Sunday, 17 August 2025

कथा मोँचको लडाइँ

 

जाडोको मौसम । खाजा समय । न्यायाधीशरु अदालत पछाडिको चौरमा बसेर खाजा खाइरहेका । मुद्दाका रुपहरुका बारेमा खाजागफ हुन थाले । एकजना माननीय न्यायाधीश भनिरहेका थिए ''तराईका धेरैजसो मुद्दा त -मोँचका मुद्दा अर्थात जुँगाका मुद्दा हुन्छन

समग्रमा सबैले सबै नबुझे जस्तो भयो । उनले एक घटनाक्रम नै पस्के । दोहोरो कुटपीटको वारदात र दोहोरो कुटपीट मै परेका मुद्दाहरुको फैसला र त्यसको परिणामबारेको बुझाइको क्षणको कथा ।

फैसलामा दुबै पक्षलाई सजाय सुनाइएछ । आखिर कुटपीट भनेपछि नापे तौले जसरी बराबर हुन सक्ने बिषय भएन । फैसला सुन्न आएका कानून ब्यबसायीलाई सँक्षिप्तमा एकलाई घटी र अर्कोलाई बढी सजायको ब्यहोरा सुनाइएछ । फैसला सुनेपछि बाहिरिएका कानून ब्यबसायी उहि इजलासमा अर्को मुद्दामा बहस गर्न फेरि भित्र पसे तर अली खुलेर हाँस्दै बसेछन् ।

            ''किन हाँस्नु भो बिद्वान महोदय ? '' इजलासको जिज्ञासा रहयो ।

      उनले भने ''बढी सजाय भएपनि मेरो पक्ष फैसलाबाट अति नै खुसी भयो श्रीमान''

      ''दोहोरो कुटपीटको मुद्दामा अर्को पक्षलाई भन्दा आफूलाई बढी सजाय ठहर भएकोमा पनि बढी सजाय हुने पक्षमा खुसीपन कसरी ?''  न्यायाधीशले आश्चर्यवोधक भावमा सोधे ।

वकील साहेबले झन् हाँस्दै भने ''श्रीमान् फैसलाले बिपक्षले भन्दा आफूले बिपक्षीलाई बढि कुटेको ठहर भएको र जरिवाना बढी नै तिर्नपरेपनि खासमा मेरो पक्ष झगडीया भन्दा आफू बलियो ठहर अदालतबाटै भएको बुझेर गदगद छ……..'' 

सङ्गै रहेका केहीले त्यतिवेला वल्ल बुझे- मोँचको लडाँई । कथा वाचक न्यायाधीशले थपे हो यही र यस्तै हो श्रीमान मोचँको लडाइ भनेको । यस्तै यस्तै हुन्छ मोँचको लडाईँमा । बिशेषतः मोँचको लडाइका मुद्दाहरु श्रीमान् ।

''सटीक रहेछ श्रीमान् उदाहरणतः '' अर्को कसैले भन्यो । घडीले खाजा समय सकिएको सकेँत दिएपछि न्यायाधीशहरु फेरि मोँचका मुद्दा हेर्न आ-आफ्ना इजलास तिर लागे । तोकिएको इजलासको काम सकिएकोले मभने घाममै बसिरहेँ ।

मेरो भित्री मनले मनमनै विश्लेषण गर्दै गयो, अदातलहरुमा आउँने विवाद (मुद्दाहरु) हरु त चार किसिमका पो हुँदा रहेछन् -() सोँचका मुद्दा () खोचँका मुद्दा () घोँचका मुद्दा र () मोँचका मुद्दा ।

     २०७१।०९।०३                                             भैरवटोल, हेटौडा 

 

No comments:

Post a Comment