Monday, 25 August 2025

तीजी गीत ः आउन फेरि सेल्फि खिचौः


आउन फेरि सेल्फि खिचौँ
तीजको बेलामा
मस्की मस्की नाच्ने हो
पाशुपत मेलामा ।१।

बर्षदिनमा एकदिन मात्र
दील खोलेर हास्ने हो
बारुले कम्मर लरक लरक
लकरकाउदै सबै नाच्ने हो । २।

खुऽल जति बिर्सिएर
सुखी बन्ने चाहना
राख्दै नाचौ सबै मिली
गर्दै सतत कामना।३।

सबै सँगी सबै साथी
कम्मर समाइ उठौ है
मस्की मस्की नाच्नलाई
पाशुपत जुटौ है । ४।

आउ है साथी नाचौ गाऔ
पाशुपतको आँगन
सुख शान्त घरपरिवार
सम्बृद्द देश मागन । ५।

दिनभरीको नाँच गानले
थकित ज्यान भएनि
साँज पख मन फुरुँग
माइती आगन गएसी।६।

आउन फेरि सेल्फि खिचौ
तीजको बेलामा
मस्की मस्की नाच्ने हो
पाशुपत मेलामा ।७।

जग्गा वर्गिकरणका आधार र केही अलमलहरु

 

भुमिको वर्गिकरण, समुचित प्रयोग र प्रभावकारी ब्यवस्थाका माध्यमबाट अधिकतम र दीगो लाभ हासिल गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न २०७६ सालमा भू-उपयोग ऐन जारी भएको हो । यस ऐनले नेपालमा रहेका जमिनहरुलाई विभिन्न दश भागमा वर्गिकरण गरेको छ ।

जसअनुसार () कृषि क्षेत्र, () आवसीय क्षेत्र, () व्यावसायिक क्षेत्र,()औधोगिक क्षेत्र, ()खानी तथा खनिज क्षेत्र, ()वन क्षेत्र , () नदी खोला ताल सिमसार क्षेत्र, () सार्वजनिक उपयोगको क्षेत्र () साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र  (१०) नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिने अन्य क्षेत्रहरु रहेका छन ।

यस ऐनले छ महिनाभित्र कृषि क्षेत्र तोक्न सबै स्थानीय तहहरुलाआई निर्देशित गरयो । तर भू-उपयोग नियमावली २०७९ साल जेठ २३ गतेमात्र जारी भयो । भुमि वर्गिकरणका लागि २०८० सालमा थप एकवर्षको अवधि दिइयो । तर अधिकाशः स्थानीय तहले भू उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ अनुसारको वर्गिकरणको कार्य हालसम्म गरिसकेका छैनन । परिणाम अँशबण्डाको लिखत पारित गर्ने र पुरै कित्ता पारित गर्ने कार्यबाहेक जग्गा बिक्रीका अन्य लिखतहरु पारित हुन सक्दैनन । स्थानीय तहबाट भु वर्गिकरण हुन नसकेको  अवस्था देखाउदै फेरि मालपोत कार्यालयहरुले रोक लगाएका छन । भू वर्गिकरणको बिलम्बको कारणले आफूहरुलाई परेको मर्का देखाउदै नागरिकहरु स्थानीय तहतिरै खनिन लागेका छन । परिणामस्वरुपःतीज दशै तिहार आदि चाहाड पर्वहरु भित्रिनै लागेको समकालिन समयमा अधिकाँश स्थानिय तहहरुका लागि जग्गा वर्गिकरण कार्यभार थपिएको छ ।

भनिन्छ ७५३ स्थानीय तहहरु मध्ये आधि जसोले वर्गिकरणको कार्य गरेकै छैनन । पुरा वर्गिकरण गर्नेहरुको सँख्या दुइसय पनि पुग्न सकेको छैन । आँशिक गर्नेहरुले पनि ऐन तथा नियमले तोकेको विधि पुरयाएर वर्गिकरण गरिरहेका छैनन । धेरैले त जग्गाको वर्गिकरण भनेको घडेरी बनाएर बेच्नका लागि खुला र सजिलो पार्न हो भन्ने जस्तो बुझेर प्रायःले आफ्नो तहभित्र पर्ने सबै जग्गालाई आबासीय क्षेत्र भनेर झारा टारे । उता नियमावली सँशोधन गर्दै अवधि थप्दै लग्यो केन्द्रीय सरकारले । गत असार मसान्तभित्र सबै स्थानीय तहले भू-वर्गिकरण गरिसक्नु पर्ने थियो । धेरैले गरेनन । गत साउन १ गतेपछि ऐन र नियमावली अनुसारको भू उपयोगका लागि जग्गाको वर्गिकरण नभएसम्म जग्गा किनबेच नै हुन नसक्ने भएपछि स्थानीय तहहरु भू-वर्गिकरण गर्नु गराउनु पर्ने अतिरिक्त कामको चपेटामा परेका छन।

घरजग्गा बिक्रीबाट २०८१।२०८२ को श्रावण महिनामा ३ अर्ब ८३ करोड ५० लाख राजश्व २०८२।२०८३ को श्रावण महिनाम ३ अर्ब २८ करोड ९१ लाखमा खुम्चिएको र जबजसम्म स्थानीय तहबाट द्बन तथा नियमावली अनुसारको भूवर्गिकरण हुदैन, तबसम्म भाद्र असौज आदि सबै महिनामा राजश्व असुलीको यो दर क्रमशः तल तल झर्ने निश्चित छ । अर्थात स्थानीय तहहरु आम्दानीमा खुम्चिनु पर्ने र स्थानीय नागरिकको गुनासोमा परिरहने अवस्था जारी रहने देखिन्छ ।

सामान्यतः ऐन तथा निमावलीले परिकल्पना गरेका माथि उल्लिखित विभिन्न १० वटा क्षेत्रहरु सबै स्थानीय तहमा पर्ने देखिन्छन । कतै कुनै क्षेत्र कम र कतै कुनै क्षेत्र बढी होला त्यति मात्र हो । तर वर्गिकरण भनेको कृषि आवासीय वन र औधोगिक क्रमशः प्रमुख हुन भन्ने बुझाइले यस अगाडि आ-आफ्नै बुझाइ र हचुवामा वर्गिकरण गरिएमा कानूनतः त्यसलाई मान्यता दिन नमिल्ने हुन्छ । 

भू-उपयोग सम्बन्धी ऐन र नियमावलीको जग भनेको २०७२ सालमा जारी भएको भू-उपयोग नीति हो । त्यसले गरेको परिकल्पना भनेको कृषि योग्य जमिनको चक्लाबन्दी, आबासीय क्षेत्रको सिमितिकरण, व्यावसायिक र औधोगिक क्षेत्र निर्धारण, तथा वन क्षेत्र, नदीनाला ताल र सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्रको संरक्षण समेत हो । जसबाट भूमिको जथाभावी खण्डिकरण रोकिने, कृषि उर्बरक्षेत्रमा घरजग्गा कारोबार बढ्दै जादा त्यसबाट परेको सर्वागीण असरलाई नियन्त्रण हुने, बाटो पुल पुलेसा सहितका सार्वजनिक निर्माणहरुमा हुने खर्च नियन्त्रण र व्यवस्थित गर्ने आदि आदि हो ।

स्कूल बनाउन जग्गा चाहियो, वनक्षेत्र नै मासेर बनाउन दिने ।  सार्वजनिक जग्गा देख्यो कि विभिन्न नाउ वा समूहका घरहरु बनाउन स्विकृति दिने र त्यसबाट लोकप्रिय हुने भइने, त्यसरी घडेरीका रुपमा जग्गा पाउने संघसंस्थाहरुले ब्यावसायिक घर र सटरहरु निर्माण गरी आय आर्जनमा लगाउने अनि सम्बन्धितहरु रमाउने एकप्रकारको संस्कार नै बनिसकेको छ । कृषियोग्य जमिन बाँझै राख्ने, घरवरिपरि प्रसस्त जग्गा छ तर तरकारीसम्म पनि किनेरै खाने, नभए सोयाबिन वा चाउचाउमा झोल हालेर भात खाने खानपिनका अस्वस्थकर शैलीको बढोत्तरी हुदै गएको छ । श्रमजीवी जीवनशैलीमा क्रमशः कमी हुदै आएको छ ।        

‘’आबासीय क्षेत्र’’ सँकुचनको प्रधान नीति रहेको लाग्ने भू-उपयोग ऐन तथा नियमावलीका प्रावधानहरुलाई अक्षरसः पालन गर्ने होभने जनतामा असन्तोष बढ्ने र अर्कोतर्फ एकपटक भू-वर्गिकरण गरिसकेपछि पुनःपरिवर्तन गर्न स्थानीय भू-वर्गिकरण परिषदले,प्रदेश भू- वर्गिकरण परिषदमा सबै प्रकृया पुराएर बर्षमा पुस मसान्तमा र असार मसान्तमा गरी दुइपटक मात्र लेखी पठाउने, प्रदेश स्तरले जाँचबुझ गरी केन्द्रमा पठाउने अनि मात्र परिवर्तन हुन सक्ने जस्तो जटील मार्गले झनै अप्ठयारोमा पार्ने अवस्था छ । त्यसैले ब्यक्तिगत जग्गाहरु सकेसम्म आबासीय क्षेत्र मै राख्नतिर सबैको ध्यान जाने छ । जमिन खण्डीकरणको यात्रा रोकिने छैन ।

भू-वर्गिकरण नीति,ऐन र नियमावलीको व्यवस्थले आवासीयका लागि १३० वर्गमिटर र कृषि क्षेत्रका लागि,उपत्यका र भित्री मधेशमा ५०० वर्गमिटर (करिब १ रोपनी) र तराइका लागि ६७५ वर्गमिटरको क्षेत्रफलमा सिमित गरेको छ । औधोगिक र ब्याबसायिक क्षेत्रको क्षेत्रफलका बारेमा ऐन र नियमावली मौन रहेको छ । गैर कृषिक्षेत्रबाट कृषिक्षेत्रको कामका लागि उपयोग गर्न सरल छ तर कृषि क्षेत्रबाट अन्यक्षेत्रमा जग्गाधनी प्रमाण पत्रमा भू-उपयोग परिवर्तन गरी समाबेश गर्न वा प्रयोग कठिन हुने देखिन्छ । कृषि क्षेत्रमा पर्ने जग्गाहरुलाई आबासीय वा औधोगिक वा ब्यावसायिक क्षेत्रमा राख्यौभनेपनि बिउ मल तथा कृषि तथा फलफूल आदिका लागि प्राप्त हुने मदखादहरु वा ततसम्बन्धी सरकारी अनुदानहरु नपाइने अवस्था हुने देखिन्छ । कृषी क्षेत्रमा राखेकाले बार्षिक भूमिकर राजश्व कम तिर्न पर्ला तर कृषिक्षेत्रमा पर्ने जग्गाहरुबाट बैङ्किक कर्जा कम पाउने हुदा अर्कोतिर मर्कामा पर्ने अवस्था हुनेछ ।

भू-उपयोग ऐन तथा नियमावलीलाई सुक्ष्म रुपमा अध्ययन गर्दा उपभोक्ता अर्थात नागरिकहरुका लागि सुविधाको बिषयमा हो कि व्दिविधाका लागि हो भन्ने सवाल उठाउने ठाउँहरु धेरै रहेको लाग्दछ । भू-उपयोग सम्बन्धी नीति, ऐन र नियमावली धेरैपहिले आउनु पर्दथ्यो ताकी यतिबेलासम्म मानिसहरु अभ्यस्त भइसक्ने थिए । जमिनको खण्डीकरण यतिबढी हुन पाउने थिएन । सुविधा र अवसरको बिकेन्द्रिकरण र विविधिकरणको नीति बेलैमा ल्याएको भए यतिबढी बेथितिजन्य सहरीकरण हुने थिएन । ‘’बिदेशतिर राजै, आफू त सहरीया, गाउँका जमिनहरु बाँझै, जेसुकै होउस के खाँचै”’ जस्तो सोचाँइ र ब्यवहारमा कमी पक्कै आउने थियो ।

आजसम्म जे जस्तो भएपनि भू-उपयोग ऐन र नियमावलीलाई अधिकतम रुपमा लागू गराउने मानसिकताको बिकास र वातावरण जरुरी छ । सम्पत्तिसम्बन्धी हक ब्यक्तिको मौलिक हकको बिषय हो । यसलाई राज्यले ब्यक्तिको अधिकारमा सँकुचन ल्याउने गरी नयाँ नयाँ नीति ल्याउनु वा जबरजस्ती नया नीति लागू गर्नू स्वय राज्य र व्यवस्थाकै लागि प्रत्युपादक हुने डर हुन्छ । यसर्थ कृषि, आबासीय, व्यावसायिक र औधोगिक क्षेत्र वन क्षेत्रमा निजि वनक्षेत्र आदि मध्ये के कुन क्षेत्रमा राख्न चाहन्छन, सम्बन्धित जग्गाधनी अर्थात ब्यक्तिलाई नै उसको सम्पत्ति सम्बन्धी सँवैधानिक अधिकारको सम्मानकासाथ स्वनिर्णय गर्न दिने र बाँकी खानी तथा खनिज क्षेत्र, वन क्षेत्र नदी खोला ताल सिमासार सार्वजनिक उपयोगको क्षेत्र तथा साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रका सम्बन्धमा मात्र राज्य (सरकार)को कडाइ बढी अर्थात ऐन नियमबमोजिम अक्षरसः गराउनेतर्फको कार्य ब्यवहारिक हुने छ । भू-वर्गिकरणमा राज्य वा स्थानीय तहको हस्तक्षेपकारी वा ऐन नियमबमोजिमको अक्षरसः पालनाको अनिवार्यतातर्फ स्थानीय भूमिका हुन गयो भने त्यसले समाजमा सकारात्मक सन्देश दिन सक्ला भन्न कठिन छ ।

भू-वर्गिकरणको अनिवार्यताको अन्तिम पटकको सूचना जारी भएकोपनि डेढ महिना भन्दा बढी हुन लाग्यो । कतिपय स्थानिय तहहरु त ऐलेसम्म पनि मौनता मै छन । कतिपय केही औपचारिकतामा रहेको देखिन्छन । यसमा भएको ढिलाई वा व्दिविधाको मारमा अन्ततः स्थानीय तहहरु नै पर्ने छन । त्यसका कारणहरमा पहिलोः विभिन्न कोणबाट बढने जन असन्तोषको भार उनिहरुले नै खेप्नु पर्ने छ भने दोस्रोः राजश्व असुलीमा हुने तिब्र ओरालोको कारणले स्थानीय तहहरु चलायमान हुन कठीन हुनेछ ।

अब पनि सरकारी नीति र कार्यशैली दुबैकोणबाट कृषिमा ब्यापक अनुदानको बिश्वास जगाउन सकिएनभने, औधोगिक बिकासको सपना साकार हुने धरातल निर्माण हुन सकेन भने र  ब्यावसायिक उन्नतिको आशा जागाउन सकिएन भने कृषियोग्य जग्गा बेचेर ज्यान पाल्न र घरको दैनिक ब्यबहार धान्न बाध्य भइ भविष्यको हिरारुपी जमिनलाई पित्तलको भाउमा फाल्ने यात्रामा रहेका धेरे नागरिकहरु अझैपनि क्रमशः बाध्य हुदै जानेछन । किनकी धेरैका लागि भएको जमिनका केही टुक्राहरु बेच्नु नै बाँच्नुको एकमात्र आधार बन्दै गएको छ । यहिकारणले ब्यक्तिको जमिन जे जस्तो र जति भएपनि मानिसहरुको ध्यान आवासिय क्षेत्र मै बर्गिकरण गर्नेतिर जाने निश्चित प्रायः छ । जसबाट भू-उपयोग नीति, ऐन र नियमावलीको लक्षीत उद्देश्य पुरा हुन कठीन हुनेछ ।

ततकालका लागि सबै स्थानीय तहहरुले भू-उपयोगका लागि निजी वन सहितको ब्यक्तिको स्वामित्व एव भोगमा रहेका सबैप्रकारका भूमिको वर्गिकरणको बिषय सम्बन्धित जग्गाधनीहरुको स्वइच्छा मै राखेर स्वघोषणालाई नै अन्तिम रुप दिदै स्थानीय तहको नियन्त्रण रेखदेखमा रहेका वा रहने प्रकृतिका जङ्ल जमिन नदी सिमसार सार्वजनिक उपयोग तथा सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुका सम्बन्धमा छिटोभन्दा छिटो भू -वर्गिकरणको कार्य सम्पन्न गर्नुमा नै श्रेयकर हुनेछ ।

भू-वर्गिकरण कार्यकालागि सबै स्थानिय तहहरुले ‘’जग्गा वर्गिकरण तथा बिकास कार्यविधि’’ तर्जूमा गरी ऐन र नियमावलीको ब्यवस्थालाई लचिलो मानकद्वारा मापन गरी भू -वर्गिकरणको कार्यमा सम्बन्धित नागरिकहरुमा चेतना जगाउने कार्यमा सशक्त सहजीकरण अनिवार्य आवश्यकताको बिषय बनेको छ । कठीन छ । व्दिविधाजन्य पनि छ । तर जे जति गर्न सकिन्छ तर भू-वर्गिकरणको कार्य भविष्यका लागि मानक र मार्गदर्शक दुबै हुनेछ ।

यतिबेलासम्म पनि निजी वनमा रहेका साल, सिमल लगायत करिब एक दर्जन जति विभिन्न नाउ जात धारी रुखहरु सरकारी राजश्व तिरेर पनि सम्बन्धित रुखको धनी ब्यक्तिले आफ्नै प्रयोगमा पनि कटान  गर्नमा रहेको प्रतिवन्ध जारी छ । सरकारी वा सामुदायिक बनहरुमा लडेका रुखहरु कुहिएर सकिन्छन । उठाइदैन वा सरल र सहज तरिकाले उठाउन दिइदैन तर घर निर्माण र फर्निचरका काठहरु चाइना र मलेशियाबाट मगाइन्छ ? कृषि खेती गर,फलफूल खेती गर आदि भनिन्छ तर बिउपल, मल र बजार भाग्यवादमा आधारित अर्थात भगवान भरोसामा छ !!

निजी वनमा जे जे लगाउछौँ सबै तिम्रै । निजी वनबाट एक रुख काट तर दश रुख लगाउ । जे सक्दछौ उब्जाउ, बजारको जिम्मा हाम्रो भो…. ‘’भन्न सक्ने स्थानीय तहहरु दिउसै बत्तिबाले पनि भेटिदैनन । यतिवेला स्थानीय तहहरुको जनपरीक्षाको बिषय बनेको छ भू-वर्गिकरण । यसमा सहजता र सलीकरणको बिषय । जति सक्यो छिटो यो कार्य सम्पन्न हुनु सबै दृष्टिबाट  आवश्यक र महत्वपूर्ण छ ।

२०८२ भाद्र ०९                      प्यूठान ऐरावती १। हाल नरेफाँट काठमाण्डौ

 

Thursday, 21 August 2025

मानवताको कर्म, धर्म र मर्म

     छोरा जन्मदा मात्र दीयो बालेको देखेँ

      कतिले छोरीलाई गर्भमै फालेको पनि देखे

      जब बुढेसकालमा छोराले बा आमालाई

      बृद्द आश्रमतिर लैजान्छ

      तब छोरीले बा आमालाई लगेर पालेको पनि देखे

      

     जीनवमा के के देखे के के देखेँ ??

      केही मान्छेहरुले अँहकार पालेको देखेँ

     मान्छे तर मान्छेमा हुनुपर्ने प्रमुख गुण मानवता नै ढालेको देखे

      त्यसैले त मानवता जगाउनका लागि

      केही गीत लेखे, केही कविता लेखेँ

      अन्त नभएपनि तिनै गीत / कविताका शब्दहरुको मर्ममा

      मैले मानवताको कर्म, धर्म र मर्म देखेँ ।

एक मुक्तक/ एक कविता


१     प्रकृतिको सिर्जना हो मान्छे भन्ने जात

      बाबु आमा निमित्त हुन धरती हो साथ

      दुइदिनको चोला हो यो सधै रहने होइन

      सम्झि हेर सधै सधै नराख है मात ।

 

 


प्रेमिल गीत सबथोक दिन्छु

 

म ह्दयदेखिको माया दिन्छु,

म मनभरीको सदभाव दिन्छु

मलाई थाह छैन, तिमी के दिन्छयौ ?

तिमी जे जे दिन्छयौ, दुइहात थापेर लिन्छु,

अञ्जुलीभरी राखेर लिन्छुऽ

मुटुभरी राखेर साँच्ने गरी लिन्छु

अजम्बरी बनेर बाँच्ने गरी लिन्छु ।१।

म ओठँको हाँसो मात्र होइन,

मीठो मुस्कान दिन्छु

म केवल नजरको हेराइ होइन,

प्रेमिल नजरले हेरी दिन्छू

मलाई थाह छैन,........                 ।२।

म दुइ हात मात्र होइन,

 न्यानो अँगालो दिन्छु

म जीवनको गोरेटोमात्र होइन,

तिमीलाई जीवनको राजमार्ग दिन्छु

मलाई थाहा छैन………………                               ।३।

म जात, भात वा प्रेमिल मात मात्र होइन,

हर कठीनाइमा तिमीलाई साथ दिन्छु,

तिमी चाहन्छौ भने कुनै एक/आध थोक होइन

जीवन र जगतमा हुने सवथोक दिन्छु

जीवन र जगतमा हुने सवथोक दिन्छु

मलाई थाहा छैन, …………………………………।४।

२०७६ असौज ७ , प्यूठान      वीरगन्ज माइस्थान टोल            adrdhanbot@gmail.com


Tuesday, 19 August 2025

तीजः हिजो आज र भोलि

 

तीजः हिजो आज  र भोलि

                     डिल्लीराज आचार्य

 

तीज परिचयः

पौराणिक मान्यता अनुसार राजा हिमालयले छोरी पार्वतीको विवाह बिष्णुसंग गराउन खोज्दा पार्वतीलाई मन परेन। उनी शिवजीसंग विवाह गर्न चाहन्थिन । सखीहरुलाई भनिन । सखीहरुले उनलाई हरन गरेर जङ्गलमा लगे । त्यसपछि शिवजी पति पाउं भनी शिवलिङग खडा गरी निरन्तर जल चढाई, पानी पनि नखाई, प्रार्थना गरिन । लगातार १०७ वर्षसम्मको प्रार्थना (आराधना) पछि एकसय आठौं चरणमा शिवजी उत्पन्न भए र चिताएको पुगोस भन्ने वरदान दिए । वरदान प्राप्त गरेको दिन भाद्र शुक्ल तृतियाको दिन थियो।भनिन्छ, त्यही दिनलाई स्मरणगर्दै सखी खर्थात साथीहरुले हरित अर्थात हरण गरिएको स्मरण र शिवजीसंगको विवाहको अवसरको खुसीयालीका रुपमा हरितालिका (तीज) पर्व मान्न आरम्भ भएको हो ।

यो एकप्रकारको मिथक वा काल्पनिक कथ्य वा ऐतिहासिक सिर्जना नै सहि तीजले सामाजिक रौनकता र सांस्कृतिक एकता तथा सहअस्तित्वभावलाई प्रश्रय दिएको छ । यस अर्थमा यसको ऐतिहासिकता मात्र होइन, आधुनिक महत्वपनि छ ।

तीज पर्व कहिलेदेखि सुरु भयो ? ठयाक्कै मिति खुलेको छैन । मात्र पौराणिक कालदेखि सुरु भएको हो भन्ने भनाइ छ । नेपाली लेख्य भाषा १०३८ देखि आरम्भ भएको र तीज गीती कथ्य भाषा त्यो भन्दा धेरै पुरानो मानिएकोले तीजको ऐतिहासिकता अझ धेरै पुरानो मान्न सकिन्छ । नेपाल बाहेक भारत, श्रीलङ्का, भुटान र नेपालीहरु पुगेका विभिन्न देशहरुमा रहेका महिलाहरुले तीज पर्व मनाउने गरेका छन । तीजको अघिल्लो दिनको रात दुइतिहाइ अंध्यारो छदैसम्म मीठा परिकारहरु (दर) खाएर  भोलिपल्ट निर्जला अर्थात पानीपनि नखाइ निराहार ब्रत बस्ने, हरितालिकाको दिन शिव र पार्वतीको आराधना गर्ने, त्यसपछि क्रमशः गणेश चतुर्थी र गणेश पञ्चमीको पुजा गर्ने यस पर्वको मूख्य उद्देयः महिलाहरुले आफ्ना पतिको दीर्घायू सुस्वास्थ्य र सम्बृद्दिको शिवप्रार्थना हो भने अबिवाहिताहरुले असल पतिको लागि शिव पार्वतीसंगको याचना हो भन्ने बुझाई रहेको पाइन्छ । माइती पक्षले दिदी बहिनीहरुलाई मीठो खान्गी सहित सुन्दर वान्कीमा सजाउने बस्त्रादि द्वारा सम्झने तीज पर्वको अवसरलाई चेली र माइतीका बिचको सुसम्बन्ध र सहभावको निरन्तारको एक अर्को अवसर पनि मानिन्छ । पति प्रति पत्नीको अगाध श्रद्दाको अनुपम यस उदाहरणीय पर्वले पत्नी प्रति पतिको दायित्व र सहभावलाई पनि परोक्ष्य रुपमा अगाडि सारेको मान्न सकिन्छ। 

प्रार्थना र याचना साधनामा नारीहरुको उल्लेख्य क्षमताको एक नमूना बनेको छ तीजको व्रत । यो भन्दा पनि अझ कडा व्रत छ गौरा पर्व । विशेषतः सुदुरपश्चिममा मनाइने भाद्र कृष्ण  पक्षबाट सुरु हुने गौरा पर्व, जस्मा गौरा महेश्वरको आराधनाका लागि तीन दिनसम्म भरसक निर्जला र  नभए वा नसके निराहार रुपमा व्रत बस्ने  कडा सांस्कृतिक मान्यता रहेको झनै उल्लेख्य छ । 

महिला सशक्तिकरण, सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध सुदृढिकरण, अध्यात्मिक महत्व जागरण, स्वास्थ्य जागरण, सामाजिक एकता कायम र आर्थिक श्रीबृद्दीको याचनागत पक्षहरु यसका महत्वहरु हुन ।

तीज गीतः

तीज पर्वमा शिव पार्वतीको आराधनाका लागि, सुख दुःखका कथा र व्यथाहरु साटासाट गर्नका लागि र आपसी रमाइलोका लागि गाइने गीतहरुलाई तीजगीत भनिन्छ । तीजको शास्त्रीय मान्यता र भावसंग सम्बन्धित रहेका गीतहरु तीज गीत हुन भने तीजको बेला तीजको भाकामा वा भावमा गाइने अन्य समग्र गीतहरु तीजको बेला गाइने गीतहरु हुन । तीज गीत हुनका लागि शास्त्रीय मान्यता  र समाजिक मान्याता तथा सांस्कृतिक नैतिकता अनुकूलका शब्द, संगित र प्रस्तुतिको त्रिकोणात्मक संयोग मिलेको हुनुपर्छ । तीजको परम्परागत धारले- शिव पार्वतीको आराधना र महिलाको मनोवेदनाको प्रस्तुतियुक्त गीतलाई तीज गीतका रुपमा लिएको हुन्छ भने आधुनिक धारले- महिलाको वेदनाका अतिरिक्त सामाजिक जागरण र बिकृतिका विरुद्द आवाज उठाउने अवसरका रुपमा लिएको पाइन्छ । परम्पारगत रुपमा सर्वाधिक गाइने तीजी भाका भनेको वरिलै भाका नै हो । बि..२०४० सालतिर कन्यादन फिल्ममा समेत स्थान दिएको वरिलै भाकाको तीज गीत- ‘’तीजको रहर आयो वरिलै…..  भन्ने हो । यही भाकामा ‘’हाम्रा बाबैले छोरी दिन जानेननः वरिलै दाङ छोडी प्यूठान…. आदि धेरै तीजी गीत छन ।

आगनीको डिलमा बसी काली कौवा का काः के समाचार ल्यायो काली कौवैले……., यसप्रकारका शब्द र भाकाहरुमा लामो गरी आमा काकीहरुले गाएको सुनेको वाल्यकाललाई सम्झदा तीज आँगनमै आएजस्तो लाग्दछ यतिवेला पनि ।  ‘’ भातै र खाम्ला जेठो बुढो धानको, तरकारी खाम्ला गावै वरिलै । भेटन आए मामा, लिन आए दाजै, बिर्साइ दिए आमै वरिलै (गायिका/संकलकः हरिदेवी कोइराला) “ ‘’दैला मुनि अम्बा पाक्यो, डाली नुहाइ खाम्ला वरिलैः हामरा दाजै लिन पो आए, ढलकी ढलकी जाम्ला वरिलै (गायिकाःप्रीति कौल)आदि यसका उदाहरणहरु हुन ।

 ‘’उहिल्यै उहिल्यै एकसुकामा, घिउ किनिन्थ्यो छ मानाहेर्दा हेर्दै के आए यस्तो जमाना परम्परागत तीजी गीतको अर्को उदाहरण हो । ऐतिहासिक यथार्थता जाहेर गरेका छनः ‘’बोल्न पनि डराउथें उ बेलाका बुहारीःऐले त सासु संगै खेल्छन जुहारी’’ जस्ता गीतहरुले ।

केही अतिपरम्पारवादी लागेपनि मार्मिक छन परम्पारवादी तीजी गीतहरु र केही उच्छृंलतालाई छोडेर भन्ने होभने सिर्जनात्मक र समाबेशी छन आधुनिक केही तीजी भाकाका गीतहरु पनि । हिजोआज तीजको सम्झना मुक्तकमा, रोइलोमा, टुक्कमा, सायरिमा, गजलमा,हुदै हुदै दोहोरी र पप गीत सङ्गीतमा पनि ढाल्ने वा जबरजस्ती रुपमा हाल्ने प्रयासहरु भइरहेको देखिन्छ ।  तीजलाई हरेक कोणबाट सम्झिनु अलग कुरा हो तर तीजलाई बिकृत बनाउने गरी तीजी भाकामा दोहोरी चलाउने वा पप गीतसंगीतहरुभित्र गलाउने कार्यलाई भने सकारात्मक प्रयास वा कदम मान्न नसिकएला । तीजको परम्परागत मान्यता र धारलाई बिकृत आधुनिकताले खानै लागेको छ ।

बिकृत आधुनिकता

तीज पर्वको ऐतिहासिकता र धार्मिकता क्रमशः हराउदै गएकोमा ज्येष्ठ नागरिक एवं संस्कृतिविदहरु चिन्तित हुदै गएका छन । खास गरी मौलिकता हराउदै गएको,  टिकटमा तीज कार्यक्रम चल्ने गरेका, महिनौसम्म तीज कार्यक्रम चलिरहेका तथा भडकिलो तीज कार्यक्रम प्रति विशेष चिन्ता रहेको पाइन्छ । परम्परागत तीजी गीत एककोहोरी लयका हुन्छन तर आधुनिकतामा नाउमा तीज भाकामा दोहोरीहरु चलेका छन । ‘’श्रीसम्पत्ति यीनलाई होः तीन नंबरकी परिन, कति दिनलाई हो’(शर्मिला गुरुङ्ग र राजु परियार समेतको), बजेन किन तीजकै मादल खरि झरयोकिः ….. मात चढ्यो कि’’? (प्रीती आले आदि), । सोचेँ झै जिन्दगी रैनछ, चिटिक्कै भाछुं रे, हामी पनि नाच्नु पर्छ बिचबिचमा जस्ता आधुनिक तीजीभाकाका गीतहरुले झण्डै दुइकरोडदेखि डेढकरोड सम्मका भ्यूअरहरु पाएको पक्षलाई स्मरण गरौ वा गत साउन २७ गते एकैदिन विभिन्न ११ वटा तीजी गीतका एलबमहरु राष्ट्रिय सांस्कृतिक प्रतिष्ठानको सभाहलमा बिमोचित भएका सन्दर्भहरुलाई स्मरण गरौं ।

बाउ छोरी वा दिदीभाइ संगै बसेर सुन्न नसक्ने खालका प्रेमको रासलिला वा यौनक्रिडाका शब्दहरु मिश्रित छाडा र उच्छृङ्खल गीतहरु तीजी गीती भाकामै भएपनि वा गाइएपनि तिनीहरुलाई तीजी गीत मान्न मिल्दैन । ती त तीजमा गाइने बिकृत गीतहरु हुन । यसलाई जनस्तरबाट हतोत्साहन र राष्ट्रिय सांस्कृतिक प्रतिष्ठान तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान आदिका माध्यमबाट नियमन र शुद्दिकरण जरुरी छ । समाजका हरेक संगठन वा संस्थाले परम्पारगत, नैतिक मूल्य मान्यतालाई जगेर्ना गर्ने संस्कृतिक मान्यतासहितका तीजी भाकाका गीतहरुलाई प्रोत्साहन दिने गरी तीजी गीत प्रतियोगिताहरु सञ्चालन गरेर र समाजका प्रबुद्द व्यक्तिहरुले यसको शुद्दिकरणको पक्षमा घर, बलेसी र चौबाटोमा चर्चा र परिचर्चा गरेका यसमा शुद्दिकरण ल्याउन जरुरी छ । अनावश्यक खर्च कटौती, चेतनामूलक गीति यात्रा, मौलिकताको श्रीबृद्दि सहित सार्वजनिक स्थलको व्यवस्थापन जोड आदि तीज संस्कृतिको सम्बर्धन र प्रबर्धनका कदमहरु हुन सक्दछन ।

केहि बिकृतिहरु बढेको र खर्चको भार धान्न नसक्ने गरी चढेको पक्षलाई बिर्सनेहोभने तीज गीती यात्राले गति दिएको शब्द सिर्जानात्मक कौशलता, समाजमा बढाएको सकारात्मकता रौनकता  र समाबेशीता भने खुसी लाग्दो नै छ ।

तीजको भाका र संस्कृतिलाई बचाउनका लागि छाडा प्रकृतिका शब्द र भावहरु रहेका तीजी भाकाका गीतहरु राष्ट्रिय सास्कृतिक प्रतिष्ठान वा अन्य कुनै उपयुक्त निकायबाट नियमन र व्यवस्थापन भएन भने तीज,मेलोडी, पप, डिस्को आदिको छायाँमा पर्ने छ । किनकी मेलोडी, पप, डिस्को आदि आधुनिक सांस्कृतिक पक्ष र कदमहरु प्रतिको विशेषतः युवाहरुको झुकाव क्रमशः बढिरहेको छ । नवयुवतीहरुलाई तीजी स्वपनप्रति तान्नका लागि तीजी संस्कृतिको बचाउन, परिमार्जन र सुव्यवस्थापनमा संगठीत रुपमा प्रयास हुन ढिला भइसकेको छ ।

कालजयी भाका हो तीजी भाका। विशेषगरी ‘’वरिलै’’ भन्ने र करिब करिब सर्वस्विकार्य भाव रहेको हुन्छ तीज गीतमा भन्ने वास्तविकता र महत्वलाई बुझिएनभने तीज संस्कृतिको सर्वस्वाहा हुन बेरलाग्ने छैन । यो कुनै भविष्यवाणी होइन, एकप्रकारको चिन्ता र सकारात्मक खबरदारी मात्र हो ।

सूचना प्रविधिको बिकास र प्रयोगमा देखिएको बढोत्तरीले क्रमशः तिजे गीतहरुपनि सूचना प्रविधिमय हुदै गएकाछन । सुरिलो भाकामा कोकिलकण्ठे श्वरले गाउने र कम्मर भाँचेर छमछमी नाँच्ने दिनहरु क्रमश सकिदै गएका छन । अर्कोतर्फ तीजको दर ठूला पाँच तारे होटल तिर गइरहेको छ । हराउदैछन , भदौरे तामा र खाजा अर्थात बास्ना आउने ताजा घिउहालेका पुवाहरु । सिँउदोमा गुरधौरी फुल सिउरिनेहरु देखिन छाड्दैछन। घलेकहरु जनजातिका साँस्कृतिक पर्वहरुमा लगाउने शोभाको बस्त्र बन्दैछन। समग्रमा तीजको मौलिकता हराउदै गएको छ भन्ने चिन्ता मात्र हो र यसको जगेर्नाका लागि प्रोत्साहनमय विविध कार्यक्रमहरु जरुरी छ भन्नेपनि हो । 

यसपालिको तीजसंगै अबका दिनमा जीवनवादी तीजी गीत र श्रमजीवी जागरण सहितको संगितको पायनका साथ आइदिउन गाइदिउन  र सबैमा अपनत्व जगाइदिउन भन्ने मनोचाहनासहित सबै आमा, दिदी, बहिनीहरुमा हरितालिका (तीज) २०८२ को मङ्गलमय शुभकामना ।

                                                                                                                                             

२०८२ भाद्र                                              प्यूठान ऐरावती-१ धन्वोट