यतिवेला सिँगो देश
इमान हराएर दुखेको छ
बेइमान रमाएर सत्य लुकेको छ
लोकतन्त्र लुटतन्त्र बिकृत हुने डर छ
जनवादी गणतन्त्रिक बिचार धनवादी बन्ने कहरमा छ
बैतडीको कलकुतेकामीलाई
अथवा किमाथाँकाकी मञ्जरी धामीलाई
लोकतान्त्रिक गणतन्त्रले छोएको छैन
जनवादी गणतन्त्रिक बखानले पनि
उनिहरुको मनको मैलो धोइएको छैन
उनीहरुलाई दुबैको डम्फूको ताल
उस्तै उस्तै लागिरहेको छ
किनकी उनीहरुसँग दुबैले
पसिना र रगत मागिरहेको लाग्दछ
यत्रतत्र उनीहरु जस्तालाई
भोक रोग र शोकले घेरिरहेको छ
बेइमानीले एकपछि अर्को गर्दै
उनीहरुको अस्मिता र स्वत्वलाई हेरिरहेको छ
त्यसैले स्रष्टाहरु तिम्रो कलम अब
सदाचारिताको पक्षमा अझबढी चल्नु पर्छ
तिम्रा शब्द शब्दमा अब
भ्रष्टाचारी र बेइमानहरुलाई भष्म बनाउने
अजम्बरी आगो वल्नु पर्छ
भोऽ पुतपुताउने गरी मात्र अब लेख्न छोडिदेउ
मात्र प्रशँसाका मालसिरी गाउने सँस्कार पनि अब तोडिदेउ
तिम्रो शक्तिशाली कलमबाट
भरभराउदा अक्षरहरुले
शब्दका ज्वालाहरु निकाल्दै
सबैक्षेत्रका भ्रष्टहरुलाई जलाउनु पर्छ
बेइमान र भ्रष्टहरुले हैन
मुलुक त अब इमानी र सदाचारिहरुले चलाउनु पर्छ
त्यसैले
तिमीसँग मेरो लाख लाख बन्दना छ
भ्रष्टाचारीहरुको दोहोलो काट्दै
सदाचारिताको पक्षमा कलम चलाउ
अन्याय अभाव र उत्पिडनमा परेका
कलकुते कामी र मन्जरी धामीको
जोवन र मनमा
अलिकति आस्था जगाउ
न्याय समानता र वैभवताको पक्षमा
इन्कलावका नाराहरु लगाउ
यही आग्रहका साथ
सर्जकहरु
तिमीमा फेरिपनि लाख लाख बन्दना छ
तिमीमा अजम्बरी सिर्जनाको शुभकामना छ ।।
२०७१।०४।०४ बिरौटा
पोखरा
No comments:
Post a Comment