बि सँ २०४७ साल बैशाखतिर काठमाण्डौबाट नेपालगन्ज
सरुवा भइ ततकालिन भेरी अञ्चल अदालतमा हाजिर भएको केही समय पछिको कुनै दिन थियो ।
एक दिन जेठान कृष्ण वेलवासेले बाटोमा भेट भएका एक व्यक्तिलाई ‘’वहाँ मदनजी, घर वहाँको पनि प्यूठान, नेपाल बैङ्कमा वरिष्ठतम अधिकृत स्तरका कर्मचारी, मेरा मित्र……’’ यस्तै केही भन्दै चिनाउनु भयो । जेठानले नै साथी भनेपछि मैले पनि
ततक्षणमै ‘’दाइ नमस्कार’’ भनी हालेँ ।
पहिलाको सम्झना छैन, सायदः त्यहीवेलै हुनुपर्छ मदनबहादुर के.सी. सँग औपचारिक रुपमा परिचित भएको ।
त्यसपछि धेरै पटक भेटहुँदा सधैँ ‘’मदन दाइ’’ नै भनेर सँवोधन गरेँ । अरु धेरैलेपनि ‘’मदन दाइ’’ नै भनेको सुनेँ । कारण आ-आफ्नै होलान् ।
उनै मदन दाइको फेसबुकको वालमा एकदिन ‘’झिमरुकको तिरैतीर’’ प्रकाशन भएको स्थिति (स्टाटस ) देखेपछि ‘’वीरगन्जतिरपनि
आउँछ कि झिमरुकको पानी’’ भनेर
लेखेँ । नभन्दै केही दिनमा खामबन्दीका साथ एउटा
पार्सल आयो । खोली हेर्दा त्यही कृति रहेछ । ततकाल अरु नै पुस्तक पढिरहेकोले झिमरुककै
पानी खाएका, सहकर्मी राजेन्द्र सुवेदीलाई पढ्न
दिएँ । केहीदिन पछि शुशाँक (कम्प्युटर) कै माध्यमबाट मदन दाइको प्रश्न आयो पढियो ‘’झिमरुकको तीरैतीर ?
परेन फसाद ! किनेर परै जावस । सित्तैमा पाएपनि नपढ्ने पाठकमा त परिएन भन्ने डर
पलायो मनमा । कारण बताएँ र पढ्ने विश्वास दिलाएँ । लकडाउनको सुरुमै पढ्न खोजेको तर उक्त पुस्तक मित्र राजेन्द्र सुवेदीको
दराजमा बन्दी भएछ ।
केहीपछि खुल्यो दराज र हात परयो । २०७७ बैशाख ८
गते बिहानैबाट पढ्न थालेँ । साँझ पढेँ । भोलिपल्टको बिहानपनि पढेँ । दिउसो पनि
हातमा समाउदै अदालत लगेँ । तर लकडाउनको समय भएपनि अदालती काममै बित्यो । खुब पढैया
रहेछजस्तो अरुलाई पर्ने गरी हातमा लिदै डेरामा ल्याएँ । साझँ पढेँ । भोलिपल्ट
बिहान र साँझ पढेपछि मात्र तुरियो । पढ्दै मनपरेका केही शब्द र केही वाक्यहरु
अध्ययन टिपोट डायरीमा टिप्दै गर्दा डायरीमा २४ पेज भएछ । पढिसक्न जम्माजम्मी करिब
१३ घण्टा लाग्यो होला ।
नबिराई भित्रीमनदेखि चर्मचछु डुलाउदैँ लगेँ । प्रा.डा.गोपिन्द पौडेलको झिमरुकको तीरैतीरः भावनात्मक यात्राको अविरल प्रवाह (भूमिका) पढ्दा नै धेरै कुरा थाहा भो । अधिवक्ता भीमनाथ घिमिरेको सम्पादकीय
कलम पाएको रहेछ पाण्डुलिपीको उमेरमै । ‘’मदन-आत्मबृतान्त, मदन-जीवनकथा, औषत्
जिन्दगी, दौँतरीको सुन्दर वचपन, दौँतरी रित्तिएको गाउँ, झिमरुकको छेँउ किनार, निरन्तर वग्दछ झिमरुक, आदि नामका बारेमा मन्थन भएको जस्तो लाग्दछ पढ्दै
जादाँ । अन्तमा सम्पादककै जजमानीले ‘’झिमरुकको तीरैतीर‘’ न्वरान भएको रहेछ ।
मदन बहादुर के सी अर्थात मदन दाइले जीवनको आरम्भ २०१२
सालदेखि २०७४ सम्मको इतिबृति रहेछ पुस्तकमा । जिन्दगीमा जे जे पाए वा जे जे गुमाए
वा जिन्दगीमा जे जे मा परिय वा पारिए मदन, तीमध्ये धेरैलाई सम्झने र पस्कने प्रयास गरेको लाग्दछ पढ्दै जादाँ ।
यध्यपि एउटा भनाइ छ कि मान्छे जस्तो सुनिन्छ त्यस्तो देखिदैन र बाहिरी रुपम जस्तो
देखिन्छ भित्री रुपमा त्यस्तोपनि हुदैन । अजीवको हुन्छ मानव प्राणी । आगो, पानी अक्षता फूलपाती र समाजलाई साक्षी राखेर
सँगै बाँच्ने र सँगैमर्ने कसम खाएका दुई प्राणी अर्थात लोग्ने स्वास्नीका बिचमा
पनि एकले थाहा नपाएका एक अर्काका सत्य तथ्यहरु कति हुन्छन हुन्छन ? त्यसैले भनिन्छ, मानिस बुझियो त सँसार बुझियो कुनैपनि मानिस समग्रमा कसैलेपनि बुझ्न
सक्दैन । किनकि समग्रमा कुनैपनि मान्छेले आफूबारेमा अर्कोलाई बुझाउँनै चाहदैन । अझ
भनौ चहेरपनि परिस्थितिवस बुझाउँनै सक्दैन । तिम्रो बारेमा सबै बुझेको छुँ भनी
कसैले भन्दछभने त्यो उसको आत्मरति मात्र हुन जान्छ ।
भूमिका, सम्पादकीय,
तस्वीरखण्ड, र मुख्य खण्ड सबैको जम्मा जम्मी ४०८
पृष्ठभित्र विशेषतः मदन स्वयमले राखेका शब्दहरुबाट मदन बहादुर के.सी को समग्रता बुझ्न सकियो म भन्दिन । तर धेरै बुझियो । धेरै नजिकबाट
हिमचिम नभएपनि भेटदा र कुरा गर्दा हकी लाग्ने, हसिला, प्यूठानी भनेपछि थप स्नेह भाव देखाउने, जीवनमा केही गर्नपाए हुन्थ्यो भन्ने र श्रमजीवी
जीवनशैलीका पक्षधर लाग्ने मदन बहादुर के सी (९८५८०२२४१९) का बारेमा बुझाउन ‘’झिमरुकको तीरैतीर’ सफल छ । मदन दाइ उर्फ अर्जुन क्षेत्रीको जिउ, ढाल र हसिँलो वान्कीलाई सम्झदै पुस्तक पढदै गर्दा
झन् मजा आयो । नेपालगन्जको भेरी अञ्चल अस्पताल वरपर सँगै बसे (हिँडे) जस्तो लायो ।
२०१२ सालमा ततकालिन लुङ्ग गाउँपञ्चायत वार्ड न १
निबासी टोपबहादुर के.सी. र मोहनाकुमारीको काखमा जन्मेर २०३३ सालमा लक्ष्मी केसी लगन गाँठो कसी
प्रल्हाद, सुरेन्द्र, सम्झना र सर्विन्दाका पिता बनेका मदनको वाल्यकाल
लाडिलो, युवाकाल अल्लारेजस्तो, प्रौढकाल सँघर्षमय र औषतमा परिपक्क, सेवा निबृतकाल के गरौँ कसो गरौकाल र वर्तमान स्मरण (छ छ मनैमा) काल जस्तो लाग्यो यो कृति पढिसकेपछि
।
वाल्यकालमा सिन्को भाँच्दैनन् । २०२८ सालमा
प्रबेशीका पास गरी राजधानी पुगेका मदन प्रविणता प्रमाणपत्र तह पास गर्न करिब ६ वर्ष
लगाउँछन् । छ महिनामा ७२ वटा फिल्म हेर्छन । यो वा त्यो सँग पटकौ डेरा सार्छन ।
लामो समयसम्म बाबुको कमाइको आधारमा जुल्फी कोर्छन । मुड्की बजार्छन । डेढदशक भन्दा
बढी जति पप्लुवाज र दरुवामा गनिन्छन । तर अरु अरुको देखेर विस्तारै होस पलाउन
थाल्छ । जागिर खानतिर लाग्छन । जागिरमा कसैको दपस सहँदैनन् । लखेटिन्छन तर
थाक्दैनन् । जागिरभित्र स्वाभिमान साँच्नमा प्रयासरत रहन्छन । सन्तान र तिनीहरुको
सफल भविष्यलाई आफ्नो वास्तविक सम्पत्ति मान्छन । अन्ततः एकमुष्ठ रकम लिइ उच्च
शिक्षा दिने पवत्रम उद्देश्यले सन्तानकै भविष्यका लागि अनिवार्य अवकाश हुनु करिब
१३ वर्ष अगावै स्वेच्छिक अवकाश (VRS) लिएर
नेपाल बैङ्कको वरिष्ठतम अधिकृत तहको जागिर छाड्छन । यही बिच वेष्ठ जोन र मोर्डन
पब्लिक वोर्डिँग स्कूलहरुको सञ्चालन देखि मालिका बिकास बैङ्कको प्रबन्धक र झिमरुक
बिकास बैङ्कको सँस्थापक/
प्रवन्धक हुँदै ३७ वर्षपछि प्यूठान अर्थात घर फर्की जेनतेन ७ वर्ष बस्छन जन्मथलोमा
। जन्मथलोलाई पूनः कर्मथलो बनाएर मरनथलो बनाउने सपना आफै तुहाउँछन र फर्केर
नेपालगन्जमा शरणागत हुन्छन् । उनको जीवनीको छिपछिपे कुरा यही हो । तर गहिराई भिन्दै
र मजेदार छ । गहिराइका लागि आफै डुबुल्की मार्नुपर्छ पाठकहरु ।
सबैले जसो उनलेपनि जीवनमा केही सन्दर्भहरुलाई आश्चर्यका
रुपमा लिएका छन नम्बरवाल चावी, विजुलीबाट
चल्ने पँखा, ल्पेन, मिटरवाल गाडी, प्रेमसिँहको सँगतले लिएको पहिलो गिलास, हुकुमबहादुरसँग पहिलो पटक खाएको मःमः, फेरीले बस तारेको रोमाञ्च, पहिलो मगनी भत्कने ज्योतिष ठहर मिल्नु, ल्पेनको टिकटमा नाम भन्दा थरपहिले लेखेको र अजँगरको जनावरको छतमा
मान्छे बसेको दृश्य, छयास छयास गर्ने प्रेसर कुकर भाँडो र
त्यसको पकाइ आदि आदि ।
बाबु आमाको देहावसान त सबै सन्तानका लागि बिर्सनै
नसक्ने पिरहरु बनेर बसेका हुन्छन तर उनका लागि पौडीया र ढडिया साथीहरु र धर्मबहादुरको आत्महत्यासहित स्कूलीया दौँतरीहरु
(पुस्तक समर्पित विशेषतः ७ जना) चाडैँ गएको घटनाक्रमले उनलाई यध्यपि पिरोलिरहेको
छ । आफूलेपनि दारुलाई निरन्तरता दिएको भए ऐलेसम्म उनिहरुसँगै गइन्थ्यो भन्ने
आत्ममूल्याङ्कनपनि गरेका (पृष्ठ
३६९) छन । सँगसँगै दारुको कूलत छोड्न
नसक्नु इच्छाशक्तिको अभाव हो भन्दै एकैपटक झ्याप्पै छोड्न नहुने (पृ ३६३) आफ्नो भुक्तभोगी व्यथा सुनाउदै सुझावपनि रहेको छ उनको ।
बाबु आमाको नाउमा स्कूलहरुमा अक्षयकोष स्थापना, स्कूलहरुलाई निःशुल्क पुस्तक र मसलन्द, कूल देउताका नाउँमा पनि अक्षय कोष, निःशुल्क प्रशिक्षणबाट आफ्नो ज्ञान अरुमा सम्प्रेषण, बम हानी माछा मार्नेहरुलाई हतोत्साहन गरी झिमरुक
बचाउ अभियानमा सघाउ, झिमरुक बिकास बैङ्कको स्थापना र चाहे
समाजका लागि केही न केही गर्न सकिन्छ भन्ने विभिन्न सतकार्यहरुका माध्यमबाट केही न
केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन । वेलैमा सुगर र प्रेसरले चापेर होला रोगले धेरै बुढयौलीसम्म चापेन
भने त्यही नै सबैभन्दा ठूलो सुख सम्झेका छन मदन बहादुर के सी ले ।
आख्यानकारले लेखनमा धेरै हदसम्म (विभिन्न परिस्थितिवस आफ्नो बारेमा ब्यक्त गर्न
पूर्ण इमान्दार हुनै सक्दैन मान्छे भन्ने समीक्षकको व्यक्तिगत बुझाइको कमजोरीले) इमान्दार रहेका छन भन्ने प्रमाणहरु धेरै दिएका छन
।
फाँडो खाइ छाक टारेको, दरुवा भएको, पप्लू-मेरीजको लतमा फसेको, काठमाण्डौमा डेरा जाने बाटो नभेट्याएर हराएको, मीनबहादुर सँग पोखरामा गएर रोएको, अब आइन्दा आन्दोलनमा नलाग्ने कागज गरी छुटेको, पहिलो मगनी भत्केपछि सोही कार्डमा केटीपट्टीको
नाउ पत्तिले खुर्केर अर्को मगनी गरी ततकाल कार्ड तयार गरेको, नोवल ज्याविन द्वारा लिखित द साइन्स अफ हयूमन
ह्याण्ड पुस्तक कारणवस फिर्ता गर्न नपाइ आफूसँगै रहेको जस्ता कमजोरी वा परिघटनाहरु
लुकाएका छैनन । घर पहाड हाल नेपालगन्ज भन्दापनि पीडा हुने (पृष्ठ ६) भनेकाले अन्तत प्यूठानको घरको बसाइ लाख कोसिस गर्नुको पछाडिपनि सभ्भव
नभएपछि नेपालगन्जमा शरणागत बनेको भनेर आफै कान समाउनु (पृष्ठ ३७६) आदि हुन । पुस्तक कतिपय आख्यानकारहरुको जस्तो आत्मप्रँशसाको पुलिन्दा
बनेको छैन भन्ने यो भन्दा ठूलो प्रमाण अरु केही खोज्नु पर्दैन। दारुको लतबाट छुटाउन लाख प्रयत्न गराउने, अभावमापनि कहिल्यै नआइत्तिने श्रीमतीको सहनशिलता
र सहयोगको प्रशँसा स्वभाविक हो । बाबु नानीहरुले राम्रै गरेको प्रत्यक्ष प्रमाण
बनेर बसेका छन । यसमा सन्तोष लिनु उनको हक नै हो । आफ्नो बा पछि माइलाबा पारिवारिक
आदर्श ब्यक्तिका रुपमा रहेका छन उनकालागि ।
२०३५ सालमा प्रबेशिका दिएको मेरा लागि पनि धेरै नौला
कुराहरु छन यसमा । आजकलका बिध्यार्थिहरु वा नवीन पाठकहरुकालागि त आश्चर्य
मान्नुपर्ने माथि उल्लिखित केहीका अतिरिक्त अरु धेरै सन्दर्भहरु छन । जस्तोः २०२८
सालमा रु १४५ मा भैरहवा काठमाण्डौको हवाइ टिकट, एकपाउ खसीको मासुको रु २।, वल्कोनी टिकटको रु १।९८, काठमाण्डौ भक्तपुर बसभाडा रु १। ततकालको मूल्य विवरणलाई लिन सकिन्छ । ,नेपाली स्रष्टाहरुमा खगेन्द्र सँग्रौला, कृष्ण धराबासी
र बुद्दिसागरलाई विशेष मनपराउने मदन म्याक्सिम गोर्की र लूसूनका पाठक बनेछन् धेरै
समयसम्म । वैचारिक रुपमा मोहनबिक्रम सिँह तथा मोहन वैध्यका चेला हुन भन्ने बुझिन्छ
। मनपर्ने शिक्षकहरुमा मोहन वैध्य र बेगमबहादुर विष्टको विशेष सम्झना गरेका छन् । लेखनमा
हिन्दी र अँग्रेजी शब्दावलीहरु वग्रेल्ती छन र साथसाथै उखान टुक्काहरुले चटनीको
काम गरेका छन ।
आजकलका पाठकहरुका लागि नेपाली शब्दहरु नै पनि
बुझ्न कठीन खालका केही छन । स्थानिय विशेषता वोकेका जस्तैः जेतेपाते, जिनिस, टटोल्दा, तुर्ने, भाउँतो, भुस्कुट, जौनाजौना, तौनातौना, अमल, कल्यो, स्वपाक्य, वदौलत, मस्तराम, तकरार,चाचर, वालिघरे, ढडिया, छूची, घरुवा, फिर्की, टाँगो,अर्नि, उधोँउभोँ, फटिचर, ओखटै,जरुवापानी,अदब, पोकोपुन्सारो, नरोवा
कुञ्जरो वा, छोटी बस्ने, धराले, तुरुन तुरुन आदि ।
आबृति बढी भयो ( प्रा. डा. गोपिन्द पौडेल) त्यसैले
मोटो भयो । आख्यानकार आफैले करिब ३०० पृष्टभित्र हुनुपर्छ आख्यान भनी मानेको तर
आफ्नै कृतिको पृष्ठ ४०० नाघेको छ । भाषिक एकरुपता देखिदैन तर मौलिकताको हिसाबले अतुलनीय छ (सम्पादक
भीमनाथ घिमिरे) । मेरो ब्यक्तिगत बुझाइमा आख्यान
निजात्मक कुरा बढी हुनु स्वभाबिक मानिन्छ तर धेरै सन्दर्भलाई सँक्षिप्तमा राख्न
सकिन्थ्यो र सार्वजनिक जीवनका लागि उपादेयी हुने सन्दर्भहरुलाई बढाउन सकिन्थ्यो ।
काल वा बिषय विभाजनका साथ राखेको भए छोटोपनि र अझ मीठोपनि हुने लाग्यो । जस्तोः वाल्यकाल, उच्च अध्ययन, जागिरका आरोह अवरोह, जागिर
पछिको जागिर, पारिवारिक दायित्व, फर्केर जन्मथलो, समाजप्रतिको समर्पण, आफैलाई
हिर्काउँदा, झिमरुकको तीरैतीर र नेपालगन्जमा
शरणागत यस्तै यस्तै….केही हुन सक्थ्यो ।
‘’झिमरुकको तीरैतीर’ शिर्षक मीठो
तर शिर्षकको सार्थकताको धेरै नजिक हुने विषयवस्तुको अभाव महसुस भयो । प्राकृतिक
रुपमा झिमरुक लुङ् खोलादेखि बाधँसम्म मात्र होइन । वरौँलासम्मको छिपछिपे हिडाँइ वा
बुझाइ मात्र पनि होइन झिमरुक । यो त गौमुखीदेखि ऐरावतीसम्मका विभिन्न जलउपधारा मिश्रीत अबिरल यात्रा
हो । विशेषत समग्र प्यूठानीहरुको जीवनी हो । उपकार हो । सँस्कार हो । व्यबहार हो ।
सँस्कृति हो । आहार हो र बिहार पनि हो । अर्थात समग्रमा कहीलेकाँही वैँशमत्ताभइ
उर्ल्लेर आउँदा बिनाशक जस्तो देखिएपनि प्यूठानीहरुको धन हो र साझा मनपनि हो ।
कृत्रिम रुपमा चेरनेटामा बाँध बानेर माढीमा मिसाएर झिमरुकको समग्रतालाई
खुम्च्याएको मान्न सकिदैन । यसो हुनु झिमरुक प्रति अन्याय हुन जान्छ । त्यसो
भयोभने ‘’जसको सीता खाइः उसकै गीत नगाइ’’ हुन जान्छ । आशा छ आख्यानकारले अर्को सँस्करणमा
कम्तिमा ऐरावतीसम्म बिचरण गरी झिमरुक विध्युत बाँधभन्दा तलपनि छापे जुकेने डाबर
आदि जलउपधारहरु मिसिदै ऐरावतीमा पुगेर माढी (माण्डवी) सँग
आलिङ्गीत भएपछि मात्र झिमरुकको स्वतन्त्र पहिचान सकिन्छ त्यसैले गौमुखीदेखि माघेसक्रान्तिमा ऐरावती
पुगेका दिनहरुको स्मरणसमेत गरेर झिमरुक (धर्मावती) लाई
समग्रतामा न्याय गर्ने छन अर्को सँस्करणमा मदन दाइले भन्ने मनमा लागिरहेको छ ।
आख्यान वा आत्मबृतान्त व्यक्तिको जीवनको लयको
समग्र रुप हो तर पनि यसले समाजलाई छुन सकेको हुनुपर्छ । कुनै ब्यक्तिको भोगाइबाट
समाजको अर्को ब्यक्तिले के के लिन सक्यो वा सक्दछ ? र त्यो कुन कुन सन्दर्भमा
सार्थक हुन सक्यो भन्ने नै आत्मबृतान्तको प्रभावको मापन आधार हुने गर्दछ ।
कुन्नी किन हो ? लेखक मदन बहादुर के सी ले नेपाल बैङ्क लिमिटेडको जागिरे जीवनमा भोगेका
सकारात्मक र नकारात्मक तर शिक्षाप्रद सन्दर्भहरु सबै आए भन्ने लागेन । त्यसैगरी
बिध्यार्थी जीवनदेखिको बिचारको प्रबाहले बाह्य वा भित्री जीवनमा ल्याएका
तरङ्गहरुको पनि न्याय हुन सकेन भन्नेपनि लाग्यो ।
लेख्दै जाँदा लेखकको बैचारिक पक्ष उजागर हुनु
स्वभाबिक हो । बिचारविहिन मान्छे हुनै सक्दैनन् । कसैले कुनै बिचार अर्थात
राजनीतिक आस्था बिहिन हुँ वा छुँ भन्छभने मानिस राजनीतिक प्राणी हो भनी मान्ने
राजनीतिक शास्त्रको मान्यतामा त्यो पशुतुल्य हुनजान्छ । केवलपुरे किसानले लेखेको ‘’बिचारबिहिन मान्छे हुन्न भकारीको भूस ….भन्ने कवितामा भनेजस्तो हुन जान्छ । माओवादी
जनयुद्दको उचाइबाट उनी धेरै हौसिँएको देखिन्छ । ‘’माओवादी प्रभावको कारणले मूलतः सेना आत्मसमर्पण मात्र गर्न बाँकी थियो’’ (पृष्ठ ३२०) उनको
निष्कर्ष त्यसैको परिणति हो भन्ने लाग्दछ ।
ततकाल जारी जनयुद्द न माओवादीको जित, न त्यतिवेलाको साही नेपाली सेनाको जित को स्थिति पुगेर अडिएको र जसले
जिते हारेपनि दुबैतिरबाट मर्ने वा मारिने नेपाल आमाका सन्तानहरु भएको शक्ति र
ततकालिन परिस्थितिको सन्तुलनताको कारणले सम्झौताबाट अन्त्य भएको हो भन्ने मेरो (अरु धेरैकोपनि) बुझाई भन्दा उनको बुझाई फरक रहेको देखियो । ‘’कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्दी’’ न हो ।
झिमरुकको पानी वाल्यकालको सञ्जीवनी हुनु, जागिरे जिन्दगीपनि सँघर्षकै कहानीले भरिनु, स्वभावगत रुपमा हकी हुनु र स्वाभिमानी बन्ने
प्रयत्नरत हुनु, आफ्नै पसिनाको श्रमले नेपालगन्जमा
पहिलो बास बनाउनु, कलमको नाउँबाटपनि शब्द सिर्जाना
गर्नु, सबैभन्दा बढी मध्यपश्चिममै रहेर
राष्ट्रसेवामा समय विताउनु,
जन्मेको थलो अरु धेरै सगोत्रीहरुले छोडेपनि आफूले नछोडेर विशेषतः मन बचन र कर्मले
प्यूठानी बनेरै ऐलेसम्मको जीवन बिताउनु र झिमरुकको सेरोफेरोको भलो चिताउनु जस्ता
जीवनशैलीमा समानताहरु रहेछन आख्यानकारसँग यो समीक्षकको । यो अर्थमा झन खुसी लाग्यो
।
त्यसै त केहि न केही लेख्दै बस्ने बानी अझ पढेपछि
त्यसमापनि मदन दाइको जीवनी पढेपछि नलेखी कसरी बस्न सक्नु र ? केही लेख्छु भनेको गथासो नै भयो क्यारे ।
तेजबहादुर के सी, राजेन्द्र सुवेदी, मोहम्मद जुनेद आजाद आदि एउटै पेशाका
कलमजीबीहरुको नाउँपनि सन्दर्भबस आएका छन् । समकालिन र केही अग्रज परिचित धेरै अरु सम्झने
नाउँहरु र सन्दर्भहरु छन । लेख्दै जाँदा झनठूलो गथासो हुने डर लाग्यो ।
मदन दाइ, स्नेहबस प्रेसित ‘’झिमरुकको
तीरैतीर’’ पुस्तक प्राप्ति भयो । पढियो । थोरै
रकम (रु५५०।) को भौचर के भर्नु लाग्यो । समीक्षा (चिठ्ठी) लेखेर पठाउन मन लाग्यो । भाउजु लक्ष्मी के सी लाई उही प्यूठानी अर्थात धनवोटे देवरको अभिवादनको
चिठ्ठी भनेर हातमा राखिदिनु हुनेछ । भाउजुलाई पुनः प्रकाशन गर्न दिनु अघि
पुनर्लेखन गरी परिमार्जन गर्दा प्यूठानलाई आधि घर नभनिदिनू होला । नेपालगन्जमा पूरै
शरणागत नबनिदिनू होला । नेपालगन्ज दोस्रो घर अर्थात कर्मको घर अवश्य हो । तर एउटा
ब्यक्तिको स्थायी ठेगाना दुई ठाउँमा हुदै हुदैन मदन दाइ । त्यसैले कम्तिमा पनि
स्थायी वतन प्यूठान, हाल नेपालगन्ज भनेर राखिदिनू होला । लुङ्खोलाको दोभानमा पौडी खेलेर तल तलसम्म बाँकाटे
हान्दै गएको झिमरुकको पानी, झिमरुक
नै मुखमा झुण्डिएको बहुसँख्यक प्यूठानीहरुको जीवनशैली र बानी तथा प्यूठानी माटो
अनि बाग्दूला भालुवाङ्गको बाटोलाई जीवनपर्यन्त नबिर्सनु होला । बस यही आग्रह।
समुद्रको गहिराई वा नदीको वेगको यथार्थ मापन
नदीको पौडी मै भरपर्छ । अरुले मारेको डुबुल्कीबाट सालाखाला जानकारी मात्र हुन्छ ।
त्यसैले झिमरुकको तीरैतीर नजर नलगाएका श्रद्देय पाठकहरुसँग यही सादर निबेदन गर्न मन
लाग्यो ।
प्रिय पाठकहरु, सुनेको झिमरुक भन्दा देखेको झिमरुक राम्रो र लेखेको झिमरुक भन्दा
देखेको झिमरुक झनै राम्रो । प्यूठान जाउ । झिमरुक देख । सके झिमरुकलाई आफ्नै कलमले लेख । मनैले झिमरुकको
तीरैतीर समाउ । अनि रमाउ । तिमीलाई हार्दिक सुस्वागतम् ।
मदन दाइलाई फेरिपनि बधाई र जागिरे जीवनको अवकाश
प्राप्त समय सिर्जनाका लागि अविरल यात्रा बनोस ह्दयतः शुभकामना ।
२०७७।१।१० प्यूठान, ऐरावती-१ धनवोट /हाल माइस्थान, वीरगन्ज
No comments:
Post a Comment