Sunday, 17 August 2025

सम्झनामा पोखरा बारको बिदाई

                                                   

कुन्नी किन हो बिदाई भनेपछि फेरि भेट नहुने गरी पठाउन लागेको समय जस्तो लाग्छ मलाई ! त्यसैले बिदाई नभनेर शुभयात्रा कार्यक्रम भन्नु बढी सान्दर्भिक ब्यबहारिक तथा मिठासयुक्त हुन्छ भन्ने मेरो बुझाँइरहेको छ ।

शुभयात्रा वा हालसम्म प्रयोग भइआएको शब्द ''बिदाई'' को कार्यक्रमको समय भनेको भावी यात्राको सफलताको लागि अञ्जुली थापेर बस्ने बेला । अझबढी मेहनती बन्न सतत प्रेरणा लिने समय हो । यस्तो समयमा बार र बेञ्चका सम्बन्धका कुरा वा सँगठित बारको महत्वको कुरा गर्नु जरुरी हुदैन । त्यसैले आरम्भमा केही शुभेच्छा र अपेक्षाका साथ आत्मसमीक्षात्मक शैलीमा आफ्ना प्रस्तितहरु राखी बिदाई कार्यक्रमको आयोजना र ब्यबस्थापका लागि पुनराबेदन बार इकाइ पोखरा तथा जिल्ला बार इकाइ कास्की र सम्बद्ध बिद्धान कानुन ब्यबसायीहरुमा हार्दिक धन्यवाद आजको मेरो प्रस्तुतिको  केन्द्रिय बिषय रहनेछ ।

बिगत तीनवर्ष १ महिनाका बिचमा बार इकाई र सम्बद्ध बिद्धान कानुन ब्यबसायीहरुले देखाउनु भएको ब्यबसायिक सदभाव र सहकार्यको सराहाना गर्दै अवका दिनका त्यसले थप उचाई कायम गर्ने छ भन्ने मलाई लागेको छ। शालिन र भद्रताको एक नमुना ब्यक्तित्व (श्री डम्बरबहादुर शाही ) मुख्य न्यायाधीशलाई तपाइहरुले स्वागत गरिरहनु भएको छ । यसबाट वँहाको शालिनता र भद्रताको सधै सम्मान हुने र दुरुपयोग नहुने बिश्वास पनि लिनुपर्ने भएको छ । साढे तीन दशक न्यायाधीश पदमै रहेर अनुभव हासिल गर्नु भएका शाहीको नेतृत्वमा बिगतको भन्दा पुनराबेदन अदालत पोखराको कार्यप्रभाव अझबढी चुलिएर जानेछ र गण्डकी क्षेत्रकै न्यायिक इतिहाँसमा कामले सुनाम दिने तथा निष्पक्षताको जलपले टल्कने र यसक्षेत्रके न्यायिक प्रभाव जन जनका मनमा झल्कने बन्न सकोस मेरो हार्दिक शुभेच्छा छ ।

तीन वर्षको कार्यकाल आउनु अघि सम्झेजस्तो जटिल, द्धन्द्धात्मक र अन्तरसँघर्षमय कार्यकाल बनेन । यसैले सफल कार्यकाल भएको महसुस गरेको छुँ । एकजना बिद्धानलाई आफूसमेतको इजलासले अपहेलनामा कारबाही गरी सजाय समेत सुनाउनु परयो । यसलाई मैले एक बाध्यात्मक दुःखद क्षणका रुपमा लिएको छुँ । तुलनात्मक रुपमा बढी पेशी हटाउन माग गर्ने इजलास पो बन्यो कि भन्ने लागिरहेको थियो तर तथ्याकँहरुलाई बिश्लेषण गर्दा तेस्रो क्रममा  (कुल ४०७७ मा ५९२) परेको रहेछ ।

'' न सरुवाको डर, न कसैले केही भन्ला भन्ने पीर, अचम्मै रहेछ श्रीमानको कार्यशैली त, सुनेको जस्तै रहेछ '' आएको तीनमहिनापछि बिद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णबहादुर थापाले भनेको सम्झना पनि आइरहेको छ यतिबेला ।

जानी जानी इमान बेचिएन । कसैको भनसुनमा झुकेर न्यायपूर्ण कार्यशैलीलाई  हेपिन दिइएन । इमान साँची राखेर चलाएका कर्मक्षेत्रका पाइलाहरुले मात्र सार्बजनिक जीवनमा छाती फुलाएर हिड्न र बोल्न सकिन्छ ।

न्यायाधीशको औपचारिक मुल्याँकनकर्ता न्यायपरीषद हो तर अनौपचारिक रुपमा सँगठित बार पत्रकार र नागरिक समाजे मुल्याकन गरिरहेको हुन्छ । न्यायपरीषदको मुल्याँकनको तत्कालिन मह्त्व हुन्छ तर दीर्धकालिन रुपमा र अझ सेवाबाट बाहिरिएपछि पनि र सारमा भन्नेहो भने मरेपछिपनि मह्त्व राख्ने मुल्याकँन भनेको अनौपचारिक मुल्याकँनले नै हो । जनजनको मनमा पस्न सक्ने र निष्षक्षताकासाथ जीवनका कर्मका रेखाहरुमा बस्न सक्ने न्यायकर्मी हुन सकेको प्रमाणित गर्दछ त्यसले ।

शुभयात्रा कार्यक्रममा कार्यक्षेत्र छोडेर जानेले गर्ने भनेको आत्मसमीक्षा नै हो कार्यकाल आफैलाई कस्तो लाग्यो आफैले आफैलाई निर्मम रुपमा प्रहार गर्दै मुल्याकँन गर्न सक्नु पर्दछ । यसका लागि इमान्दारिताकासाथ काम गर्नेहरुमात्र यस परीक्षामा सामेल हुन सक्दछन । यसकोणबाट हेर्दा ''आफुसँग परिचयले धेरै नजिक रहेको न्यायाधीश'' भनेर मनको लड्डु बाड्ने एकाध आकृतिबाह्य डिङ सुरुमा सुनिए । अर्कोतिर हारेको मुद्दाका पक्षलाई न्यायपरीषदमा उजुर हाल्न उधदत बनाउने कानुनकर्मीका शब्दहरु पनि कानमा परे ।

''अन्यायपूर्ण रुपमा मुद्दा हारियोभने कँहा उजुर गर्ने श्रीमान'' ? भनेर तिखो र रुखो स्वरले फोनमा सोध्ने समाजसेवीका स्वरहरुले आफ्नैसमेतको इजलासको फैसलालाई पनि इँकित गरेको पनि याद आइरहेको छ यतिवेला । सार्वजनिक कार्यक्रमहरुमा हुने गरेको अधिक सहभागिताको सुखद वा दुःखद दुबै परिणाम ब्यहोर्नु पर्दछ जिम्मेवार पदमा रहेपछि । प्रमाण नै नभएको कारणले न्याय नपरेको वा प्रमाणको मुल्याँकन गर्ने क्षमताले नभ्याएको कारणले न्याय नपरेको हुन सक्दछ तर जानीजानी धनसुन, मनसुवा वा भनसुनको पछि लागेर न्याय बेच्ने कार्य आजपर्यन्त भएको छैन । न त भबिष्यमा नै हुनेछ । हार्नेले आलोचना गर्नु वा असहमति जनाउनु न्यायमा पक्षधरताको बिशेषता नै हो । म त भन्दछु सार्वजनिक स्थान अर्थात कुनै चौरमा जनताको बिचमा बसेर न्याय सम्पादन गर्ने हिम्मत राख्नु पर्दछ न्यायकर्मी अर्थात एक इमान्दार न्यायाधीशले । इजलासका औपचारिकता अझ कतिपय सन्दर्भका अनाबश्यक बन्द इजलासका बहानाहरुबाट हैन । गोपनीयता र न्यायाधीश तथा न्यायकर्मीको सुरक्षाको कारणले बन्द इजलास कायम गर्नु पर्ने अवस्थामा बाहेक अदालतका काम कार्बाहीहरु सधै खुला हुन्छन र हुनुपर्छ । पारदर्शिताको एक ज्वलन्त नमुना हो अदालती कामकार्बाही । त्यसैले इमान्दार न्यायकर्मीहरु बिशेषतः न्यायाधीश आफ्नो कामका लागि जहिले पनि जवाफदेही बनिरहेको हुन्छ र हुनुपर्छ । मिसिलमा रहेका तथ्यहरु आफै बोल्छन उसको इमान्दारिताको बारेमा ।

सार्वजनिक जवाफदेहिताको पदमा रहेका हरेकले कार्यक्षेत्रका आलोचनाहरुलाई प्रेरक मन्त्र वा सुत्रका रुपमा र भावी कर्मको जीवनका लागि शिक्षाका रुपमा लिनु पर्दछ भन्ने लाग्दछ । कार्यावधि समाप्तिको सफलता मात्र  हैन, मुल्ययुक्त सफलता हासिल गर्न सधै प्रयत्नशिल रहनु पर्दछ ।

गण्डकीको माटोमा र पोखरेली बाटोमा रहेर न्याय निष्पादन गर्दा गौरव नै अनुभूति भयो । सबै अर्थमा के कस्तो रहयो ? त्यो बिद्धतजन र नागरिक समाजको मुल्याङ्कनमा भर पर्ने बिषय हो । पोखरा छोडेर हेटौडा जानेक्रममा बिगत एकहप्ताका बिचमा भएका नागरिक समाज पोखरा, सुशासनका लागि नागरिक समाज पोखरा, मानवअधिकार पत्रकार सँघ पोखरा समेतका अधिक महत्व राख्ने सँस्थाले धन्यवादसहित गरेको बिदाइले मेरो मन पुल्कित हुदै भावी कार्यकालमा समेत अझबढी मेहनती र जनसेवी बन्ने योजना बन्नमा तल्लिन हुने प्रणमा रहेको छ । समग्रमा पोखराको कार्यकाल सधै सधै सम्झिरहने क्षणका रुपमा रहेको छ ।

पञ्चासेमा पसिना झार्ने, राफ्टिँगसँगै सेतीमा लामो डुबुल्की मार्ने र पोखराकै सन्दर्भलाई लिएर एक न एक सिर्जनाकीर्ति प्रकाशन गर्ने मनको धोको भने मनमै रहिरहयो । तैपनि पोखरासँग बसेका प्रितहरुलाई र पोखरेलीहरुले दिएका हितहरुलाई शब्दमा उतारेर राखेको छुँ । केही शब्दहरुलाई यस्ता छनः

      किन किन माया बस्यो तिमी हामी बिच

      यस्तो गाँठो कस्या छैन अन्त कसैसित .......

            पोखराका यी सुन्दर ठाउँ, हेर्दा लाग्छ हरबिहान त्यँही त्यँही आउँ

                        फेवा काखैमाः लौ घुमौ साथी हो मनिर्गँ वाकैमा ।

      भो मलाई चाहिन्न स्वर्ग, यही पोखरा भएमा पुग्दछ

      बिग्रियो पोखराभने यो छाती चिरिन्छ, दुख्दछ.............

      वरिपरि हरियाली सफा जताततै

      झुप्रा झाप्री बगर वस्ती हुने छैनन कतै

      रिँगरोडमा सर्रर गाडी सुस्तरी गुड्ने छन

      बाटीकामा चरिहरु मस्तरी उड्नेछन  .....................

      पोखरामन परयो मलाईः गारो भो छोडेर जानलाई

      धेरै छन पोखरेली सदभावः बोकेर हेटौडा लानलाई.........

निबन्ध बिधामा मात्र हैन । गीत, कविता, गजल र मुक्तकमा पनि लेख्न मनलाग्यो पोखराका बारेका केही न केही । कवि शिरोमणी लेखनाथ पौडयाल, कविवर माधव घिमिरे, भूपि शेरचन, अलिमियाँ आदि आदि थुप्रै गुणात्मक कलमका धनीहरुको उद्गम स्थल गण्डकी । यँहा आउने हरेक आगन्तुकले आ आफ्ना मनमा पनि सिर्जनात्मक शब्दहरु गुनगुनाइरहेका हुन्छन जस्तो लाग्दछ । सकारात्मक सोँचले भरिपूर्ण गण्डकीको माटो र सफल यात्राको लागि सधै सधै कृत सँकल्पित रहने यहाँको बाटो । त्यसैले होला मलाई पनि केही न केही कोर्न र पोखरासगै यहाको साहित्यिक आकाशसँग साइनो जोर्न रहर लागेर आयो पोखरामा बस्दा । केही लेखेको छु । लेखेका जतिलाई सँग्रहित गर्ने हो भने एउटा स्वरुप बन्ने सपना पनि देखेको छुँ । तर बिर्सेको छैन कि मुल कर्म र धर्म न्याय नै हो । न्यायासनमा बसेर गरेका कामकार्बाही नै मुल रुपमा मुल्याँकनका आधारहरु हुन । 

फेरिपनि भन्नु पर्ने हुन्छ न्यायाधीशको पहिचान भनेको उसले गर्ने फैसला वा आदेशहरुमा नै हुने बिषय हो । मुल सिर्जना नै त्यही हो । सम्झना पनि त्यही हो र बिर्सनाको आधार वा कारण पनि त्यही हो । तर पनि मानव जुनी भएपछि मानवीय सदभावका हरेक आयामहरुमा मन जानुलाई अस्वभाबिक मान्न मिल्दैन । मानवीय मनसँग मन मिलाउने र दानवीय प्रबृतिका बिरुद्ध घन बर्साउनु मै हुन्छ मानब कर्तब्य । आफु बसेको धरतीको वरपर सुन्दरता र शान्तपन देख्ने चाहना राख्नु पनि मानवीय गुण नै हुन जान्छ । यस्तो लाग्दछ कि हर मान्छेमा साहित्यिक भावना हुन्छ र सिर्जनात्मक कला हुन्छ । बस, कसैले देखाउछ बाहिरै कसैले आफैमा राखेर जान्छ । कसैले थप कला भरिदिन्छ, कसैले जे छ त्यतिमै सिमित राखिदिन्छ ।

जीवनको जिजिबिषालाई जोगाइराख्ने, हुर्काइ राख्ने र समाजसँग एकाकार हुदै बचाइराख्ने आधार हो साहित्य सिर्जना अर्थात लेखनको पाटो । मानव लेखनबाट मन छुन सके, यो अजम्मरी बन्ने बाटो पनि हो ।

फैसला वा आदेश गरेपछि गरियो सक्कियो । त्यसको चर्चा फैसला वा आदेश गर्नेले गर्ने हैन र गर्न पनि मिल्दैन । हो, त्यस्तै हो  अरु सिर्जना पनि । सर्जकले लेखेपछि त्यो पाठकको सम्पत्ति बन्न जान्छ । जनपक्षीय भए  र द्रष्टात्मक भए जुगजुगसम्मका पाठकले मान्छ । तत्कालिन पनि हुन नसके तत्काल नै पाठकीय कलमले सिर्जनाबाटै हान्छ ।

न्यायाधीशको फैसलालाई पुन हेर्ने आँखा र भाकाहरु थोरै हुन्छन तर अरु सिर्जनाहरुलाई हेर्ने धेरै । न्यायको कलम भन्दा साहित्यिक सिर्जनाको कलम महत्वका हिसवाबले फराकिलो बढी हुन्छ । न्यायिक कर्ममा सम्बन्धित पक्षका लागि र त्यसले पार्ने सामाजिक तथा सास्कृतिक प्रभावका लागिसम्म चर्चा वा अनुकरणको बिषय बन्न पुग्दछ । अरु सिर्जना देशदेशावर पनि जान सक्छ । 

सार्वजनिक सेवामा अर्थात न्यायाधीशको रुपमा कुर्सीमा बसेर काम गर्दा सधै सम्झिरहने एक वाक्य छ त्यही सम्झन्छु सधै । आजपनि त्यसैलाई सम्झेर बिट मार्ने अनुमित माग्दछु ।

'If you salute your duty, you no need to salute anyone, But If You pollute your duty you have to salute  Every  body'                         M.K.Gandhi

 

      २०७१।०६।१४                                                              भैरवटोल, हेटौडा

No comments:

Post a Comment