पूर्व कथनः
बि.स.२०३५ सालको प्रबेशिका उत्तिर्ण पछि उच्च शिक्षा अध्ययनको
लागि राजधानी हानिएका मेरा पाइलाहरु उच्च शिक्षा अध्ययनका लागि
विभिन्न क्याम्पसका ढोकाहरुमा पाइलाहरु हाल्न पुगेपनि अन्ततः मेरो पाइला नेपाल ल
क्याम्पस मै रोकियो । २०३६ सालको बिध्यार्थि आन्दोलनको रापले क्याम्पस प्राँगणहरु
तातिरहेको मौका थियो त्यो । त्यसमापनि नेपाल ल क्याम्पस भनेपछि त आन्दोलनकारीको
मझेरी र तर्कशिलहरुको जमात रहने ठाउका
रुपमा परिचय कायम गरिसकेको थलो । त्यस्तैमा एकदिनको कुरा हो, गाडीमा सवार भए कालो चश्माधारी एक व्यक्तित्व ।
बिध्यार्थिहरुकै माझबाट आयोग ‘’उ उ आयो आयो, … कानो आयो (यथार्थता पस्कने क्रममा नचाहा नचाहदै पनि यो
शब्द लेख्न बाध्य भएँ, सम्बन्धित सबैसंग
क्षमाप्रार्थि छु ) अलि नजिक गएर
हेरेको त उक्त आकृतिको पात्र त आदरणीय ततकालीन डिन श्री टोपबहादुर सिंह पो रहेछन ।
बिस्तारै गाडीबाट बाहिरिदै कालो चश्माभित्रका आँखाहरु दुर्बाच्य बचनधारी तिर
घुमाउदै भित्रियो त्यो आकृति । कसैले भन्यो मण्डले ….!
गुरुहरु भनेपछि असाध्यै श्रद्दा जागेर आउने, अझ गुरुहरुको खुट्टामा तेल लगाई मालिस गरिदिएर राती राती दियालो
वा टुकी वा अगुल्टाको उज्यालोमा बाह्खरी पढ्ने मौका पाएका भन्ने पुर्खाहरुको भनाइ
सम्झदा ततकाल भित्रि मनमा असाध्यै पीर लाग्यो । अध्ययनका क्रममा प्रारम्भिक तह
अर्थात आइएल तहको शान्त र अध्ययनशिल एक बिध्यार्थी, त्यतिमाथिको
उचाइमा रहेका व्यक्तित्व संग प्रत्यक्ष कुराकानी हुने अवसर नपाउन वा जरुरी नहुनु
स्वभाविकपनि थियो ।
अध्ययनकै क्रममा जानकारीमा आयो कानूनका
सामान्य सिदान्तहरु पुस्तकका स्रष्टा रहेछन उनी त । त्यतिमात्र होइन, कानूनी शब्दकोष, नेपालको संविधान र
संवैधानिक कानून तथा नेपालको कानूनी इतिहास…. पुस्तकहरुका सर्जक
पो रहेछन । एकातिर अध्ययन अर्कोतिर सरकारी जागिरे बनेको सुरु देखिकै जीवनचर्या ।
पछिल्लो क्रममा जानकारी हुन आयो उनी त ततकालीन मध्यपश्चिमान्चल क्षेत्रमा पर्ने
नेपालगन्जका नागरिक रहेछन । ठानेदार तेजबहादुर सिँहका छोरा सिंहले नेपालगन्ज कै
महेन्द्रप्रसाद गुप्ताले स्थापना गरेको र उनकै नाउमा रहेको (एम पि स्कूल) मा पढेपनि त्यसबेलाको
मान्यता र बाध्यताले छिमेकी देश भारतको बहराइचबाट प्रबेशिका गरेका रहेछन । त्यसैक्रममा
इलाहावादबाट आइ ए र आग्राबाट बिए को शैक्षिक उपाधि लिएर दरबार हाइस्कूलको
रात्रीकालिन नेपाल ल कलेजमा रामराजा प्रसाद सिँश र आशुतोष गाँगुलीका कानूनका
बिध्यार्थि बनेका रहेछन । ततकाल उनी संगको साक्षात्कार भेटपछि पातलो भेट र सम्बन्ध
रहेपनि न्यायसेवाको जागिरको क्रममा भएका भेटहरुमा उनलाई एकपछि अर्को उचाइका रुपमा
अनेक सन्दर्भहरुबाट भेट, भलाकुसारी र बिचारबिमर्श आदि क्रमशः हुदै गयो
। आजपर्यन्त आशिर्वचन सहित उत्प्रेरणात्मक शब्दहरुको हकदार बन्न पाएको छ यो
कलमजीवी ।
कर्मथलोमा जम्काभेटः
बि स २०४१ साल मार्ग देखि ततकालीन मध्यमाञ्चल
क्षेत्रीय अदालत कर्मथलो बनेको मेरा लागि उनिसंगको न्यायिक सहयात्रा वा सहयोगी
यात्राको प्रथम साइत र अवसर त्यही बेला जुर्यो । मुख्य न्यायाधीश षडान्नद
उपाध्यायको खटन भयो कि उनको न्यायाधीश जीवनको पहिलो दिनमा, उनकै एकल इजलासमा इजलास सहयोगीका रुमा काम गर्ने अवसर मलाई
प्राप्त भयो । खटनको बिषय रजिष्ट्रारतहकै भएपनि त्यसदिन च्याम्बरमा बोलाएर खटनको
आदेश मुख्य न्यायाधीश बाटै आयो । ततबेला सिंहकै मुखबाट सुने की वकीलका रुपमा २०१७
सालतिर अदालत प्रबेश गरेको भएपनि न्यायाधीशका रुपमा अदालत प्रवेशका लागि उनलाई
नयनबहादुर खत्रीले पनि आग्रह गरेका रहेछन ।
पछि धनेन्द्रबहादुर सिँहको सिफारिसमा ततकालीन राजा बीरेन्द्रको निगाहाबाट
न्यायाधीशमा सेवाको अवसर जुटेको रहेछ । अरु पूर्व न्यायाधीशहरुलाई भन्दै थिय ”जीवन यात्राको यो
अर्को अवसर हो तर नयाँ काम । हजुरहरुको सुसंगत र सहयोगले राम्रै गरिएला भन्ने
लागेको छ’’….. उनले यसप्रकारका शब्दहरु व्यक्त गर्दा केही
न्यायाधीश नतमस्तक भएको अनुहारबाटै आँकलन गर्न सकिन्थ्यो । यसको मूल कारण उनको
अध्ययन, उनले निर्माण गरेको ततकाल सम्मको ब्यक्तित्व र
बहुक्षेत्रमा रहेको उनको योगदान ।
एकल इजलासको छुट्टै कोठा नभएर पुस्तकालय कक्षमा
चल्ने गरेको थियो त्यतिवेला । मुख्य न्यायाधीशको आदेशको पालना गर्दै मिसिलहरु
आएपछि उनलाई लिन च्याम्बरमा गए । गाइड सरहको भूमिकामा तर उनकै पछि पछि इजलासमा गएर
टिपोट कपी कलम र केही मिसिलहरु टेबुलमा राखिदिए तर उनी कलम चलाउनतिर लागेनन । मुख
चलाउन तिर पो लागे । मेरो घर, थर, अध्ययनको साल, जागिरे जीवन, आजको कामको प्रसङ
आदि बिषयमा केहिबेर भलाकुसारी पछि उनले आफै भने ‘’ मलाई त
क्याम्पस केही बिध्यार्थीहरु कानो र मण्डले पनि भने है…. सुन्नु भयो होलानी त्यतिवेला …..। म लाजले एक प्रकारले पानी पानी भएँ र अर्को
प्रकारले उनको स्वीकार्यता र महानताले नतमस्तक पनि ।
‘’हडताली बिध्र्यर्थीहरुले
के के भने भने नि हजुर …. आजदेखिको यात्रा त पवित्र न्यायको यात्रा पो
नि…. भनेपछि ‘’…यो अवसरका र
लागि प्रधान न्यायाधीश र बीरेन्द्र सरकार
दुबै प्रति मेरो अगाध सम्मान र धन्यवाद छ’’ भन्न पुगे ।
टिपोट कपीमा केही लेखेपछि फेरि कुरा आए । ‘’के रहेछन आजका मिसिलहरुको कथा र ब्यथा भनेर
सोधे’’ । मैले पनि हेरेँ श्रीमान । मिसिलका कथा (तथ्य) र बेथा (माग) हरुको बारेमा संक्षिप्तमा सुनाएं । उनी मिहिन रुपमा एकपछि
अर्को गर्दै पुनराबेदनको अनुमति पाउँ भन्ने पाँच थान निबेदन र सम्बन्धित मिसिलहरु
अध्ययन र टिपोटतर्फ लागि रहे । म भने साथमा रहेको पुस्तकको पानाहरुतिर आँखा लगाउन
लागेँ ।
आचार्य जी …के आचार्य रे… भन्दै संकेत गरेपछि ‘’डिल्लीराज’’ मात्र के भन्न पुगेको थिएं, ‘’अं डिल्लीजी । यो न्यायको काम त निक्कै कठिन
काम हो हैन ? …. भन्दै फेरि कुराकानी अगाडि बढाए । तपाइले पनि
मिसिल पढी सक्नु भएछ । मैलेपनि पढेँ । लौ, न डराइकन भन्नुस, यी पाँच थान मुद्दामा तपाइले आदेश गर्नुपरयोभने कुन कुनमा
पुनराबेदनको अनुमति दिनु हुन्थ्यो र कुन
कुनमा दिनु हुदैन थ्यो होला ?.. फेरि म अवाक भएँ । खाजा पछि फर्कीएर आएपछि
फेरि सोधनी भयो । मैले डराइ डराई भने यी दुइवटा मात्र दिने थिए होला श्रीमान ।
उनले टिपोट कापीमा लेखेका संक्षिप्त शब्दहरु अनुमति दिने र अनुमति नदिने देखाउदै
भने लौ रायकितावमा लेखेर ल्याउनुस है, भन्दै च्याम्बरतिर
लागे । समय पर्याप्त भएकोले म आदेशको पूर्ण पाठसहित च्याम्बर मै पुगेँ । ततपश्चात
क्षेत्रीय अदालतको न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश न्यायिक प्रतिष्ठानको
कार्यकारी निर्देशक हुदै पूर्व न्यायधीश समाजको अध्यक्षसम्मका वर्तमान सार्वजनिक
जीवनका बहु आयामहरुमा उनिसंगको भेट र कुराकानी एकपछि अर्को अवसर लाग्दछन । र त्यही
इतिहासको जग र सन्दर्भलाई ह्दयले अगाडि सारेर ल्याउँछ ।
सिंहको बहुआयामिकताः
संक्षिप्तमा र एक वाक्यमा भन्नेहोभने उनको
बहुआयामिक भूमिकालाई (१) कानून निर्माणमा
भूमिका (२) कानून अध्यापनमा
भूमिका (३) कानूनी शिक्षा र वाङ्मयको
सेवामा भूमिका (४) न्याय निरुपणमा
भूमिका (५) कानून कार्यान्वयनमा भूमिका (६) स्वतन्त्र न्यायपालिकाको पहरेदार भूमिका, (७) सरल असल र
व्यवहारिक व्यक्तित्वका धनी र (८) सचेतनायुक्त कुशल र
क्षमतावान अभिभाकीय भूमिका आदिका रुपमा संम्झना र सम्मान गर्नुपर्ने हुन्छ ।
उल्लिखित सन्दर्भहरुलाई अलग अलग सोधयुक्त
निबन्धकै रुपमा प्रस्तुत गर्न सकिने बिषयवस्तु (सामाग्री) छन । स्थान र समयले सबिस्तार जान सकिएन यहा । अध्ययनका एक
सुपात्र भएकाले उनको वारेमा विशेषतः कानून र न्यायका बिध्यार्थिहरुले अझ बढी खोज र
सोध गर्ने बिषय हो । मूलतः कानून आयोग (२०२१ सालमा) र कानून सुधार आयोग (२०४१ सालमा) दुबैका सदस्यका
रुपमा उनले निर्बाह गरेको पदीय जवाफदेहितासहित पछिल्ला दिनहरुमा विभिन्न कानून
निर्माणको सम्बन्धमा समय समयका ऐन नियमहरु निर्माणमा उनले खेलेको भूमिका स्मरणीय
रहेकै छ ।
उनी कानूनी शिक्षाका अब्बल गुरु मात्र होइनन’ रामराजप्रसाद सिंह आशुतोष गाँगुलीहरु पछिका
कानूनी शिक्षका निरन्तर गुरु हुन । नेपालको कानून व्यवसाय पेशामा सबैका गुरु
कृष्णप्रसाद भण्डारी भएजस्तै कानूनी शिक्षामा सबैका गुरु हुन टोपबहादुर सिँह ।
न्यायाधीशको सेवामा बहाल रहदा मात्र होइन, समकालीन
कार्यक्रमहरुमा पनि आशन ग्रहण र वक्ता संवोधनकै क्रममा पनि ‘’’सबैका गुरु’’ र ‘’गुरुहरुका पनि गुरु “ भनेर सम्मानित हुने उनीजस्ता व्यक्तित्व बिरलै
पाइन्छन । उनी कानूनी वाङ्मयका अग्रणी सेवक हुन भन्ने प्रमाणका रुपमा उनका माथि
उल्लिखित चार चारवटा पुस्तक (लेखकले पढेका), धेरै संख्याका
लेखहरु, कार्यपत्रहरु कानून र न्याय बिषयक उनका प्रवचनहरु
रहेकाछन ।
ततकालीन मध्यमाञ्चल क्षेत्रीय अदालतको
न्यायाधीश र पछि पुनराबेदन अदालतको मुख्य न्यायाधीश हुदै सर्वोच्च अदालतको
न्यायाधीश सम्मको उनको न्याय संपादनको यात्रामा कसैले औँलो ठडाउन त के कुरा
काट्नसम्म पनि पाएन । यसको पछाडि न्याय र स्वतन्त्र न्यायपालिका प्रतिको उनको
झुकाव लगाव र समर्ण नै मुख्य आधार हो ।
उनले पटक पटक भन्ने गरेको न्याय र न्यायाधीशको
महत्वको शब्द (भाव) यो पङ्तिकारको
मानसपलटमा अफैपनि बसिरहेको छ । उनले भन्ने गर्दथे’’ न्याय सबैभन्दा
महत्वको बिषय हो । न्याय दिने मानसिकको आशा उच्च स्थानमा राख्नु वा बनाउनु उसको
मर्यादाका लागि हैन न्यायको मर्यादाका लागि हो । न्यायरुपी भगवतीको काम हो र
राजाको तर्फबाट दिने न्यायको दायित्व निर्बाह गर्नु पर्ने महत्वपूर्ण आशन हो ।
राजाबाट नियुक्त भएको हुदा जहिलेपनि मैले राजाको काम गरेको छु । मैले गरेको गल्ती
न्यायबाट राजालाई दोष लाग्न जाने हुनाले न्यायमा तलमाथि पनपक्ष हेलचक्रयाइ
कहिलेपनि गर्ने छैन र गर्दिन भनेर प्रण लिएको हु (सुन्नु होस- लेक्स नेपाल सेन्टर
फर लिगल अफोर्स को अन्तरवार्ता समेत) । ‘’कसैले भनेअनुसार गर्नु त हुदै, हुदैन । प्रमाणले जे भन्दछ, त्यही गर्ने हो ….भनेर इजलासमा
सहकर्मीसंगको छलफल र अनौपचारिक छलफलहरुमा उनले भनेका शब्दहरु भरखरै भनेजस्तो लाग्दछ
। न्याय निरुपणको बिषयमा अपराधका नवीनतम तरिका र बिषयहरुमा थप केही अध्ययन चिन्तन
र विश्लेषण गर्नु परयो होला उनलाई तर परम्पारगत बिबादका बिषयहरु, सिदान्तहरु र न्याय निरुपणको मार्गको बारेमा निर्णयमा
पुग्न त उनलाई निमेषभर पनि लाग्दैन्थ्यो । धेरै सहकर्मीहरु सिनियर नै भएपनि अदभ
मान्दथे र धेरै बिषयका विज्ञ ठान्दथे । धेरैले आफूहरुका
गुरु नै मान्दथे ।
न्याय निरुपण मात्र न्यायको अन्तिम रुप होइन र
न्यायाधीशको जवाफदेहिताको बिषय सिमित रहदैन । फैसला कार्यान्वयन न्यायको अन्तिम
प्राप्तिको बिषय र न्यायपालिका प्रतिको वास्तविक सम्मानको बिषय हुन जान्छ । फैसला
त गर्ने कार्यान्वयनमा उति नै वर्ष लाग्ने हो भने के काम लाग्यो कागजमा दिइएको
न्याय ?… उनको निरन्तर चिन्तन चासो र संवादको बिषय
हुन्थ्यो अदालतमा । न्यायिक प्रतिष्ठान आदिका सम्बन्धित कार्यक्रमहरुमा ।
उनी निष्पक्ष र स्वतन्त्र न्यायपालिका अथक
पहरेदार हुन । २०४७ सालको संविधानले न्याय परिषदको जन्म दिएको कानून मन्त्री स्वतः
सदस्य रहने व्यवस्थाले स्वभाविक रुपमा कानून मन्त्रीको प्रभाव पर्ने उदाहरणका
रुपमा तारानाथ रानाभाटकालिन नियुक्तिलाई बेलाबेलामा संम्झन्छन र भनेका छन कि ‘’बिचाराधारको आधारमा नजिक सम्झेर धेरै काँग्रेसी
बिचारका राजनीतिककर्मी बढी कानूनकर्मी कम भएका ब्यक्तिहरुलाई न्यायाधीशका रुपमा
स्थान दिएपछि आरम्भ भयो न्यायपालिकामा राजनीतिको प्रत्यक्ष प्रभाव (हेरौँ उही LEX NEPAL) आरम्भ भएको हो’’ । परिणाम नियुक्ति पछि धन्यवाद तथा आभार
व्यक्त गर्न पार्टी कार्यालयमा जानेहरुदेखि नियुक्तिमा प्रत्यक्ष भागबण्डाहरु
लाग्ने गरेको देखिएकै हो भन्नेमा उनी एक अब्बल र साहसिक पूर्व न्यायाधीश हुन ।
पछिल्ला दिनमा असक्षमको नियुक्ति र अनुशासनहिनताको बढोत्तरीले स्वतन्त्र न्यापालिका
एवं निषपक्ष न्यायको मर्ममाथि नै प्रहार भएको तथ्यलाई सत्य भन्न उनलाई कसैको डर
भएन । अर्थात न्यायको पक्षमा बोल्न लेख्न उनलाइ कहिले पनि सँकच भएन । बिस्तारै
बोल्ने तर वजनदार तथा मर्मभेदी शब्दहरुबाट अन्यायीक र विभेदकारी न्यायकर्ताहरुलाई
थुरथुर बनाउने क्षमता उनमा रहेको महसुस हुन्छ । अदालत माथि कार्यपालिका र व्यवस्थापिकाको
स्वेच्छाचारिता बढेको मात्र होइन, स्वयं अदालतभित्रै पनि स्वेचछाचारिता बढेकोमा
उनी चिन्तित छन र भनेका छन ‘’राजनीतिक दलले अदालतमा सेटिङछ भन्न छोड्नु परयो, न्यायाधीशको नियुक्तिमा राजनीतिकरणलाई हटाउनु
पर्यो र न्यायमा असक्षमता तथा अनुशासनहिनताको अन्त्य गर्नुपरयो ’’ (रातो पाटी २०७९।०२।१९) ।
बिचार र ब्यबहारले उनलाई प्रभाव पारेका पुराना
नेताहरु सायद कोही होलान् । समकालीन राजनीतिक नेताहरुप्रति पनि उनमा विश्वास र
भरोसा नै छैन । त्यसैले त उनी चर्को भन्दछन ‘’ सबै नेताहरु
सुशासन सुन्न चाहदैनन । आफ्नै राम रमितामा भूलेका छन। जनताको समस्या भर्सेलामा
जावस भन्ने मानसिकताबाट ग्रस्त छन (अनलाइन २०७८।०९।१२)।
प्रधान न्यायाधीश (चोलेन्द्र शँसेर जबरा) उपर महाअभियोगको
प्रस्तावमा छानवीन समिति गठन भइ बयान लिने सम्मको कार्यहरु हुदापनि उनी विश्वस्त
भएनन र भनेकी राजनीकज्ञहरुले स्वार्थका आधारमा न्यायाधीश र न्यायालयलाई प्रभावित
पार्न बेर लगाउदैनन । आन्तरिक दबाब ब्यक्तिगत प्रभावका । गैर न्यायिक चरित्र
देखाउने र अशोभनीय ब्यवहरा गर्ने तथा न्यायिक निष्पक्षतामा शँकाको वातावरण निर्माण
गर्न खोज्जेलाई आन्तरिक रुपमा नै काम गर्ने वातावरण नदिएर नैतिक शङ्कटका साथ
राजनीमा गर्न बाध्य पार्न सकिन्छ । महाअभियोगलाई पर्खिरहनु हुदैन’’ भन्ने उनको दृढ बुझाइ रहेको हो (डि नेपाल २०७९।०५।२६) । Justice must be seen to be done भन्ने मान्यतालाई आत्मसात गरेर न्याय गर्नुपर्छ
र न्यायाधीशपनि आहार बिहार र व्यवहारबाटै न्यायशील प्रमाणित हुनुपर्छ अर्थात ‘’Judge must be seen impartial in his every act and
behavior’’ भन्नेमा उनको चट्टानी अडान रहेकै हो र रहिरहेकै पनि छ ।
भित्री रुपमा संगत गर्ने मानिसलाई थाहा हुन्छकि
कुन मानिस के कति पानीमा छ र के कति असल बानीमा छ । बाहिर असल कुरा गर्ने भित्र
दुराचार वा ब्यभिचार वा भ्रष्ट्राचार वा अस्वभाविक व्यवहार गर्नेहरुबाट घर, समाज र राष्ट्र नै पीडित रहेकोले न्याय र
निष्पक्ष न्यायको चर्का कुरा गर्ने तर व्यवहारमा आफू ठीक उल्टो गर्ने वा उल्टो
गर्नेहरुलाई संरक्षण गर्नेहरुको सँख्या न्यायपालिका भित्र मनग्गे छ। राजनीतिक वाद. क्षेत्रवाद, जातिवाद, लिङ्वाद, धनवाद, मनवाद आदिको
प्रभावले यस बिचमा भएका
न्यायाधीश नियुक्तिहरुको पाटोलाई अध्ययन गरयो भने
छर्लङ हुन्छ यो कालो आयाम। माननीय न्यायमूर्ति सिंह अटूट प्रतिज्ञा र असल बानी तथा
जे देख्छन त्यही बोल्ने बोल्ड बिचारका, औपन हर्टेड एक
उदाहरणीय अपवादरुपी न्यायमूर्ती हुन । मन्द हाँसो मिश्रीत, मुखाआकृतिले बिस्तारै बोल्ने र ब्यबहारमा मानवीय
सम्बन्धको प्रेमिलभाव खोल्ने अनि कर्तब्यवोधको शिक्षा दिने उनका वाणीहरु सधै
सुनीरहूँ लाग्ने हुन्छन । सिंह थर राख्दै वा पाउदैमा गर्व गर्ने धेरैजनहरु भन्दा
फरक हुन उनी । खास कुनै पनि कुरामा दम्म नभएका,सधै असल कामका लागि
चिन्तनशिल र कर्मशिल उनको व्यक्तिगत समाजिक र सार्वजनिक जीवनलाई
गहिरिए अध्ययन गर्ने होभने उनलाई सचेतनायुक्त कुशल र क्षमतावान अभिभाकीय भूमिकामा
रहेका एक उच्च व्यक्तित्वका रुपमा शिर निहुराएर सम्मान गर्न केही सोँचिरहनु नै
पर्दैन ।
कुनैपनि जीवनका
कर्महरु सबै र सधै उज्याला हुन धेरै कठीन हुन्छ। फेरि मानवीय जीवनमा कुनैपनि मानिस
सबैका लागि प्रिय र सकारात्मक हुन पनि सक्दैन । जीवन र जगत प्रतिको बुझाइ,आहार, बिहार र ब्यबहारका विभितताले हरेकका बिचमा केही न केही भिन्नता देखिनु
वा हुनु पनि स्वभाविक हो । माननीय सिंहप्रतिको मेरो व्यक्तिगत बुझाइमा उनी जसले जे
भनोस, आफ्नो मान्यताका एक अडिग यात्री हुन । अरुको
आलोचना पचाउन सक्ने, स्व मूल्याङ्कन
गर्न सक्ने र आफ्नो स्व-सधै बचाउन सक्ने क्षमताका
धनी पनि हुन ।
नेपालगन्जको
एमपी स्कूलमा पढ्ने तर भारतको बहराइचमा परीक्षा दिनु पर्दा भारतको राष्ट्रपति देखि
भारतीय गुनगान नै पढेर पास गर्नुपर्ने ततकालिन बाध्यताप्रति उनमा गंभिर आपत्तिको
बिषय बनेको पाइन्छ । यो उनको राष्ट्रवादी सोँचको यो एक प्रमाण हो ।
ठीकलाई ठीक र
बेठीकलाई बेठीक भन्ने उनको न्यायशील आचार र ब्यवहार न्यायाधीशबाट अवकाश पाएपछि पनि
जारी छ । बलियो मिडियाका पक्षधर सिंह जँहा मिडिया कमजोर हुन्छ, त्यँहा लोकतन्त्र कमजोर हुन्छ भन्ने मान्यतामा अडिग
देखिन्छन । कान्तिपुर दैनिकका मालिक कैलाशनाथ सिरोहिया पक्राउ गरेको बिषयमा
न्यायिक र लोकतान्त्रिक दुबै हिसाबले ठिक भएन (उज्यालो) भन्ने र रबि लामिछानेको सहकारी प्रकरणमा रबिलाई
राजनीतिक मान्छे नै होइनन भन्दै राजनीतिक मान्छे सफा हुनुपर्ने सफा नदेखिएकोमा
चिन्ता ब्यक्त गर्दै बलमिचाइपूर्ण व्यवहारका रुपमा लिएको बिषयलाई उदाहरणका
रुपमा अगाडि सार्न सकिन्छ । उनलाई कट्टर राजतन्त्रवादी उहिल्यै देखि भनी आएको बिषय
हो । उनले मानी आएको बिषय पनि हो यसमा आजपनि उनी खुलेरै भन्न किञ्चित शँकोज
मान्दैनन । गणतन्त्र त नभनौ लोकतन्त्र, भन्ने
शब्दावलीहरु उनबाट आइरहन्छ । यसबाट राजतन्त्रप्रतिको मोह र आशा उनिमा अझै छ भन्ने
बुझिन्छ ।
मरिसकेको
राजतन्त्र मै सदा मन दिइयोभने समयसान्दर्भिकतामा ह्रास हुन जानेछ । लोकतन्त्र
मान्ने तर गणतन्त्र भन्न नरुचाउने होभनेपनि बिरोधाभास हुन जानेछ । समय
सान्दर्भिकताबाट र आधुनिक चेत र चेतनाबाट टाढा रहन कठीन अवश्य हुन्छ नै । शासन
प्रशासनमा तन्त्र भन्दा पनि ब्यक्ति (ततकालीन) शासक प्रशासक बेठीक भएको अनुभूति समकालीन नेपालीहरुले
गरिरहेको सत्यलाई पनि अन्यथा कसरी भनौ ? वस्तुतः यो अर्थात
राजनीतिक चेत, चेतना तथा ब्यक्तिगत व्यवहार नितान्त व्यक्तिगत
स्वतन्त्रताको बिषय हो । त्यसैले एक सक्षम न्यायाधीशका बारेमा उनको जीवन र कर्मलाई
राजनीतिक अर्थ लाग्नेगरी यो भन्दा बढी समीक्षतात्मक टीप्पणी गर्नु लेखकीय सकारात्क
धर्म हुदैन र सहि न्याय पनि नहुने सम्झेर श्रद्देय पाठकहरु र विव्द्तजनहरुमा
प्रसङ्ग बदल्ने अनुमति चाहन्छु ।
न्यायाधीशहरु
न्यायाधीश समाज र पूर्व न्यायाधीश समाज गरी दुई अलग अलग संगठनहरुमा संगठित हुनुमा
खासै चिन्ता देखिएन उनमा । सिदान्ततः यसोहुनु स्वतन्त्र न्यायपालिकालाई बलियो
बनाउनमा शक्तिको विभाजन हुनु र कमजोर अवस्था कायम राख्नु हो भन्ने मेरो बुझाइ
रहेकोले यसमा फरक धार रहेको छ, जो स्वभाविक
हो । न्यायाधीश समाजले सबैलाई समेट्न नसकेको र आन्तरिक रुपमा देखाएको शक्तिमुखि
व्यवहारपनि एक कारण हो भन्ने केहीको बुझाइ छ । सर्वोच्च अदालतमा बहालवाला दोस्रो
बरियताकान्यायाधीशलाई न्यायाधीश समाजको स्वतः अध्यक्षमा राख्ने सरहको व्यवहार
सामन्तवादी परम्परा सहितका केही पक्षहरु बिचारणीय नै छन । यसको व्यवस्थापनमा गणेश
प्रबृतिहरु हाबी हुनु पनि अर्को कारण बनेको छ । सारमा बहालवाला र अवकाश प्राप्त न्यायाधीशहरुलाई
यथासंभव एउटै छातामुनि ल्याउन पहल गर्नमा सिंह केही पछि परेको लाग्दछ ।
उनका लेख, भाषण, बिज्ञप्ति र
विविध प्रस्तुतिहरुको अध्ययन गर्दा र उनलाई नजिकबाट बुझ्ने कोसिस गर्दा न्यायालयको
मुद्दा र शुद्दिकरणको विषय पूर्व न्यायाधीश समाज को निरन्तरताको एक अहम् बिषय
संस्थागत मान्यता र व्यक्तिगत बुझाइका रुपमा रहेको लाग्दछ । न्यायमा श्रीयन्त्रका
भक्त, भगवतीका उपाशक, जीवन पर्यन्त
सक्षम स्वतन्त्र र प्रभावशाली न्यायपालिकाका चिन्तक र कर्मशील कानूनी साहित्यमा
सबैका गुरु श्रद्देय टोपबहादुर सिंह देख्दै सम्मानले झुक्न बाध्य पार्ने एक दुर्लभ
न्यायिक सुपात्र हुन । उनले गरेका जीवनका सुकर्महरुले मरेर पनि बाँचिरहने
ब्यक्तित्व निर्माण गरिसकेका छन । सुकर्महरुको माध्यमबाट एकप्रकारले अमरत्व कायम
गरिसकेका छन । आशा र बिश्वास लिन सकिन्छ कि यसमा अझै उचाइमा जाने छन । स्वनामधन्य, ज्ञानवान तथा उदाहरणीय एक सुपात्र प्रति सादर नमन ।
२०८१।०८।०३ प्यूठान ऐरावती १ /हाल नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment