Sunday, 17 August 2025

समीक्षात्मक आलेख '''झोला'' फिल्म हेरेपछिका खुलदुलीहरु

 

''श्रीमान् झोला हेर्न त जसरी पनि जानुपर्छ है भोलि बिहान'' क्रिसमसको अघिल्लो साँझ साहित्यकार राजेन्द्र चापागाँइ ''आहत'' ले यसप्रकारका शब्दसँगै हार्दिक आमन्त्रण गरे । त्यसो त झोलाको बिशेष प्रदर्शनीको बारेमा रयाण्डम रिडर्सको कार्यमक्रममा यस अघिनै जानकारी नभएको हैन र स्वयम् रयाण्डम रिडर्सका वर्तमान अध्यक्ष गनेश पौडेलले गरेको हार्दिक आमन्त्रण पनि मनमा नरहेको हैन तर एकप्रकारले बिर्सिएछ । नौ बजेदेखिको अर्को निर्धारित कार्यक्रमकालागि हुन्छ भनिसकेको दिन यही दिन पर्न गएछ । नभ्याइएला भन्ने सोँचेर बसेको बेला आहतजीको घचघचाइले मनमा एकप्रकारको तरँग नै ल्याइदियो । साहित्यिक कृतिमा आधारित बिषयबस्तुमा बनेको फिल्म भन्ने सुन्दा सिर्जनधर्मीका नाताले होला झन उचालियो मेरो मन ।

मैले भने ''म कोसिस गर्छु'' । वँहाको जोड रह्यो ''सर्जकहरुले त झनै छुटाउन नहुने बिषय.........''  । नौबजेको कार्यक्रमलाइ दश वजेका लागि सारियो र ज्यानभित्र पलाएको झोला हेर्ने हुटहुटी अब सम्बोधित हुने सु समयको साइतमा पारियो ।

पोखराको नदिपुर स्थित बिन्ध्यबासिनी हलमा पुग्दा त लेखक, पाठक, कलाकार सहितका समाजमा आ-आफ्ना क्षेत्रमा अग्रणी भूमिका निर्बाह गर्ने मूर्धन्य ब्यक्तित्वहरु र झोला प्रेमीहरुको खचाखच उपस्थिति ।

      फिल्म हल भित्र पस्दै गर्दा याद आयो करिब दश वर्ष भएछ फिल्म हलमा नछिरेको । बाल्यकालमा पनि नाटक र साँस्कृतिक कार्यक्रमहरु बढी हेर्ने तर फिल्म कम । अझ अत्यन्त कम नै भने हुन्छ । त्यही बानीले होला तन्नेरी हुदा पनि फिल्मा सोख रहेन यो ज्यानको । जीवनमा एक दर्जनपनि पुगेको छैन फिल्म हलको अवलोकन र मुस्किलले एक दर्जन पुगेको छ समग्रमा फिल्म हेराइको पटक पनि ।

''धेरै फिल्म हे-योभन् बिग्रिइन्छ है, पढाइ त झनै खत्तम'' यसरी भनेको सुनेको थिएँ बिद्यार्थी जीवनमा । दाँगको तुल्सीपुरमा रहदा करिब दशबर्ष अघिको यस्तै बिशेष सो हेरेपछिको अर्को फिल्म हेर्ने अवसर हुनेभयो यस पटकको हेराइ भन्दै मित्रहरुका साथमा हलभित्र पसेँ ।

''पोखरेली सर्जकहरु सिर्जनामा मात्रै रमाउँदा रहेनछन, ब्यबस्थापनमा पनि आफूहरुलाइ उत्तिकै जमाउँदा रहेछन'' त्यस्तो लाग्थ्यो त्यँहा रयाण्डम आबद्ध सर्जकहरुको सक्रियता र ब्यबस्थापनको कौसलता हेर्दा । सहआयोजक मानव अधिकारका लागि महिला एकल समूहका अगुवा महिला दिदीबहिनीहरुको ब्यबस्थापकीय सक्रियता उस्तै ''हम किसि से कम नही'' कै शैली वा भावमा थियो । अर्थात अनुकरणीय र स्तुत्यपूर्ण थियो । निर्धारित समयभन्दा थोरै ढिलो, लेखक कृष्ण धराबासी स्वयमको अभिनित कलाबाट   झोला चलचित्रको बिशेष प्रदर्शन सुरु भयो ।

घर आँउदै गर्दा समाजमा यत्रतत्र बम बारुदले समाजलाइ तर्साइरहेको कु समयको एउटा घटना आँखै अगाडि देखा पर्दछ । त्यसकै वरपरका दुखद दृश्यहरु मनभरि केलाँउदै घर आइपुग्दा उनलाइ खोज्न अर्थात भेट्न आएको एउटा पाहुनाले उनको घरबाहिर झोला छोडेर गएको जानकरी श्रीमतीबाट पाउछन् । त्यसैबाट अगाडि बढ्छ झोला उपन्यासको कथा अर्थात झोला नामक फिल्मी कथाको यात्रा पनि ।  जेठी श्रीमतीको मृत्युपछि चौरासी वरपरका बृद्धले उमेरले आफूभन्दा ४० वर्ष कान्छीसँग बिबाह गर्छन । एक छोराको जायजन्म भएको केही बर्षपछि धामी झाक्री जडीबुटी आदि केही गर्दा पनि निको हुदैन । बृद्ध खसमको मृत्यु हुन्छ । अन्धबिश्वासी समाजको जरो गाडेर बसेको कु धर्मको पृष्ठपोषण बनेर सती जान बाध्य बनाइन्छ श्रीमतीलाइ । मान्छेभित्रको दानवता रुपी र धर्मभित्रको अत्यातारको कारुणिक दृश्यहरुले आँखाहरु रसाइरहन्छ फिल्मको मध्यभागतिर पुग्दा नै दर्शकहरुलाइ । ''सतीप्रथा गलत हो'' भन्ने अगुवा नारी पनि देखा पर्छिन तर उनको केही लाग्दैन । कलिलो छोराको बिलाप पनि कोही सुन्दैन । श्रृँगारिक आभूषणहरुसहित बाजागाजाको तालमा लाशको पछिपछि मौन सम्मति सरह बनेर हिडिरहेको दृश्य झनै कारुणिक लाग्दछ र एक अर्थमा अस्वाभाबिक पनि । सतीयात्राका लागि चितामा बसाइन्छ उनलाइ । जब धुवाँको मुस्लोले घेर्दछ र चिताको ज्वालाले उनलाइ पोल्न थाल्दछ । उनी भाग्छिन । नदीमा हाम फालेर पौडदै पारी जान्छिन । यँहानेर आइपुग्दा सती जलेको हेर्नु हुदैन भन्ने मान्यताले नै उनलाइ भाग्नमा अप्रत्यक्ष सहयोग गरेको देखिन्छ । सती जान बाध्य पार्नेहरु राँको बाल्दै रातपरेपछि आ आफ्नै घर फर्कन्छन ।

निर्बश्त्र (नाँगो) शरीर लिएर ओडारमा बास हुन्छ उनको । छोराले सपनीमा देख्दा आमा ज्यूँदै रहेको । खोज्न आउँछ । भेट्याउँछ । आफ्नै छातिमा लडिबुडी गर्दै दशधारा दुध खुबाएर हुर्केको छोरालाइ नाँगो बक्षस्थल देखाउन सक्दिनन र स्यालाले छोप्छिन चुलिदा दुइ टाकुरालाइ । तर जब छोरो नजिकै जान्छ अँगालोमा बाँधिएर बेस्सरी रुन्छिन्  । एकैसाथ रुन्छन दुबै आमा छोरा । यहीबिच सतीजान बाध्य पारेको तर भाग्न खोज्दा ढुँगाले हानेर मारेको अर्को कारुणिक दृश्य पनि देखिन्छ उनिहरुको अगाडि । अन्ततः लुगा फाटो र खान्गी ल्याउने र आमालाइ सम्मानकासाथ बचाउने उद्धेश्यले छोरो फर्केर घर जान्छ ।

''कसैलाइ नभन्नु, थाहा पाएभने फेरि समातेर जलाउँछन'' भनेर आमाले भनेपनि काकी, जो सती जान दिनु हुदैन भनेर बिरोध गर्ने एक अग्रणी महिला थिइन, उनलाइ राती उठाएर सबै कुरा भन्दछ ।  उनले आफ्नो लोग्नेलाइ भन्दछिन । एकपछि अर्को गर्दै तिनै जना पुग्छन उनी लुकेको ओडार नजिक । खाना र लुगाफाटो मात्र हैन बाटो खर्च दिएर ''यँहाका मान्छेहरुले थाहा नपाउनेगरी सकेसम्म नेपालकै धरान वा कुनै ठाउमा बस्न र नभए मुग्लान पुगेर भएपनि रोजीरोटी गरी ज्यान बचाउन'' भन्दै केही रकम र केही सामल तामलकासाथ उनीहरुलाइ बिदा गर्छन ।

चन्द्रशम्सेरले बि स १९७७ सालमा सतीप्रथाको उन्मुलन गरेको ऐतिहासिक महान् कार्यलाइ आदर गर्दै लेखेको औपन्यासिक कथा झोला कलात्मक प्रस्तुतिले कथानक चलचित्र बनेर दर्शकहरुका सामु आएको छ । सँगसँगै कानुनी रुपमा सतीप्रथा अन्त्य भएपनि ब्यबहारमा त्यसका अवशेषहरु ऐले पनि समाज छन् । धेरै कोणबाट अधिक भन्दा अधिक महिलाहरु अझै पीडित छन् । शोषित छन् । दमित छन् । एकल महिलाहरुको जीवनमा अझै पनि सतीप्रथाका अवशेषहरु धेरै छन् । सामन्ती मानसिकता र सँस्कारमा आधारित दानवीय प्रबृतिका तमाम कुरीतिहरुको समूल नष्ट नगरेसम्म नारीमुक्ति र सामाजिक तथा साँस्कृतिक रुपमा पछाडी परेका महिलाहरुले समान न्याय पाउन सक्दैनन् । त्यसैले सतीप्रथाका अवशेषहरुलाइ अन्त्य गर्न सबैको ऐक्यबद्धता आवश्यक छ भन्ने भाव झल्काउने सन्देशकासाथ फिल्म सकिन्छ ।

फिल्म हेरिसकेपछि मनमा अनेक तरँगहरु पैदा हुन्छन । दर्शकहरुका मनमा तरँग पैदा गर्नु हरेक फिल्मको अपेक्षित प्राथमिक सफलता नै हो । हेर्दै जादा आधाभाग नपुग्दै आँखा रसाउन खोज्छन तर जब सतीयात्राको आरम्भ हुन्छ, तब भल छुट्छ कोमलह्दयी दर्शकको आखाँबाट । जब एकातिर उनी बाध्यताबस चितामा चढ्छिन, अर्कोतिर छोरो मुर्छा पर्दछ, तब भक्कान्निन्छन केही दर्शकहरु । सायद मानवीय पीडामा सँबेदनशिल हुने भावुक र कोमल ह्दय भएका मान्छेहरु फिल्मीदृश्यमा पनि त्यसो गर्न पुग्छन । किनकी यसो हुनु भनेको स्वाभाबिक मात्र नभइ प्रकृतिसम्मत हुनु हो । झोला चलचित्रको प्रस्तुतिमा यसो हुनु यसको अर्को सफलता हो ।

पुरुषवादी हैकममा परेर महिलाको मानव अधिकार दमित हुन बाध्य भएको  नेपाली समाजमा एक बृद्धले कलकलाउली, नातिनी भन्न सुहाउने उमेरकीलाइ बिबाह गरेर पनि शोषण दमन र अन्याय गरेको भन्ने देखाउन र नातिनीको उमेरकीलाइ काकी भन्न बाध्य पार्ने अचम्म लाग्दो दृश्यात्मकताका पक्षहरु पनि छन् यसैमा । नेपाली नारीको पतिब्रतापन, सौतेलो ब्यबहारको एक झलक, अरुबेला देखेस र पखेस गरेपनि साच्चै दुख्ख पर्दा कोमलीने नारीको मन,...... यस्तै यस्तै प्रसँगहरुले पनि इन्द्रेणीरँग दिएको छ कथानक चलचित्र झोलाको तलाउलाइ ।

जस्तो सुकै अवस्थामा पनि आफ्नै ज्यान प्यारो भन्नेसँकेतलाइ पनि सुखद पक्षका रुपमा लिएमा बाहेक आमाले छोरालाइ नुहाइदिदाको एक दृश्य र खुबाइदिदाको अर्को एक दृश्य मात्र खुसीको दृश्यका रुपमा मेरा आखाँमा पर्न सके । सायद अरु दर्शकका आखाँमा पनि खुसीका क्षण भनेका यीनी मात्रै देखिए होलान् ।

दुखान्त कथा त धेरै नेपालीका जीवनकै भोगाइहरु हुन । किन दोहो-यराइ दिन्छन फिल्मक्षेत्रमा पनि तिनैलाइ ? यसरी प्रश्न गर्न पनि मन लाग्दछ । मृत्युको दुखान्त स्थिति छ तर नौमति बाजा घन्काइन्छ किन ? भन्नेपनि दर्शकलाइ लाग्न सक्दछ । यसलाइ चितामा जल्न बाध्य भएकी नारीको चित्कार पर पर नसुनियोस भनेर हो पनि भन्न सकिएला ।  तरपनि चलचित्र आखिर चलचित्रै हो, जो हरेक दर्शकलाइ केही न केही छोएर सबैको हुने र सबैको मन छुने प्रयास गर्नुमा नै आफ्नो सफलता ठान्दछ । हेर्दैजादाँ अब त यहाभन्दा बढी अप्ठ्यारोमा नपरे हुन्थ्यो भन्नेपनि लाग्दछ तर थप दुखान्त दृश्य देखा पर्छ । आजका दर्शकले नचाहेको सती जान बाध्य पारेर चितामा चढाइएको दृश्य हुनु नै यसको मुटु होला सायद ।

निर्माणका दृष्टिले हेर्नेहो भने साच्चिकै नेपाली कथामा आधारित र साच्चिकै नेपाली शैलीमा छ । बलिउड र हलिउडको रँग यसमा परेको आभास हुदैन । बिशेष प्रदर्शनी भएर होला फिल्म निर्माताका ब्याबसायिक बिज्ञापन पनि हेर्नु परेन । आयोजक रयाण्डम रिडर्स सोसाइटी र मानव अधिकारका लागि एकल महिला समूहका केही गतिविधिहरु मात्र, त्यै पनि आरम्भमा एकै छिन राखिएको रहेछ । यसमानेमा पनि निर्देशक यादब भट्टराइ र निर्माता राज तिमल्सेना सफल छन । सर्जक कृष्ण धराबासी जो कलाकारका रुपमा पनि अभिनय फाटँमा रहेका छन, उनको सिर्जनक्षमतालाइ सलाम नगरी कसरी बस्न सकिन्छ र फिल्म हेरेपछि । तर मनमा भने केही खुल्दुलीहरु चलिरहन्छन ।

हो, कथामा देखाइएजस्तै दानवीय कुप्रथाको अन्त्य चन्द्रशमशेरले गरेका हुन । यो नेपालको बैधानिक एवम् साँस्कृतिक परम्पराको अध्ययनको एक आयाम हो तर बर्तमान त हैन नी । हो, यसैको जरामा रहेका केही अवगुणहरु अर्थात कुसँस्कारहरु अझैपनि गाँउ वस्ती र शहरका महलहरुमा कतै कतै छन तर सबैतिर त हैन नि । केहीका मनमा रुढीबादीताले जरा गाडीराखेको छ तर ति पनि क्रमशः कमजोर बन्दै गइरहेका छन् हैन र ? त्यसैले यो चलचित्रलाइ बर्तमान समयको सामाजिक चलचित्र भन्नुभन्दा पनि ऐतिहासिक धार र भावमा आधारित सामाजिक चलचित्र भन्नु न्यायपूर्ण होला भन्ने मलाइ लाग्दछ । चलचित्रमा बियोगान्त पक्षलाइ मात्र केन्द्र बिन्दु बनाइयो । यो समयको माग हो जस्तो पनि मलाइ लाग्दैन । सँयोगान्त र सुखान्त एवम् जीवनवादी सन्देश आजको सिर्जनाको आवश्यकता हो । त्यसो हुनु समयको माँगको सँबोधन हो ।

''चन्द्रशमशेर नभएको भए आजका एकल महिलाहरु पनि त्यही धारमा पर्न वा त्यही र त्यस्तै मारमा पर्ने थिए'' भनेर कोरा कल्पना गर्नु वा केवल भावनामा बग्नु पनि हुदैन । झण्डै एकसय बर्ष अघिको नेपाली समाजको चेतनाको स्तर र पीडालाइ समकालिन नेपाली समाजमा उही रुपमा राख्नु वा देखाउनुलाइ यो मनले सकारात्मक मान्नै सकेन । आखिर मन न हो । यसबाट आजका महिलाहरुमा केही गर्ने आँट भरिएला वा पुरुषबादी सोँचमा केही परिवर्तन ल्याउन यस्ले मद्दत गर्ला भनेर कसरी भन्ने ? ज्यादै नवीन र उत्साहजनक तथा उल्लेख्य शिक्षाप्रद फिल्म भनेर यसलाइ भन्न सकिदैन । एकल महिलाको ऐतिहासिक पीडालाइ मर्मस्पर्शी ढँगले प्रस्तुत गर्न सफल चलचित्र चाँही भन्नै पर्छ ।    

सतीजान नमानी भाग्दै गरेकी नारीलाइ ढुँगाले हानेर मार्नेसम्मको दृश्यलाइ रुँदै हेरेर बस्न आजको नारी चेतनाले दिन्छ ? अहँ दिदैन । हो, यँहीनेर प्रतिकारमा उत्रेर ढुँगाले हानेर घायल अवस्थामा रहेकै बेलाकी अर्की सतिलाइ बचाउदै ढुँगाले हान्ने मलामीहरुलाइ परास्त्र गरी गाउँवस्तीमा पुगेर नारी मुक्तिका लागि र समाजमा रहेका सतिप्रथाका अवशेषहरु अन्त्यको लागि उनलाइ नेतृत्वदायी भूमिकामा देखाउनु वास्तवमा समकालिन आवाज हुने थियो । त्यसैमा उनलाइ कपडा दिने र खाना बनाएर पठाइदिने जोडीको सक्रिय सहयोगको दृश्य थपिदिएर यसलाइ ऐतिहासिक कुप्रथाको जगमा अझै बाँकी रहेका समाजका कुरीतिहरुको अन्त्यकालागि महिला नै अघि सरेको र महिलाकै नेतृत्वमा परिवर्तन गरेको लेख्न र देखाउन सक्नु पर्थ्यो । तर त्यसो गर्न सकिएको छैन वा चाहिएको छैन । उही पुरुषबादी मनोदशामा रहेर बहादुरीपूर्ण काम केवल पुरुषलेमात्र गर्न सक्दछन् भन्ने परम्पराबादी मानसिकताकै वरपर रहेर लेखिएको छ र फिल्म पनि त्यही घेरामा सिमित रहेर बनाइएको लाग्दछ । समाजका बिकृतिबाट भाग्ने हैन, जुँध्ने हो । परिवर्तन चाहने पुरुष र महिलाले पनि समस्याहरुबाट जोगिन भगाउने हैन, सँघर्षमा उतार्ने हो र सकारात्मक परिवर्तनका लागि ऐक्यबद्धता जनाउने हो । समकालिन समयमा पीडा घाउहरु देखाउने वा कोट्याउने सिमिततामा रहेका सिर्जना वा कलाहरुको भीड छ । लड्यो पछार्रियो भनेर कोकोहोलो मच्याएर हैन लडेका उठेर जीवन दिने सन्देश वा उठाएर हिडाउने सहारा वा बाटो आजको आवश्यकता हो ।

आजपनि सतीप्रथाका अवशेषहरु बग्रेल्ती छन समाजमा । चरम अस्वस्थाका बिचमा वा अनिच्छाका बिचमा पनि हुने वा गरिने योन सम्पर्क देखि यो वा त्यो प्रभाव वा दबाबमा गरिने बलात्कारजन्य क्रियाहरु परिवारका सदस्यहरु मिलि एकल महिलामाथि शारीरिक वा मानसिक असर पर्ने गरी गरिने ब्याबहारहरु कति छन् कति ? यसप्रकारका प्रतिनिधिमूलक घटनाहरुलाइ राखेर खबरदारी गर्ने उनको थप नेतृत्वदायी भूमिका भएको भए कति राम्रो हुने थियो होला ।

       एकल महिलाकै हातले ढुँगो उचालेर पतिको मृत्युपछिको बियोगान्त अवस्थामा अर्की महिलाका नाडीका चुरा कचाकच फुटाइदिने अब पनि ? सेतै बस्त्रधारण गरेर एक एक वर्षसम्म निरिह र दयाको पात्ररुपी मानवको रुपमा राखी रहने अब पनि ? छोइछिटो र सगुन अपसगुनका कथित जालहरु समाजमा फिजाइरहने अब पनि ? अँश र बँशको सवालमा दोस्रो दर्जाको मानिसका रुपमा राखि रहने अब पनि ? यसप्रकारका अनगिन्ति सवालहरु छन एकल महिलाको मुक्तिको सवालमा सँबोधित हुनुपर्ने र सबैले मनन गर्नु पर्ने सवालहरु ।

 अबको लेखन र प्रस्तुतिमा समाजमा आर्थिक क्रान्ति र साँस्कृतिक परिवर्तन नै केन्द्र बिन्दुमा हुनु पर्दछ । एकादेशको कथा हालेर वा मृत्यु सस्कारमा गरुड पुराण उचालेर वा कल्पनाको सँसारमा रमाउन लगाउने मिथकहरु फलाकेर समाजको परिवर्तन हुदैन । बिगतका घाउहरुलाइ देखाउँ तर बर्तमानमा घाउ लाग्नबाट बचाँउ र भविष्यका लागि नवसिर्जना गर्दै ढुक्क भएर बाँच्ने आधारभूमि निर्माणमा कलम चलाउँ । कलाकारका अभिनयहरु पनि सकभर यही दिशामा चलुन । नवीन चेतनाको ज्वालामा सबैखाले कुरीति कुसँस्कृति अन्याय र अत्याचार जलुन । झोला नयाँ झोला बनेर आवस । झोलाले सुखद सुदुर युगको सन्देश ल्यावस । यस दिशामा थोरै भएपनि देखिएको साँकेतिक सुकर्मका लागि लेखक कृष्ण धाराबासी, कलाकारहरु, निर्माता राज तिमिल्सेना र निर्देशक यादब कुमार भट्टराइ सहित सम्बद्ध सबैको सम्झनाकासाथ अब आउने झोला युगको आवाज बनेर द्रष्टात्मक क्षमताका साथ रातो र तातो बनेर आवस । बस यही चाहना सबैसँग र सम्बद्ध सबैलाइ यही शुभकामना पनि ।

 

२०७०।०९।१०                                                                          adrdhanbot@gmail.com

 

No comments:

Post a Comment