सधै र सबै अवस्थामा तन र मन एकैसाथ हुदा रहेनछन । तन एकातिर र मन अर्कोतिर । यसोहुन गयोभने मानिस बेहोसी हुन जान्छ भनिन्छ । ठ्याक्कै बेहोसी त हैन तर अली अली बेहोसीपन बढेको आजकल मलाई । तनले पोखरा छोडीसकेपनि मनले छोडेको छैन । तन बाध्यताले झिटीगुण्टा बोकेर हेटौडा आइपुगेपनि मन उतै अर्थात पोखरातिरै छ । त्यसैले होला हिड्नु अघि यसरी लेख्न पुगेको थियो मेरो मनलेः ''पोखरा मन परयो मलाईः गाहरो भो छोडेर जानलाई, केही छनकी सम्झने, चिनो बोकेर हेटौडा लानलाई'' ।
नभन्दै
धेरै चिनोहरु दिए पोखरेलीहरुले । सुशासनका लागि नागरिक समाज (सुनास) ले आफ्नो बार्षिक साधारणसभामा प्रमुख आतिथ्यताकासाथ भ्रष्टाचार
बिरोधि अर्थात सुशासनका एक अभियन्ता तथा सुप्रशिद्ध समाजसेवी श्री आनन्दराज
मुल्मीले हेटौडाका लागि बिदाइको माला पहिराई दिदा पोखराको सफल कार्यकालका लागि
धन्यवाद दिइरहेको लाग्यो । ''सुनासको
चारवटा कार्यक्रममा प्रमुख भुमिका निर्बाहकर्ता मात्र हैन, भ्रष्टाचार बिरोधी अभियानमा खेलेको भूमिका सधैका
लागि स्मरणीय रहेको छ'' भनी
सुनासका अध्यक्ष श्री पुण्यप्रसाद पौडेलका अभिब्यक्तिहरु हेटौडाको कार्यकालकालागि
पनि प्रेरणाका शब्दहरु बनेर मनको मझेरीमा बसीरहेका छन । सुनासको कार्यक्रममा ''पोखरा सुशासनको राजधानी बनोस भन्न मनलाग्यो । यहा
आउने हरेक राष्ट्रसेवकहरु सदाचारी बनोस । अन्यथा सुशासनका हिमायती पोखरेली मनहरुले
दण्डदिने छन'' भनेर पनि थप्न पुगेँ।
नागरिक
समाज पोखराको बिदाई कार्यक्रम मेरा लागि अर्को कहिल्यै नबिर्सने क्षणका रुपमा रहन
पुग्यो । हरेक राष्ट्रसेवकहरुको सही मुल्याकँनकर्ता भनेको स्थानिय नागरिक समाज हो
। सँयोजक रामबहादुर पौडेलले सरुवाको चर्चा सुन्दासाथ समय मिलाउन आग्रह गरिरहनु
भएको थियो । अदालत भित्रका केही बिकृतिहरुलाई अगाडि सार्दै ढिलो न्याय र न्यायमा
देखिएका केही पनपक्षपनका बिरुद्ध कर्मक्षेत्रमालागि रहने शुभेच्छा जैनब खातुनले दिँइरहदा
गर्नुपर्ने अझै धेरै रहेछन भन्ने लागेर आयो । नागरिक समाजका सक्रिय ब्यक्तित्वहरु
धिरज थापा, खगराज आचार्य, तिलकप्रसाद आचार्य आदि सबै सबैको शुभकामना ''भावी यात्रा न्यायको शिखर चुम्ने'' भावमा रह्यो । ''पोखरामा जस्तै सुकर्मले हेटौडालाई पनि गुल्जामय बनाउनु हुनेछ'' सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठका अभिब्यक्तिहरु
झनै वजनदार र सतत प्रेरणाका स्रोत बनेर रहेका छन् भित्रि मनमा ।
दाङ- पोखरा सम्पर्क समाजले शुभयात्रा कार्यक्रम राखेर
उत्साह थपिदियो । यसैगरी मानव अधिकारका लागि पत्रका सँघ पोखराको शुभयात्रा
कार्यक्रमले त भित्रीमनको आँशु नै चुहायो कार्यक्रम स्थल मै । अर्जुन गिरि, रामबहादुर पौडेल, दीपक पौडेल, भुवन
पराजुली, सरलाकुमारी पाण्डे, बेदहरि तिमिल्सेना, पुण्य पौडेल, इन्सेक प्रमुख शिब खकुरेल, स्वन्तत्र पत्रकार महासँघका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका
प्रमुख डा टिकाप्रसाद पोखरेलसहित अध्यक्ष राजेश साप्कोटा समेतका अभिब्यक्तिहरुले
सतत प्रेरणा दिइरहेका थिए ।
''पोखरामा राम्रो काम गरयौ, हेटौडामा अझै राम्रो गरे'' भन्ने शुभेच्छात्मक शब्दहरुले भित्रि मनलाई भारी बनाइरहेको थियो ।
असफल गौतमले धन्यवादको गीती शब्द राख्दा कुन्नी किन हो मेरा आँखाहरु रसाए । रुमाल
झिकेर पुछेँ । पत्रकार बीरेन्द्र साप्कोटाका आँखा मात्र हैन, कलम नै परेछ मेरा आखाँ वरिपरि नै त्यस क्षणमा ।
भोलिपल्ट समाचार सम्प्रेषण गरीहाले ''आँशु झार्दै हेटौडाको कर्मथलातिर लागे आचार्य ''(आदर्श समाज ८ भाद्र २०७१) ।
यस्ता
कार्यक्रमहरुलाई शुभयात्रा (बिदाई
कार्यक्रम भन्नु भन् शुभयात्रा कार्यक्रम भन्नु सबै अर्थमा उचित हुन्छ भन्ने मेरो
बुझाई रहेको छ ) कार्यक्रमको अर्को स्मरणीय क्षण
बन्यो पुनराबेदन बार इकाइ पोखरा तथा जिल्ला बार इकाइ कास्कीद्धारा आयोजित सयुँक्त
कार्यक्रम । मुख्य न्यायाधीश डम्बरबहादुर शाहीको स्वागत र सहकर्मी युवराज
सुवेदीलाई सुर्खेतका लागि शुभयात्रा समेतको सँयुक्त कार्यक्रम ।
कानुनतः
हरेक न्यायाधीशहरुको औपचारिक मुल्याकँनकर्ता न्यायपरिषद हो । नियुक्ति सरुवा र
बढुवा (कानुनतः नियुक्ति नै भनिन्छ) तथा पुरस्कार र दण्डका निर्णयहरु गर्ने
अधिकारप्राप्त सँस्था त्यही नै हो । तर अनौपचारिक मुल्याकँनकर्ताहरु धेरै हुन्छन
समाजमा । बिशेषत नागरिक समाज पत्रकारिता र
सँगठित बार हरेक न्यायाधीशका लागि अहम महत्व राख्ने मुल्याँकनकर्ताहरु हुन । कतिपय
न्यायाधीशलाई स्थानिय बार इकाइले बिदाई नगरेका पनि छन । त्यसो हुनु भनेको
सम्बन्धित न्यायाधीशको कार्यक्षमता र इमान्दारितामा माथि स्थानिय बार इकाइको
अस्विकार्यता हो र सँगठित रुपमा रहेको परोक्ष्य बिरोध पनि हो । यध्यपी यसो हुनुमा यदाकदा
ब्यक्तिगत आग्रह वा पुर्बाग्रहले वा राजनीतिक रँग वा ढँगले पनि काम गरेको छ है
भन्नेहरु पनि छन तर सारमा बार इकाइको मुल्याकँन न्यायाधीशहरुको कार्यक्षमताको
पहिचानको सबैभन्दा बढी वजनदार मुल्याकँन हो हरेक न्यायाधीशहरुका लागि ।
जिल्ला
बार इकाइ कास्कीका अध्यक्ष पदमपाणी देवकोटा तथा पुनराबेदन बार इकाइका अध्यक्ष
खगेन्द्रराज आचार्यसहितका सबै बिद्धवानमित्रहरुले पोखराको कार्यकालको प्रँशसाकासाथ
दिएका शुभयात्रा शब्दहरु सम्झिरहेको छ भित्रि मनले । वरिष्ठ अधिवक्ता कृष्णबहादुर
गुरुँगले ''सार्वजनिक कार्यक्रममा भएको अधिक
सहभागिताले न्याय सम्पादनमा आफैलाई केही असहज बनाएको हुनु पर्छ भन्दै यसमा अझबढी सन्तुलनता ल्याउन'' दिएको सुझावयुक्त शब्दहरु मेरालागि सधै सधै
सम्झने शब्द र भाव बनेर हंदयमा बास गरेकाछन् । कार्यक्रमको बिचमै उठ्नु परयो
ज्येष्ठ नागरिक सरोकार समाज पोखराको आमन्त्रणलाई ब्यबस्थापन गर्न ।
कार्यक्रम
स्थलमा पुग्दा मात्र थाहा भयो तिन वर्षको कार्यकालमा ज्येष्ठ नागरिक सरोकार समाज
पोखराका बिविध कार्यक्रमहरुमा देखाएको सहभागिताकालगि सम्मानसहितको शुभयात्रा
कार्यक्रम पो रहेछ । नजानिदो गरी झरे फेरि हर्षाशुँहरु । ज्येष्ठ नागरिकहरु, त्यसैमा पनि समआदरणीय र पुज्यनिय पात्रहरु । किनष्ठहरुका
लागि उहाहरुका आशिर्बचनसहितका शुभशब्द नै काफी हुने । त्यस्मा पनि दोसल्ला र सम्मान पत्र सहितको शुभ आशिष ! मेरा
लागि अर्को ऐतिहासिक क्षण बन्यो । कृत कृतज्ञ बने समाजको तर्फबाट सुर्यमोहन
भट्टराइले शुभआशिषसहित सम्मान दिँदा ।
छोरेपाटनको
दुर्गा मन्दीरमा आयोजित श्रीमदभागवत महापुराण यज्ञ सप्ताहको शुभारम्म पोखराको
सार्वजनिक सेवामा समाउन पाएको अन्तिम कलश बन्यो मेरो हालसम्मको राष्ट्रसेवाको
यात्रामा । धार्मिक बिषयको अध्ययन र आख्यानमा खासै दख्खल नराख्ने । त्यसमा पनि
कथाशिरोमणि दिपक प्रसाद पौडेल र वरिष्ठ समाजसेवी बिशेषतः धार्मिक सेवी लिलाभक्त
आचार्य समेतको प्रस्तुति पछि राख्नुपर्ने के नै बाँकी रहन्थ्यो र ? तैपनि
मानव कल्याण नै सर्वधर्मको केन्द्रीय भाव रहेको तर्फ सँकेत गर्दै महाभारतको उद्योग
पर्वभित्रका यी पङतिहरु पनि राख्न मन लाग्यो त्यस क्षणमा।
प्राणी
मात्र समान हुन पृथ्वीकाः भन्ने बिचारिकन
जो
गर्छन सबकोभलो नरपतेः हुन श्रेष्ठ ति सज्जन । १४।
अर्कोको
कुभलो चिताउनु ठुलोः हो पाप सँसारमा
अर्काको
हित झैँ ठुलोः केही छैन ब्रम्हाण्डमा ।१५।
हिड्नै
लागेका बेला जिल्ला अदालत परिवारको शुभयात्राका शब्द, माला र सम्झनाहरु थापेर लागियो हेटौडातिर । हो, माथि आरम्भमा भनेजस्तै तिनवर्षको कार्यकालमा
पोखरा आजसम्मको ३५ वर्षे जागिरे यात्रामा सर्बाधिक सक्रिय, सन्तोष र ऐतिहासिक रहयो मेरा लागि । करिब ४ वर्ष
दाङमा कार्यरत (२०५७।०६१) रहदा धेरै कार्यक्रमहरुमा सहभागि भएको लागेको
थियो । तर सँख्यात्मक रुपमा धेरै भएपनि गुणात्मक रुपमा पोखराको कार्यकालले उछिन्यो
दाङको कार्यकालको सार्बजनिक पहिचानलाई । न्यायाधीश पदमा नियुक्त भएपछि साप्ताहिक
रुपमा स्थानीय कुनै पत्रिकामा स्तम्भ लेखन गर्ने जागिरे जीवनको निरन्तरता पोखरामा
हुन सकेन । यो आफ्नै आत्मनिर्णयको परिणति हो । सो बाहेकलाई तुलना गर्दा पनि दाङको
ब्यस्ततालाई पोखराले उछिन्यो लागेर आइरहेको छ ।
हो, माथि भनेजस्तै पोखराले बाहिरी अर्थात औपचारिक
चिनो र पहिचानहरु धेरै दियो । त्यसको अतिरिक्त भित्री मनको चिनो । सदभावको चिनो ।
अजम्मरी बन्ने सम्मानको चिनो । हेटौडा आएर सम्झदा र हेर्दा मायाका चिनोहरुले झनै
बुर्कुसी मारयो मेरो भित्री मनले ।
२०६६
साल भाद्र ९ गतेबाट आरम्भ भएको मेरो पुनराबेदन अदालत पोखराको कार्यकाल २०७१ साल
भाद्र ८ गते अर्थात ठ्याक्कै ३ वर्ष एक महिनासम्मका लागि बन्यो । २०३७ साल बैशाख
१५ गतेबाट आरम्भ भएको राष्ट्रसेवाको यात्रा २१ औँ पटकको सरुवाका रुपमा हेटौडाका
लागि भयो । ३५ वर्षे सेवाको कार्यकालमा यतिधेरै पटक सरुवा ? पत्याउन
कठिन हुने सन्दर्भ पनि हो । तर मेरो जागिरे यात्रा यसको एक प्रमाण र आधार बनेर
बसेको छ । राष्ट्रिय सँग्रहालय छाउनीबाट २०३७ साल बैशाख १५ गते आरम्भ भएको जागिर (२) काठमाण्डौ जिल्ला अदालत (३) मध्यमाञ्चल क्षेत्रीय अदालत
रानीपोखरी (४) प्रशासकीय अदालत थापाथली (५) भेरी अञ्चल अदालत नेपालगन्ज (६) पुनराबेदन अदाल सुर्खेत (७) पुनराबेदन अदालत राजबिराज, मुकाम ओखलढुँगा (८) पुनराबेदन अदालत इलाम (९) पुनराबेदन अदालत नेपालगन्ज (१०) पुनराबेदन अदालत जुम्ला (११) फेरि पुनराबेदन अदालत सुर्खेत (१२) फेरि पुनराबेदन अदालत नेपालगन्ज (१३) पुनराबेदन अदालत बुटवल (१४) पुनराबेदन अदालत बाग्लुँग (१५) पुनराबेदन अदालत तुल्सीपुर (१६) फेरि पुनराबेदन अदालत बुटवल (१७) तेस्रोपटक पुनराबेदन अदालन सुर्खेत (१८) पुनराबेदन अदालत पाटन (१९) पुनराबेदन अदालत महेन्द्रनगर (२०) पुनराबेदन अदालत पोखरा र पछिल्लो
क्रम (२१) मा पुनराबेदन अदालत हेटौडा ।
पदस्थापना
सरुवा र काज सरुवा समेतबाट बन्यो उल्लिखित क्रमको स्थानान्तरण । आधि रहर (अर्थात स्वभाबिकता) को आधि कहरको । जागिरभित्रका अन्तरसँघर्षहरु पनि छिटो सरुवाका कारण
बने । हाकिमी दासताका बिरुद्ध आवाज उठाउदा वा स्वाभिमानिताका विविध सन्दर्भहरु
जुटाउदा कार्बाही स्वरुप दुर्गम सरुवाका अवस्थाहरु तेर्साइयो मेरो जागिरे
जीवनयात्रामा । जागिर आखिर जँहा गएपनि राष्ट्रसेवा न हो । नेपालगन्जबाट जुम्ला
लखेटेको भन्ने सम्झेर तत्काल सन्तोषको सास फेर्ने तत्कालिन मुख्य न्यायाधीश (पछि प्रधान न्यायाधीश) रामप्रसाद श्रेष्ठ वा आन्तरिक बेथितिका बिरुद्ध
आवाज निकालेको रोषमा ओखलढुँगा पठाउन सफल भएको भन्दै खुसीले फूलवारीको बेञ्चमा बसेर
खुट्टा हल्लाउने पुनराबेदन अदालत सुर्खेतका तत्कालिन मुख्य न्यायाधीश (स्व हरिश्चन्द्र प्रसाद उपाध्याय) हरु हुन, प्रायः सबै पछिल्ला दिनहरुमा सम्मुख हुदा सहजताका साथ कुरा गर्न
हिचकिचाउन अवस्थामा पुगे ।
सरुवा दण्डको माध्यम बन्यो भनेको त प्रकारान्तर रुपले पुरस्कारको
रुपमा पो परिणत भयो । ओखलढुँगाको कामबिहिन अवस्थाले सहायक सचिवस्तरको खुल्ला पदमा
सफल बनायोभने जुम्लाले दुर्गम नम्बरको माध्यमबाट छिटो प्रथम श्रेणीमा बढुवा हुनमा
मद्दत गरयो ।
जँहा
गएपनि स्थानीय परिवेशमा अघिल्ला पदाधिकारी भन्दा केही फरक शैली र स्वाभावका
माध्यमबाट केही सकारात्मक प्रभाव छोड्ने मनभित्रको चाहना रहिरहयो । कार्यशैली
त्यसरी नै चलिरहयो । अदालतको कार्य दैनिकी भित्र मात्र नअल्झिएर वा अदालतको
चारदिवालभित्र सिमित नभएर विभिन्न कार्यक्रमहरुमा सहभागीता, कार्यपत्र प्रस्तुति वा समुद्घाटन आदिको
माध्यमबाट सार्वजनिक सेवामा रम्ने र जम्ने कार्यशैली जारी रह्यो । न्यायाधीशको
रुपमा पदासिन भएपछि शैलीगत रुपमा केही फरक भएपनि र सँख्यात्मक रुपमा भन्दा केही
गुणात्मकताका साथ रहेपनि जारी रहयो त्यो यात्रा । सबैभन्दा छोटो अवधि ओखलढुँगाको
रहयोभने सबैभन्दा लामो तुल्सीपुरको । सबैभन्दा बढी सँघर्षशिल समय अञ्चल अदालत
नेपालगन्जको कार्यकाल बन्योभने हालसम्मको सबैभन्दा बढी प्रिय र स्मरणीय कार्यकाल
पोखरा कै कार्यकाल बन्यो ।
मानचित्रमा
र सरकारी मान्यतामा पोखरा क्षेत्रीय सदरमुकाम र एक पर्यटकीय स्थल मात्र होला । तर समग्रमा
पोखरा यतिमात्र बिशेषणले पोखरालाई न्यायगर्न सक्दैन । पोखरा त यहाँको प्राकृतिक सुन्दरता र वैभवताले प्रकृतिको राजधानी बनाएको छ । यसैगरी यहा रहेका दुई
दर्जनजति साहित्यिक सँघसँस्थाहरु र तिनीहरुको सँयोजनमा हुने गरेका साहित्यिक
गतिविधहरुले यस स्थानलाई साहित्यको राजधानी बनाइरहेका छन् । प्राकृतिक सुन्दरताले ओइरिइरहेका पर्यटकहरु
भनिएरहेका छन् यो त पर्यटनको राजधानी नै हो भनेर । दुइदर्जन जति छापा पत्रिकाहरु, डेढदर्जन जति एफएमहरु र क्रमशः बढिरहेका अनलाइन
पत्रिकाहरुले यसक्षेत्रलाई पत्रकारिताको मोफसलको राजधानीका रुपमा दाबी मात्र हैन, प्रमाणित नै गरिरहेका छन् । नेपालकै आदिबासी मध्ये एक मानिने गुरुँग अर्थात तमूहरुको ऐतिहासिक
सँस्कृतिका अतिरिक्त नेवारी समेतका विविध कला र सँस्कृतिहरुको साझा फूलवारी बनेको
छ पोखरा । मानव बिकासको सुचाँकमा सबैभन्दा बढी सम्पन्न नेपालको जिल्ला त्यही
कास्की जिल्ला अर्थात पोखराकै सेरोफेरो बनेको छ समुन्नत जीवनको राजधानी पनि ।
सबैखाले शिक्षाहरु पाइने पोखरा मोफसलको शिक्षाको राजधानी पनि हो भन्दा अतिसयोक्ति
नहोला । सँगसगै पोखरा चेतनशिल नागरिक अगुवाहरुको होस्टे र खबरदारीमा सुशासनको
राजधानी पनि बन्न लागिरहेको छ । बर्तमानमा
जसरी नागरिक समाजले सरकारी निकाय र पाधिकारीहरुका कार्यहरुप्रति निगरानी गरिरहेको
छ त्यसले सुशासनको राजधानीका रुपमा पोखराको पहिचान दिने छ भन्न हिचकिचाउनु पर्ने
केही छैन ।
तिन
वर्ष एकमहिनाको कार्यकालको अनुभवलाई सारमा भन्दा यहाको पोखराको नागरिक समाजले हरेक
राष्ट्रसेवकहरुलाई भनिरहेकोछ ''राष्ट्रसेवकहरु
यँहा दाम कमाउन हैन, नाम कमाउन आँउ । बिकृति र बिसँगतिसँग हैन, सदाचारितासँग मितेरी लाँउ । सुशासनभक्ति गीत गाउ
। जानेवेलामा नागरिक अभिनन्दनकासाथ सुशोभित बनेर जाउ । पोखरेली सदभावका मालाहरु र
शुभआशिषहरुले समग्र जीवन नै सजाउ'' ।
समग्रमा इमान साँची राखेर काम गर्ने मनको
धोकोलाई पोखराले साथ दियो । पोखराले हात दियो । इमान नै यस्तो वल हो, जस्ले सावर्जनिक जीवनमा राष्ट्रसेवकलाई छाती
फुलाएर बोल्न, हिड्न र चल्न उर्जा प्रदान गर्छ ।
प्राय सबैको चाहना र कामना हुन्छ ''इमान सधै हाँस्नु पर्छ, राष्ट्रसेवा इमानको पायनमा बाँच्नुपर्छ'' ।
पञ्चासेमा
पसिना झार्ने वा सेतीका छालहरुमा राफ्टिङसँगै डुबुल्की मार्ने मनको धोको बाँकी नै
रह्यो । यसैगरी पोखराकै बारेमा कुनै न कुनै कोणबाट एउटा कृति लेखन र प्रकाशन गर्ने
सिर्जनात्मक मनको धोको पनि यसपाली बाँकी नै रहयो । समग्रमा पोखरेलीहरुको स्नेह
सदभाव र अरु बढी शुभआशिषलाई पोल्टाभरी राखेर मात्र अर्को कर्मक्षेत्रमा आउने चाहना
पनि चाहना मै सिमित रहयो । प्रिय पोखरेली मनहरु ! केही धोको र धेरै सम्झनाका पोकोहरु बोकेर यतिवेला हेटौडाको भुमिमा
रम्न र जम्नका लागि सुरसार कसेको मात्र छुँ ।
राष्ट्रसेवका
हरेक पहलुहरुमा क्षमता त चाहिन्छ नै तर इमान्दारिता बिनाको क्षमता राष्ट्रघातको
बिष पनि बन्न पुग्छ । इमानलाई साथ र बेइमानलाई लात दिने नागरिक सामाज र सचेत जनमत
नेपालमा जताततै आबश्यक छ । यो शैली बिना कमाउ सँस्कृतिको क्यान्सर पीडित बनेको
नेपाली माटो सुबासमय हुन सक्ने छेकछन्दै देखिदैन । यही मुलुकी मार्मिकतालाई
स्पन्दित गर्ने अभियानमा जुटेका र इमान्दार राष्ट्रसेवकहरुको पहिचान तथा सम्मानमा
खटिरहने पोखरेली मनहरु र पोखरेलीजनहरुप्रति मेरो सतत सलाम छ ।
२०७१।०६।१८ adrdhanbot@gmail.com भैरवटोल हेटौडा
No comments:
Post a Comment