भनिन्छ ‘’आमा सत्य,बाबु विश्वास” । त्यसैले त प्रसङगवस कुनै छोरा वा छोरीका बिषयमा आपसमा कुरा हुदां यस्ता र उस्ता भनेर कुनै पतिले भनेभने तपाँइकै छोरा छोरी त हुन नि, मलाई के भन्नु हुन्छ भनेर पत्निले जवाफ दिने र त्यसको प्रतिजवाफमा मलाई के थाहा तिमीले हुन् भन्यौ, माने, मान्नु बाहेक मसंग अरु के नै उपाय छ र‘! भन्ने जस्ता सवाल जवाफहरु ह्ुने गर्दछन । जीवनमा यस प्रसङगमा हँसिमजा नगर्ने श्रीमान श्रीमती शायदै होलान ।
जन्मदिने आमा, मितेनी आमा, धाइआमा, गुरुआमा, कर्मदिने आमा (रोजगारी दिने), सौतेनी आमा (बाबुकी
दोस्री,तेस्री‘पत्नि),सासु आमा (धर्मपत्निकी आमारपतिकी आमा), हजुर आमा, आदि आमाका नाम र
पहिचानहरु हुन । रगत, ब्यवहार र सम्बन्धको आधारमा बनेका हुन्छन
उल्लिखित आमाहरु । आधुनिक समयमा आएर टेष्टट्यूब बेबी र सरोगेट मदर (भाडाकी आमा)
आदि जे जे भनेपनि ति सबै आमाका विभिन्न रुपहरु हुन । आमा प्रकृति हो र
शास्वत सत्य हो ।
जन्मदातृ आमा र बाबु नहुने अर्थात वाल्यकालमै जन्मदिने आमा गुमाउनु परेका
बालबालिकाहरुलाई टुहुरा टुहुरी भनिन्छ । भनिन्छ, टुहुरा टुहरीहरुको भाग्य र भविष्य माथिलेखिएका
मध्येका कुनै न कुनै आमाहरुको धर्म र कर्ममा
आधारित रहेको हुन्छ । केही टुहुरा टुहुरीहरुको भविष्य अनाथालय सेवीहरुको
सेवा र धर्ममा अडिन पुगेको हुन्छ । सानैमा आमाको मृत्युको कारणले आमाविहिन टुहुरो
बन्न पुगेका पात्रहरु मध्येको एक पात्र यो पङ्कतिकार पनि हो ।
सानैमा मेरी आमा रोगीएर मरेकी रे ! करिब चालीस वर्षकै उमेरमा । आमाको आकृति
मेरा आँखाको नानीमा छन छैनन ? वैज्ञानिक परीक्षण
गर्दामात्र थाहा होला तर जैविक अस्तित्वमा मेरी आमा कस्ती थिइन र कत्री थिइन ।
मलाई कसरी मायां गर्दथिइन र स्नेह दिन्थिन ? मेरो खुसीमा कसरी मलाई कसरी नचाउँथिन र रमाउँथिन
। मेरो दुखाःइहरुमा कसरी चिन्तित बन्दै मेरा पाखुरीमा समाउँथिन आदि केही थाहा छैन
मलाई । ग्रामिण जीवन, सरकारी वा सार्वजनिक कामकालागि फोटोको
अनिवार्यता नभएको समय । फोटो खिच्ने बाध्यात्मक अवस्था नै परेन । त्यसैले त उनको
कुनै तस्वीर नै पाउन सकिन मैले । दिदी लेमा र दाजु कृष्णको हेराइ बुझाइमा मेरी आमा
कस्ती थिइन ? कुनै कलाकारबाट लौन तैल चित्र भएपनि बनाउँ भनेर पटक पटक
भनेपनि तयार हुन सकिरहेको छैन । प्रकृतिको नियमलाई स्विकार गर्दै मैले अस्विकार
गर्न नमिल्ने सत्य होकि मेरीपनि जन्मदिने आमा थिइन । यो पनि सास्वत सत्य हो ।
करिब पाँचवर्षको हुदा एकाबिहानै अपरिचित एउटी महिला पानीको ग्रागी बोकेर
पँधेराबाट आएको चालपाएँ । उठेपछि, विहानै केही न केही खान नपाएमा रुने र कराउने
मेरो वाल्यकालको बानी रे ! ततकाल खाना
नपाएपछि, रोएछुं । श्रद्देय दिदी लेमा आचार्यले ततक्षण मै सम्हालेर
केही खान दिएपछि रुन छोडे छुं रे ! उ आमा, भनेर दिदीले भन्दा, मलाई भने के आमा, कुन आमा र कस्की
आमा ? भन्ने लागेर होला, हेरिरहे छुं !
उनी अर्थात नवआगन्तुक र नवसाइनोधारी सौतेनी आमाले मलाई समाउन हात अगाडि
बढाउदा मुन्टो बटारेर फेरि रोएछुँ । पछि सन्दर्भबस दिदीले भन्दा थाहा पाएं र
स्मरणमा राखिरहेँ । परिणाम बाह्य संसारका लागि सौतेनी आमाको काखमा हुर्केको र
भित्री यथार्थमा दिदी लेमाकै लालन पालन र स्याहारसंभारमा बढेको एक टुहुरो
जीवनारम्भी तर जीवन संघर्षको अग्निमा होमिएर खारिदै क्रमशः अगाडि बढेको एक पात्रका
रुपमा आफूलाई लिएको छुं र बुझेको छुँ । मलाई नजिकबाट बुझ्ने र चिन्नेहरुको नजर र
मानसपलटमा मेरो बारेमा के कस्तो छाप र प्रभाव छ, त्यो अरुले नै जान्ने बिषय हो ।
विभिन्न उकाली ओराली भन्ज्याङ् चौतारीहरुको यात्रा र नियात्रासंगै, प्यूठानको ऐरावती, चेर्नेटा, चकचके, अग्रङ्खोला, मुर्कुटी हुदै दाङ्ग चौघेरासम्मको पैदल
हिडाँइको करिब ६ वर्ष र राजधानीको करिब १२ वर्षको बसाइ, पढाई तथा लेखाईले
अलिअलि जान्ने र केही गरी खाने बनाउँदै लग्यो । यसको पछाडि सबैभन्दा पूजनीय योगदान
उनै दिदी लेमाको नै छ, जस्लाई १४ वर्षको उमेरमा विधवा (एकल महिला)
बन्न प्रकृतिले बाध्य बनायो । उनको चेतनाले पुनःविवाह गर्न कडा अस्विकार्यतामा
पुरयायो । उनका लागि दुःखद दुर्भाग्य तर वालटुहुरो मेरा लागि एकप्रकारको नियमित
आकस्मिकताले जुराएको शौभाग्य सरहको परिघटना ।
आमा रोगी भएकाले वाल्यकालबाटै घर व्यवहारमा घरमुली सरह भएर ब्यबहार चलाएकी उनै
दिदी वालविधवाका रुपमा माइत बस्दा बेहोर्नुपरेको सौतेनी आमाको ब्यवहारको पीडाको
गहिरो अनुभूति उनैलाई होला । कति त बिर्र्सी सकिन होला । केही केही त मलाई पनि
थाहा छ तर उनीसंग मसिनो गरी सोधेको र कतै शब्दमा उतारेको छैन आजसम्म । मेरो जीवनमा
भोगेका अनगिन्ति चोट र मर्महरु मध्ये एकदिन पीँढीमा बसेको बेला ‘’’एस एल सी
दिएपछि त कान्छोले पढ्न छोड्नुपर्छ, चौरका केशव आचार्य जस्तै गाउंमा मास्टर
हुनुपर्छ। भाइबहिनिहरुलाई पढाउनु पर्छ‘’’ भनेको शब्दभेदी मर्म कुन्नी किन हो, सबैभन्दा चोटिलो
लागेको र त्यसबेला बाउको मौनताले झनै पीडा
दिएको हो ।
निरअक्षर भएपनि बाउ (लोकमणि आचार्य) ले प्रधानपञ्चको जिम्मेवारी साक्षर र
साक्षर प्रधानञ्चहरुले भन्दा बढी प्रभावकारी रुपमा निभाएका, गाउंको परिवेशमा
हुनेखाने परिवारकै सदस्य, नपुग्दो भन्ने केही नभएको तर थियो त त्यही
बालटुहुरो जीवन र वालविधवा दिदी लेमाको जीवन व्यथा र मनको बह । कक्षा ८ को पढाइको
विदाको समय दशैंमा घर पुगें दाङगबाट । दाजु कृष्णप्रसाद आचार्य (जो पछिल्लो क्रममा
अत्यन्त संघर्षपूर्ण परिघटनाबाट पञ्चायती व्यवस्थाको अन्तिम प्रधानपञ्चमा
निर्बाचित भइ कार्यकाल बिताए) को उच्च शिक्षातिरको यात्रा नबढेपछि घरतिरै रहे
बसेका । दिदी तथा दाजुले भनेको सुन्दा लाग्यो अब सौतेनी ब्यबहार खप्न नसक्ने चरणमा
पुगेछ । उनीहरुका कुरा सुनेपछि, मैले आफै भने यसरी हुदै हुदैन, अब अलग हुने । म
दाङ्ग जान्छु । समयक्रममा दाजु दाङग आउनु र जेठा बुबालाई लिएर आइ अलग हुने‘ भन्ने
प्रारम्भिक सल्लाह भयो । नभन्दै केही महिनापछि दाजु चौघेरा पुगे । दिउसो जेठो बुबा
स्वर्गिय हुमाकान्त आचार्यलाई बेलीबिस्तार लाएछन । साँझ जेठो बुबाले सोध्नुभयो । अब
तँ कता बस्दछस त ए कान्छा, मैले भने बुबालाई चिठ्ठी लेखेर भन्छु । त्यसै
अनुसार गर्नुहोला । भोलिपल्ट मेरो चिठ्ठि लिएर प्यूठानतिर लागे बाबु छोरा । ऐरावती
१ को धनवोट गाउँ स्थित घरको दलानमा बसेछन । छुट्टिने (अँशबण्डा गर्न)कुरा भएछ ।
अन्ततः कान्छो छैन, भनेर बुबाले भन्दा, कान्छाले तँलाई
पत्र लेखेको छ, यी भनेर खामबन्दी गरिएको तर जस्ताको तस्तै रहेको पत्र खोली
पढेर सुनाउनु भएछ जेठो बुबाले । पत्रको निष्कर्ष थियो मेरो अँश भाग दाजुको
जिम्मामा दिनु होला । त्यसबखत बुबालाई के सोँचेको थिए मैले के भयो ऐले भएछ ।
एकछिन मौनताको बिचमा दबै आँखामा औँलाहरु लगेर भन्नु भएछ ‘’’लौत म के भनूँ‘’’।
एस एल सी पछि राजधानी पुगेर काम गर्दै पढ्दै राष्ट्रेसवामा अगाडि बढ्दै गर्ने
क्रममा बैँशारम्भको उमेर लागेछ । सन्दर्भबस, नजिक आउन लागे एकाध युवतीहरु । कलेज जाने क्रमा
दोबाटोमा भेटदा खिसिक्क हाँस्ने । बोल्ने । हुदा हुदै एकजानसग त डेटिगँ
(घुमफीर)यात्रारम्भ पो हुन थाल्यो । अति एकान्तको यात्रा नहुदै मनले भन्यो कसै न
कसैसंग विवाह त गर्नैपर्छ तर अन्तरजातिय । मलाई त केही थिएन । लभ गरेरै भएपनि अन्तरजातीय
विवाह दिदी अति रुन्छिन । करिब करिब पराई सरह हुन्छिन भन्ने डरले थरथर काप्न
थाल्यो मेरो भित्री मन । राजधानी पुगेपछि उनीहरुसंग भेट हुने होकि भनेर भाग्न थालेँ
। केहि शनिवार त कोठामै आउने हुन कि भन्ने लागेर बिहानै ताल्चा मारेर दिनभर भूमिगत
हुन थालेँ । उनीहरुलाई चिढाउने र बिराउने कुनै काम आफूबाट नभएपनि त्यसपछिका
भेटहरुमा राम्ररी संवाद गर्न संकोचभने लागिरहयो । क्रमशः टाढिएं उनीहरुबाट ।
पञ्चायती कालखण्डको समय । दाङवाङ गांउ
पञ्चायतभर निजामति सरकारी जागिरमा कोही नभएको त्यो बेला अदालतको डिठ्ठा पदको
जागिरे म । पञ्चायत भरमै हुनेखाने परिवार मध्येको एक सदस्य‘, आदि आदिले होला
बिहेको प्रस्ताव आइरहेका थिए । त्यस्तैमा घुइरोघुइरो रुपमा सिद्धारा
(अर्घाखाँचीको) को प्रसङग पनि चलेकै थियो । काठमाण्डौबाट घर जाने क्रममा बुझौ न त
भनेर पथ्थरकोट माथि मैदान हुदै लागें जङगलको बाटो एक्लै त्यतै अर्थात सिद्दारातिर।
तीन पुस्ताभित्रका काकाको ससुरालीका नाताले ततकाल मामा नाता पर्ने टँकेश्वर
बेलबासे सहितका परिवारसंगको तीनदिनको रसाइ बसाइ र एकप्रकारको ज्वाइँसरहको मस्तीले
होला, (लोभिएछुं वा लठ्ठिएछु वा पट्टिएछुँ वा पट्टाएछुँ, जे भनौ वा बुझौ ?), कि क्या हो, पुजनीयका सासु
आमाका रुपमा सरस्वती बेलवासेलाई पाउने भएँ । अभिभावकबिना कलिलो केटाले आफै बिबाहको
कुरा छिनेको त्यो सन्दर्भ, एकप्रकारले गाउघरमा चर्चाकै बिषय बनेको थियो
त्यसबखत । बि स २०४१ सालको बैखाख ८ गतेको साइतमा यो ज्यानले सरस्वती बेलबासेलाई
पूजनीय एवं प्रातः स्मरणीय सासु आमाका रुपमा पायो ।
प्यूठान बिजुवार निबासी, एक समयका जल्दाबल्दा डिठ्ठा ऋखिराम भण्डारीकी
जेठी छोरी, बाबुले दिएका चाँदीका डयाके पैसाहरुबाटै ब्यवहार गरेकी, गाउभर असामी, पति टङ्केश्वर
बेलबासेसंग निजी खर्चपर्चका लागि सायदै हात थापि होलिन जीवनभर । कर्जासापटीका लागि
कोही आयोभने बेलामौकामा पतिदेव स्वयं भन्ने गर्दथे रे ‘’प्यूठानेसंग होला ।
मागेर लैजाओ‘’। कम बेसी जेभएपनि प्यूठानेसंग माग्योभने पाइहालिने रहेछ ।
मनकारी प्यूठानेको सय पचास सापटीले गांउ बेसी छाएको रहेछ । मागेपछि खाली हात
नफर्काउने र कतिपय सन्दर्भमा छोटो समयमको ब्याज पनि नलिने र लिएपनि अरुले जस्तो
ठेकी सहितको ब्याज पनि नलिने । असामीले ठेकी भनेर दिएका रकमहरु उसै बखत चाहिदैन
मलाई ठेकी सेकी, घरमा केही किनेर लैजानु ‘भन्ने रे । विहेको अर्कोसाल
श्रीमतीसंगै ससुरालीबाट घर आउँदा भरियाहरुले जलुके नजिकै रहेको बरपिपलको चौतरारीको
छहारीमुनि सुस्ताएर बसेको बेला सुनाएका थिए यसप्रकारका मनछुने कथाहरु । भन्दै थिए ‘‘सारै
मनकारी छिन तालेघर (गाउँ ठाउँमा उनीहरुको घरलाई तालेरघर भनिन्थ्यो) कि प्यूठाने त‘‘
।
कृष्ण बेलबासे (प्रा । पिएचडी), रामु बेलबासे (औषधिको थोक व्यवसायी), हरि बेलबासे
(अधिवक्ता) र बिष्णु बेलबासे (सहसचिव स्तरको निर्देशक) चार छोराहरु र बिमला, कल्पना, सुशिला र तारा चार
छोरीहरुकी पूजनीय आमा, १४ नाती नातीनाहरुको हजुर आमा तथा पाचं पनाति
पनातीनाहरुकी जिज्यू हजुर आमा सरस्वती वेलवासे शब्द सिर्जनाकी सरस्वती हुन नसकेपनि
ब्यबहारकी मूर्धन्य सरस्वती भन्ने तथ्य र सत्यहरु त्यतिबेला अझ प्रमाणित भयो, जतिबेला उनको
प्रार्थिव शरीर भालुबाङ्देखि माथि राप्ती नदीको किनारामा जलिरहेको थियो मलामीहरु
थकथक गरिरहेका थिए ।
बाह्य बन्दोबस्तीको कामका अतिरिक्त मेरो मनभित्रको अर्र्काे खुलदुलीपूर्ण
मनभित्रको जिम्मेवारी थियो कि वँहाको बारेमा गाउंघर समाज र मलामीहरुको बुझाई तथा उनिप्रतिको
भनाई के कस्तो रहेछ भन्ने । बगरमा ढुँगाहरुमाथि टेक्दै वरपर गर्दै कानथाप्दै हिडेँ
करिब चारघण्टा । १३ दिनमध्ये करिब ८ दिन आगन्तुकहरुको स्मरण, सम्मान र आदरका
शब्दहरु सुनिरहेँ । प्रायः सबैको मुखबाट र अनुहारको सङ्केतबाट थप बुझियो कि
प्रातःस्मरणीय सासुआमा सरस्वती बेलबासे अपारदानी, मायाकी खानी, ब्यबहार कुशल, पारिवारिक जीवनकी एक त्यागी र समर्पित गृहिणी
तथा समाजकी एक अनुकरणीय नारी व्यक्तित्वमा प्रमाणित भइसकेकी रहिछन । अति
आधुनिकतावादीहरुको बुझाइमा अलि बढी परम्पराबादी र रुढीवादी मानसिकताकी भएकीले
छोइछिटो गर्ने भन्ने मात्र अवगुण सुनियो ।
मलामीहरु भनिरहेका थिए –यस्तो आमा सायदै पाइन्छ । आजकलको जमानामा पनि जो सुकै
घरमा जावस केही न केही नखुवाइ वा नदिइ नपठाउने, भाइ भान्ज बहिनी नानी आदि नातासम्बन्ध लगाएर
बोल्ने, अनुहारमा दुःख वा निराशाका रेखाहरु कहिल्यै नदेखाउने, मागेपछि एकाध हजार
नै भएपनि दिने, पहाडमा कति रहे लिनुपर्ने रकम, यहि अर्थात राप्ती
गाउँपालिका र अर्घाखाँचीको लाहापे सातमारामा पनि कति थियो होला लहाना । लिखत नगरी
मुखाखरले ब्यवहार गर्ने विचरीलाई कतिले फिर्ता दिएनन तर मरीहत्तते गरेर मागिनन पनि
। एकजनाले त केही बढी नै रकम लिएको रे । धन्न सावाँ मात्र लिएर असुल गरेछिन ।
बुद्दि त पुरयाएकै हुन । नत्र वैधानिक रुपमै दामासाही प्रकृयामा पुगेको ऋणिको
आर्थिक हबिगतले औपचारिक कागज प्रमाणको अभावको कारणले सरस्वती बेलबासेको त्यो रकमको
उठती करिब करिब असम्भव अवस्थामा पुग्ने थियो ।
उनले छोरा छोरीहरुलाई जन्माउने र हुर्काउने क्रममा मातृस्नेहले भरिपूर्ण
व्यवहार गरेकी मात्र होइनन कि पढाउने सन्दर्भमा पनि घिउ मह जस्ता नखद जिन्सीहरु
पठाएर र खुसुक्क डयाके (पुराना चाँदीका) पैसा समेत दिएर उत्साहित बनाउने कामपनि
गरिन । कसैले भनिरहेको थियो ‘’उहिल्यै सिद्दारामा हुदा पुराना पैसा तामाको
गाग्री मै राखेकि थिइन रे । आखिर डिठ्ठा ऋखिराम भण्डारीकी छोरी न परिन । के को
कम्ता हुनु र रुपैयाँ पैसामा । तर व्यवहारमा पनि खान्दानी र समझदारीपूर्णता’’।
घुम्दैगर्दा यस्तै यस्तै प्रशँसा र सम्मानजन्य शब्द र भावहरु सुनिरहेँ । बुझिरहेँ
। मनमनले गुनिरहेँ ।
करिब साढे तीनसयजति अश्रूपूर्ण मनहरुले चढाएका श्रदान्जलीका पुष्पहरुसंगै
उनलाई पनि वलिरहेको अग्निले सखाप पारिरहेको ततक्षणमा प्रायः सबैको अनुहारले
बताइरहेको थियो कि सबैलाई रिझाउने सबैकी आमा सरहकी व्यवहारकी सरस्वती सदाका लागि
गएकोमा सबै निशब्द थिए । दक्षिणबाट उत्तरतर्फ वहिरहेको हवाले उडाएर जन्मस्थल
प्यूठानको बिजुवार र जीवनको कर्मस्थल अर्घाखाँचीको सिद्दारा दुबैतिरै लगिरहेको
धुवाँको माध्यमबाट उनैले भनिरहेको जस्तो लाग्यो ‘’’राम्ररी र शान्तिले बस्नु, घर समाजमा झगडा
नगर्नु, अनि सके जति दीन दुःखीको सेवा गर्नु । ‘‘गएँ है,
नफर्के गरी‘‘ । उता चिता दनदनी जलिरहेको थियो ।
यता म सहितका आफन्त र मलामीहरुको हृदय ।
’’तेह् दिनसम्म
राम्ररी काजक्रिया गर्नु, पछिसम्मका लागि दुःख नराख्नु, दानपूण्यका लागि हुने खर्चको चिन्ता नलिनु, त्यसैका लागि आफैले बैङ्कमा राखेको मुद्दति खाताको रकम नै काफी छ,,,,,,,। विवाहको साढी पोते र सिन्दूर टिनको बासकमा छ । त्यसलाई
पनि सागरमै पठाइदिनु । तिर्नुपर्ने कसैलाई केही छैन । बरु लिनु पर्ने छ । धर्म
सम्झेर दिएछन भने लिनु । नत्र त्यसको पनि चिन्ता नलिनु, ठिकै छ’’……. । मृत्यु अगाडि उनको सन्देश ।
यसको सत्यताको प्रमाणिकरणकालागि ससुरा बुबासहितका घरका केही सदस्यहरु र
नजिकबाट बुझ्नेहरुलाई सोधेँ । सत्य रहेछ । भित्री मन झनै रुन पुग्यो । ससुराली
पुगेका बेला कहिलेकाँही श्रीमती सुशिला आचार्यले केहि सन्दर्भमा म प्रति गुनासो
गर्दा वा समालोचनात्मक रुपमा केहि कुरा गर्दा उनले भन्ने गरेका भगवान सरहका
जुवाँइलाई केही नभन है । तेरो भाग्ये आदि सम्मान र आशिर्वादका शब्दहरुले आजीवन
ऋणि बनेको म स्वयं यो स्मरण र श्रदाञ्जली आलेख, अँश्रुपूर्ण नयनका बिचमा ल्यापटपमा चलिरहेका
औँलाहरुको सादरभावको शब्दपुष्प र शब्दपुञ्ज मात्र हो ।
ज्वाँइका नाताले आफूलाई स्नेहपूर्ण व्यवहार गरेकैबाट पुल्कीत हुदै आएको मेरा
लागि उनको ब्यवहार कौसलताबाट स्थापित सामाजिक सम्बन्ध, उनले प्राप्त गरेको
सम्मान र पहिचानका शब्दहरु सुन्दा र श्रदाञ्जलीका शब्दहरु लिखित विभिन्न २९ वटा
फ्रेमहरु र चारवटा ल्फ्यासबोर्डहरुमा सजिएका शब्दहरु तथा करिब एकहजारजतीको
सँख्यामा श्रदान्जलीका लागि भएका १३ दिनभित्रका उपस्थित मनहरु र तिनीहरुका व्यवहाहरु पढ्दा र देख्दा म झनै नतमस्तक र
आभारी बन्न पुगेँ । सरस्वती बेलबासे साँच्चै आमाहरुकी नमूना आमा भन्ने लाग्यो ।
बाँचुन्जेल आफैलेपनि समुचित सम्मान र आदर दिन सकिएनछ भन्ने आत्मवोध र एकप्रकारको
पश्चाताप पो हुन गयो । जन्मदातृ आमा प्रतिको श्रद्दा र सम्मानजनक ब्यबहार उनको
जीवनकालमा आफूहरुबाट के कति र कसरी भयो ? सम्बन्धित रगत नाताका सन्तानहरुले
आत्मानुभूतिको एक अब्यक्त तर मननीय बिषय हो ।
ज्वाइ नातासंग हृदयतापूर्ण खुलासा वा दुखेसो गर्न मनले नमानेर हो वा अधिकतः
सन्तुष्टि नै भएर हो, जीवनकालमा खासै खुलेर आएनन गुनासाहरु । ८६
वर्षे जीवनको उत्तरार्धका करिब ३५ वर्ष एक ढुकुर जोडी मात्रै मसुरीयाको माटोमा
भलाकुसारी गरिरहेको देखियो । प्रकृतिको अवश्यम्भावी क्रुरता,त्यही जोडीपनि
छुट्याइदिएको आज ४५ औँ दिन भइसक्यो । आजका दिनमा सताब्दिपुरुष आयुतिर लागिरहेका
टङ्केश्वर बेलबासेको दीनचर्या एकल पुरुषका रुपमा भित्तो र लौरो समाएर भित्र बाहिर गर्दै, अब कुन छोराबुहारीसँग बस्दा बढी सन्तोषी र खुसी रहने
होला भन्ने मनपीर र स्वजवाफको खोजीमा छ ।
बिरामी हुदा उपचारै नगर्ने तर अन्त अन्ततिर एम्बुलेन्समा हालेर अस्पतालको
प्रबेशद्दार भित्रसम्म सास पुरयाउने र लास बोकेर फर्कने सन्तानहरुदेखि, आमाबाबुको समुचित
लालन पालन र स्याहारका लागि एकजनाले जागिरै छोेडेर बसेका अवस्थाहरु हुदै, कोमामा रहेको
कारणले लामो समय भेन्टिलेटरमा राख्न अस्पत्तालले अस्वीकार गरेपनि वर्षौसम्म आफ्नै
घरमा भेन्टिलेटर बनाएर निरन्तर नर्शसेवा र आवश्यकतानुसार चिकित्सक सेवा लिने दिने
सन्तानहरुसम्मका सयौँथरि सन्तान र हजारौँ खुसी तर लाखौँ दुःखहरुभित्र छन धेरैजसो
जेष्ठतम नागरिकहरुको जीवनकथाहरु ।
सर्जकहरुका शक्दिन देख्न सन्तान थरिथरिका भन्ने शब्दहरु र ’’बाबु आमाको मन
छोराछोरी माथि तर छोराछोरीको मन ढुँगा मुढामाथि’’ भन्ने भनाइलाई स्मरण गर्दा विविध
कोणबाट धेरै अर्थ लाग्न सक्दछ । तर हिजोभन्दा आज र आज भन्दा भोलि झन बढी मर्मभेदी
बेगका रुपमा ओषतिमूलोको अभावमा र समुचित सेवाको अभावमा, छटपट्टिनु परेका
आमा बुबाहरुको हबिगतपूर्ण दिनचर्याले पूर्विय दर्शनको त्यो पाटो धेरै हदसम्म
ब्यवहारशून्यताको दिशातिर गइरहेको दुःखद आभास भने धेरैलाई भइरहेको हुनुपर्छ ।
पूर्विय दर्शनका अनुयायीहरुमा पैत्रिक सम्पत्तिको उत्तराधिकारीको हकदार छोरा
हुने कडा बुझाइ रहेको छ तर मातृपितृप्रतिको कर्तब्य निर्बाहको दायित्ववोध र त्यसको
सामाजिक सांस्कृतिक तथा न्यायिक मापन वा परीक्षण आधार कमजोर अवस्था अझै बढ्दैछ ।
यही संभाव्यतालाई मनन गर्दै २०७२ सालको संविधान निर्माणको चरणमा पैत्रिक
सम्पत्तिलाई इच्छापद्दति (विलसिस्टम) मा लैजानुपर्छ भनेर लेखियो । यस्तै कतिपय
सन्दर्भमा सम्बन्धित समितिमा आमन्त्रित विज्ञका रुपमा सभासदहरु समेतका सामु उभिएर
घोक्रोपनि फुलाइयो तर सभासदहरु खासगरी महिलाहरु नै बाबुआमाका प्रिय भनेका
छोराहरु हुन्छन र सम्पत्तिको इच्छापत्र
छोराहरुमध्येबाटै दिन्छन र छोरीहरु कानूनी रुपले अन्याय मै पर्दछन भन्ने बुझाइमा
रहे । हिन्दू धर्मदर्शनमा स्वर्ग (कथित) को यात्राका लागि पुत्रको अनिवार्यता रुपी
अविस्वसनीय मान्यतामा (धर्मान्धता) मा विश्वास गर्ने मानसिकताबाट ग्रसित र त्रसित
भएकाले धेरै इच्छितहरुको त्यतिवेलाको त्यो प्रयास सफल हुन सकेन । केहीपछि छोराछोरी
दुबै पैत्रिक सम्पत्तिका हकदार हुने कानून त बन्यो तर ब्यवहारमा ऐलेसम्म पनि
छोरीलाई अँश दिने कि नदिने ? दिए धुमधाम रुपमा भएको विवाह खर्चको व्यवस्थापन
र मिलान कसरी गर्ने ? विवाहितालाई पनि दिने कि अबिबाहितालाई मात्र
दिने ? बुहारीले माइतिको सम्पत्ति नल्याउने तर छोरीलाई सम्पत्ति
दिएरै पठाउनु पर्ने ? यसप्रकारका सवालहरुले एकप्रकारले अन्यौलता
बढाएकै छ । अर्को प्रकारले छोरीहरुप्रति अन्याय नै छ र कतिपय सन्दर्भमा जेष्ठतम
नागरिकहरु छोराहरुबाटै अपहेलित बनेर छोरीहरुको आश्रयमा जीवन निर्बाह गरेका र बाध्य
भएर बृद्दाश्रमतिर लागेका पनि छन । रातबिरात बृद्दाश्रमको नजिक वा बाटोमा राखेर
छोड्ने छोराछोरीहरुलाई त सन्तान नै कसरी भन्ने र ?
जसले भौतिक र जैविक रुपमा आफ्नो जन्मदातृ आमा नै यस्ती थिइन भन्ने क्षमता
राख्दैन वा अवसर नै पाएन, उसले अरु अरु आमाहरु वा सासु आमाहरु प्रतिको
भक्तिभाव वा समर्पित लगावका बारेमा केही लेख्नु एकप्रकारले दुस्साह हुन सक्दछ ।
केहीका लागि एकप्रकारको ढोँग पनि लाग्न सक्दछ । तरपनि हजुरबुबालाई फालेको डोको
बाबुलाई फाल्न चाहिने हुदा जलाउन नदिएर जतनले राख्ने छोराको किम्बदन्तिजन्य
प्रयासदेखि, भोकमरीले सबै बीउपल खायर सक्किएको कठीन मौकामा कँहाबाट
बिउपल जुगाड गर्ने भन्ने बुद्दि नै नआएको समाजमा कुनै ब्यक्तिले लुकाएर जिवित
राखेका अतिबृद्दको जुक्तिबाट बिउपल पत्ता लागेर सबैले खाध्य सामाग्री पाउन थालेको
चिनिया लोककथासम्मको ज्ञान वा सम्झना हुनु आवश्यक छ ।
जन्मदातृ आमा बुबाको सेवा र सम्मानका लागि साधारणतः कोही पछि पर्दैनन । समाजमा
कुनै कुनै सन्तानले मातृपितृप्रतिको दायित्व निर्बाहमा कमी वा हेलचेक्रयाँइ
वा बदनियत आदि राखेका हुन सक्दछन । त्यो
अपवादजन्य अवस्था, एकप्रकारले नैतिकताविहिनता मात्र होइन, कानूनी रुपमा समेत
आपराधिक कार्य हो । श्रद्देय सासु आमा सरस्वती वेलवासेका केही केही चाहनाहरु पुरा
भएनन पनि होला तर ततसम्बन्धमा सार्वजनिक हुने गरी उनको कुनै पनि गुनासो सायदैः कसैले
सुन्न पाए । यो पनि आमाहरुको महानताको अर्र्को पाटो हो । प्रायःसबै आमाहरु
अनगिन्ति पीडाले थलिएका हुन्छन तर सार्वजनिक गर्दैनन् । गोपनीयता कायम राख्दछन ।
आफू मिटाइ सन्तानको सधै भलो चाहन्छन ।
प्राणि जातिको मृत्यु अवश्यम्भावी छ । मानव शरिरमा रहने फोक्सो, मुटु र दिमाग तीनै
चिजले काम नगरेपछि मानिसको जैविक मृत्यु हुन्छ भन्ने चिकित्साशास्त्रीय मान्यता
रहेको छ । कानूनी र सांस्कृतिक दृष्टिबाट मृत्यु हुनुभनेको दामासाहीमा पर्नु र
अदालतबाट नैतिक पतन हुने जघन्य कसूरदार ठहर हुनुु हो । कानूनी एवं सांस्कृतिक
रुपमा हुने मृत्युले जैबिक रुपमा जिवित रहेसम्म पूर्णता पउन सक्दैन । यसर्थ सबै
किसिमको मृत्युको अन्तिम रुप वा अवस्था भनेको जैबिक मृत्यु नै हो । जन्मलाई
उत्सवका रुपमा र मृत्युलाई शोकका रुपमा लिने हिन्दूधर्मशास्त्रको शास्त्रीय
मान्यताभित्र मरेर पनि कसरी जीबित रहन सकिन्छ भन्ने बुझाईमा स्पष्ट हुनु अर्को
महत्वपूर्ण, मननीय र आवश्यक विषय हो ।
सबै मानिस जन्मन्छन र मर्दछन । तर मरेरपनि बाँचिरहन सकिन्छ कि सकिदैन ? सकिन्छ भने कसरी ? यसप्रकारका सवालहरु
भावनात्मक र दुर्र्बोध्य सवालका रुपमा रहेका छन् । पछिल्लो समयमा मानिसहरुको सरदर आयु कम्तिमा १५०
वर्ष बनाउनु पर्छ र सके यसलाई अजम्मरी बनाउनेतिर लाग्नु पर्दछ भन्दै त्यसको सपना
देख्नेहरु लगानितिर हात बढाइरहेका छन । खासगरी एलेन मस्क र फेसबुक टिम यसमा अगाडि
बढिरहेका छन । दिमागमा चिप्स राखेर र मुटु तथा फोक्सो कृत्रिम रुपमा राखेर
मानिसलाई अजम्मरी बनाउन सकिन्छ कि ? भन्ने यस शताब्दिका केही उच्चतम बुद्दिजिबी
मानिसको अध्ययन,अनुसन्धान र बिकास बनिरहेको छ । भनिन्छ, माओको जैबिक शरीर
ऐले पनि केमिकलमा डुबाएर राखिएको छ । जैबिक शरीरलाई यसरी राखिएका विभिन्न
क्षेत्रका सुपात्रहरु अरु पनि छन । तर खर्चालु छ यो विधि । करिब एक करोड नेपाली
बराबरको बार्षिक खर्च लाग्ने । त्यसैले असाध्यै धनी ब्यक्तिले मात्र राख्न सक्दछन
यसरी । तर सवाल उठ्दछ, राख्ने के प्रयोजनका लागि ? महामानव रुपी
कर्मको योदानको सम्मानका लागि ? जीवन र जगतको अनुकरणीय योगदाताको सम्मानका लागि
? जन्मदातृ आमा वा बाबु वा अतिनिकट ब्यक्तित्वको सम्मानका
लागि ? यस सवालमा धेरै बिचारहरु
आउन सक्दछन । अबको मानव संसार जैबिक बैज्ञानिकभन्दापनि सूचना प्रविधिका विज्ञहरुले
चलाउने युगका रुपमा अगाडि बढ्ने निश्चित छ । सबै क्षेत्रका लागि सप्टवेयर र चिप्स
चाहिने युगका रुपमा बिकसित र परिमार्जित हुदै गइरहेको छ । मान्छेको आयु बढाउने
आधारपनि त्यही हुने छ । योपनि करिब करिब निश्चित छ कि अबजन्मने बालबालिकाहरुको
सरदर आयु एकसय बर्षकै हुनेछ ।
२०७२ सालको महाभूकक्पमा भक्तपुरमा भग्नावशेषले बच्चासहित च्यापिएकी एक आमाले
बच्चालाई आफ्नो आँैठा टोकेर रगत निकाली चुसाउदै गरेकी तर आफू मरेको घटना र
दृश्यलाई स्मरण गरौँ त, आमाको महानताका लागि अरु उदाहरणहरु खोज्नू
पर्ला र ? आफ्ना सयौं कोषिकाहरु मरेको असह्य पीडा नवजात शिशुको याँहाल
याहाँल (चिच्याहट) ध्वनिमा मिसाएर अन्तरमनदेखि परम सन्तोषको महसुस गर्दै जगतभर
त्यसको आभा छर्ने आमाहरुलाई कुन शब्द वा भावले लेख्न सकिन्छ र ? सकिदैन । जैविक
रुपमा आमा बन्न नसकेका आमाहरुको मनभित्र कति उचाइको श्रद्दा होला आमाहरुप्रति ।
यसकोणले जतिलेखे पनि पुग्दैन । वस्तुतः अक्षर नै बनेका छैनन आमाहरुका योगदानको
बारेमा वर्णन गरेर सक्नका लागि ।
बुना दाहल र इन्द्रकुमार श्रेष्ठको सम्पादकत्वमा अमेरिकाबाट प्रकाशित मदर
डटर लिगेसी (आमा छोरीको सम्बन्ध) पुस्तक वा मञ्जु थापा सहितका १२ जना
छोरीहरुको कलमले सिर्जना गरेका अमेरिकाबाटै प्रकाशित छोरीहरुले जन्माएमा आमाहरु
जस्ता कृतिहरुभित्र त के म्याक्सिम गोर्कीको बहुचर्चित एव् बहुपठीत उपन्यास आमा
भित्र रहेका शब्द र भावहरुले पनि आमाहरुलाई समग्रतामा संवोधन गर्न सकिरहेका
छैनन । युगपर्यन्त पूर्ण रुपमा संवोधन गर्न पनि सक्ने छैनन, किनकी आमाहरु
अपरम्पार छन । जन्मदातृ, पहिलो गुरु, पहिलो सल्लाहकार, पहिलो साथी, श्री ६, पहिलो पुस्तक आदि आदि सबै बुझाईको सम्मानको
केन्द्रीय सुपात्र र हरेक पीडाकी सारथी आमा नै हुन ।
आमाको महिमाका सम्बन्धमा केही भनाइ (बुझाइ)हरुलाई हेरौः आमा साथमा हुने मानिस
कहिल्यैपनि गरीब हुदैन (अब्राहम लिङ्कन), मलाई एक असल आमा देउ, म तिमीलाई एक
राष्ट्र दिन्छु (नेपोलियन बोनापार्ट),दील खोलेर रुनका लागि सबैभन्दा उत्तम स्थान
आमाको काख हो (जोडी पिकोल्ट), जिँउदो भगवान हुन (लियोनार्दो डिकप्रियो),संसारमा सबैभन्दा
धनी मानिस पनि आमा बिना गरीब नै हुन्छ,
भगवान सबैतिर हुन सक्दैनन त्यसैले आमाहरुलाई
जन्म दिएका हुन (रुढयार्ड किप्लिङ), भविष्यका बारेमा आमाहरुमात्र सोँच्न सक्दछन, किनकी उनीहरु आफ्ना
सन्तानहरु मार्फत भविष्यको सिर्जना गर्दछन (मेक्सिम गोर्की), दुई देशका आमाहरु
एकै ठाउमा हुनेहो भने कहिल्यै पनि युद हुन सक्दैनन (इ एम फोस्टर), वास्तविक र चोखो
माया गर्ने केवल आमा हुन, अरु सबै भ्रम, दुनिया जीत तिमी तर आमाको मन जित्न सकेनौ भने
दुनियाँ बिजयको कुनै अर्थ हुदैन र आमा नभएको घर र बाबु नभएको
समाज उज्यालो लाग्दै लाग्दैन’’ आदि आदि । आमाको महिमा र वास्तविक महत्वका
बारेमा बिचार गर्दा यस्तो लाग्दछ, सन्तान जन्माउने आमाहरु कहिल्यै मर्दैनन, अजम्मरी हुन्छन, सन्तानहरुका
माध्यमबाट युगाँै बाँचीरहेका हुन्छन ।
जीवन छदासम्म आमाहरुको मन जित्न सक्यौ कि सकेनौ ? उनका आँखामा दुःखका
आँशुहरु आउन नदिन खास खास योगदान गर्न सक्यौे कि सकेनौ ? आमाहरुलाई मुसारेर
वा सेवा गरेर उनको मन जित्यौँ कि हकारयौ वा पिटयौँ पनि ? माथिका भनाइहरु र
यस्तै सवालहरु हरेक सन्तानहरुले सासरहेसम्म सम्झिरहयौँे र सार्थक परिणामबाट
ब्यवहार गरयौँभने मात्रै आमाहरुप्रतिको साँचो सम्मान र सेवाको सार्थकता
ब्यवहारतःप्रमाणित हुने छ ।
कतै हामीमध्ये केही माथि भनिएजस्तै बिरामी हुदासम्म मौकैमा आवश्यक उपचार
नगर्ने तर अन्तिम अन्तिमतिर अस्पत्तालको गेटसम्म पुरयाउने, अनि उनको लाश लिएर
फर्कने अनि डाको छोडेर रुने सन्तान त भइरहेका छैनौ ? जिन्दगीभर मीठो मसिनो के हो भन्ने चाख्न पनि
नपाउने अवस्थामा राख्ने तर मरेपछि बार्षिक स्मरणको नाउमा खिरको पिण्ड चढाउने मात्र
त भइएको छैनौ ? अथवा मातातीर्थे औँशींका नाउँमा मुण्डन,यज्ञ, पूजन,शँख तथा मजुराका
ध्वनि चढाउदै हवन आदि गर्ने कोटीका मात्र त भएका छैनौ ?
उल्लिखित सवालहरु जीवित आमाहरुको सम्मान र सेवामा कँहि कमि त भएको छैन, भनेर सबैले मनन
गर्नुपर्ने सवालहरु हुन । जीवनभनर यो वा त्यो कोण र प्रकोणले आमा बाबुलाई रुवाउने
अनि मरेपछि लोकाचारका लागि फूल,अबिर,अक्षता आदि समाउने पङतिकै भएका छौँ भने, सम्झौ त्यो
आमाहरुप्रतिको सबैभन्दा ठूलो अन्याय हो । अक्षम्य ब्यवहार हो ।
आमाको भौतिक शरीर देख्ने,छुने र ज्ञातब्य रुपमा आमाको काखमा रुने र
हाँस्ने मौका पाउनेहरु सबै सबैका लागि उल्लिखित सवालहरुको जवाफ आ–आफ्ना
ब्यबहारहरुमा फर्केर हेर्दै अगाडि बढ्ने शुभ साइतका शुभ शब्दहरु बन्न सकून ।
सन्तानहरुबाट समुचित सेवा तथा सम्मान पाउन नसकेका सबै आमाहरुमा सादर क्षमार्थिकासाथ
सतत नमन र सासु आमा सरस्वती बेलबासे सहितका स्वर्गिय सबै अजम्मरी (सन्तान जन्माउने) आमाहरुप्रति
हार्दिक श्रदाञ्जली ।
२०८१।११।०४ प्यूठान
ऐरावती १ धनवोट । हाल नरेफाँट काठमाण्डौ
No comments:
Post a Comment