ऋगवेदमा साधुलाई ’’सीधा, सही र लक्ष्यप्रति अग्रसर रहने ब्यक्ति’’ भनिएको छ । वैदिक साहित्य ब्राम्हनिषपदमा ‘’सँसारिक मोहबाट टाढा, दयालु, प्रभावी, कुशल, शान्तिपूर्ण, गुणी, सम्मानजनक र धार्मिक’’ भनिएको छ । मानवीय संसारमा अन्याय अत्याचार र ब्यभिचार गर्ने त के सोँच्न पनि नसक्ने र समस्त चराचर जगतका लागि आफ्नो ज्ञान,ध्यान,जप,तप चिन्तन र कर्म समर्पित गर्ने सfमाजिक प्राणिमध्येको एक विशिष्ठ र एकप्रकारले दुर्लभ क्षमताको ब्यक्ति पनि भनेको पाइन्छ साधुलाई । साधुको जीवन साधगीपूर्ण जीवनको पर्याय मानिन्छ । न्याय कार्यक्षेत्रमा पनि आवश्यक मानिन्छ न्यायकर्ताको साधगीपूर्ण जीवन र व्यवहार । भनिन्छ, साच्चै सफल न्यायकर्ता हुन सन्यासीमन र साधगी जीवन शैली आवश्यक पर्दछ ।
राष्ट्रसेवाको
क्रममा पङ्तिकारले अनुभूति गरेको बिषय हो कि राष्ट्रसेवकहरु तीन प्रकारका हुन्छन ।
पहिलोः पूर्ण साधगी, दोस्रोः आँशिक साधगी र
तेस्रोः भ्रष्ट । अर्को शब्दमा सदाचारको दृष्टीबाट राष्ट्रसेवकहरुलाई तीन प्रकारले
बुझ्न सकिन्छः पहिलो कोटीमाः पूर्ण सदाचारी (भ्रष्ट्राचार
गर्दै नगर्ने), दोस्रोमाः आँशिक सदाचारी (हातले खाने) र तेस्रोमाः पूर्ण
भष्ट्राचारी (खुट्टाले पनि खाने) ।
पहिलोः कोटीको
राष्ट्रसेवक पाउन दूर्लभ प्रायःनै छ । अपबादमा पाइन्छन । दोस्रोमाः नियम कानून मिलाएर खाने, खाएन खाएनकी
भन्ने किसिमले खाने, ब्याख्याको बुइँ चढेर खाने,आदि आदि । जस्तोसुके भनसुन सुन्ने, धनपैसाका लागि पुरै अनियमित काम गर्नपछि नपर्ने, जँहा जताबाट जसरी आएपनि खाने, लास मै जानु
परेपनि वा बनबास मै लानु परेपनि खाने । अवस्था परे कुनै ब्यक्ति त के, देशकै अस्मितामाथि धावा बोलेर पनि खाने अर्थात जँहा जसरी
जसरी पाइन्छ वा खान सकिन्छ, त्यसरी त्यसरी
खानेहरुलाई तेस्रो कोटीमा राख्न सकिन्छ ।
पहिलो कोटीको
साधगी राष्ट्रसेवक हुन कठोर त्याग चाहिन्छ ।
साधु जस्तो जीवन र साधगीपूर्ण सामाजिक व्यवहार । राज्यले दिएको तलवभत्ताले खान लाउन नै पुग्दैन । सन्तानको
शिक्षा दीक्षा र अनिवार्य समाजिक ब्यवहाहरु त टाढैको बिषय हो । संगसाथीले
गैरकानूनी आम्दानीले हुँइकाएको कार वा मोटरसाइकल भित्रबाट पुलुक्क हेर्छन । मौका
मौकामा धुवाँ वा धुलो फालिदिन्छन । विवाह आदि सार्वजनिक कार्यक्रमहरुको निम्तोमा
सपरिवार गयो संगसाथीहरुका परिवारका सदस्यहरु अत्तरको गन्धले नाकैमा हान्दछन र सुनका
झल्लरहरुले हृदयको कुनामै घन ठोक्दछन । त्यसबखत सुँघ्ने र हेर्नेहरु सबैलाई नै भाउन्न
बनाइदिएको हुन्छ । अर्थात सहकर्मीहरुका खपी नसक्नु तडकभडक आदिले सञ्चले बसीसक्नु
हुदैन पूर्ण सदाचारीहरुलाई । त्यसपछि पूर्ण सदाचारीहरुपनि बिस्तारै बिस्तारै आँशिक
सदाचारी बन्नतिर र आँशिक सदाचारी भएपछि मन र जिब्रो बिग्रेर ब्यभिचारी तिर
पाइलाहरु चाल्न बेर लाउदैन र कति त त्यस्तै बन्न पुग्दछन ।
पहिलो कोटीका
सदाचारी न्यायमूर्तिहरु भनेर नाउ लिन खोज्ने होभने कति पो आउलान र औँलामा गन्न
मिल्ने गरी ? त्यसमध्येका एक हुन स्वर्गीय अरबिन्दनाथ आचार्य
र अर्का हुन स्वर्गिय जोगेन्द्रप्रसाद श्रीवास्तव भन्ने मेरो ब्यक्तिगत बुझाइ र
स्मरण रहेको छ ।
अदालत
निरीक्षणको क्रममा जादाँ सम्बन्धित अदालतले सादा खानासम्म पनि खुवाउने नगरोस । कानून बमोजिम पाउने दैनिक भ्रमण भत्ताबाटै खर्च गर्नु परोस
भन्ने र खर्च गर्ने न्यायाधीशहरुको नाउ सम्झदा पाउन मुस्किल हुन्छ । खुवाउने बाह्य
मुखले अतिथि सत्कार नै परमोधर्म भन्दछ । खानेले खुट्टा पसारेर मनलागी खान्छन र
जान्छन । अन्ततः बिल मिलाएर तिर्ने अख्तियारवालाले कार्यरत कर्मचारीहरु देखि
सेवाग्राहीहरुसम्मको हृदय र मुखमा लात हान्छन । निरीक्षण भ्रमणहरुको क्रममा हुने
स्वागत तथा सत्कारमा जतिठूलो लावालस्करयुक्त ब्यञ्जनमय सत्कार, त्यति बढी शासकीय बागडोरको अवसर र तक्माधिकारीपूर्ण अवसर
प्राप्तिको आधार हुने बिडम्बना!पूर्ण परिवेश र
संस्कार । तर यसप्रकारको बिडम्बनाबाट उन्मुक्तिदिने
प्रयासका सत पात्रहरुमा पर्छन उनीहरु ।
न्यायमूर्ति
अरबिन्दनाथ आचार्यले बचेको दैनिक भ्रमणभत्ता पनि लिन नमानेर कार्यालय सहयोगीहरुलाई
बाँडी दिने र जानकी मन्दीरमा चढाउने निर्देशन दिएका भन्ने काशीराज दाहालका
संस्मरणात्मक शब्दहरु ( शालिन
ब्यक्तित्व….शिर्षकभित्र.) ले अरबिन्दनाथ आचार्य
त्यही अब्बल कोटीमा परेको अनुभूति हुन्छ । न्यायमूर्ति जोगेन्द्रप्रसाद
श्रीवास्तवसंगको निरिक्षणको यात्रामा प्राप्त त्यस्तै निर्देशन र व्यवहार
पङ्तिकारको हृदयभित्र ऐलेपनि रहिरहेको छ ।
आफू जिम्मेवार ब्यवस्थापकीय
जिम्मेवारीमा रहदा त्यसप्रकारको ब्यवहार प्रदर्शन गर्न नसकेको र वातावरण सिर्जनापनि
गर्न नसकेकोमा एकप्रकारले दुःखी र पछुतोमा रहदै उल्लिखित सतपात्रहरुप्रति नतमस्तक
बन्नु परेको छ ऐलेपनि ।
उनै साधगी
न्यायमूर्ति अरबिन्दनाथ आचार्यको सम्मानमा उनको तेहौ पूर्णतिथिको अवसर पारेर
कानूनी बाङ्मयका अथक सेवक, उच्च अदालतका पूर्व कामय
मुकाम मुख्य न्यायाधीश शेषराज सिवाकोटीको संपादकत्वमा प्रकाशित हुन गइरहेको ‘’न्यायः अरबिन्दनाथ आचार्य स्मृति अँक” प्रकाशित हुन लागिरहेको जानकारी पाउदा फेरि माथिका
सन्दर्भहरु मनमा एकहुल बाँधेर अगाडि आएकाले आरम्भमै नराखिरहन सकिएन ।
काठमाण्डौ
जिल्ला अदालतमा डिठ्ठा पदमा सेवाप्रबेश पछि यदाकदा भेटहुदा नजिकबाट आदरभावको
स्वस्ति चढाएपनि बि स २०४१ सालको मार्ग १ गते ततकालीन मध्यमाञ्चल क्षेत्रीय
अदालतको नायब सुब्बाको रुपमा ततकाल रानीपोखरीको नजिक रहेको उक्त अदालतमा
राष्ट्रसेवाका लागि प्रबेश गरेपछि क्रमशः नजिबाट चिन्ने अवसर प्राप्त भएको हो न्यायमूर्ति
अरबिन्दनाथ आचार्यसँग । इजलास सहायकको रुपमा काम गर्दा झनै नजिक रहने अवस्था पर्ने
यथार्थताबस यो समीक्षात्मक आलेख तयार गर्दा पनि उनी स्मरणमा आइरहेको अनभूति
भइरहेको छ ।
दुब्दा, पातला, एकप्रकारले
ख्याउटे देखिने तर केही राता राता खालका गालामा सधै दौरा सुरुवालधारी बनेर अलि अलि
टाउको निहुराएर इजलासहरुमा प्रबेश गर्ने न्यायमूर्ति अरबिन्दनाथ आचार्यलाई एक
इजलास सहायकले सम्झने भनेकै प्रायः सबै फैसलाको ठहर खण्ड आफै लेख्ने र साफी गरेको फैसलामा कतै केही छुटयोभने आफैले काखपाती दिएर
माथि लाइन थप्ने र थप्दै जादा पुगेन भने काखपाती पछि काखपाती राखेर अर्को लाइनपनि
थप्न बाँकी नराख्ने तर फेरेर ल्याउनु भनेर प्रायः नभन्ने देखि कहिलेपनि रुखोसुखो
कुरा नगर्ने अलि अलि हँसमुख आकृतिबाट खटन पटन गर्ने जस्ता सरल र भद्र ब्यवहारहरु
नै हुन । छोरा अनुपराज आचार्य इजलास
अधिकृत (तर प्रायः बाबु न्यायाधीश भएर रहने इजलासमा
नखटिएका तर बाबु पनि न्यायाधीश) को सहकार्यताको
त्यो समय (बि स २०४१ देखि २०४४) इजलास अधिकृतहरु,शाखा प्रमुखहरु
र इजलास सहायकहरुमा एकसे एक राष्ट्रसेवकहरु थिए । काशिराज दाहाल प्रशासन शाखामा, विशम्मरप्रसाद श्रेष्ठ, मोहन बन्जाडे, शेखर पौडेल, शेषराज
सिवाकोटी, माधव रेग्मी आदि आदि। उनको सरलताबाट हामी सबै
प्रभावित थियौ । केहीकेही सन्दर्भमा हामीहरुले उनीप्रति लक्ष्यित गर्दै भन्ने पनि
गर्दथ्यौ आपसमा ‘’बिचरा ! गौ प्राणि’’ । सरलताको पनि
एउटा सीमा हुन्छ तर उनी त्यो सीमाभन्दा पनि महान सरलताका ध्योतक ब्यक्तित्व ।
नयनबहादुर
खत्री र धनेन्द्रबहादुर सिँहको पालादेखि वरिष्ठतालाई निरन्तर मान्यता दिएर न्यायाधीशहरुको नियुक्ति भइरहेकोमा आफूलाई नै मर्कापर्ने
गरी सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति २०४८ को प्रसङ्गमा समेत विश्वनाथ
उपाध्यायसंग जमेर कुरा राख्न नसकी तपाइ धेरै सोझो भएकोले सर्वोच्च लगिएन यसपालि
तर छ महिना पनि लाग्दैन है भन्ने शब्दबाट मख्म पर्ने ! भाइ केदारप्रसाद उपाध्यायलाई प्रधान न्यायाधीशको रोलक्रममा
राख्ने गरी कृष्णजङ्ग रायमाझीलाई वरियताक्रममा तल राखेर गरेको नियुक्तिप्रति चित्त
दुखाउने तर आफूलाई छोडेर गोबिन्दबहादुर श्रेष्ठलाई लगेकोमा चित्त दुखेको बताउन पनि
नसक्ने ! खास कारण के थियो बुझ्नै
सकिएन ? भनेर पछिसम्म गतिलो प्रहार
नगरी बस्ने अर्थात चित्त बुझाउने ।
अब लागौँ
प्रस्तुत स्मरणपुञ्जमा रहेका सामाग्रीहरुको महत्व बारेको संक्षिप्त समीक्षातर्फ ।
यसपुञ्जमा दुइ किसिमका सामाग्रीहरु रहेका छन । पहिलोः स्वर्गिय आचार्यको स्मरण र
उनीप्रतिका सम्मानका शब्दहरु र दोस्रोमा स्वर्गिय आचार्यले अरु सहकर्मी सहधर्मी
तथा सारथीहरुप्रतिको स्मरण र सम्मानका शब्दहरु । त्यसैले यसपुञ्जको नामाकरण ‘’अरबिन्द आचार्यः शब्दचित्र र शब्द सम्मानमा’’ भनेर राखेको भए अझ बढी पर्याय बन्ने थियो भन्ने आरम्भमै
लागेको पनि । पहिलो कोटीका १४ वटा आलेख र दोस्रो कोटीका २९ वटा तथा एक उनकै
अन्तरवार्ता समेत समाबेश भएको यस स्मरण पुञ्जले उनको ब्यक्तित्वको उचाइ क्षमताको
गहिराइ र युगिन रुपमा बाँच्ने सक्ने उनको योगदानलाई संक्षिप्तमा स्मरण गराउन सफल
भएको छ । उनी मरेर गए तर यीनै शब्द सम्मान र शब्दचित्रहरुमा उनी बाँचिरहने छन
भन्ने लाग्दछ ।
‘’सरलता
सम्बृद्दिको स्रोत हो । महान ब्यक्ति स्वयं सरल हुन्छ भन्ने पहिचान एवं न्यायिक
मर्यादाका ध्योतक (बिशाल खनाल),शालिन न्यायिक ब्यक्तित्व (काशिराज दाहाल), पूरातन कलेवरका नूतन बिचारक (तिलक पराजुली), रायकिताबमा सबै लेखिदिने कहिल्यै गाली नगर्ने (शारदा कोइराला), सादा जीवन उच्च
बिचारका धनी (गौरी ढकाल), वर्तमानमा
न्यायपालिकामा देखिएको बिसंगति र बिकृतिप्रति चिन्तित (रामकृष्ण काफ्ले), इमान्दारिताका
उच्चतम् ब्यक्तित्व (केशवप्रसाद मैनाली),निष्कलङ्क र इमान्दार (इश्वरप्रसाद
खतिवडा), शालिन भद्र र न्यायिक
ब्यक्तित्व (कृष्णप्रसाद बस्याल), आदि सम्मान र स्मरणका शब्दहरु रहेका छन । सबैको साझा सम्मान रहेको छ कि न्यायमूर्ति अरबिन्दनाथ
आचार्य न्यायाधीशमा हुनुपर्ने समयपालन, निष्ठा, नैतिकता, अध्ययनशिलता, निष्पक्षता , शालिनता तथा
निर्भिकतायुक्त ब्यक्तित्वका धनी र उदारहणीय न्यायमूर्तिका रुपमा परिचिति र
स्थापित थिए ।
यस सम्मान
शब्दपुञ्जभित्र विभिन्न न्यायकर्मी र उच्च सम्मानित ब्यक्तित्वहरुका बारेमा उनी
स्वयंले लेखेका २९ वटा छोटा लामा लेखहरु छन । जसमा पूर्व प्रधान न्यायाधीशहरु
नयनबहादुर खत्री, विश्वनाथ उपाध्याय, केशवप्रसाद उपाध्याय, केदारनाथ
उपाध्याय,गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ तथा पूर्न न्यायाधीशहरु- बब्बरप्रसाद सिँह, उदयराज पाण्डे, इन्द्रराज पाण्डे,
नरेन्द्रबहादुर न्यौपाने,टोपबहादुर सिँह, केदारनाथ आचार्य हिरण्यश्वरमान प्रधान, हरगोबिन्दसिँह प्रधान तथा उनका समकालीन र लब्ध प्रतिष्ठित
ब्यक्तित्वहरु- महाकवि लक्ष्मीप्रसाद देवकोटा, व.अ.गणेशराज शर्मा,प्रा.यदुनाथ खनाल, गोबिन्द
वियोगी, इतिहास शिरोमणी बाबुराम आचार्य, प्रो.बासुदेवचन्द्र
मल्ल, साम्पदेव पंत चुडामणीराज सिँह मल्ल आदिका
बारेमा संस्मरणात्मक लेखहरु रहेका छन ।
साथै आफ्नै
पीता केशवनाथ उपाध्याय, माता चिरन्जीवी भण्डारी र श्रीमती
शारदादेवी आचार्यलाई पनि संस्मरणात्मक लेखहरुकै माध्यमबाट सम्मान गरेका छन यसरी यो पुञ्ज
स्वर्गीय अरबिन्दनाथ आचार्यकै शब्दसिर्जनाले भरिएको, अरुप्रतिको
आदर र सम्मानको एक शब्द पुञ्जपनि बनेको छ ।
न्यायाधीश अमर
रहनेभनेको प्रथमतः उसले गरेका फैसलाहरुमा र दोस्रोः उसको कानूनी बाङ्मयको सेवा र
सिर्जनाहरुमा नै हो । उल्लिखित सिर्जानहरुबाट अरबिन्दनाथ आचार्य सिर्जनाको
माध्यमबाट स्मरणीय र अजम्मरी बन्ने प्रयत्नमै रहेको देखिन्छनभने फैसलाहरुतर्फ
हेर्दा उनि संवैधानिक र आधुनिक विधिशास्त्रीय
दृष्टिकोणका बिस्तारक भन्दापनि विशेष गरी देवानी न्यायमा पोख्त थिए भन्ने बुझिन्छ ।
त्यसो त अन्नपूर्ण राणाको मुद्दामा कुमारीत्व परिक्षणको अस्विकार्यताका साथ बिपरित
लिङ्गीयका बिचमा घुमफीर यौनसम्बन्ध र सन्तानको जन्म मात्रैलाई आधुनिक अर्थमा
विवाहको संज्ञादिन नमिल्ने भन्ने निर्ष्कर्षमा पुगेकोबाट, हेर्दा पूरातन लाग्ने र चिन्तन र व्यवहारमा आधुनिक मात्र
होइन उक्त फैसलामा लिइएको आधारले न्यायिक समाजमा ५।६ स्केलको भूकम्प नै गएको हो
भन्ने वरिष्ठ अधिवक्ता तिलक पराजुलीको मूल्याङ्कन सहि हुन पुगेको लाग्दछ ।
मानव समाज न हो, यहा हरेक किसिमका मानिसहरु पाइन्छन । आनीबानी र
ब्यवहारहरुमा अनेकतामा पाइन्छन । अरबिन्दनाथ आचार्य अनेकताभित्रका सकारात्मक एवं
साधगी सामाजिक तथा न्यायिक कर्मजीवनका एक उदाहरणीय ब्यक्तित्व हुन भन्नु
अतिसयोक्ति नहोला । इलाम जाँदा घोडाबाट
लडेर घाइते भइ डोकामा बसेर सदरमुकाम पुग्नु परेको र धनकुटामा हुदा २०४५ सालको
भुकम्पले घरभित्र च्यापिएर बन्चराले ढोका फोडेर निकाल्नु परेको आदि उनका अनगिन्ति
दुःखहरुभित्र पनि उनको जीवन सफल रहेको छ । दुःखमा नआत्तिने र सुखमा पनि नमात्तिने
उनको जीवनयात्राको एक अर्को नमूना हो भन्ने बुझिन्छ । कानून मन्त्रालयको लामो
सेवाअवधिलाई सुनौलो समय (Golden period)र न्यायाधीश काललाई
गौरवमय कार्यकाल (Glorious period) का रुपमा उनी आफैले लिएका छन । कृष्णजङग
रायमाझीले विश्वनाथ उपाध्यायले नियुक्तिमा गरेको अतिपनपक्षको बिरोध स्वरुप
कार्यावधि बाँकी छदै राजिनामा दिएकाले करिब ६ महिना न्यायपरिषदको सदस्यको भूमिकामा
रहेका आचार्य विश्वनाथबाट आफूपनि अन्यायमा परेको सन्दर्भलाई चिहान खोतलेर के नै
पाउने र ? भन्ने अर्थमा चित्त बुझाउन पुगेको पाइन्छ ।
अरिस्टोटलले
भनेको ’’म मेरो रगतमा पुर्खाहरुलाई पाउछु (I find my
ancestors in my blood) भन्ने भनाइको स्मरण गर्दै
पुर्खाहरुलाई सतत नमन गरेका छन । राधारमण उपाध्यायले केदारनाथ आचार्यलाई बन्धु
भनेर संवोधन गर्ने गरेको र २०४९ सालमा जगदम्बा प्रकाशनबाट आचार्य वँशावली प्रकाशित
भएको सन्दर्भ उनका लागि अर्को सुखद सन्दर्भ बनेर रहयो । पत्नी शारदा देवीसंगको ६२
वर्षको सुखद जीवन यात्राको प्रातः स्मरणमा रहका उनी जीवनको उत्तरार्धमा आधुनिक
सञ्चारको फेसबुक सञ्जालका माध्यमबाट केहि न केही लेखिरहेन्थे । केही न केहि
देखिरहन्थे र वर्तमानको न्यायपालिकाभित्र देखिएका बिसंगति तथा बिकृतिहरुबाट
चिन्तित र दुःखित पनि देखिन्थे ।
यस
शब्दपुञ्जभित्र यीनै अनुभव, अनुभूति, सम्मान र सम्झनामा रहेका छन । जुम्लाको आचार्यवाडामा रहेका
र ततकालीन जुम्ली नरेशबाट आचार्य सम्मान पाएका सचितानन्द महौपाध्यका सन्तान, मुडखुले लमजुँगे आचार्यवँशी कौडिण्यगोत्रीय, न्यायमूर्ति अरबिन्दनाथ आचार्य ।
न्यायक्षेत्रका
साधगी ब्यक्तित्व अरबिन्दनाथ आचार्यको तेहौ पूण्यतिथिको अवसर पारेर उनीप्रतिको
सम्मानका लागि यो सम्झना र सम्मानको शब्दपुञ्ज प्रकाशन गरेर मित्र शेषराज
सिवाकोटीले असाध्यै गुणी काम गरेका छन । त्यसैमा मलाई पनि स्मरण र सम्मानका केही
शब्द थप्ने यस अवसरका लागि म संपादक शेषराज सिवाकोटी सहित प्रकाशन परिवारप्रति
आभार ब्यक्त गर्दछु ।
आखिरीमा साधगी
न्यायमूर्ति स्वर्गिय अरबिन्दनाथ आचार्यमा फेरिपनि श्रद्दा सुमन सहित हार्दिक
श्रदाञ्जली अर्पण गर्नु परमकर्तब्य सम्झन्छु । धन्यवाद ।
२०८१।११।२ प्यूठान ऐरावती १ को हाल
नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment