टिननिन्न गेटको घण्टी बज्यो
नागपञ्चमीऽ
टाँस्ने हैन नाग ?
धर्के चन्दनधारीले टुप्पी हल्लाउदै सोधे
म अबाक भएँ
टाँस्न भने यो मनले मान्दै मानेन
मेरी हजुरआमाको घाँसको भारीमाथि बसेर दलानैमा आउने
र मै माथि मुख बाउने कोब्रालाई
म कसरी मेरै शिरमाथि पर्ने गरी दैलामा टासूँ । १।
म सँगै कक्षा छ मा पढ्ने
मेरो मित्र
नरे कामीको साइलो छोरा
चन्द्रेको ज्यान आरन मै लिने
हरित सर्प पनि त आखिर सर्प नै हो
चन्द्रे मेरै अगाडी डिल्ली म मर्ने भएँ
डिल्ली मलाई सम्झीरहे है भन्दै
प्राण पखेरु हालेको मैले आफ्नै आँखाले देखेको !
म कसरी त्यो भयानक रौद्रतालाई बिर्सेर
त्यही हरितलाई म कसरी मेरै दैलामा टाँसू ? ।२।
देवता भन्दै
राप्तीको किनारबाट बाजागाजा सहित बोकेर
गाउँमा लगी मन्दिरमा प्रतिस्थापन गर्ने
जलुकेका पन्थीलाई लखेट्ने
सिद्धारे माइलालाई डस्ने
त्यही अजिँगरलाई म कसरी मेरै दैलामा टाँसू ? ।३।
माली गाइको कल्चौडामा तुरलुँग झुण्डिएर
घटघटी दूध पिउने र गाइलाई भकारैमा ढाल्ने
धमीललाई म कसरी मेरै दैलामा टाँसू ? ।४।
फ्वाँ फ्वाँ गर्दै परैबाट हाम्फालेर
आले माइलालाई डस्ने त्यो करेत
घासँमा लुटपुट्टिएर बस्दै
हैरानेकामीको गुप्ताँगमा पस्ने गोमन
सुस्तरी सिरानीमाथि चढेर
गजक्क जिउ फुल्याउदै
न्वरान गर्नै बाँकी रहेकी पल्ला घरे साँइलाकी छोरी
अनामिकालाई च्याँ भन्नै नपाए निली बनाउने त्यो सेपे
सबै सबै सर्पै हुन् भन्ने जान्दा जान्दै
म कसरी मेरै दैलामा टाँसू ? ।५।
नागपञ्चमीको बहानामा मैले
मान्छे डसुवाहरुलाई मेरो प्रबेशद्धारमा कसरी राखुँ ?
सकेसम्म सपनीमा पनि नचाहने मेरो मृत्युलाई
बिपनीमै म डाकूँ कसरी । ६।
भो मलाई इश्वरको नाँउमा
मान्छे खाने सर्प चाहिदैन
ए सर्प पुज्ने मनुवाहरु हो
ए सर्प पुजाउने पण्डितजीहरु हो
मलाई तिमीहरुको स्वर्ग चाहिदैन
मान्छेहरुमा भ्रम छरेर
मान्छेहरुलाइ डस्ने सर्पलाई
मेरो घरैदैलोमा टाँस्न पाइदैन ।
किनकी
म सर्पलाइ दैलोमा टाँसेर
वा सर्पलाई सजाउदै कोठीमा राखेर
मान्छे डस्ने मान्छे बन्न चाहन्न ।
म मान्छे रुपी सर्प
सर्प रुपी मान्छेहरुको
त्रासदिबाट मुक्ति चाहन्छु ।
मान्छे भएर बाँच्न
केवल यथार्थ भएर बाँच्न
अरुको दुखमा रुन र सुखमा
हाँस्न मात्र चाहन्छु
अर्थात
मलाई सर्प बन्नु छैन
म शेषनाग, करेत, गोमन आदि भएर हैन
केवल असल मान्छे भएर बाँच्न चाहन्छु ।
(सन्दर्भ नागपञ्चमी २०७० साउन २७ बिरौटा
पोखरा)
No comments:
Post a Comment