Thursday, 8 January 2026

 

के.पी.शर्मा ओली काः गतिला केही बोली                                     


नेपाली राजनीतिको आकाशमा अरुको आलोचना गर्ने त के, सत्तो सराप गर्नेहरुको पनि कम सँख्या छैन । अधिक त्यस्ताहरु सबैको नकारात्मक पक्ष मात्र देख्छन । त्यही त्यही वकल्छन । मानौँ तिनीहरुमा कुनै नकारात्मकता नै छैन जस्तो अथवा मानौँ तिनीहरु भनेका दुधले नुहाएका र सदगुण नै सदगुणले भरिएका हुन । बिर्सन्छन तिनीहरु कि कमजोरी बिहिन मान्छे संसारमै छैनन र हुन पनि सक्दैनन । सालाखाला रुपमा थोरै कमजोरी र धेरै सदगुणहरु भएका मान्छेहरु अर्थात असल मान्छेको चाहना राख्दछ समग्र समाज ।

पूर्व प्रधानमन्त्री के पी शर्मा ओली आफै त्यस्ता एक पात्र हुन जसले आफ्नो उचाइमा पुगेका सबैलाई आफूभन्दा पुडका देखिरहेका छन । उनका कथन र अभिकथनहरु सुन्दा यस्तो लाग्दछ कि उनको उचाइलाई चुम्न सक्ने नेपाली धरतीमा अरु कोही छ भन्ने नै उनलाई लागेको छैन । भाषणमा लङ्का हाक्ने तर ब्यवहारमा रुम्जाटारकै वरिपरि हुने धेरै नेपाली नेताहरु मध्येका एक हुन उनी पनि । तर पनि उनका केही बोलीहरु दमदार नभएका होइनन । अर्थपरक र दीर्घकालीन महत्वका छन ।  यसो भन्न कञ्जुस्याई गर्नु सरासर दृष्टिदोष वा पूर्वाग्रही हुने छ ।

यो उल्लेखन कतिपय प्रिय पाठकहरुलाई मन नपर्ला । कतिलाई ओलीभक्तिका पङ्तिहरु भन्ने पनि पनि लाग्ला । अरु केही होइन, यहा  समसायिक चर्चाका बिषयका रुपमा रहेका उनका केही सत्य र कटु बचनहरुको स्मरणमात्र गर्ने प्रयास गरिएको हो ।

संविधान सभाबाट संविधान निर्माण गर्ने क्रममा ततकाल विद्रोहको रापिलो र रबाफिलो शक्ति रहेको ने..पा.माओवादी केन्द्र र नेपाली काँग्रेसले १३ वटा संघीय स्वरुप दिने तरखरमा लागे । के पी शर्मा ओली त्यस बिरुद्द उभिए । पाँच प्रदेशतिर जाने अभिलाषा पुराभएन तर सात प्रदेशमा राख्न सफल भयो, उनी सहितको जनमत । प्रदेशको नामाकरण जातको नाँउको आधारमा हुनै लाग्यो । त्यसको पनि बिरोधमा उभिय । भुगोल, प्रकृति  र संस्कृतिले प्रधान्यता पायो ।

महाकाली सन्धि ताका पनि चर्चा र बिबादमा आएको लिम्पिया धुरा र लिपुलेक समेतको केही भूभागमा परेको केही पछि आएर, भारतीय पञ्जा परयो । के पी शर्मा ओली बाघ बनेर गर्जे । त्यस भूभागलाई नेपालको नक्शामा राख्न र त्यसमा बैधानिकता प्रदान गर्न संविधान नै सँशोधन गर्नमा अगुवाई गरे । सफल भए । भलै पर्याप्त कुटनैतिक पहल र अन्तरराष्ट्रियकरण विधिको प्रयोग बिना गरिएको ततकालीन अपरिपक्कता पनि भन्न सकिएला तर मुलुकी स्वाधिनताको पक्षमा सतिसाल बनेर उभिएको त्यो दृश्यलाई कुन नेपालीमनले अन्यथा हो भन्न सक्ला र ? नेपथ्यामा त्यसरी नै भन्यो भनेपनि त्यसमा नेपालीपन बाँकी रहेको कसरी मानिएला र ? मानिदैन । यो प्रकरण ब्यक्तिगत रुपमा ओलीका लागि सदियौँ बाँचिरहने प्रकरणमा रुपमा स्थापित भइसकेको छ ।

आफ्नै नेतृत्वमा रहेको सरकारको सम्बन्धित निकाय वा अधिकारीको निर्देशनको पालना गर्नुपर्ने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आफैलाई बालुवाटारमा सुरक्षा दिन नसक्ने भन्दै होतँरेर हेलिकेप्टरबाट मकवानपुर पुरयाएर ज्यान जोगाई दिनुपर्ने अवस्था किन परयो र त्यस प्रकारको अवस्थाको सिर्जना कस कसले र कसरी गरयो ? सुरक्षा निकाय सहित सम्बन्धित को कसको के कमजोरीले त्यस्तो हुन गयो वा बर्षौदेखिको सुशासनको प्रत्याभूतिको अभावको कारणले मात्र त्यस्तो बाध्यात्मक परिस्थिति आयो ? गहन समीक्षाको बिषय अवश्य हो । तर अप्रत्यासित रुपमा भएको गत भाद्र २३ गतेको जबरजस्ता बिरोध र २४ गतेको दर्दनाक घटना पछिको अन्तरिम सरकार गठन देखि त्यसका समग्र कृयाकलापलाई उनले पूर्ण असंवैधानिक भन्दै आएका छन । सुशिला कार्कीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न आफूले कुनै सिफारिस गरेको भए सार्वजनिक गर्न पनि चुनौति दिइरहेका छन । यो सरकार कस्को हो ? भन्नेमा गँभिर प्रश्न उठाएका छन ।   

‘’यो सरकार कसको हो ? जेनजी हरु मेरो सरकार होइन भन्छन । दलहरु हाम्रो सरकार होइन भन्छन । संसदले यसलाई चिन्दीन भन्दछ । संविधानले म संग यस्तो सरकार बनाउने ब्यवस्था नै छैन भन्दछ । आखिर यो सरकार कस्को हो ?’’ प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा भनेछन ।

‘’अवैधानिक र अनाधिकत रुपबाट बिघटन गरिएको  संसदलाई पुनः स्थापना गरिएमात्र देशलाई सहि बाटोमा हिडाउन सकिन्छ । यस्तो असंवैधानिक तबरले संसदलाई बिघटन गर्दै जानेहो भने नजिर बस्छ । यसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स ततकालै करेक्सन हुनुपर्छ; भन्दै अवैधानिक रुपमा प्रतिनिधि सभाको बिघटनको दूरगामी परिणामको बारेमा पनि बोलेका छन ।

वस्तुतः वर्तमान अवस्थामा मुलुकी समस्याको चुरो कुरो भनेकै सडकको आवाजको नाउमा  निर्बाचित जनप्रतिनिधिहरुको मूल्य र लोकतान्त्रिक पद्दतिको मान्यतामा गंभिर असर पुग्ने गरी यसरी अवैधानिक रुपमा सरकार गठन गर्दै जाने होभने आवधिक निर्बाचन लोकतन्त्र कानूनको शासन सहितका समस्त मान्यताहरुको कुनै अर्थ र महत्व रहने छैन । जसका लागि उसका भैँस हुदै ध्वँशले प्रश्रय पाउने छ । जुन सबैका लागि र सधैका लागि दुर्भाग्यको अध्याय बन्ने छ ।

राजनीतिक विश्लेषक एवं जानकारहरुले भन्ने गरेका छनः ‘’ ने क पा एमालेका अध्यक्ष, के पी शर्मा ओलीले आसन्न महाधिवेशनमा मीयो बनेर सबैलाई समेटेर लग्न सकेभने र नयाँ पुस्तालाई नेतृत्वमा अगाडि सार्दै अन्तरपार्टी जनवादलाई मजबुत बनाउन सकेभने उनले अँगालेको राष्ट्रवादी धारले मुलुकी माटो सिँचित गर्ने मात्र होइन, जनजनको मनलाई सितलता प्रदान गर्दै, मुलुकी सम्बृद्दिले गति लिने छ’’ । हेरौ, भविष्य कता जान्छ र के पी शर्मा ओलीले कसरी लान्छन ।

२०८२।०८।७                                             ऐरावती १ धनवोट । प्यूठान

 

No comments:

Post a Comment