Thursday, 14 August 2025

सदीयौँ सम्मान र सम्झनालायक सुपात्र- दमनाथ ढुँगाना

 एकातिर राजा ज्ञानेन्द्रको दबदबा अर्थात शाही निरकुंशकाल, अर्कोतिर माओवादी जनयुद्दको प्रभावको उर्बरकाल, ततकालीन पुनराबेदन अदालत, तुलसीपुरको रजिष्ट्रार पदमा कार्यरत रहेको, कतिखेर को मारिने हो भन्ने त्रासदिपूर्ण समय, ऐले सम्झदापनि आङग नै झसङग हुन्छ ।

अदालतको केही दक्षिणको चोकमा रहेका लामिछानेको घरको बसाई र बिहान प्रायः ब्याडमिन्टन खेल्ने दिनचर्या, कालो रङ्गको ब्याडमिन्टन ब्याग पछाडि भिरेर खेल्न निस्केको एकदिन चोकमा त्यतिवेलाको शाही सेना (२०६३ पछि नेपाली सेना) को एक सिपाही राइफल तेर्साएर उभिएको रहेछ । एक्कासी नजिक आएर, झोला खोल खोल, देखा देखा, के छ भित्र …..? भनेर कारकेर पो गर्छ । एकमनले सोच्यो, के ब्याडमिन्टनको झोलापनि चिन्दैनौ, म त अदालतको रजिष्ट्रार,….. । यस्तै केही भनेर प्रतिबाद गरौँ । अर्कोमनले सोच्यो, संकटकाल लाग्नै लागेको परिवेश । त्यही निहूँमा सिध्याई दियोभने !... खोलेर देखाएपछि जाउ जाउ भन्यो । हास्दैँ, पूर्वदक्षिणतिर रहेको अञ्चल प्रहरी कार्यालयतिर लागेँ ।

व्दन्दको कलालिलाग्दो समय सशस्त्र व्दन्दको राजधानी सरह रहेको दाङ्गमा माओवादीको हैकम र माओवादी शसस्त्र युद्द (जसलाई उनीहरु जनयुद्द नामाकरण गरेका थिए) लाई हतियारद्दारा नै निस्तेज पार्ने ततकालीन शाही शासनको निरत्तर प्रयासको बिचमा परेको थियो जनजनको मानवअधिकार । मानव अधिकार रक्षाको नाउमा दुबैतर्फबाट चलेका हतियारले गैरसैनिक मारिने र अनाहकमा माओवादी वा शाही सेनाको पक्षधरको नाउमा व्दन्दको चपेटामा पारिनेहरुको सख्या बढीरहेकोले दाँङ्मा पनि नागरिक समाज को स्थापना भएको थियो । नागरिक समाजबाट दुबैपक्षलाई खबरदारी गर्ने गराउने गतिविधिहरु बढिरहेका थिए । यस्तैमा नागरिक समाज दाङ्गको आमन्त्रणमा दाङ्ग पुगे दमन नाथ ढुँगानाहरु अर्थात दमननाथ ढुँगाना, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला सहितका मानव अधिकारकर्मीहरु । उनीहरुको बसोबास खानपिन तथा कार्यक्रम सञ्चालनका बिषयमा नागरिक समाज दाङगको तर्फबाट हुने छलफल र सरसल्लाहमा अनौपचारिक सुझाव र साझेदारी गर्ने क्रममा भने तुलसीपुरमा आउदा सम्मानित मानवअधिकारकर्मीहरुसंगै खाना खाने प्रवन्धको प्रस्ताब राखे । आयोजकहरुले नाइ भन्ने सवाल नै थिएन । एक बिहानको उनीहरु समेतलाई स्वागत गरियो डेरा निबासमा । उनी अर्थात दमननाथ ढुँगानाको जिज्ञासा थियो ‘’हैन सरकारको प्रथम श्रेणीको रजिष्ट्रार पदको मानिसले आन्दोलनकारीलाई सहयोग र सहजीकरण गरेको भनेर तपाइलाई अप्ठ्यारो त पार्दैनन …..?  

ततक्षण मै संयोजक टीकाराम रेग्मीले ‘’हैन वँहा त हामी आन्दोलनकारी जस्तै हो, निरन्तर मानवअधिकार शान्ति र न्यायको पक्षमा कलम चलाइरहने, लेख्ने बोल्ने ……’’ भनेपछि मलाई थप भन्नु केही थिएन । मुसुमुसु हाँसिरहेँ । आन्दोलनकारी वा मानवअधिकारकर्मीहरु जस्तै दिनहूँ निर्धारित कर्ममा लाग्न नसकेपनि सकेसम्मको सहयोगी भुमिकामा आफूपनि रहन पाएकोमा गर्व लाग्थ्यो मनभित्र । किनकी भित्रीमनमा शाही तानाशाहिता लामो समय जान्न, परिवर्तन अवश्यम्भावी छ, परिवर्तनको पक्षमा सकेको गरिएन भने सचेत नागरिक हुनुको अर्थ नै रहदैन ….. भन्ने बुझाई थियो ।

बि स २०३६ सालमा नेपाल ल क्याम्पसमा भर्ना भएपछिको राजधानीको करिब एकदशकको निरन्तर बसाइ रहेको बेला ततकाल हुने कानून र न्याय शान्ति तथा मानवअधिकारका बिषयक केही सार्वजनिक कार्यक्रममा सहभागिताको सन्दर्भमा देख भेट र परोक्ष्य रुपमा सहकार्य धेरै पटक गरेपनि आफ्नै बासस्थानमा उनीसंग बसेर समसायिक बिषयमा संवाद गरेको मेरा लागि त्यो पहिलो अवसर मात्र होइन, अन्तिम अवसर पनि बन्यो ।

मोटो, गोरो आकृतिको होचो कदमा, देख्दै भरिलो ब्यक्तित्व लाग्ने दमननाथ ढुँगानाको अकस्मात मृत्युको दुःखद खबर विभिन्न सञ्चार माध्यमहरुमा छायपछि मेरो मानसपलटमा माथिकै समय र उनिप्रतिको सम्मानका विविध सन्दर्भहरु घुमिरहे । अन्तरआत्माले उनका सततकर्महरुलाई स्मरण गरिरहयो । सम्मानका सन्दर्भमा अन्तरमनका आएका भावहरुलाई शब्दमा उतारेर उनिप्रति श्रदाञ्जली दिन मन लाग्यो।

सारम्समा सम्झदा स्वर्गीय दमननाथ ढुँगानालाई () विध्यार्थी संगठनका संस्थापक, () सच्चा लोकतन्त्रवादी  राजनीतिज्ञ () वरिष्ठ अधिवक्ता () मानव अधिकारकर्मी () नागरिक समाजमा अगुवा () व्दन्दका व्यवस्थापनका चिन्तक र सहजकर्ता () शान्ति र न्यायका सर्वकालिक व्यक्तित्व () मानक सभामुख () त्याग र समर्पणका नमूना तथा (१०) सदियौँ सम्झनाका सुपात्रका रुपमा लिनुपर्ने हुन्छ । 

राजा महेन्द्रले बहुदलीय प्रजातन्त्रलाई निषेध गर्ने गरी २०१७ साल पुस १ गते चालेको कदमपछि अन्धकारको पर्दा खसेजस्तो लागेर स्तन्त्रताको खोजी गर्न त्रिभुवन विश्व विध्यालयमा विध्यार्थी संगठनको स्थापना गरेका र प्रथम अध्यक्ष नवराज सुवेदी पञ्चायतमा लागेपछि उनलाई हटाएर अध्यक्ष बनेका (अनलाइन २०८१।८।२), नेपाल २०२७ सालमा बिध्यार्थी संगठनको स्थापना पछि सकृय राजनीति छोडेर कानून व्यवसायीका रुपमा चिनिन थालेका दमननाथ ढुँगाना बहुआयामिक ब्यक्तित्वका धनी मानिस हुन । चिन्तन समन्वय र सहभावका सारथी पनि हुन । पहिले विध्यार्थी राजनीति, ततपश्चात कानून व्यसायको माध्यमबाट कानून र न्यायकै वरिपरि घुम्ने र रम्ने उनको मनका चाहनाभने परिस्थितिवस फेरिदै गयो । वकीलहरुको राष्ट्रिय सम्मेलनको आवश्यकतामहसुस गर्ने अग्रहरुमध्येका एक रहेका उनी नेपाल बार एशोसियसनको महासचिव बन्दै वरिष्ठ अधिवक्ता दरिएपछि कानून र न्यायकै क्षेत्रमा झनै रमाउन थाले ।

मध्यमाञ्चल क्षेत्रीय अदालतको कार्य सेवाअवधि (२०४१-२०४५)को समयमा जबजब उनी इजलासमा प्रबेश गर्थे तवतव न्यायाधीशहरु ए दमनजी आफै आउनु भएछ है, अथवा दमन जी नै आएपछि त मिसिल धेरै के हेरिराख्नु परयो र बहस सुने भइहाल्यो नि स्पष्ट पारिहाल्नु हुन्छ .. यस्तै यस्तै भनेर उनको अध्ययनशिलता, बहसकला र क्षमतालाई परोक्ष्य रुपमा स्वीकार मात्र होइन, प्रँशसा पनि गरेको लाग्दथ्यो । बेलाबेलाका मानवअधिकार आन्दोलनमा अगुवाइ गरेको देख्दा र सुन्दा दमननाथ ढुँगाना माथि भनिएजस्तै विविध क्षमताका धनी व्यक्ति हुन तर खासमा उनी मानवअधिकार कर्मी नै हुन भन्ने लाग्दथ्यो  पञ्चायती निरंकुशताका विरुद्द २०१७ देखि २०४६ सम्म लागेका दमननाथ ढुगाना जब २०४७ सालको संविधान मस्यौदा र निर्माणका अग्रजका रुपमा आफूलाई स्थापित गरे र सभासदमा निर्बाचित भए, तब तब गिरिजाप्रसाद कोइराला उनलाई सभामुख बनाउन बाध्य हुदै गए ।

२०२७ पछि करिब दुइदशक समर्थक काँग्रेसका रुपमा रहेका दमननाथ २०४७ पछि फेरि सकृय राजनीतिमा आए । उनी भन्दा अग्रज जगन्नाथ आचार्य र रामहरि जोशीहरु मन्त्रीमा जान तयार भएपछि उनकालागि सभामुख पद प्राप्ति सजिलो हुदै गयो । झलनाथ खनालले उम्मेदवारी झिकेपछि उनि सभामुखमा निर्बिरोध नै भए । सभामुखको कार्यभार उनकालागि इतिहास निर्माणको कार्यकाल हुन गयो । निस्पक्ष भूमिकाले ‘’सरकार सत्ता पक्षको सदन प्रतिपक्षको भन्ने मान्यता स्थापित मात्र गराएनन, प्रधान मन्त्रीले संसदमा संवोधन गर्नु अगाडि बिपक्षी दलको नेतालाई बोल्न दिने परम्पराका संस्थापक पनि बने । निर्बाचनबाट कुनै दलले बहुमत पाएपछि संसदमा प्रतिपक्षहरुको अवस्था भनेको मौनम् स्वीकृति सरहको अवस्था हो भन्ने भावना राख्ने गिरिरजा प्रसाद कोइराला दमननाथबाट कांग्रेसलाई सहजीकरणको कार्य हुनुपर्ने अपेक्षा र मान्यता राख्दथे तर उनी निष्पक्ष सभामुखका हिमायती र प्रतिबद्द ब्यक्ति, परिणाम गिरिजप्रसाद कोइराला र उनका बिचमा भित्री खटपट  बढ्दै गयो । सभामुख पदमै उनलाई असफल गराउन राजाले संसलमा संवोधन गर्ने बेला राखेको प्रधान मन्त्री बस्ने कुर्सी हटाउने खेलमा रहेका केही बिचार सगोत्रीयहरुको पहलले नै उनको छविमा धक्का लगाउने कोसिस भयो । यसमा उनले भनेका छन ‘’दरबार, रक्षा र स्वयं सेनाले हेर्ने त्यसदिनको ब्यवस्थापनमा प्रधान मन्त्री बस्ने कुर्सी नरहेको वा हटाएको बिषयमा सभामुख कसरी मुख्य दोषी हुने ? कर्मचारी प्रशासन पनि दोषी नहुने ? गिरिजा अर्थात नेपाली कांग्रेसको मूलधार बनेका गिरिजाप्रसाद कोइरालाको मन नपुर्नु भनेको कृष्णप्रसाद भट्टराइ जस्तै निर्बाचानमा टिकट दिएपनि पछारिनु हो भन्ने बुझेका दमननाथ ढुँगाना पछिल्ला दिनहरुमा टिकटका लागि गिरिजाको सामु आत्मसमर्पण त गरेनन तर पछि २०७२ सालमा काठमाण्डौको आफ्नो निर्बाचन क्षेत्र छोडर भक्तपुर २ मा पुरयाइदा संसदीय निर्बाचनमा पछार्ने पार्टी भित्रैको खेल बुझ्न सकेनन । परिणाम कम्युन्ष्ठ घटकहरु सबै मिलेको भक्तपुर २ मा लडेका एमालेका महेश बस्नेतसंग  संभासदमा पछारिए । यसलाई उनले पार्टीभित्रको कृष्णप्रसाद भट्टराइकालिन अन्तरघातको रुपमा पनि लिएका छन (अनलाइन संगको अन्तरवार्तामा)

यसपछि उनका अगाडि प्रधान मन्त्री वा पार्टी अध्यक्षको लागि राजनीतिक प्रतिस्पर्धा गर्ने वा फेरि शुद्द वकालत गर्ने वा मानव अधिकारकर्मीका रुपमा भूमिका निर्बाह गर्दै नागरिक समाजको अगुवा र शान्ति अभियानकर्ता हुने भन्ने जस्ता विकल्पहरु तेर्सिय । २०५४ सालपछि त उनी काँग्रेसको सदस्यताको नवीकरण नै नगरेर बसेका  तर २०७२ मा आएर फेरि महासमिति सदस्यमा मनोनित भएर चुनाव लडन पुगेका व्यक्ति हुन । त्यस अवस्थमा त्यो बेला टिकट लिएर चुनावमा दौडनु मेरै कमजोरी हो भनेर उनले आत्मआलोचना गर्न पुगेका छन (अनलाइन २०७५।७।२६)

भनिन्छ, शेरबहादुर देउवाले राजनीतिक यात्रा २०२२ साल तिरको हो तर दमननाथ ढुँगानाको राजनीतिक यात्रा २०१७ साल देखिको । गिरिजाप्रसाद कोइरलापछि रामहरि जोशी र जगन्नाथ आचार्य र त्यसपछिको राजनीतिक बिरासत दमननाथ ढुँगानै हुने हो तर अन्तरघात नै अन्तरघातको भूमरीमा उनी अलि अलि काखा र धेरै जसो पाखा पारिए । उनिपछिको मर्यादाक्रमीहरुले भित्रभित्र खोइरो खने । नायक गिरिजा प्रसाद कोइराला नै बने । परिणाम राजनितिज्ञ भन्दा समाजसेवी, मानवअधिकारकर्मी तथा द्वन्द व्यवस्थापनका सहजकर्ता, शान्ति र बिकासका पक्षधरका रुपमा उनी स्थापित हुदै गए ।

माओवादी सशस्त्र बिद्रोहको कारणले जनधनको क्षतिको बिषय होस वा माओवादी जनबिद्रोह दमनको नाउमा जनसाधारणको हत्या सहितको मानवअधिकारको उलँघनमा राज्यपक्षबाट भएका बर्बरताहरुको बिरुदमा होस दमननाथ ढुँगाना अथक जागरुक सिपाहीका रुपमा लागि रहे । पछिल्ला दिनहरुमा उनी माओवादी नै ठहरिए । ततकालीन प्रहरी तथा सेनाको रेकी र बक्रदृष्टीबाट आजित भएर एकपटक गिरिजाकँहा नै पुगे किन हो यसरी ? भन्न तर गिरिजाले हो र ? मलाइ त थाह नै छैन बुझ्दछु भनेर फर्काए रे । प्रधान मन्त्रीलाई नै थाहा नहुने बिषय हो र ? होइन तर उनले चाहेरै हो र दमनलाई राजनीतिक दमन गर्न र प्रतिनिधि सभामा सभामुख हुदा काँग्रेसी नबनेको बदला लिन नै हो भन्ने धेरैको बुझँइसंगैं दमननाथको पनि छ ।  पद्मरत्न तुलाधरसंग मिलेर माओवादीको कुरा गिरिजा समक्ष र गिरिजाको कुरा माओवादी समक्ष तथा दुबैको कुरा राजासमक्ष पुर्याइ द्वन्व व्यवस्थापनमा सहजकर्ताको सतत भूमिकामा रहकेको उनको योगदान अविस्मरणीय नै छ । समय क्रममा उनी सबैतिरका मध्यस्थकर्ताका रुपमा देखिए । काँग्रेसभित्रको मध्यस्थकर्ता, नेपाल वार भित्रका मध्यस्थकर्ता, बार र न्यायपालिका बिचका मध्यस्थकर्ता, नागरिक समाज र सरकारका बिचका मध्यस्थकर्ता, सरकार र प्रतिपक्ष बिचका मध्यस्थकर्ता तथा मानवअधिकार कर्मीहरुका बिचका मध्यस्थकर्ता अर्थात सबैतिरको द्वन्द र बेमेलमा शान्ति र मेलमिलापकर्ताका रुपम स्थापित भएका एक बहुपक्षीय क्षमतका धनी हुन उनी ।

संघिय लोकतान्त्रिक गणतन्त्रका हिमायती दमननाथ ढुँगनाको चित्त दुख्ने केही बिषयहरुलाई स्मरण गरौ। उनी २०४७ सालको संविधान मस्यौदाकार मध्येका एक भएपनि २०६३ र २०७२ को संविधान मस्यौदाको क्रममा खेसरीको दालका रुपमा आफूलाई लिएकोमा चिन्तित थिए ।  अन्तरघातको योजनका साथ, खटाइ खटाइ अर्थात मन नलागी नलागी चुनावको टिकट दिने गिरिजाप्रसाद कोइरालाको बुझाई र ब्यवहारबाट असाध्यै चिन्तित थिए भन्ने उनका अन्तरवार्ता (अनलाइन२०७५।०७।२५ आदि)  र लेख (कान्तिपुर २०७८।५।८ आदि)  हरुबाट देखिन्छ । माओवादीले डा बाबुराम भट्टराइको संयोकत्वमा बनाएको समितिको सदस्यमा राखेकोबाट पनि उनि आजित थिए । जसको परिणामले स्वयं काँग्रेसी अगुवाहरु नै उनलाण माओवादी काँग्रेस भन्न थाले । गिरिजा प्रसाद कोइरालाकै कार्यकालमा प्रहरी र सेनाको रेकीभित्र पारिए । अन्तरिम संविधान बनाउदा संघीयताका बारेमा अडान छोडेको माओवादीको कार्यनीतिप्रति अचम्मै माने । अर्कोतर्फ माओवादीले अगाडि सारेको जातिय क्लस्टरको संघीयता पनि उनलाई मन परेन । उनको बुझाइमा राजतन्त्रका बारेमा जनमत सँगह गर्ने भन्ने ततकालीन एमाले लिएको नीतिले पनि निरन्तरता पाउन सकेन ।  विशेषतः द्वन्द समाधानका धेरै बिषयहरु थाती राखेर २०७२ सालको संविधान निर्माण गरेकोमा पनि उनि खुसी थिएनन । खासगरी धर्म निरपेक्ष्यता र संघीयता परिकृत नहुदै बनेको, माओवादीले उठाएपनि संघीयता मधेशीहरुको मात्रै मूल मुद्दा बनेको र पछिल्ला दिनहरुमा त मधेशको मुद्दा केवल मुद्दा मात्र बनेको, परिवर्तनलाई संस्थागत गर्न नागरिक समाजलाई समुचित रुपमा संलग्न नगराइएको, मानवअधिकारकर्मी र नागरिक समाजको अगुवाको रुपमा काम गरी द्वन्द व्यवस्थापनमा सहककर्ताको भुमिका निर्बाह गरेको बेला पनि व्यवस्था बिरोधीका रुपमा सरकारले कालोसूचिमा राखेको, २०५७ सालमा घरमा छापा मारेको, धेरै पटक रेकी गरेको, आदि बिषयहरुले उनको मन जीवन पर्यन्त कुँडाइ रहयो ।

संविधानलाई निष्ठा आस्था प्रतिब्द्दता कर्तब्यववध तथा देशभक्तिको भाव र लगावले हेर्नेहरुको कमी क्रमशः बढ्दै गएको, कालाबजारिया बोकेर संसदमा दलहरु पुगेका, करिब करिब काला बजारिया एवं भ्रष्टहरुलाई नै सरकारी तालचावी बुझाइएको क्रमशः कालो परिबेश र व्यवहारको बढ्दो रुप र क्रमले उनको मुटु छियाछिया बन्यो सायदः किनकी यस्तै संविधान र यस्तै दल यस्तै नेता र कार्यकर्ताका लागि उनले लोकतान्त्रिक गणतन्त्रको वकालत गरेका होइनन । उदार प्रजातन्त्रवादी नीति र व्यवहार अँगालेका होइनन ।

बिकल्प हुदा हुदै प्रतिनिधि सभा बिघटन (२००७ पुस),  प्रतिनिधिसभा बिघटन गर्ने अधिकार बिना प्रतिनिधिसभा बिघटन गर्ने (२०७८ जेष्ठ ८) दुबै कार्यहरु उनका लागि अपशोचका बिषय बनेका थिए । शेरबहादुर देउवालाई प्रधान मन्त्री बनाएर यति पलभित्र शपथ खुवाउ र सरकार चलाउन देउ अनि यो यो दल मिलाउ यो यो दल नमिलाउ, नेपाल कम्युनिष्ठ पार्टी फुटिसकेको हाँडी नै भइसक्यो जुटेर बसेका छौ भन्न कहा पाउछन ? भन्ने जस्ता न्यायनिरुपणका भाषाहरु सुन्दा पढ्दा बुझ्दा किन कानून पढेछु भन्ने अथवा न्यायका बेथितिहरु बिरुद्द निरन्तर लौरो बजार्न छोडेर किन कहिले राजनीति, कहिले कानून ब्यवसाय र फेरि राजनीति, अनि नागरिक अगुवा तथा मानवअधिकारकर्मी आदि भन्दै बिषयमान्तर भएछु भन्ने पनि लाग्यो होला उनैलाई ।

पछिल्ला दिनमा उनलाई कस्तो लाग्यो सबैभन्दा बढी ब्यक्त र सार्वजनिक गर्ने क्षमता श्रद्देय म्याडम भूवन ढुँगानालाई मै छ । उनलाई निमेष र निशेषहरुले जति बुझे, त्यो भन्दा हजारौ गुणा बढी बुझ्ने भूवन म्याडम नै हुन । उनको सिर्जनात्क कलमले दमननाथ ढुँगानाको अनुभूति र यथार्थताका बारेमा गतिलो खुराक उनी रहेको समाज र देशलाई दिनेछ भन्ने मेरो ब्यक्तिगत बुझाइ र आशाको अध्याय बनेको छ ।

बाचुञ्जेल स्थान नदिने र दिएपनि समुचित स्थान नदिने मरेपछि स्तुती गाउने अथवा बाचुञ्जेल खानलाउन नदिने तर मरेपछि एकसय आठ परिकार दान गर्ने (मरेपछि घ्यू खाउ बा) कुब्यवहार र संस्कारले ग्रस्त नेपाली समाज भित्रका अवगुणहरुबाट उनलाई पनि थिचियो । गिरिजाप्रसाद कोइराला दमननाथ ढुँगानालाई मन नपराउने काँग्रेसी नेतामध्येका एक हुन भन्न मिल्ने सम्बन्धमा उनी प्रति गिरिजाप्रसाद कोइराला कालमा भए गरिएका र देखिए सुनिएका ब्यवहारहरु नै प्रमाण बनेर बसेका छन । मरेपछि अहो! क्यावात्!! दमननाथ भन्नेहरु मध्येकै थिए, जीवनकालका पख्लास दमननाथ भन्ने ब्यवहारहरु । हेरौ उनको मृत्यु पश्चातका ब्यक्त केही केहीका केही शब्दहरुः

Ø  राजनीतिककर्मी वरिष्ठ अधिवक्ता र नागरिक अगुवा-                                                                                                                                                                          रामचन्द्र पौडेल राष्ट्रपति।

Ø  मानव अधिकारका रक्षक र संसदीय अभ्यासका ज्ञाता.

-के पी ओली। प्र म

Ø  लोकतन्त्र मानव अधिकार न्याययका योगदाता.

 शेरबहादुर देउवा पूर्व प्र म

Ø  मानव अधिकार र नागरिक आन्दोलनका अगुवा । नेपाल र नेपाली जनताले रानजीतिक तथा सामाजिक परिवर्तनमा वहाको योगदान सदैव सम्झिरहनेछ ।                                                                                                                 पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्र म

Ø  विशिष्ठ बौद्दिक तथा राजनीतिक व्यक्तित्व .

-डा बाबुराम भट्टराइ, पूर्व प्र म

Ø  संसदीय प्रणालीमा सभामुखको भुमिका कस्तो हुन्छ र हुनुपर्छ । ससद भित्र र सरकार प्रतिपक्षको अवस्था कस्तो हुन्छ । प्रतिपक्षलाई संसदमा कसरी हेर्नुपर्छ भन्ने कुरा उनबाट सिक्नु आवश्यक छ । सभामुखमा उनले कायम गरेको उचाइ कसैले छुन सकेको छैन । नेपालको संसदिय प्रणालीले उनलाई धन्यवाद दिनै पर्छ ।                         

                                            झलनाथ खनाल, पूर्व प्र म

Ø  लोकतान्त्रिक आन्दोलनका अगुव संसदीय अभ्यासका ज्ञाता र शान्ति प्रकृयाका सहजकर्ता।

                                          देवराज घिमिरे,सभामुख

Ø  प्रतिपक्षको बिरोध संसदाबाट भेन्टिलेट भएन भने विरोध सडकमा पुग्दछ । संसद प्रतिपक्षको हो भन्ने मान्यताका एक दृढ व्यक्तित्व । 

बिरोध खतिवडा सभासद

सच्चा लोकतन्त्रवादी प्रदीप गिरीको देहावसान पछि दमननाथ ढुँगानाले भनेका थिए पद, पैसf र प्रलोभनका लागि सिदान्तलाई लात मार्ने समाजमा उनी आफ्नै आदर्श त्याग र ढीपीका एक सिँगो टापू र प्रतीक भएर रहने ब्यक्तिव हुन’’ (थप जानकारीका लागि हेरौः २०७९।५।९ को, रातोपाटीमा प्रकाशित संजिव कार्कीको लेखबाट)‘’प्रदीप गिरिको निधन ठूलो दुःखको र वियोगको घडी हो । राष्ट्रिय रिक्तता र क्षति हो । उनी काँग्रेसको नेता मात्र नभएर स्वतन्त्रताको पक्षधर अन्यायको बिरोधी र मानव अधिकार तथा मयर्यदित जीवनका लागि लडिरहने मनुष्यमात्रका नेपालीवाणी हुन न प्रदीप गिरी’’ (कान्तिपुर भाद्र ६, २०७९ मा प्रकाशित दमननाथ ढुगानाको लेख )

दमननाथ ढुँगानाको मृत्युको समयसम्म प्रदीप गिरि बाँचेका भए ठ्याक्कै यही नै नभएपनि यस्तै भाव लगाव र समर्पणका हिसाबले दमननाथ ढुगानालाई सम्झने थिए होला ।

भनिन्छ, दमननाथ ढुँगानाले सभामुखको तलव लिएनन । जेष्ठ नागरिक भत्तापनि लिएनन। समानुपातिकबाट सभासद बन्न चाहेनन । कुचोलिएर स्वच्छ सभासद बन्न चुनाव होमिएर इमान्दार र योग्य व्यक्तिले चुनाव जित्न कठिन छ भन्ने पाठ अरुलाई पढाए ।  पद पैसा र मानका लागि मरिहत्ते पनि गरेनन । कार्यक्रमबस उपत्यका बाहिर कतै जानुपर्दा पनि ऐयासी सुविधा खोजेनन, रुखो सुकोमै रमाए । कति मान्छे मारेपछि मात्र सन्तोष लिन्छौ, हतियार बिसाएर शान्तिमार्गमा आउ ।  सके सत्तामा जाउ भन्ने जस्ता अभिव्यक्तिहरु सार्वजनिक रुपमै दिदै सहपाठी तर बिचारका हिसाबले उत्तर दक्षिण उभिएका पद्मरत्न तुलाधरहरुसंग मिलेर माओवादीहरुलाई अलिअलि तर्साएर र अलिअली फकाएर शान्ति मार्गमा आउन अभिप्रेरि गरे ।

समग्रमा स्वर्गीय दमननाथ ढुँगानाले जीवनमा जे जे गरे राम्रो राम्रो नै गरे । नेपाली माटो अनुकूलको संघीयता, लोकतन्त्र र संविधान संशोधनकै माध्यबाट स्थायी शान्तिको मार्गको अपेक्षा र वकालत गर्दा गर्दै अर्थात देश र जनताको लागि सोच्दै बोल्दै र मनका बहहरु खोल्दै,…… भूवन ढुँगानको काखमै बेहोस भए ।

भनिन्छ, निरासा सायदै देखियो उनको जीवनमा । घरभित्रको व्यवस्थापन कुशल गृहणी तथा बौदिक ब्यक्तित्व भूवन ढुगानाको सफलतम भूमिकामा रहेको हुनाले उनलाई त्यसतर्फको चिन्ता हुने कुरै भएन । पछिल्ला केही दिनलाई छोडेर भन्नेहोभने भेटघाट, अध्ययन र छलफलमा ब्यस्त रहे । उनको दीनचर्यालाई नजिकबाट चिन्नेहरुले भनेको पनि सुनियो कि कहिलेकाँही अँग्रेजीको सन्दर्भ आयो र कसैले उठायो भने ‘’ए यो त म्याडमको बिषय पो रहेछ’’ भनेर पनि ठट्यौली गर्दथे । अँग्रेजी भाषामा कविता लेख्ने भूवन म्याडम । स्व, दमननाथ पनि के कम बोल्ने मात्र होइन लेख्थे पनि । बौद्दिकता र कुसलपनका संयोजनकारी जोडी भन्न मिल्ने पारिवारिक जीवनको सहयात्रामा उनी मनग्ने खुस थिए ।

परिवार आफन्तजन र शुभचिन्तकमनहरुका अगाडि दमननाथ ढुँगाना शशरीर छैनन आज । तर माथि वर्णित संक्षिप्त जीवनी र योगदानहरुबाट उनी कहिल्यै बिर्सन नसकिने सुपात्रका रुपमा रहेका छन । लोकतन्त्र, नागरिक आन्दोलन र संसदीय व्यवस्थाको धर्म र मर्म रहदासम्म वा यी पक्षहरु सङ्कटमा पर्दा समेत दमननाथ ढुँगाना नेपाली माटोमा नेपाली मनमा र कानून न्याय तथा मावअधिकारको सफल बाटोमा सधै सधै भेट हुने सुपात्रका रुपमा रहिरहने छन । उनिसंगको सहकार्यमा जीवनका धेरै समय बिताएका मानव अधिकारकर्मी एवं सर्जकहरु श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला आदि आदिले गर्ने उनको मूल्याङ्कन धेरै अर्थमा मर्मस्पर्शी र यथार्थवादी हुनेछ ।

श्रदाञ्जली सभाहरु र बिषयगत बिचारगोष्ठीहरु फलदायी हुन्छन । तर्पण दान भन्दा अक्षयकोषहरुले अमर बनाउछन । जीवनका कर्महरुमा जतिसुकै तले घर वा महल नै किन नबनावस अथवा धनदौलतको खालमा नै कि नबसेको होस, मरेपछि झर्ने आँगन मै हो र जाने घाटै हो भन्ने सत्यता स्मरण गर्न सक्नु ठूलो कुरा हो भन्ने ब्यक्तिगत बुझाई सम्झदै फेरिपनि उनीप्रति हंदयतः शब्द श्रदाञ्जली ।

ढिलै भएपनि सक्रमणकालिन न्यायको नगरा (सत्य निरुपण तथा मेलमिलापको अर्थात बेपत्ता छानवीनको बिषय) दमननाथ ढुँगानाकै मृत्युको क्षणबाटै तेस्रो पटक बजाइएको छ । शोकग्रस्त समय अवधिभित्रै यसका नायकहरुको छनौट प्रकृया जारी रहेको छ । संक्रमणकाली न्यायको विलम्ब स्वर्गीय दमननाथ ढुँगनाका चिन्ताहरुमध्येको अहम चिन्ताको एक प्रमुख बिषय हो । सक्षम नायकहरुको छनोट र उनिहरुबाट हुने कुसल कार्यसम्पादनको परिणामले नेपालको द्वन्द व्यवस्थापनको तेस्रो पटक सफल हुन सक्योभने दमननाथ ढुँगानाको एक सपना पुरा भएको मानिने छ । आशा गरौ, द्वन्द पीडितहरुमा यसबिचमा विलम्ब गर र बिर्साइ देउ’’ भन्ने नीति अँगालेर सहि र यथासमयमा समाधानतर्फ सबै चरणका सरकारहरु नलागेको भन्ने उनीहरुको बुझाइ गलत साबित हुन सकोस । दमननाथ ढुँगानाहरुको मनको चाहना अनुरुपको संक्रमणकालीन न्यायको अभियान सफल होस ।

’’दमननाथ ढुँगाना (पूर्व सभामुख) स्मृति स्मारिका विशेशाङ्क’’‘’शब्दसिर्जनाका दमननाथ ढुँगाना गरी कम्तिमा दुइवटा कृति प्रकाशन भए वा गरिएभने उनी अझ अमर हुने छन भन्ने विश्वास र आशाका ज्ञानगुन प्रकाशनको तेहौ थितिमा यो श्रदाञ्जली अङ्क प्रकाशनको पहलका लागि संपादक शेषराज सिवाकोटीलाई धेरै धेरै धन्यवाद ।

२०८१।०८।५।                                            प्यूठान,ऐरावती १, धनवोट


No comments:

Post a Comment