उनीहरु
अर्थात हुनेखानेहरुलाई दुःख छ
आफ्नै हातले.
आफ्नै मुखमा मीठो मीठो खान्छन
उनीहरु सबैलाई खुवाइदिने कोही छैनन
आफ्नै शरीरमा,
मूल्यवान बस्त्रादि लगाउछन
आफ्नै नाकले आफ्नै लागि
सास फेर्छन,
आफ्नै आँखाले
आफ्नै लागि सारा संसार हेर्छन
सक्दासम्म
आफ्नै कारमा आफै चढेर
डुल्छन-रमाउछन
आफ्ना लागि
अरु अरु बाटै कमाउछन
बिचरा ! हुनेखानेहरुलाई
यही नै दुःख छ
अर्थात आफै खानुपर्छ
आफै लगाउनु पर्छ
अनि आफै सास फेर्नुपर्छ
अरुले गरेर हुने भए
हुने खानेहरु
यी सब काम
अरुलाई नै लगाउने थिए।१।
हुदा खानेहरु त
हुदा न खाने हुन ?
हुदा न लाउने हुन ?
नचढी नहुने अवस्थामा
गाडी वा टेम्पो चढ्ने हुन
सधै कंहा मीठो खान पाउंछन र ?
सधै कंहा राम्रो लाउन पाउंछन र ?
त्यसैले हुनेखानेहरुलाई जस्तो
हुदा खानेहरुलाई दुःखै छैन
भएपनि हुदा खानेहरुको दुःखले
हुने खानेहरुलाई छुँदै छुँदैन
किनकी,
उनीहरुको दुःख देख्ने कोही छैन
न, राज्य छ
न, सत्ता छ
न, कानून छ
न, न्याय छ
न, धर्म छ
न, मानवता छ
न, विवेक नै छ
यी सबै
केवल हुने खानेहरुकै लागि मात्र छ
चिन्ता एउटै छ
हुनेखानेहरुका ति दुःखहरुको निवारण पो कसरी हुन्छ ?
हे, हुनेखानेहरुको राज्यसत्ता
लौन, हुनेखानेहरुको दुःख निवारणको
उपाय खोज,
यो याद राख्न नबिर्सकी
हुदाखाने र श्रमजीवीहरुको
राज्य सत्ता आउनै हुदैन
सत्ताको गून र नून तिनीहरुले
पाउनै हुदैन,
पाउनै हुदैन ।
ऐरावती-१ धनवोट, प्यूठान, श्रावण १५,२०८१
No comments:
Post a Comment