अदालत भनेपछि मुद्दाको घर । असहमत ब्यक्तिहरु एक आपसमा
आम्ने साम्ने हुने खुला घर । सयौँथरीका मुद्दाहरु र हजारौँथरीका मुद्दावालहरु
घुम्ने घर । न्यायाधीश र न्यायकर्मीहरुका लागि कर्मको मन्दीर । कानुन
ब्यबसायीहरुका लागि पेशागतधर्म निर्बाहको यज्ञथलो ।
न्याय पर्नेका लागि न्यायालय । नपर्नेका लागि ''अन्यायलय'' को आरोप
लागेको । कतिका लागि (court of
Law) अर्थात कानूनालय मात्र र केहीका लागि (court of
justice) अर्थात न्यायालय। त्यहा दुखेका मनहरु मल्हम पाउने आशामा आँउछन ।
चोइटिएका अङगहरु जोडिने आशामा र कोतर्ने काडाँहरु तोडिने आशा र बिश्वासमा आउँछन ।
सरसर्ति हेर्दा न्याय माग्नकै लागि आउँछन वा आउनु पर्ने हो भन्ने लाग्दछ तर अरुलाई
अन्याय गर्नकालागि न्यायको याचनाकासाथ आउनेहरुपनि यही न्यायालयमा आउँछन ।
कहिलेकाँहि यही न्यायको मार्गलाई रिस वा व्देषको हतियार बनाउँछन अनि त न्यायालय झन
अन्यायालयमा परिणत भएको आरोप लाग्न पुग्दछ ।
आफनै श्रीमती नजिकको भतिजोसँग लसपसमा परेको जानकारी पाएपछि
रन्थन्निने पुरुषको मनस्थिति कस्तो होला ? अझ त्यसबारेमा एकान्तमा उनैसँग कुरा राख्दा उल्टै जुत्ता उठाउने श्रीमती
भएपछि उ सँगैबसेर कसरी बाँच्न सकोस र ? पहाडको सम्पति बेचेर तराईमा ल्याउदा उसैको नाममा गरीदिएकाले सम्पत्ति पनि स्वाँहा इज्जत पनि स्वाहा! हुने डरले उ रात दिन चिन्तित भइरहयो । श्रीमतीको अन्तरङग चर्तिकला
थाहा नहुदै दुई छोराहरु जन्मेका । आखिर उनीहरुको पठन पाठन आदिमा अभिभावकीय दायित्व
त निर्बाह गर्नै परयो । तर छोराहरुपनि छोरा हुन भनेर गौरव गर्न मिल्ने जस्ता त के
छोरा हुन भनेर बताउन पनि लाज लाग्ने जस्ता हुन थाले । सोचेजस्ता हुन नसक्नु त
बेग्लै कुरा हो । सामाजमा शिर उचो राखेर हिड्न पनि नदिने कुकर्ममा पो लाग्न लागे ।
दिनहूँ मादक पदार्थको सेवनले नपुगेर डाइजापाम फेनारगन
लुपिजेसिक अलपराजोलाम आदि के के हो हो ? मनोदीपक लागू पदार्थहरुको सेवन गर्ने । रात बिरात घरमा आउने । कैल्हे
कैल्है त केटी साथीहरुका साथ आउने । बिहान अबेरसम्म सुत्ने ।
केटी साथी पनि कस्ता कस्ता ? बिहान उठेर लाजै नमानी भान्सामा पसेर खाने अनि जानेबेलामा केटी साथीले
मोटरसाइकलमा तेल नभएको आदि भन्दै बाटो खर्च मागेर लाने । अन्ततः श्रीमती मात्र हैन
छोराहरुको चालचलन र ब्यबहारले घरमा बस्न सकेनन धर्मानन्द । हटियातिर डेरा सरे ।
पैत्रिक सम्पत्तिको केही अँश भएपनि आफ्नो नाममा राख्न पाए बुढेसकालका लागि जाउलोको
जोहो हुने थियो भन्ने लाग्यो धर्मानन्दलाई । तर त्यो पनि कष्टकर बन्यो । धेरै त
श्रीमतीले बेचेर खाइसकेकी । बाँकी रहेको घरबास र केही कठ्ठा जग्गा मात्र । घर
श्रीमती र छोराहरुको अँश भाग बापत छोडिदिएर जग्गामध्ये चार कठ्टा जग्गा अँश स्वरुप
श्रीमतीबाट लिएर अलग्गै बसे । भित्री रुपमा तडपिएका भएपनि बाहिरी रुपमा सुखको सास
फेरिरहेका थिए । अचानक स्थानीय छापामा आयो आमा र छोराहरु मिलेर बुहारीको सामुहिक
बलात्कारको दुखद सन्देश !
समाचार दोहोरयाएर पढे । एकछिन त बिश्वास नै लागेन । ''अग्लो पर्खालले घेरिएको घर भएकोले भित्रका गतिविधिहरु
बाहिरबाट थाहा नहुने अवस्थाको छ । तर रातबिरात बाहिरी मानिसहरु पनि आउने । हल्ला
हुने । बाबु पनि अँश लिएर श्रीमती र
छोराहरुबाट अलग बस्न बाध्य भएका । छोराहरु दुबै लागू औषध दुर्ब्यसनको कुलतमा
लागेका'' ।
...... छिमेकीको स्रोत बताउदै छापाले दिएको बिबरणको साराम्स ।
उसलाई आफ्नै मुटुमा हानेको जस्तो लाग्यो । एक छिन त आमा बनेकी आफ्नै श्रीमती
त्यस्तै भएपछि भन्नेपनि लाग्यो । घर भनेको चार दिवालभित्रको छाना र खाना भएको ओडार
मात्र हुने रहेनछ त्यहा त माना अर्थात मान सम्मान र सामाजिक सस्कार पो हुनु पर्ने
रहेछ । जुन घर मान सम्मान र सामाजिक सँस्कारमा चर्केको छ, त्यो घर भौतिक रुपमा बलियो भएपनि भित्रि रुपमा जतिवेला पनि
भत्कन सक्छ । समाजमा भनिने यही रहेछ भन्ने उसलाई लाग्यो ।
डेराको घरको अगाडि बाटोको छेउमा रहेको मुडोमाथि बसेर
पत्रिका पढिरहेको थियो । बाटोमा हिड्नेहरुका आखाँ उसमाथि पर्नु स्वभाबिकै हो ।
परिरहे । आउने जानेले हेर्दै गए । एक पछि अर्को त्यसरी नै आउने जाने गरेको देख्दा
उसलाई लाज, शर्म घृणा र साथसाथमा आक्रोस पनि
आयो । धरधर्ती पत्रिका च्यातेर कोठाभित्र गयो ।साझ परिसकेको थियो बिस्तारमा पल्टयो
। निद्रा कसरी लाग्न सक्दछ र ? जोडिएको कोठा पसल कवलको कोठा थियो । चुस्कीका मस्कीहरुका
बिचमा साँझ अबेरसम्म गफ हुने स्थान ।
''मलाई त आज दिक्क लागेको छ यार पत्रिकामा आएको समाचार पढ्दा''...।एकजनाले बोल्यो
।
''के समाचार भन न'' अर्कोको जिज्ञासा ।
''के समाचार भन्नु कुसमाचार !'' प्रतिउत्तरमा केही आक्रोसजन्य
स्वरका साथ उसले भन्यो ।
''भन न यार । मैले त पढेकै छैन'' अर्कोको पुनः जिज्ञासा ।
आSSS छोड्दे समाचारका कुरा । त्यस्तोपनि हुन्छ नेपाली समाजमा ? दिक्क स्वरभावमा सुनियो कोठाभित्रै ।
धर्मानन्दले लख काटिसक्यो । उही आफैसँग सम्बन्धित समाचार हो
भन्ने कुरा । सम्झ्यौ बुहारी करिब एक बर्षदेखि बिरामी परेको कुरा..... ।
''ए भाइ थप यार बियर, टेन्सनमाथि टेन्सन'' खानेका बहाना
चाहिय भनेजस्तै बियर थप्नका लागि बहाना पनि बन्यो त्यो समाचार ।
''साला तँ भन्दैनस पुरा समाचार । झन बोर बनाउने भइस आजको रात
। निद्रै नपर्ने भयो'' अर्कोले भन्यो
।
''के सुन्छस ? । सुन्न
नपाएको छटपट्टि एकछिनको होला तर सुनिसकेपछिको छटपट्टी सधैका लागि हुने खालको छ
यार। तैपनि सुन्ने भए ल सुन ''.....।
आमा नै बाइफाले भएको एउटा घर रहेछ । दुई दुई वटा छोराहरुकी
आमा भएर पनि भतिजोसँगको लसपसले टोल छिमेकनै गन्हाएको । बिचरो बुढो घरको
चारदिबारभित्र कुरो रहदाँ सम्म त मुटु मिचेर बसेको थियो रे । टोल नै गन्हाउने
भएपछि अँश बापत दुइचार कठ्ठा जग्गा लिएर अन्तै बस्न गएको छ रे । छोराहरु लागू
औषधका दुर्ब्यसनी । साथमा रात बिरात आउने छडाँलूहरुले टोलकै शान्ति खलबल्याउने
गरेका । भएभरको पैत्रिक सम्पत्ति श्रीमतीका नाउमा गरिदिएको बिचरो बुढो श्रीमतीले
नाठा खेलाउन सम्पत्ति बेचेर सक्नै लागेपछि मात्र अलग भएको रे !
''अनि'' भन्ने
जिज्ञासासँगै गिलास एक आपसमा ठोकिएका मसिना आवाजहरु पनि उसको कानमा पर्छन ।
उ सास नफेरे जसरी कान थापिरहेको छ बिस्ताराबाटै । आफ्नै
बेइजति सुनेर उसलाई भक्कानिएर रुन मन लाग्यो तर थामियो ।
कठै बिचरा! मध्यबर्गिय
परिवारकी छोरी भएपनि खुसले हुर्केकी । आइ एड पढ्दा पढ्दै सहरको चोकमा घर भएको
भन्ने समेतका आधारमा बिबाह गरिदिएका उसका बुबाले । केही समयमै घर मालिक बिनाको हुल
जस्तो लाग्यो उसलाई । हरेक साझँ बाहिरै तन्काएर आउने ससुरो । घर मै कोही न कोही
बोलाएर लठ्ठीने सासु । कहिले हल्लिदै त कहिले अरु कसैको सहारामा आउनु पर्ने पति ।
कोहि न कोही छडूँली नलिएर नआउने देवरको हाल । मध्यरात भन्दा चाँडै कहिले सुत्ने
अवसर मिलेन उसलाई । बिहानै क्याम्पस जानु पर्ने । क्याम्पसबाट आएपछि राती गर्नु
नगर्नु गरेका घरका सदस्यहरुको कुकर्मको सोहोर सफाई पछि खाना पकाएर खुवाउनु पर्ने ।
खानुपर्ने । बिबाह भएको अर्को बर्ष बुबा बितेपछि त उसले आफ्नी आमालाई पनि ति दुःख
भन्न चाहिन । पढ्छु । सानो तिनो जागिर खान्छु । बस्नै नसके बरु अरु अन्तै जान्छु........ भन्ने सोच्दै बसेकी ।
एक साँझ दाजु भाइ दुबै बाहिर गएनन । सासुले पनि अरु कोही
बोलाइनन । अचम्मै लाग्यो उनलाई । टुटेको सिसा रुपी घर जूट्ने जस्तो लाग्यो । अलि
अली आशा पलायो । अँस्तिदेखि रन्किएको टाउको झन बढी रन्किन लागेको थियो । खाना पकाई
। खान दिई । एक गास टिपी । सुत्न कोठामा पुगी । पतिदेव भनाउदो पुरै खाट ओगट्ने गरी
बिचमा उत्तर दक्षिण परेर सुतेको रहेछ । उसलाई केही नचलाई र केही नभनी भुइँमा तन्ना
बिछयाएर सुती ।टाउको भनभनी दुखेकोले कहराई ।
''के भो'' उसले सोध्यो ।
''बेस्सरी टाउको दुखेको छ'' बिस्तारै जवाफ दिई ।
''भाङ खाइहोलिस'' उसले फेरि सोध्यो ।
''त्यस्ता नखाने कुरा मेरो मुखमा परेको छैनन आजसम्म । किन दोष
लगाउनु हुन्छ। शङका गर्नुपनि पाप लाग्छ'' उसले बिस्तारै उसको अनुहारतिर हेरेरभनी ।
उ उठेर कोठाबाट बाहिरियो । भाइलाई बोलाएको जस्तो आवाज आयो ।
भाइका साथमा कोठामा प्रबेश गरयो र ''यी यो औषधि खाने दुई चक्की'' भन्दै दियो । उसले खान इन्कार गरी । देवरले पनि थप्यो ''निको हुन्छ'' । सासुले पल्लाको कोठाबाट भनी ''खा खा, भोलि काम नगरी बस्नका लागि होला ।
खुवाओ खुवाओ।''
मन नलाग्दा नलागदै पनि खाइ उसले ।केही बेर वल्टिइ पल्टिइ ।
भाउन्न हुन लाग्यो उसको मन र शरीर नै कस्तो कस्तो ।
केही बेर पछि उसलाई असर गर्न लाग्यो । हैन मलाई के भयो हँ
झन रिङग्याउन पो लाग्यो । उठ्न कोसिस गर्दै उसले भनी । पल्लो कोठाबाट कर्कस आवाज
आयो ''ए केटा हो । उसलाई कोचाइदिएको हैन औषधि ।
अब उसको ठाउँमा कोचाइदेओ.......'' उसको कानमा
ठोकियो ।
पतिदेव भनाउदो आएर तानेर खाटमा लग्यो । गिजोल्न लाग्यो ।
भनी मलाई सन्चो छैन । केही नगर्नुस । एकै छिन त हो भन्दै सुरुवाल खोल्ने प्रयास
गरयो । उ नाइ नाइ भन्दै चिच्याई । देवर आयो र भन्यो साला आफ्नो लोग्नेलाई नदिने, कस्ती आइमाइ हो यो
भन्दै खाटमा धकेल्यो उसले । दाजु गर्लम्म उ माथि चढ्यो । उ बिरोध गर्दै रही ।
चढिरहयो । थकित भएपछि बाहिरियो ।
पालो आएछ भाइको । चढ्यो उसैगरी । गिजोल्यो उसैगरी । उसले
चालपाई यो देवर हो भन्ने कुरा । मुखमा हान्न खोजी । उल्टै हिर्कायो । केहीबेरसम्म
लुछयौ उसले । पछि पालै पालो कति पटक अस्मिता लुटे दुबैले । थाहा नै पाउन छोडी ।
राती अबेरमात्र होस आयो । हेर्दा बिस्तारा लथालिङ छ । शरीर
दुखेर झमझम भएको छ । कसलाई भनूँ । आमालाई गएर रुदैँ भनू भन्ने पनि लाग्यो तर फेरि
सोँची । बाबु बितेपछि आमा आफै सहाराबिहिन भएकी छिन किन अरु रुवाउने उनलाई ?!
छिमेकी बहिनीसँग कुरा राखी । उनकै सल्लाहमा जाहेरी दिई । सासु आमाको
योजनामा र मद्दतमा दाजुभाइद्रारा बलात्कृत भएको ब्यहोराका साथ ।
जिल्ला अदालतले बैबाहिक बलात्कारमा सजाय सुनायो दाजुलाई ।
उसको आत्माले न्याय पाएन । आमा र भाइलाई समेत बलात्कारको कसूरमा सजाय दिलाउने
उपाएको खोजिमा उ कानून ब्यबसायीको फर्ममा सहयोगीका रुपमा काम गर्न लागि ।
माथिल्लो तहमा मुद्दा चलिरहेको थियो । उ आफैले पनि वकील
राखी जाहेरवालाको तर्फबाट । वकिल साहेबलाई कतिखेर बोलाउनु पर्ने होला ? न्यायाधीशहरुको
अघिल्तिर उभिएर उसले जिज्ञासा राखी ।
तपाँई को हो यस मुद्दाको एक न्यायाधीशले सोधे ।
''म पीडित हजुर । बलात्कृत महिला । सासु आमाको सहयोग र
षडयन्त्रबाट दाजुभाइद्धारा सामुहिक रुपमा बलात्कृत'' भन्दै आँशुका ढिक्काहरु निकाली । ''तिनीहरुलाई त्यसै छोडेर कहाँ हुन्छ श्रीमान । हदैसम्मको सजाय गर्नु पर्छ
। मलाई बर्बाद पारे । शारिरीक र मानसिक दुबै रुपमा बर्बाद पारे ......''.
अब यथेष्ठ जानकारीमा आयो उनी नै रहिछन पीडित । धेरै आँशु
बहेको कसरी हेर्नू ? धेरै बेदना कहेको
कसरी सुन्नु ?
कुनै न्यायाधीशले भने ''लौ आजलाई वकील साहेवलाई बोलाउन परेन । झ झी अर्थात बिपक्षी झिकाउने आदेश
भएको छ अर्थात उनीहरु सबैलाई पनि झिकाउने आदेश भएको छ । अब अर्को पेसीमा वकिल
साहेबालाई बोलाउनु होला''........... ।
''धन्यवाद श्रीमानहरु ! म त उनीहरुलाई सजाय गराउने प्रयास स्वरुप वकीलको फर्ममा सहयोगी बनेर
काम गरीरहेकी छूँ'' भन्दै अँश्रुममिश्रित स्वरमा
भन्दै बाहिरिइ ।
मिसिलमा कागजले बोलेका र उनले रुँदै खोलेका कुराहरुको
समग्रभाव माथिको ब्यहोराले मनमा धेरैपछिसम्म हानिरहयो । त्यस्तो दर्दनाक र श्रमनाक
अपराधिक काम पनि हुन सक्दछ र ? एक मनले भन्यो
। अर्को मनले भन्यो हुन सक्दछ त्यसैले त प्रहरी वकील र अदालतहरु चाहिएका ।
लाग्यो टुटेको घर (Broken house) भित्र जे पनि हुन सक्दछ । भाँच्चिएको मन (&tear soul)
शिशा जस्तै हो । जो जोडिन सक्दैन । बरु
अरु तोडिएला । टुटेको घरभित्र भाँच्चिएको मनलाई सान्तवना दिने माध्यम भनेको केवल
न्याय नै हो अर्थात न्यायालय नै हो । तर त्याहा पनि न्यायशील प्राणि हुनु जरुरी
हुन्छ । लोभि पापीको हात र बास दुबै हुनु हुदैन न्यायालयमा । फोहोरको डुङगुरबाट
सीता टिप्ने प्रबृतिका छिटाहरु पनि पर्नु हुदैन न्यायको मामलामा । नत्र बलात्कृत
नारी अस्मिता न्यायको कबजको बहानमा फेरि बलात्कृत हुन पुग्दछन । पटकौँ बलात्कृत
हुनु पर्ने हुन्छ ।
टुटेको घर भत्काउदै भाच्चिएको मन जोडने माध्यम न्यायको
रसायन नै हो । त्यसलाई पबित्र रुपमा रहन दिनु पर्छ । न्यायको पवित्रतामा फोहोरी
हातहरुले छुन पनि नपाउने हुनुपर्छ । नत्र उनी जस्तै हजारौ नारी अस्मिता धुरुधुरु
रुनु पर्छ । यस्तोमा त्यसप्रकारको अन्याय आफैलाई पर्दा हुने अनुभूति अथवा आफ्नैलाई
पर्दा गर्न मिल्ने प्रयोगको न्यायको भाव र भाषा न्यायकर्ताले दिने न्यायमा पनि
बोल्नुपर्छ ।
No comments:
Post a Comment