Thursday, 14 August 2025

हुदैन बिहान, मिर्मिरेमा तारा झरेर नगए

         बि स २०३५ सालको प्रबेशिका परीक्षा उतिर्ण गरेपछि उच्च शिक्षाको लालस बोकेर राजधानी         आइयो । यो बिषय पढ्दा यो यो फाइदा र भविष्यकारी हुन्छ भन्ने जस्ता पक्षमा गतिलो गरी             सुझाव दिने नजिकको नाता सम्बन्धका वा चिनजानका मान्छे नभएर पनि हो कि त्यसबखत         कहा र के बिषयमा उच्च शिक्षा हासिल गर्ने भन्ने बिषयले करिब ३ महिना मानसपलट नै                 रन्थन्यायो । मनलाइ धेरैतिर भौँतारदै अन्तमा गतिलो विद्वान कानुन व्यवसयी बन्ने भित्री                 मनभित्रको अंकुरणको कारणले नेपाल ल क्याम्पसमा भर्ना हुन पुगें ।

पातलो जिउढालको अलिअलि बायाँतर्फ ढल्केर चस्मा लगाउदै हातमा एउटा ब्याग लिदै नेपाल ल क्याम्पसभित्र प्रबेश गर्ने एउटा आकृति परैबाट एकपटक देखेँ । त्यो आकृतिको नजिक हुनेहरुले आदरपूर्वक नमस्कार गरे । मेरो नजिकै उभिएको कसैले भन्यो- प्रमाण कानुन पढाउने प्रकाश वस्ती सर । क्या राम्रो पढाउछ यार …..!  क्लास लिन कहिलेपनि नबिर्सने, स्पष्टवक्ता र असाध्यै अध्ययनशिल लाग्ने ….। यसो भन्दै उ क्लासभित्र गयो ।

एकछिनपछि उनै अ वस्ती हामीहरुको नजिकबाटै आएर कक्षा कोठामा प्रबेश गरे । केही बिध्यार्थीहरु हुरुरु भित्र पसे । हामीहरुभने आफ्नो सेक्सनको बिषय शिक्षक नआएर कुरिरहयौं । त्यो दिन उनि अर्थात हाम्रो बिषयका प्राध्यापक आउदै आएनन । आउन किन नसकेको भन्ने खबरपनि पठाएनन । केहीले बाहिर हल्ला गर्दै र केहीले चमेना गृहमा बस्दै बिताए त्यो दिनको समय । त्यसरी नै बित्दथे त्यसप्रकारका समय ।

पहिलो पटक उनको बारेमा सुनेका माथिका कुराले पछि पछि पटक पटक भेटदा उनलाई श्रद्दापूर्वक अभिवादन गर्न मन लाग्ने । उनी भने आफ्नै मुसुक्क हासेर हिसाबले नमस्ते फर्काउने र कहिले काँही के छ ? ठीक छ हैन ? … भन्ने गर्दथे । आफूलाई भने उनले पढाउने कक्षामा आफू नभएकोमा केही नपुगे जस्तो लागि रहेको हुन्थ्यो ।

‘’अँशबण्डा र जेठासी प्रथा’’  शिर्षकमा बिध्रार्थिकलमका रुपमा मेरो लेख नेपाल ल क्याम्पसबाट प्रकाशित हुने नेपाल कानून परिचर्चा, त्रैमासिक त्रैमासिक पत्रिका (वर्ष १ अङ्क ३ ? ) मा प्रकाशित भयो । अध्ययनरत केही बिध्यार्थीहरु मात्र होइन प्रकाश वस्तीजस्ता विज्ञका आँखामा पनि पुगेछु । एकिदन  क्याम्पसको प्राङ्कगणकै भेटमा कुनै मित्रले भन्यो उसको त लेख प्रकाशित भएको छ सर कानुन परिचर्चामा

‘’ हेरेको छु, अहिले नै त्यसरी लेख्नु धेरै राम्रो, धेरैराम्रो…….लेख्दै जाउँ…. ‘’भन्दै उनी आफंनै कर्मतिर लागे । मपनि लेख्न लागि रहें । एकपछि अर्को गर्दै लेखिरहेँ । त्यतिवेला नै गोरखापत्र आदिमा लेखहरु प्रकाशित भएपछि र केही दामपैसा हातमा परेपछि त झन लेख्ने हौसला बढेको हो । लेखन यात्राले गतिलिदै जादा न्याय र कानून सम्बन्धी निबन्धहरु सुरुमा न्यायदूतमा बढी प्रकाशित भए र उनै प्रकाश वस्तीको सकृयतामा आरम्भ भएको कानून ब्दैमासिकमा पनि । आफंनै नाउमा मात्र होइन, कलम शर्मा र बम्बेराज निरक्षर जस्ता कलमका नाउबाट कानुन व्दैमासिकमा त्यतिवेला प्रकाशित भएका लेखहरुको लेखक यही पङ्कतिकार हो भन्ने तथ्य सर्वप्रथम थाहा पाउने उनै मात्र हुन । प्राकृतिक न्यायको सिदान्त (बि स २०४८) बाट प्रकाशन आरम्भ भएको लेखन यात्राले तेस्रो पाइलामा कानूनको शासनः सिदान्त र व्यवहार (बि स २०५७) पुग्दा उनले पुस्तक परिचयमा समीक्षात्मक लेखमा शब्द राखे- आँखाको नानी सानो हुन्छ तर सँसार देखाउछ, पस्तक सानो छ तर……। यस्तै मेरो लेखन/प्रकाशन यात्राको छैठौ पाइलो भूपरिव्ष्ठितदेखि समुद्रवेष्ठितसम्म (बि स २०६२) का सम्बन्धमा लेखे -कानूनी वाङ्कमयको सेवाको क्रममा लेखन र प्रकाशनमा एकप्रकारको स्थान लिइरहेको लेखकले सामान्य टिपोट जस्तो गरी किन पुस्त्तकनै प्रकाशन गरेको होला भन्ने सुरुमा लागेको तर क्रमशः भित्र पस्दै जाँदा त लेखकले आफ्नो लेखकीय क्षमता कायमै राखेका रहेछन….भन्ने शब्दहरुबाट पुस्तक परिचयमा समीक्षात्मक टिप्पणी गरे।

त्यतिमात्र होइन पटक पटक भेट हुदा सुरुका दिनमा लेखनयात्राको प्रशंसा गर्दै आशिर्वाद दिने समआदरणीय व्यक्तित्व प्रकाश वस्ती  सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएपछिका दिनमा सन्दर्भबस भेटहुदा थप्न पुग्थे ‘’लहै निष्पक्ष न्यायको कर्म र कलमको सन्देश तथा खबरदारी सधै उही गतिमा अविचलित रुपमा जारी रहनु पर्छ …..’। म भने ‘’अवश्य सर’’ (उनी न्यायाधीश भएपनि हामीहरुको मुखबाट सर शब्द नै आउथ्यो) भन्दै शिर निहुराउँथे ।

उनै प्रकाश वस्तीको सम्झना र सम्मानमा स्मारिका प्रकाशनको योजना रहेको भन्ने ज्ञानगुन प्रकाशनको यात्राको माध्यमबाट नेपालको कानुनी वाङ्मयलाई अनवरत सेवा गरिरहेका सहकर्मी पूर्व न्यायाधीश एवम सहधर्मी लेखक/प्रकाशनका साधक शेषराज शिवाकोटीले कानमा पुरयाएपछि वस्तीसरका बारेमा केही न केही त सम्मानका शब्दहरु राख्नु आफ्नो समेत गुरुभेटि अथवा साचोँ सम्मान हुने लाग्यो ।

लेख्न बस्दा माथि उल्लिखित प्रसँगहरुसहित धेरै सन्दर्भहरु लाम लागेर आए । आरम्भ गर्दा केही आफंनै मपाइत्व सरहका शब्दहरु परे । यसलाई आरम्भका पङ्तिहरु मात्र सम्झिदिएर श्रद्देय पाठकहरुले मपाइत्वको सन्दर्भलाई बिर्सिदिनु हुनेछ ।

उनको बारेमा कहाँबाट सुरु गरौं लाग्यो । सारम्समा प्रकाश वस्ती कानूनी वाङ्मय र निष्पक्ष न्यायको साधनामा एक अतुलनीय निष्काम भक्त साधक र समर्पित कानून तथा न्यायकर्मी हुन भन्ने मेरो बुझाइ रहेको छ । अलिअगाडि बढेर भन्नेहोभने उनलाई निम्न बिभिन्न कोणबाट बुझ्न र चर्चा गर्न सकिन्छ ।

()  व्यवसायिक कानून व्यवसायीका रुपमा प्रकाश वस्ती ।

() सक्षम प्राध्यापकका रुपमा प्रकाश वस्ती ।

() नेपालको कानूनी वाङ्मयका एक सशक्त हस्ताक्षरः प्रकाश वस्ती ।

() निष्पक्ष र प्रभावकारी न्यायका एक अथक योद्दाः प्रकाश वस्ती ।

() कुसल न्यायमूर्तिः प्रकाश वस्ती ।

() मानवअधिकारकर्मीका रुपमाः प्रकाश वस्ती ।

() अभिभावकीय सक्षमताका नमूनाः प्रकाश वस्ती ।

()  सरल र असल मान्छेः प्रकाश वस्ती ।

() सदाचारी, सत्यनिष्ठ र त्यागी तर कतिका लागि अव्यवहारिक ।

उल्लिखित बिषय सन्दर्भहरु आफैमा अलग अलग आलेखका बिषयहरु हुन । संक्षिप्तमा राखिएका उल्लिखित सम्मान र सम्झनामा तिनीहरुलाई सबिस्तार उल्लेख गर्न यहाँ सम्भव छैन । उनका बारेमा जानकारहरु आफै ब्याख्या गर्न सक्दछन । यस्तो लाग्दछ उनका कटुआलोचकहहरु वा अशुभचिन्तकहरुपनि उल्लिखित सन्दर्भहरु पढदा एकछिन रनथन्निन पुग्दछन ।

उनलाई नजिकबाट चिन्ने र उनको कानून व्यवसायलाई बुझ्नेहरु भन्ने गर्दाछन कि उनि बिना तैयारी कहिले इजलासमा गएनन बरु तैयारीका लागि समय पक्षसंग मागे । आफूले जिम्मा लिएको मुद्दामा न्यायका लागि भनसुन भएको थाहा पाएभने पनि फाइल फिर्ता गरिदिन्थे । न्यायका लागि धनसुन (आर्थिक वा जिन्सी लगानी) गरेको भन्ने थाहा पाएभने त उनी त्य्स्ता पक्षको नाकमुख नै हेर्न चाहदैनथ्यो । अर्थात उनी न्यायका लागि प्रमाणमा विश्वास गर्दथे र न्यायकर्ताको सदविवेकमा विश्वासयुक्त आशा राख्दथे ।

पढाउने क्रममा प्रायः कक्षा छुटाएनन । कुनैदिन कक्षामा आउनै नसक्ने अवस्था भयो भने अघिल्लै दिन सूचना दिन्थे बिध्यार्थीहरुलाई । तैयारी बिनाको अध्यापन उनका लागि नसोचेको बिषय हुन्थ्यो । सुरु सुरुका छिटो छिटो बोल्ने र भन्न के खोजेको भने…. जस्ता केही थेगोले अलमल्लिएपनि पछिका दिनमा कक्षामा सायदः कसैले बुझेन भन्योहोला उनको बिषयमा । सायद सबैभन्दा थोरै बिध्यार्थी फेल हुने बिषय पनि उनकै बिषय बन्यो । सहपाठीहरु भन्छन कि वस्ती सरले पएको बुझिएन भन्ने एउटापनि बिध्यार्थी देखिएन वा सुनिएन ।

कानूनी भाषाको आफ्नै विशेषता र मौलिकता छ । त्यसलाई नेपाल ल क्याम्पसमा मात्र होइन लेखन र प्रकाशनको क्षेत्रमा अनि विधेयक निर्माण र परिमार्जनको क्षेत्रमा परिस्कृत र सुसज्जित बनाउने काममा प्रकाश वस्तीको अतुलनीय योगदान रहेको छ भन्ने लाग्दछ श्रदेय सह प्राध्यापक रुद्र खरेलको योगदानप्रतिको सम्मानलाई यथारुपमा राख्दै । पत्रपत्रिकामा लेख्ने र नेपालको कानूनी वाङमयका प्रकाशनहरु (खासगरी कानून ब्दैमासिक) सम्पादन र प्रकाशन गर्ने कार्यमा उनको योगदान कानून रहेसम्म बाँचीरहने छ अर्थात युगपर्यन्त रहिरहने छ । उनको यस योगदानलाई समयक्रममा बिर्सिइयोभने त्यो उनिप्रति गरिएको अर्को अन्याय हुनेछ ।

न्यायमा सारा संसार अडेको छ । न्याय छैन त संसारको वास्तविकता नै छैन । न्याय मानव जीवन मात्र होइन चराचर जगतको प्राण एवं सारतत्व हो । न्याय निष्पक्ष हुनुपर्छ भन्नु नै पर्दैन किनकी न्याय आफैमा निष्पक्षताको धोतक वा परिचायक शब्द हो । कानूनमा हुनुपर्ने न्यायको मर्मभेदी वानावट र भावदेखि न्यायकर्तामा हुनुपर्ने सदविवेकको राप सम्म उनको चिन्ता चासो र कर्मयात्राको त्रिबेणी थियो ।

न्यायका लागि कानूनमा न्यायशिलताका विशेषताहरु हुनु प्राथमिक आवश्यकता त हो नै तर न्याय कानूनमा ठेलीमा रहेका शब्दहरुले नदिने, त्यसलाई मानवले देख्नु पर्ने लेख्नु पर्ने र देखेको र लेखेको भाषा वा भावमा बोल्नुपनि पर्ने । न्यायाशनमा बसेको ब्यक्ति (न्यायमूर्ति) को ज्ञान सीप र सदविवेकयुक्त क्षमतामै भरपर्ने न्यायको सारतत्व महिमा र न्यायको प्रभाव । यसका लागि प्रकाश वस्ती न्यायको कुर्सीमा नबस्दै लागे । बसीसकेपछि त झनै जागे । यसरी जागे कि न्यायको कलम समातेर भित्र भित्र अन्याय गर्नेहरु यस्तो लाग्दकि प्रकाश वस्तीको आकृति त के छायाँ देख्दा पनि भाग्न  वा लुक्न खोज्नेजस्ता भए । न्यायका विविध फाँट वा आयामहरुमा देवानी न्याय प्रकाश वस्तीको क्षमताको उच्चतम सगरमाथा हो । विशेषतः गुठी सम्बन्धमा अपुताली सम्बन्धमा र अँश र वँशको हक अधिकार तथा दायित्वका सम्बन्धमा उनका न्यायिक शब्दहरु नेपाल कानून पत्रिकामा सुन्दरतम रुपमा रहेका छन । उनको कलमबाट न्याय प्राप्तिको अनुभूति गरेका न्यायका उपभोक्ताहरुको ह्दयमा उनी बास बसिरहेका रहेका छन।

न्यायको सारतत्वमध्ये एक हो हरेक ब्यक्तिको अधिकार जसलाई मानवअधिकारका रुपमा लिइन्छ, त्यसको सम्मान, सहजीकरण संरक्षण प्रबर्धन र प्रत्याभूत गर्नु नै हो । त्यसैले उनको हातमा रहेको न्यायको कलम वलात रुपमा अन्यायीहरुले खोसेपनि उनि मानवअधिकारकर्मीका रुपमा रहन पुगे । मानवअधिकारकै पक्षमा औपचारिक कलम चालइरहे ।

गतिलो बुझाइ नभएपनि सन्तानप्रतिको अभिभावकीय दायित्वमा उनी सायदै चुके होलान भनेर उनका अन्यआनीबानी र व्यवहारहरुको बुझाइ र उनलाई सकेजतिको पढाइका आधारमा मात्र भन्न सकिन्छ । बिहानीले दिउसोको झलक दिन्छ । घरसंसार सुखी हुने वा गराउने मात्र परसंसार सुखी वा सन्तोषि बनाउन सक्दछ भन्ने मान्यतालाई सम्झेर अभिभावकीय सक्षमताका नमूना नै रहेका भनेर समआदरणी प्रकाश वस्ती सरका ह्कमा भन्न सकिन्छ ।

त तडक न भडक, न मपाइँत्व न तपाइत्व,  प्रायः उस्तै तर भद्र  पोषाकमा देखिने प्रकाश वस्तीका विशेषतामा सरल ब्यक्ति थपिदिदा अतिसयोक्ति नहोला । कानून र न्यायको क्षेत्रमा ठूलो मान्छे अर्थात प्रधान न्यायाधीशसम्म नै पुग्ने यात्रामा रहेका उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा स्थायी नगरी बैरीहरुको पापी मन, दुराचारी तन तथा चरम अन्यायी कर्मले बलात् रुपमा सेवाबाट बहिर्गमित बनाइयो । असल मान्छे सधै असल रुपमा रहिरहे । अझ उनीप्रति गरिएको अन्यायको कारणले अन्यायीहरुप्रति धार्नेहात लगाउदै न्यायका असँख्य पक्षपातीहरुले प्रकाश वस्तीलाई असल मान्छेका रुपमा सम्झिइरहे । सम्झिइ रहनेपनि छन।

उनको जीवन कथा र संघर्ष त्याग र समर्पणको कथा उनी आफैले आफैप्रति र जगतप्रति न्याय गर्दै आत्मकथा लेखेमा बाहेक अरुले सबै थाहा पाउने बिषय होइन । उनको बारेमा लेख्ने कुनै न कुनै शोधकर्ता बिध्यार्थीहरु निस्केलान भन्ने लागिरहेको छ । कुनैप्रकारको दुराचारमा लागे भनेर कसैले भन्न सक्ने अवस्था छैन ।  सत्यप्रतिको निष्ठा नै न्याय प्रतिको उनको लगाव र समर्पणको आधार हो । त्यागी स्वभाव र जीवनशैली बिना सांचो न्यायकर्ता हुन सक्दैनन भन्नेमा उनी सदा सचेत थिए ।

उनको पछाडि कुरौटै वा आलोचकहरु वा परम्परावादीहरुले लाउने आरोप वा भनेको उनि समय नचिनेका र अव्यवहारिक ब्यक्ति भन्ने हो । समय हैन कुसमय चिन्नका लागि बेलाबेलामा रसरङमा जाने, भाङ् धतुरो खाने, कमाउ संक्कृतिको अनुयायी बनेर मज्जाले रुन्चे र फोस्रो हाँसो हाँस्ने, अरुका कुरा काट्ने र कुराले गाला चाट्ने स्वभावपनि उनमा रहेन । त्यसैले त्यसखाले स्वभावधारीहरुकालागि उनी समय नचिनेका मान्छे भए र अब्यबहारिक पनि मानिए सायद ।

माथि उल्लिखित सन्दर्भहरुमात्र होइन, अन्य धेरै कोण र अर्थमा एकअनुकरणीय र सम्मानित ब्यक्तित्व सर्वोच्च अदालतको न्यायाधीशका रुपमा नियुक्त हुदा रमाउने मात्र होइन सन्तोषले गतिलो   मुस्कान छर्ने र असीम सन्तोषको सास फेर्नेहरुमा यो पङ्तिकार पनि एक हो । उनी रहेको इजलासबाट अन्याय हुदैन । र उनको न्यायिक नेतृत्वकालामा नेपालको न्यायपालिकाले युगान्तकारी प्रभाव जमाउछ र न्यायको ज्योति समाउँछ भन्ने लागिरहयो । अस्थायी रुपमा उनले प्राप्त गरेको सर्वोच्च अदालतको नियुक्तिले म्याद सकिने क्रममा नेपथ्यामा अनेक कुराहरु सुन्दा पिरो लगाद्थ्यो र मनभित्र नेपालको न्याय व्यवस्थामा बिचलन र स्खलन हुने चिन्ता जाग्दथ्यो । अस्थायीमा म्याद थप भएपनि स्थायी हुने बेलामा चरम अन्यायको हुण्डरी आयो । उनको क्रमशः स्थायीकरणले ततकाल कार्यरत र पछि जन्म मितिको विवादको आहालमा रन्थन्दै त्यसैको जगबाट कलमको टुप्पो सोझाउदै ततकालीन न्यायपरीषदका सचिव नृपध्वज निरौलाले लेखेको पत्रका कारणले बिबादित रुपमा र उनको दाबीका आधारमा भन्ने होभने असमयमै बहिर्गमित भएका गोपाल पराजुलीलाई प्रधान न्यायाधीश बन्न प्रकाश वस्तीको सम्भावित स्थायी नियुक्तिले अवरोध गर्ने भएकाले स्थायी गरिएन भन्ने तथ्यलाई वास्तविक तथ्यका रुपमा लिइरहिएको छ । भित्री नेपथ्यामा के के भए अरु के के कारण थिए, गर्नेहरु नै जानुन वा स्वयम प्रकाश वस्तीले नै के कसरी मान्ने हो मानुन । तर बिषय उनको मात्र निजात्मक थिएन र होइन । समग्रतामा न्याय को थियो । नेपालको न्यायपालिकाको प्रभावकारीता र सक्षमताको सवालसंग सन्निहित बिषयका रुपमा रहेको थियो । त्यसैले धेरैका लागि पीरको बिषय बन्यो । अस्थायीबाट बहिर्गमित हुनुपरेको त्यो पिडा उनका सहयात्री भरतराज उप्रेतिका लागि त आत्महत्याको तीर नै बन्यो । भलै भरतराज उप्रेतीको आत्महत्याको भित्री तीर अर्कै थियो भन्नेहरुको पनि कमि छैन । देखिएको र समान्य बुझाइमा रहेको भरतराज उप्रेतीको आत्महत्याको ततकालीन कारण भने सर्वोच्च अदालतको अस्थायी न्यायाधीशबाटै बहिगर्मित हुनुपरेको पीडा भन्ने नै रहेको छ ।

मान्छेलाई कतिबेला के पिर पर्छ भन्न सकिदैन । समान अवस्थामा मान्छेहरुलाई समान कारण र अवस्थाले समान खुरी वा समान पिर पार्न सक्दैन । त्यो सम्बन्धित ब्यक्तिको सोँचाइ बुझाइ र गराइमा भरपर्दछ । प्रकाश वस्ती सरहरुको स्याथी न्यायाधीश नियुक्ति नभएको सन्दर्भले अरु को को लाई छोयो अथवा कति न्यायका सारथीहरु कानूनविदहरु र न्यायप्रेमीहरुको मन रोयो ? त्यो त एकिन रुपमा भन्न सकिने बिषय होइन । एकिन रुपमा आफनै मात्र भन्न सकिन्छ । त्यससन्दर्भले सबैभन्दा बढी ह्दय रुएको कानूनी वाङ्मयको सेवक र न्यायको सारथी मध्ये यो पङतिकारपनि एक हो । न्याय नै चरम अन्यायमा परेको एक दुःखद अवस्था र ह्दय नै रुन पुगेको क्षणका रुपमा मनको मझेरीमा वर्तमानमा पनि रहिरहेको छ ।

मपाइँत्ववादबाटै आलेखको बिट मारेको भन्ने आरोप लाग्ने होकि भन्ने सम्झदा सम्झदै फेरि आफ्नै एघारौ प्रकाशनसम्झनाको आँखीझ्यालबाट’’ भित्रको अठारौ निवन्ध- यथामौका पोख्न नसकेको मनको पीर’’लाई यतिवेला सम्झिरहेको छुँ । जसको १५१ देखि १५८ पृष्ठसम्म रहेको उक्त शिर्षकको निवन्धको १५८ औ पृष्ठमा यसरी लेखिएको छः

‘’प्रकाश वस्तीहरु माथिपरेको अन्यायको मार र भार सम्झदा अन्यायको त्यो वा त्यस्तै क्रम र उपक्रमहरुमा नलागेका वा त्यस प्रकारका अवस्थाहरुलाई गलत भएको मान्नेहरुको मन सधै चिमोटिरहेको अवश्य हुन्छ होला ।….याचना र कामना गरौ अब त्यस्तो हुनु हुदैन । हुनेछैन र अब त्यस्तो हुन दिनुपनि हुदैन …..‘’’ 

प्रकाश वस्ती सरले बेहोरेको अन्यायको उल्लिखित चरम अवस्थाले उनी माथि मात्र अन्याय पारेको होइन, न्याय नै चरम अन्यायमा परेको र न्यायको आत्म रोएको सन्दर्भ हो भन्ने ऐलेपनि लागिरहेको छ । उनीसमेतलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा स्थायी नगरेका कारणले पछिका दिनमा न्यायपालिकाको निष्पक्षता र प्रभावकारितामा स्खलित हुदै पहिरो नै गएको देखियो । न्यायपालिका तिब्र गतिमा औरालो मै छ । यही नीति, यही संरचना, यही कार्यविधि वा कार्यरतहरुको यस्तै मति र गति तथा समकालिन कार्यशैली कायमै रहेमा अबका करिब दुइदशकसम्म ओरालो रोकिने संकेतको आश गर्न सक्ने अवस्था छैन ।

सबैहोस तर न्यायपालिकाको ओरालोको तिब्र गति रोकियोस । इतिहासमा प्रकाश वस्ती र केही अरुहरु अन्यायमा परे । अब नपरुन । सारतत्व भनेको निष्पक्ष र प्रभावकारी न्यायको अभावमा न्यायका उपभोक्ताहरु अब समकालीन समयसम्मको पीडा भन्द थप पीडामा नपरुन । प्रकाश वस्तीहरु तारा बनेर बाँची रहुन । न्यायपालिकाको जीवन र सबैतहका न्यायकर्मीहरुको सम्झनामा कम्तिमा एक एक पटक आइरहोस ‘’हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए’’

२०८० मार्ग २५                        प्यूठान धन्वोट/ हाल नरेफाँट काठमाडौ

*** पहिलो पुस्तक- प्राकृतिक न्यायको सिदान्त (बि स  २०४८) देखि बाहौ पुस्तक- काव्यरसमा पोखरा ( बि स २०७९ साउन) का सर्जक आचार्य चारदशकभन्दा बढी न्यायसेवा समर्पित र नेपालको कानूनी वाङ्मयका एक साधक हुन । चारदशक अगाडिदेखि नै लेखन यात्रामा निरन्तर रहेका लेखक फेरिपनि धन्यवादका पात्र छन सम्पादक)

प्रस्तुत लेख वर्षभरिमा न्यायमा प्रकाशित लेखहरुमा सर्वोत्कृष्ठ मूल्याङ्कन भइ ‘’न्यायिक स्रष्टा सम्मान २०८१’’ प्राप्त गर्न लेखकलाई सफलता दिने लेख हो ।  

 

No comments:

Post a Comment