Friday, 15 August 2025

निस्वार्थः राष्ट्रिय स्वाधिनता र न्यायिक स्वतन्त्रताका पुजारी (गणेशराज शर्मा)

 

 आफ्नो व्यक्तिगत स्वार्थ र परिवार तथा नातागोताको स्वार्थका लागि काम गर्नेहरु धेरै हुन्छन तर संस्था तथा राष्ट्रको निम्ति निस्वार्थ काम गर्ने ब्यक्तिहरु कमै हुन्छन । त्यस्तै ब्यक्तिगत लाभ हुने संस्था वा राजकीय पदलाई अस्वीकार गर्नेहरु पनि विरलै हुन्छन । भाषा विज्ञानको बुझाई र अर्थमा जे जस्तो अर्थ लागेपनि त्यस्तो मान्छेलाई म जन्मे हुर्केको माटो वरपर बिर्लाकोटीको मान्छे भनेको ऐलेपनि सम्झना छ । हो, यही बिर्लाकोटीका नेपाली नागरिक हुन गणेशराज शर्मा भन्ने मेरो ब्यक्तिगत बुझाइ रहेको छ ।

यसका केही आधारहरुमा पहिलोः प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उनको निबासमै पुगेर कुनै देशको राजदूत वा न्यायाधीश पदमा रहेर सेवा गर्न अनुरोध गर्दापनि अस्वीकार गरेका (पृष्ठ ३९), दोस्रोः कानून व्यवसायको छाता संगठन बारमा राजनीति प्रबेश गरेको प्रति चिन्ता ब्यक्त गर्दै व्यवसायीक वारका लागी समर्पित भएका (३८) , तेस्रोः वीपीको अनुयायी र कार्यकर्ता दुबै नरहेपनि वीपीको बिचार तथा सिर्जनाहरुलाई जनजनमा पुर्याउन जेल जर्नल र आत्मबृतान्तको संपादनका माध्यमबाट विपीको उचाइ श्रीबृद्दि गरी लोकतान्त्रिक बहुलवादी समाजका अनुयायीहरुलाई गुण लगाउने काम गरेका (पृष्ठ ६७). चौथोः प्रधान न्यायाधीशले भेटन बोलाउदा समेत न्यायिक तथा व्यवसायिक निष्ठाको कारणले अस्विकार गरी लेखको माध्यमबाट अपेक्षित बिचार संप्रेषण गरेर स्वतन्त्र न्यायपालिका र न्यायिक निष्ठा श्रीबृद्दिभूमिका निर्बाह गरेका, पाँचौः छिमेकी राष्ट्र भारतीय दबाब र प्रभावको कारणले विशेष गरी नागरिकताको सवालमा भारतीय गुप्तचर संस्था र (R) को भूमिकाप्रति चिन्तित रहेको (पृष्ठ २४ र २५), छैठौः २०५८।०२।१९ मा भएको राजा वीरेन्द्रको हत्या अमेरिका र भारत मिलेर गरिएको हो भन्ने ‘’नेपालको सुरक्षात्मक रणनीति पुस्तकको निष्कर्षबाट प्रभावित ब्यक्तित्वका रुपमा रहेका (पृष्ठ ४२) आदिलाई लिन सकिन्छ।

व्यक्तिगत रुपमा नजिकको सम्पर्कमा नरहेका केवल बिहानी यात्रामा कहिले काही हातमा सानो लठ्ठी लिएर हिड्ने गरेको दृश्यहरुको प्रतिछायाँ आँखाको नानीमा कतै रहेका तर वकालत पेशाको रुपमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा बहस पैरवीका क्रममा भएका उनका उपस्थितिहरु बढी सम्झनामा रहेका ततकाल कार्यरत सबै न्यायाधीशहरुले भित्रीमनले मान्ने विदवान अधिवक्ता हुन गणेशराज शर्मा ।

उनका वारेमा प्रकृति कृतिमा विभिन्न सँगसाथीहरु अनुयायीहरु र उनलाई सम्मानका भावले हेर्नेहरुले आ आफ्नो बिचार र भाव प्रकट गरेका छन। सहृदयी सज्जन ब्यक्ति (कमल दीक्षीत), अनावश्यक गफेर नबसी अध्ययनमा लागि रहने ब्यक्ति (अधिवक्ता विश्वराज पाण्डेक),अनिश्वरवादी (वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली), गरुँगो ब्यक्तित्वका धनी (हरिप्रसाद उप्रेती),सिदान्तको आधारमा न्यायलाई स्थापित गर्न प्रयासरत (डा सुरेन्द्र भण्डारी),सार्वजनिक ओहोदा नखोज्ने वकिल ( धुब्रहरि अधिकारी), गतिलो उपचार नपाएर घरमै मृत्युवरण गर्न बाध्य न्यायका योद्दा (डा सुरेन्द्र के सी),धेरै अर्थमा आदर्श ब्यक्तित्व (काशिराज दाहाल),एउटा वेग्लै ब्यक्तित्व  (युवराज गौतम),विधिको शासनका पर्याय (डा दुर्गा पोखरेल),सधै जेण्टील इडियटको औँला उठाइरहने ब्यक्तित्व (अधिवक्ता बिनोद रोका) आदि आदि ।

किताब छन। बिचार छन । आफन्त छन। सम्बन्ध छ अर्थात यसलोकमा सबथोक छ, उनलाई कसरी स्वर्गिय लेखौँ ( वरिष्ठ अधिवक्ता भरत जँगम ), श्री प्राज्ञिक मनिषि (माधव काफ्ले), ब्यक्तित्व एकः परिचय अनेक ( रामकृष्ण काफ्ले), विपीको ब्यक्तित्वलाई उचो बनाउने साढुभाइ (डा.बिष्णुराज उप्रेती) का सम्मानयुक्त र स्मरणीय बिचारहरुले वरिष्ठ अधिवक्ता स्वर्गीय गणेशराज शर्मालाई भरपुर सम्मान गरेका छन । उल्लिखित शब्द र भावहरुले उनी अजम्मरी पात्रका रुपमा स्थापित ब्यक्तित्व भन्ने बुझ्न सकिन्छ ।

हरेक ब्यक्तिको सम्मान उसको जीवनकालमै हुनु सबैभन्दा राम्रो कार्य हो । अपितू उसका सुकर्महरुलाई उधिनेर र उचालेर जनजनमा पुरयाउदा उत्प्रेरक पात्रका रुपमा पछिल्ला र पीडीहरुले शिक्षा लिने अवसर पाउछन । हरेक ब्यक्तिलाई उसको पारिवारिक, सामाजिक तथा सास्कृतिक, राजनीतिक, शैक्षिक, सिर्जनशिल आदि विविध कोणबाट मूल्याकँन गरे राष्ट्रिय ब्यक्तित्वका रुपमा स्थापित गराउन सकिन्छ । सके अन्तराष्ट्रिय ब्यक्तित्व नै निर्माण हुन सक्दछ ।

गणेशराज शर्मालाई अन्तराष्ट्रिय ब्यक्तित्वमा गणना गर्न नसकिएपनि उनको राष्ट्रिय ब्यक्तित्वका लागि यही पुस्तकमा रहेका शब्द र भावहरु नै पर्याप्त छन ।

मृत्युपर्यन्त उनको सम्झना र सम्मानमा यो सँग्रह प्रकाशनको पुनित कार्य गर्ने संम्पादक मित्र एवं न्यायमूर्ति श्री शेषराज सिवाकोटी सहित ज्ञानगुन प्रकाशन परिवार सबै सबै धन्यवादका पात्र छन । कानून दिवश २०८२ को उपलक्ष्यका सम्बन्धित सबैमा हार्दिक बधाइ सहित शुभकामना ।

२०८१ बैशाख १९                  प्यूठान ऐरावती १। हाल नरेफाँट काठमाण्डौ

 

No comments:

Post a Comment