Friday, 15 August 2025

फेवा प्रतिको प्रियतमता

 

प्रिय फेवा

करिब ३ बर्ष
तिम्रो साथमा खुब रमाएँ
कतै ठेस लागेन
सम्झना ताजै छ,
तिमीमात्र हैन
जनस्तरबाटै पनि स्नेहभाव पाँए
तिमीबाट टाढा भएको ३ बर्ष नै भएछ
आज फेरि तिम्रो याद आयो
पुराना स्मृतिहरु तर्फ मनतरङ्ग दौडाएँ
तिम्रो समकालिन रुपतिर एक नजर लगाएँ
झरेको पहिरो र परेको बाढी अनि झारैझारले
तिमी त हिलाम्मे र झुसिली पो भइछयौ
जलकुम्भि र बन्दा झारको मारले
तिमी त नदेखिने ओझेलमा पो परिछयौ
तिम्रो सुन्दरतम रुप बिग्रिएछ
चिन्ता बढेर आयो
तिम्रो स्नेही तनभित्र डुबुल्की मार्ने
माछापुच्छ्रेपनि देखिएन
तिमी माथि नौका बिहार गर्ने
स्वदेशी र बिदेशी पाहुना पनि भेटिएन
प्रिय पोखरा !
आफैभित्र चिन्ता बढेर आयो
त्यसैले फिर्के र बर्लौदीँ
सफाई अभियानका अभियन्ताहरुका सामु
याचना गर्न मन लायो
तिम्रो धमिलोपन र मेरो अमिलोमन हटाउन
तिनीहरुको अभियानको पाइला
तिमीतिर पनि निरन्तरता बनेर आउनु पर्छ
सारा पोखरेलीहरुका हातको स्पर्श
तिमी स्वच्छ र सुन्दरतम नभएसम्म
तिमीले हर शनिवार पाउनु पर्छ ।
किनकी, तिमी मेरी मात्र मनकी फेवा होइनौ
किनकी, तिमी कुनै एक को स्वार्थकी छैनौ
तिमी सबैकी साझा जीवन र सम्पत्ति हौ
तिमी सबैको साझा पहिचान र उन्नति हौ
तिमी सफा र सुन्दरतम नरहेसम्म
तिमी माछापुच्छ्रेले ऐना हेर्ने नभएसम्म
हर पोखरेली हर शनिवार
एक घर एक सेवा आधार बनेर आउनु पर्छ
तिमिले हर पोखरेलीको सदभाव पाउनु पर्छ
बस मेरो यही याचना छ
हिजो जस्तै सुन्दरतम रहनु पर्छ तिमी
मेरो यही चाहना र शुभकामना छ ।
२२ साउन २०७३

Image may contain: sky, outdoor, nature and water

 

No comments:

Post a Comment