Sunday, 17 August 2025

कर्मचारी सञ्चय कोषः सञ्चयकर्ता एक: दृष्टि अनेक

 

सन्दर्भ ११)   बिषय प्रबेशः

      ‘’कर्मचारी सञ्चय कोष’’-कर्मचारीहरुले सञ्चित गरेको रकम राखिदिने सँस्था । कर्मचारीहरुसँग सम्बन्धित रकम कलमको मात्र कारोबार र ब्यबस्थापन गर्ने बित्तिय प्रकृतिको सेवामूलक सँस्था । अर्थात कर्मचारी (अहाए खटाए अनुसार सरकारी ओहोदामा काम गर्ने वा प्रतिष्ठान वा सँस्थामा काम गर्ने जागिरदार वा कामदार मानिस) हरु वा कर्मचारीहरुको तर्फबाट जोहो गरेको रकम राख्ने ढुकुटी हो सञ्चय कोष ।

तलवको अनुपातमा थोरै रकम महिनैपिच्छे कट्टी गर्दै सेवामुक्त भएपछि आवश्यक (तोकिएको- लेखक) ब्याजसमेत जोडी स्थायी कर्मचारीले धन जम्मा गर्ने स्थान विशेष (वसन्तकुमार शर्म्मा -नेपाल नेपाली शब्दसागर -पृष्ठ १२७०) । सँक्षिप्तमा यसलाई ‘’सञ्चय कोष कट्टी रकमको लेखाङ्कन, सञ्चयकर्ता सापटी, कर्जा प्रबाह र ब्यबस्थापन हुने कार्यालय ‘’ का रुपमा बुझिन्छ । कर्मचारी वा कामदारहरुले पाउने तलवको निश्चित प्रतिशत (हाल १० प्रतिशत) रकममा सोही बराबरको रकम रोजगारदाता संस्थाले थपी मासिक रुपमा यसमा जम्मा गरिन्छ । भनिन्छ, आ आफ्ना फरक विशेषताकासाथ सञ्चय कोष सम्बन्धी ब्यबस्था सँसारका प्रायः सबै देशमा छ ।

)   स्मरणर सम्मानः

      नेपालमा ‘’सुरक्षित भविष्यका लागि सञ्चय कोषको ब्यबस्था गरौ’’भन्ने सामाजिक सुरक्षाको अवधारणासहित बि. सँ १९९१ सालमा ‘’सैनिक द्रब्यकोष’’ को स्थापना भएको अवसरलाई कर्मचारी सञ्चय कोष सम्बन्धी अवधारणाको बिजारोपणका रुपमा लिइएको छ । बिकासको क्रममा २०११ मा ‘’निजामती प्रोभिडेन्ट फण्ड’’, २०१७ सालमा अर्थ मन्त्रालय अन्तरगत ‘’कर्मचारी सञ्चय कोष विभाग’’ हुँदै २०१९ सालमा ‘’कर्मचारी सञ्चय कोष’’ का रुपमा आफ्नो साँगठनिक स्वरुपमा बैधानिकता (Statutory recognition ) प्राप्त गरयो । आज सरकारी वा पूर्ण रोजगारी मात्र होइन, गैर सरकारी र आँशिक रोजगारी हुदै स्वरोजगारीको हक्मापनि सामाजिक सुरक्षाको अवधारणाको बिकास भएको छ ।

यसले प्रारम्भमा निजामति, जँगी र प्रहरी कर्मचारीका लागि लामो समय काठमाण्डौ सुन्धारा स्थित केन्द्रिय कार्यालय र डिल्लीबजार स्थित शाखा कार्यालयबाट सञ्चयकर्ताहरुलाई सेवा प्रवाह गरेको हो । यतिवेला केन्द्रिय कार्यालय पुलचौक ललितपुरका अतिरिक्त धनकुटा, बिराटनगर, हेटौडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा यसका शाखा कार्यालयहरु र पुल्चोक, सिँहदरवार तथा ठमेलका सेवाकेन्द्रहरुबाट सेवा प्रबाह हुने गरेको छ ।

      २०३८ जेष्ठ १५ गतेबाट सञ्चय कोष कट्टीको यात्रा प्रारम्भ गरेको यो पङतीकारकालागि सञ्चय कोष जीवनका अनेक कठीन मोडमा सहारा बनेको छ । हरेक दुईदुई बर्षमा जम्मा भएको रकम झिक्दै, त्यसको सदुपयोग यात्राले एकमानो खाने र एक न्यानो ओत्ने अवस्था यसकै जग हो । समय थियो त्यसबखत, रु २५५ मासिक तलव र रु १०० महँगी भत्ताको रकमले ‘’महिनावारी चल्ने मात्र होइन, केही रकम ‘’महिनापारी’’ सम्म पुग्दथ्यो । बीसतीस हजारले पनि केही हुन्थ्यो । तीन दशक अघिसम्म पचासहजार पुग्यो भने त तराईका शहर नजिक एककठ्ठा नै जमिन आउथ्यौ । भन्छन, तीसको दशकसम्मत पचास हजारले काठमाण्डौकै रिँगरोड नजिक जम्थ्यो घरघडेरी । कठै ! आज त पचास हजारले गतिलो ओरापरी (एकजोर कपडा) पनि आउदैन । एक छाक पो हुन्छ, पाँचतारे खान्गीदार परिवार र हुने खानेहरुका लागि ।

बि सँ २०४१ पुसतिर मध्यमाञ्चल क्षेत्रीय अदालतमा नायबसुब्बाको जागिरे जीवन । सहकर्मी साथी गौतम खड्काले ततकालिन मुख्य न्यायाधीश स्व.हिरण्यश्वरमान प्रधानको सञ्चयकोष समर्थन (रकम जम्मा भएको प्रमाणित हुने सानो डायरी ) किताब भरेर ल्याएपछि देखाउदै भने ‘’हेर्नुस त बुढाको सञ्चयकोष जम्मा रकम । आश्चर्य मान्दै सञ्चयकोष समर्थन किताब देखाए । त्यो वेलापनि झण्डै तीनलाख जति ! फेरि उनैले भने ‘’जागिर खाएदेखि एकपटक पनि झिक्न पर्ने होइन, हुनेखाने, ठुला पदका, हामी जस्तो दुईचार हजार भयोकि झिकी हाल्नुपर्ने होइन क्यारे उनलाई…..‘’

उनी हाँस्दै समर्थन किताब बुझाउन माथि चढे । आफ्नो त्यति रकम जम्मा हुने सपना पनि देख्न सकिन मैले । त्यसबखत देख्न नसकेको सपना आफ्नै लागि बिपना बनेर आएको धेरै भयो । धेरैका लागि जहान, परिवार, घर, सँघार सबैतिर बहार ल्याउने जीवनको आधार सञ्चय कोष रकम बनेको छ ।

सदुपयोग गर्ने असँख्य सञ्चयकर्ताहरुको बिबाह, ब्रतबन्ध, घडेरी, हुदै नयाँ घर र बन्द ब्यापारको आधारपनि यही सञ्चय कोष बनेको छ । सदुपयोग नगर्ने वा सदुपयोग गर्न नजान्नेहरु थोरैका लागि ……के लाई नरिवल पनि भएकोपनि होला । कसैका हातबाट जुवाको खालमा गएहोला । कसैका लागि नरसिङ टवाकको साथी भएहोला । कसैको इष्टमित्रकै धोकामा वा कसैको मोजमस्तीको पोकामा सक्किएको पनि होला   जाने न श्रीखण्ड हो,  न जाने त हरेक काठको टुक्रो खुर्पाको बिँड बराबर हुन्छ जेपनि । तर धेरै चिन्ताको पाटो छैन यसभित्र । चामलका बियाँसरीले मात्र यसको सदुपयोग नगरेका होलान । पङ्तीकारको भोगाई र बुझाइमा अधिकाँश सञ्चयकर्ताका लागि कर्मचारी सञ्चय कोष जीवन सहारा बनेको छ । अधिकाँशको भित्रीमनले क्याबात ! क्यावात !! कर्मचारी सञ्चयकोष भनेको छ ।

यो त यस्तो कामधेनू गाई हो, जस्लाई महिनामा एकपटक मात्र घाँस हाले हुने । न गोबर सोत्तर गर्नुपर्ने । न औषधि उपचार । न जाडो भयो भनेर घाममा सार्नुपर्ने । न चिसो हवा छेक्नकालागि खरपराल वा स्याउलाले बार्नुपर्ने । न लात्तीले हानेर रित्तै गाभू (कोसी वा दुधेलो वा ढुँग्रो) घरभित्र ल्याउनु पर्ला भन्ने डर । न त बिनासित्ती हात गोडा नै दुखाउनु पर्ला भन्ने पिर।बिना श्रम दुधै दुध । बिना दुःख्ख खिरै खिरै । मनचिन्ते कामधेनू गाई ।

) समकालिन सेवाका प्रबाहहरुः

      सुरुका दिनमा जागिर छोडेपछि जम्मा भएको रकम र सञ्चयकोषले थपिदिएको ब्याजको रकम अवकाश पछि एकमुष्ठ लिने दिने जिम्मा जमानीको सँस्था सरहको बुझाइको यो सँस्था ५५ बर्षमा बर्बरी फल झार्ने कल्पबृक्ष सरह भएको छ । लिन चाहे वा आवश्यक परे हरेक वर्षमा जम्मा भएको रकमको ९० प्रतिशत विशेष सापटी दिन्छ । एक करोडसम्म घर सापटी दिन्छ ।२५ लाखसम्म शैक्षिक श्रृण, सरल चक्रकर्जा रु ३० लाखसम्म, रु २५ लाखसम्म घरमर्मत सापटी के के सापटी हो के के ?सँचित रकममा झण्डै ७ प्रतिशत ब्याजर हरेक वर्ष मुनाफाको रकम थप 

एकलाख पच्चिस हजारसम्मको दुर्घटना मृत्यु वा पूर्ण अङ्गभङ्ग सहायता, सेवाकालमा मृत्यु भए ३० हजार, काजक्रिया खर्च, साधारण उपचारमा २५ हजार र कडा रोगमा ५० हजार सुत्केरी तथा शिशु स्याहारमा प्रतिसन्तान ७५०० दुइसन्तानसम्मका लागि बिमा । यसरी क्रमशः सामाजिक सुरक्षाका आयामहरु थपिदै गएका छन ।

एक जमाना थियो नेपाल राष्ट्रबैङ्क र कर्मचारी सञ्चय कोष जस्ता भरिला र ओजिला सँस्थाहरुमा काम गर्नेहरु समान तहकालागि त के एकतह मुनिसम्मपनि निजामति सेवातर्फ आकर्षित हुने । विशेषतः अधिकृत स्तरको जागिरका लागि ति क्षेत्रमा आठौँ तहसम्मका जागिरेहरुपनि मिलेसम्म सरकारी जागिर मै फर्कन्थे । यसमा सरकारी भनेपछि सरकारी नै हो । लोकले पत्याउछ । सरकारी जागिर भनेपछि अर्कै शान आउँछ भन्ने धारणाले घरजम गरेको थियो । तर पचासको दशकपछि त्यसम क्रमशः हास आएको छ । आजका केही नवोदित युवा युवतीहरुमा ‘’कम कामः धेरै दाम’’ ‘’चिरिच्याठ्ठ वान्कीः मजेदार खान्गी’’ को मानसिकता बढ्दै गएको छ ।

कर्मचारी सञ्चय कोष सार्वजनिक सेवा आकर्षणको शिखरमै छ । सेवाग्राहीहरुको मनको मझेरीबाट ओझेलमा परेको छैन । पेशागत सँगठनहरु नेपाल बित्तिय सँस्था कर्मचारी सँघ (बि स २०४७), सञ्चय कोष कर्मचारी सँघ (बि स २०५१), नेपाल राष्ट्रिय कर्मचारी सँघ (बि स २०६४)) छन तर यीनीहरुले पेशागत सँगठनको लक्ष्मणरेखा नाघिसकेका छैनन । प्रबेश गर्नेहरु अधिकाँश जीवन पर्यन्त (Lifelong commitment) भावनाले ओतप्रोत छन । अर्थात सञ्चय कोषको भविष्यलाई आफ्नो भविष्यसँग दाँजेर हेर्नेहरु छन । मौकामा चौका हान्ने एकआध च्याँखे दाउधारीहरु छैनन सायदः । बृति बिकासका तमाम आयामहरु र ब्यक्तित्व बिकासका अनेक आधारहरु सञ्चय कोष सम्बध्द कर्मचारी रमाउने र जीवन पर्यन्त आशन जमाउने आधार बनेका छन ।

सफल सँगठनका लागि सँगठित, समर्पित र दक्ष जनशक्तिसँगै सफल ब्यबस्थापकीय नेतृत्व सँगठनको दीर्घजीवनको सञ्जिवनी बन्दछ । सहि नीति, कुसल नेतृत्व, उपयुक्त थिति, सरल कार्यविधि, सेवाग्राहीमैत्री कार्यशैली रइमान्दार तथा दक्ष जनशक्ति हरेक सँगठनको सफलताका आधारसूत्रहरु हुन । जसको न्यूनतम आपूर्ति र ब्यबस्थापनबाट कर्मचारी सञ्चय कोष नेपालमा रहेका अरु सार्वजनिक सँस्था भन्दा धेरै माथि र अगाडि छ ।

सरकारको काम कैल्यै जाला घाम’’को रोग अझै पसेको छैन । ‘’हाजिर गरे तलव कfम गरे भत्ता’’ को ऐजेरु अझै सँचयकोष रुपी बृक्षडालीमा बसेको छैन । यँहा अझै भनसुन (नीति नियम छोडर शक्तिको बलमा काम हुने वा गराउने) मनसुन (जता जता सत्ताको हवा लाग्दछ उतै उतै बहने प्रबृति) र धनसुन (सेवा प्रबाहकालागि गैर कानुनी लाभको लालच) घर जमाएको छैन । धेरैहदसम्म नीतिले काम हुन्छ  । थितिकासाथ हुन्छ । यही यस्को सुवास बनेको छ ।

) सुनमा सुगन्धको लालसः

सबै अर्थमा पूर्णता असम्भव प्रायः हो । अर्थात सम्पूर्णतामा पूर्णता कल्पनाको बिषय हो । प्रगतिको बाधक पक्ष हो । क्रमशः अग्लाई दीगो उन्नति मानिन्छ । सञ्चयकर्ता सञ्चय कोषको अधोगति वा अवन्नति चाहदैनन । कल्पना पनि गर्न सक्दैनन । हरेकको मनमा ‘’सञ्चय कोषको सकारात्मक बढोत्तरी होस’’ भन्ने नै हुन्छ । फुलोस फलोस सधैभरी भन्ने हुन्छ ।

मान्छेको मन न हो । मुल्यवान पँहेलो धातु अर्थात सुनलाई सेफ वा हत्केलामा राखेर वा छातीमा टाँसेर पनि उस्लाई पुग्दैन । सिमा र स्थिरता नभएको मान्छेले भन्छ रे’’ यसमा सुगन्ध भइदिए ! सुङ्दै हेर्दै, राख्दै झिक्दै, सुङ्दै राख्दै झिक्दै सुङ्दै ….क्या रमाउने थिएँ’’ ! आज मेरो मनपनि सिमा र स्थीरताको अभावमा अधैर्य बनेको छ र त्यसैगरी ‘’सुनमा सुगन्ध भइदिएको भए’’ भनिरहेको छ ।

कर्मचारी सञ्चय कोषमा सुगन्ध थप हुनका केही निम्न सन्दर्भहरु दृष्टि पुग्नु उपयुक्त हुनेछः

पहिलोः सञ्चयकर्ताको सुविधामा समानता, बृद्दी, बिस्तार र सुदृढिकरणः

) घर कर्जा तोकिएका शहरी क्षेत्र वा शहरोन्मुख क्षेत्र जग्गा भएकाले मात्र पाउने नीति पुनराबलोकन गरी वर्तमान नीतिमा पुनराबलोकन गरी सबै स्थानमा जन्मे हुर्केका र रहेका सञ्चयकर्ताहरुलाई उपलब्ध हुनुपर्छ । शहरमुखी सापटी वा कर्जा नीतिले बढ्दो शहरीकरणलाई बढावा दिएको छ । गाँउ अपहेलित भएको छ । कैयौ सञ्चयकर्ताहरुको जन्मेको माटो रोयको छ । ‘’सेवा निबृतपछि गाँउ जाउ ।  गाँउकै माटो समाउ । गाँउमै सेवा गरेर रमाउ’’ भन्ने नीति मुलुकी आवश्यकता र सञ्चयकर्ताहरुको चाहना हो ।

) सञ्चय कोषबाट हुने सेवा प्रबाहको केन्द्रिय भाव सकेसम्म प्रदेशको रकम प्रदेश मै खर्च हुन सकोस भन्ने सँघीय मान्यताको कसीबाट हुन राम्रो हुन्छ ।

) सञ्चयकर्ता वा सञ्चयकर्ताका एकाघरका सन्ततिहरुले कुनै ब्यबसाय गर्न चाहेको अवस्थामा लिन पाउने गरी ‘’सञ्यकोष ब्यबसायिक कर्जा सुविधा’’ थप गर्ई सेवानिबृत जीवनपछि पनि आत्मनिर्भरता बढाउने एक दीगो कार्यक्रम बन्ने थियो ।

) बितरण गर्ने खुद नाफाको प्रतिशत बृद्दी गर्नु न्यायसँगत हुन्छ । स्रोतको कमी छैन । भविष्यमा कमी हुने अवस्थापनि छैन । जति सञ्चित भएको छ, त्यस्को समुचित ब्यबस्थापन हुनु नै यसको सुखद भविष्यका लागि काफी छ । जोखिम ब्यबस्थापन खर्चबाहेक जगेडा कोषमा रकम थप्नु जरुरी छैन । सञ्चयकर्ता प्रायः सबैको चाहना छः जतिसक्दो रकम सञ्चयकर्ताको हातमा परोस ।

) सबै सञ्चयकर्ताहरुलाई समान अङ्कमा वार्षिक रुपमा चाहाडपर्व खर्च, पारिवारिक स्वास्थ उपचार खर्च, पोषाक खर्च आदि सुविधाहरु थपेर सामाजिक न्यायको आयामलाई थप सबोधन हुन सक्दछ ।

) सबै सञ्चयकर्ताहरुका लगानीका अवसरहरु समान हुनुपर्छ । समानहरुका बिच समानता, समानता सम्बन्धि विधिशास्त्रीय मान्यताको केन्द्रीय भाव हो । कर्मचारी सञ्चय कोषमा सेवा गर्ने सेवकहरुको अन्य सुविधालाई सम्मानजनक र समयानुकुल बनाउदै, अपरतामाकोशी जस्ता लगानी गर्ने योजनाहरुमा शेयर लगानीको अवसरमा परेको असमानताको चोट फेरि नदोहोरयाउनु राम्रो हुनेछ ।

            दोस्रोः  उपलब्ध सुविधा ब्यबस्थापनमा थप प्रभावकारिता

क)  सुविधा ब्यबस्थापनमा सहजता र प्रभावकारिताको मुख्य आधार भनेको सँगठनात्मक चुस्तता हो । मुलुक सँघीय सँरचनामा गएको बर्तमान अवस्थामा यसलाई केन्द्रिय कार्यालयका अतिरिक्त ७ वटा प्रादेशिक कार्यालयहरु र आवश्कयताअनुसार शाखा कार्यालय एवम सेवाकेन्द्र रहनेगरी पुनः सरँचना गर्नु उपयुक्त हुनेछ ।

ख)   विशेष सापटी वा श्रृण कर्जाको भुक्तानीमा बार्षिक ब्याज तिर्न नसके ब्याजको ब्याज लिने अवस्थालाई नीतिगत रुपमा स्विकार गरिएको भन्ने देखिन्छ । सावाँ रकमको ब्याज लिने हो । ब्याजको ब्याज लिने होइन । अझ आफैले जम्मा गरेको रकम सापटी वा कर्जा लिएको तर कारणबस ब्याज किस्ता तिर्न नसकेकोमा पनि ब्याजको ब्याज तिर्नुपर्ने बाध्यतालाई सामाजिक न्यायको परिभाषा भित्र पर्दैन । यसलाई ब्याज खाताका रुपमा अलगै राखी ब्यबस्थापन गर्न सकिन्छ । अटेरी गर्नेको हक्मा दण्डात्मक नीति (ब्याज खाताको अङ्कमा केही प्रतिशत शुल्क थप गरी लिने) अबलम्बन गर्न सकिन्छ ।

ग)   विशेष सापटी र ऋण रकमको ब्याज र जम्मा भएको रकममा सञ्चय कोषले दिने ब्याजको अन्तर करिव अढाई प्रतिशतले रहेको छ । सामाजिक सुरक्षा एवम समन्यायको मान्यतामा आधारित सेवामूलक कर्मचारी सञ्चय कोषले सेवा शुःल्कका रुपमा केही बढी लिनुसम्म स्वभाबिक होला तर नाफामूलक हिसाबमा रहेको ब्याज अन्तर नीतिमा पुनर्बिचार हुनु पर्ने देखिन्छ ।

घ)   कोष कट्टी नपठाउने वा पठाएपनि ढिलो गरी पठाउने कारणले सञ्चयकर्ताहरु मर्कामा परेका छन । ब्याजको मर्कामा र पाउनु पर्ने अङ्कमा सापटी वा ऋण नपाउने अवस्थाको मर्कामा  । त्यस्तोमा ब्याजसहितको किस्ता रकम जम्मा गर्न लगाउने र विभागीय कारबाहीका लागि लेखी पठाउने कानुनी ब्यबस्थाको प्रभावकारिता कस्तो छ ? सञ्चयकर्ताहरु सूसुचित हुन सकिरहेका छैनन । सञ्चयकर्ताहरु प्रभावकारी कार्यान्वयन र सूचनाको हकको सम्मान चाहन्छन ।

ङ)    SMART परिचय पत्र, SMART CARD, ONLINE PAYMENT SERVICE …..जस्ता सूचना प्रविधिका आधुनिक सुविधाहरुको माध्यमबाट सेवा प्रबाहको यात्रा झन सफल हुनेछ ।

च)  यातायातको सुगमता र सेवाको सरलताले जतिवेला पनि जहाबाट पनि सेवा लिन सहज हुने हुदा पोखरा बाहेक अन्यत्र रहने प्रादेशिक कार्यालयहरु यथासम्भव पूर्व पश्चिम राजमार्गको नजिक हुनुपर्छ । कम्तिमा पोखरासहित सबै प्रादेशिक कार्यालयहरुको आफंनै भवन हुनु सेवाको स्थायित्व र सरलताको अर्को आधार हो ।

 

तेस्रोः  वर्गीय न्यायमा अधिकतम न्यूनिकरणको अपेक्षाः

      वर्गिय समाजमा न्यायको वर्गिय रुपको अस्तित्वलाई नचाहेरपनि स्विकार गर्नुपर्ने अवस्था छ । धेरै हुनेले धेरै खाने, थोरै हुनेले थोरै खाने र हुदै नहुनेले खाँदै नखाने भन्ने सोच परम्परावादी सोच हो । समकालिन सोच भनेको नहुनेहरुलाई हुने खाने बनाउनु पर्छ र हुने खानेबाट लिएर नहुनेलाई राज्यले दिनुपर्छ भन्ने हो । सबैतहका सञ्चयकर्ताहरुलाई तलवको समान प्रतिशतको आधारमा दिने सापटी वा कर्जा नीतिले वर्गिय न्यायको चरित्रलाई प्रश्रय दिइरहेको हुन जान्छ । यसलाई विशेष सापटी र सरल चक्र कर्जा जस्ता सुविधाहरु उपलब्ध गराउदा सञ्चयकर्ताहरुले पाउने तलवको अङ्कको फरक फरक प्रतिशतमा लगेर ब्यबस्थापन गर्न सकिन्छ ।

   चौथोः कोषको सञ्चितिको सुरक्षित लगानी र विश्वसनियतामा अभिबृदि

            सञ्चित रकमको सुरक्षित लगानी र विश्वसनीयतामा सङ्कट आउनेतर्फ सञ्चयकर्ताहरु बढी चिन्तित छन । विगतमा केही मिलहरु, केही उध्योगहरु र केही बैङ्कहरुलाई प्रबाह गरेको ऋण जोखिमीमा परेको ब्यथाले वर्तमानलाई पनि पिरोलिरहेको छ ।

कर्जा प्रबाहका कुनैपनि सन्दर्भहरुमा ब्यापक अनुसन्धान, सम्भाब्यता एवम जोखिमीहरुको पहिचान, पर्याप्त धितो सुरक्षण, नियमित र प्रभावकारी अनुगमन यसमा अबलम्बन गर्नुपर्ने र अबलम्बन गर्न सकिने उपायहरु हुन ।

मूलतः जनशक्ति ब्यबस्थापन, साधन र स्रोतको ब्यबस्थापन, समय ब्यबस्थापन र बित्तिय ब्यबस्थापनका समस्याहरुलाई समयको प्रबाहसँगै यथोचित रुपमा सँबोधन गर्न सकिएन भने कर्मचारी सञ्चय कोष रुपी धरोहरमा सङ्कट आउने सभ्भावना बढ्छ । ब्यबस्थापन पक्षको क्षमताले मात्र सङ्कटको पूर्व पहिचान, सवोँधन र सफल ब्यबस्थापन हुन सक्छ । अतः ब्यबस्थापकीय सफलता यसको प्राणआयु हो भन्ने तथ्यको सत्यता सबैका मनमा सधै रहनुपर्छ ।

      बाहिरबाट हेर्दा कर्मचारी सञ्चय कोष भब्य र आलिशान महलहरुका बिचमा साधन र स्रोतको सम्पन्नताका साथ चलेको लाग्दछ । झकिझकाउ सौन्दर्यताभित्र चकाचक चलेको भन्ने लाग्दछ । भित्री यथार्थता ब्यबस्थापकीय चुनौतिको पहाडले थिचिएको छेन होला भन्न सकिदैन । उखानै छन ‘’जतिभाडाः त्यति चुबुर्का’’ ‘’जति चुलाः त्यति बान’’ ‘जहा सारोः त्यही गाहो’’… आदि ।

ब्यबस्थापनको सबैभन्दा जटिल आयाम भनेकै जनशक्ति ब्यबस्थापन हो । मान्छे चिन्नै कठीन । मान्छे चिनियो कि सँसार चिनियो । मान्छे बुझियो कि सँसार बुझियो । भनिन्छ, कुनै मान्छेलाई समग्रमा चिनेँ भनेर कसैले दाबा गर्दछ भने, त्यो उस्को ढोँग मात्र हो, जुन सम्भव नै छैन । मान्छे हजारौँ रहस्यका बिचमा रहने सँसारको सबैभन्दा बुद्दीमानी, चतुर र रहस्यमय प्राणी हो । उ आफूभित्र रहेका सकारात्मक र नकारात्मक दुबै धारलाई सँगसँगै लिएर हिडिरहेको हुन्छ । आफूलाई जुनवेला जे आवश्यक लाग्यो, त्यही झिक्छ र प्रयोग गर्छ । सकारात्मक धारले जिते भित्रै उज्यालो बाहिरै उज्यालो । नकारात्मक धारले जिते दुबैतिर अँध्यारो ।  उज्यालो प्रकृतिका मान्छेहरु जुन सँस्थामा जति धेरै हुन्छन, त्यति धेरै त्यो सँस्था सवल र सफल बन्छ ।

कर्मचारी सञ्चय कोषभित्रको मानव सँशाधन उज्यालो हुनु यसको सफलताको र सुखद भविष्यको प्राथमिक आधार हो । त्यो उज्यालोपन कायम राख्न र त्यसमा अझ बढोत्तरी ल्याउने चुनौतिको सँवोधन अर्को मुख्य पाटो हो ।

पाँचौः आकर्षणहरुमा बढोत्तरी

      स्वरोजगारहरुलाई समेत सञ्चय कोषको दायरामा ल्याउने वा सार्वजनिक पेन्सन प्रणालीलाई पुनः परिभाषित गर्दा दायरा ज्यादै फराकिलो हुने र आकर्षणपनि झनै बढ्ने छ । सापटी वा कर्जाको सदुपयोग र साँवा तथा ब्याजको भुक्तानीको नियमितता एवम सञ्चय कोषको श्रीबृदिका लागि खेलेको भुमिका समेतको आधारमा सञ्चयकर्ताहरुमध्येबाट बार्षिक रुपमा र प्रादेशिक क्षेत्रमा समेत सर्बोत्कृष्ट सञ्चयकर्ताको रुपमा सम्मानको कार्यक्रमबाट आकर्षण बढाउन सकिन्छ ।

सञ्चयकर्ताहरुका बिचमा निवन्ध प्रतियोगिता, अन्तर मन्त्रालय वा बिभागीय रुपमा खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता जस्ता अतिरिक्त कृयाकलापको माध्यमबाट सञ्चयकर्ताहरुका बिचको सुसम्बन्धमा अझ प्रगाढता आउन सक्दछ ।

प्रस्ताबित बैदेशिक रोजगारिमा आधारित सञ्चय कोष योजना, योगदानमा आधारित थप स्वास्थ सुविधा योजना, स्वरोजगार क्षेत्रका कामदारहरुको सञ्चय कोष जस्ता योजनाहरुको कार्यान्वयनबाट यसको कार्यक्षेत्र बिस्तार हुने र बहुक्षेत्रिय प्रभाव पर्ने हुन्छ । योगदानमा आधारित सञ्चय कोषलाई तलवको २० प्रतिशतसम्म राख्न पाउने ब्यबस्था गरेर र थप ऐच्छिक रकम राख्न पाउने गरी सञ्चितको अवसरलाई अझ बढाएर आकर्षण थप्न सकिन्छ । ।

उपसँहार

      सञ्चयकर्ता बाहेक अरु कसैको हक नलाग्ने, उसको स्विकृति वा सहमतिले बाहेक अरुले छुनै नपाउने, जीवनभर उसकै एकलौटी अधिकार हुने भविष्यका लागि सञ्चित अमूल्य धन हो सञ्चय कोष । सर्वोत्तम भरोशायोग्य मन हो सञ्चय कोष । वँशलेपनि अँशभागमा दाबी गर्न नपाउने वा सरकारी बाँकीमा पनि कब्जा नहुने । नपहिरोले लैजाने । न खोलाले बगाउने ।  न घुनपुत्लो लाग्ने । न दुश्मन वा अपराधीहरु नै जाग्ने ! यो भन्दा बलियो धन अरु के नै हुन सक्दछ र ? केही हुदैन । कर्मचारीहरु वा कामदारहरुका लागि सञ्चय कोष नीति भन्दा अर्को गतिलो सामाजिक सुरक्षाको अर्को नीति सायदै हुन सक्ला ।

      प्रायः सबै सञ्चयकर्ताहरुको जीवनका हरेक मोडहरुमा सञ्यच कोष जीवन सहारा र भविष्यको सहाराको एक प्रमुख आधार बनेको छ । तर मान्छेको मन न हो । थोरै दुध दिने गाईले केही मुठी दुध बढी दियोभने पनि क्या दियो भन्ने तर बढी दिने गाइले साँझ ५ माना दिएपनि बिहान ६ माना दिन्छ कि भनी अर्को भाँडो लैजाने वा थप दुधका लागि थुन तान्ने गर्दछ । जतिदिएपनि सन्तोष नहुने,  कस्तो कस्तो मान्छे ? साच्चै रहस्यै प्राणी नै हो ।

कर्मचारी सञ्चय कोषकर्मीहरुमा दिनप्रतिदिन जिम्मेवारी बढिरहेको देखिन्छ । जिम्मेवारी बढिरहोस । कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षा र समान न्यायको मर्मलाई अझ बढी सँबोधन गर्दै एकपछि अर्को बर्षगाँठ मनाउदा अझ माथि चढिरहोस । बस यही सतत भावना र कामनाकासाथ किबोर्ड बिसाउनु अघि केही काब्यात्मक पङ्तीहरुः 

हर सञ्चयकर्ताको भित्री मन

अझ बढी आशाबादी बन्दै

याचना गरिरहेको छ कि,

प्रिय कर्मचारी सञ्चय कोष,

तिमी अरु बढी दानी बन,

अरु बढी ज्ञानी बन

अरु बढी दिल खोलेर

सञ्चयकर्ताहरुलाई अन्त नजाउ

‘’यही आउ यही आउ’’ भन,

बस, अरु केही लालसा छैन,

तिमी सवल र सक्षम बन

सफल बनुन चिरस्थायी बन्ने तिम्रा सँस्थागत मन चाहना 

५६ औँ शुभ बार्षिक उत्सवमा यीनै शब्द बन्दना सहित

समस्त सञ्चयकर्ताहरुको तर्फबाट हार्दिक हार्दिक शुभकामना ।

२०७४ साउन ३१ adrdhanbot@gmail.com                          9849036171

------------------------------------------------------------------------------------------------------------**२०३८ साल जेठ १५ देखि नियमित रुपमा सञ्चय कोष कट्टी गरिरहनु भएका उच्च अदालत पाटनको माननीय न्यायाधीश लेखक आचार्य २०७३ कार्तिक २९ देखि राजश्व न्यायाधिकरण काठमाण्डौको अध्यक्ष पदमा कार्यरत छन । एम ए (राजनीति शास्त्र), बि एल (कानुन शास्त्र), बि ए (नेपाली) शैक्षिक उपाधि हासिल गरेका सर्जकका प्राकृतिक न्यायको सिदान्त…… जनसँख्या कानुन समेतका विभिन्न ९ वटा पुस्तकहरु प्रकाशित छन । नुमा प्रतिभा पुरस्कार, पदमाकुल हास्यब्यङ्कय साहित्य पुरस्कार समेतका विभिन्न पुरस्कार तथा प्रशँसापत्रबाट सम्मानित लेखकको साहित्यिक आबद्ता राप्ती साहित्य परिषद दाङ समेतका सँस्थाहरु सँगछ ।  उनी लोकमणि नवप्रतिभा पुरस्कार एवम डोमादेवी साहित्य पुरस्कारका सँस्थापकपनि हुन- सम्पादक  )

 

No comments:

Post a Comment