Saturday, 4 April 2026

संविधान संशोधनःप्रकृया र पारङ्गत उपाय

 संविधान सभाबाट बनेको नेपालको संविधान (२०७२) जारी भएको साढे दश वर्ष भयो । यसबिचमा संविधान संशोधनको आवश्यकताका आवाजहरु सदनमा उठे । सडकमा घन्के । भरखरै सम्पन्न प्रतिनिधिसभाको चुनावमा प्रायः सबै राजनीतिक दलहरुको चुनावी एजेण्डा पनि बन्यो । चुनावबाट अत्याधिक बहुमत प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीले त संविधान संशोधन बहस पत्र ततकाल जारी गर्ने बाचा नै गरयो । त्यही बाचा अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदमा नियुक्त बालेन्द्र शाह सरकारको गत चैत्र १६ गतेको क्याबिनेट बैठकको निर्णयबाट प्रधान मन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बाचा कार्यान्वयनको यात्रारम्भ गरेको छ ।

सुशासन, संविधान संशोधन र प्रत्यक्षकार्यकारी मूलतः तीन बिषयमा भएको थियो जेनजी आन्दोलन । उक्त आन्दोलनको स्वामित्व लिदै, त्यही आन्दोलनको जगमा उभिएर कार्यारम्भ गरेको नवनिर्बाचित बालेन्द्र शाह  सरकारले संविधान संशोधनको कार्यारम्भलाई सरसर्ती हेर्दा सकारात्मक पहल कै रुपमा लिन सकिन्छ । संविधान संशोधन राजनीतिक बिषय मात्र होइन, मूलतः संविधानवाद सम्बन्धी विधिशास्त्रको बिषय हो । संविधान बनाउदा वा संशोधन वा खारेज गर्दा ततकाल जनसमर्थित राजनीतिको प्रभाव पर्न सक्दछ तर संविधान निर्माण, संशोधन वा खारेजको बिषय राजनीतिक सहमति र मूल मान्यताहरुको शिरोधार्यको बिषय हो भन्ने कुरा बिर्सनु हुदैन ।

प्रथमतः संविधान संशोधनको प्रकृया मै सहमति जरुरी हुन्छ । प्रकृया भन्नाले समिति गठन देखि पारित सम्मको यात्रालाई बुझ्नु पर्ने हुन्छ । यसकालागि राजनीतिक सल्लाहकारको संयोजकत्वमा सल्लाहकार वा सहजिकरण समिति गठन गर्नुसम्म उपयुक्त हुने थियो । संशोधन विधिको पूर्णताका लागि कुनै पूर्व प्रधान न्यायाधीश वा वरिष्ठ बिधिबेत्ताको संयोजकत्वमा संविधान संशोधन सुझाब समिति गठन गर्नु उपयुक्त हुने थियो । तर त्यसो गरिएन । बरु राजनीतिक सल्लाहकारकै संयोकत्वमा गठन गरियो । परिणामतः राजनीतिक स्विकार्यता र विज्ञताको स्विकार्यतामा असन्तुष्टिहरु बाहिरिएका छन ।

प्रकृयागत रुपमा हेर्दा संविधानको धारा २७४ ले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल नहुने गरी संविधान संशोधन हुन सक्ने ब्यवस्था गरेको छ । यसका लागि संविधान संशोधन विधयेक तयार गरी जनताको जानकारीका लागि विधेयक संसदम पेश भएको तीनदिन भित्र सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने  ब्यवस्था गरेको छ । संशोधनको बिषय प्रदेशको सिमा हेरफेरसँग सम्बन्धित भए सम्बन्धित प्रदेशलाई तीस दिन भित्र सहमतिलागि प्रदेश सभामा पठाउनु पर्ने, त्यसरी प्राप्त विधेयकमा प्रदेश सभाले प्राप्त भएको तीन महिनाभित्र स्विकृत वा अस्विकृत गरी संघीय सँसदमा पठाउनु पर्ने, तीन महिनाभित्र जानकारी प्राप्त नभएमा विधेयक उत्पत्ति भएको सदनले कारबाही अगाडी बढाउन सक्ने तर प्रदेशबाट अस्विकृत भएको जानकारी आएको अवस्थामा प्रदेशको सिमा हेरफेर सम्बन्धी सँशोधन विधेयक निस्कृय हुने समेत ब्यवस्था गरेको छ ।

प्रदेशको सहमति आवश्यक नपर्ने बिषयमा वा प्रदेशबाट स्वीकृत भइआएको संविधान संशोधन विधेयक संघय संसदको दुबै सदनको ततकाल कायम रहेका सम्पूर्ण सदस्य सँख्याको कम्तिमा दुईतिहाई बहुमतबाट पारित भएमा संविधान संशोधन भएको मानिने र त्यसरी पारित भएको संशोधनलाई राष्ट्रपतिले आफूलाई प्राप्त भएको मितिले १५ दिनभित्र प्रमाणिकरण गरेपछि संविधान संशोधन भएको मानिने ब्यवस्था छ ।

यसबाट संविधान संशोधनका लागि प्रतिनिधि सभाका २७५ जना र राष्ट्रिय सभाका ५९ जना गरी जम्मा ३३४ जनाको दुई तिहाइ सभासदको मत (२२५) आवश्यक पर्ने हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा १८२ सदस्य सँख्या रहेको र उक्त सँख्या कूल सदस्य सँख्या ३३४ को दुई तिहाई हुन नसक्ने भएकाले संविधान संशोधनका लागि रास्वपासँग ४३ सभासदको अभावको अवस्था छ । अर्थात संविधान संशोधनका लागि बिपक्षी दलहरु कुनै एउटाले मात्र सहयोग वा समर्थन गरेर नहुने अवस्था छ । यसर्थ संविधान संशोधनको यात्रारम्भ संगै राजनीतिक सहमति हुन नसकेमा केवल प्रयास र राजनैतिक प्रचारको बिषयका रुपमा सिमित हुन जानेछ ।

मुलुकी शासन प्रशासनमा हिजोसम्म हाबी भएको दलतन्त्रमा रुपान्तरण गरी नागरिकतन्त्र आरम्भ गर्न संवैधानिक बाधकहरुलाई हटाउन संविधान संशोधन नै पहिलो आवश्यकता हो । संविधान संशोधन अन्य विविध कारणहरुले पनि अनिवार्य सरहको देखिएको छ । यसका लागि राजनीतिक सल्लाहकारको संयोकत्वमा गठित समितिले संविधान संशोधनका सम्बन्धमा सहजीकरण र ब्यवस्थापन गर्ने गरी कुनै पूर्व प्रधान न्यायाधीश वा वरिष्ठ विधि वेत्ताको संयोजकत्वमा संविधान सुधार सुझाव समिति गठन गर्ने र त्यसकै माध्यबाट सर्वदलीय एवं सर्वपक्षीय छलफलको माध्यमबाट विज्ञ र जन जनका सुझावहरु सङ्कलन गर्ने, प्राप्त सुझावहरुलाई आधार मानेर सहमतियुक्त विधेयकका बिषयहरुमा सैदान्तिक सहमतिको वातावरण निर्माण गर्ने, संशोधन विधेयक मस्यौदा गराउने र प्रतिबेदन सहितको विधेयकको मस्यौदा सरकार (कानून तथा न्यायमन्त्री) कै तर्फबाट कुनै सदनमा विधेयक प्रस्तुत गरी माथि उल्लेख भएअनुसार दुबै सदनमा ततकाल कायम रहेका सदस्य सँख्याको दुईतिहाई मत बाट पारित गराई राष्ट्रपतिबाट प्रमाणिकरणमा साथ संविधान संशोधनको यात्रामा सफलता पाउने मार्ग अपनाउनुको सफल र मान्य विकल्प देखिदैन ।

संविधान संशोधन गर्दा संविधान संशोधनका मुल्य, मान्यता र विधि सँगै संशोधन लेखनको कौशलतालाई बेलैमा ध्यान दिइएन भने झनै समस्या बल्झेर नआउला भन्न सकिदैन । त्यसैले संविधान संशोधनको बिषयलाई गंभिर बिषयका रुपमा लिदै राजनीतिक एवं संवैधानिक बिधिशास्त्रीय मान्यताहरुका आधारमा अधिक भन्दा अधिक जनमतको कदर हुने गरी विधेयक मस्यौदाको कौशलता सहित दुईतिहाई प्रतिनिधिहरुको मतबाट पारित देखि प्रमाणिकरण सम्मको यात्रामा सफलता हासिल गर्नु पर्ने हुन्छ । कार्यारम्भको आजको क्षणमा संविधान सँशोधनको सफलता मिलोस भन्ने कामना मात्र गर्न सकिन्छ 

२०८२ चैत्र १९                                           ऐरावती १ धनवोट। प्यूठान

 

 

खुसीमा अपराजिता फिनलैण्ड र नेपाली आशा

 

राजधानी हेलसिन्की सहित केही सहरहरुका बाह् ठाउँमा राम्रै रकम रहेका एक एक वटा थैलीहरु जानाजान छोडियो । केहीदिन भित्र बाह्र मध्ये ११ वटा जसको तस थैली सम्बन्धित ब्यक्तिको हात परयो । थैलीभित्र सम्बन्धित मालिकको पहिचानको कागजात पनि रहेकाले पहिचान र छिटो प्राप्ति संभव भएको हो । भनिन्छ, यही प्रयोग विभिन्न १६ देशहरुमा पनि गरियो तर नतिजा फिनलैण्डको जस्तो कतैबाट आएन ।

सन २०२२ मा गरिएको अनुसन्धानात्मक एक प्रयोग थियो त्यो । त्यही फिनलैण्ड लगातार नवौ पटक विश्वमा रहेका देशहरुमध्ये सबैभन्दा बढी खुसी (विश्वप्रसन्नतामा प्रथम) नागरिक रहेको देशका रुपमा फेरि  प्रमाणित भइरहेको छ । गत बिहिबार अर्थात चैत्र १ (मार्च १९) मा प्रकाशित विश्व प्रसन्नता प्रतिबेदनमा फिनलैण्ड सात दशमलव सात छ चार अँक प्राप्त गरेर फेरिपनि सबैभन्दा खुसी नागरिक रहेको देश अर्थात खुसीमा अपाराजिता देशका रुपमा रहिरहेको छ ।

अक्सफोर्ड वेलिविङ्स रिसर्च सेन्टरले प्रकाशित गरेको उक्त प्रतिवेदनका अनुसार फिनलैण्डलाई पछयाउने देशहरुमा-आइरलैण्ड, डेनमार्क, कोस्टारिका र स्वेडेन क्रमशः पाचौँ क्रममा रहेका छन । कूल १४७ देशहरुमा गरिएको उक्त अध्ययनमा पुछारबाट पाँचौमा पर्ने देशहरुमा बोत्स्वाना, जिम्बाबे, मालबी, सिरियालियोना र अन्तमा अफगानिस्तान रहेको छ । उत्तरको चिन ६५ औ र दक्षिणको भारत ११६ औ को बिचमा नेपाल ९९ औ (.१४७) क्रममा रहेको छ । प्रतिबेदन अनुसार पूर्णाङ्क दशमा कम्तिमा पासअङ्क अर्थात चार ल्याउनै नसक्ने अर्थात पूर्ण रुपमा फेल राष्ट्रहरुको सँख्या १३ रहेको छ ।

खुसीमा फिनलैण्ड लगातार यसरी पहिलो स्थानमा किन परिरहेको छ ? नेपाल गतवर्षको खुसीको मापनमा थप एक प्राप्ताङ्कले पनि अगाडि आउन किन सकिरहेको छैन ? आउनुहोस, खुसीको मापन र मूल्याँकनको कडीमा यसतर्फ संक्षिप्त नजर लगाउँ ।

सबै ब्यक्तिहरुको जीवनको साझा उद्देश्य भनेको आफू खुसी हुनु, आफ्ना परिवारहरुलाई खुसी राख्नु र आफू वरपरको समाजको अनुहारमा आफू खुसी र सुखी देख्नु हो । यी तीन चरण वा अवस्थाहरुले क्रमशः स्थान राख्दछन । तर खुसीका पूर्व शर्तहरुमाभने मानिसहरुका बिचमा मतैक्यता पाइदैन । भौतिक सम्पन्नताले खुसी हुने कि आध्यात्मिक शान्तिले ? धन सम्पत्तिको प्रचूरताले खुसी हुने कि पारिवारिक अवस्था तथा सामाजिक रुपमा विशिष्ठ पहिचानसहितको सन्तोषी जीवनले ?  जति धन भएपनि नपुग्ने मनहरु र दिनभरिको कमाइले साँझ पेटभरि खान र न्यानो ओतमा सुत्न पाएखुसी हुने मनयुक्त जीवनीहरुका बिचको खुसीको परिभाषा वा मापन कसरी गर्ने ? धेरै अर्थमा खुसी तर सानो कुरा नपुग भए वा आफूले भनेको नभए बेखुसी हुनेहरुको जीवनमा खुसीको परिभाषा कसरी खोज्ने ?  अनेक सवालहरु आउछन यस प्रसँगमा ।

भौतिक सम्पन्नतालाई खास सिमाले बाँधिएन भने मानिस कहिलेपनि खुसी र सुखी हुन सक्दैन त्यसैगरी खानपान रहन सहन उठबस बोली ब्यवहार आदिबाट बाह्यरुपमै प्रसन्न देखिन नसक्ने मानिस पनि कहिल्यै खुसी र सुखी हुन सक्दैन । खुसी र सुखी जीवनको मापन पक्ष भनेको आवश्यक भौतिक सम्पन्नता, असल समाजिक सम्बन्ध र शारिरीक तथा मानसिक स्वस्थता तथा कमभन्दा कम चिन्तालाई नै लिन उपयुक्त हुन्छ होला ।

जैविक विज्ञानमा खुसीका लागि आवश्यक पर्ने रसायनहरु मुख्य रुपमा चार प्रकारका रहेको मानिएको छ । पहिलोः डोपामाइन (खुसी हुने रसायन), दोस्रोः सेरोटोनिक (भोक निद्रा आदिको सन्तुलनता ल्याउने), तेस्रोः इण्डोमार्फिन (पीडाहरणमा मद्दत गर्ने) र चौथोः अक्सिटोसिक (प्रेम सदभाव बढाउने) । यी रसायनहरुलाई खुसी उत्पादन र सञ्चारको दृष्टिबाट न्यूरोट्रान्स मिटरका रुपमा लिइन्छ ।

फिनलैण्डमा उल्लिखित रसायनहरु उत्पादनको धरातलिय यथार्थता बढी भएकै कारणले फिनलैण्डबासीहरु संसारको सबैभन्दा खुसी नागरिकका परिचित हुन पाएका हुन । जँहा आर्थिक आयमा ज्यादै कम असमानता छ । सार्वजनिक कोषबाट सञ्चालित अतिबिकेन्द्रिकृत निशुःल्क स्वास्थ र शिक्षाको ब्यवस्था छ । धनी र गरीबहरुको बिचको खाडल ज्यादै कम छ । जति धनी त्यति बढी करको नीतिले धनीबाट असुल भएको करको सदुपयोग गरी गरिवहरुको जीवनस्तरलाई खुसीमय बनाउने विविध कार्यक्रमहरु सञ्चालित छन । बालबच्चाहरुका लागि डे केयर र बृद्दबृद्दाहरु तथा अशक्तहरुकालागि सार्वजनिक सेवाहरु प्रभावकारी छन ।  सामाजिक आर्थिक सांस्कृतिक सम्मानमा प्रायः सबै मानिसहरु उदार र मानवीय स्वभावका छन । सबैभन्दा ठूलो प्रभाव त त्यँहा उपलब्ध स्वतन्त्रता र लैङ्कगिक समानता नै हो ।

प्रोफेसर फ्राङ्क मार्टेला आफैमा एक धनाढ्य ब्यक्ति । प्रायः सधै आफ्नै कारमा सवार हुने । एकदिन जबजब उनी कार लिएर सडकमा निस्के । आफंनै आँखा अगाडि आफूभन्दा धेरै धनाढ्य छिमेकी बच्चा काँधमा बोकेर दर्गुदै सार्वजनिक यातायातमा चढेको देखे  । त्यसदिन उनको खुसीको भित्री आँखा खुल्यो । त्यसपछि उनले पनि भरसक निजी कार लिएर सडककमा नदेखिने प्रयासको जीवन शैली अपनाए । फिनलैण्डमा सार्वजनिक यातायात कति भरपर्दो र किफायती छ भन्ने बुझ्न यही सन्देशात्मक अनुभवको पाठ पर्याप्त हुन्छ । प्रोफेसर फ्राङ्क मार्टेलाका शब्दहरुमा खुसी हुनका लागि मुख्यतः चार पक्षमा ध्यान जानु जरुरी छ । पहिलोः छिमेकीसँग प्रतिस्पर्धा होइन, सहकार्यता । दोस्रोः शान्ति, उर्जा र सन्तुष्टिको अमूल्य वरदानका रुपमा प्रकृतिमय जीवनको स्विकार्यता र प्रयोग, तेस्रोः पारिवारिक एवं सामुदायिक विश्वास र चौथोः सार्वजनिक सेवा प्रबाहमा राज्यको उदारता र सफलता ।

यहानेर ‘’ मलाई लाग्दैन कि विश्व प्रसन्नतामा फिनलैण्ड सदाबहार अग्रणी खुसी राष्ट्र हुनुमा कुनै जादूगरी मन्त्र छ, यसको प्रमुख आधार भनेकै स्वतन्त्रता,समानता र न्यायतर्फ अग्रसर भइरहने समाज नै हो भन्ने फिनलैण्डका राष्ट्रपति …. को भनाइ जति मनन योग्य छ । यसका अतिरिक्त फिनिसहरु धेरै सन्तुष्ट र आत्मविश्वासी हुनु, आफ्नो प्रणाली, आफ्नो देश र सरकारप्रति पूर्ण विश्वासी हुनु यसको भित्री कारण हो ।

फिनलैण्डले विश्वप्रसन्ताको ताज पहिरिइ रहन सक्नुको खास कारण भनेको खासमा राज्यको असल नीति र कुशल नेता तथा सक्षम राष्ट्रसेवकहरु हुनु मै हो । नेपाल ९९ औ बाट एकैपटक दशस्थान भित्र आउन त नसक्ला । राम्रो गर्दै जाने हो भने २३ औ क्रमबाट एकैवर्षमा चौथो बन्न सफल भएको कोस्टारिकाको इतिहास उछिन्न सकिदो रहेछ भन्ने गतिलो शिक्षा पनि यसैवर्षको नतिजाले दिएको छ । संविधान र कानून सँशोधन सहितको समग्र राज्य पुनः संरचनातर्फ जबरजस्त रुपमा अगाडि बढयोभने र गरिखाने संसकृतिको दबाबपूर्ण बिकास गर्योभने नेपालीहरुमा पनि क्रमशः अगाडि बढ्दै सर्वाधिक खुसी हुने नागरिकहरुको दशौक्रम सम्म कसो नपुग्लान ? सकारात्मक आशाका  साथ आ आफ्नो क्षेत्रमा सक्रिय सक्रियता देखाउनु नै एकमात्र सुमार्ग हो ।

 

२०८२।१२।८                                             ऐरावती १ धनवोट । प्यूठान

सुशासन मान्यतामा स्विकार्यताको सवाल

  

सर्वोच्च अदालतमा करार सेवाको कम्युटर अप्रेटर (ना सु स्तर) पदमा सार्वजनिक सेवामा प्रवेश गरेका आदर्शकुमार श्रेष्ठ, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको नीजि सचिवालयको प्रमुख स्वकीय सचिव पदमा नियुक्त भएपछि नै चर्चा र आलोचनाको मुख्य पात्र भएका थिए उनी । यसलाई सुशिला कार्कीको निजी निगाह र करिब करिब निजी सफलता र असलफलताको चुनौतिको बिषयमा रुपमा लिएर होला सायदः त्यतिवेला धेरै अगाडि बढेनन बिरोधका स्वरहरु । हेर्दै जाँदा मुख्य सचिवको काम चल्यो उनिबाट । स्वय सुशिला सन्तोष भइन । सन्तोष मात्र त के अति सन्तोष भइन । परिणाम काम चलाउन प्रधानमन्त्रीबाट महाकामा चलाउ अवस्थामा पुगेकी र नैतिक मान्यताको अर्थमा कुनैपनि सार्वजनिक पदमा नियुक्ति  र दीर्घकालिन असर पर्ने कुनै नीतिगत निर्णय नै गर्न नपाउने सुशिला कार्कीले आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरिन । यसबाट स्वयं सुशिला कार्कीको बचेखुचेको यश ( सार्वजनिक सेवा प्रबाह क्षमता  र इमान्दारिताको इज्जत) धुलिसात हुन त पुगेको छ नै संगसँगै स्विकार्यताको सवाल पनि उठिरहेको छ ।

स्विकार्यता भनेको कुनै व्यक्तिको वा वस्तुको स्वीकार्यताका सम्बन्धमा रहेको अवस्था हो, जसअनुसार त्यो व्यक्तिलाई वा वस्तुलाई समाजले स्वीकार्छ, मान्यता दिन्छ र यसको सम्मान गर्दछ । यसले व्यक्तिको सामाजिक मान्यता र सम्मानलाई प्रमाणित गर्दछ। सार्वजनिक प्रशासनमा स्विकार्यता विभिन्न आधाहरु (पूर्वशर्त) रहेका हुन्छन । सेवामा आवश्यक पर्ने प्राविधिक योग्यता र दक्षता पहिलो पूर्व शर्त हो । जसमा सम्बन्धित सेवाका लागि आवश्यक पर्ने शैक्षिध योग्यता तालिम सीप र अनुभवहरु पर्दछन । अन्य आधारहरुमा () पारदर्शिता र जवाफदेहिता, () नैतिकता र इमान्दारिता () समयपालन र सेवामा गुणस्तरबृद्दि () सामाजिक र साँस्कृतिक अनुकूलता () प्राविधिक र व्यवहारिक दक्षता ()उत्प्रेरणात्मकता र () सेवाप्रतिको समर्पण र प्रतिबद्दता आदि हुन ।

डा. नरेश सुवेदी सदस्य सचिव र बन तथा वातावरण मन्त्रालयका सचिव डा. गोबिन्द शर्मा, अर्थ सचिव डा. घनश्याम उपाध्याय,कृषि सचिव डा.मुकुन्दप्रसाद निरौला तथा आ-आफ्नो विधामा विध्यावारिधि योग्यता हासिल गरेका डा राम प्रसाद जैसी, शम्भुप्रसाद दँगाल, डा शुभनारायण महतो, डा विनय सिहहरु यतिवेला थालखाउ कि भात खाउँको अवस्थामा पुगेका छन स्विकार्यताको सवालले । सदस्य सचिवको जिम्मेवारी कोषका अध्यक्षबाट मनोनित ब्यक्तिले बहन गर्ने यसको व्यवस्था (राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ को दफा ५) ले अध्यक्ष पदको गरीमा र शक्तिलाई इँकित गर्दछ ।

सवालको गंभिर्यता त्यतिवेला झनै बढ्ने छ जतिवेला कोषमा रहेका डा बिज्ञहरुले नै उनको नियुक्तिलाई सामुहिक रुपमा अस्विकार गर्न पुग्ने छन । अस्विकार्यताको क्रम जनस्तरमा पुग्यो भने स्वयँ सुशिला कार्की नै अँध्यारो कोठामा बसे सरह हुने छ । सर्वोच्च अदालतमा सूचना प्रविधि सहायक (आइटि पर्सन) भएर नासु स्तरमा काम गरेका र सुशिला कै निगाहामा केही समय अधिकृत भएपनि बिरोधका बाबजूद पहिलेकै पद अर्थात नासु स्तरमा घटुवा भएका, वालुवाटारमा पेसी सूचि बनाउने काम गर्दा सूचना नै बाहिरिएको,  कानून प्रशासन उच्च व्यवस्थापीकिय अनुभव र कौशलता भएको भन्न पनि नमिल्ने अवस्थाका ..आदि आदि आलोचनाहरु (कान्तिपुर चैत्र ३) ले जबरजस्त रुप लिने अवस्था छ । अर्कोतिर पूर्व मन्त्री महाबीर पुनको सार्वजनिक बिरोधसहितको उक्त पदको नियुक्त नलिएर सुशिला कार्कीको इज्जत बचाइदिन गरेको अनुरोध देखि रक्षा बम आकृति श्रेष्ठ समेतका जेनजी अगुवाहरुको खबरदारीले झनै सङ्कट बढाएको छ ।  

नेपालको प्राकृतिक सम्पदा तथा जैवीक विविधता संरक्षण र व्यवस्थापनमा नेपाल सरकारलाई सहयोग गर्ने मुख्य जिम्मेवारी सहित गठन भएको साबिकको महेन्द्रप्रकृति संरक्षण कोषको २०६३ सालमा संशोधित नाउ हो राष्ट्रिय प्रकृति संरक्षण कोष । चितवन, बर्दिय, कन्चनपुर, अन्नपूर्ण गौरीशङ्कर र मनास्लु संरक्षण क्षेत्रहरुको बिकास संरक्षण र प्रवर्धनमा प्रमुख भूमिका निर्बाह गर्ने दायित्वका अतिरिक्त क्यानडा जापान नेदरलैंण्ड वेलायतमा रहेका च्याप्टरहरुसँगको समन्वयकारी भूमिकाका अतिरिक्त इसिमोड युएनडिपी विश्ववैङ्क विश्व वातावरण कोष तथा बेलायतको जिओलोजिकल सोसाहिटि आदि सँग मिलेर काम गर्नुपर्ने सम्मको अधिकार र कर्तब्यमा रहेको कोषको अध्यक्ष पद मन्त्रीसरहको गरिमाय पद हो । विश्वसनीयताको निश्चयात्मकतामा द्विविधा वा विवाद रहित ब्यक्तित्वले जिम्मेवारी लिने पद हो  । प्रकारान्तर रुपमा नेपालको अन्तराष्ट्रिय सम्बन्धमा समेत प्रभाव राख्ने पद हो ।

प्रधान मन्त्री सुशिला कार्कीको प्रमुख स्वकीय सचिव पदमा रहेकै बेला आफंनै श्रीमती सँगीतालाई सहसचिव स्तरको पदमा नियुक्त गरेर र अन्य केही आफन्तहरुलाई सचिवालयमा नियुक्त गरेर बिबादमा आएका र चर्को बिबाद उनिहरुलाई हटाउन प्रधानमन्त्री सुशिला कार्की नै बाध्य भएको बिगत आफैमा प्रमाणका रुपमा रहेको छ ।नेप्पोटिज्मको बिरोधको धरातलबाट उठेको जेनजी आन्दोलन र त्यसको गर्भ प्रधान मन्त्री पदमा नियुक्त भएकी सुशिला कार्कीबाट भएको आदर्शकुमार श्रेष्ठको यस नियुक्तिले उनको सार्वजनिक नैतिकतामा त गंभिर प्रश्न उठाएकै छ । सर्वत्र बिरोधको बिषय बनेकै छ । बेथितिहरुको अन्त्यकालागि सुशासनको प्रत्याभूतिको प्रतिबद्दता सहित विविधि डँक पिटेर निर्बाचनमा होमिएको र जनादेशबाट जबरजस्त बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठनकै शुभ मुहुर्तमा देखिएको यस लज्जास्पद नियुक्तिले  सार्वजनिक सेवामा स्विकार्यताको गंभिर सवाल उठाएको छ । बिगतका बेथितिहरु यथावत रहने र प्रकारान्तर रुपले विगतकै फोहोरी मानसिकतामा अबको सार्वजनिक प्रशासन चल्ने हो कि भन्ने सन्देश उत्पन्न गरेको छ । नवनिर्बाचित सँसदबाट बन्ने सरकार (बालेन सरकार) ले यसलाई कसरी सच्याउने हो ? वा तैँचूप मैँचूपमा रहने हो ? । प्रतीक्षाकै बिषय भएको छ । नव निर्बाचित सरकारले गर्नुपर्ने नियुक्ति सहितका नीतिगत कामहरु अन्तरिमकी पनि महाअन्तरिम बनेकी सुशिला कार्कीले गरेको यो नियुक्तिले उनको बचेखुचेको यशमा कालो धब्बा त लगायो नै । नवनिर्बाचित जनप्रतिनिधिहरुको सरकारका लागि पनि प्रथमगासे मछिकाको रुपमा मुखै वरिपरि घुमिरहेको सबैको नजरमा परेको बेथिति बनेको छ ।

नैतिकता र इमान्दारिताको खोजीको प्रश्न संविधान र कानून मान्नेहरुका लागि मात्र स्विकार्य र अनुकरणीय हुन्छ। जहा संविधान र कानून मिचेर काम गर्न आतुर भइन्छ वा गरिन्छ त्यँहा नैतिकता र इमान्दारिताको खोजी केवल मृगमरिचिका मात्र हुन जान्छ ।     

२०८२।१२।०३                                            ऐरावती १ धनवोट

  

 

   

       

‘’नयाँ दल’’ हुनुका मानक आधारहरु

 चुनावी सन्दर्भमा पुराना दल ठीक कि नयाँ दल ठीक भन्ने बहस चलिरहेको छ । पुरानै ठिक हुन भने के कति आधार र कारणहरुबाट ठीक हुन ? पुराना मध्येमा पनि सबैभन्दा ठीक दल कुन हो ? त्यसको मानक आधारहरु के के हुन ? भन्ने एउटा प्रश्न । पुराना ठीक भएनन, नयाँ छान्ने वा मान्ने हो र नयाँ नै ठीक हो भन्नेहोभने त्यसका मानक आधारहरु के के हुन ? नयाँ भन्नेमध्येमा पनि सबैभन्दा नयाँ कुन हो र त्यही सबैभन्दा नयाँ नै ठिक छ भन्ने मानक आधारहरु के के हुन ? अर्को प्रश्न ।

यी सवालहरु यतिवेला चर्चा वा बहसमा आएका, एकप्रकारले समाजिक द्वन्द बढाएका र अधिक मानिसहरुलाई उद्देलित पारेका प्रमुख सवालहरु हुन । यी सवालहरुमा हुने बहस आगामी फागुन २१ गतेसम्म घनिभूतरुपमा चलिरहने छ । त्यसपछि पनि माथि उल्लिखित सवालहरुको मृत्यु हुने छैन । यो वा त्यो कोणबाट तिनै मर्महरु छाम्दै जागिरहने, उठिरहने छन ।

जन्म अर्थात दर्ताको आधारले नयाँ दल हुने हो (?) भने सबैभन्दा पछि जन्मे (दर्ता भएको) को दललाई नयाँ दल भन्नुपर्ने हुन्छ । जन्मने र मर्ने (बिघटन वा खारेज हुने) दैनिकीका रुपमा रहेको नेपाली राजनीतिक धरातलमा हरेक चुनावी प्रकृया आरम्भको पहिलो दिन दर्ता हुने दललाई नयाँ दल भन्नुपर्ने हुन्छ । अघिल्लो चुनावमा नयाँ भनिएको दल पछिल्लो चुनावमा पुरानो हुन जान्छ ।

दलको नाउँ फेरेर नयाँ दल भइन्छ भन्नेहो भने -कामीकाले र कालेकामी, सेतेदमै र दमै सेते, जैसी-बाहुन र बाहुन-जैसी, गुरुङ्-मगर र मगर-गुरुङ्, राई- लिम्बु र लिम्बु-राई, जस्ता शब्दावलीहरु जस्तै धेरै नाउँहरु लाम लागेर आउनेछन । कमा,फुलिस्टप, ह्र्स्व, दीर्घ फेर्दै नयाँ नयाँको दाबी गर्नेहरु हुनेछन ।

नयाँ दल दाबीको अर्को भ्रष्टिकृत दाबीआधार बनिरहेको छ -उम्मेदवारीमा स्थान परिवर्तनको बहाना । एकपटक झापाबाट उम्मेदवारी दिने, अर्को पटक कञ्चनपुरबाट, अनिफेरि रुपन्देही पुग्ने, अनि अर्को पटक मुस्ताङ पुग्ने अनि भन्ने म त नयाँ !? यसैगरी दशकौँ दलको नेतृत्वमा रहेको ब्यक्तिलाई हटाएर म नयाँ नेतृत्व आएकोले नयाँ दल भन्दै दाबी गर्नेहरु पनि छन । यसरी नयाँ दल र नयाँ नेता वा नयाँ उम्मेदवार हुँ भन्दै दाबी गर्नेहरुले एकपछि अर्को आधार खोज्ने र मतदाताहरुलाई भ्रमित बनाउने आशँका सधैँ रहनेछन । शब्द फेरेर वा दलको अन्तराष्ट्रिय सम्बन्ध हेरेर वा फेरेर वा दलभित्रका काला-गोरा, चुच्चे-थेप्चे, अग्ला-पुड्का, आदि आदि सन्दर्भहरु जोडेर नयाँ भन्ने दाबी गर्नेहरुपनि देखिने संभावना रहन्छ ।

प्रतिज्ञापत्र वा घोषणा पत्रमा उल्लिखित शब्दावलीहरुले मात्रैपनि नयाँ दल मान्न कठीन प्रायःअवस्था छ । अघिल्लो चुनावको घोषणापत्रमा रहेका बाचाहरु के के पुरा भए र के के भएनन ? ब्यवहारिक परिणामका आधारमा प्रतिशतमै हेर्दा पास अँक आउनेसम्मको सफलता मिल्यो कि फेल नै भए ? मौलिक वा लिखित शब्दले पनि नयाँ दल हुने योग्यता कायम राख्दैन भन्ने तथ्य बुझनकालागि त्यही वास्तविक अवस्थालाई हेरे पुग्दछ ।

खासमा नयाँ दल हुनका लागि चाहिने मानक (आधार)हरु के के हुन ? भन्ने सन्दर्भमा हेर्दा घोषित वा मान्य मानकहरुको आधारमा मात्र नयाँ भन्नु वा नयाँ मान्नु स्वभाविक हुन्छ । अन्यथा माथि भनिएजस्तै नयाँ भन्ने शब्द मतदाताहरुलाई भ्रमित पार्ने माध्यम मात्र बन्न जान्छ । मतदाताहरु, खासगरी अनपढ, असहाय, विश्लेषण वा सहि मुल्याङ्क गर्न नसक्ने, अति गरीब, अति असहाय, अति भौगौलिक बिकट अवस्थितिमा रहेका आदिलाई अलमलाउने वा भ्रमित पार्ने शब्दजाल मात्र हुनेछ नयाँ वा नयाँ दल शब्द ।  

दलको नाउँ नै समग्रतामा नयाँ छ कि छैन ? प्रारम्भिक मानक हुन सक्दछ । दलको नीती (विधान) मा नयाँ नयाँ व्यवस्थाहरु छन कि छैनन ? नेतृत्व निर्माणको कार्यक्रमिक आधारमा नयाँपन केही छ त ? दलभित्रको छलफल प्रकृयामा लोकतान्त्रिक अभ्यास वा जनवादी केन्द्रियताको वस्तुवादी प्रयोगको निश्चयात्मक मानक अभ्यासहरु के के र कहाँ कहाँ देखिए ? देश र जनताको सेवामा लागिरहेको निरन्तरताको प्रमाणिकतामा छ कि पेट पाल्नका लागि देश नै छोडेर, अझ देशकै नागरिकता र राहदानी त्यागेर मुग्लानिएको वर्षौपछि फर्केर राष्ट्रवादीताको कल्पित स्वरमा बोलिएको बोलीभित्र राष्ट्रवादिताको विश्वास गरेर नयाँ मान्ने कि नमान्ने ? फगत पेट पाल्नका लागि देशै त्याग्ने मनोदशाभित्रबाट मुलुकी समस्याको निकास खोज्ने सञ्जिवनीको अँकुरणको आशा राखेर कसरी नयाँ नयाँ भन्न वा बन्न सकिने हो ? दलभित्र कार्यकर्ता सार्वभौम हुन र मुलुकभित्र आम जनता सार्वभौम हुन भन्ने मानकलाई स्विकार गर्नेहो भने दलभित्र कार्यकर्ताको बिचारको सुनुवाई र मतको सम्मानको वस्तुवादी अभ्यास बारेमा ब्यबहार र कार्यक्रमहरु केही देखिए वा देखिएनन ? उम्मेदवारी छनौटमा प्राइमरि इलेक्सन वा अन्य कुनै नयाँ प्रकृया त भन्ने तर अभ्यास गरियो कि गरिएन ? यथार्थतामा त्यो आर्थिक सँकलनको मार्ग मात्र हुन गएर पुरानै टीके प्रथामा आधारित उम्देवार छनौट प्रणाली प्रभावित त रहेन ? संसदमा पुगेर पुरानै दलसंग सत्ता साझेदारी गरी मन्त्री पदमा रहने तर नया दलको दाबी गर्नु ? स्वभाविक वा अस्वभाविक ?? एउटा पार्टीमा मान दाम र शान अधाउन्जेल पाएपछि र बर्षौ रमाएर बसेका तर पछिल्लो चरणमा टिकट नपाएर अर्को पार्टिमा आएकालाई नयाँ भनिने होभने नयाँ शब्द नै लज्जित हुने छ । यसैगरी दल स्थापनादेखि दलको आन्तरिक सङ्कट वा बाह्य दबाबमा ज्यान फालेर लागेका कार्यकर्ताहरुलाई पाखा लगाएर रातारात बाहिरबाट आउनेलाई शिर्षस्थानमा पाउदा नयाँ भनिने होभने शिर्षको पर्याय सगरमाथा नै शर्मित बन्ने छ ।

वस्तुतः नयाँ मान्यता पाउने वास्तविक र आखिरी मानक भनेको देशको मुहार फेर्ने बोली (बचन) मा बिश्वास लिन सकिने धरातलीय यथार्थताको खोजी हो । नेतृत्वको चरित्र र ब्यवहारले बहुस्वीकार्यतालाई प्रमाणित गर्नु हो । संविधान संशोधन र निर्बाचन प्रणाली बिना शासकीय सुधार असंभव छ । उहि संविधान, उही निर्बाचन प्रणाली, उही कार्यशैली र मानसिकतामा रहने, त्यही धरातलीय यथार्थतामा निर्बाचनमा होमिने अनि नयाँ नयाँ को दाबी गर्ने (?) कति विश्वासनीय बन्न सक्दछ । नयाँ भनेर पत्याउलाने कसरी ?  यही फसादमा छन समकालिन नेपाली मतदाताहरु ! उस्तै कार्यक्रम उस्तै चरित्र र ब्यवहारको नेतृत्व मात्र होइन अझ भ्रष्ट र अस्पष्ट नेतृत्व अनि नयाँ दलको दाबी ? स्वीकार्य हुन्छ सचेत जनमतलाई ।

यसप्रकारको धरातलीय यथार्थतालाई देखेर को नयाँ, को पुरानो ? भन्ने भाउन्नमा परेर बसेको बेला वाल्यकालको एउटा घटना याद आयो ।

खेतीपातीका लागि बाउ आमा तल्लो डाबर र आफू लेक (प्यूठान-धनवोट) बसेको समयमा बेसीबाट नयाँ ठेको आइपुग्यो घरमा । ततकाल घरेलू कामदारका रुपमा रहेका आले माहिलालाई अब त त्यही नयाँ ठेकोमा दही जमाएर मोही पारेर खाने भन्दै त्यसैमा राख्न भनियो दुध । भोलिपल्ट मोही पारियो । तर घिउपनि राम्ररी लागेन र मोही पनि के के जाति गन्हाएको जस्तो लाग्यो । खानै सकिएन । पारेको मोही बाख्रालाई खुबाइयो । नयाँ ठेको पठाएपनि पुरानै किन प्रयोग गरेका भन्लान कि भन्नेपनि डरले ! दुइतिन दिन पुरानै ठेको सोमरे (अभ्यासमै रहेको)को बेला बेसीबाट बेसीबाट बाउ आएपछि समस्या राख्दा बल्ल थाहा पाइयो कि नयाँ ठेको भनेर मात्र हुदो रहेनछ । नयाँ पनि पक्का काठ अर्थात गिठी काठ कै हुनुपर्ने रहेछ । त्यो ठेको परेछ खमारी काठको । गिठीकै भएपनि नयाँ नयाँमा दुध जमाउँदा राम्ररी नजम्ने र पहिला पहिला मोही पार्दा केही केही गन्हाएजस्तो हुने । खान नमिल्ने । केही समय सजाय (प्रयोग गरेपछि) पछि मात्र नयाँ ठेकोले काम गर्ने रहेछ । काठको जात नै अगतिलो भएपछि कस्को के लाग्दछ र !? प्रयोग गर्दै जाँदा फुटेर तीन टुक्रा भएको थियो त्यो खमारीको ठेको । 

त्यस्तै त्यस्तै लागिरहेको छ नयाँ दल दाबीको सन्दर्भ पनि । नयाँ भनेर मात्र राम्रो र कामयाबी हुदैन । परीक्षण पक्का भएपछि मात्र नयाँ स्विकार्य हुन्छ । नयाँ भनेर मात्र हुदैन । गतिलो काठ (नीतिमा) हुनुपर्छ र ब्यबहारबाट खारिएको हुनुपर्छ । अर्थात साच्चै काम लाग्दछ भन्ने प्रमाणित भएको हुनुपर्छ । नत्र दुधको नाश र मोहीको पनि नाश !

माथि उल्लिखित मानक आधारहरुमा पासअँक पनि पाउन नसक्ने दलहरुलाई नयाँ दल भनेर अमूल्य मत राखिदिदा परिणाम हात लाग्यो शुन्य त हुने हैन अर्थात श्रम,समय, चिन्तन र अमुल्य मत कै नाश!! हुने त होइन ? समस्त मतदाताहरुले बुझ्नुपर्ने र मतदानको दिन मनन गर्नुपर्ने नयाँ दलहरुको मानक आधारहरु हुन ।

बहुदलीय लोकतान्त्रिक ब्यवस्थामा नयाँ दल खुल्नु वा धेरै हुनु वैधानिक रुपमा स्वभाविक मानिन्छ तर ब्यवहारमा व्यवस्थापिकामा धेरै दलहरु पुरयाउनु भनेको राजनीतिक अस्थिरतालाई बढावा दिनु हो । मुलुकी हितका नीति पारित हुन नसक्ने ब्यवस्थापिका बनाउनु हो । कुनै एक बलियो दल सरकारमा र कुनै अर्को वलियो दल प्रतिपक्षमा रहने अवस्था भएन र च्याउसरी दलका म्याउसरी र झ्याउसरी प्रतिनिधिहरुको उपस्थिति धेरै भयोभने त्यो ब्यवस्थापिकाले कामै गर्न सक्दैन । परिणामःनयाँ भनिएका दलहरु आफैमा टुक्रा टुक्रा हुने र अन्तमा पुर्पुरो समाएर आ-आफै रुने स्थितिमा पुग्दछन । त्यसका लागि अन्त कतै हेर्न वा बुझ्न पर्दैन । बिगत दश वर्षको नेपालकै अनुभवी अभ्यास काफी छ । बारम्बार मध्यवधि निर्बाचन र बारम्बार नयाँ नयाँ दलको दाबी यहाको धरातली यथार्थ बन्नुको कारक यही नै हो ।

त्यसैले जुन दललाई मत दिने हो, त्यसको अन्तरकुन्तरको पहिचानका साथ संसदमा परिणाम मुखी काम गर्न सक्ने मुल्ययुक्त उपस्थितिका लागि मतदातामा सचेतनता असाध्यै जरुरी छ । बेलैमा बिचार पुगेनभने फेरि दुई बर्षपछि मध्यावधि !? मध्यावधिका मध्यावधिको परिणाम व्यवस्था अर्थात लोकतान्त्रिक गणतन्त्रकै असफलता !

२०८२।११।०८                            ऐरावती १ धनवोट। प्यूठान

समाकालिन चर्चाका दुई शब्द/पात्र र प्रवृतिहरुः जेलेन्स्की र लुसिफर

 

यतिवेला राजनीति क्षेत्र तथा बौद्दिक चर्चामा आएका प्रतिकात्मक शब्दहरुमा जेलेन्स्की र लुसिफर मुख्य देखिएका छन । चुनावी सरगर्मी बढिरहेको समकालिन समयमा ‘’नेपालमा पनि जेलेन्स्कीको खोजि भइरहेको छ’’ भन्ने र ‘’लुसिफर शैलीको राजनीतिक नेतृत्व सफल हुन सक्दैन’’ भन्ने बोलीहरु पटक  पटक आइरहेका छन ।

२५ जुन १९७८ मा जन्मेर पटकथा लेखक, र्यापर, अभिनेता, हाँस्य अभिनेता, निर्देशक, राजनीतिज्ञ हुदैँ सन २०१९ को चुनावबाट युक्रेनको राष्ट्रपति बनेका एक चर्चित र विवादास्पद युक्रेनी पात्र हुन भोलोदोमिर जेलेन्स्की । जो  कानूनी विधाका समेत ज्ञाता र  कोबर्टल ९५ टेलिश्रूंॐला निर्माता पनि हुन । जसले सरभेन्ट अफ द पिपुल, कम्पनी स्थापना गरे ।  त्यही कम्पनीका कर्मचारीहरु राखेर ‘’सर्भेन्ट अफ द पिपुल’’  नाँउबाट दल दर्ता गरे । अन्ततः सन् २०१९ को निर्बाचनमा ७३.२२ प्रतिशत मत ल्याइ प्रतिस्पर्धि पेट्रो पोकोशोन्कोलाई पराजित गरी युक्रेनको राष्ट्रपति बन्न सफल भए ।

जतिबेला उनि राष्ट्रपतिमा निर्बाचित भएका थिए, त्यो भन्दा पहिला नै अर्थात सन २०१४ देखि नै रुसले युक्रेनको सार्वभौमसत्ता माथि धावा बोलिरहेको थियो । चुनावमा रुसी समर्थक राष्ट्रपति पेट्रो पराजित भएपछि रुसी आक्रमण झनै बढयो । मस्कोले युक्रेनी क्षेत्रको क्राइभीया नै रुसी राज्यमा गाभ्ने देखि मिसाइ क्रुज आदिबाट युक्रेनी भुमिमा प्रहार गर्ने कार्य जारी राख्यो ।

रुस अमेरिकी द्वन्दको इतिहासँ एकप्रकारले जानीदुश्मनी रहेको अवस्थामा एकातिर र अर्कोतिर अमेरिका तथा पश्चिम युरोपले आफूलाई घेर्ने रणनीतिक योजना अनुसार युक्रेनलाई सहयोग गरिरहेको भन्ने रुसी राष्ट्रपति पुटिनको बुझाई । यति मात्र नभइ कृष्णसागर र अजोम सागर दुबै क्षेत्रसँग जोडिएको भूराजनीतिक दृष्टिले अत्यन्तै महत्वको एक देश -युक्रेन । संगसंगै छिमेकी देशहरुमा वल प्रयोग गरी नियन्त्रमा लिन पल्केको रुसी सामाज्यवादी नीतिले इस्टोनीया, जर्जिया र लुथुयानिया जस्तै युक्रेनमा पनि हैकम चलाउन चाहेको समय अवस्था । परिणाम सफल कुटनीति, युक्रेनीमैत्री नीति,  युक्रेनमा रहेका रुसी भाषाभाषीहरुको मनजित्ने काम आदि गर्नुभन्दा बन्दुककै वलमा युक्रेन कब्जा गर्नेतिर लाग्यो रुस पनि । 

अमेरिकी सैन्य गठवन्धन नाटोको सदस्यता लिन जेलेन्स्की इच्छुक भएको सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको युक्रेनमाथिको आक्रमणले थप गति लियो । हिजोआजपनि आक्रमण र प्रत्यक्रमण जारी रहिरहेको छ । विश्वको करिब तेस्रो शैन्य शक्ति रहेको रुससँग १८औ शैन्यशक्तिमा रहेको युक्रेन, करिब ४२ खर्ब सुरक्षा बजेट रहेको रुससंग, मात्र २ खर्व सुरक्षा बजेटलिएर लडिरहेको छ । २४ वर्षदेखि निर्बाचित तानाशाह सरह राज गरेका पुटिन एकातिरको नेतृत्वमा छन भने सन २०२४ मा गराउनु पर्ने आवधिक चुनाव युद्दको कारण देखाई नगराएर मार्शल ल लगाउदै शासन गर्दै आएका जेलेन्स्की नेतृत्व बिचको यो युद्दले दुबैतिर तहसनहस पारिरहेको छ । अझै कति तहसनहस हुने हो ? भन्न वा अनुमान गर्न नै कठीन छ । तर जारी युद्दमा रुस वा युक्रेन जसले जितेपनि जनधन, भुगोल, संस्कृति, मानवता सबै पराजित हुनेभने निश्चित प्रायः छ ।

भनिन्छ ,युद्द जारी हुनु र चर्कनुमा पुटिन जति जिम्मेवार छन, जेलेन्स्की पनि कम जिम्मेवार छैनन ।  सामरिक तथा भूराजनीतिक महत्व अनि खनिज पदार्थको लोभ आदि कारणले कमजोर मुलुकलाई निशाना बनाउने र हरेक प्रकारका स्वार्थहरु पुरा गर्ने पूँजिबादी एवं साम्राज्यवादी नीतिको केन्द्रिय भाव नै युद्दको मूल कारण हो । यस भुँग्रोमा रुसी जनता भन्दा युक्रेनी भूमि र युक्रेनबासीहरु बढी परिरहेका छन । रुस युक्रेन युद्को मुख्य दोषी पुटिन नै मानिएला सायदः तर अस्वभाविक रुपमा शक्तिमा उदाउने, आफ्नो सार्मथ्य भन्दा बढी अरुको उक्साहटमा भरपर्ने र कठपुतलीका रुपमा अरुकै स्वार्थको वरिपरि लागेर जनधन र शान्तिगामी मनहरुलाई नै वलिदानी दिने एक खलनायकका ब्यक्ति जेलेन्स्की देखिएका त हैनन भन्ने जबरजस्त सवाल उठिरहेको छ ।

शासकीय शक्तिमा रहनेसँग कुटनीतिक चातुर्यता सहित विविध राजकीय सामर्थ्यता भएनभने र बाह्यशक्तिको भरोशामा रहेर राष्ट्रिय स्वाधिनताको बिषयलाई गौण मानियोभने देश कसरी तहसनहस हुन्छ र जनताहरु कसरी अत्तालिएर मुलुकबाहिरिन बाध्य हुन्छन भन्ने एक खरो उदाहरण हो युक्रेनको वर्तमान अवस्था र त्यसका प्रमुख कारक हुन जेलेन्स्की । जो ब्यक्तिगत रुपमा अब चाहेरपनि युद्द रोक्न सक्ने बिन्दूमा छैनन । यात पूर्ण पराजय स्विकार या अझ बिनाशको बिन्दूमा पुगिसकेका छन ।

गत भाद्र २३ को नवयुवा बिद्रोहको जगमा, २४ गते हुन गएको राष्ट्रिय धरोहर सहितको विभिन्न ध्वँसको कारण नेपालमा पनि जेलेन्स्कीको खोजी कै क्रम हो भन्ने तर्कका आधारमा त्यसको आधारभूत जगका रुपमा बारबराफाउण्डेशन र अमेरिकन युथकाउन्सीलसंग आबद्दहरुको नै नेपालको शासकीय शक्ति र राजनीतिक क्षेत्रमा बढ्दै गएको सकृयता र प्रभाबलाई लिइएको छ । आगामी चुनावी परिणामले जेलेन्स्की प्रबृतिलाई बढावा मिल्न गएमा पाश्चात्य शक्तिले थप चलखेल गर्न पाउने र बैदेशिक शैन्य शक्ति नेपालमा आउने त्रासादिपूर्ण तर्क वा अनुमान गर्नेहरुको पनि कमि छैन ।

तिब्वती स्वतन्त्रताका पक्षधर एवं तिब्वती धर्मगुरु मध्येका रिम्फो छे को भब्य स्वागत र टासीफोन्चो गुरुङ अध्यक्ष रहेको डोल्पो ‘’नामक समाज’’ संस्थामा लगातार १० दिने प्रवचन पछि ड्रागनमीडियामा प्रकाशित फु यु हाइको लेखको साँरास-औपचारिक माफी र एक चीन नीतिको समर्थनको ठोस कदमहरु कि अवज्ञा र बिनाश, ? रोज्ने? भन्ने चिन्ता ग्रस्ततामा छ प्रिय मुलुक । चुनाव वा अर्को खालको बिद्रोहबाट जेलेन्स्कीको उदय र रणभुमिमा परिणत ! यसप्रकारको आँशकाहरुमा सत्यता छैन र ब्यवहारतः नेपालमा जेलेन्स्की को उदय वा लुसिफर प्रवृति जजयकार हुदै हुदैन भन्ने प्रमाणित गर्न सचेत जनमतले राष्ट्र,राष्ट्रियता र जनजीवीकाको पक्षमा रहेर स्वाभिमान र स्वाधिनताको रक्षाको विकल्प देखिदैन । 

अब लागौँ लुसिफरतिर । ल्याटिन भाषामा लुस भनेको ‘’प्रकाश’’‘’फररे’’ भनेको ल्याउने अर्थात उज्यालो ल्याउने (विहानीको तारा) भन्ने हो । रोमन संस्कृतिमा विहान सूर्य उदाउनु भन्दा पहिले देखिने शुक्र तारालाई पनि लुसिफर भनेर बुझिएको पाइन्छ । एक समयमा स्वर्गमा सुन्दर र शक्तिशाली रहेको देवदूत (लुसिफर)  समयअन्तरमा आफूलाई इश्वरसँग समकक्षीय तुलना गर्दै विद्रोही बन्यो । परिणाम इश्वरले त्यसलाई पापीको सँज्ञा दिदै रिसाएर नर्कमा धकेलिदिए । नर्कमा आएपछि लुसिफरले मानिसहरुलाई पथ भ्रष्ट बनाउन थाल्यो । नर्कमा ताण्डप चलाउन थाल्यो । मानिसहरु लुसिफरको डरले आकुल ब्याकुल हुन थाले । यही कारणले जनजनको मनमा लुसिफर सकारात्मक बिद्रोही भन्दापनि विरोधी जतिलाई सखाप पार्ने ध्वँश, लुटपाट, अन्याय र अत्यचारको खलनायकका रुपमा लिन थालियो ।

आफूमा रहेको शक्ति, सौन्दर्य र बुद्दिलाई जनहितकारी काममा सदुपयोग गर्ने भन्दापनि मैमत्तायुक्त घमण्डी स्वभाव र कालो-अँध्यारोमा रमाउने स्वभाव र कार्यशैली (लुसिफरलाई) लाई अन्धकार भविष्यको प्रतिकका रुपमा लिन थालियो ।

हुदा हुदा त चर्चामा आएका उल्लिखित दुइ पात्रहरुलाई राजनीतिकरण गर्न थालियो जताततै । पछिल्लो क्रममा नेपालमा पनि राजनीतिकरणका शब्दहरु बन्न पुगेका छन जेलेन्स्की र लुसिफर शब्दहरु । खासगरी अरुको इशारामा शक्तिको प्रदर्शन गर्ने र बिरोधीलाई दानवीकरण गरेर शक्तिमा आउने र रहिरहने कुटिल एवं सैतानी पात्रहरुको नामाकरण बन्न पुगेका छन यी शब्दहरु । नेपाली राजनीतिक रँगमन्चमा साहित्यकार एवं राजनीतिक विश्लेषक शौरभले टिकाराम यात्रीसँगको टेलिभिजन अन्तरवार्तापछि लुसिफर शब्दको थप चर्चा भएको हो ।

को किन जेलेन्स्की वा लुसिफर बन्दै छ वा बन्न खोजिरहेको छ ? अथवा को कस कसले कसरी जेलेन्स्की वा लुसिफर बनाएर के कस्तो फाइदाहरु लिन खोजिरहेको छ ?  त्यसका आधारहरु के के हुन  ? स्पष्ट रुपमा भन्न वा खुलाउन सकिरहेका छैनन तर पटक पटक प्रयोग गरिरहेका छन नेपालका केही राजनीतिज्ञहरु ले ! जेलेन्स्की र लुसिफर!! शब्दहरुलाई ।

परोक्ष्य रुपमा जेलेन्स्की शब्दको प्रयोग मुलुकी बर्बादीका लागि मुलुकभित्रैको कुनै ब्यक्तिलाई तयार पारिने बैदेशिक दुस्वप्न भन्ने बुझिन्छ भने लुसिफर भन्नाले घमण्डि, बिद्रोही र अन्धकारको प्रतिकलाई लिन खोजिएको र बाइबलमा रहेको (१४:२२) एक शैतानी पात्रका रुपमा पनि लिइएको पाइन्छ ।  

कालो पोषक, कालो चश्मा र कालै जुत्ता लगाउने आकृति वा शैली मात्र हो त लुसिफर ? अथवा असल र सदाचारी मानिसहरुलाई खराब र दुराचारी बनाउने नकारात्मक बिद्रोहको नायकत्वको प्रतिकात्मकता हो त लुसिफर ? एकान्तप्रियता र समूह स्वनामधन्यता थप विशेषता मात्र हो त लुसिफरको ? बाहिर खुल्न नसक्ने तर भित्र भित्र कुटिलतामा रमाउने चारित्रिक र व्यवहारिक विशेषताको पर्याय हो त लुसिफर ? अथवा लुसिफर भनेको एकप्रकारको मानसिक त्रास वा हौवा मात्र हो ? यसप्रकारका सवालहरु उठिरहेका छन यतिवेला ।

सचेतना जरुरी छ कि मानव समाजमा लुसिफर केवल बाइवल वा कुनै धर्मको पात्र होइन, चेतनाको दर्पण हो । जब जब शक्ति, पद, वा निष्ठाको नाममा विवेक गुमाइन्छ ।  नीति भन्दा स्वार्थ अगाडि आउँछ ।  निष्ठा भन्दा पार्टी, मित्रता वा लाभ प्रमुख बन्छ । राष्ट्रियता ओझेलमा पर्दछ । तब तब लुसिफर प्रभाव बढ्दै जान्छ । शान्तिपूर्ण बिरोधमा विश्वास वा भर नगर्ने, अराजकताबस शान्ति भँङ्गर्ने सहितका  हरक्षेत्रमा हुने विश्वासघात, हिंसा र दुश्प्रचारद्वारा देखाइने सत्तालालसा र उदंण्डता तथा बिध्वंसहरु सबै लुसिफर प्रभावका एकपछि अर्को आधुनिक पात्रगत रूपहरु हुन् ।

हृदयभित्रैबाट आउने र ब्यवहारमा देखिने असलपन, सदाचारी जीवन र मानवीय सम्बन्ध मानव सभ्यताका लागि स्तुत्य पक्ष हुनभने अँहकार, ध्वँश, अराजकता र मानवीय असंवेदना तथा विवेकहिनता बिनाशका पर्याय हुन । देशका हरेक राजनीतिज्ञहरुले आफैभित्र कतै जेलेन्स्कीपन त छैन भनेर आत्मसमीक्षा गर्न र समाजका हरेक ब्यक्तिले आफूमा लुसिफर प्रबृति चढेको र कुसंस्रकार बढेको छ छैन ? भनेर समाजिक ऐनामा हेर्नु भने सधै जरुरी हुन्छ । यसो गरियोभने नैतिक अनुशासन, आत्मचेतना, र उत्तरदायी प्रणाली कायमीमा भर विश्वास बढन सक्दछ । आफुभित्र रहेको लुसिफर प्रबृति र कुसंस्कारपनलाई हटाउनु वा हराउनुको अर्थ लुसिफरपनको अस्वीकार्ता मात्र होइन कि लुसिफर चरित्र तथा ब्यवहारको पहिचान र नियन्त्रण पनि हो । यहानेर ‘’सद्गुण र दुष्टताको सीमारेखा कुनै देश, वर्ग, वा सिद्धान्तबाट होइन, प्रत्येक मानिसको हृदयभित्रबाट गुज्रिन्छ’’ भन्ने भनाइलाई स्मरण गर्नु पनि जरुरी हुन्छ । जेलेन्स्की’ र लुसिफर प्रबृति स्वयं हरेक ब्यक्तिको पहिचान र ब्यक्तित्व बिकासको बाधक त हुदै हुन, मुलुकी जीवन र जगतकै हितकोलागि पनि बिनाशक हुन । त्यसैले जेलेन्स्की र लुसिफर प्रबृतिलाई त्याज्य, अस्विकार्य एवं दुत्कार्यका रुपमा लिनु मै सर्वपक्षीय हित हुने छ ।

 

२०८२।१०।२४                                                                                           ऐरावती १ धनबोट।प्यूठान