिव स्तर उच्च
अदालतमा अधिकृतस्तर र जिल्ला अदालतमा नायबसुब्बा स्तर) नै हुन्छ ।
भनसुन (शक्तिवालाको दबाब), मनसुन (राजनीतिक वातावरण) र
धनसुन (घूस वा अन्य नगदी जिन्सी प्रलोभन) बाट बचेर काम गर्ने खालको हो कि त्यसैमा फसेर काम
गर्ने खालको ? फैसला वा आदेशहरु आफैले लेख्ने वा
लेख्नका लागि स्पष्ट गाइड लाइन दिनसक्ने खालको होकी काम चलाउ ?? खास खास नबीनता दिन सक्ने नेतृत्वदायी क्षमताको
हो की कुर्सिले मात्र चलाएको सँस्थाको हाकिम जस्तो ??? सिक्नु पर्ने केही गुणहरु
रहेको ब्यक्तित्व हो कि जोगीनु पर्ने खालको ???? यावत सन्दर्भहरुमा न्यायाधीशको भित्री गुदीका लागि इजलास अधिकृतहरु
सबैभन्दा बढी जानकार हुन्छन ।
मसिनो
रुपमा मिसिल अध्ययन गर्ने, कानुन
ब्यबसायीहरुसँग ब्यबसायिक सम्बन्धमात्र राख्ने, बोलीमा नरम तर कर्मक्षेत्रमा कडापन, सादा जीवन न्यायपूर्ण बिचार उनी अर्थात केदारनाथ आचार्यको जीवनशैलीका
प्रमुख बिशेषताहरु बनेका थिए ।
क्षेत्रीय
अदालतमा कामगर्दा भन्दा प्रशासकीय अदालतमा काम गर्दा उनीसँगको सानिध्यता बढ्यो ।
मित्रबन्धु रामकुमार आचार्य र मेरो अधिकृत स्तरको जागिरको पहिलो पोष्टिङ थलो त्यही
प्रशासकीय अदालत बनेको थियो । कोमलप्रसाद शर्मा उपाध्याय रजिष्ट्रार थिए हामी
हाजिर हुन जादाँ । अध्यक्ष र रजिष्ट्रारका बिचमा केही टाढाकोभएपनि नाता सम्बन्ध
भन्नेपनि सुनियो तर कारणबस ठ्याक मिलेन छ । हाजिर भएकैदिन रजिष्ट्रारले बेली
बिस्तार लाए । भोलिपल्ट अध्यक्ष आचार्यले पनि गुनासोसहित उनिसँग बचेर काम गर्ने शब्दहरु
राखे । केही समयपछि कोमलप्रसाद अख्तियार
दुरुपयोग अनुसन्धान आयोगमा काजमा गएपछि त प्रशासकीय अदालतको प्रशासकीय भूमिकामा
तिन आचार्य रह्यौ । कतिपय सेवाग्राहीहरुले अदालत पस्नेबेलामा नेमल्पेट पढेपछि ''आचार्य अदालत'' भनेको पनि आफैले सुन्नु परेको थियो ।
'कायम मुकायम दियो भने अरुले इर्ष्या गर्छन, त्यसैले हेर बाबु डिल्ली, यसमा तिमीले किनहोला भन्ने नसोच्नु.............'' एकदिन यसो भने उनले । अधिकृत भएको वर्षिदिन पनि नहुदै के को कायम
मुकायमको खुवाब राख्नु नि ! मैले भनीहाले ''यो पक्षमा ममा त हजुर न त लोभ छ, न त कायममुकाय दिनु नै पनि स्वभाबिक हुन्छ'' । ''बाबुले यो कुरा राम्ररी बुझेका छौ भन्ने मलाई लागिरहेको थियो तैपनि ....'' । केही
समय काम चलाउ प्रमुख प्रशासक अर्थात निमित्त रजिष्ट्रारका रुपमा सहकार्यमा रहियो
उनिसँग ।
कार्यालयका
लागि केही पुस्तकहरु किनेर ल्याँउदा पनि शब्दबाट प्रोत्साहित गर्ने । न्यायदुत
आदिमा लेखहरु प्रकाशित हुदा पनि स्याब्बास भन्ने । खासै काम नभएको ठाउँ । खुब
अध्ययन गरेर यसको सदुपयोग गर है भन्ने ।
हुनपनि त्यँहा बस्दा भएको अध्ययन सधै सम्झिरहने खालको बनेको छ । सहकर्मी मित्रबन्धु
रामकुमार आचार्य र मैले न्यायदूतमा लेख प्रकाशन गर्न पाएको समय पनि त्यहीको
कार्यकाल नै हो । त्यँही थलोले ''प्राकृतिक न्यायको सिद्धान्त'' नामक पहिलो पुस्तक लेखनको समय दिएको हो । यसमा
केदारनाथ आचार्य र मित्रबन्धु रामकुमार आचार्य परोक्ष्य रुपमा स्मरण एवम धन्वादका
पात्र छन ।
त्यसकार्यकालका
कामसमझदा ऐले पनि एक प्रकारले हाँसो उठेर आउँछ । अध्यक्ष केदारनाथ आचार्य र
सदस्यहरुमा कानुन सचिब इश्वरबहादुर श्रेष्ठ तथा सामान्य प्रशासन सचिव बिमलकुमार
बस्नेत । सदस्यहरु शुक्रबार मात्र आउने । अध्यक्ष थप मँगलवारको आधिसमय । जागिर
खोसिएका निजामती कर्मचारीहरुको पुनराबेदन हेर्ने अड्डो । झलाक झुलुक मात्र
सेवाग्राही आउने । बाँकी समय के गर्ने त भन्दा पत्रिका र पुस्तक पढ्ने । हुँदा
हुँदा त कहिलेकाँही पत्रिकाका बिज्ञापन पनि हँसीमजाकालागि पढेर सिध्याउने !? मुद्दाहरुका अधिकाँश आरोपका तथ्यहरु हुन्थे ''अ. त. मा लागेको'' भन्ने । अ. त. भनेको त्यतिवेलाका शासकका लागि ''अराष्ट्रिय तत्व'' अर्थात निर्दलीय पञ्चायतका ठकेदारहरुले काँग्रेस वा कम्युनिष्टहरुलाई
अराष्ट्रिय तत्व भन्ने भएकाले तिनिहरुको सँगतमा रहेका कर्मचारीहरुपनि अ. त. मा लागेको मानिने । सुरु सुरुमा अञ्चलाधीशहरुले पठाएका गोप्य रिपोर्ट
(एक प्रकारको फाराम नै बनाइएको थियो) कानुन
सचिव सदस्य इश्वरबहादुर श्रेष्ठले बोकेर ल्याउने र तिनजनाले खुसुक्क हेर्ने अनि
उनैले च्यापेर लैजान थाले । पछि एकातिर फैसला तयार गर्न कठीन हुन थाल्योभने
अर्कोतिर इजलास अधिकृतलाई पनि बिश्वास नगरेको जस्तो हुन थाल्यो । अलिकति
कुरागर्दासाथ अध्यक्ष महोदयले बुझिहाले ।
''यी बाबुहरु बिश्वासिला छन् । अरुलाई भन्दैन र देखाउदैनन सचिवज्यू
फैसला लेखेपछि लैजाने गरी फाइल यँही राख्न परयो'' भनेपछि बडो मुस्किलले फाइल हेर्न दिन थाले र एक दुई दिन राख्न पनि
दिन थाले । हामीहरु भने ''अ. त. हरुको गोप्य फाइल पढ्ने र फैसला लेख्न सहयोग गर्ने हामीहरु पनि अ. त.'' भन्दै आपसमा हाँस्दै दिन बिताउँथ्यो । पछि त हामिहरु नै अ.त. भएको भेउ कानुन सचिवले पाएछन् । फेरि अ. त. लेखिएका फाइलहरु अप्ठ्यारामा पर्न थाले तर बिस्तारै २०४६ सालको
जनआन्दोलनको उचाई चढेसँगै हामिहरुप्रतिको इश्वरबहादुर श्रेष्ठको नजर त्यति बाङगीन
पाएनन । यसमा अध्यक्षको सँरक्षणकारी भूमिका र आश्स्वस्तताले भने अवश्य काम गरेको
हो । बिमलराज बस्नेत कुटनीतीक र बढी भद्र मान्छे । धेरैजसो हँस मुद्रामा । शालिन र
समआदरणिय लाग्ने ।
पछि
२०४८ सालको कर्मचारी आन्दोलनमा अगुवा बनेर नेतृत्वदायी भूमिका गर्दै हिडेँको र
दुबै जनामाथि कार्बाहीको छडी बर्सिएको बेला केदारनाथ आचार्यलाई असाध्यै चिन्ता
लागेछ । खबर गरे । गएँ भेट्न । एक आयोगको अध्यक्ष बनेर राष्ट्रिय सभागृहमा काम
गरिरहेका बेला ।
''धेरै माथि पुग्न सक्ने, परिश्रमी मान्छे पो थियौ त तिमीहरु त बाबु, बिनासित्ती किन कर्मचारी आन्दोलनमा लागेर दुख्ख
पायौ ? ख्बै मेरो त शुभकामना छ अझै पनि ।
सचिवहरु पनि (उनै इश्वरबहादुर श्रेष्ठ र बिमलराज
बस्नेत) चिन्तित र आश्चर्यचकित हुनुहुन्छ ।
त्यस्तै म पनि .... अब त मेरो के लाग्छ र तैपनि
शुभकामना छ... " एकप्रकारले दुखमनाउ पो गरे बुढाले । मलाई पनि उनका अगाडि अरुबेला
जस्तो हक्की बनेर बोल्न कठिन भयो । अगाध माया र असिम भरोसाजन्य उन्का शब्दहरुले
मुटुमा छोयो । अली गार्हो मान्दै ''यसो दर्शनका लागि आएको हजुर'' भनेर बिदा मागेँ ।
''हैन हैन मैले नै, लौ न त्यो कँहा छ भनेर खोजेको थिएँ
। चिन्ता लाग्यो । आज अली मन शान्त पार्न पाएँ । बाँकी त तिमीहरुकै हातको
कुरा हो भने........ । म
स्वस्ती चढाएर तल झरेँ ।
३ समालोचना
ततकालिन
दरबारीया शक्तिको भनसुनबाट पनि बचेकै हुन उनी भनेर ठोकुवा गर्न सकिदैन तर अरु अर्थात लोभलालच आदिबाट भने बचेकै हुन । मनसुन पनि
उनको चाख वा साखको बिषय थिएन । धनसुनले त उनलाई ठाडैबाट पनि चियाउनै सकेन ।
समग्रमा भन्दा उनी इमान्दार न्यायाधीशहरुको अग्रपङतीमा उभिएका न्यायमुर्ति हुन ।
सहकर्मीहरुका लागि सहयोगी थिए उनी । अधिकाँश फैसलाहरुको पुर्णपाठ आफै तयार गरेर
दिन्थे । अलिकती पनि मेहनत गरेको देखेभने मुक्त कण्ठले प्रशँसा गरी हाल्थे । उर्जा
दिन्थे । कानुन मन्त्रालयमा काम गर्दा अली गोप्य कार्यशैलीमा रहे उनी भन्नेहरुपनि
छन तर न्यायाधीश पदमा रहेर काम गर्दाभने न्यायाधीशमा हुनुपर्ने आवश्यक खुलापन र
पारदर्शीपन तथा गोपनियतामा उनी सन्तुलित थिए ।
उमेर
र नवचेतनाको स्तरको हामी बिच परिस्थितिलाई बुझ्ने र हेर्ने मापदण्ड र शैलीमा
भिन्नता हुनु स्वभाबिकै थियो । त्यही भिन्नताले होला उनको नेतृत्वमा भएका
प्रशासकीय अदालतका केही फैसलाहरुमा हामी निधार खुम्चाउँथिम । कहिलेकाँही यसमा त
अली मर्का पर्यो कि भनेर भन्नपनि गर्न बाँकी राख्दैनथिम उनैसँग । उनी पनि ''हेर बाबु हो, परिस्थितिवस जागिरेका सबै मुद्दाहरुमा अरु मुद्दाहरुमा जस्तो
स्वतन्त्रता कायम राख्न सकिन्न । सन्तुलन मिलाउनु पर्छ । देखिहाल्यो कानुन सचिवको
कडाशैली । मलाई पनि त गाहारो छ नी.............. ''।
यसोभनेर
चित्त बुझाउन खोज्थे । हामीभने मुसुमुसु हाँसेर सुनी रहन्थ्यो र उनि गएपछि
कहिलेकाँही ''हामी भए त्यसोगर्ने (अर्थात बिचारका कारणले गएका जागिरलाई जान दिने
थिएनौ) थिएनौ'' भनेर पनि आपसमा डिङ हाक्न पनि बाँकी राखेनौँ एकाधपटक ।
यतिवेला
जस्तो सिद्धान्तमा पनि सबै अदालत स्वतन्त्र थिएनन त्यतिवेला अर्थात पञ्चायतकालमा ।
अझ प्रशासकीय अदालत, जसको बनौट नै प्रशासकीय
पदाधिकारीहरुको आधिक्यताको थियो । समयको कठिनतालाई मध्यनजर राख्दा सन्तुलनता
मिलाएकै हुन त्यँहा पनि भन्ने लाग्छ आजकाल ।
जिन्दगीभर
नुनको सोझोको रुपमा कर्मक्षेत्रमा रहेर नेपाल आमाको सेवा गर्ने केदारनाथ आचार्यबाट
मैले प्राप्त गरेको अमुल्य ज्ञान भनेको इमान्दारिता नै हो । उनी जसरी शालिनता बस
बोल्न र प्रस्तुत हुन नसक्ने मेरो नानीदेखि लागेको कमजोर बानी नै हो । तर यतिवेला
न्यायाधीशको पदमा रहेर काम गर्दा जब आफ्नो अगाडि मुद्दाको फाइल आउछ, अझ बहुप्रश्नावली रहेको ठहर गर्न अप्ठ्यारो
लाग्ने खालको मुद्दा हो भन्ने लाग्छ श्रद्धेय केदारनाथ आँखावरिपरि आइहाल्छन र ''बिस्तारै होस गरेर'' भनी उनी कतै सुस्याएर सम्झाइराखेको जस्तो लाग्दछ ।
मेरा
केही सहकर्मी मित्रहरु र केही न्यायाधीशहरु पनि नाता पर्ने नै भएकाले होला
डिल्लीराज आचार्यलाई बढी माया गर्छन केदारनाथ आचार्यले भनेर भनेको उनैले सुनेछन र
एक पटक भनीपनि दिए ''के को नाता पर्नु, उ प्यूठानको अचार्ज म काठमाण्डौको । उ गर्ग
गोत्री म कौडिण्यायन .............। केवल काम मेरो लागि निकटताको आधार हो '' ।
त्यो
सुनेर कर्ममा बाँच्ने र इमानमा बिश्वास गर्ने मेरो अन्तर ह्दय खुसीले रमाएको थियो
। हो, म वास्तवमै पुल्कित भएको थिँए त्यसक्षणमा
। श्रद्धेय केदारनाथ आचार्यको सम्झनामा केही शब्द लेखीरहेको आजको क्षणपनि उनीसँगै
बसिरहे जस्तो लागिरहेको छ । यो अवसर दिने सहकर्मी मित्र पुनराबेदन अदालत
तुल्सीपुरका न्यायाधिश श्री शेषराज सिवाकोटी हार्दिक धन्यवादका पात्र छन ।
स्वर्गिय
केदारनाथ आचार्य इमान्दार न्यायाधीशका रुपमा सधै सधैका स्मरणीय एवम श्रद्धेय
ब्यक्तित्व । ह्य्दयदेखि नै सम्मान भाव राख्दछु उनीप्रति । अनि हार्दिक
श्रद्धान्जलीकासाथ सतत् अभिवादन छ उनका स्मरणीय कर्म एवम सतमार्गीय निर्देशनहरुका
लागि ।
(२०७१।०५।०१ प्यूठान दाङवाङ ७ धनवोट/हाल बिरौटा पोखरा/adrdhanb
No comments:
Post a Comment