Tuesday, 28 October 2025

ब्यङ्गय कविताः पुस्तान्तरणको प्रतिबद्दता

  सबै भन्छन                                                                           

आजको समय

पुस्तान्तरणको समय हो

पुस्ताहस्तान्तरणको समय हो,

पहिलो पुस्ताले बिश्राम दिने

दोस्रो पुस्ताले जिम्मेवारी लिने

तेस्रो पुस्ता प्रशिक्षित बन्दै जाने !

सबै सबै क्षेत्रको आवश्यकता हो रे यो !!

शनैः शनैः पहिलो पुस्तातिर ढल्किरहेको मेरो मन

कसरी जानोस यो पुस्तान्तरणको खेल ?

कसरी मानोस यो पुस्ताहस्तान्तरको मेल ?

अरुले समाएर हिडन सक्ने भएसम्म

अरुले लेखेर दिएको देख्न सक्ने भएसम्म

अर्थात सास रहेसम्म युवा नै हुन चाहने

म भित्रको युवापन

सत्तरी लाग्नै लाग्दापनि युवास्थामै रहेको मान्दछ

आर्यघाट वा कुनै घाट नपुगेसम्म

पद र शक्तिमै रहन चाहन्छ

किनकि मेरो मनले बुढयौली जान्दैन

मात्र युवापन जान्दछ

आफूजस्तो सबल र सक्षम कोही छैन भन्ने ठान्दछ

र सकेसम्म अरु शक्तिमा नआउन भन्ने मान्दछ

मलाई यो पुस्तान्तरण मनै पर्दैन

त्यसैले मेरो मनले पुस्ताहन्तान्तरण गर्दै गर्दैन

अर्थात सास रहेसम्म आश राखिरहन्छ

थला परुँ

तर पद र शक्तिको आशक्तिपन जागिरहन्छ

किनकि ज्यान बुढो भएर नहुने रैछ

मन बुढो हुन पर्दो रहेछ

तर बिडम्बना मन बुढो हुन

म भित्रको म नै मर्नुपर्ने रहेछ 

त्यसैले म प्रतिबद्द छुँ

जतिवेला म मर्छु

बसत्यतिवेला अवश्य

पुस्तान्तरण गर्छु

युवाहरु होढुक्क भएर बस

म जतिवेला मर्छु

बसत्यतिवेला शक्ति र अधिकारलाई

अवश्य पुस्ताहस्तान्तरण गर्छु

मानमेरो कस्सम गर्छु

तिम्रो कस्सम गर्छु

किनकि म अजम्बरी छैन

अवश्य एकदिन मर्छु

यो सार्वजनिक उद्घोष मेरो

भनिसकेँ नि,

युवाहरु होचिन्ता नगर,

मरेपछि पुस्ताहस्तान्तरण गर्छु

किनकि ज्यूँदो र जाग्दो हुदासम्म

त्याग र समर्पण गर्न नसक्ने असँख्यहरुमा

मपनि एक महानको महान मै पर्छु ।

                                           २०७७ फागुन २६                                                     राजबिराज

No comments:

Post a Comment