Sunday, 17 August 2025

रुपान्तरिक (परिवर्तित) हुन नसकेको अदालत र मौन रहेको बार

  

सँसारका सबैभन्दा पबित्र कर्म न्याय हो । सबैभन्दा श्रद्धाको धर्म पनि न्याय नै हो । न्यायभन्दा माथिल्लो धर्म केही छैन ।  किनकी न्याय मै सारा सँसार चलेको छ । सारा सँसार अडेको छ । न्यायको पूर्ण अभाव रहेको दिन मानव सँसार रहने छैन । न्यायको पबित्र काममा लोभ लालच द्धेष पूर्बाग्रह बैयमानी हुनु हुदैन । भयो भने न्याय हुनै सक्दैन । भनिन्छ न्यायमा जानी जानी बेइमानी गर्नेहरुको मृत्यु सहज हुदैन । बाँच्दा पनि हरपल मरेसरह नै रहेको हुन्छ भित्री रुपमा मन । त्यसैले यो पनि भनिन्छ  न्यायमा निष्पक्षता र इमान्दारी न्यायकर्मीको धर्म हुनुपर्छ । निष्पक्ष न्यायकै माध्यमबाट सेवाग्राहीहरुको मन छुनुपर्छ ।

यसरी बुझेको न्यायको मर्ममा प्रहार हुने सँकेतहरु हेटौडाको कार्यकालमा देखा परे । त्यसो त हेटौडामा कार्यरत केही सहकर्मी आकृति र तिनीहरुको कार्यशैलीका बारेमा पोखरादेखि नै मनले होसियारीको घण्टी नबजाएको हैन । त्यसैले हेटौडाको कार्यकाललाई होसियारीपूर्ण कार्यकालका रुपमा लिदै गएँ । त्यसरी नै रहेँ । तरपनि परोक्ष्य रुपमा बेइमानी मनहरुले आफैलाई बिक्रीगरेको जब थाहा भयो, तब मनभित्र झन ठूलो घा भयो । भित्र भित्र त्यसखालको प्रबृति र प्रभृतिको बिरोध गरिएकै थियो । त्यसैलाई परोक्ष्य रुपमा उजागर गर्नु थियो र हिर्काउनुको थियो बिदाइको मन्तब्यमा पनि । त्यसैले अदालतको आन्तरिक प्रशासनको असक्षमता, नेतृत्वको अर्कमण्यता र केही प्रबृति प्रतिको तिब्ररोषलाई कुटनैतिक रुपमा राख्दै बाह्य रुपमा केही सुधार गर्न खोजे जस्तो देखिएपनि छिपछिपे सुधार र परम्पारगत शैली मात्र हो भन्दै ब्यक्तिगत रुपमा गरिएका केही प्रयासहरु र कही सुझावहरु कार्यान्वयन नभएकोमा हेटौडाको कार्यकाललाई  ''धेरै धेरै प्रयास गरेँ । धेरै धेरै चेष्टा गरेँ । न मैले आफूलाई बदल्न सकेँ । न तिम्ले आफूलाई बदल्न सक्यौ '' भन्ने गीतको भावलाई सम्झदै ''तिमी चूपचाप हिँडिरहयो ।म मौन बनेर हेरिरहेँ'' भन्ने गीत सरह रहेको अनुभूति भयो भन्ने भावमा बिदाई अभिब्यक्ति राखेँ ।

बारले बिदाई कार्यक्रमका लागि निम्तो १०:३० बजे पाएँ । सुरुमा त औपचारिकता निभाउने हिसाबले मात्र बोल्नु पर्ला लाग्यो । तर भित्री मनले मानेन । जे देख्ने त्यही लेख्ने र बोल्ने शैली नछोड्न भित्रीमनले आदेश दिइरहयो । त्यसैले अभिब्यक्तिमा यसरी पोखिएः

परम्परागत रुपमा भनिन्छ ''Bar is the Judge of judges, Lawyers are the Eyes of Bench'' अर्थात ''बार सँस्थागत रुपमा न्यायाधीशको पनि न्यायाधीश हो र कानुनबिदहरु न्यायाधीशका आँखा हुन'' । तर आधुनिक बुझाइमा यत्तिमात्र पूर्ण हुदैन । ''Sometime Bar would be the hammer for the bench''  अर्थात ''परिस्थितिबस बार इजलासको लागि ह्यामर पनि हुनुपर्ने हुन्छ'' जब जब न्यायाधीश निदाउन पुग्छ अथवा जब जब इजलास सुस्त बन्न पुग्छ, तब तब बार रुपी ह्याम्बर उठ्नु पर्छ । थिति कायम गर्नका लागि जुट्नु पर्छ । बार बेञ्च जे जस्तो भएपनि मौन रहने हैन । बारको मौनताले बेञ्चको सवलीकरणमा ऐठन (बाधा) हुन्छ । पुनराबेदन बार इकाई हेटौडाको आयोजनामा कम्तिमा Bar day  का दिन बौद्धिक बहस सुन्न  पाइएन । सूचना र प्रबिधिको प्रयोगमा बारको सहयात्रा बेञ्च सरह हुन सकेको अनुभूति हुन पनि यो ज्यानले पाएन । भौगोलिक दूरताले राजधानी नजिकको बार, राजधानीको बौद्धिक राप र तापले उर्जामय होला भन्ने लागेको मनले पनि सन्तोष लिन पाएन । तर पनि यहाको बारको बेञ्चसँगको सहयात्रामा सहजता र सरलतापूर्ण कार्यशैलीको भने प्रसँशा गर्न बिर्सन कँहा सकिन्छ र ? बिदवानहरुको तथ्यपरक एबम कानुनसँगत बहसको सम्झना मनको मझेरीमा रहीरहने छ । मेरालागि सबैभन्दा मन छुने बिषय बनेको छ -इजलासमा औपचारिक रुपमा बाहेक अन्त कतै मुद्दाका कुरा बिदवान कानुन ब्यबसायीहरुबाट सुन्नु परेन । यसका लागि सबैसबैलाई धन्यवाद । बिदाई कार्यक्रमका माध्यमबाट शुभयात्राको कामनाका लागि हार्दिक धन्यवाद भन्ने शब्दहरुका साथ ततक्षणमा नै लेखेका तलका काब्यात्मक पङतिहरु राखेर बिदाईको जदौ ! गरेँ ।

                              सेवाग्राहीहरुको मन छुनुपर्छ

बारको ब्यबसायिकता चुलिदै जावस

प्रस्तुतीमा अझ निख्खारपन आवस

किनकी बेन्चको पायन भनेकै बार हो

निष्पक्ष न्यायको वास्तविक सँसार हो      ।१।

निष्पक्ष र प्रभावकारी न्याय

हाम्रो साझा लक्ष्य हो 

सँयुक्त प्रयास र साझेदारी बिना

किमार्थ सम्भव छैन जो           ।२।

तिमी कलश बनेर शोभा देउ

हामी ज्योति बनेर आभा दिने छौँ

तिमी बृक्ष बनेर सितलता देउ

हामी फूल बनेर सुभास दिने छौँ     ।३।

धेरै भन्नु छैन बिदवान मित्रहरु,

हामी एउटै फूलवारीका माली हौँ

बस्दा तल माथि जहा बसेपनि

बस एउटै लक्ष्यका लागि छौ । ४।

फैसलामाः न बार जित्छ न बेञ्च जित्छ

आदेशमा पनिः न बार हार्छ, न बेञ्च हार्छ

बिधिशास्त्रीय मान्यता एउटै हो मित्रबर

बस दुबैको सतत प्रयासले

केवल न्याय पार्छ । केवल न्याय पार्छ      ।५।

हो, त्यही न्याय नै हाम्रो लक्ष्य हुनुपर्छ

यही नै सबैको साझा कर्मको पक्ष हुनुपर्छ

हामी प्रयत्न र कामना गरौँ

हाम्रो साझा चिन्तन र कर्मले

बस सेवाग्राहीको मन छुनुपर्छ ।

मात्र सेवाग्राहीको मन छुनुपर्छ       ।६।

 

२०७२।५।४                                                                                       मकवानपुर, हेटौडा

 

 

No comments:

Post a Comment