Thursday, 14 August 2025

असलपन र साधगी जीवनका पर्यायः गिरिराज शर्मा

 प्यूठान दाङवाङ (हालको ऐरावती-) बाट दाङवाङ प्राथमिक विध्यालयबाट पाँचकक्षा पास गरेपछि निम्न माध्यमिक तहको पढाइका लागि जानुपर्ने नजिकको विध्यालय भनेको प्यूठान जिल्लाको बिजुली स्थित स्कूल वा अर्घाखाँचीको खिल्जी स्थित स्कूलमा । ती दुइमध्ये जँहा गएपनि डेरा गरेरै पढ्नुपर्ने ।  हरेक शुक्रवार घर आउनु पर्ने । आइतवार फेरि जानुपर्ने भौगोलिक अवस्था र ब्यवहारिकताको कठिनाइको समय ।जेठो बुबा स्वर्गीय हुमाकान्त आचार्य दाङ चौघेरामा बसाइ सर्नु भएको अवस्था । बुबा स्वर्गीय लोकमणि आचार्यले त्यतै बसेर पढ्ने चाँजोपाँचो मिलाउनु भएको रहेछ । जेठा बुबा आएको समयमा वँहाको साथमा लागेर एकजना भरियालाई झोलाआदि बोकाएर लागे दाङ्गको चौघेरा तिर । सिरसेनी, तिलकेनी,चकचके, देवीथान, मुर्कुट्टी हुदै दुइदिन पैदल यात्रा लगाएर पुगियो दाङ्गको चौघेरामा । नजिकै रहेको गोरक्ष रत्ननाथ निम्न माध्यमिक विध्यालयमा भर्ना भइयो ।

मझौला उचाइ, गोरो आकृतिका, सुस्तरी हिडने र विस्तारै बोल्ने तथा हातमा प्रायः सानो झोला सधै लिएर हिड्ने ब्यक्ति सधै देखिन थाले । उनि रहेछन नेपाली बिषय पढाउने गुरु अर्थात गिरिराज शर्मा । कुन्नी किन हो सबैले उनलाई अगाडि देख्दा मात्र गिरिराज सर भनेर आदर गर्ने होइनन कि कन्ना पछाडि पनि आदरार्थि शब्द र भावकासाथ लिएको सुनिन्थ्यो । उनि केही पछि सोही विध्यालयको प्रधानाध्यापक भए । अर्घाखाचीँको चुत्रावेशी देखि दाङगकै अरु विध्यालयहरुमा समेत शिक्षकको जिम्मेवारी निर्बाह गरेका उनी पछिल्लो समय सबैभन्दा बढी समय चौधेरा मै रहे जस्तो लाग्दछ । समयक्रममा हाम्रो घरदेखि बाटोको उत्तरतर्फ रहेको उक्त विध्यालयकै साँधसिमानामा घर भएका बन्धु देवहरि आचार्य पनि त्यही पढाउन थाले । झन गिरिराज शर्मसंग नजिक हुदै गइयो । यसो कविता आदि कोर्न खोज्ने व्यक्तिगत स्वभाव । सिर्जनशिल विध्यार्थीहरुका लागि उनी थप उत्साहका पात्र बन्दथे । प्रधानाध्यापक भएपछि उनको जिम्मेवारी ब्यवस्थापकीय हिसाबले बढि हुने नै भयो । शिक्षकहरु थप अनुशासित र लगनशील बन्न थाले । त्यसको पछाडि गिरिराज सरको लगनशिलता र विध्यालय शिक्षाप्रतिको समर्पण त कारण थियो नै । मूलतः उनको असलपन र साधगी जीवनशैली थियोभन्ने लाग्दछ । उनि प्रगतिवादी बिचारका पक्षधर र श्रमजीवि जीवनशैलीका प्रसँशक भन्ने त्यतिवेलै थाहा पाइएको थियो । उनि त खाँटी कम्युनिष्ट, प्रशासनको निगरानीमा रहेका मान्छे ! अनुयायी, यस्तै यस्तै भन्दथे । पञ्चायती दबदबाको समय, मान्छे हेरेर अडकली अकडकली बोल्नुपर्ने र मनका कुरा बिचार गरेर खोल्नुपर्ने अवस्थाको एक शिक्षक तर पनि उनि निरन्तर समर्पित भएर र एक साधक शिक्षकका रुपमा रहे । गुरु चेलाको सम्बन्धले र विध्यालय शिक्षाको समयमा उनका बारेमा सुनेका कुराले प्रभावित हुदा पछिल्ला दिनमा बेलाबखत दाङ जाँदा भेट्ने प्रयासमा रहिरहेँ । भेटदा एकप्रकारको आनन्दानुभूति हुन्थ्यो । उनि बोलेपछि केही न केही नयाँ ज्ञान वा समसामयिक सन्दर्भका बारेको बुझाइमा केही थप हुन्छ जस्तो लाग्दथ्यो । छुट्टिने वेलामा लौ बाबु, भन्दै खिसिक्क हाँसेर हिड्ने गरेका उनका व्यवहार र केही स्मरणीय आनीबानीहरु यी पङ्तिहरु लेखिरहदा पनि आँखावरिपरि आइरहेका छन ।

२०५८ सालमा ततकालीन पुनराबेदन अदालतको बाग्लुङगको रजिष्ट्रारका रुपमा कार्यरत रहेको मौकामा न्यायसेवा आयोगका ततकालीन सचिव श्यामकृष्ण कसजूबाट एकदिन एकाबिहानै सोधनी भयो । तुलसीपुरमा पनि रजिष्ट्रार पद खाली रहयो । जाने त्यता…… । हुन्छ किन नभन्ने, केही नसोचि भने ‘’हुन्छ’’ । अदालत पुगेर मुख्य न्यायाधीश बद्रीकुमार बस्नेत (जसले २०३५।२०३६ सालमा ततकालीन दाङदेउखुरी जिल्ला अदालतमा न्यायाधीश भएर सेवा गरेका पनि हुन ) लाइ संभावित सरुवाको बिषयमा भने । ‘’’ठीकै हो, सबै दृष्टिबाट राम्रो तर तपाइ विवेकले देखेको गर्ने मानिस, आफ्नो जिल्ला वा आफू बढी परिचित भएको स्थानमा काम गर्दा केहि कठीनाइ हुन्छ है बिचार गर्नुस……..’’ भने । केही बेरमा त खबरै आयो तुलसीपुरमा रजिष्ट्रारको पदमा सरुवा भएछ । चाँजपाँजो मिलाएर लागेँ, गिरिराज सर सहितका धेरै भलो चिताउनेहरुको र आफ्नो अध्ययनको प्रिय थलो दाङतिर ।

करिब चौवालीस बर्षे राष्ट्रसेवामा सबैभन्दा बढी काम गरेको र सार्वजनिक रुपमा भिजेको लाग्ने कार्यथलो कुन हो भनेर सोधियोभने मेरो अन्तरआत्माले भन्नेछः पोखरा र तुलसीपुरको कार्यकाल ।

तुलसीपुरको कार्यकाल ज्ञानेन्द्र शाह कालिन सङ्कटकालभित्र पनि परेको थियो । अदालत कम्पाउण्डमा रहेको ब्याडमिन्टन खेल्नका लागि ब्याडमिन्टनको कालो झोला बोकेर बिहानै निस्कदा आर्मिको जवान तर्सेर परैबाट राइफल तेर्रसाउदै ‘’खोल खोल झोला’’ भनेर हप्काएको देखि म्याग्दीमा आक्रमण गरी फर्केका माओवादीहरु हापुरेको खोलामा नुहाइधुवाइ गरेको समयमा ततकालीन अध्यक्ष नारायणप्रसाद आचार्यको पहल र निम्तोमा नेपाल रेडक्रसको जिल्ला अधिवेशन उद्दघाटनका लागि कार्यक्रममा त्यतै गएर दिनभर रहेको समेतको बिषयमा जिल्ला सुरक्षा मिटिङमा कुरा चलेर साँझ तपाइको ब्यक्तिगत सुरक्षाको बारेमा सरकारी सुरक्षा संयन्त्र कुनै जवाफदेही हुने छैन है!  भन्ने भाषामा तर्साएको सम्मको भोगाइ रहेको कार्य थलो हो त्यो

करिब साढेतीनवर्ष सेवा गर्न पाएको, सबैभन्दा प्रिय  र स्मरणीय थलो तुलसीपुर । सार्वजनिक  कार्यक्रममा प्रजिअ लगायतका अधिकारीहरु देखि न्यायाधीशहरु भित्री रुपमा प्रायः जान डराउने र भरसक नजाने भएकाले प्रमुख अतिथिका रुपमा सहभागी भएर गरिएका सेवाहरु नै रहेका छन । यस्तैमा राप्ती साहित्य परिषदको कार्यक्रमममा मुख्य अतिथिका रुपमा गरिएको पहिलो पटकको आमन्त्रण र त्यसपछिको निरन्तर सहभागिता संगै संस्थापक अध्यक्ष श्रद्देय गुरु नारायण प्रसाद शर्मा र परिषदका अध्यक्ष स्वर्गीय गिरिराज शर्माबाट पहिलो पटकको सहभागीतामा पाएको हौसला मेरो अन्तरहृदयमा सधै रहने विषयका रुपमा रहेको छ ।

कार्यक्रमपछि नारायण गुरुले ‘’डिल्लीजीको प्रस्तुति साहित्यिक मात्र हैन, काब्यात्मक मात्र पनि हैन सिधा र प्रष्ट पनि  धन्यवाद छ …..‘’ भन्ने शब्दहरु र गिरिराज सरले कार्यक्रम पछि ‘’अङ्कमाल गरेर स्याब्बास बाबु’’  भनेको कहिले र कसरी पो बिर्सियला र ? गुरुले सधै डिल्लीजी भन्ने र वर्तमानमा पनि भनिरहने भेटमा । अझ बेला बेलामा ‘’उमेर फरक भएनि डिल्लीजी त मेरो त साथी सरह जस्तो’’ भन्दा नाक नै ठूलो बनेर आउँछ । उता गिरिराज सरको शब्दप्यारमा म सधै ‘’डिल्ली बाबु’’ छोरा छोरीहरु स्वयं हजुरबुबा-हजुरआमा भइसके तर बाउले चाही हजुरबुबा वा हजुरआमा भएका छोरा छोरीलाई सानो देख्दछन र भन्दछन बाबु! वा नानी!,  हो त्यस्तै स्मरण गराउने अपार प्यार र स्नेहका खानी गिरिराज शर्मा ।

२०७८ श्रावण ९ गते, मेरो जनम दिनमा एघारौँ कृति ‘’संझनाको आँखीझ्यालबाट सार्वजनिक गर्ने सुकार्य पुजनीय गुरुहरु (वंहाहरु) बाटै गराउन पाएको र दुबै गुरुहरुलाई उक्त दिन सम्मान गर्न पाएको सन्दर्भ अर्को सन्तुष्टि र स्मरणको बिषयका रुपमा रहिरहेको छ । नयाँ युगवोध दैनिकमा हरेक आइतवार थिति/बेथिति र पछिल्ला दिनमा बटौलीको डोको स्तम्भ प्रकाशनको केही वर्षको यात्रा र त्यसमा समाबेश भएका केही लेखहरुको सम्बन्धमा गिरिराज सरबाट पाएको धन्यवाद वा स्याबासी वा निडरताको प्रँशसाका शब्दहरुले मेरो लेखन यात्रामा उर्जाको काम गरिरहयो ।

कुशल शिक्षक, स्नेहशिल र जिम्मेवार अभिभावक, प्रगतिवादी असल नागरिक, जाज्वल्यमय एवं द्रष्टात्मक क्षमताका स्रष्टा, सर्वोदय पुस्तकालयको उत्थानकर्ता, यस्तै शब्दहरुबाट गिरिराज सरलाई स्मरणमा लिइरहेको छुँ । मृत्युपर्यन्त लिइरहने छुँ ।

माओवादी जनयुद्दको क्रममा छोरी रेखा शर्मा र जुवाँइ कृष्णध्वज खड्का पक्राउ परेको र यातना पाएका सन्दर्भहरुका बारेमा कुरा हुदा दुःखित भएको मात्र लाग्दैनथ्यो गर्वित भएको पनि । बिचारको फूलवारीमा फुलेका फूलहरुमा जनताको मुक्ति र सुनौलो नेपालको सपना देखेर त्यागको मार्गमा लागेको सन्दर्भमा गर्वित भएको लाग्दथ्यो । राज्यको दमनकारी कार्यबाट हुने अकाल मृत्यु वा चरम दमनको भयमा पनि रहेको बुझिन्थ्यो । यो स्वभाविक हो । जो कसैको होस, अन्याय दमन वा अत्याचारबाट हुने मृत्यु वा यातना घृणाजन्य र आक्रोशयुक्त हुन्छ नै । झनै छोरी र जुवाइको करिब करिब अज्ञात सरहको हिरासत अवस्था आदिको चिन्ता बाबुलाई हुनु स्वभाविकै हो । कर्तब्ययुक्त चिन्ताको बिषय पनि हो । न्याय र समानताका लागि लडेर मर तर भागेर वा झुकेर नमर भन्ने आशिर्वादका स्रोत भएजस्तो लाग्दथ्यो त्यस बिषयका संवाद वा भलाकुसारी वा दुःखेसो साटासाटहरुमा । लेख्दै जानेको र साच्चै लेख्न सक्ने हो भने गिरिराज सर अनेक काव्य रचनाका स्रोत सुपात्र हुन । माथिकै विशेषणयुक्त सन्दर्भहरुका । ब्यक्तिगत रुपमा र सबैभन्दा मनछुने सन्दर्भ भने उनको असलपन र साधगी जीवन शैली नै लाग्दछ । स्वर्गीय गिरिराज शर्मा अधिकाँश देख्ने र भोग्नेहरुका मनका सुपात्र त हुदै हुन ।

बि स १९९७।२।१५ मा घोराहीको मसिनामा जन्मेका पूर्व सञ्चार तथा सूचनाप्रविधि रेखा शर्मासहितका चार छोरी र एक छोराका बाउ शर्मा, स्वयंलाई उनको मृत्युको  करिब चारवर्ष अगाडि अर्थात २०७७।१२।०९ मा श्रीमती पार्वता पौडेलले छोडेर गएकी हुन । गत आश्विन २ गते भएको उनको निधनपछि ३ गते मसिनास्थित घरबाट चलाइएको शवयात्रामा हजारौको लस्कर रहेको र छोरीहरुले काँध थापेको प्रकाशित दृश्यहरु ऐलेपनि आँखा वरिपरि घुमिरहेको छ ।

दाङ्गमा कम्युनिष्ट पार्टीका संस्थापक सेक्रेटरी रहेका गुरु नारायण प्रसाद शर्माले दागवत्ति दिएर पार्टीको झण्डा समेत ओडाएका थिए । त्यतिवेला गुरु नारायणप्रसाद शर्माको अन्तरहृदयमा परेको चोट र मित्र वियोग ब्यथाको गहिराइको अनुमान नै गर्न सकिदैन । किनकी गुरु नारायणप्रसाद शर्माका सबैभन्दा निकटतम, सहृदयी, सहकर्मी र सहधर्मी मित्र तथा सुख दुःख बिसाउने नजिकका मानव चौतारी कोही थिए भने उनै गिरिराज शर्मा अग्रभाग मै थिए भन्दा अतिसयोक्ति नहोला ।

उनको निधन बुटवल अस्पत्तालमा भएपछि विभिन्न छापाहरुले मृत्युको शोकलाई जनजनमा पुरयाए । विशेषगरी गोरखापत्र अनलाइन, गणतन्त्र नेपाल डटकम, न्यूज नेपाल, हाम्रा कुरा डटकम, नेपाल प्रेस, नया युगवोध दैनिक, डिसी नेपाल, हाम्रो नेपाली पात्रो आदिको कभरेज स्मरणीय रुपमा रहेका छन ।

प्रगतिशिल लेखक संघ दाङ्गका संस्थापक अध्यक्ष, राप्ती साहित्य परिषदका अध्यक्ष आदि साहित्यिक संस्थागत जिम्मेवारीमा रहेका शर्मा भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कारबाट सरकारी तवरबाटै पुरस्कृत भएका व्यक्तित्व हुन । उनलाई यी पुरस्कारहरुको हकदार बनाउने उनका कृतिहरुमाः दाउरेनी खण्डकाव्य, आचार बिचार वाल लघुकथा, बुढा जोर सिमलका रुखहरु, केहि कृति समीक्षा र विविध, मेरो गाउ  र मेरा भोगाइहरु, सम्झनामा मेरो अतित र मेरा छोरीहरु, सहितका एकदर्जन कृतिहरु नै प्रमाणका रुपमा रहेका छन र छन सयौ लेखहरु अनि सयौ पटकका उनका साहित्यिक वाणीहरु र बाचित कविताहरु ।

लाग्दछ, गत आश्विन २ गतेपछि मसिना गाउ नै शून्य भएजस्तो रहेको छ र दाङ्, विशेषतः घोराही र वरपरका साहित्यिक कार्यक्रमहरुको उपस्थितिमा के नपुगेको, के नपुगेको जस्तो भइरहेको छ । यो उनै गिरिराज शर्माको निधनको अभावको खडकदो अनुभूति नै हो ।

उल्लिखित  कृतिहरुमध्ये केही उनी स्वयंबाट यस पङ्तिकारले प्राप्त गरी अध्ययन र मनन गर्ने अवसर प्राप्त गरेको हो । उल्लिखित साहित्यिक रचना र समाजसेवी कर्महरुबाट उनी संस्थागत रुपमा समेत अजम्मरी सुपात्रका रुपमा रहिरहने छन भन्ने बुझाइ र सम्मान सहित उनीप्रति हार्दिक श्रद्दा सुमन ।

स्वर्गीय गिरिराज शर्माको स्मृतिमा यो प्रकाशन बाहेकपनि अरु केही हुन सकोस । यसका लागि संस्थागत र पारिवारिक मन छुन सकोस भन्ने शुभेच्छाका साथ परिवारजन, सहृयी र आफन्तजनमा हार्दिक समबेदना ।

२०८१।१२।०६                          प्यूठान ऐरावती १,धनवोट (हाल काठमाण्डौ)\

---------------------------------------------------------------------------------------------------

 

No comments:

Post a Comment