Sunday, 17 August 2025

स्मरणार्थः जागिरः पाचौँ दशकको पहिलो पाइलोमा

 

 बि.. २०३७ साल बैशाख १५ गतेबाट आरम्भ भएको राष्ट्रसेवाको यात्रा आजबाट पाचौँ दशकमा पाइला हाल्यो । पद्मोदय पब्लिक व्यवसायिक माध्यमिक विध्यालय भरतपुर (दाङ्ग) बाट बि.. २०३५ सालमा प्रवेशीका परीक्षा दिएर फूर्सदमा बसेको बेला प्यूठान (घर) जानुभन्दा दाङ्गमै बसी लेखापढी व्यवसायमा लाग्नु राम्रो हुने भन्ने आदरणीय ठूलो बुबा स्वर्गीय हुमाकान्त आचार्यको पथप्रदर्शनले अभिवक्ता श्री खिमबहादुर योगीको सानिध्यतामा पुरयायो । उनकै झोला बोकेर दिनहूँ जान थालेँ दाङग देउखुरी जिल्ला अदालत । यही मौकामा परिचित हुने अवसर मिल्यो ततकालिन जिल्ला न्यायाधीश श्री बद्रिकुमार वस्नेतसँग । उनले राम्रो दुध खोजेकाले, घरकै दुधपनि बेचेँ उनलाई केही समय । सन्दर्भवस एकदिन म भित्र कुन्नी के देखेर हो, उनले भने ‘’एस एल सी पास पछि मनमा जे लाग्दछ त्यही पढ तर कानून पढ्योभने गरिखान्छौ है बाजे’’……

ततकाल लागू भएको कानून अनुसार अड्डा अदालतमा लेखापढी गर्नका लागि लिनुपर्ने प्रमाण पत्र (२०३५।४।२०/ प्रमाण पत्र नँ- २०) पनि लिएँ । दत्तचित्त बनेर निरन्तरलागेँ लेखापढी व्यवसायमा। 

एस.एल.सी.पास गरेपछि डाक्टर वा इञ्जीनियर बनोस भन्ने अभिभावकको सदीक्षा । सेकेण्ड डिभिजनले डाक्टरी पढन कसरी पावस र ? इञ्जिनियरिङ्मा पनि वल्ल वल्ल माघे सेमेस्टरमा नाम निक्ल्यो । अब माघसम्म पर्खेर इञ्जिनियरिङ पढ्ने कि ततकालै पढ्न पाउने गरी नाउँ निस्केको कानून पढ्ने ? बडो धरमरमा थिएँ । सम्झे, उनै बद्रीकुमार वस्नेतले कानून पढ्योभने गरिखान्छौ है बाजे………….’’  भनेको कुरा र लागेँ प्रदर्शनीमार्गतिर कानून पढ्न ।

पढ्दै जागिर खादैँ, पढ्दै अगाडि बढ्दै गर्ने मेरो यात्राले निरन्तरता प्राप्त गरिरह्यो । राष्ट्रिय सँग्रहालय छाउनीमा २०३७ बैशाख १५ गते अस्थायी खरिदारबाट सुरु भएको जागिरे यात्रा अधिकाँशतः लोकसेवा आयोगको खुला प्रतियोगतिबाटै डिठ्ठा, नायब सुब्बा, अधिकृत, सहायक सचिव, उपसचिव, सहसचिव स्तर हुदै २०६६ साल भाद्रमा पुनराबेदन तहको न्यायाधीशमा नियुक्त भइ राष्ट्रसेवाले हालसम्म निरन्तरता प्राप्त गरिरहेको छ ।

राष्ट्रिय सँग्रहालय छाउनीबाट २०३७ साल बैशाख १५ गते आरम्भ भएको जागिर ततपश्चात केही कहरवस र केही रहरवस हुदैँ () काठमाण्डौ जिल्ला अदालत () मध्यमाञ्चल क्षेत्रीय अदालत रानीपोखरी () प्रशासकीय अदालत, थापाथली () भेरी अञ्चल अदालत, नेपालगन्ज () पुनराबेदन अदाल, सुर्खेत () पुनराबेदन अदालत राजबिराज, मुकाम ओखलढुँगा () पुनराबेदन अदालत, इलाम () पुनराबेदन अदालत, नेपालगन्ज (१०) पुनराबेदन अदालत, जुम्ला (११) फेरि पुनराबेदन अदालत, सुर्खेत (१२) फेरि पुनराबेदन अदालत, नेपालगन्ज-तेस्रोपटक (१३) पुनराबेदन अदालत, बुटवल (१४) पुनराबेदन अदालत, बाग्लुङ्ग (१५) पुनराबेदन अदालत, तुल्सीपुर (१६) पुनराबेदन अदालत, बुटवल- दोस्रो पटक (१७) पुनराबेदन अदालत सुर्खेत,-तेस्रोपटक (१८) पुनराबेदन अदालत पाटन (१९) पुनराबेदन अदालत, महेन्द्रनगर (२०) पुनराबेदन अदालत, पोखरा र (२१) मा पुनराबेदन अदालत, हेटौडा (२२) उच्च अदालत, पाटन (२३) राजश्व न्यायाधीकरण, काठमाण्डौ (२३) उच्च अदालत दिपालय, महेन्द्रनगर इजलास-दोस्रो पटक हुदै २०७५ भाद्रदेखि २४ औँ पटकको सरुवाका रुपमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा आइ आजका मितिसम्म राष्ट्रसेवाको यात्रा जारी रहेको छ ।

जागिरे जीवन यात्रामा भएका अनेक अनुभवहरुमध्ये कागजमा प्रमुख जिल्ला अधिकारी बन्न गएको एक प्रसँगपनि स्मरणीय छ । पुनराबेदन अदालत जुम्लामा कायम मुकायम रजिष्ट्रार पदमा कार्यरत रहेको मौका रोल्पा जिल्लाको प्रमुख जिल्ल अधिकारी पदमा काम गर्न काजमा पठाउने निर्णय भएको जानकारी जनआस्था पत्रिकामा प्रकाशित भएपछि पाँए । केहीदिनअघि प्रमुख जिल्ला अधिकारीको पदमा पठाउने कुरा भइरहेको छ भन्ने कुनै शुभचिन्तकले भनेकापनि हुन । राष्ट्रसेवाको क्रममा जानैपर्छ भन्नेभए राजपत्राङ्कीत प्रथम श्रेणीको रजिष्ट्रार पदमा कायम मुकाम भइ काम गरिरहेकोले प्रथम श्रेणीको दरवन्दी रहेको जिल्ला (स्थान) मा भएमा मात्र जाने, अन्यथा नजाने भन्ने आफ्नो कुरा राखेँ । तर इच्छाबिपरित रोल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा काम गर्न काजमा पठाउने निर्णय भएछ ।

प्रथमतः प्रथम श्रेणीको पदमा कायम मुकायम भइ काम गरिरहेको प्राणीलाई द्वीतिय श्रेणीको प्रमुख जिल्ला अधिकारी पदमा घटुवा सरहको जिम्मेवारीमा जान उचित लागेन । दोस्रो आओवादी जनयुद्द (द्दन्द) को आगो वलिरहेको र केही पूर्व परिचित व्यक्तिहरुकै नेतृत्व रहेको जिल्लामा त कुनै हालतमा पनि जानु हुदैन भन्ने लाग्यो । तेस्रोः निकट भविष्यमा हुन गइरहेको न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदको आन्तरिक बढुवामा परोक्ष्य रुपमा असर पार्ने हो कि भन्ने पनि चिन्ता बढेर आयो ।  

ततकालिन गृहमन्त्री बामदेव गौतम र गृह सचिव पदमप्रसाद पोखरेललाई सहितका केही अख्तियारवालाहरुलाई फोन गर्ने प्रयास गरेँ । उनीहरु सबैले यो वा त्यो कोणबाट ‘’जानुपर्छ’’ मात्र भन्न थाले । नजाने, बरु बिदा लिएर बस्ने भन्दै भित्रभित्रै भुनभुनाउँदै नेपालगन्ज झरेँ । नेपालगन्ज पुगेपछि थाहा भयो सर्वोच्च अदालतको पूर्व सहमति नलिई निर्णय गरिएको रहेछ । आफू अनिच्छुक रहेको व्यहोराका साथ समर्थन नदिइयोस भन्ने याचना गर्दै सर्वोच्च अदालतका ततकालिन रजिष्ट्रार बद्रिकुमार वस्नेतका नाउँमा गुनासोयुक्त बिन्तीपत्र हालेँ । सहमति दिने बारेको गृहमन्त्रालयको पत्र केही दिन सर्बोच्च अदालतमै अनिर्णित रुपमा थन्किएको कारणले होला, रोल्पाको प्रमुख जिल्ला अधिकारीका रुपमा अर्कै व्यक्तिलाई खटाइयो । केही समयपछि मेरो जागिर सुर्खेतितर सरयो ।   

चालीस वर्षसम्मको जागिरे यात्रामा २४ औँ पटकको सरुवा र पदस्थापना (!?) सायदै कमैको जीवनले भोगे होला नेपाली भूमिमा । यहाँसम्मको जागिरे कार्यकालमा आएका विभिन्न प्रकृतिका टुटिना र कहरका गल्छेँडाहरु कति भएहोलान् र कसरी झेलिए होलान् ? काखका ससना लालाबालाहरुलाई उचाल्दै र पोकापन्तुराहरु पछार्दै सुदुरपूर्वदेखि सुदूरपश्चिम अनि हिमपातमय उत्तरीभूमि देखि उष्णतामय दक्षिणका रापहरुसम्मको जीवन यात्राको वास्तविक कठीनाई भुक्तभोगिलाई मात्र थाहा हुने बिषय हो ।

माथि उल्लिखित विभिन्न स्थानहरुमा काम गर्दा सम्बन्धित सेवाग्राहीहरु, ततकाल सेवामा रहेका राष्ट्रसेवकरहरु, कानूनविदहरु र त्यहाँको नागरिक समाजको मूल्याङकनमा रहने हो मेरो राष्ट्रसेवाको वास्तविक धरातलीय यथार्थता । विशेषतः बि.. २०४६ देखि २०६६ सम्मका विभागीय मूल्याङ्कनहरु भनसुन र पूर्वाग्रहमा आधारित रहेकाले बढी सँघर्षमय भयो । त्यसैले स्थानीय जनता विशेषतः सेवाग्राही र कानूनकर्मीहरुको मूल्याङ्कनमा नै सन्तोष लिइयो । विभागीय व्यबहार र मूल्याङ्कन चित्त नबुझेपनि अध्ययन र लेखनको यात्राका बिचमा रमाइयो । सँघर्षमय जागिरे यात्राको जीवनपद्दतिलाई समाइयो । वास्तवमा यसबिचको जागिरे जीवन यात्रामा अनेक देखियो । अनेक सहियो र अनेक भोगियोपनि । समग्रमा हाँस्दा हाँस्दै रोइयो र रुँदा रुँदै हासिँयो ।

यसबीच जहाँ जहाँ रहेर सेवा गरियो । केही नौलो म गरी जाउँ भन्ने भावनाका साथ मात्रृभूमिको माटोलाई सम्झेर सतत मनले गरियो । लाग्दछ, निजी स्वार्थ नपुगेर बेखुस हुनेहरु वा वैचारिक पूर्वाग्रहबाट हेर्नेहरु बाहेक अधिकाँशः सहकर्मी र सेवाग्राहीहरुको मनको मझेरीमा परियो ।

जटिल बनेर वर्षौदेखि थन्किएर बसेका कर र राजश्व सम्बन्धी मुद्दाहरुलाई करिब एकवर्षको कार्यकालका बीचमा केही चर्चित सहितका १०८० मुद्दाहरु फैसला गर्न सकेको राजश्व न्यायाधीकरण काठमाण्डौँको कार्यकाल आफूले खर्चेको श्रममध्येको उल्लेख्य कार्यकाल बन्यो । सहयात्रीहरु गोपालप्रसाद कोइराला, जीवनकुमार घिमिरे र डम्बरबहादुर कार्कीसँगको त्यो कार्यकाल थप अध्ययन, नयाँ अनुभव र विशेष मेहनत (श्रम) को त्रिवेणी बनेर मनमा रहेको छ ।

चालीसवर्षे राष्ट्रसेवाको यात्रामा कतै अल्छि गरिएन । गुणात्मकता आफै बखान वा दाबी गर्ने पाटो होइन । जानकार एवम विज्ञहरुको मूल्याङ्कनको बिषय हो । तर कार्यसम्पादनको सँख्यात्मक परिणाम अर्थात तथ्याङ्कको दृष्टिबाट आत्मविश्वास र गौरवताका साथ भन्न सकिन्छ कि समान पदका समकालिन अरु कुनै भन्दा कतैपनि पछि परिएन ।आजसम्म कार्यसम्पादनमा पछिपरिएको छैन ।  अख्तियारवालाहरुले हजारपटक तुलोमा राखुन वा अध्येयताहरुले विवेचनात्क कलमभित्र बाधुँन । गुणात्मकतमा पनि धक मान्नु पर्ने कुनै अवस्था रहेन अथवा भएन । यति त गरेको भए हुने थियो भनी कसैबाट पनि शब्द वा भावका आजसम्म कहिले कुनै खबरदारीपनि आएन अथवा भनौँ समयले खबरदारी गर्ने अवस्था नै पाएन । यसप्रकारले मनभित्र नबिर्सने अनेक सकारात्मकताहरु रहिरहेका छन र रहिरहने छन ।

सँघर्षको फल मीठो हुन्छ भन्छन, हो रहेछ । बिगत चालीस वर्षको राष्ट्रसेवाका उकाली ओरालीहरुलाई सम्झदा यतिवेला भित्रीमनमा उत्साहका तरङ्गहरु र प्रतिस्पर्धा वा प्रतिरोधमा आँधि बेहेरीहरु दुबै उचालिएर आउँछन । दुबैले आ-आफ्नो स्थान बनाउँछन् । जीवनका भोगाइहरुमा मीठो मात्र भोगाइ हुदैन । नमीठो पनि जीवनकै भोगाइ हो । भनिन्छ, नमीठो हुदा मात्र मीठो के हो ?  भन्ने थाहा हुन्छ । थोरै मीठोले धेरै नमीठोलाई बिर्साइदिन्छ अर्थात बिर्सनुपनि पर्छ । जीवन समथर मात्र होइन । उकाली हो र ओरालीपनि हो । सुन्दर एवम स्वागतम् सँघार हो र जटिल जघाँरपनि हो ।      

जागिरले गास दियो । विविध शैक्षिक योग्यता (एम ए, बि एल, बि एड) हरु हासिँल गर्ने स्रोत र र अवसर पनि यही जागिर बनिदियो । भरपेटको खान्गी दियो । एकप्रकारको बान्की दियो । यहीबीच लालावालाहरु जन्मे, हुर्के, बढे, पढे र आत्मनिर्भताको सिढीँमा क्रमशः चढेँ । सकारात्मक पाटोहरुलाई यसरी हेर्दा लाग्छ, सबथोक दियो जागिरले ।

कर्मचारी आन्दोलनको क्रममा नेतृत्व गरेको भन्ने आरोपमा ततकालिन सरकारले पक्राउ गरयो । जेल हाल्यो । लामो समय (करिव नौ महिना) सम्म जागिरबाट निलम्बन गरियो । पछि (विशेषतः २०४६ देखि २०६६) सम्म त्यसैलाई आधार मानेर धेरैबाट पूर्वाग्रही ढँगले हेरियो । बैदेशिक अध्ययनको अवसर र स्वदेशी तालिम र प्रशिक्षणका अवसरहरुको मनोनयमापनि पनपक्ष गर्दै, कार्यसम्पादन मूल्याङ्कनमा अँक रेटनेसम्मका दुस्साहसदेखि, अवधि नपुग्दै ठाउँ कुठाउँ सरुवा गर्ने पनि गरियो । अर्थात धेरैकोणबाट अन्याय दिइयो तर जेलयात्रा सहितका सबैप्रकारका अन्यायपूर्ण व्यवहारहरु र अवस्थाहरुलाई अध्ययन, चिन्तन र लेखनको शक्तिमा लगाएको कारणले जीवन यात्रामा दुःखहरुलाई आफ्नै परिश्रम र वलबुताले न्यायमा रुपान्तरित गरियो ।

करीब करीब जागिरे यात्रासँगै आरम्भ भएको सार्वजनिक लेखन यात्रा -मानिस किनबेचको कानून र व्यवहारका केही पक्ष (गोरखापत्र -२०३९), अशँवण्डा र जेठासी प्रथा (नेपाल कानून  परिचर्चा- २०३९) आदिबाट सार्वजनिक हुदै आयो । यतिवेलासम्म () प्राकृतिक न्यायको सिद्दान्त (२०४९), ()  जनसँख्या कानून (२०५१),  () कानूनको शासन सिद्दान्त र व्यबहार  (२०५७), ()  माननीय महात्म्य (हाँस्यब्यँग्य सँग्रह -२०५७), () सङ्कटकाल र सङ्कटकालीन अभिव्यक्तिहरु (२०५९), ()  भूपरिवेष्ठितदेखि समूद्रवेष्ठितसम्म (नियात्रा सँग्रह-२०६२), () विधुतीय सरकार र विधुतीय न्यायालय (सहलेखन-२०६३), ()  थितिका अनुरागहरु (२०६८), ()  इजलास बाहिर  (२०७२), (१०) राजश्व न्यायाधिकरण पुनः सँचरनाका आयामहरु (२०७४), प्रकाशित कृतिहरु सम्बन्धित बिषयका अध्ययनशिल पाठकहरुको हातमा परिसकेका छन । विभिन्न पत्रिकाहरुमा आफ्नै नामबाट र शासकीय बक्रदृष्टिबाट जोगीएर बाँच्न र लेखन यात्रालाई जारी राख्नका लागि शार्दूल, कलम शर्मा, विज्ञान शर्मा, पराक्रम, धनवोटे कान्छो, बम्बैराज निरक्षर, मोहम्मद सलमान हैदर, आदि आदि झण्डै एक दर्जनजति विभिन्न कलमका नामहरुले लेखिएका निवन्ध, हाँस्यब्यँग्य, कविता, गीत, कथा आदिको समग्र सँख्या हजारको हाराहारीमा पुगे  होला ।

यतिवेला () सम्झनाको आँखीझ्यालबाट (सँस्मरणात्मक निवन्ध सँग्रह), () मन मिलेपछि  (कविता सँग्रह), () काव्यरसमा पोखरा (पोखरा सम्बन्धी कविता, गीत र गजहरु सँग्रह ) कृतिहरु प्रकाशनको पर्खाइमा रहेका छन । इजलfस भित्र, फूटकर कविताहरु, कथाहरु र निवन्धहरु सम्पादन समय पर्खी बसेका छन् । आफ्नै कथा आफ्नै व्यथा जागिरबाट अबकाश पाउँदा मात्र लेखेर सकिने बिषयका रुपमा रहँदै निरन्तर लेखनयात्रामै छ ।

मनमा लागि रहेको छ । समयले साथ दियोभने प्रकाशन भावी दिनहरुमा गर्दै गरौँला तर बि सँ २०६६ पछि सुस्ताएको नियमित (दैनिकी प्रायः बनेको) लेखन यात्रामा अब अलि गति दिनुपर्छ । यसमा अव थप चिन्तनका साथ निरन्तरता दिनुपर्छ ।

किनकि सिर्जनाले समयलाई नाप्न सकेन भने सिर्जनाका लागि समयको सुइ रोकिएर बस्दैन । समयले सिर्जनाको मूल्यवोध गर्ने होइन । सर्जकले समयको मूल्यवोध गर्न हो अर्थात सर्जक स्वयमले समयलाई चिनेर सिर्जना गर्न सक्नुपर्छ ।  सर्जकले समय पक्डन र पछयाउन सक्नुपर्छ । समय भनेको मौसम हो र सिर्जना भनेको वाली (खेती) हो । यसर्थ मौसम अनुसारको वाली लगाउन जान्नुपर्छ । मौसम अनुसारको वाली मात्र फलदायी हुन्छ भन्ने यथार्थतालाई मान्नुपर्छ ।   

यी सबैको उर्वर थलो मात्र होइन, स्रोत र साधनाको समयपनि जागिरकै वरपरको समय हो । त्यसैले फेरिपनि भन्न मनलाग्दछ जागिरले सबथोक दियो । कानून अध्ययन, कानून र न्यायप्रतिको श्रद्दा, साधना एवम समर्पणको प्रतिफल यही जागिरे जीवन र कर्मको धरातल नै हो भन्ने आजपनि लागिरहेको छ । यसका लागि प्रारम्भमै कानूनप्रति आकर्षण दिने, सुसँगत बढाई दिने र अभिप्रेरणा दिने जेठाबुबा स्वर्गीय हुमाकान्त आचार्य र अभिवक्ता स्वर्गीय श्री खिमबहादुर योगी (दाङ्ग-धोब्बे-चौघेरा) प्रति हार्दिक नमनताका साथ सादर श्रद्दाभाव राख्दछु ।

कानून पढयौ भने गरिखान्छौ……….. भनी यथामौकामा उचित शब्दकासाथ सततप्रेरणा र मार्गदर्शनबाट आशिर्वादसहित वालमष्तिस्कमा कानून र न्यायप्रतिको मोह जगाइदिने ततकालिन दाङदेउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश एवम पछि सर्वोच्च अदालतमा पूर्व न्यायाधीश समआदरणीय श्री बद्रिकुमार वस्नेत मेरा निमित्त हरबखत मनको मझेरीमा रहिरहने सुपात्र हुन । उनीप्रतिको मेरो नमन जागिर पर्यन्त रहिरहने छ ।

बि सँ २०४१ सालतिर ततकालिन मध्यमाञ्चल क्षेत्रीय अदालत रानीपोखरीमा जागिर खाँदा हिरण्यश्वरमान प्रधानले कर्मचारी सञ्चयकोषको समर्थन किताव भरेर ल्याउन सहकर्मी गौतम खडकालाई पठाए । उनले समर्थन किताव भरेर ल्याएपछि हेरेँ । वाफ रे वाफ ! ठूलो धनराशी जम्मा भएको देखेर अनौठो लाग्यो । त्यहीवेला उनको जागिरे अवधिको बारेमा आपसमा कुरा गरयौँ । मैले फ्याट्ट भनिहाले ‘’तीसपैँतीस वर्षभन्दापनि बढी अविध कसरी खान सकिन्छ हँ जागिर’’ ? आज उतिवेला आफैले नसोँचेको र दूर्लभ सम्झेको पैतीस /चालिस वर्षको जागिरे अवधि आफ्नै लागि एकचालीसौँ वर्षमा प्रबेश गरेर आफैलाई देखिस हुँदो रहेछ नि त भन्दै जिस्काइरहेको जस्तो लागिरहेको छ ।

बढीमा तीसवर्षको सालाखाला अवधि मात्र खानु राम्रो हुन्छ जागिर भन्ने आफैलाई लागेको जागिर प्रवेश गरेको सुरु अवधिदेखि नै । एकदशक भन्दा बढी अवधि सहसचिव स्तरको (रजिष्ट्रार) पदकै वरिपरि रहेर काम गर्नुपर्दा केही पट्यारलाग्दो हुन लागिसकेको थियो । यहीबीच अब एक तहमाथि नेपाल सरकारको सचिव सरहको अर्थात सर्वोच्च अदालतको रजिष्ट्रारसम्म हुने अनि जागिरबाट स्वभाबिक रुपमा अवकाश हुने दिन आउँछ भन्ने मनभित्रको कुरा फेरि आयो । प्रसँङ्गवस राखेँ समयक्रममा भएका सम्मानीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरि, सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी दुबैमा । पदोन्नति हुदा सर्वोच्च अदालतको रजिष्ट्रार पदमा भइदिए राम्रो हुने थियो भनी अनुरोधपनि गरेँ । यस सन्दर्भलाई ततकालिन कानून न्याय तथा सँसदीय व्यवस्था मन्त्री श्री प्रेमबहादुर शाही र न्याय प्रशासनका प्रभावशाली एवम ततकालीन प्रभावशली न्यायाधीश (पछि प्रधान न्यायाधीश) कल्याणकुमार श्रेष्ठ समक्षपनि राखेँ ।

सम्भावित आशाको पोको बोकेर न्यायपालिकाको रणनीतिक योजनाको अनुशिक्षणको विषयवस्तु माननीय न्यायाधीशहरु समक्ष पस्कने विभागीय जिम्मेवारीमा मनकारी यात्रा गर्दै जनकपुर पुगेको मौकामा थाहा भयो ततकालिन पुनराबेदन अदालत महेन्द्रनगरको न्यायाधीश पदको नियुक्तिको बिषय । पछि सुनियो, ततकाल सर्वोच्च अदालतको रजिष्ट्रार (सचिव स्तरको) पदमा कार्यरत डा. रामकृष्ण तिमिल्सेना भसरक सर्वोच्च अदालतको न्यायाधीश, नभए कम्तिमा पुनराबेदन अदालतको मुख्य न्यायाधीश पद नपाएसम्म रजिष्ट्रार पद बीचैमा छोडेर अन्त नजाने भएकाले रजिष्ट्रार पद रिक्त नै भएन । फेरि यो पनि भनियो कि कुनै रीतले रजिष्ट्रार पद रिक्त भएकै भएपनि उक्त पदमा अर्कै ब्यक्तिको नियुक्त हुने थियो रे !? मैले जाहेजस्तो हुने थिएन रे !!?   

जे होस वा जसरी होस, जागिर अब करिब करिब पाँच वर्ष छ भनी सोँचेको तर थप अवधितिरको यात्रामा लाग्यो त्यसबखतबाटै । परिणामतः त्यतिवेला सर्वोच्च अदालतको रजिष्ट्रार (सचिवस्तर) भएको भए आजभन्दा करिब छ वर्ष पहिल्यै अनिवार्य अवकाश हुने राष्ट्रसेवकीय यात्रा वर्तमानसम्म जारिरहेको छ । जुन आधार वा भावमा होस्, न्यायाधीशका रुपमा काम गर्ने अवसर दिने सम्बन्धित सबैको जयहोस भन्दै बुर्कुसी मार्दै २०६६ साल भाद्रमा लागेँ सहीद भीमदत्तलाई सलाम गर्नतिर अर्थात महेन्द्रनगरतिर ।

ततपश्चात घुम्दै फिर्दै फेरि महेन्द्रनगर पुगी, विगत २०७५ भाद्रदेखि वीरगन्जमा कार्यरत छुँ । फेरिपनि भन्न मन लाग्यो, कार्यसम्पादनको स्तर र क्षमता अरुले मूल्याङ्कन गर्ने बिषय हो तर पनि यसअघि यहाँको नेतृत्वमा रहने अग्रजहरुभन्दा कुनैपनि अर्थमा कमी रहेन हालसम्मको वीरगन्ज उच्च अदालतको कार्यसम्पादन सँख्यात्मक एवम गुणात्मक दुबै अर्थबाट भन्ने आत्मविश्वास रहेको छ 

दरबन्दीबिहिन र अस्थायी रुपमा सञ्चालित उच्च अदालत वीरगन्ज इजलास यसबिचमा दरबन्दी स्विकृति र जिल्ला अदालत सहितका अदालत भवनहरु एवम आवास भवनहरु निर्माणका लागि ४ बिगाहा जग्गा प्राप्तिको प्रयासलाई नेपाल सरकारबाट स्विकृत प्राप्त भएको र नाउसारी गर्ने काम मात्र बाँकी रहेको अवस्था छ । उच्च अदालत वीरगन्ज, जिल्ला अदालत पर्सा, उच्च सरकारी वकील कार्यालय वीरगन्ज तथा जिल्ला सरकारी वकील कार्यालय पर्सा तथा सम्बन्धित बार इकाइहरु सबै एउटै परिसर (हाता) भित्र राखी एकिकृत रुपमा एकै थलोबाट न्याय सम्पादन गर्ने ‘’न्यायिक परिसर (Judicial complex)’’ को अवधारणा २०७५ भाद्र मै अगाडि सारियो । सहकर्मी माननीय न्यायाधीशहरुको होसँटेमा हैसेँबाट पूर्ण वैठकबाट स्विकृत भइ उक्त प्रस्तावित बिषयलाई मुख्य रजिष्ट्रार श्री नृपध्वज निरौला हुदै सम्मानीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शँशेर ज..रा समक्ष पुग्यो । धेरै कठीनाइहरुका बाबजूद उहाँहरुकै कुसल अगुवाइ एवम सकृयताले नेपाल सरकार (मन्त्रिपरिषद) को टेबूलमा पुगी अदालतहरुका लागि ४ बिगाहा जग्गा प्राप्तिको प्रयास सफल भएको छ । सँगसँगै महान्यायाधीवक्ता अग्नी खरेलले सकृयताले उच्च सरकारी वकीलको कार्यालय र जिल्ला सरकारी वकीलको कार्यालयलाई २ बिगाहा जग्गा प्राप्तिपछि एकिकृत रुपमा छ विगाह जग्गाले एकिकृत न्यायिक परिसर (Judicial complex) को सपना पुरा हुने यात्रा आरम्भ भएको छ ।

व्यक्तिगत रुपमा यो वीरगन्जको कार्यकालको हालसम्मको सबैभन्दा ठूलो खुसी र सफलताको बिषय बनेको छ । अदालत भवनहरु, सरकारी वकील कार्यालयहरु, न्यायाधीशहरु, अधिकृतहरु एवम कर्मचारी सबैको एकिकृत आवासगृहहरु, पुस्तकालय, खेलमैदान, प्रतिक्षालय, चमेना गृह, सेवाग्राही र सेवाप्रदायकको अलग अलग पार्किङग क्षेत्रसहित सुन्दर फूलवारीका बिचमा एउटै थलोबाट न्याय सम्पादनका सबैप्रकारका सेवाहरु प्रबाह भएको दिन कस्तो होला ? कति सहज कति रमणीय र कति गुणस्तरीय हुन जाला ? कल्पनाले मन त्यसै त्यसै फूरङ्ग भएर आउँछ । न्यायिक परिसर (Judicial complex) अवधारणाको सँस्थागत साझा अनुरोधहरु सुनुवाइ भइ भएको सक्रिय व्यवस्थापकीय पहलका लागि सम्माननीयज्यू सहित सम्बन्धित सबैप्रति सादर आभार ब्यक्त गर्दछु ।

अस्थायी इजलास नामको आयु धेरै दिन नबढोस भन्ने याचना गर्नेहरु यसक्षेत्रमा लाखौँ छन् । निकट भविष्यमा उच्च अदालत जनकपुर वीरगन्ज इजलास मात्रपनि होइन, भौतिक एवम जनशक्ति र कार्यबोझको मापदण्ड सबै पुगी व्यक्तिगतसहित यसक्षेत्रका न्यायप्रेमी नागरिकहरुको आशा र सपनाले साकार रुप लिनेछ र गरी उच्च अदालत वीरगन्जका रुपमा रुपान्तरित हुनेछ भन्ने दृढ विश्वास रहेको छ 

अन्तमा, बि स २०६६ भाद्र ताका बाँकी रहेको करिब ५ वर्षे जागिरे यात्रालाई न्यायाधीश पदमा नियुक्तिको माध्यमबाट थपअवधिको यात्रातिर मोडदिने ततकालिन प्रधान न्यायाधीश श्री मिनबहादुर रायमाझी र सर्वोच्च अदालतका ततकालिन वरिष्ठतम् न्यायाधीश (पछि प्रधान न्यायाधीश) श्री कल्याणकुमार श्रेष्ठ सहित ततक्षणमा सकारात्मक सोँचले मेरो राष्ट्रसेवकीय यात्रा अवधि बढाइदिने सम्बन्धित सबैप्रति नतमस्तक छुँ र सतत नमन गर्न चाहन्छु ।

अबको जागिर यात्रा करिब सवा तीन वर्ष हो वा दुई वर्ष थप भइ सवा पाँच वर्षसम्म पुरयाउने हो ? समयको गर्भमा रहेको छ । यसबीच सँगसाथमा रही कामगर्ने सबै सबै राष्ट्रसेवक मित्रजनहरुमा हार्दिक धन्यवाद छ ।

आजसम्मको जागिरे यात्राको क्रममा शुभ आशिष दिने मान्यवरहरु, आफन्तजनहरु र शुभ-चिन्तकहरु मात्र होइन, समालोचकहरु एवम कटू आलोचकहरु सहित सबैको सुख, शान्ति र सम्बृद्दिको सतत कामना पनि छ ।

 

२०७७।१।१५, विहान ७ वजे                                         माइस्थान, वीरगन्ज

No comments:

Post a Comment