Sunday, 17 August 2025

कथा टुटेको घर र भाच्चिएको मन


       

अदालत भनेपछि मुद्दाको घर । असहमत ब्यक्तिहरु एक आपसमा आम्ने साम्ने हुने खुला घर । सयौँथरीका मुद्दाहरु र हजारौँथरीका मुद्दावालहरु घुम्ने घर । न्यायाधीश र न्यायकर्मीहरुका लागि कर्मको मन्दीर । कानुन ब्यबसायीहरुका लागि पेशागतधर्म निर्बाहको यज्ञथलो ।

न्याय पर्नेका लागि न्यायालय । नपर्नेका लागि ''अन्यायलय'' को आरोप लागेको  । कतिका लागि (court of Law) अर्थात कानूनालय मात्र र केहीका लागि (court of justice) अर्थात न्यायालय।  त्यहा दुखेका मनहरु मल्हम पाउने आशामा आँउछन । चोइटिएका अङगहरु जोडिने आशामा र कोतर्ने काडाँहरु तोडिने आशा र बिश्वासमा आउँछन । सरसर्ति हेर्दा न्याय माग्नकै लागि आउँछन वा आउनु पर्ने हो भन्ने लाग्दछ तर अरुलाई अन्याय गर्नकालागि न्यायको याचनाकासाथ आउनेहरुपनि यही न्यायालयमा आउँछन । कहिलेकाँहि यही न्यायको मार्गलाई रिस वा व्देषको हतियार बनाउँछन अनि त न्यायालय झन अन्यायालयमा परिणत भएको आरोप लाग्न पुग्दछ ।

आफनै श्रीमती नजिकको भतिजोसँग लसपसमा परेको जानकारी पाएपछि रन्थन्निने पुरुषको मनस्थिति कस्तो होला ? अझ त्यसबारेमा एकान्तमा उनैसँग कुरा राख्दा उल्टै जुत्ता उठाउने श्रीमती भएपछि उ सँगैबसेर कसरी बाँच्न सकोस र ? पहाडको सम्पति बेचेर तराईमा ल्याउदा उसैको नाममा गरीदिएकाले  सम्पत्ति पनि स्वाँहा इज्जत पनि स्वाहा! हुने डरले उ रात दिन चिन्तित भइरहयो । श्रीमतीको अन्तरङग चर्तिकला थाहा नहुदै दुई छोराहरु जन्मेका । आखिर उनीहरुको पठन पाठन आदिमा अभिभावकीय दायित्व त निर्बाह गर्नै परयो । तर छोराहरुपनि छोरा हुन भनेर गौरव गर्न मिल्ने जस्ता त के छोरा हुन भनेर बताउन पनि लाज लाग्ने जस्ता हुन थाले । सोचेजस्ता हुन नसक्नु त बेग्लै कुरा हो । सामाजमा शिर उचो राखेर हिड्न पनि नदिने कुकर्ममा पो लाग्न लागे ।

दिनहूँ मादक पदार्थको सेवनले नपुगेर डाइजापाम फेनारगन लुपिजेसिक अलपराजोलाम आदि के के हो हो ? मनोदीपक लागू पदार्थहरुको सेवन गर्ने । रात बिरात घरमा आउने । कैल्हे कैल्है त केटी साथीहरुका साथ आउने । बिहान अबेरसम्म सुत्ने ।

केटी साथी पनि कस्ता कस्ता ? बिहान उठेर लाजै नमानी भान्सामा पसेर खाने अनि जानेबेलामा केटी साथीले मोटरसाइकलमा तेल नभएको आदि भन्दै बाटो खर्च मागेर लाने । अन्ततः श्रीमती मात्र हैन छोराहरुको चालचलन र ब्यबहारले घरमा बस्न सकेनन धर्मानन्द । हटियातिर डेरा सरे । पैत्रिक सम्पत्तिको केही अँश भएपनि आफ्नो नाममा राख्न पाए बुढेसकालका लागि जाउलोको जोहो हुने थियो भन्ने लाग्यो धर्मानन्दलाई । तर त्यो पनि कष्टकर बन्यो । धेरै त श्रीमतीले बेचेर खाइसकेकी । बाँकी रहेको घरबास र केही कठ्ठा जग्गा मात्र । घर श्रीमती र छोराहरुको अँश भाग बापत छोडिदिएर जग्गामध्ये चार कठ्टा जग्गा अँश स्वरुप श्रीमतीबाट लिएर अलग्गै बसे । भित्री रुपमा तडपिएका भएपनि बाहिरी रुपमा सुखको सास फेरिरहेका थिए । अचानक स्थानीय छापामा आयो आमा र छोराहरु मिलेर बुहारीको सामुहिक बलात्कारको दुखद सन्देश !

समाचार दोहोरयाएर पढे । एकछिन त बिश्वास नै लागेन । ''अग्लो पर्खालले घेरिएको घर भएकोले भित्रका गतिविधिहरु बाहिरबाट थाहा नहुने अवस्थाको छ । तर रातबिरात बाहिरी मानिसहरु पनि आउने । हल्ला हुने  । बाबु पनि अँश लिएर श्रीमती र छोराहरुबाट अलग बस्न बाध्य भएका । छोराहरु दुबै लागू औषध दुर्ब्यसनको कुलतमा लागेका''

...... छिमेकीको स्रोत बताउदै छापाले दिएको बिबरणको साराम्स । उसलाई आफ्नै मुटुमा हानेको जस्तो लाग्यो । एक छिन त आमा बनेकी आफ्नै श्रीमती त्यस्तै भएपछि भन्नेपनि लाग्यो । घर भनेको चार दिवालभित्रको छाना र खाना भएको ओडार मात्र हुने रहेनछ त्यहा त माना अर्थात मान सम्मान र सामाजिक सस्कार पो हुनु पर्ने रहेछ । जुन घर मान सम्मान र सामाजिक सँस्कारमा चर्केको छ, त्यो घर भौतिक रुपमा बलियो भएपनि भित्रि रुपमा जतिवेला पनि भत्कन सक्छ । समाजमा भनिने यही रहेछ भन्ने उसलाई लाग्यो ।

डेराको घरको अगाडि बाटोको छेउमा रहेको मुडोमाथि बसेर पत्रिका पढिरहेको थियो । बाटोमा हिड्नेहरुका आखाँ उसमाथि पर्नु स्वभाबिकै हो । परिरहे । आउने जानेले हेर्दै गए । एक पछि अर्को त्यसरी नै आउने जाने गरेको देख्दा उसलाई लाज, शर्म घृणा र साथसाथमा आक्रोस पनि आयो । धरधर्ती पत्रिका च्यातेर कोठाभित्र गयो ।साझ परिसकेको थियो बिस्तारमा पल्टयो ।  निद्रा कसरी लाग्न सक्दछ र ? जोडिएको कोठा पसल कवलको कोठा थियो । चुस्कीका मस्कीहरुका बिचमा साँझ अबेरसम्म गफ हुने स्थान ।

''मलाई त आज दिक्क लागेको छ यार पत्रिकामा आएको समाचार पढ्दा''...एकजनाले बोल्यो ।

      ''के समाचार भन न'' अर्कोको जिज्ञासा

            ''के समाचार भन्नु कुसमाचार !''  प्रतिउत्तरमा केही आक्रोसजन्य स्वरका साथ उसले भन्यो ।

      ''भन न यार । मैले त पढेकै छैन'' अर्कोको पुनः जिज्ञासा ।

SSS छोड्दे समाचारका कुरा । त्यस्तोपनि हुन्छ नेपाली समाजमा ? दिक्क स्वरभावमा सुनियो कोठाभित्रै ।

धर्मानन्दले लख काटिसक्यो । उही आफैसँग सम्बन्धित समाचार हो भन्ने कुरा । सम्झ्यौ बुहारी करिब एक बर्षदेखि बिरामी परेको कुरा.....

''ए भाइ थप यार बियर, टेन्सनमाथि टेन्सन'' खानेका बहाना चाहिय भनेजस्तै बियर थप्नका लागि बहाना पनि बन्यो त्यो समाचार ।

''साला तँ भन्दैनस पुरा समाचार । झन बोर बनाउने भइस आजको रात । निद्रै नपर्ने भयो'' अर्कोले भन्यो ।

''के सुन्छस ? । सुन्न नपाएको छटपट्टि एकछिनको होला तर सुनिसकेपछिको छटपट्टी सधैका लागि हुने खालको छ यार। तैपनि सुन्ने भए ल सुन ''.....

आमा नै बाइफाले भएको एउटा घर रहेछ । दुई दुई वटा छोराहरुकी आमा भएर पनि भतिजोसँगको लसपसले टोल छिमेकनै गन्हाएको । बिचरो बुढो घरको चारदिबारभित्र कुरो रहदाँ सम्म त मुटु मिचेर बसेको थियो रे । टोल नै गन्हाउने भएपछि अँश बापत दुइचार कठ्ठा जग्गा लिएर अन्तै बस्न गएको छ रे । छोराहरु लागू औषधका दुर्ब्यसनी । साथमा रात बिरात आउने छडाँलूहरुले टोलकै शान्ति खलबल्याउने गरेका । भएभरको पैत्रिक सम्पत्ति श्रीमतीका नाउमा गरिदिएको बिचरो बुढो श्रीमतीले नाठा खेलाउन सम्पत्ति बेचेर सक्नै लागेपछि मात्र अलग भएको रे !

''अनि'' भन्ने जिज्ञासासँगै गिलास एक आपसमा ठोकिएका मसिना आवाजहरु पनि उसको कानमा पर्छन ।

उ सास नफेरे जसरी कान थापिरहेको छ बिस्ताराबाटै । आफ्नै बेइजति सुनेर उसलाई भक्कानिएर रुन मन लाग्यो तर थामियो ।

कठै बिचरा! मध्यबर्गिय परिवारकी छोरी भएपनि खुसले हुर्केकी । आइ एड पढ्दा पढ्दै सहरको चोकमा घर भएको भन्ने समेतका आधारमा बिबाह गरिदिएका उसका बुबाले । केही समयमै घर मालिक बिनाको हुल जस्तो लाग्यो उसलाई । हरेक साझँ बाहिरै तन्काएर आउने ससुरो । घर मै कोही न कोही बोलाएर लठ्ठीने सासु । कहिले हल्लिदै त कहिले अरु कसैको सहारामा आउनु पर्ने पति । कोहि न कोही छडूँली नलिएर नआउने देवरको हाल । मध्यरात भन्दा चाँडै कहिले सुत्ने अवसर मिलेन उसलाई । बिहानै क्याम्पस जानु पर्ने । क्याम्पसबाट आएपछि राती गर्नु नगर्नु गरेका घरका सदस्यहरुको कुकर्मको सोहोर सफाई पछि खाना पकाएर खुवाउनु पर्ने । खानुपर्ने । बिबाह भएको अर्को बर्ष बुबा बितेपछि त उसले आफ्नी आमालाई पनि ति दुःख भन्न चाहिन । पढ्छु । सानो तिनो जागिर खान्छु । बस्नै नसके बरु अरु अन्तै जान्छु........ भन्ने सोच्दै बसेकी ।

एक साँझ दाजु भाइ दुबै बाहिर गएनन । सासुले पनि अरु कोही बोलाइनन । अचम्मै लाग्यो उनलाई । टुटेको सिसा रुपी घर जूट्ने जस्तो लाग्यो । अलि अली आशा पलायो । अँस्तिदेखि रन्किएको टाउको झन बढी रन्किन लागेको थियो । खाना पकाई । खान दिई । एक गास टिपी । सुत्न कोठामा पुगी । पतिदेव भनाउदो पुरै खाट ओगट्ने गरी बिचमा उत्तर दक्षिण परेर सुतेको रहेछ । उसलाई केही नचलाई र केही नभनी भुइँमा तन्ना बिछयाएर सुती ।टाउको भनभनी दुखेकोले कहराई ।

''के भो'' उसले सोध्यो ।

''बेस्सरी टाउको दुखेको छ'' बिस्तारै जवाफ दिई ।

''भाङ खाइहोलिस'' उसले फेरि सोध्यो ।

''त्यस्ता नखाने कुरा मेरो मुखमा परेको छैनन आजसम्म । किन दोष लगाउनु हुन्छ। शङका गर्नुपनि पाप लाग्छ'' उसले बिस्तारै उसको अनुहारतिर हेरेरभनी ।

उ उठेर कोठाबाट बाहिरियो । भाइलाई बोलाएको जस्तो आवाज आयो । भाइका साथमा कोठामा प्रबेश गरयो र ''यी यो औषधि खाने दुई चक्की'' भन्दै दियो । उसले खान इन्कार गरी । देवरले पनि थप्यो ''निको हुन्छ'' । सासुले पल्लाको कोठाबाट भनी ''खा खा, भोलि काम नगरी बस्नका लागि होला । खुवाओ खुवाओ।''

मन नलाग्दा नलागदै पनि खाइ उसले ।केही बेर वल्टिइ पल्टिइ । भाउन्न हुन लाग्यो उसको मन र शरीर नै कस्तो कस्तो ।

केही बेर पछि उसलाई असर गर्न लाग्यो । हैन मलाई के भयो हँ झन रिङग्याउन पो लाग्यो । उठ्न कोसिस गर्दै उसले भनी । पल्लो कोठाबाट कर्कस आवाज आयो ''ए केटा हो । उसलाई कोचाइदिएको हैन औषधि । अब उसको ठाउँमा कोचाइदेओ.......'' उसको कानमा ठोकियो ।

पतिदेव भनाउदो आएर तानेर खाटमा लग्यो । गिजोल्न लाग्यो । भनी मलाई सन्चो छैन । केही नगर्नुस । एकै छिन त हो भन्दै सुरुवाल खोल्ने प्रयास गरयो । उ नाइ नाइ भन्दै चिच्याई । देवर आयो र भन्यो साला आफ्नो लोग्नेलाई नदिने,  कस्ती आइमाइ हो यो भन्दै खाटमा धकेल्यो उसले । दाजु गर्लम्म उ माथि चढ्यो । उ बिरोध गर्दै रही । चढिरहयो । थकित भएपछि बाहिरियो ।

पालो आएछ भाइको । चढ्यो उसैगरी । गिजोल्यो उसैगरी । उसले चालपाई यो देवर हो भन्ने कुरा । मुखमा हान्न खोजी । उल्टै हिर्कायो । केहीबेरसम्म लुछयौ उसले । पछि पालै पालो कति पटक अस्मिता लुटे दुबैले । थाहा नै पाउन छोडी ।

राती अबेरमात्र होस आयो । हेर्दा बिस्तारा लथालिङ छ । शरीर दुखेर झमझम भएको छ । कसलाई भनूँ । आमालाई गएर रुदैँ भनू भन्ने पनि लाग्यो तर फेरि सोँची । बाबु बितेपछि आमा आफै सहाराबिहिन भएकी छिन किन अरु रुवाउने उनलाई ?!

छिमेकी बहिनीसँग कुरा राखी । उनकै सल्लाहमा जाहेरी दिई । सासु आमाको योजनामा र मद्दतमा दाजुभाइद्रारा बलात्कृत भएको ब्यहोराका साथ ।

जिल्ला अदालतले बैबाहिक बलात्कारमा सजाय सुनायो दाजुलाई । उसको आत्माले न्याय पाएन । आमा र भाइलाई समेत बलात्कारको कसूरमा सजाय दिलाउने उपाएको खोजिमा उ कानून ब्यबसायीको फर्ममा सहयोगीका रुपमा काम गर्न लागि ।

माथिल्लो तहमा मुद्दा चलिरहेको थियो । उ आफैले पनि वकील राखी जाहेरवालाको तर्फबाट । वकिल साहेबलाई कतिखेर बोलाउनु पर्ने होला ?  न्यायाधीशहरुको अघिल्तिर उभिएर उसले जिज्ञासा राखी ।

      तपाँई को हो यस मुद्दाको एक न्यायाधीशले सोधे ।

''म पीडित हजुर । बलात्कृत महिला । सासु आमाको सहयोग र षडयन्त्रबाट दाजुभाइद्धारा सामुहिक रुपमा बलात्कृत'' भन्दै आँशुका ढिक्काहरु निकाली । ''तिनीहरुलाई त्यसै छोडेर कहाँ हुन्छ श्रीमान । हदैसम्मको सजाय गर्नु पर्छ । मलाई बर्बाद पारे । शारिरीक र मानसिक दुबै रुपमा बर्बाद पारे  ......''.

अब यथेष्ठ जानकारीमा आयो उनी नै रहिछन पीडित । धेरै आँशु बहेको कसरी हेर्नू  ?  धेरै बेदना कहेको कसरी सुन्नु ?

कुनै न्यायाधीशले भने ''लौ आजलाई वकील साहेवलाई बोलाउन परेन । झ झी अर्थात बिपक्षी झिकाउने आदेश भएको छ अर्थात उनीहरु सबैलाई पनि झिकाउने आदेश भएको छ । अब अर्को पेसीमा वकिल साहेबालाई बोलाउनु होला''...........

''धन्यवाद श्रीमानहरु ! म त उनीहरुलाई सजाय गराउने प्रयास स्वरुप वकीलको फर्ममा सहयोगी बनेर काम गरीरहेकी छूँ'' भन्दै अँश्रुममिश्रित स्वरमा भन्दै बाहिरिइ ।    

मिसिलमा कागजले बोलेका र उनले रुँदै खोलेका कुराहरुको समग्रभाव माथिको ब्यहोराले मनमा धेरैपछिसम्म हानिरहयो । त्यस्तो दर्दनाक र श्रमनाक अपराधिक काम पनि हुन सक्दछ र ? एक मनले भन्यो । अर्को मनले भन्यो हुन सक्दछ त्यसैले त प्रहरी वकील र अदालतहरु चाहिएका ।

लाग्यो टुटेको घर (Broken house) भित्र जे पनि हुन सक्दछ । भाँच्चिएको मन (&tear soul) शिशा जस्तै हो । जो जोडिन सक्दैन । बरु अरु तोडिएला । टुटेको घरभित्र भाँच्चिएको मनलाई सान्तवना दिने माध्यम भनेको केवल न्याय नै हो अर्थात न्यायालय नै हो । तर त्याहा पनि न्यायशील प्राणि हुनु जरुरी हुन्छ । लोभि पापीको हात र बास दुबै हुनु हुदैन न्यायालयमा । फोहोरको डुङगुरबाट सीता टिप्ने प्रबृतिका छिटाहरु पनि पर्नु हुदैन न्यायको मामलामा । नत्र बलात्कृत नारी अस्मिता न्यायको कबजको बहानमा फेरि बलात्कृत हुन पुग्दछन । पटकौँ बलात्कृत हुनु पर्ने हुन्छ ।

टुटेको घर भत्काउदै भाच्चिएको मन जोडने माध्यम न्यायको रसायन नै हो । त्यसलाई पबित्र रुपमा रहन दिनु पर्छ । न्यायको पवित्रतामा फोहोरी हातहरुले छुन पनि नपाउने हुनुपर्छ । नत्र उनी जस्तै हजारौ नारी अस्मिता धुरुधुरु रुनु पर्छ । यस्तोमा त्यसप्रकारको अन्याय आफैलाई पर्दा हुने अनुभूति अथवा आफ्नैलाई पर्दा गर्न मिल्ने प्रयोगको न्यायको भाव र भाषा न्यायकर्ताले दिने न्यायमा पनि बोल्नुपर्छ ।

      अर्थात यस्तोमा न्यायका लागि न्यायिक स्वबिबेकको भकारी मनफुकाएर खोल्नुपर्छ ।

No comments:

Post a Comment