Friday, 8 August 2025

बिचारःपार्क गफहरु

ततकालीन नेपाल कम्युनिष्ट पाटी माओवादीद्वारा सञ्चालित सशस्त्र विद्रोहकालिन समय । अदालतहरुमा गैरकानूनी पक्राउ आदेशका विरुद्दका बन्दीप्रत्यक्षीकरण निबेदनहरुको बढ्दो चाप र ततसम्बन्धमा हुने बन्दीमुक्तिका आदेशहरुको कार्यान्वयनको क्रममा पनि जटिलताको भोगाइका क्षणहरु! ऐले सम्झदापनि आङग नै एकप्रारले सिरिङग भएर आउँछ ।  यस्तैमध्येको एक समयको सम्झना आयो यतिवेला।

बन्दीप्रत्यक्षीकरणको आदेशपछि थुनामुक्त गर्न पत्र त लेखियो । तर अदालत वरिपरि प्रहरीको घेराउ । सिभिल पोशाकका एकजना सहायकस्तरका अधिकृत प्रहरी कार्यकक्षमा आएर भने- जसरीपनि फेरि पक्रेर ल्याउनु भन्ने आदेश छ । कतिवेला छुट्छ हजुर ….? लाग्ला करिब २ घण्टाजति भनेर बाहिरै गेटतिर बस्न भने । यता बन्दीमुक्तिको पत्र तयार भइसकेको थियो । मुक्त बन्दी अदालतको परिसर बाहिर जान नसकेर मेरो कार्यकक्षमा शरणमा आयो र भन्यो कसरी जाने होला हजुर फेरि पक्राउको कुरा आएको छ उही आरोपमा ?

एकछिन गमे । राज्यको कार्यपालिकाको कुरा हो ख्वै ? भन्ने । उनी मेरो कार्यकक्षमा उभिरहेका थिए । मनले मानेन । नियमित द्वारा अर्थात ढोकाबाट पठाउन नसक्ने स्थिति आएको पहिले नै बुझिसकेको थिएँ । ‘’म त भाग्ने थिएँ हजुर । बाटो थाहा भए….’’उनले भनेपछि मेरो मुखबाट निस्कियो ‘’तल्लो तलाको पश्चिमतर्फ वाथरुम छ । हो, त्यसैको छतबाट पर्खाल नाघेर पश्चिम पातुखोलातिर जान सकिन्छ ……‘’ उनी तयार भए । तर मनमा डर बढ्यो कतै प्रहरीले गोली चलाएर अदालत परिसरकै नजिक मारयोभने ! मारिनै हाले त अरुलाई यो कुराको पत्तो नै हुदैन तर अर्धमृत अवस्थामा प्रकाउ परेपछि यो सबै पोल खुल्योभने फेरि बिबादको घेरामा परिने । एकातिर बन्दीमुक्तिको आदेशपछि पनि सकुशल मुक्त गराउन नसकेक्ने प्रशासक भन्ने आरोप लाग्ने र अर्कोतिर कार्यपालिकाले खोजेको अभियुक्तलाई अदालतबाट भगाउन मद्दत गर्ने प्रशासक भन्ने दोहोरो आरोपको चेपुवाभित्र परयो यो मन । तर उनी सकुशल सल्लाहबमोजिमकै बाटोबाट बाहिरिय। एकघण्टापछि केही प्रहरीहरु यतायता गर्दै अदालत वरिपरि खोज्न थाले । मेरो कार्यकक्षमा पनि आएर सोधे। अनभिज्ञता प्रकट गर्दै बसेँ ।

भोलिपल्ट बिहान, दैनिक पेशी सूचि प्रकाशन पछि कार्यकक्ष बाहिरको कौशीमा चियागफमा रहेका माननीयहरुनजिक पुगे । माथि कै सन्दर्भमा कुराहरु भइरहेका रहेछन । ‘’रजिष्ट्रार साहेवलाई थाहा होला….’’ भन्ने शब्दहरु सुनेपछि मैले कोतुहलतापूर्वक सोधें के बिषयमा हजुर’’ ? जवाफबाट हिजो कै अर्थात माथिकै सन्दर्भ भन्ने बुझेँ । चियागफ अगाडि बढ्दै गयो । दोहोरो भिड्न्त, अशान्तमय देशको अवस्था, सशस्त्र आन्दोलन समाप्त पार्ने सपनाले, शान्ति सुरक्षाकै नाउमा मुलुकी बजेटको ठूलोमात्रमा भएको खर्चले कर्मचारी सेना प्रहरी र शिक्षक सहितका सबै राष्ट्रसेवकहरुको तलवभत्ता बढ्न नसकेको र संभाव्य राष्ट्रियताको संकट समेतका पीरहरु एकपछि अर्कोबाट थपिदै गए ।

एकजनाले फ्याट्ट भने ’’के को राष्ट्रियता ! सबै अर्थमा पर निर्भरता अनि राष्ट्रियता ? राष्ट्रियताको ढवाङ फुकेर दौरा सुरुवाल हल्लाउदै कति दिन मनपेट मारेर बिताउने ? बरु उसैले राज गरोस….भारु मात खान पाइन्थ्यो तलव भत्ता ….! ऐलेको तलवले खान लाउन नै पुग्दैन । खान लाउन पुग्न त अब घूस नै खानु पर्ने भयो । हामीलाई त यस्तो छ, तल्ला तहका कर्मचारीहरुलाई कस्तो भएको होला….!?

सबै अबाक भए । एकनिमेषको मौनतापछि म भित्रबाट आक्रोसको ज्वाला सरह बनेर ’’धत्तेरीमा माननीय ज्यू! बरु दौरा सुरुवाल फालेर उतैतिर जानु र भारुमा खानु नि तलव भत्ता । नेपालमा बस्ने नेपाली हुं भन्ने अनि भारुमा तलव भत्ताको सपना देख्ने वा कामना गर्ने …..? यस्तै के के पो भन्न पुगेछुं ।‌चियागफले बिबादको तुफानी आँधी पो ल्याएछ ।

अरुहरु मौन सरह रहेका तर उनी भन्दै थिए ‘’ हेर्दै जानु होला । धेरै वर्ष लाग्दैन । म बाँचुला या मरुला तर तपाइहरुमध्ये धेरैले आफै देख्नु हुनेछ र भोग्नु हुनेछ, मेरो त खास कुरा यही नै हो । रहन्न मुलुक र मलुकी अवस्थालाई यसरी राखेर पनि हुदैन ?’’

एघार वजेको समय घर्की सकेकाले माननीयज्यूहरु दोराको फेरो मिलाउदै इजलासतिर लागे । म आफ्नो कार्यकक्षतिर । मनमा उही कुराहरु खेलिरहे । सशस्त्र द्वन्द, मुलुकी अशान्ति र असन्तोष । शोक भोक र रोग। अन्याय अभाव र उत्पीडन आदि आदि ।

यसबिच मुलुकमा धेरै पानी बगिसकेको छ । पानीमात्र होइन औपचारिक रुपमा सत्र हजारभन्दा बढीको र अनौपचारिक रुपमा बीस हजार जतिको रगत पनि बगिसकेको छ । करिब असी लाख नेपालीजनहरु र करिब दुइकरोड नेपाली मनहरु बिदेशिएका छन । छोरा छोरी बुहारी बिदेशमा र आमा बाबु सासु ससुरा नेपालमा भएका जनहरुका मनहरुभित्र पस्न खोज्दा झनै कहालिलाग्दो अवस्था ओइरिएर आउँछ । मोवाइलमा सन्तानको अनुहार हेरेर दशैको टीकाको अक्षता चलाएका बृद्द बा आमाहरु, छोरा छोरीहरु सजीव होइन कफनभित्र लास बनेर आँगनमा आएपछि भक्कानिएका क्षणहरु मेरो आँखा वरिपरि गरिरहे । करिब चारपाँच खर्बबाट बाइस खर्ब पुगेको मुलुकी बैदेशिक ऋणभार देखि चालिस प्रतिशतबाट आठ दश प्रतिशतमा पुगेको मुलुकी ब्यापार निर्यातको अवस्था हुदै खाली गाउहरु र सहरका खाली सटरहरु तिर मेरो मन डुलिरहयो । धत् कति कोठा मै बस्ने भनेर सदाझै टलहिन बाहिर निस्के र लागें नजिकेको पार्कतिर।

वारिपारिका छिमेकीहरु पार्कको वरिपरि घुमिरहेका । केही झुण्ड झुण्ड गरेर बसिरहेका । एकछेँउबाट इशारा आयो । नमस्कार गर्दै नजिक पुगें । अवकाश प्राप्त एक राष्ट्रसेवक, सेवारत राष्ट्रसेवकहरु सहितका केही छिमेकी सामाजिक अगुवाहरुको नजिक पुगेपछि सन्दै गरेँ-पार्कगफका बिषयहरु ।

औसत नेपालीहरुको चियागफ वा पार्क गफको बिषय रानजनीति वा कुनै नेता विशेषकै बिषय हुने जगजाहेरै छ । त्यहापनि उही राजनीतिका र उनै नेताहरुका कुरा भइरहेका रहेछन । दुर्गा प्रसाई पक्राउमा परेको र मार्सि भातको कुरा। रावि लामिछाने पक्राउमा पर्ने संभावना बढेको र सहकारी ठगीको कुरा । के पी बा र आरजू भाउजूलाई सन्चरी अमेरिकामा बसीखान नदिएको कुरा । अर्थात थर्काहरुसहितका चर्का नारा कुरा । ‘’मुफ्तमा भेट र गफका लागि भेट होइन, कामका कुरा गरौ । आफू त इन्जिनियर अर्थात प्रावधिकित मान्छे,काम गर्न काठमाण्डौ महानगरपालिकाको मेयर बनेको भेटघाट र गफका लागि होइन । कामकाजी र चाहिने मानिसहरुसंग त भेट भइरहेको छ नै । काम गर्ने हो । पहिले काठमाण्डौ बनाउने हो अनि देश…. बालेन साहले सन्दर्भबस भनेका भन्ने कुरा पनि त्यही पार्क गफमा आयो । त्यही मौकामा एउटाले थपे हो, ‘’त नि गगन थापाले त भेट्न पाएनन रे!’’  ह्वारह्वार्ती कमिङ भए पार्कगफका सन्दर्भहरु ।

पार्क गफमै गफिदै थियौ हामी इभिनिङ्ग वाकेहरु । कहिले उछिना उछिन गरेर त कहिले पालो क्रममै ओइरिन लागे पार्कगफका बिषयहरु । पार्क गफहरु न हुन । अर्थात सार्वजनिक जिरो आवर । मनमा लागेका सन्दर्भहरु गफ बनेर निस्किय । गफिदै थियौ एकजनाले भने ‘’म भएको भए त लौ के को हल्ला हो । प्रमाण छ भने पक्र। थुन । बयान कागज गराउ। मुद्दा चलाउ । म कानूनको शासनको सम्मान गर्ने मान्छे हल्लाको होइन । त्रासको होइन र बकबासको होइनभन्दै प्रहरी प्रधान कार्यालयमै जान्थे । रविजस्तो कार्यकर्ताहरुलाई उचाले मध्यरात सम्म पार्टी कार्यालयमा बस्ने थिइन र कालो बादलका बिचमा पनि सफा परिवेशमा छु भनेर हल्ला गर्ने थिइन । पार्टि चलाउन त वाग्लेहरुले पनि त छन । राजा मरेर राज्य कहा अडकिन्छ र? ‘’ भन्ने सोचेर प्रहरी प्रधान कार्यालय मै पुग्थें । के को ट्यान ट्यान । उनका कुरा सुनेर  अधिकाँश हास्यौ । हास्ने क्रममा छेउमै रहेका रास्वपाका एकजना सदस्यपनि फिस्स हास्न पुगे ।

पल्लो छेँउमा उभिएका एकजनाले थपे ‘’होइन के भएको हो यो मुलुकमा उपप्रधान मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिहं वैधले नेपाल रेडक्रसको २८ रोपनी जग्गा कौडीको दाममा लामो समयका लागि भाडामा दिएर झ्वाम पो पारिछन त। भट्टराइ समितिले हिनामिना ठहर गरि सकेको रहेछ । अरु सबैको बयान लियो रे सिआइबिले तर दिदी चाही सख्त बिमारी भनेर बयान दिनै नपर्ने भएको छ रे । अदालतमा पनि मुद्दा गएको छ उतै मिले सक्की गो नी एकजना अनुसन्धान अधिकारीले भनेको भनेरपनि बाहिरिएको छ कुरा । कसो कसो हो यार !   म त छक्कै परेको छु…’’। अर्कोले थपे के भन्नु हुन्छ नेपाली काँग्रेसका उपाध्यक्ष धनराज गुरुङ देखि लिएर प्रतिनिनिध सभाको सार्वजनिक लेखा समितिका सभापति पोखरेल हुदै प्रदेश सँसादहरु एकपछि अर्कोको कुरा आएको छ । के के भन्ने भन्ने । वँहा प्रचण्डले त राजा ल्याउन पर्ने भो भनेर रबिन्द्र मिश्रसँगको चियागफमा भनेछन । अब चल्दछ त मुलुक यसरी ?

यी सबै कुरा कुरा सुनिरहेका छेवैमा बसेका एकजना प्रतिबाद गर्ने शैलीमा उठेर के चाही भन्न मात्र के लागेका थिए । भो भो चाकडी नेताहरुको नगरौ । घाँटी घाँटी भएको छ भनेर अर्को कुनाबाट कसैले औँलो ठडयाउपछि उनि मत्थर भए ।  

ततक्षणमै एकजना भद्र समाजसेवीका रन्का छुटेछ । उनी रन्कदै भन्न पुगे ‘’मैले त्यसै भन्ने गरेको छु त ? अब रहदैन देश धेरै समय यसरी । भैरहवाको इयरपोर्ट बनाउदा ३६ अर्ब झ्वाम र पोखराको बनाउदा २६ अर्ब । बाँसबारी काण्डदेखि झापाको चिया काण्ड भुटानी शरणार्थि देखि प्रायः सबैपार्टीका ठूला नेता मुछिएको सहकारी काण्ड, …. सत्र अर्ब बार्षिक वजेटमा १२ खर्बजति त तलव भत्ता मै रे ! साउन र भाद्रमा तलव खुवाउने जति पनि राजश्व उठेन रे ! निमार्ण व्यवसायीहरुले ४० अर्बजति पाएकै छैनन रे! शेयर बजार एकमहिनाभन्दा बढी भो ग्वारर्रर ओरालो लागिरहेको छ । दिनहूं परदेशिएका छन सग्ला र गरिखाने पाखुरी भएका नेपालीहरु । अब त रेमिट्यान्सपनि कम हुदै जाने रे । उतै कमाउने उतै राख्ने भन्न थाले रे!  जग्गा जमिनहरु बाझै । उध्योग धन्दाहरु बन्द हुदै । अरु त अरु सडकका सटरहरुपनि एकपछि अर्को गर्दै बन्द हुदैछन । किन्ने मान्छे भएपो खोल्नु । किन्ने पैसा भएका मान्छे भए पो किन्न जानु । उभो त कसरी लाग्ला र देश । अब जान्छ । दक्षिणतिरे जान्छ । लान्छ उसले भित्र भित्रै लगिसक्यो । के नै बाँकी छ र ? सियोदेखि नुन सम्म उसकै आशमा बस्नु परेपछि र भित्री रुपमा शासकीय कुर्सीका ठूलाहरु उसकै बासमा बस्नुपरेपछि….. । मेरो मनमा त पाप पलाएको करिब चार पाँच बर्ष भयो । त्यो पापको खटिरो क्रमशः बढिरहेको छ आजकल । बढीमा बीस बर्ष, ….बढीमा बिस बर्ष, भन्दै हिडे घरतिर ।

केही हाँस्दै रहे । साँझ पर्न लागेकोले होला केही एकदुइ गर्दै हिडन थाले । मेरो मनमा भने एकपछि अर्को गर्दै आइरहे-फिजिकरण,सिक्किमीकरण र भुटानीकरण शब्दहरु । घरमा पुगेर प्रचण्ड र रबिन्द्र मिश्रका संबादहरुको अर्थ, मर्म र धर्मको सत्यताको बारेमा जान्न खोजे । जानकार एकजनाले भने निजी सचिवालयबाट विज्ञप्ति आउछ रे भोलि सबेरै ।

खाना खाएर स्वप्नशिल बन्न खोजेँ । राती अवेरसम्म निद्रा लागेन । पार्क गफका तिनै सन्दर्भहरु मनमा खेलिरहे । विशेषतः लान्छ लान्छ र जान्छ जान्छ । बढीमा बीस वर्ष ….भन्ने शब्द र भावहरुले वेचैन बनायो । सायद देश दुःख्दछ भनेको यही नै होला।

*** उच्च अदालतका पूर्व न्यायाधीश लेखकसंग चारदशक भन्दा बढी न्यायक्षेत्रको अनुभवका अतिरिक्त सुनको अवैध पैठारी जाचबुझ तथा नियन्त्रण आयोग २०८० का अध्यक्षका रुपमा कार्यसम्पादन गरेको अनुभव पनि छ । प्राकृतिक न्यायको सिदान्त देखि काव्यरसमा पोखरा सम्मका विभिन्न १२ वटा पुस्तकका श्रष्टा हुन । ।

No comments:

Post a Comment