Tuesday, 28 October 2025

थुइक्क म ! (ब्यङ्ग्यात्मक कविता)

 


शान्ति, न्याय र समानता

बिकास, समुन्नति र वैभवता

खोज्दै हरेक दश दश वर्षमा

क्रान्ति वा विविध खाले बिद्रोह

गरिरहने एक नेपाली म,

विद्रोहको लामो इतिहासमा

समाजिक,

आर्थिक,

राजनीतिक,

साँस्कृतिक,

नैतिक,

कुनैपनि दृष्टिबाट

रुपान्तरित हुन नसकेको

एक नेपाली म,

बर्षौदेखि

पुनःमुसिको भवः मा डुबेको छुँ

घुमिफिरी रुम्जाटार नै पुगेको छुँ

हुने खाने र हुदा खानेको खाडल

तन्किदै गएको

राष्ट्रियता खुम्चाउदै गएको

बन्धक सरह देश बनाउदै गएको

एउटा हुतिहारा नेपाली म,

लाजै नमानी,

अरु अरुले उचाल्दछन

हरेक दश दश वर्षमा म उफ्रन्छु

ठाउ कुठाउँ

इन्कलाब वा जिन्दावाद भन्दै डुक्रन्छु

अरु अरुले तान्छन,

म नराम्ररी पछारिन्छु,

सारमा रित्तो र खाली,

केवल विद्रोह,

केवल क्रान्ति,

हजार पाली,

सारमा रित्तो र खाली ?

केवल विद्रोह,

केवल क्रान्ति

हजार पाली,

उपलब्धि प्रायःखाली.

थुइङ्क् म! थुइक्क म!!थुइक्क म !!!

 

२०८२।०६।२५                                            ऐरावती १ धनवोट । प्यूठान

 

 

No comments:

Post a Comment