Monday, 18 August 2025

भ्रष्टाचार रोगको सङ्क्रामक किटाणू- ए बि सि (ABC custom ) प्रथा

 भ्रष्टाचार सदाबहार चर्चाको बिषय हो । भ्रष्टाचार सर्वकालिक र सर्वदेशिय रोगपनि हो । कुनै जात, धर्म, क्षेत्र वा निकाय वा अधिकारी यसको छिटा वा वाछिटाबाट टाढा रहन सकेका छैनन । महान भनिएका धेरै ब्यक्तिहरुका भित्री कथा र जीवन ब्यथामा पनि भेटिएको छ यो रोग । साधुसन्धहरुको पेटमा पनि भेटिन्छ । हिजोका राजामहाराजहरुको दरवारिया सोख वा आजका कैयौ महानेताहरुको जीवनको चारचौक, जताततै केही न केही रुपमा पाइन्छ यो महारोगजन्य भाइरल । छैन र हुदै होइन भन्दाभन्दै वरिपरि आइरहेको हुन्छ । कतिकति बेला त यसले खाने वा लिनेले थाहै नपाउने गरी चुलोचौको नै छुन्छ । घरआँगनको पिडिमा मात्र होइन, यो थाहै नपाइ मझेरी र मूलचौकामा पुग्दछ । आलमाडीहरु र सन्दूशहरुमा लुक्दछ । बरिपरि रहेको हुन्छ र सर्बाङ्ग बिताएको हुन्छ तर खाने वा लिने स्वयमले भनिरहेको हुन्छ ‘’भ्रष्टाचार अत्याचार हो, अनैतिक हो । यसलाई नजिक आउन त के कानमा पर्नपनि दिनु हुदैन ‘’

यस्तै यस्तै के के भन्छ भन्छ तर दुर्भाग्य! भन्दाभन्दै भन्नेकै पारिवारिक सदस्यमा वा स्वयमकै जीवनशैली बनेर भ्रष्टाचारले घरजम गर्छ । नाना खाना सबै यसकै माध्यमबाट । खानाका परिकारहरु सदाचारी माध्यमबाट आएका होइनन भने, अर्थात भ्रष्टाचार गरी आएका हुन भने वास्तवमा पेट पोल्छ नै । किनकी खाना चम्चाले खाउ वा हातले खाउ ? मुखैभित्र पर्ने हो ।   भ्रष्टाचारी धनको माध्यमबाट किनेर महँगा रँगीचँगी बस्त्रादिन र आभूषणहरु लगाउ, अरु कसैले हेर्दा राम्रो देखिएला तर आफैलाई भ्रष्टाचारको दुर्गन्धले सताउछ भित्री रुपमा ।  यसको नालीबेली थाहा नपाइ सक्नु छ । यस्को कुकृत्य बारेमा खोली नसक्नु छ । तैपनि नखोलेर वा नबोलेर हुदै हुदैन । बोल्दा बोल्दा र खबरदारी गर्दा गर्दा त यति भयानक महारोग बनेको छ भने कोही नबोल्ने वा कतै केही कुरा नखोल्ने हो भने यसले त मानव सँसार नै खान्छ । मानवीय नाता सम्बन्ध र मानवोचित ब्यबहारका हरेक मान्यताहरुलाई सर्बाङ्क रुपमा खान्छ । त्यसैले सकेजति बोल्नुपर्छ । सकेजति यसका कर्तूतहरु खोल्नुपर्छ । सकेसम्म आफू र आफ्ना परिवार एवम समाजका सदस्यहरुलाई यसबाट जोगाउनु पर्छ ।

फेरिपनि भन्नुपर्ने हुन्छ, यसको बिरोधमा धेरैले धेरै कोणबाट बोल्दा बोल्दा र यसको नालीबेली सकेसम्म खोल्दा खोल्दा त यस्तो छ भने नबोल्ने वा नखोल्ने हो भने यसको सामाज्य नै चल्छ । यसकै बत्ति मात्र बल्छ । यसकै सँसार हुन्छ । सधर्म, नैतिकता, सदाचार, समन्याय, शान्ति र बिकास सबै यसले खाइदिन्छ । परिणामतः सँसारमा मत्स्य न्याय ल्याइदिन्छ । त्यसैले भ्रष्टाचार रुपी महारोगका बिरुद्व बोल्नु यसका हरेक रहस्यहरुका बारेमा केही न केही खोल्नु र खबरदारी गर्नु सदाचारी हरेक मानवको दायित्व हो । राष्ट्रभक्त मात्र होइन, मानवताको रक्षा गर्नु हो । किनकी भ्रष्टाचारलाई मानवताको पनि कुनै महत्व हुदैन । यसको सम्बन्ध त दानवताको रक्षा गर्नुतिर नै हुन्छ । यसको भित्री मर्म त हरेकलाई ‘’मै खाउ मै लाउँ अरु सब मरुन दूर्वलहरु’’ भन्ने भावमा हुन्छ ।

कुनैपनि रोगको निदान रोगको कारणको पहिचान बिना हुन सक्दैन । के कारणले लाग्दछ  वा सर्दछ भ्रष्टाचार रुपी रोग भन्ने थाहै नपाई वा यसको कारणको खोजी नगरी यसको निदानको प्रयास भइरहेको देखिन्छ । जुन दिवास्वप्ना सरह हो । रोगबिहिन सँसार वा मानवजातिको स्थापना कल्पनाको बिषय भएजस्तै हो भ्रष्टाचारबिहिन समाजको । एउटा रोग निबारणको घोषणा गरिरहेका हुन्छौ, अर्को रोग महासँक्रामक बनेर आइदिन्छ । नियन्त्रण भयो भनेर खुसी हुदै बाजा बजाउछौ तर फूलमाला लगाएर उही फैरि आइदिन्छ । बिफर उन्मुलनको घोषणाको एक अध्याय मात्रलाई हेरौ । यही काफी छ ।

हो, त्यस्तै रोग हो -भ्रष्टाचार । सँसार वा समाजमा हरेक रोगको निदान जसरी असम्भव छ, भ्रष्टाचार पूर्ण नियन्त्रण अर्थात निवारण त्यसरी नै असम्भव छ । त्यसैले भ्रष्टाचार निवारणको सपना देख्नु त स्वभाबिक हो,  यसको असम्भवीय चरित्रलाई स्विकार गर्नु अर्को स्वभाबिकता हो । त्यसैले भ्रष्टाचार निबारणको सपना राजनेताहरुको चुनावी शँखनाद वा कुर्सिआशनको खुसियालीको भाषणसम्म हुन सक्ला ब्यबहारतः निवारण सम्भव छैन । यो ध्रुबसत्य नभइदिओस । फेरिपनि भन्नुपर्ने हुन्छ प्रारम्भमा यो रोग मात्र थियो । तर यतिवेला नेपालमा महारोग भइदिएको छ । सँसारका धेरै देशमा महामारीको रुप लिदै छ यसले । निवारण हुन नसक्ने महारोग बनेको छ । भ्रष्टाचार रुपी महारोगको सक्दो न्यूनिकरण अर्थात नियन्त्रण सबैको साझा चासो र कर्तब्य हो । यसको निदान वा उपचारको लागि सबैको सामुहिक चिन्ता चासो र कर्तब्य हुनुपर्छ । तर रोगको उपचारको क्रममा कारणको खोजी अनिवार्य हुन्छ ।

भ्रष्टाचारको कारणका रुपमा गरीबीलाई लिनेहरुको मनग्ने सख्याँ छ । खान लाउन अर्थात मानवोचित रुपमा जीवनयापन गर्न पुग्ने तलवभत्ताको अभावमा कर्मचारीहरुले भ्रष्टाचार गरिरहेका हुन्छन भन्नेहरु धेरै छन । यो केहीहदसम्म सत्य हो तर मूलकारण होइन । भनिन्छ कि ‘’बसीखाने सँस्कारको कारणले भ्रष्टाचार हुने गरेको छ’’, यसलाईपनि एक कारण मान्न सकिएला तर मूल कारण होइन । सम्पत्तिको हक र स्वामित्वमा रहेको सामन्तवादी मान्यता हो भन्नेपनि अर्को कारणका रुपमा अगाडि सारिन्छ । बेरोजगारीको अभावले सन्तानहरुको भविष्यप्रतिको चिन्ता अभिभावकमा जाग्ने र अभिभावकहरु सन्तानको भविष्यका लागि भ्रष्टाचारतिर लाग्ने गर्दछन भनेरपनि भन्ने गरिन्छ ।  यी सबै मूल कारण होइनन । मूलकारणका सहायक कारणहरु मात्र हुन । मूल जरो होइनन । केवल सहायक जरा र मलजल मात्र हुन ।

पङ्तिकारको बिचारमा नेपालामा भ्रष्टाचार रुपी रोग सर्ने मूल कारण एबिसी (ABC custom )  प्रथा हो । अर्थात A=आफ्नो मान्छे, B= भनसुन र C= चाकडी हो । यी माध्यमहरुबाट जोगिन सक्योभने लाग्न सकदैनः भ्रष्टाचारको रोग । यी कारक तत्वहरुबाट जतिटाढा रहनसक्यो, उति बच्नसकिने भो भ्रष्टाचारको कसूर कानूनी दण्ड र नैतिक सर्मनाकको सजायबाट । आउनुहोस अब यसको नालीबेलीतिर लागौः

(A) अर्थात आफ्नो मान्छे ।  आफ्नो मान्छे भन्नाले रक्त सम्बन्धको मान्छे र चिनजानको मान्छे नै हुन । तर यसका पनि हाँगाबिँगाहरु छन । मूलतः नातासम्बन्धकै मान्छे हो । यसपछि आफंनो जात वा धर्म वा क्षैत्रको मान्छे । आफूलाई कोसेली पात वा श्रमकोसाथ सेवा गर्ने मान्छे । आफूनिकट दलको मान्छे । यिनैको साथबाट नजिक आउन वा नजिक जान वा दामपैसादेखि कोसेलीपात लान पाएन वा खान पाएन भने मात्र भ्रष्टाचारको रोग लाग्न सक्दैन । यतिलाई ठीक ठाउमा राखेर ठीक अर्थात सदाचारी ब्यबहार गर्न सकियो भनेमात्र भ्रष्टाचारको रोग सर्दैन । सरकारी काममात्र होइन, विविध किसिमका वैधानिक दाम र अवसरहरु पनि आफ्ना मान्छेलाई मात्र दिनु पनि भ्रष्टाचारको अर्को तरिका हो ।

अर्को हो बि (B) अर्थात भनसुन । आफन्तजनबाटै हुने भनसुन । नेतृत्वतहबाट हुने भनसुन । सुरासुन्दरीबाट हुने भनसुन । सहकर्मीहरुबाट हुने भनसुन । सहधर्मिहरुबाट हुने भनसुन । भनसुन रुपी मनसुनका बहारहरु मूलतः यीनै हुन । यीनैको माध्यमबाट भ्रष्टाचारका किटाणूहरु शरिरमा  पस्छन, बस्छन र सदाचारी शरिरवालाहरुपनि बिस्तारै यिनैको माध्यमबाट सर्ने रोगको कारणले बिग्रिन्छन । भ्रष्टाचारी बिरुपको कालो खरानी घस्छन । क्रमशः सकिन्छन । अरु त के आफन्तहरुले नै कठै !! भन्न नपाइ सकिन्छन । पराइहरु त किन पो कठै!! भन्ने हुन र भ्रष्टाचारको महारोगीलाई ? । सके जति कुरा काट्ने नै हुन । आँट र बल भए, बरु छोईछिटो नै गर्ने हुन । 

तेस्रो हो  सि ( C)  अर्थात चाकडी । चाकडीका रुपहरु धेरै छन । मूलरुपमा हेर्दाः नगदनारायण खर्चेर बिकल्पमा अरु वस्तु वा सेवाबाट गर्ने चाकडी पहिलो तरिका हो । यसपछि आउँछनः विविध तरिकाले हुने जिन्सीकोसेली चाकडी, सेवासुश्रुषा चाकडी,  फूलप्रसादी चाकडी र नित्यधनुष्टँकारी चाकडी ।

नेपाली समाजमा ब्याप्त छ यो एबिसी (ABC) प्रथा । सरकारी अड्डामा ‘’दाम नदिइ हुदैन काम भन्ने पहिलो परम्परागत र अज्ञानताबसको मानसिकता तथा ‘’घाँस नखाने पशु र घूस नखाने कर्मचारी’’ नै हुदैनन भन्ने दोस्रो पूर्वाग्रही मानसिकताले एबिसी प्रथालाई जिवन्त राख्नमा मलजल हालिरहेका छन ।

‘’हरेक कर्मचारीहरुका आ-आफ्नै जिम्मेवारी छन । ति ति जिम्मेवारी बहन गर्नुपर्छ । सबैले गर्छन । नगरे कार्बाहीमा पर्छन……….’’ भन्ने बिश्वास सेवाग्राहीमा जगाउन नसक्नुको कारणलेपनि त्यसप्रकारको अविश्वास कायमै रहेको हो । सबैलाई घूस्याहा देख्ने कालो चश्मा प्रायः धेरैका आँखामा हुनु अर्को बिडम्बना नेपाली भूमिमा । त्यो आयातित चश्मा भने होइन । यही भूमिमा जन्मेको, हुर्केको र बढेको चश्मा हो ।  

भ्रष्टाचारको बिरोधमा लेख्नेहरु लेखिरहेका छन । भ्रष्टाचार देख्नेहरु देखिरहेका छन । गर्नेहरुको त खेती नै भयो त्यो कहा सुख्खा रहन सक्दछ ? ‘’चिन्ता बढ्यो झन रोयको रोयै छ खुसी छैन मन’’ भन्ने गीतले हरघडी भित्री ह्यदयमा हानिरहेको हुन्छ भ्रष्टाचारको सन्दर्भ सम्झदा । कोही छ अछूतो निस्कयौ सडकमा ? भनेर म्याकिङ गर्दै खोज्न हिड्योभने एउटापनि सडकमा आउन आँट नगर्ने हो कि भनेजस्तो बनेको छ परिवेश । यतिवेला सचेत नागरिकहरु भनिरहेका छनः शासन प्रशासनको जिम्मेवारीमा रहने मध्ये को को कमभन्दा कम भ्रष्टाचारी छन ? भन्ने छुट्याउनु पर्ने अवस्थाको छ परिवेश !  

जँहा जस्तोपनि अवस्थामा जसरीपनि खाने मौका मौकामा खाने र सिधै नखाने गरी खानेहरुपनि तीन थरिका छन भन्ने ब्यक्तिगत बुझाइ रहेको हो । यसलाई खादै नखाने, हातले खाने र खुट्टालेपनि खाने गरी तीन वर्गमा बाँडेर लेखेको पनि धेरैभयो । अब त जुत्ताले खानेहरुपनि देखा पर्न थाले !!

भ्रष्टाचार सबैले गर्नु हुदैन भन्ने गराउनु हुदैन भन्ने तर भित्र भित्र केही न केही रुपमा गर्ने वा गराउने खेल वा गुप्त रोग बनेको छ । हरेक रुख माथिबाट सुक्ने जस्तै भ्रष्टाचारपनि माथिबाटै धेरै हुने गरेको छ । नीतिगत भ्रष्टाचार सबैभन्दा खतरनाक भष्टाचार हो । जहा कलमको एकडिकोले करोडौको बिगो कायम वा हजम गर्दछ । मुलुक बर्षौसम्म जोखिममा पर्दछ । ठूलापदधारी वा गजक्क पालेका दारी वा सरलक्क लगाएका चिल्ला सारी सबै सबै भित्र पसेको हुन्छ वा बसेको हुन्छ भ्रष्टाचार रुपी महारोग फैलाउने एबिसी प्रथा । छोइछिटो हुनुपर्ने हो भ्रष्टाचारी महारोगी । तर समाजमा जो भ्रष्टाचारी महारोगी छ उसैको बोलबाल वा अबिरजात्रा वा बखान हुने हो भने निको हुन्छ भ्रष्टाचार रुपी महारोगीबाट मुलुक ? पुरा हुन्छ निबारणको सपना ?? हुदैन । निबारणको सपना पुरा कहिल्यै हुदैन । त्यसैले निवारणको चर्को थर्को नदेखाएर नियन्त्रणको सपना देख्नु पर्छ । प्रभावकारी नियन्त्रणका सँयन्त्रहरुको क्रियाशिलता बढाउनु पर्छ । समकालिन अवस्थामा साच्चै भ्रष्टाचार नियन्त्रण गर्ने शनै हो भने सबै क्षेत्र र सबै तहको नेतृत्वलाई यत्तिमात्र भन्न सकिन्छः भ्रष्टाचार निवारणको सपना नदेख । मात्र नियन्त्रण अर्थात प्रभावकारी नियन्त्रणको सपना देख ।

*  बासु क्षितिजले कुनै एक कार्टूनबाट पोल खोले जस्तैः कुरा मात्र गरयो भनेर आरोप लगाइराछन, भटाभट काम गरिराको तस्वीर दिनु है’’ भनेर कुनै नेताले चित्रकार (कार्टून पत्रकार) लाई भनेको कार्टूनको ब्यँगात्मक सन्देशको मर्म जस्तै देशमा सबै तहमा रहेन नेतृत्वले भ्रष्टाचार नियन्त्रणको काम देखिने गर । क्रमशः गर । सकभर छिटो गर । भाषणमा होइन । ब्यबहारमा देखाउ । सदाचारीहरुलाई खोजी खोजी विशेष जिम्मेवारी दिने र भष्टाचारीहरुलाई छाल गन्न पनि नदिने कार्ययोजना बनाई कार्यान्वयनतिर लाग ।

आगे, सुनिस त पत्याएँ होइन कि देखिस वा पाइस त पत्याएँ !

 

 

No comments:

Post a Comment