Tuesday, 28 October 2025

रुपान्तरणको अनिवार्य क्षेत्रः राजनीती

 


असंगठित रुपमै र छरिएर रहेका विभिन्न ब्यक्तिपरक नेतृत्वहरुमै भएपनि नवयुवा (जेनजी)हरुको आन्दोलनले ओदे (ओली-देउवा) सरकारको तख्दा पल्टाइदियो । ततकाल सरकारमा रहेका ने..पा. एमाले र नेपाली काँग्रेस नै समग्रमा सरकारकै पक्षमा नभएको र गुटगत राजनीति हाबी भएको जगजाहेरै पक्षलाई स्मरण गर्ने होभने ओदे सरकार भनेर रुखो शब्द प्रयोग गरेकोमा प्रिय पाठकहरुलाई धेरै निधार खुम्च्याउनु नपर्ला । भित्री यथार्थतामा समग्र एमालेको पनि सरकार थिएन र काँग्रेसको पनि । नेपाल सरकार  भन्नका लागि त चरित्र नै त्यस्तो थिएन । ओली र देउवा गुटको जस्तो भएकाले ‌अधिक जनको जिब्रोमा ओदे सरकार भन्ने थियो र यँहा पनि त्यही भावमा लिइएको हो । 

बहुलवादी समाजमा दलहरुभित्र बिचारको स्वतन्त्रता र स्वस्थ्य दुइलाइन संघर्षको वातावरणको अभाव भयोभने गुटगत बिचार हाबी हुन्छ । यो बहुदलीय व्यवस्थाको असफलताको मुख्य अवगुण मध्येको एक हो । सिदान्त र व्यवहारलाई ब्यक्तिवादी दम्म र चरित्रले खाइदिएपछि त्यँहा संगठनात्मक पद्दति भन्ने केही बाँकी रहदैन । सत्ताको मादमा रहेको व्यक्तिवादी झुण्डले सत्ताको शक्ति बाहेक केही देख्दैन । उसको नजरमा सबै भुसुना हुन्छन र आफूहरु सधै हात्ती भइरहेको भान हुन्छ । भित्रभित्र कुहिदै गएको हुन्छ तर बोक्रो छामेर सबल नै रहेको आभासका साज दङग परेको हुन्छ । बिचार र संगठनात्मक क्रियाकलामा फरक बिचार वा फरक धारलाई पूर्ण निषेध गर्नु (गराउनु) उसको चरित्र नै बनिसकेको हुन्छ । बिचार अनुसारको संगठनात्मक पद्दतिमा भर र विश्वास हैन, नातावाद कृपावाद हुदै कोठरीमय हुन पुगेको हुन्छ ।

अर्को शब्दमा बहुलवाद भनेको सबैकिसिमका बिचारहरु फुल्ने र फल्ने बहु बिचारको फूलवारी हो । यसलाई बिचारको सप्तरङ्गी बगैँचापनि भन्न सकिन्छ । तर जतिबेला यसको सप्तरङ्गी रुप कोठरीवादको कालोधब्बाले बिरुप हुन पुग्दछ । त्यतिवेला बिचारको फूलवारी काडाँघारीमा परिणत भइसकेको हुन्छ ।

समकालीन नेपालमा दलतन्त्रले बहुदलयी सप्तरङ्गिभित्र काँढाघारीको बिकास गर्न पुग्यो । स्वतन्त्र बिचार होइन, तन्त्र हाबी हुन थाल्यो । शिक्षा, स्वास्थ्य, खाध्य सहितका सबै आहार बिहार र व्यवहारका क्षेत्रहरु दलीय तन्त्रमा परिणत भए । सत्तारुढ दलको सदस्य बाहेक अरु सबै राज्यका अवसरहरुबाट बन्चित हुने क्रम तिब्र भयो । जनतामुखी हुनुपर्ने बहुदलीय पद्दति कार्यकर्तामुखी हुदै, केही पहिलेदेखि त भुरेटाकुरे नेतामुखि मात्र बनेर, सिमित हुन पुग्यो । चुनावका बेला मात्र जनता अरु बेला अन्त ! चुनावका बेला मात्र जनता, अरुबेला लखनेको जन्त !! 

सबै नीतिहरुको माउ नीति राजनीति, हिजो आज कुरा गर्न वा सकारात्मक भाव वा लगावका साथ केही लेख्न पनि लाज हुने (लाजनीति) हुन पुगेको छ । बिचारविहिन मान्छे नै हुदैन भनिने तर बिचारबाट स्खलित भयोभनेपनि मान्छे नहुने ?! राजनीतिमा लाग र सकेसम्म धाक जमाउ, जसरीपनि कमाउ र रमाउ राजनीतिक यात्राको गन्तब्य बन्न पुगेपछि राजनीति असफल नभएर अरु के हुने हो त ? समकालिन नेपालमा त्यही भइरहेको छ । बरु बरु ….भन्ने मानिसहरुको सँख्या बढिरहेको छ ।

‘’बिचारविहिन मान्छे हुन्न भकारीको भूस, मान्छेबाट गिरेपछि मान्छे खान्छ घूस’’ । कवि केवलपुरे किसानले कुनैबेला लेखेका थिए यसरी । हिजोआज बिचारपनि नहुने र भएपनि बिचार अनुसारको ब्यवहार नहुने, अनि घूस बिना कामै नहुने घूस्याहा संस्कृतिको थालनी र बिकास गर्नेमा को भनियो भने ? कर्मचारीतन्त्र र राजनीति ! ठूला कर्मचारीलाई शक्तिमा रहन राजनीतिकै वरिपरि हुनुपर्ने, राजनीतिले ठूला कर्मचारीको कलमका माध्यमबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गर्नुपर्ने । अनि  मिलेन त रयाङ्को ठ्याङ्ग !? लोभ्याउने र सिकाउने ठूला कर्मचारी र सुरयाउने र कुम्ल्याउने केही ठूला राजनीतिज्ञहरु !

राजनीति राज्य सञ्चालनको मूल नीति भएको हुनाले र राजनीति कै असफलता र राजनीतिज्ञहरुकै असक्षमताले मुलुकी अवस्था दयनीय हुन पुगेकोले सुधार होइन कि आमूल परिवर्तन अर्थात रुपान्तरण हुनुपर्ने पहिलो क्षेत्र भनेको यही अर्थात राजनीति बनेको छ । रुपान्तरण राजनीतिक बिचार, कार्यपद्दति र ब्यवहार मै हो ।

यसकालागि पहिलोतः चुनावका बेला चौवन्नी सदस्य बाँडेर कार्यकता यति र उति भन्ने नीती नै गलत छ । दलीय कार्यकर्ता र शुभचिन्तक फरक हुनुपर्छ । कार्यकर्ता दीर्घकालीक र सिमित तथा शुभचिन्तक कार्यक्रमिक र आवधिक हुनुपर्छ । हरेक दलका दलीय सदस्यहरुको नामावली  निर्बाचन आयोगको स्थानीय कार्यालयमा दर्ता हुनुपर्ने र दलीय सदस्यता त्याग वा परिवर्तन गर्दा निर्बाचन आयोगमा रहेको अभिलेख मै परिवर्तन गर्नुपर्ने व्यवस्था गर्नु जरुरी छ । यसो गरियोभने एकब्यक्ति अनेक दलको सदस्यताको रोगदेखि ठूला पदमा नियुक्तिका लागि दलीय सदस्यता र ठूलो रकमको चन्दाको बेथिति अन्त्य हुनेछ । यसैगरी एक दलत्याग गरी अर्कोमा जान त पाइने तर गइसकेपछि कम्तिमा दल परिवर्तन वा प्रबेशको मितिले २ वर्ष सम्म नयाँ दलमा कार्यकारी सदस्य हुन निषेध गर्ने विधान हुनु जरुरी छ । अन्यथा चुनावै पिच्छे दल फेर्दै मतदाता हेर्दै गाँउघर घुम्ने नकचरा (नकचरी)हरुको सँख्या झनै बढ्ने छ ।

राजनीति रुपमान्तरणको अर्को उपाय भनेको राजनीतिक पदहरुलाई पूर्ण सेवामुखी बनाउनुपनि हो । वडा सदस्यसम्मले तलव र अन्य सुविधा खान पाउने हाम्रो जस्तो जागिरे राजनीतिले देश उभो लाग्दछ ? कदापी लाग्दैन । बढीमा तोकिएको यातायात खर्च र खाजा खर्च बाहेक अरु केहि पनि नपाउने गरी नीतिगत रुपमै ब्यवस्थित गरिएन भने नेपालको राजनीतिमा झनै व्यवसायिक र बिरुप बन्दै जाने छ ।   

राजनीति र राजनीतिज्ञलाई श्रमसंस्कृतिसँग अनिवार्य आबद्दता समकालिन तेस्रो आवश्यकता हो । राजनीति गर्नुभनेको चौबिसै घण्टा राजनीति भन्ने होइन र हुनु हुदैन । कुनै निश्चित पेशा बिना राजनीतिक आबद्दतापनि बिधानतः निषेधित हुनु (गरिनु) पर्छ । आवश्यक परेका बेला राजनीति काममा अरुवेला ब्यक्तिगत पेशा वा ब्यवसायमा । बिना श्रम को राजनीतिक सम्बद्दता ठगी खाने र बसीखाने संस्कृतिको परिचायक हो भन्ने बुझाइका साथ श्रमसंस्कृतिमा अनिवार्य आवद्दता अबको राजनीतिक संस्कार हुनुपर्छ । अमेरिकी राष्ट्रपति बारक ओवामाले डिपार्टमेन्टमा काम गरेको र बेलायती प्रधानमन्त्री ऋतिक सुनकले माइक्रोसफ्टमा रिसर्च मेनेजर भएर खान्गी जोहो गरेका जस्ता पक्षमा यहाका राजनीतिज्ञहरुको ध्यान जानु र लानु जरुरी छ ।

नाताबाद र कृपावादको हाबी यतिबेलाको अर्को राजनीतिक बिरुपताको कारण हो । सचिवालयमा जुवाईँ, साला-साली भतिजा-भतिजिदेखि ठाँउ ठाँउका जागिरहरुमा पनि भएसम्म नातावादका आधारमा, नभए कृपावादबाट । कृपावादको आधार पनि खल्तीवाद बाट ? यसरी भइरहेको छ, कुराजनीतिक अपसंस्कृतिमा बिरुपको पनि महाविरुप ! यसमा पनि रुपमान्तरण जरुरी भइसकेको छ । 

सत्ताको कुर्सिमा जाने, मनपरि गरेर कालोधन आर्जन गर्ने, अनि त्यही कालोधन खर्चेर नमरुन्जेल त्यही सत्ताके वरिपरि बस्ने ? गजबको कुलँघारी राजनीतिक अपसंस्कृतिमा डुब्यो नेपालको अधिक राजनीति । कुनैपनि तहको कुनैपनि पदमा बढीमा २ पटक मात्र र हरेक तहको समग्र कार्यकारीणीमा कम्तिमा २५ प्रतिशत नवयुवाहरु सहित समग्र समाबेशिताको नीति बिना रुपान्तरिण हुनै नसक्ने अवस्थमा पुगीसकेको छ ।

पारदर्शिकता लोकतन्त्र माथि जनताको विश्वासको संजिवनी हो । अन्तरराजनीतिक नियुक्तिहरु देखि राजकिय नियुक्तिहरु सबैमा अमुक ब्यक्तिको नियुक्तिको आधार सार्वजनिक गरिनु जरुरी भइसकेको छ । अन्यथा नक्कली प्रमाणपत्र राखेर भित्र भित्र आवश्यक योग्यता र अनुभव बिना पनि शक्तिको कलम चलाउन पुग्नेहरुको रजाँइ जारी रहनेछ । हरेक तहका सार्वजनिक पदाधिकारीहरु र राजनीतिक पदाधिकारीहरु दुबैले हरेक दुइ दुइ बर्षमा स्थानिय स्तरमा सम्पत्ति सार्वनजिक करण गर्ने नीति ल्याउँ त ? कसरी हुन्छ भ्रष्ट्राचार र भइहालेपनि कहा लगेर लुकाउछ कालो धन ? सुरुङ खनेर वा पानी टायङकीमा अर्को तह बनाएर राखे जसरी अनेक उपाय निकाले मात्रै हो ! त्यहीपनि कतिदिनका लागि र कसका लागि ? मरेपछिपनि पनि भ्रष्ट्राचारी कालो नाउको दागधारी बन्नुपर्ने ।

धेरै कोणहरुबाट गर्न सकिन्छ राजनीतिक रुपमान्तरण । राजनीतिक रुपान्तरण बिना सामाजिक आर्थिक, साँस्कृतिक सबै क्षेत्रमा रुपमान्तरण दीगो हुन सक्दैन । किनकी सबै नीतिहरुको मूल नीति राजनीति नै हो । मूल फोहोरिएपछि कुला वा पाइपहरुको पानी फोहोर हुनु स्वभाविक नै हो । मूल सफा गर्न सबै जुरुक्क उठेर आत्मदानयुक्त श्रमदान गर्नु जरुरी छ ।

२०८२ आश्विन २५                                 प्यूठान ऐरावती १ धनवोट

No comments:

Post a Comment