Thursday, 8 January 2026

फियर साइक्लोजिमा आधारित फियर पोलिटिक्स

 

 

फियर साइक्लोजिमा आधारित फियर पोलिटिक्स

 


बिषय शिर्षकमा प्रयुक्त फियर पोलिटिक्स (Fear Politics) शब्दको माध्यबाट डरमा आधारित राजनीतिको सामान्य चर्चा गर्न खोजिएको हो । जँहा राजनीतिमा भित्री रुपले डरको कारणले बोल्नै डराउनेसम्मको अवस्थामा पुरयाइएको हुन्छ, त्यहा फियर पोलिटिक्स हाबी रहेको मानिन्छ । कार्यकर्ता वा जनताको मनोवललाई कमजोर पार्न प्रयोग गरिने सबैप्रकारका हतकण्डाहरुको परिणतिबाट फियर साइक्लोजी बढाउदै फियर पोलिटिक्स हाबी भएको हुन्छ ।

नेपाली राजनीतिक धरातलमा यसका प्रयोगका अवस्थाहरुलाई सामान्य स्मरण गर्दाः ‘’सबै पञ्च नेपाली सबै नेपाली पञ्च’’को भाका देखि ‘’प्रचण्डपथ’’ हुदै ‘’ओली बा’’ सम्म र देउवा-आरजूमय ने. का.का विभिन्न चरणहरुलाई लिन सकिन्छ । एकातिर एकजमानामा प्रचण्डलाई देख्न र छुन पाए,,भन्नेहरु आज प्रचण्डलाई नदेख्न नपाएपनि हुने भन्ने सम्ममा पुगेका छन भने अर्कोतिर ‘’एमाले भएन भने देश नै समाप्त हुन्छ, एमाले हुनकालागि ओली बा अर्थात के पी शर्मा ओली नै चाहिन्छ र ओली बा भएनन भने एमाले नै समाप्त हुन्छ’’ भन्नेसम्मको डर पलाएको चरणदेखि ११ ‍औ महाधिवेशन आउनु अगाडि सम्मको अवस्थालाई लिन सकिन्छ ।

राजनीतिमा कुनै नेता वा नीतिको दबदबा सधैका लागि स्थायी नहुने रहेछ । दशौँ महाधिवेशनमा एकप्रकारले घनश्याम र भीम रावलहरुको सातो खाएका ओली ११ औ महाधिवेशनमा मेरो बिकल्पमा को ? भन्ने धक्कू लगाएपनि इश्वर पोखरलले दरिलोसँग उभिएर म भन्ने देखाइदिए । भलै ओली बा मय तन मन र धनहरु सहितका भित्री धेरै खेलहरुले उनलाई बिजयी बन्न दिएनन, त्यो बेग्लै विश्लेषणको पाटो हो । दृश्य अदृश्य धेरै सन्दर्भहरुले मनग्गे रुपमा देखाइरहेको छ ने क पा एमालेभित्रको फियरसाइक्लोजी र फियर पोलिटिक्स ।

उता प्रचण्ड राजनीतिक यात्राको जन्मसूत्र वा दीक्षामन्त्र माओवाद नै त्यागेर  कति राम्री पुतलीः टालाटुली बटुली भन्ने नानीहरुको गीत सम्झाउन पुगेका छन । त्यस्तै आरजूमय डोलीमा चढेर सधै ‘’देउ बा’’ भनिरहेका ‘’देउपा पछिल्ला दिनहरुमा खासगरी आरजूको माध्यमबाट लेउ बा, लेउ बा’’ भन्ने बानीमा जानै नसकेर गुमनामतिर लाग्न बाध्य भएका छन । फियर साइक्लोजीबाट ग्रस्त नेकाभित्रको फियर पोलिटिक्सबाट असाध्यै आक्रान्त छन देउवा र आरजूहरु । शेखर, गगन र विश्वप्रकाशहरुको फियरमा देउवा परेका मात्र होइनन, आरजू देउवाको पुरानो हिँङगबाट शेखर,गगन र विश्वप्रकाशरु पनि त्रसित छन र ग्रसित पनि छन ।

रास्वपाको फियर अरु अरुलाई बढ्दै छ । उता स्वयं राप्रपभित्र मूल नीति भाडमै जावस तर मेरै ब्यक्तित्वले महत्व पावस भन्ने मानसिकताले काम गरिरहेको छ । आ आफैभित्र फियर र अरु अरुकालागि आफै फियर तथा अरुबाट आफू स्वयंपनि फियर रास्वपाको सक्कली फियरिज्म हो । हुदा न खाँदाको हर्कवाद को नाराले आफै भित्रैबाट डराउदै गएका हर्क साम्पाङ अर्थात श्रश शक्ति पार्टी को खाँटी श्रमवादी धार तथा सक्कली राष्ट्रियता प्रतिको अजम्मरी प्यारको कारणले विशेष गरी रास्वपामा भित्रै देखि कम्पन चलिरहेको छ ।

समकालीन समय भने फियर पोलिटिक्सको परम्परावादी बुझाई भन्दा अलि फरक ढँगको देखिदै गएको छ । नेपाली राजनीतिक धरातलमा फियर साइक्लोजीले बेजोड रुपमा काम गरिरहेको छ । अर्थात डरको महामारी नै छ । पहिलो डर आफ्नै घर अर्थात दलभित्रैको छ ।  आफूभन्दा अलि जान्ने सुन्ने पल्टियोभने आफूलाई पछाडि पारेर सर्लक्कै माथि जाने होकि भन्ने डरले बेलैमा मुन्टाई हाल्ने यहाको फियर पोलिटिक्सको इतिहासको आयु धेरै नै भएको छ । खास गरी वामपन्थी राजनीतिमा त यो एकप्रकारको महामारी नै बन्यो र भित्र भित्र बनिरहेको पनि छ अझै । अहिलेपनि विभिन्न दलहरु भित्र देखिने गुट वा समूह राजनीतिको फोहोरी खेल यही फियर साइक्लोजिमा आधारित फियर पोलिटिक्सकै उपज हो भन्दा फरक नपर्ला ।

यतिखेर संसदीय राजनीतिमा ठूला भनिएका तीन दल (नेपाली काँग्रेस, नेकपा एमाले र प्रचण्डकालिन माओवादी) हरु आ आफ्नै दलभित्रको फियर साइक्लोजीको चापँमा एकातिर छन भने र अर्कोतिर नयाँ दलहरु (विशेषगरी रास्वपा, उज्यालो नेपाल, श्रमसंस्कृति,आदि ) को फियरसाइक्लोजीको चापँमा पर्दै गएका छन । नँया सबै नभएपनि अधिकाँश मिलेभने हामीहरुको खैरत छैन भन्ने डर पुराना दलहरुमा बढिरहेको छ । अर्कोतिर मिल्ने त मिल्ने तर कसरी मिल्ने ? भन्नेमा साना र नयाँ दलहरुका बिचमा फियर साइक्लोजिले नराम्ररी घर बनाएको छ । रास्वपाका सभापति रबि लामिछाने छोटो समयभित्र चर्चा र संसदीय फाँटमा उल्लेखनीय स्थान प्राप्त गर्न सफल घण्टीलाई छोड्नै नसक्ने स्थानमा पुगेका छन । घण्टी बजाउदै गइयो भने लौरो नै बिर्सिइने होकि भन्ने डर लामो समयसम्म भएपनि पछिल्ला दिनमा आएर संगठनको अभावको फियरमा परेका कारणले घण्टीमय बन्न पुगेका छन । उता उज्यालोको दुहाइ दिदै आएका कुलमान घिसिङ् पहिचानको मूल मुद्दा छोडेर संघीयता तथा धर्मनिरपेक्ष्यताको मान्यतलाई पनि ख्वै ख्वै मा पुरयाउने रविहरुको दबदबामा पर्न बाध्य भएका छन । माटो बिना कहाँ श्रम गर्ने र के गरी खाने भन्नेमा हर्क साम्पाङ्गहरु पुगेको आभास भइरहेको छ ।

दल दलहरुका बिचमा मात्र होइन कि नेता नेताका दिमागमा छ फियर साइक्लोजी र फियर पोलिटिक्स । केहीमा अस्तित्व वोधको नै फियर छ भने केहीमा प्रभावक्षेत्रबाट नराम्ररी खस्कने फियर (डर) छ ।

समकालिन नेपाली राजनीति भूमिमा यसोगर्दा पनि नहुने र उसो गर्दा पनि नहुने फियर साइक्लोजिबाट ग्रस्त भएर रन्थन्निएका छन धेरै नेताहरु । मच्चियो मच्चियो थच्कियो को स्थितिमा पुगिने हो कि भन्ने डर एकातिर छभने अर्कोतिर प्रतिकूल परिस्थिति निर्माण भएमा फेरि काला कोठरी तिर पो जानु पर्ने हो कि भन्ने डर बढिरहेको छ । खास गरी शेरबहादुर र प्रचण्डहरुलाई द्वन्दकालीन मुद्दाको कारणले हतकडी लाग्ने फियर अर्थात डर छ । अर्कोतर्फ गणेश प्रबृति र हनुमन्तेहरुको घेराउमा रहेर बिषय विज्ञहरु र समर्पितहरुलाई भित्री रुपमा मन नपराउने कारणले पनि समकालिन राजनीतिमा फियर साइक्लोजी बढेको बढै छ । अभिभावक भएर बस्न नचाहने वा नसक्ने सधै कुर्सिकै भोको हुने तर समयचेतनालाई संवोधन गर्न सक्ने रणनीति एवं कार्यनीति तथा ब्यवहार देखाउन नसक्ने अवस्थामा पुगेका केहीलाई आफैपनि अब डरको प्रतीक लाग्न थालेको जस्तो छ । राती निद्रा नलागेर आफ्नै अनुहारले आफैलाई झस्काउने त हैन भन्ने अवस्था छ ।

समय सन्दर्भबस फियर साइक्लोजीमा आधारित फियर पोलिटिक्सको उपचार गर्न अब टालटुले नीतिले हुने अवस्था नै छैन । पुरै  ओभरहलिङ् गर्नुपर्ने अवस्थामा पुगेका छन विशेषगरी पुराना दलहरु । नयाँ दलहरुभित्र पनि स्पष्ट नीतिको अभाव, ब्यक्तिगत रुपमा अति महत्वकाँक्षा र विश्वासको डरलाग्दो सङ्कट देखिएको छ । दलहरु भित्र र दल दलका बिचमा पनि कसले कतिवेला कसलाई लात्ति हान्ने हो वा सिध्याउने नै हो भन्ने त्रासादि बढिरहेको छ । यस्तो स्थिति धेरै समयसम्म गयोभने नेपाली राजनीतिक भुमिमा अबको अवश्यम्भावी यात्राका रुपमा फिनिक्स पोलिटिक्स नै हुने डर झनै बढ्ने छ ।

ग्रीक तथा इजिप्टतिरको एक दन्त्यकथाको पात्र हो फिनिक्स । त्यही दन्त्यकथालाई राजनीतिक यात्राको प्रतीकका रुपमा चर्चा गर्ने सन्दर्भमा बनेको हो फिनिक्स पोलिटिक्स शब्दावली । उक्त दन्त्य कथाको सार यस्तो छः सुन्दर र चम्किलो एक ताराको आयु १०० वर्षको मानिन्छ । जबजब मृत्यु वर्षको समय नजिक आउँछ, त्यो चराले आफ्नै गुडँमा आगो लगाउँछ र आफू नै जलेर सकिन्छ तर ततक्षण मै एक अपत्यारिलो घटना देखिन्छ कि फिनिक्स चरा भन्दा पनि झनै तेजिलो सुन्दर र मनमोहक अर्को चराको जन्म त्यही खरानीबाटै हुन्छ । अनि नवःउदयी त्यही फिनिक्स चरा सबैको मनोरञ्जन र सुखको आधार बनिदिन्छ ।

नेपाली राजनीतिक भूमिमा रहेका प्रायःसबै दलहरुमा नवउदयी फिनिक्स चरा रुपी दन्त्यकथा जस्तो अवस्थाको आवश्यकता छ । फिनिक्स पोलिटिक्सको उदय, नीतिगत रुपमा, नेतृत्व र निर्णयको सामुहिक नेतृत्वशैली, अपनत्व र विश्वासनीयताको पुनर्आभास आवश्यक छ ।अनि नवीन र कुसल तथा दक्ष उत्तराधिकारी निर्माणको यात्राको पनि ।

अब पनि खरानी टकटकाउदै उठेर र सुकर्महरुको माध्यमबाट रगत पखाल्दै चोखिएर अगाडि बढ्न नसक्ने होभने परम्परावादी फिनिक्स चराको हालतमा पुग्ने हो र पुनः उदाउन वा उठन नसक्ने फिनिक्स पोलिटिक्समा गएर फिनिस हुने अर्थात सक्किने हो भन्ने बुझ्नभने ढिला भइसकेको छ ।

     २०८२ पुस  १७                              ऐरावती १ धनवोट। प्यूठान

 

 

No comments:

Post a Comment