Thursday, 22 January 2026

 

ब्यङ्य

समय  र समय व्यवस्थापन

 

‘’प्रत्येक दिन दाह्री फाल्न छ मिनेट लाग्दा एकवर्षमा साढे छत्तिस घण्टा र असी वर्षको आयु सम्झदा २९२० घण्टा अर्थात १२२ दिन त दाह्री फाल्न मै सकिने हुदा दाही फालेर के को समय बर्बाद गर्ने ? केही दार्हीवालहरुलाई लागेको हुन सक्दछ’’

समय र समय ब्यवस्थापनको महत्व विषयमा शब्दहरु उतार्न लाग्दा २५ वर्ष अगाडि दार्ही शिर्षकमा लेखेको ब्यँग्य (पुस्तकः माननीय महात्म्य, २०५७ पृष्ठ ५) निवन्ध भित्रका उल्लिखित पङ्तिहरुको सम्झना आयो ।

गजब छ र अजिब देखिन्छ समय र मान्छेहरुको जिन्दगीका बिचको साइनो पनि । कतिलाई खान लाउन नै फुर्सद छैन मानौ तिनीहरु यस धर्तीमा काम मात्र गर्न आएका हुन । हस्याङ्ग फस्याङमै यस धर्तीको समय बिताउन आएका हुन । हुनेसम्मको सुकिलो मुकिलो हुनुपर्ने पनि छैन उनिहरुलाई । सधै ल्याङ्फ्याँङ्गे । कतिलाई बाँच्दासम्म कमाएको कमाई गर्नु छ बरु खानेभनेको पेट भर्ने त होऽ त्यसैले रुखोसुको जेखाएपनि र जति खाएपनि भयो भन्ने छ । बिचराहरु! आरामले खान नै पाएका हुदैनन र छैनन । सास्ती छ क्षण क्षणमा । बाढी आउला र दाउरा बगाएर लैजाला भन्ने जस्तो अथवा एकभारी घाँस अर्काले काटेर ल्याएर बन नै सकिएला जस्तो ।

कति भने म त खाइरहन्छु भन्ने शैलीमा भेटेसम्म खाइरहने र पाएसम्म लाइरहने खालका देखिन्छन । उनीहरुलाई खान लाउन मै ठिक्क देखिन्छ उनीहरुको समय । जीवन भनेकै आफैले खान लाउन र आफैले मोज मस्ती गर्न हो भन्ने बुझाइमा रहेका हुन्छन यसप्रकारका मानिसहरु । समाज सेवा भन्ने हो भने के का लागि र कस्का लागि समाजसेवा भनेर प्रश्न गर्छन त्यस्ताहरु । समाज सेवाका नाउमा आ आफ्नै मेवा पकाउनु भन्दा सोझो गरेर बस्ने र आफ्नो कमाइ आफै खाने हो । हाइसञ्चो भन्नेमा हुन्छन उनिहरु । गजब छ र अजब देखिन्छ मानिसहरुको जिन्दगीको यात्रा र दिनचर्या । मानव चोला दुई दिनको जिन्दगी हो भन्ने प्रायः सबैलाई थाहा छ तर देख्लास र पख्लास भन्ने भाव र लगावमा नजानेहरु पनि प्रायः पाइदैनन । भरे मर्ने हो तर ऐले लोभको रयाल निकालेर चिउडो देखि तलतलै झार्नेहरुदेखि लिएर मौकामा तर मार्नेहरु सम्मका धेरै देखिन्छन वरपर । गोजीबाट कौडी ननिकाल्ने तर अर्काको पाए भुँडी फुट्ने गरी वा हैजा लाग्ने गरी खानेहरुका लागि पनि समय भनेको खान कै लागि होकि भन्ने देखिन्छ ।

यो समय भनेको पनि गजब कै त्रासादि रहेछ । अलिकति तलबितल परयो कि सम्पत्ति नै खलास । ज्यान नै खत्तम । समयको महत्ववस सम्पत्तिका लागि ज्यान फालौ कि ज्यानकै लागि सम्पत्ति सकौँ भन्ने दोधारमा पनि पार्ने । कतिवजे उठ्ने कति वजे सुत्ने ? के खाने के नखाने ? के लाउने के नलाउने ? कति वजे कहा पुग्ने कँहा नपुग्ने ? कस कसलाई समय दिने र कस कसलाई नदिने ? उहिल्यै बाउ बाजेका पालामा जस्तो हो र आजकल ? घाम जुन हेरेर समय पत्ता लगाउने ? समयका लागि घडी हेर्ने कि मोबाइल वा टिभि खोलेरै ठ्याक्कै पत्ता लगाउने !फसाद पनि कति कति !! मोवाइलमा धेरै झुल्नु वा भुल्नु हुदैन समय बेकारमा जान्छ र नजानिदो गरी जीवन मात्र त के ज्यान नै खान्छ भन्ने समय विद्वानहरु पनि देखिएका छन हिजो आज ।

ठिक्क खानु ठिक्क बोल्नु सुहाउदो लाउनु उचित ठाउमा धाउनु,,,जस्ता अर्ति दिने अभिभावकहरु आ आफै राती नर्सिङ टवाकका साथ अबेर ढोका ढवाक ढवाक पारेर आएको देख्दा र सुन्दा भने उदेक लागेर आउँछ । अनि अर्कोतिर झर्कोको लर्को आउने सन्दर्भहरुपनि धेरै छन । जस्तो कि म त भनेकै बेलामा आउँछु कार्यक्रमहरुमा भनेर धक्कू लाउनेहरुलाई नै प्रमुख अतिथि बनाइदिएपनि एकघण्टा ढिलो त अवश्य गर्छन र भन्छन नेपाली समय अलि अलि त ढिला भइहाल्दछ नि ! लगन भन्ने एउटा जबरजस्त समय छ नेपाली खास गरी हिन्दू संस्कृतिमा । हो त्यसले केहि मानिसहरुलाई तह लगाएको थियो उहिले उहिले बाउका पालामा । तर आजकल त त्यो पनि साइत सारेपछि हुने भएको छ मानौ घडीको सुइ बटारेर समय मिलाए जस्तो । ज्योतिष र बाहुन बाजेहरु पनि समय अनुसारका भएर होला आजकल समय र समय ब्यवस्थापनको कुनै समस्या नै छैन केही मान्छेहरुका लागि । चाहे त्यही समय नचिनेर वा समयको सहि ब्यवस्थापन गर्न नजानेर उनिहरु स्वयम् नै अधोगतिमा गइरहेका किन नहुन ।

समयको महत्व र समय ब्यवस्थापनको सीप नभएकाहरु वा आवश्यक छैन भन्नेहरुलाई अरु केही भन्नु छैन । यहा यत्तिमात्र भन्नु छ कि समयको महत्व र समय ब्यवस्थापनको सार बुझ्नकालागिः दुई वर्ष कति लामो हुन्छऽ पति बिदेशिएकी गृहिणीलाई सोधी हेर त ।एकवर्ष कित मँहगो हुन्छऽ परीक्षामा फेल भएको बिध्यार्थिलाई सोधि हेर त । यस्तै नौ महिना कति महत्वपूर्ण र कठिन हुन्छ गर्भवतिलाई सोध । एकमहिना कति ओजिलो हुन्छ भन्ने कुरा तवल नपाएको श्रमीकलाई सोध । एक हप्ता कति महत्वपूर्ण र कठीन हुन्छ भन्ने कुरा अस्पत्तालको बेडमा बसेको बिरामीलाई सोध । समयको एकदिन पनि कति कठीन हुन्छ भन्ने जान्नका लागि २४ घण्टा भोकोपेटमा रहेको कुनै गरीबलाई सोध । एकघण्टाको मह्त्वको बारेमा सोध्ने होभने पर्खाइमा रहेकी प्रेमिका वा प्रेमीलाई सोधे पुग्छ । एकमिनेटको महत्वको कुरा गर्नेहोभने जहाज छुटेको कारणले रातभर कसेर भोलिपल्ट मात्र जान पाएको तर उता बहिनीको बिहेको लगन नै टरेको  समयलाई सम्झनु जरुरी छ । नबिर्स एक सेकेण्डपनि उत्तिकै महत्वपूर्ण हुन्छ । नपत्याए  एकसेकेण्डले छुटेको जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको ज्यान गएको तर आफू भने जहाज छुटेको कारणले बाँच्न पाएको घटनालाई सम्झे पुग्दछ । हत्तेरीका! समय पनि कस्तो कस्तो ? एक सेकेण्ड त के एक मिलि सेकेण्डपनि वलवान हुन्छ र महत्वपूर्ण हुन्छ । अरु धेरै सम्झनु जरुरी छैन ।एकमिलि सेकेण्डको कारणले विश्व म्याराथुनमा प्रथम हुनबाट बन्चित भएको र करोडौँ रकम र चम्किलो स्वर्ण पदक अरु कसैको घातीमा टल्किएको हेरेर बस्न बाध्य भएको क्षणलाई सम्झे पुग्दछ । यसरी सम्झदा सम्झदै समय र समय व्यवस्थापनको महत्वका तर्कहरु लर्को लागेर आउन लागेकाले खाना खाने समयपनि नपुग्ने र खानै नखाएर ज्यान नै जाने हो कि भन्ने डरका मारे मैले कि बोर्ड चलाउन नै छोडेँ र सटडाउन गरेँ ल्याप टप । अनि त हाइसन्चो ।

यस्को अर्थ केही नगरी बस्दा हाइसन्चो हुन्छ भन्ने चाँही हैन है ? होस गर्नुस है, फेरि समय र समयको व्यवस्थापन गर्न नसकेको ठानेर समयले खुच्चिङ गर्ला र जिन्दगीमा नसोँचेको समय आइपर्ला । 

२०८२।०९।१६                                                                                              ऐरावती १ धनवोट । प्यूठान

 

     

  

      

 

No comments:

Post a Comment