जन्मनु, खानु,लाउनु
र मर्नु मात्र मनुष्यको जुनी होइन । यस्तो मात्र भयोभने मनुष्यको जुनिको सार्थकता मानिदैन । सुकर्महरु सहितको जुनी उत्तम र
स्मरणीय तथा प्रसँशनीय जुनी (जीवनी)
हुन जान्छ । अमरत्व प्राप्तका लागि देशभक्तिका साथ वलिदानी, राष्ट्रिय
गौरवता बढाउने गरी अन्तराष्ट्रिय जगतमा खास खास काम र सुनाम, अनि
स्वदेशमै पनि आफ्नो बिधागत वा कर्मगत क्षेत्रमा सबैभन्दा अब्बल देखिने प्रभावशाली
काममध्ये कुनै एकको आवश्यकता पर्दछ । कार्यक्षेत्रको सुकामले संसारको छानो छुन
नसकेपनि कम्तिमा देशभित्र सुनाम राख्न सक्नुलाई सर्वोत्तम मानव जिन्दगीका रुपमा
लिनुपर्ने हुन्छ ।
शुभ एवं उल्लेखनीय न्यायिक कार्यसम्पादनका माध्यमबाट अनेक ब्यक्तित्वहरुका बिचमा आफ्नो नामलाई
सुनाममय बनाउने न्यायिक कर्मक्षेत्रको आजसम्मको प्रभावशाली ब्यक्तित्व भनेर कस्को
नाउँ लिन सकिन्छ भनियोभने, त्यो नाउँ अमेरिकी प्रधान
न्यायाधीश जोन मार्शल भनेर प्रायः धेरैको अन्तरमनदेखिको बोलीबाट आउने निश्चित
प्रायः छ । खासगरी स्वतन्त्र न्यायपालिका रहने पूँजिवादी लोकतान्त्रिक समाजवादी
देशहरुमा । साम्यवादी दर्शनमा आधारित देशको न्यायपालिकाको मान्यता,
राजकीय स्थान र प्रभाव जोन
मार्शलीय धार तथा कर्मआधार भन्दा फरक रहेको हुन्छ ।
बि स २०३५
सालको एस एल सी पछि कानूनमा उच्च शिक्षा लिने उद्देश्यले नेपाल ल क्याम्पसमा
प्रविणता प्रमाणपत्र (आइ एल)को
बिध्यार्थी हुदा सुन्न पाइयो, आजभन्दा जन्मका हिसाबले २५० वर्ष र
मृत्युका हिसाबले १९० वर्ष
अगाडिका अमेरिकी प्रधान न्यायाधीशको जोन मार्शलको नाउ । त्यतिवेल स्नातक तहमा
अध्ययन गर्दै गरेका (पछि कानून सचिवबाट अवकाश
प्राप्त) मोहन बन्जाडेले २०३९
सालतिर लेखेको ‘’स्वतन्त्र न्यायपालिकाका पहरेदारः जोन मार्शल”’ शिर्षकको लेख नेपाल कानून
परिचर्चा (नेपाल ल क्याम्पस प्रकाशक)
मा प्रकाशित भएपछि अध्ययन गर्दा झनै बढी जानकारी हुन आयो । त्यो लेख प्रकाशनपछि
उनका केही संगसाथीहरु उनलाई ‘’ए जोन मार्शल’’ वा
‘’ए मार्शल’’ भन्ने शब्दहरुबाट जिस्काएको दृश्य ऐलेपनि मानसपटलमा
ताजै रहिरहेको छ ।
आफू स्वयं नेपाल वाणी साप्ताहिकमा साप्ताहिक रुपमा समय
सन्दर्भ स्तम्भ लेखनको यात्रारम्भी र सिर्जनात्मकताको प्रँशसक भएर होला,
त्यो लेख प्रकाशनपछि उनलाई देख्दा जोन मार्शलकै
तस्वीरको सम्झना आउन थाल्यो । संयोग उनी नायब सुब्बाका रुपमा काठमाण्डौ जिल्ला
अदालत डिल्लीबजार (चारखाल)
मा सेवारत रहेको मौकामा डिठ्ठाको नियुक्ति लिएर म पनि त्यही पुगेँ । केही समय मुद्दा दर्ता शाखामा र
पछि मध्यमान्चल क्षेत्रीय अदालतमा इजलास सहायकका रुपमा उनीसँगै एउटै इजलासमा काम
गर्ने अवसर मिल्यो । त्यसपछिका समयहरु नँया नयाँ सिर्जना यात्राका पारखी र स्वतन्त्र
न्यायपालिकाको प्रभावकारी न्यायका हिमायती रुपमा बितिरहेका छन ।
साहित्य सिर्जना खासगरी कानून र न्यायको बिषयमा जँहा जोसुकै
मानिसले गरेको किन नहोस उल्लेखनीय काम गरेको भन्ने लाग्योभने,
त्यसको बारेमा गुनगान गर्न आतुर हुने स्रष्टाहरुका उत्प्रेरक, पूर्व
कायममुकाय मुख्य न्ययाधीश प्रिय मित्र शेषराज सिवाकोटीले
जोन मार्शलका बारेमा केही लेख्न आग्रह गर्दा झट्ट सम्झना आयो,
उनै मोहन बन्जाडे र उनले लेखेको माथि उल्लिखित शिर्षकको आलेख । विषय सन्दर्भलाई साझेदारी गरे शेषराज सिवाकोटीसँग । नभन्दै न्याय
भाग ३३ र ३७ गरी दुई अङ्कमा प्रकाशित भएछन विश्व बिख्यात न्यायमूर्ति अमेरिकी
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन मार्शल स्मृति अँकका रुपमा । उल्लिखित
अँकहरुको अध्ययन संगै उनका बारेमा केही लेख्ने आग्रहका एकैसमयमा साथ हात परे दुबै
अँकहरु । सरसर्ती अध्ययन गरेँ ।
अङ्क ३३ मा अधिवक्ता कमल इटनी, नेपाल
सरकारका सचिव श्यामकुमार भट्टराई, सर्वोच्च अदालतका पूर्व
न्यायाधीश हरगोबिन्दप्रसाद सिँह,कानूनका उप प्राध्यापक अमृत
खरेल, अधिवक्ता रामकृष्ण काफ्ले, के
यु का प्राध्यापक प्रज्वलराज ज्ञवाली,अधिवक्ता राजेश काफ्ले र
पत्रकार रोशन घिमिरेका कलमहरु रहेछन । दोस्रो अर्थात ३७ औँ अङ्कमा नेपाल सरकारका
पूर्व सचिव मोहन बन्जाडे,पूर्व मुख्य न्यायाधीश
हरिकुमार पोखरेल, राष्ट्रिय न्यायिक
प्रतिष्ठानका निर्देशक श्रीकृष्ण मुल्मी. जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, सर्वोच्च
अदालतका पूर्व न्यायाधीश अरबिन्दनाथ आचार्य, पूर्व प्रहरी वरिष्ठ
उपरीक्षक प्रदीपकुमार श्रेष्ठ र साहित्यकार गोबिन्द गिरि प्रेरणाका श्रद्दा र
स्मरणका शब्दहरु रहेछन । ज्ञाता, चिन्तक,
अनुसन्धानकर्ता एवं
स्वतन्त्र न्यायपालिकाका पक्षधर मनहरुबाट निस्केका शब्दहरु अध्ययन गर्दै जादाँ
अन्तरहृलय नै प्रफुल्लित हुन पुग्यो ।
जोन मार्शल आजका हुन र ? २४ सेप्टेम्बर १७५५ मा
अमेरिकाको भर्जिनियामा जन्मेर अमेरिकी आर्मिमा क्याप्टेन सम्मको दर्जाका सेवक,
फेड्रलिष्ट पार्टिका सदस्य, हाउस अफ डेलिगेटस,
भर्जिनियाका निर्बाचित सदस्य, , राष्ट्रपति जोन एडम्सका सचिवका
रुपमा पनि सेवा गरेका ब्यक्ति हुन । त्यसका साथै रिचमण्ड सहरको वकील, डेपुटीजज
एडभोकेट, फ्रान्सका लागि अमेरिकी राजदूत र राष्ट्रपति जोन
एडम्सकै कार्यकालका गृहमन्त्री समेत भएर काम गरे ।
त्यतिमै सिमित रहेन उनको कर्मक्षेत्रको यात्रा । राष्ट्रपति
जोन एडम्सबाट सन १८०१ को नोभेम्बर १ मा अमेरिकी सर्वोच्च अदालतको चौथो प्रधान न्यायाधीशमा नियुक्त भइ ३४ वर्ष सम्म सेवा गरे ।सन् १८३१ मा
मृगौला रोगी भएपछि क्रमशः अशक्त बन्दै गएका उनी श्रीमतीको मृत्युपछि झनै थला परे र
अन्ततः सन् १८३५ को जुलाई ६ का दिन अमेरिकी माटोमा श्रीमती रहेकै स्थान नजिक
समाधिस्थ गरिए ।
यत्तिमात्रै उल्लेखनले उनी प्रतिको बुझाई वा सम्मान वा
स्मरण पुरा त के सङ्केतात्मक आँशिक पनि हुन सक्दैन । बहुआयामिक योगदानका सुपात्र
हुन उनी भन्ने माथि उल्लिखित उनको कर्मयात्राका विविध क्षेत्रका नामले नै
बताइरहेको छ । सबैभन्दा उल्लेखनीय योगदान उनको न्यायिक योगदान नै हो । एकछिन सम्झौ
उनको न्यायिक योगदानलाईः।
लिखित संविधान भएको मुलुकमा संविधानको रक्षक र
शक्तिसन्तुलनको उलघोषक त्यहाँको सर्वोच्च अदालत हुन्छ । अमेरिकामा निर्बाचित
कार्यकारी राष्ट्रपति रहेका र संविधानले राष्ट्रपतिलाई मन्त्री देखि राजदूत, सहितका ठुला पदहरुको नियुक्ति
तथा पदस्थापनाको अधिकार दिएको हुदा संविधानत प्राप्त अधिकारको प्रयोग गरी गरिएका
कामहरुलाई कानून बनाइएर सङ्कुचन वा निषेध गर्न मिल्दैन ।
संविधान मूल कानून हुने
हुदा संविधान सँग बाझिएका कानूनहरु स्वतः बदर भागी हुन्छन । (मारबुरी
बि. मेडिसनको मुद्दामा) अमेरिकी काँग्रेसले
निर्माण गरेको कानून वा निर्णय वा कामको वैधता जाँच्ने अधिकार सर्वोच्च अदालतलाई छ ।निजी कलेजलाई सरकारी बनाउने राज्यको प्रयासले निजी
सम्पत्तिमाथि राज्यको अनाधिकृत र अन्यायिक अतिक्रमण हुन जान्छ (डार्टमाउथ
कलेजको मुद्दामा सन् १८१९), राज्यको कानूनको जानकारी लिने
र दिने अधिकार सबैलाई हुनुपर्छ । कानून प्रकाशनको कपिराईट राज्य वा राज्यका
निकायहरुमा मात्र सिमित हुने गरी प्रतिलिपि अधिकारलाई सङ्कुचन गर्न मिल्दैन (सन
१८३१) आदि उनका स्मरणीय न्यायिक आदेशहरु हुन ।
राष्ट्रपति जेम्स
एडिसनको कार्यकालमा नियुक्त भएपनि थोमस जेफर्सनन जस्ता प्रभावशाली रिपब्लिकन
राष्ट्रपति समेतका विभिन्न पाँच राष्ट्रपतिहरुको कार्यकालमा हरेक राष्ट्रपतिका
असंवैधानिक निर्णयहरुलाई न्यायिक चुनौति दिन सक्ने उनको क्षमता अद्दितीय थियो
भन्दा अतिसयोक्ति पनि नहोला ।
लोकतन्त्र र स्वतन्त्र
न्यायपालिकाका अजम्मरि पक्षधर थिए भन्नेसम्बन्धमा धेरै अध्ययन वा खोज गरिरहनु
पर्दैन । ‘’लोकतन्त्रको आधारशिला भनेको
कानूनको पूर्ण पालना र न्यायको सम्मान, नागरिकको बिश्वास तथा नैतिकता प्रतिको समर्पण हो । अदालतले
आफ्नो मर्यादा र प्रभावकारीता आफै कायम गर्नुपर्छ र मौकैमा गर्नुपर्छ ।
न्यायपालिकामा प्राणको सञ्चार गर्ने कार्य मूलतः न्यायाधीशहरुकै साहस र
आत्मविश्वामा भरपर्दछ’’ भनाईहरु नै प्रमाणका रुपमा
यथेष्ठ छन ।
जोन मार्शल प्रधान
न्यायाधीश हुनु अमेरिकी जनताको लागि ठुलो वरदान थियो र म मैले जिन्दगीमा गरेको
सबैभन्दा गौरवशाली कार्य (… MY
proudest work in my life) भनेर
राष्ट्रपति जोन एडम्सले उनको राष्ट्रसेवालाई आत्म गौरबका रुपमा लिएको र उनका
बारेमा – जोन मार्शल द फाइनल फाउण्डडर (रोबर्ट
ट्राउट), द मेन हु मेड द
सुप्रिमकोर्ट अफ अमेरिका (रिचर्ड ब्रुकीसर), द
ग्रेट चिफ जस्टिस जोन मार्सल एण्ड द रुल अफ ल (चार्लस एफ हब्सन), जोन
मार्शलल द चिफ जस्टिस हु सेभ द नेशन (हार्लो गिल्स),लाइफ
अफ जोन मार्शल (एलेन वेभराइड),जोन मार्शल (जीव
एडवार्ड स्मीथ), द लाइफ अफ द जोन मार्शल (अलबर्ट
वे वेभरेज) आदि पुस्तकका लेखकहरुलाई कलम चलाउन अभिप्रेरणा दिने
सुपात्र बन्न पुगे ।
जोन मार्शलको पूर्ण कदको
शालिक अमेरिकी सर्वोच्च अदालतमा देख्ने अवसर प्राप्त (यस
पँङ्तिकारले २०८० श्रावणमा अवलोकनको अवसर प्राप्त गरेको)
मात्र होइन, उनको सम्मानका विभिन्न कलेज,
पार्क, संग्रहालय, हुलाक टिकट, मुद्रा, आदि
उनलाई अजम्मरी बनाउने प्रमाणका रुपमा रहेका छन । जर्ज वासिङटनको जीवनीका विभिन्न ५
भोलुमहरुका अतिरिक्त सर्वोच्च अदालतका निर्णयहरु, एब्यूज अफ पावर, जुडिसियल
पावर एण् रिकन्स्ट्रक्सन अफ पोलिटिक्स,आदि करिब ३ दर्जन जति उनका
सिर्जनाहरुले एकप्रतिभावान स्रष्टाका रुपमा स्थापित गरेका छन ।
सन १९७० मा गरिएको एक
सर्वेक्षणमा ततकालसम्मका ९८ जना न्यायाधीशहरुमा सबैभन्दा उत्तम पहिलो भनेर यीनै
जोन मार्शलको नाउ सहभागि ६५ जना सबैले मत सङ्केत गरेका थिए । दोस्रोमा लूइस र
तेस्रोमा हयूगोलाई ग्रेट जजेज स्थानमा राखेर नियर ग्रेटमा ८ जना, एभरेजमा
१५ जना राखी अरु ७२ जनालाई एभरेज भन्दा पनि तल राखिएको नतिजाको विशेष महत्व छ ।
पहिलोः मृत्युको १३५ वर्षपछि भएको सर्वेक्षणमा पनि जोन मार्शलको सम्मान यथावत भाव
र लगावका साथ हुनु र दोस्रोः एभरेज न्यायाधीशका रुमपा पनि दरिन नसक्ने धेरै सँख्या
अमेरिकी सर्वोच्च अदालतमा पुगेको प्रमाण ।
जोन मार्शलको समय, आजभन्दा जन्मका हिसाबले
करिब २५० र मरणका हिसाबले १९० वर्ष पहिलेको, उनको जीवनीको ८०
वर्षआयु समय हो । औपचारिक रुपमा कानूनको अध्ययन नै नभएका जोन मार्शलले
स्वअध्ययनबाट प्राप्त गरेको कानून र न्याय शिक्षाको प्रविणता र यसक्षेत्रको कर्ममा
देखाएको प्रखरतालाई शब्दमा प्रशँसा गरेर सकिदैन । केवल सम्मान र भावमा मात्र गर्न
सकिन्छ ।
करिब ११०० मुद्दाहरुमा फैसला गरेका उनले आधिभन्दा बढी आफै
नै राय लेखेका र फरक राय लेख्ने कार्यमा ९ वटा मुद्दामा आफैले फरक राय लेखि
न्यायमा न्यायिक मन र विवेकको प्रयोगको उच्च सम्मानको थालनी पनि गरेको भन्न सकिन्छ
। यसैले उनि सँसार प्रख्यात भए । न्यायिक इतिहासको युगयुगसम्म प्रख्यातमय भएर
अजम्बरी बनेर रहे । भौतिक रुपमा सन १८३५ मा मरे तर जीवनमा गरेका सुकर्महरुले
सुनाममय भए बाँचिरहेका छन । युगयुगसम्म अजम्मरी बनेर जनजन विशेषगरी कानूनी र
न्यायिक मनहरुमा उनी रहिरहने छन ।
धेरै कोणबाट लेख्न सकिन्छ, न्यायमूर्ति जोन
मार्शलका बारेमा । नेपालमा प्रधान न्यायाधीश हरिप्रसाद प्रधानको पहिलो कार्यकालको
मूल्याङ्कन गर्दा जोन मार्शलको कुम कुम सम्मको उचाइमा रहेका न्यायमूर्ति थिए उनी
भन्न सकिन्छ । त्यसपछिका कसैलेपनि उनको नजिक राखेर स्मरण गर्न
सक्ने हैसियत बनाउन सकेनन । केही आफन्तवाद,केही राजनीतिक बिचारवाद,
केही धनवाद त केही क्षमताको सवालले जनजनको मनमा स्फटिक बन्न सकेका छैनन । धेरैका
अन्तरहृलयको कठघरामा उभिइरहेका छन ।
नेपालमा मात्र होइन, संसारमा अब ठयाक्कै जोन
मार्शल त कोहिपनि हुन सक्दैन । तर क्षमता र सर्वप्रभावका दृष्टिबाट जस्तै जस्तै
पनि कोही भएनन वा हुन सकेनन । नेपालमा केही दशकसम्म हुनसक्ने छेकछन्दै देखिदैन ।
जोन मार्शल हुन औपचारिक अध्ययनले मात्र पुग्दैन,गहिरो स्वअध्ययन,
समर्पण निष्ठा र विवेकको
पायोनियर हुन सक्नुपर्छ ।
सातसमुद्र पारीका, १९० वर्ष पहिलेका,
एक न्यायमूर्तिको स्मरण र सम्मानमा तेस्रो पटक न्यायको स्मृति अँक प्रकाशन गर्ने
ज्ञानगुन प्रकाशन प्रतिष्ठान (प्रधान संपादक शेषराज सिवाकोटी)
को यो पुनित कार्य एकप्रकारको शुभ र प्रेरणादायी लत (Best Hubby) नै हो । सम्भवतः पृथ्वीमा शशरिर रहँदासम्म शेषराज
सिवाकोटीबाट जारी रहने निरन्तर गति र स्रष्टाहरुलाई सम्मान गर्ने शैलीको यसपुनित
कर्मका लागि सतत सम्मानका साथ हार्दिक नमन प्रधान
सम्पादक सहित ज्ञानगुन प्रकाशन प्रतिष्ठानमा । adrdhanbot.blogspot.com
२०८२ कार्तिक १० ऐरावती १ धनवोट, प्यूठान
----------------------------------------------------------------------------------------------------------------@@@पूर्व कायम मुकायम मुख्य
न्यायाधीश उच्च अदालत पोखरा, एवं अध्यक्ष सुनको अवैध पैठारी
(तस्करी) नियन्त्रण जाँचबुझ आयोग, २०८०।
No comments:
Post a Comment