Friday, 8 August 2025

तीजः हिजो आज र भोलि

तीज परिचयः

पौराणिक मान्यता अनुसार राजा हिमालयले छोरी पार्वतीको विवाह बिष्णुसंग गराउन खोज्दा पार्वतीलाई मन परेन। उनी शिवजीसंग विवाह गर्न चाहन्थिन । सखीहरुलाई भनिन । सखीहरुले उनलाई हरन गरेर जङ्गलमा लगे । त्यसपछि शिवजी पति पाउं भनी शिवलिङग खडा गरी निरन्तर जल चढाई, पानी पनि नखाई, प्रार्थना गरिन । लगातार १०७ वर्षसम्मको प्रार्थना (आराधना) पछि एकसय आठौं चरणमा शिवजी उत्पन्न भए र चिताएको पुगोस भन्ने वरदान दिए । वरदान प्राप्त गरेको दिन भाद्र शुक्ल तृतियाको दिन थियो।भनिन्छ, त्यही दिनलाई स्मरणगर्दै सखी खर्थात साथीहरुले हरित अर्थात हरण गरिएको स्मरण र शिवजीसंगको विवाहको अवसरको खुसीयालीका रुपमा हरितालिका (तीज) पर्व मान्न आरम्भ भएको हो ।

यो एकप्रकारको मिथक वा काल्पनिक कथ्य वा ऐतिहासिक सिर्जना नै सहि तीजले सामाजिक रौनकता र सांस्कृतिक एकता तथा सहअस्तित्वभावलाई प्रश्रय दिएको छ । यस अर्थमा यसको ऐतिहासिकता मात्र होइन, आधुनिक महत्वपनि छ ।

तीज पर्व कहिलेदेखि सुरु भयो ? ठयाक्कै मिति खुलेको छैन । मात्र पौराणिक कालदेखि सुरु भएको हो भन्ने भनाइ छ । नेपाली लेख्य भाषा १०३८ देखि आरम्भ भएको र तीज गीती कथ्य भाषा त्यो भन्दा धेरै पुरानो मानिएकोले तीजको ऐतिहासिकता अझ धेरै पुरानो मान्न सकिन्छ । नेपाल बाहेक भारत, श्रीलङ्का, भुटान र नेपालीहरु पुगेका विभिन्न देशहरुमा रहेका महिलाहरुले तीज पर्व मनाउने गरेका छन । तीजको अघिल्लो दिनको रात दुइतिहाइ अंध्यारो छदैसम्म मीठा परिकारहरु (दर) खाएर  भोलिपल्ट निर्जला अर्थात पानीपनि नखाइ निराहार ब्रत बस्ने, हरितालिकाको दिन शिव र पार्वतीको आराधना गर्ने, त्यसपछि क्रमशः गणेश चतुर्थी र गणेश पञ्चमीको पुजा गर्ने यस पर्वको मूख्य उद्देयः महिलाहरुले आफ्ना पतिको दीर्घायू सुस्वास्थ्य र सम्बृद्दिको शिवप्रार्थना हो भने अबिवाहिताहरुले असल पतिको लागि शिव पार्वतीसंगको याचना हो भन्ने बुझाई रहेको पाइन्छ । माइती पक्षले दिदी बहिनीहरुलाई मीठो खान्गी सहित सुन्दर वान्कीमा सजाउने बस्त्रादि द्वारा सम्झने तीज पर्वको अवसरलाई चेली र माइतीका बिचको सुसम्बन्ध र सहभावको निरन्तारको एक अर्को अवसर पनि मानिन्छ । पति प्रति पत्नीको अगाध श्रद्दाको अनुपम यस उदाहरणीय पर्वले पत्नी प्रति पतिको दायित्व र सहभावलाई पनि परोक्ष्य रुपमा अगाडि सारेको मान्न सकिन्छ।  

प्रार्थना र याचना साधनामा नारीहरुको उल्लेख्य क्षमताको एक नमूना बनेको छ तीजको व्रत । यो भन्दा पनि अझ कडा व्रत छ गौरा पर्व । विशेषतः सुदुरपश्चिममा मनाइने भाद्र कृष्ण  पक्षबाट सुरु हुने गौरा पर्व, जस्मा गौरा महेश्वरको आराधनाका लागि तीन दिनसम्म भरसक निर्जला र  नभए वा नसके निराहार रुपमा व्रत बस्ने  कडा सांस्कृतिक मान्यता रहेको झनै उल्लेख्य छ । 

महिला सशक्तिकरण, सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध सुदृढिकरण, अध्यात्मिक महत्व जागरण, स्वास्थ्य जागरण, सामाजिक एकता कायम र आर्थिक श्रीबृद्दीको याचनागत पक्षहरु यसका महत्वहरु हुन ।

तीज गीतः

तीज पर्वमा शिव पार्वतीको आराधनाका लागि, सुख दुःखका कथा र व्यथाहरु साटासाट गर्नका लागि र आपसी रमाइलोका लागि गाइने गीतहरुलाई तीजगीत भनिन्छ । तीजको शास्त्रीय मान्यता र भावसंग सम्बन्धित रहेका गीतहरु तीज गीत हुन भने तीजको बेला तीजको भाकामा वा भावमा गाइने अन्य समग्र गीतहरु तीजको बेला गाइने गीतहरु हुन । तीज गीत हुनका लागि शास्त्रीय मान्यता  र समाजिक मान्याता तथा सांस्कृतिक नैतिकता अनुकूलका शब्द, संगित र प्रस्तुतिको त्रिकोणात्मक संयोग मिलेको हुनुपर्छ । तीजको परम्परागत धारले- शिव पार्वतीको आराधना र महिलाको मनोवेदनाको प्रस्तुतियुक्त गीतलाई तीज गीतका रुपमा लिएको हुन्छ भने आधुनिक धारले- महिलाको वेदनाका अतिरिक्त सामाजिक जागरण र बिकृतिका विरुद्द आवाज उठाउने अवसरका रुपमा लिएको पाइन्छ । परम्पारगत रुपमा सर्वाधिक गाइने तीजी भाका भनेको वरिलै भाका नै हो । बि..२०४० सालतिर कन्यादन फिल्ममा समेत स्थान दिएको वरिलै भाकाको तीज गीत- ‘’तीजको रहर आयो वरिलै…..  भन्ने हो । यही भाकामा ‘’हाम्रा बाबैले छोरी दिन जानेननः वरिलै दाङ छोडी प्यूठान…. आदि धेरै तीजी गीत छन ।

आगनीको डिलमा बसी काली कौवा का काः के समाचार ल्यायो काली कौवैले……., यसप्रकारका शब्द र भाकाहरुमा लामो गरी आमा काकीहरुले गाएको सुनेको वाल्यकाललाई सम्झदा तीज आँगनमै आएजस्तो लाग्दछ यतिवेला पनि ।  ‘’ भातै र खाम्ला जेठो बुढो धानको, तरकारी खाम्ला गावै वरिलै । भेटन आए मामा, लिन आए दाजै, बिर्साइ दिए आमै वरिलै (गायिका/संकलकः हरिदेवी कोइराला) “ ‘’दैला मुनि अम्बा पाक्यो, डाली नुहाइ खाम्ला वरिलैः हामरा दाजै लिन पो आए, ढलकी ढलकी जाम्ला वरिलै (गायिकाःप्रीति कौल)आदि यसका उदाहरणहरु हुन ।

 ‘’उहिल्यै उहिल्यै एकसुकामा, घिउ किनिन्थ्यो छ माना,  हेर्दा हेर्दै के आए यस्तो जमाना परम्परागत तीजी गीतको अर्को उदाहरण हो । ऐतिहासिक यथार्थता जाहेर गरेका छनः ‘’बोल्न पनि डराउथें उ बेलाका बुहारीःऐले त सासु संगै खेल्छन जुहारी’’ जस्ता गीतहरुले ।

केही अतिपरम्पारवादी लागेपनि मार्मिक छन परम्पारवादी तीजी गीतहरु र केही उच्छृंलतालाई छोडेर भन्ने होभने सिर्जनात्मक र समाबेशी छन आधुनिक केही तीजी भाकाका गीतहरु पनि । हिजोआज तीजको सम्झना मुक्तकमा, रोइलोमा, टुक्कमा, सायरिमा, गजलमा,हुदै हुदै दोहोरी र पप गीत सङ्गीतमा पनि ढाल्ने वा जबरजस्ती रुपमा हाल्ने प्रयासहरु भइरहेको देखिन्छ ।  तीजलाई हरेक कोणबाट सम्झिनु अलग कुरा हो तर तीजलाई बिकृत बनाउने गरी तीजी भाकामा दोहोरी चलाउने वा पप गीतसंगीतहरुभित्र गलाउने कार्यलाई भने सकारात्मक प्रयास वा कदम मान्न नसिकएला । तीजको परम्परागत मान्यता र धारलाई बिकृत आधुनिकताले खानै लागेको छ ।

बिकृत आधुनिकता

तीज पर्वको ऐतिहासिकता र धार्मिकता क्रमशः हराउदै गएकोमा ज्येष्ठ नागरिक एवं संस्कृतिविदहरु चिन्तित हुदै गएका छन । खास गरी मौलिकता हराउदै गएको,  टिकटमा तीज कार्यक्रम चल्ने गरेका, महिनौसम्म तीज कार्यक्रम चलिरहेका तथा भडकिलो तीज कार्यक्रम प्रति विशेष चिन्ता रहेको पाइन्छ । परम्परागत तीजी गीत एककोहोरी लयका हुन्छन तर आधुनिकतामा नाउमा तीज भाकामा दोहोरीहरु चलेका छन ‘’श्रीसम्पत्ति यीनलाई होः तीन नंबरकी परिन, कति दिनलाई हो’(शर्मिला गुरुङ्ग र राजु परियार समेतको), बजेन किन तीजकै मादल खरि झरयोकिः ….. मात चढ्यो कि’’? (प्रीती आले आदि), । सोचेँ झै जिन्दगी रैनछ, चिटिक्कै भाछुं रे, हामी पनि नाच्नु पर्छ बिचबिचमा जस्ता आधुनिक तीजीभाकाका गीतहरुले झण्डै दुइकरोडदेखि डेढकरोड सम्मका भ्यूअरहरु पाएको पक्षलाई स्मरण गरौ वा गत साउन २७ गते एकैदिन विभिन्न ११ वटा तीजी गीतका एलबमहरु राष्ट्रिय सांस्कृतिक प्रतिष्ठानको सभाहलमा बिमोचित भएका सन्दर्भहरुलाई स्मरण गरौं ।

बाउ छोरी वा दिदीभाइ संगै बसेर सुन्न नसक्ने खालका प्रेमको रासलिला वा यौनक्रिडाका शब्दहरु मिश्रित छाडा र उच्छृङ्खल गीतहरु तीजी गीती भाकामै भएपनि वा गाइएपनि तिनीहरुलाई तीजी गीत मान्न मिल्दैन । ती त तीजमा गाइने बिकृत गीतहरु हुन । यसलाई जनस्तरबाट हतोत्साहन र राष्ट्रिय सांस्कृतिक प्रतिष्ठान तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान आदिका माध्यमबाट नियमन र शुद्दिकरण जरुरी छ । समाजका हरेक संगठन वा संस्थाले परम्पारगत, नैतिक मूल्य मान्यतालाई जगेर्ना गर्ने संस्कृतिक मान्यतासहितका तीजी भाकाका गीतहरुलाई प्रोत्साहन दिने गरी तीजी गीत प्रतियोगिताहरु सञ्चालन गरेर र समाजका प्रबुद्द व्यक्तिहरुले यसको शुद्दिकरणको पक्षमा घर, बलेसी र चौबाटोमा चर्चा र परिचर्चा गरेका यसमा शुद्दिकरण ल्याउन जरुरी छ । अनावश्यक खर्च कटौती, चेतनामूलक गीति यात्रा, मौलिकताको श्रीबृद्दि सहित सार्वजनिक स्थलको व्यवस्थापन जोड आदि तीज संस्कृतिको सम्बर्धन र प्रबर्धनका कदमहरु हुन सक्दछन ।

केहि बिकृतिहरु बढेको र खर्चको भार धान्न नसक्ने गरी चढेको पक्षलाई बिर्सनेहोभने तीज गीती यात्राले गति दिएको शब्द सिर्जानात्मक कौशलता, समाजमा बढाएको सकारात्मकता रौनकता  र समाबेशीता भने खुसी लाग्दो नै छ ।

तीजको भाका र संस्कृतिलाई बचाउनका लागि छाडा प्रकृतिका शब्द र भावहरु रहेका तीजी भाकाका गीतहरु राष्ट्रिय सास्कृतिक प्रतिष्ठान वा अन्य कुनै उपयुक्त निकायबाट नियमन र व्यवस्थापन भएन भने तीज,मेलोडी, पप, डिस्को आदिको छायाँमा पर्ने छ । किनकी मेलोडी, पप, डिस्को आदि आधुनिक सांस्कृतिक पक्ष र कदमहरु प्रतिको विशेषतः युवाहरुको झुकाव क्रमशः बढिरहेको छ । नवयुवतीहरुलाई तीजी स्वपनप्रति तान्नका लागि तीजी संस्कृतिको बचाउन, परिमार्जन र सुव्यवस्थापनमा संगठीत रुपमा प्रयास हुन ढिला भइसकेको छ ।

कालजयी भाका हो तीजी भाका। विशेषगरी ‘’वरिलै’’ भन्ने र करिब करिब सर्वरसयुकत भाव रहेको हुन्छ तीज गीतमा भन्ने वास्तविकता र महत्वालाई बुझिएनभने तीज संस्कृतिको सर्वस्वाहा हुन बेरलाग्ने छैन । यो कुनै भविष्यवाणी होइन, एकप्रकारको चिन्ता र सकारात्मक खबरदारी मात्र हो ।  

यसपालिको तिजसंगै अबका दिनमा जीवनवादी तीजी गीत र श्रमजीवी जागरण सहितको संगितको पायनका साथ आइदिउन गाइदिउन  र सबैमा अपनत्व जगाइदिउन भन्ने मनोचाहनासहित सबै आमा, दिदी, बहिनीहरुमा हरितालिका (तीज) २०८१ को मङ्गलमय शुभकामना ।

                                                                                                                      

२०८१ भाद्र                                      प्यूठान ऐरावती-१ धन्वोट

No comments:

Post a Comment