Thursday, 8 January 2026

 

        आकाश-पाताल रहेकोः घर समाजको कथा र ब्यथा


अगेनाको नजिक बसेर दाउराको उज्योलोको भरमा वा टुकी बालेर काठ वा ढुँगाको खरीपाटीमा खरिढुँगाले कखरा लेखी साँवा अक्षर सिकेका पीँढीहरु एकातिर र अर्कोतिर अत्याधुनिक सोलर लाइटको उज्यालोमा आधुनिक सूचना प्रविधिका यान्त्रिक साधनहरुको सहयोगमा अध्ययन आरम्भ गरेका पीढीहरु रहे बाँचेको समय हो आजको समय । चारपाँच घण्टा उकाली ओराली पैदल हिडेर, खरको छाना भएको रुँघ्न पाठशालामा पठन पाठन गरेका र आधुनिक शैलीका बँगलाहरुमा लिफ्ट चढेर शैल गर्दै अध्ययन गरेका पीढीहरु रहे हुर्केको समय हो आजको समय ।

गाभुमा ग्वारग्वार्ती दुध दुहेर, कुडेँमा हाली अगेनामा तताएर ठेका खनाई, दही जमाएर भोलिपल्ट मदानी तानेर घिउ मुही निकालेर जीवन गुजारा धान्न सिकेको र पोकामा दुध ल्याएर ओभनमा तताई क्रिम झिकेर डिफ्रिजमा राखेर दही जमाउदै रमाउने अर्को पीढी पनि छ समकालीन समयमा ।

हरेक बिहान पँधेराबाट गाग्रीमा कम्तिमा एक खेप पानी र एकभारी घासँ काटेर दिउसो बिध्यालय जाने अनि फर्केपछि पनि घासँदाउरा गरेर वाल्यकालको जीवन बिताएका पीढीँहरु र उठ्दै तयारी खान्गी र बस ट्याक्सीका यात्रामय बान्कीहरु सँगै आबासीय बिध्यालयका अनेक ज्ञान र मनोरञ्जनमा वाल्यकाल बिताएकाहरु दुबैको समय हो वर्तमान समय ।

खेतका आली र बारीका कान्लाहरु काट्लै र नाघ्दै ढुँगा माटोसंग खेलेर हुर्के बढेको खेतीपाती आदि पढेको पीढी दुबैको समय हो वर्तमान समय । हवाइ जहाज र हेलिकेप्टर वा पानी जहाज अनि क्रुज आदि त के, सामान्य गाडी हेर्नपनि एकदिनको पैदल यात्रासम्म गरेको र आफ्नै घर आँगनबाट विभिन्न थरिका सवारी साधनहरु चढेको, दुबै पीढीको समय हो समकालिन समय ।

मुखिया, पटवारी, जिम्मावाल, माहुते, बडघर आदिको खटन पटनमा चलेको र आत्मनिर्णयको अधिकारको दाबीमा पुगेको दुबै पीढीको समय हो वर्तमान समय । तीन चार दीन लाएर मधेशका बजार हाट पुगी नुन मट्टितेल र बर्षदिनका लागि लुगाफाटो खरिद गरी नाना नानीहरुको आङग ढाक्ने र सामाजिक सञ्जालमा हेरेर छान्ने र आइफोनबाट अर्डर गरेर होम डेलिभरीबाट रमाउनेसम्मको हो समकालिन पीँढी सहित दुबैको समय हो समकालिन समय ।

बाबु आमाका उचित होउन वा अनुचित नै किन बाबु आमाका अह्न खटनका शब्दहरुलाई भुइमा खस्न नदिएर फत्ते गर्नतिर लाग्ने र बाबु आमाका मुखबाट शब्द निस्कन नपाउदै अन्दाजले बुझि हाल्ने र आधाबाटो मै त्यसलाई ठाडै वा अरु कुनै बहानाले अस्विकार गर्ने दुबै पीढीको समय हो समकालिन समय ।

विहान ४ वजे उठेर राती नौ दश वजेसम्म घरको र परको काम गरी जीविको पार्जन गर्ने  वा दैनिकी चलाउने गरेको पिँढी र वरको सिन्को पर नसारी बा-आमाले बनाएको खान्गीलाई विविध कोणहरुमा रेख (दोष) लगाउने र चाउचाउ सहितका तैयारी खानाहरु ल्याएर बजाउने सम्मको अर्को पीढीँ रहेको समय पनि हो आजको समय । आफंनै पाखुरी बजारेर आत्मनिर्भर बन्दै हुर्केको एकातिर र अर्कोतिर बाबु आमाले जोगाएर राखेको जग्गा जमिन मात्र त के आफ्नै मृगौला पनि बेचेर मोटरसाइकल वा स्कूटर अनि आइफोन सहितका विभिन्न मोबाइल किन्ने गरेको सम्मको पीढीको समय हो ।

आफू भन्दा मान्य ब्यक्ति नजिक आएभने उठेर सत्कार गर्ने,आफूले सम्मान गर्नुपर्ने अभिभावकको नजिकै बसेको बेला उप्रिखुट्टी लगाएर नबस्ने अथवा कपाल छत्ररङ पारेर नबस्ने जस्ता संस्कारहरुमा हुर्केको र जेठाजुलाई दाजु भन्दै कुम जोडेर बस्ने देखि मिड्डी, मिनिस्कट, हुदै हाफपयान्टमा भान्साहरुमा रमाउनेसम्मका दिनचर्याहरुमा रहेका दुबै पीढीहरुको समयको आजको समय । 

यसरी हेर्दा आकाश जमिनको फरक छ, समकालिन समाजका मानिसहरुका बिचको भोगाइ बुझाइ र गराइमा । यही समाजका मानिसका अर्थात आफ्नै अभिभावकका यस्ता कुराहरु पत्याउदैनन आजका धेरै पीढीहरु र भन्छन अँ होला ! कथा मात्रै त होला नि !?  अर्थात रचिएको कुनै कथा होइन, जीवनकै यथार्थ ब्यथा हो भन्ने उनीहरुमध्ये धेरैले मान्दै मान्दैनन ।

मानिएको मात्र होइन, आज जिबित पीढीहरुमध्येबाटै जानिएको र बुझिएको बिषय हो कि तराई अन्नको भण्डार । तर बिडम्बना तराइमै ऐले अन्न किनेर खानुपर्ने अवस्था छ । उर्बर जमिनहरु धेरै बाँझै छन र केहीमा बँगालाहरु ठडिएका छन । पहाडका घना वस्तीहरुमा एकआध घरधुरीहरुमा मात्र धुवाँ निस्केको देख्न पाउने अवस्था छ । त्यसैमा पनि उमेर पुगेका र श्रमगरी खानेहरु भेटिदैनन । भेटिन्छन त बुढाबुढी रोगी अशक्त आदि आदि । सेवामुखी भावनाहरु हराउदै गएका छन । रोगिएर र अनेक अभावका बिचमा रहेर उपचार बिहिन र सहारा बिहिन अवस्थामा रहेका अर्थात केवल नमरेसम्म मात्र धुकुरधुकुर अवस्थाका बिचमा पनि बाचिरहेका जिवनीहरु धेरै छन । बोल्दा तलवितल पर्दछ कि भनेर तौली तौली बोल्ने र सकेसम्म सम्मान र आदरार्थी शब्दहरु प्रयोग गर्ने हिजोको पीँढी र अँग्रेजी मिश्रीत छरपस्ट वाणी तथा केही अश्लिलतामा रमाउने आजको पीँढी दुबैको समय हो । लाउन, खान, बोल्न, हिड्न र समाजका सदस्यहरुसँग सम्बन्ध राख्नमा भाँती पुरयाउने र ‘’भर्सेलामै जावस’’ वा ‘’बाल मतलव’’ भन्ने आजको पीढीँ । दुबैको संयुक्त समय हो आजको समय ।  

केही अति रुढीबादी र अवैज्ञानिक धारलाई छोडेर आत्म मन्थन गर्नेहोभने माथि उल्लिखित मध्ये धेरै सन्दर्भ र कोणहरुमा स्खलिन भएको लाग्दछ, नेपालीहरुको घर र समाज । समकालिन समयमा, धेरै कठीन भएको छ घर समाज र देश ब्यवस्थापनमा ।

त्यसैले जरुरी छ, श्रम सम्मानको भावना र दीनचर्याको पुनःव्यवस्थापनको । सम्मान र आदरभाव तथा सदाचारको पुनरुत्थानको  स्वाभिमानको जगेर्ना र उत्प्रेरणाको । अनि जरुरी छ, राज्य र शासन प्रशासनको रुपान्तरणको जग घर समाजको रुपान्तरण हो भन्ने बुझाई पनि । जस्तो घर संस्कार र ब्यवहार उस्तै समाजको । जस्तो समाजको संस्कार र ब्यवहार त्यसकै प्रतिछायाँको संवोधनमा रहेको हुन्छ, राज्य र शासन ब्यवस्थाको पनि ।

उमेर पुगेका र सबल पाखुरी भएकाहरुले आफ्नै पाखुरी बजारेर खान, लाउन र बस्न सिक्ने कस कसले र कहिले ? बसी खाने प्रबृतिलाई घृणा गर्दै, श्रम संस्कृतिको सम्मान गर्ने कस कसले र कहिले ? घर समाजमा घाँटी हेरेर हाड निल्ने बिचारले ब्यवहारिक रुप कहिले पाउला ? वा देखासिकीले क्रमशः सकिदै जाला ? भिन्नता वा फरकपन र कोणका दृष्टिले असाध्यै ठूलो खाडलका बिचमा छ वर्तमान समय ।

बुझाई, भोगाई र गराइका बिच भिन्नता रहेको समयको यस चुनौतिलाई ब्यवस्थापन गर्ने जिम्मा हिजोका र आजका दुबै पीढीँको हो । उमेर र चेतनाको दृष्टिमा विभेद वा भिन्नता वा असमानता वा असहजताको व्यवस्थापनको मूल जिम्मेवारी आजका पीढीँको हो । आजको पीढी ज्ञान, विवेक, बोली र ब्यवहार सबै दृष्टिले जति सबल र सक्षम रहन्छ, त्यति नै घर समाज र अन्ततः देशको सम्बृद्दि निर्भर गर्दछ । यसका लागि सम्बन्धित सबैको चेत र चेतना तथा मनन तथा सततकर्म र कामना नै मुख्य बनेको हुन्छ ।

२०८२ मार्ग                                       ऐरावती १ धनबोट । प्यूठान

No comments:

Post a Comment