Thursday, 14 August 2025

धेरैका हरि (हरिप्रसाद उप्रेती) दाई असफल निजामतिः सफल न्यायका योद्दा

  

बि..२०३५ सलाको प्रबेशिकापछि उच्च शिक्षाको लालस बोकेर राजधानी हानिएको र धेरैतिर भौताँरिदै अन्ततः नेपाल ल क्याम्पस छानिएको उच्च शिक्षाको त्यही थलोमा पहिलो पटक देखेको हुँ, दुब्लो पातलो, अग्लो तर हेर्दा खाइलाग्दो लाग्ने र हँसिला ओंठ-दन्तबाट बोल्ने एउटा आकृति अर्थात हरिप्रसाद उप्रेतीलाई ।

कुन्नी किन हो ? समकालीनहरु उनलाई धेरैले हरिदाइ भनेको सुने त्यसबखत र पछिसम्म पनि । झापाली भनेपछि अखिल पाँचौ र प्यूठानी भनेपछि अखिल छैठौ बाहेक अरु नहुने भन्ने जस्तो बुझाइको त्यो समय । अखिल पाँचौको बढी दबदबाको त्यो समय । अखिल छैठौंका अगुवाहरुसंगै हिड्ने मेरालागि अखिल पाँचौका नेता/कार्यकर्ता हरिप्रसाद उप्रेती त्यति नजिक नहुनु स्वभाविकै हो । त्यसमा पनि निर्दलीय पञ्चायती व्यवस्था भित्रको सरकारी जागरे म । बिध्यार्थि राजनीतिमा लाग्नु पनि एकप्रकारको अपराध मानिने समय । त्यसैले केवल एकआध पटक भोट हाल्ने अखिल छैठौँसम्म भइयो । बाँकी अगाडि बढेन राजनीतिक यात्रा वा सहयात्रा ।  

जागिरेक्रम मै बिस्तारै हरिजीसंग निकटता बढ्यो खासगरी नेपाल निजामति कर्मचारी संगठनको अगुवाका रुपमा रहँदा । उनी कानून मन्त्रालयका अधिकृत, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष, आफू बाँके जिल्लाको अध्यक्ष हुदै केन्द्रीय सल्लाहाकार तथा प्रमुख प्रशिक्षकसम्मको भूमिका निर्बाह गर्ने अवसर प्राप्त एक निजामति अधिकृत । 

बि स  २०४६ सालको परिवर्तन पछि संगठनको निर्माणको क्रममा बबरमहलको टेनिस कोर्टमा पहिलो आमभेला र गौरीबहादुर कार्कीलाई सर्वसम्मत रुपमा संयोजक चयनपछि क्रमशः त्यस संगठनको निकटता र सकृयतामै बित्यो लामो समय । हरिजी केन्द्रीय अध्यक्ष हुदा चर्क्यो, नेपाल निजामति कर्मचारी संगठनको आन्दोलन । खास गरी ततकालीन सरकारसंगको सम्झौताबाट धेरै आशावादी भए आम निजामति कर्मचारीहरु । तलब भत्ता र सुविधा बढाउने तथा पेशागत संगठन खोल्न, चलाउन र त्यसकै माध्यमबाट पेशागत हकहितका गतिविधिजन्य कार्यहरु गर्नमा आतुर भए । तर परिस्थिति फेरिदै गयो ।

नेपाल निजामति कर्मचारी संगठनमा बामपंथी समर्थक कर्मचारीहरुको बाहुल्यताबाट विशेष गरी गिरिजाप्रसाद कोइराला बिच्किए । कृष्णप्रसाद भट्टराइको प्रधानमन्त्रीत्वकालमा सम्झौता त भयो तर मागहरु पुरा गर्नमा गिरिजा प्रसाद कोइराला हच्किए । बरु लागे भित्र भित्र निजामति कर्मचारीहरुका बिचमा दलीय आधारमा बिभाजन ल्याउन । अन्ततः बिभाजन गरी छोडे । परिणामतः योरजङ्ग ध्वज कार्कीको नेतृत्वमा केन्द्रमा जन्म्यो नेपाल निजामति कर्मचारी संघ र जिल्ला जिल्लामा बिस्तार भयो । त्यसपछि क्रमश जति दल उति निजामति कर्मचारी संगठनको कथा र त्यसले उब्ज्याएको निजमाति प्रशासनको ब्यथाले जनप्रशासन थलिएको सबैका सामु जगजाहेरै छ । उता नेपाल निजामति कर्मचारी सँघको जन्म,सँगै नेपाल निजामति कर्मचारी संगठनमा आन्दोलनको नेतृत्व गर्ने केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा अगुवा कार्यकर्ताहरुलाई भकाभक निलम्बनमा राख्न थाल्यो सरकार । त्यही क्रममा निलम्बित अगुवा उनी र बाँकेको अध्यक्ष यो पङ्तिकार समेतका केही राष्ट्रसेवकहरु ।

बिभाजन र सरकारी दमनको कारणले धेरैतिर सुस्ताउदै गयो आन्दोलन तर बाँके सहितका केही जिल्लामा चर्किरहयो । परिणाम आफ्नै अगुवाइमा १५१ जनाले थुनुवा र कारागार कैदी जीवन पनि भोग्नुपरयो । अन्ततः आन्दोलनको नाउमा धेरै कर्मचारीहरु अति दुर्गम र अपायक सरुवा, निलम्बन, नसिहत, ग्रेड रोक्का, बढुवा रोक्का हुदै अवकाश सम्मको सरकारी आहार बन्नु परेको पिडाबाट हरिजी धेरै चिन्तित हुन पुगे । दुःखित हुन पुगे । हामीहरु सहितका केही अगुवाहरुलाई भन्न थाले । ‘’नैतिक रुपमा  म जवाफदेहि हुन्छु । मैले राजिनामा दिन्छु, तपाइहरुचाँही सेवामै रहनुस । संघर्षरत रहनुस । मेरो निरन्तर सहयोग रहने छ । यतिधेरै दमनकारी सरकारी नीतिको बिरोधका लागि र सरकारले दिन्छु भनेको सुविधा नदिएर नालायकी तथा बेइमानीपूर्ण कार्यनीति लिएकोले प्रमुख नेतृत्वकर्ताको दृष्टिले नैतिक रुपमा बिरोध स्वरुप मैले राजीनामा दिनु उपयुक्त हुन्छ…..’’

अन्ततः भनेजस्तै गरे अर्थत राजीनामा दिए । लोकसेवाको कठीन अग्निपरीक्षा पास गरेर  र न्यायको मार्गबाट राष्ट्रको सेवा गर्ने उत्कट अभिलाशा लिएर कर्मक्षेत्रमा एक जुझारु र कर्मठ राष्ट्रसेवक बनेका हरिको अभिलाषा परोक्ष्य रुपमा ततकालीन सरकार र त्यसका नायक गिरिजाप्रसाद कोइरालाले हरण गरिदिए । गिरिजाप्रसाद कोइराला सरकारले उनलाई अन्यायमा पारेका मात्र होइनन ,सफल निजामति कर्मचारी बन्ने उनको त्यस यात्रालाई एकप्रकारले असफल बनाइदिए ।

गजबको इतिहास बन्यो त्यो सन्दर्भ । दुःखान्त देखि रौद्र तथा एकप्रकारको हास्यब्यङ्ग नाटक पनि बनेको छ नेपाल निजमाति कर्मचारी संगठन संगको सम्झौता उलँघनको त्यसबखतको सरकारी चाल र दमनकारी कदम । ब्यक्तिगत बुझाइमा नेपाली काँग्रेसका लागि दमनकारी त्यो कदम प्रतिउत्पादक रहयो भन्ने छ मलाई । दमनको परिणामले यसै बामपन्थी उसै वामपन्थी भन्दै केही कर्मचारीहरु राजीनामा दिएर बामपन्थी राजनीतिमा लागे । जिल्ला जिल्लामा पढेलेखेका नेताहरुको उदय हुन गयो । कति त काँग्रेसलाई मत दिनेहरुपनि अर्कोतिर मत दिने अवस्थामा पुगे ।दमन धेरै भयो भन्ने धेरै बुद्दिजिवीहरुको समालोचना आयो । 

जतिबेलासम्म नेपाल निजामति कर्मचारी संघलाई जन्म दिइएको थिएन । त्यतिवेलासम्म सबैको एउटै संगठन थियो नेपाल निजामति कर्मचारी संगठन । आन्दोलनको क्रममा सहयात्री बनेर संगै जेलमा पुगेका १५१ जनालाई प्रश्नावली बनाएरै अनुसन्धान गरेको थिएँ । नब्बे प्रतिशतको बुझाई तलवभत्ता र सुविधा बढाउने अनि मर्यादित निजामति कर्मचारीका रुपमा रहन पाउने सम्झौताको प्रत्याभूतिप्रति ततकालीन सरकारको रबैया नै आन्दोलनमा वारकी पारको रुपमा समर्पित रहनुको प्रमुख कारण रहेको पाइएको थियो । करिब दुइतिहाइ सँख्या बामपन्थी समर्थकहरु रहेपनि काँग्रेस सदभावना लगायतका समर्थक तर अधिकतः केवल मतदाता हैसियतका थिए । भित्री रुपमा दलसंग औपचारिक सम्बन्धमा रहेकाहरुको सँख्या न्यून आँकलनमा थियो ।

१५१ जना राख्ने जिल्ला प्रहरी कार्यालय बाँकेको थप क्षमताको अभावले हामीहरु सबैलाई नेपालगन्जको महेन्द्रनगरमा रहेको साबिकको पञ्चायत प्रशिक्षण केन्द्रमा राखिएको थियो । १५१ जनालाई सकेसम्म मनखुसका साथ हिरासत रुपी उक्त स्थानमा राख्नु र सिर्जनात्मक काममा सहभागी गराउनु अर्को चुनौति थियो म समेतका ततकाल स्थानीय नेतृत्वमा रहेका अगुवाहरुको । त्यसैक्रममा सबैलाई चार सदनमा बिभाजन गरी प्रतियोगिताहरु गराउने र बिहान बिहान शारिरीक ब्यायाम पनि गराउने गरेका त कांग्रेसी बृतमा गुरील्ला तालिमको सज्ञाँ पो दिएछन (त्यसबखतका केही सन्दर्भहरुलाई सम्झनाको आँखी झ्याल- निवन्ध संग्रहभित्र- ‘’कलमको जेल यात्रा’’ शिर्षकमा प्रकाशित भइसकेको छ)  कति हास्नु ?

हो, यस्तै यस्तै संघर्ष र अनुभवहरुको प्रमुख अगुवा थिए हरिप्रसाद उप्रेती । राष्ट्रसेवामा जम्ने,रम्ने र उच्च ब्यक्तित्व निर्माण गर्न वैरीहरुले प्रतिकूल परिस्थिति निर्माण गरेर उनलाई त्यस यात्रामा अगाडि बढ्ने अवसरबाट बन्चित गराइ दिए । परिणामतः असफल निजामती कर्मचारीका रुपमा राखीदिए ।

हरिजीले पहिले नै निर्माण गरेको वकालत पेशाको यात्राको बाटोले पर्खिरहेको थियो । नभन्दै उनी निलम्बनपछि ततकाल नै वकालत तर्फको कलम चलाउन थाले अनौपचारिक रुपमा । आफूले लेखेर अरुलाई सहिगराएर भएपनि फिराद, प्रतिउत्तर, निबेदन, पुनराबेदन आदिको मस्यौदाको यात्रा चाँडै नै पुनः सुरु गरे उनले । विशेषतः कानूनी कार्बाहीबाट पीडित रहेका आन्दोलनकारी नेपाल निजामति कर्मचारी संगठनमा आबद्द कर्मचारीहरुका पीडाका कथा र ब्यथाहरुमा कानूनी उपचारको मार्गबाट न्यायको मल्हम लगाइदिने कर्ममा उनी बढी ब्यस्त भए । त्यसैको परिणाम भनिन्छ, उनलाई ब्यूरोक्रेसी सम्बन्धी मुद्दाका पक्षहरु ऐले पनि खोजी खोजी आउँन छोडेका छैनन । यसो हुनु उनको नैतिक दायित्व मात्र होइन कि त्यसप्रतिको लगाव निरन्तरताको छाप र सहज तथा सहयोगी भावको प्रतिकात्मकता पनि हो ।

पछिल्ला दिनमा न्यायपालिकाभित्र झाँगिएको बिकृति र बिसंगतिका बिरुद जेहाद छोड्ने विद्वानहरुमा उनि एक अगुवा हुन । आफूले जिम्मा लिएको मुद्दामा प्रमाण प्रस्तुति बाहेक सायदै उनले अरु अन्यथा प्रयास गरेहोलान भनेर कल्पना पनि गर्न सकिदैन । उनी कानूनी व्यवसायका एक शुद्द ब्यवसायिक विद्वान हुन भन्ने लाग्दछ ।  कानून व्यवसायी भएपछि अध्येयता त हुनै पर्दछ । नत्र विद्वान हुन सक्दैन, केवल प्रतिनिधि वा वक्ता मात्र कहलिन पुग्दछ । हरिजि उभिएपछि र खिसिक्क हाँसेर ओजिलो स्वर र अर्थपूर्ण शब्दहरुको प्रयोगका साथ बहस थालेपछि ध्यान आकर्षित नहोस नै कसरी ? पुनराबेदन अदालत पाटनको रजिष्ट्रार पदमा कार्यरत रहदा र न्यायाधीशको रुपमा सेवा गर्दाको अनुभूति यस्तै यस्तै छ उनि संगको । यस्तो लाग्दछ, पैसा आउँछ भनेर जस्तो पायो त्यस्तो मुद्दाको वकालतनामामा सहि गर्न पनि उनको आत्माले सायदै मान्यो होला । यहा यतिमात्र भनौ, कानूनको सम्मान र न्यायको पक्षमा वकालतका कर्मका लागि उनी सफल नै भए । अझै सफल भएरै जानेछन ।

हरिप्रसाद उप्रेतिको व्यक्तित्वः असफल निजामति कर्मचारी र सफल न्यायका यौद्दामा मात्र सिमित छैन । उनी राजनीतिककर्मी पनि हुन । शब्द रचनाका सर्जक विशेषगरी कानूनी वाङ्मयका साधक हुन । र हुन कुशल एवं प्रेरणादायी अभिभावक पनि । भूमिगत नेता, कर्मचारी नेता, अधिवक्ता हुदै वरिष्ठ अधिवक्ता समेत बन्न सफल भएका उनि कुशल बक्ता त हुने नै भए । सुनिरहूँ जस्तो लाग्ने गरी बोल्छन । दिइएको बिषय वा सान्दर्भिकता बाहेकमा लामा भाषणहरु गर्ने र आग्राको कार्यक्रममा गाग्राको कुरा गर्ने बकमफुसेहरु उनैलाई मन पर्देन ।

झापाली र प्यूठानी भनेपछि कम्युनिष्ठ नै हुन्छन भन्थे उहिले उहिले दाङ्तिर । जन्म ताप्लेजुङ्मा, मदन भण्डारी कै जन्म माटो, ढुँगेसाघुँ वरपर भएर हो वा आरके मैनालीले आमा गंगादेवीलाई नजिकबाट संवोधन गर्ने गरेकाले हो वा केपी ओली उनका जेठो बाउको सहपाठी भएर हो वा  घर झापाको सुरुँगामा भएर हो वा उनको अध्ययनले पहिल्याएको जीवन र जगतको पहिचान र मानवतावादको सम्मानको उत्तम दर्शन मार्क्सवाद लेनिनवाद सबैभन्दा ठिक लागेर हो उनी नानीदेखि नै प्रगतिशिल बिचारबाट प्रभावित अनुयायी र त्यसका एक यौद्दाका रुपमा रहेको बुझिन्छ । विशेषगरी मदन आश्रित प्रतिष्ठानका संस्थापक सचिव हुदै विभिन्न जिम्मेवारीमा रहेको उनको जीवनीले यसलाई पुष्टि गर्दछ । स्वाभिमानीपन उनको अर्को विशेषता हो भन्ने तथ्यलाई उनले राजनैतिक नियुक्ति नपाएको सन्दर्भले प्रमाणित गर्दछ । नेकपा एमालेको कार्यकर्ताको आरोपमा अधिकृत स्तरको जागिरमा रहदा काँग्रेसी सरकारले गरेको अन्याय र चरम दमनको कारणले राजनीनामा दिन बाध्य भएका हरिप्रसाद उप्रेतिलाई राजनीतिक नियुक्ति दिन नेकपा एमालेको ततकाल देखिको हालसम्मको नेतृत्वले किन आवश्यक देखेन भन्ने सवालको जवाफ खोज्दा (हरिजीको शब्दमाः ‘’अन्तर्य’’ अर्थात आत्मकथा) उनको स्वभिमानी स्वभाव नै प्रमुख हो भन्ने अर्थ निस्कन्छ ।

प्रकृतिले अग्लो आकृति दिएको मात्र होइन, उनी ज्ञान, विवेक, अध्ययन, निष्ठा र समर्पणको अर्थबाट पनि अग्ला मानिस हुन भन्दा अतिसयोक्ति नहोला । तर आरम्भदेखिनै उनको राजनीतिक नेतृत्वले उनलाई न्याय गरेन भन्ने मलाई लाग्दछ । राजनीतिक नियुक्तिका अनेक अवसरहरु आए, गए ।  कनिष्ठहरु अगाडि बढे । सिँडी चढे । नमस्ते गरोस भन्ने राजनीतिक वकालत आदि धेरै क्षेत्रका धेरै जुनियरहरु सिनियर भए । तिनीहरुको उचाइ देखेर हरिजी झुकेनन । तिनीहरुलाई देख्दा हरिजीको हत्केला निष्ठाले सायदै उठ्यो होला कुम माथि । अनि ठूलै पदमा गएपनि वा भएपनि कमजोर, कामचोर र निष्ठाविहिनहरुलाई देख्दा उनको शिर श्रद्दाले सायदै झुक्यो होला ।   

शब्द सिर्जनाकका पारखी र सारथी हुन हरि । नेपाल वार एशोसियनका पूर्व उपाध्यक्ष समेत रहेका हरिले लेखेका लेखहरु न्यायदूत, कानून आदि विभिन्न पत्रिकाहरुमा पाइन्छन । फिराद, प्रतिउत्तर पुनराबेदन आदि अदालती लिखतका लेखक र बहसकर्ता विद्वानमा मात्र सिमित छैनन उनी । अध्ययन र सिर्जनाले पनि वरिष्ठ विद्वानको मानपदवीलाई सम्मानित उचाइमा राखेका छन। नेपाल वारको चौधो राष्ट्रिय सम्मेलन सहितका धेरै कार्यक्रमहरुका घोषणापत्र निर्णय लेखन पर्चा बकतब्य आदि कति लेखे लेखे  ?  २०७८ सालमा प्रकाशित अन्तर्य (आत्मकथा) ओजिलो प्रमाण बनेर बसेको छ । आँशु वरर्र, दुःख पछि सुख त आउलानीर पछिल्लो हो जस्तो लाग्दछ-तमोर नदी  तरी जादा माया हजार ( सन्तोष बि सि को स्वर र सँगितमा)’ ’ ठ्याक्कै पूर्वेली छ शब्द लय र स्वर सबैमा । यीनै गीतहरुले औपचारिक रुपमै बकपत्र गरिरहेका छन ।

  विशेषतः न्यायाधीश नियुक्तिको कालो अध्यायलाई स्मरण गर्दै ‘’न्याय दलगत भावनाबाट प्रेरित छ’’ (साँधु २०८१।५।१)’’फेरि पनि भनिरहेका छन ‘’ न्यायालय दलियकरण भयो, आग्रह थेग्न नसक्नेहरु न्यायको कुर्सीमा आए, धेरै खुराफाती गर्ने शासकहरु न्यायलयको साथ खोज्दछन (फरुक धार-२०८१।०५।०९) । राजनीतिक दबदबाको वातावरण, विशेषज्ञताको कमी, भनसुन र मनसुनवादको प्रभाव, आदि अनेक कारणहरुले बिकृतिको मारमा परेर हिलाम्य भएको वर्तमान न्यायपालिकाको संरचना, नीति, थिति  र कार्यशैलीले न्याय परेको छैन र पर्दै पर्दैन भन्नेमा उनी एक मूर्धन्य अगुवा हुन । न्यायपालिकाको पुनःसंरचना आवश्यक मात्र होइन, अनिवार्य छ । यस कोणबाट आवाज दिने थोरै अगुवा कानूनविदहरुमा पर्दछन उनी । आरम्भमा बोल्नु पो बोल्नु । धेरैले बोली सकेपछि बोल्नु भनेको हो मा हो मिलाउनु मात्र हो । सर्जकत्व होइन र हुदैन ।

बाबु प्रतिमान उप्रेतिको आनुवँशिकत्व र आमा गँगादेवीको सुस्याहारले उनलाई निडर मात्र होइन समाजप्रति समर्पित पनि बनाएछ । त्यसैले त उनले आफूले क ख रा  चिनेको श्रीपाटी आधारभूत विध्यालय मौवाखोलामा प्रतिमान गंगादेवी उप्रेति छात्रबृति अक्षयकोष राखेका छन । हजुरबुबा पद्मलाल र हजुर आमा रमादेवीको सम्मानमा रम्मा-पद्म स्मृति छात्रबृति पनि राखेका छन ।        

धेरै कोणहरुबाट हेर्दा हरिप्रसाद उप्रेती बहुआयामिक ब्यक्तित्व र समर्पणका नमूना हुन भन्ने लाग्दछ । तर दुइवटा सन्दर्भले पङ्तिकारको दाँतमा ढुँगा लागिरहेको छ ।

पहिलोः लोकसेवा पास गर्न राजनीतिक संलग्नता नदेखाइएमा पास गरिदैन (साँधु २०८१।०५।८ को अन्तरवार्तामा) भन्ने उनको भनाइमा सहमति राख्न सकिदैन । ऐलेपनि नेपालमा कुनै संस्था वा निकाय निष्पक्षताको धेरै नजिक छ भने त्यो लोकसेवा आयोग नै हो जसले न्यायपालिकाको निष्पक्षताको उचाइलाई पनि उछिनेको छ भन्ने ब्यक्तिगत बुझाइको कारणले । त्यसो भन्दा लोकसेवाप्रति अन्याय त हुन्छ नै । पञ्चायती दबदबाको बेलामा मात्र होइन, पछिल्ला दिनहरुमा पनि हरेक पदमा सरारसर पास गरेर आउनेहरुको ह्दयले स्विकार गर्न सक्दै सक्दैन । वर्तमानको परिवेशका आधारमा अपवादलाई सामान्य मानेर त्यसो नभनीदिएको भए हरिजीको उचाइ हेरिरहू लाग्ने जस्तो गरी कायमै रहने थियो ।

अर्को सन्दर्भ हो _सिधाकुरा डट कम ले २०८१।०१।१४ मा खुलासा गरेको (वा षडयन्त्र ? उनीहरु नै जानून ) अन्नपूर्ण पोष्ट पत्रिकाको कार्यालयलाई वारदात स्थलका रपमा चित्रण गरीको ‘’भ्रष्ट्राचारका चारसय मुद्दा डिसमीस गराउन सर्वोच्चका न्यायाधीशसंगको डिल ……शिर्षको कहानी (बेइमानी ?) । पहिलो पटक नै सुन्दा पत्यार चाँही लागेन । २०७७।१२।३० को वारदात भन्ने तर २०८१।०१।१४ मा मात्र सार्वजनिक गर्ने कार्यले नै अपत्यारिलो बनाएको हो । तर हरिजी किन मुछिय वा मुछाइए ?  यो प्रश्न अनुत्तरित रुपमा रहेको छ ।  

मानव जगतमा सबै मित्र नहुन सक्दछन । अर्थात कुनै न कुनै वैरी हुनु जगतीय स्वभाविकता पनि हो । वैरीहरुले लेखे वा  खुलासा गरे । जे भनौँ तर नमीठो अध्यायका रुपमा रहेको छ त्यो । उज्यालो, अग्लो, सग्लो, ओजिलो र भरिलो हरिप्रसाद उप्रेतिका बारेमा लेख्दा उल्लिखित सन्दर्भहरुले दाँतमा ढुँगा लगाइ दियो । बस् त्यति मात्रै हो ।

मनको मझेरीमा सुपात्रका रुपमा रहेका हरिजी प्रतिको ब्यक्तिगत रुपमा कुनै कमी ल्याएको छैन । लाग्दछ, समाजिक सदभाव र मानमा पनि त्यसले खासै असर पारेको छैन । समयक्रममा हरिजीको सर्बाङीण पक्षमा उचाइ सधै कायम रहने छ र शनैः शनैः बढ्ने छ ।

करिब तीन दशकदेखि हरिजी सामाजिक तथा साँस्कृतिक सम्बन्धको हिसाबले मेरा निकट व्यक्तित्व अर्थात आफ्नै जेठसासु अम्बिका उप्रेती बेलवासेका भतिज पनि हुन । त्यसअर्थ र मान्यताबाट पनि उनी प्रति सतत नमन ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजको प्रमुख भइकाम गर्दा मित्र (हरिजीका बहिनी जुवाई) भीम ओझाले प्रस्ताब राखे पूर्व अर्थात दार्जिलिङतिर जाने । बिदाको समयमा पारेर दार्जिलिङ् पुगी फर्कदा पसियो हरिजीको बाS आमाको सुरुँगाको घरमा र सँगै रहेको हरिजीको घरको आँगनमा पुगेर सम्झियो उनलाई । आज शब्द सिर्जनामा उनलाई सम्झने  र सम्मान गर्ने अवसर पाएँ । मित्र शेषराज सिवाकोटीलाई धेरै धेरै धन्यवाद ।     

२०८१।११।२०                                                                                 प्यूठान ऐरावती १। हाल नरेफाँट काठमाण्डौ


No comments:

Post a Comment