गुल्मीबाट
भक्तपुर हुदै भारतको धर्मशाला जिल्ला कँग्रामा सेनामा जागिर खान पुगेका मणिकृष्ण
प्रधान र लाजवन्ति प्रधानको कोखमा २९ जनवरी १९३० मा जन्मेका, कमला थापाका पति एवं बिजय, अजय, सञ्जय र
मोनकाका पूजनीय पिता, हरगोविन्द सिंह प्रधान, नेपाल ल क्याम्पसको सहायक डिनपछि, शाखा अधिकृत उपसचिव, अँचल
न्यायाधीश, केहि समय क्षेत्रीय अदालतको अतिरिक्त न्यायाधीश, फेरि अँचल न्यायाधीश, सर्वोच्च
अलदातको रजिष्ट्रार, हुदै सर्वोच्च
अदालतको न्यायाधीश पदमा पुगेर अवकाशपछि पनि नेपाल कानून आयोगको अध्यक्षका रुपमा समेत
सेवा गरी नेपालको कानून एवं न्यायिक जीवन यात्रामा क्रमशः प्रगतिको शिखर चुम्ने
विरलै न्यायकर्मीहरु मध्येका एक हुन । भनिन्छ,सर्वोच्च
अदालतको न्यायाधीश हुन नेपालको जन्मसिद्द नागरिक हुन नपर्ने सो समयमा क्षेत्रीय
अदालतको न्यायाधीश हुन जन्मसिद्द नागरिक चाहिने ततकाल संशोधित कानूनी खेलबाट भएको
झेलको शिकार बनेका एक पात्र हुन उनि । कसैलाई हान्न
वा कसैलाई तान्न नीतिगत झेली खेल खेलेर सत्तासिन वा शक्तिशालीहरुको दुश्चक्रको
मारमा पर्ने नेपालीहरुको इतिहासं खोज्दा छुटन नहुने पात्र पनि हुन हरगोविन्द सिंह
प्रधान ।
बि.सं.२०३८ देखि २०५२ सम्मको उनको
सर्वोच्च अदालतको न्यायाधीश सेवाको यात्रावधिमा पङ्तिकार डिठ्ठा देखि सहायक
सचिवसम्मको सेवाको चरण यात्रामा थियो । केही टाढाबाट स्वस्ती चढाउने, उनका आदेश वा फैसलाहरु पढ्ने र यदाकदा शब्दवाणीहरु सुन्ने अवसर बाहेक प्रत्यक्ष सहयोगीको
भूमिकाको अवसर मिलेन । साच्चै अन्तर हृदयले सम्मान गरी सम्झिरहने सुपात्रहरु हेरक धेरै
कम हुन्छन । अझ नेपालमा त यो पक्ष करिब करिब चामलभित्रका बियाँ जसरी मात्र पाइने
हुन्छन ।
न्यायिक
निष्पक्षताका र न्यायिक निष्ठाका धरोहर, न्यायिक
निडरताका प्रतीक, सारभूत फरक राय लेखनका अग्रणी, मध्यस्थ
प्रणालीबाट बिबाद समाधानको पद्दतिका पक्षधर, नेपालको न्याय प्रशासन व्यवस्थापनको नबीनताको पहलकर्ता, अँग्रेजी भाषा साहित्यका ज्ञाँता, कुसल एवं सदाचारी अभिभावक, असलका लागि असल
मित्र आदि आदि, वस्तुपरक विशेषणका हकदार हुन हरगोविन्द सिंह
प्रधान ।
उनका बारेमा
न्याय भाग २७ मा प्रकाशित लेखहरु ततकाल अध्ययन गरेको स्मरणमा छैन तर प्रकाशित हुन
गइरहेको ’’न्यायमूर्ति
हरगोविन्द सिंह प्रधानःदृष्टिकोण र मूल्याङ्कन’’ स्मारिकामा समाबेश भएका केही लेख वा स्मरण वा सम्मानका
पुष्पहरुमा पुरयाएको संक्षिप्त दृष्टिले नै न्याय भाग २७ का बौद्दिक पुष्पहरुको
बासना लिने अवसर मिल्यो । उनका गुरुवर, मित्रहरु, न्यायकर्मीहरु कानूनकर्मीहरु र परिवारजन समेतका
हस्ताक्षरहरु रहेको यस पुस्तक (स्मारिका)खमा एक दृष्टि दिदांपनि लिन पाइन्छ एकप्रकारको उज्वल,अब्बल र सबल न्यायकर्मीको मानवीय जीवनको छाप । । अँग्रेजी भाषाका ८ वटा र नेपाली भाषाका २३ वटा र
अन्तरवार्ता ३ वटा गरी कूलमा ३४ वटा छोटा लामा लेख तथा अन्तरवार्ताहरु समाबेश भइ
प्रकाशित हुन गइरहेको उक्त स्मारिका पढ्ने जो कोहिले पनि महसुस गर्न सक्दछ, उनको ततकालीन न्यायिक उचाइको नाप र बौद्दिक गहिराईको धाप र
राप।
मानिसको
मूल्याङ्कनका विविध आयामहरु हुन्छन । सामान्य परिचयदेखि समाजिक तथा सांस्कृतिक
पहिचान, कला तथा साहित्यिक योगदान, राजनैतिक योगदान,न्यायिक योगदान, आदि आदि । हरगोविन्द सिंह प्रधानसंग सम्बन्धित यस स्मारिका भित्रका
बौद्दिक खान्गीहरुमा अधिकतः उनको न्यायिक सुकर्मका चटनीहरु नै छन । वैयक्तिक
स्वभाव र व्यवहारका बिषयहरु कमै छन । उनका मानवीय एवं व्यवहारजन्य कमजोरीहरुका
बारेको उल्लेखन प्रायःपाइदैन । कानूनको उपाधि लिने इच्छा हुदा हुदै पाँच दश रुपैयाँ
माग्दा पनि नदिएकाले पढाउन सक्दैनन बाबाले भनेर छोडेको भन्ने छोरा बिजयको अनुभूति
र उपचारकै क्रममा श्रीमतीको देहावसान भएपनि ततकाल अस्पत्तालको शुःल्क बुझाउन
नसकेकाले केही दिन अस्पत्तालको शब कक्षमा राखी रकमको जोहो गरेपछि मात्र दाहसंस्कार
गरेका भन्ने जस्ता पीडादायक अवस्था जनाउने शब्दहरुले न्यायिक निष्ठाको प्रतीकका
रुपमा उनीप्रति सम्मानले शिर झुकाउदै नमन गर्न सबैको मन आतुर हुन्छ ।
हरकोही
न्यायाधीशको अजम्मरी बुटी भनेकै उसका आदेश वा फैसलाहरुमा बालिएको न्यायको दीपको
राप र त्यसले पारेको प्रभावको छाप नै हो । धेरै कमै मात्र बाँच्दछन यसकोणबाट ।
अधिक त आयाराम गयाराम नै बन्दछ । यसलाई स्वयं हरगोविन्द सिंह प्रधान भनिरहेका छन’’-प्रधान न्यायाधीशहरु केही राम्रै गरेर गए, केही त्यत्तिकै रहे’’….।
पढ्दै जाँदा- रत्नबहादुर बिष्टले आफू अँगिकृत नागरिक भन्ने थाहा हुदा
हुदैँपनि ततकालीन क्षेत्रीय अदालतको न्यायाधीश नियुक्त गरेको र नयनबहादुर खत्रीले
आफ्नो न्यायिक विवेक नमारीकन फरक राय लेख्नका लागि अभिप्रेरित गरेको सन्दर्भहरु
उनकालागि धेरै स्मरणीय रहेको पाइन्छ । यसैगरी बिपक्षी झिकाउने आदेश गर्नुपर्ने
भन्ने आफ्नो न्यायिक विवेकले देख्दा देख्दै वरिष्ठको रायमा सहमत भएर सदर फैसलामा
सहिछाप गरेको अपबादमय चस्काको क्षणउनकालागि आत्मआलोनाको बिषय बनेको लाग्दछ । आफूले
फेवाको किनारामा माछा मारिरहेको बेलामा बाबु हरगोविन्द सिंह प्रधानले तालको
किनारामा उभिएर पुस्तक पढिरहेको देखेको भन्ने छोरा सँजयको संझनाको पाटोले उनको अध्ययनको
लगनशिलता र निरन्तरतालाई प्रमाणित गरिरहेको छ ।
करिब १४ वर्ष
न्यायको कलम चलाउने क्रममा यस पङ्कतिकारले, सहकर्मिहरुलाई
भन्ने गरेको थियो कि ‘’लहै मजाले
बुझेर मात्र रायका शब्दहरु खोलौँ र न्याय बोलौँ । ऐले फ्याट्ट बोल्ने साँझ निद्रा
नपरेर छटपटी हुने काम चाँही नगरौं…. । न्यायाधीशले
आदेश वा फैसला गरिसकेपछि गरयो, गरयो । फेर्न
पाउदैन । फेर्ने भनेको अपिल लाग्ने रहेछ भने अपिल तहले मात्रै हो…..’’ । परोक्ष्य रुपमा यसप्रकारको ज्ञान र न्यायिक व्यवहारको उर्जा
स्रोत उनै हरगोविन्द सिंह प्रधान रहेछन भन्ने लागेर आयो ।
वँहाको इजलासमा
मुद्दा पर्दा खुसी लाग्दथ्यो (व.अ. श्री हरिप्रसाद उप्रेति),पेन्सन सम्बन्धित कर्मचारीकै खातामा राखिदिने नीति र
व्यवहारका सूत्रधार उनै हुन (पूर्वसचिव श्री
काशिराज दाहाल), सशक्त लेखनीका धनी, गहन चिन्तनका अधिपति र मनशा, बाचा, कर्मणा न्यायमूर्ति (पूर्व
न्यायाधीश, स्वर्गिय प्रकाश वस्ती), नेपालको न्यायिक इतिहासका एक अब्बल दर्जाका न्यायाधीश (प्रा. श्री बिशाल
खनाल),कनिष्ठ संगको उच्चकोटीको व्यवहार (डा.रामकृष्ण तिमल्सेना),सच्चरित्रता र बौद्दिकताका प्रतीक (पूर्व सचिव श्री श्याम प्रसाद मैनाली), कुशल न्याय प्रशासक (पूर्व
न्यायाधीश श्री बद्रीकुमार वस्नेत), An epitome of Wisdom Humility and
Generosity (DR. Sanjaykumar Dhiman), My Glorious Student (Prof. Paramanada
Sharma), आदि आदि शब्द र भावहरु नै
प्रतिनिधिमूलक छन उनको ज्ञान विवेक र न्यायप्रतिको समर्पण तथा मानवीय व्यवहारको
जाज्वल्यपन दर्साउनका लागि ।
फेरिपनि
भन्नुपर्ने हुन्छ, न्यायाधीशको
योगदान वा सवल जीवनी पाइने भनेकै उसका आदेश वा फैसलाहरुले दिएको न्यायको
जीवन्तताको छाप नै हो । प्रस्तुत स्मारिकामा प्रधानको न्यायिक क्षमताको बारेमा
चर्चा गर्दा अमरबहादुर गुरुङको मुद्दा र प्रतिनिधि सभा बिघटनको मुद्दामा उनी
समेतले दिएका फरक रायको बारेमा लेखकीय शैलीमा फरक फरक लेखकबाट जोड दिने सन्दर्भमा
पुनराबृत भएको छ । यसो हुनु स्वभाविकै हो । अमरबहादुर गुरुङगको मुद्दामा फरक राय
लेख्ने क्रममा उनले लेखेको पानी नभएको नया गाग्रो को प्रसङ्गको सन्दर्भ मीठो
र चोटीलो छ, जसलाई वरिष्ठ अधिवक्ता श्री गोपाल पाण्डे ‘’अल्छी’’ ले लेखको शिर्षक
नै बनाएका छन ।
आफैपनि
दोहोरयाएर पढ्नु पर्ने भएको छ अझ डुबुल्की मार्न । त्यसैले श्रद्देय पाठकहरुमा
विनम्र आग्रह छ पौडिन नदी वा पोखरीमा आफै हामफाल्नु पर्छ । आउनुहोस, एकपटक हरगोविन्द सिंह प्रधान प्रतिको बौद्दिकजनहरुको
यशस्वीमय पोखरीमा तपाइपनि हाम फाल्नुस र बौद्दिक छालहरुको मज्जा लिनुस ।
वरिष्ठ
अधिवक्ता डा.श्री विश्वदीप अधिकारीको आलेखमा ‘’न्यायको बजार’’ शब्द प्रयोग
भएको देख्दा नमीठो लाग्यो । मिलेन कि चर्को वा अशोभनिय भयो ? श्रद्देय पाठकहरुकै जिम्मामा छोडेको छुं ।
न्यायको
कुर्सिमा बसेर सताशय नजिकको आयु सुस्वास्थ्यमय रुपमा पाउनु वा बनाउनु भनेको दुर्लभ
क्षमता र अवसर हो । यो क्षमताको भित्री उर्जा भनेकै न्यायिक निष्ठा र समर्पण नै हो
अन्यथा गरेको भए चिन्ताले उहिल्यै चितामा पुराइदिने थियो । किनकी चिन्ता वा
असन्तुष्टि आत्मशक्ति क्षयीकरणको सबैभन्दा वलशाली आधार हो । भनिन्छ-आहार, बिहार र
व्यवहारमा सन्तुलनता सहित, सबैपक्षमा बिन्दास बन्न
सक्नुपर्छ दीर्घजीवनका लागि ।
अन्तमा, समआदरणी
न्यायमूर्ति हरगोविन्द सिंह प्रधानको शुभ जनमको ९५ औँ वर्ष प्रवेशको हार्दिक बधाई
सहित सताशय वर्षायुभन्दा पर परको सुस्वास्थ्यमय जीवनको शुभकामनाकासाथ यस अङ्कमा आ-आफ्ना सिर्जनाहरु उपलब्ध गराउने सबै स्रष्टाहरुमा हार्दिक
नमन छ । करिब १४० पृष्ठको सम्मानका शब्दहरुको पुप्ष
पुञ्ज प्रेशमा छापिदाछापिदै अध्ययन र लेखनको यस अवसरका लागि ज्ञानगुन कानून
प्रतिष्ठान र संपादक एवं उच्च अदालतका पूर्व कायम मुकाम मुख्य न्यायाधीश श्री
शेषराज सिवाकोटीमा हार्दिक धन्यवादसहित यसप्रकारको अनुसन्धान र प्रकाशन यात्राको
निरन्तरतामा सफलताको लागि हार्दिक शुभकामना समेत ब्यक्त गर्दछुं ।
२०८१।०९।२६ adrdhanbot@gmail.com प्यूठान ऐरावती-१/ नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment