Friday, 20 February 2026

समाकालिन चर्चाका दुई शब्द/पात्र र प्रवृतिहरुः जेलेन्स्की र लुसिफर

 यतिवेला राजनीति क्षेत्र तथा बौद्दिक चर्चामा आएका प्रतिकात्मक शब्दहरुमा जेलेन्स्की र लुसिफर मुख्य देखिएका छन । चुनावी सरगर्मी बढिरहेको समकालिन समयमा ‘’नेपालमा पनि जेलेन्स्कीको खोजि भइरहेको छ’’ भन्ने र ‘’लुसिफर शैलीको राजनीतिक नेतृत्व सफल हुन सक्दैन’’ भन्ने बोलीहरु पटक  पटक आइरहेका छन ।

२५ जुन १९७८ मा जन्मेर पटकथा लेखक, र्यापर, अभिनेता, हाँस्य अभिनेता, निर्देशक, राजनीतिज्ञ हुदैँ सन २०१९ को चुनावबाट युक्रेनको राष्ट्रपति बनेका एक चर्चित र विवादास्पद युक्रेनी पात्र हुन भोलोदोमिर जेलेन्स्की । जो  कानूनी विधाका समेत ज्ञाता र  कोबर्टल ९५ टेलिश्रूंॐला निर्माता पनि हुन । जसले सरभेन्ट अफ द पिपुल, कम्पनी स्थापना गरे ।  त्यही कम्पनीका कर्मचारीहरु राखेर ‘’सर्भेन्ट अफ द पिपुल’’  नाँउबाट दल दर्ता गरे । अन्ततः सन् २०१९ को निर्बाचनमा ७३.२२ प्रतिशत मत ल्याइ प्रतिस्पर्धि पेट्रो पोकोशोन्कोलाई पराजित गरी युक्रेनको राष्ट्रपति बन्न सफल भए ।

जतिबेला उनि राष्ट्रपतिमा निर्बाचित भएका थिए, त्यो भन्दा पहिला नै अर्थात सन २०१४ देखि नै रुसले युक्रेनको सार्वभौमसत्ता माथि धावा बोलिरहेको थियो । चुनावमा रुसी समर्थक राष्ट्रपति पेट्रो पराजित भएपछि रुसी आक्रमण झनै बढयो । मस्कोले युक्रेनी क्षेत्रको क्राइभीया नै रुसी राज्यमा गाभ्ने देखि मिसाइ क्रुज आदिबाट युक्रेनी भुमिमा प्रहार गर्ने कार्य जारी राख्यो ।

रुस अमेरिकी द्वन्दको इतिहासँ एकप्रकारले जानीदुश्मनी रहेको अवस्थामा एकातिर र अर्कोतिर अमेरिका तथा पश्चिम युरोपले आफूलाई घेर्ने रणनीतिक योजना अनुसार युक्रेनलाई सहयोग गरिरहेको भन्ने रुसी राष्ट्रपति पुटिनको बुझाई । यति मात्र नभइ कृष्णसागर र अजोम सागर दुबै क्षेत्रसँग जोडिएको भूराजनीतिक दृष्टिले अत्यन्तै महत्वको एक देश -युक्रेन । संगसंगै छिमेकी देशहरुमा वल प्रयोग गरी नियन्त्रमा लिन पल्केको रुसी सामाज्यवादी नीतिले इस्टोनीया, जर्जिया र लुथुयानिया जस्तै युक्रेनमा पनि हैकम चलाउन चाहेको समय अवस्था । परिणाम सफल कुटनीति, युक्रेनीमैत्री नीति,  युक्रेनमा रहेका रुसी भाषाभाषीहरुको मनजित्ने काम आदि गर्नुभन्दा बन्दुककै वलमा युक्रेन कब्जा गर्नेतिर लाग्यो रुस पनि । 

अमेरिकी सैन्य गठवन्धन नाटोको सदस्यता लिन जेलेन्स्की इच्छुक भएको सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको युक्रेनमाथिको आक्रमणले थप गति लियो । हिजोआजपनि आक्रमण र प्रत्यक्रमण जारी रहिरहेको छ । विश्वको करिब तेस्रो शैन्य शक्ति रहेको रुससँग १८औ शैन्यशक्तिमा रहेको युक्रेन, करिब ४२ खर्ब सुरक्षा बजेट रहेको रुससंग, मात्र २ खर्व सुरक्षा बजेटलिएर लडिरहेको छ । २४ वर्षदेखि निर्बाचित तानाशाह सरह राज गरेका पुटिन एकातिरको नेतृत्वमा छन भने सन २०२४ मा गराउनु पर्ने आवधिक चुनाव युद्दको कारण देखाई नगराएर मार्शल ल लगाउदै शासन गर्दै आएका जेलेन्स्की नेतृत्व बिचको यो युद्दले दुबैतिर तहसनहस पारिरहेको छ । अझै कति तहसनहस हुने हो ? भन्न वा अनुमान गर्न नै कठीन छ । तर जारी युद्दमा रुस वा युक्रेन जसले जितेपनि जनधन, भुगोल, संस्कृति, मानवता सबै पराजित हुनेभने निश्चित प्रायः छ ।

भनिन्छ ,युद्द जारी हुनु र चर्कनुमा पुटिन जति जिम्मेवार छन, जेलेन्स्की पनि कम जिम्मेवार छैनन ।  सामरिक तथा भूराजनीतिक महत्व अनि खनिज पदार्थको लोभ आदि कारणले कमजोर मुलुकलाई निशाना बनाउने र हरेक प्रकारका स्वार्थहरु पुरा गर्ने पूँजिबादी एवं साम्राज्यवादी नीतिको केन्द्रिय भाव नै युद्दको मूल कारण हो । यस भुँग्रोमा रुसी जनता भन्दा युक्रेनी भूमि र युक्रेनबासीहरु बढी परिरहेका छन । रुस युक्रेन युद्को मुख्य दोषी पुटिन नै मानिएला सायदः तर अस्वभाविक रुपमा शक्तिमा उदाउने, आफ्नो सार्मथ्य भन्दा बढी अरुको उक्साहटमा भरपर्ने र कठपुतलीका रुपमा अरुकै स्वार्थको वरिपरि लागेर जनधन र शान्तिगामी मनहरुलाई नै वलिदानी दिने एक खलनायकका ब्यक्ति जेलेन्स्की देखिएका त हैनन भन्ने जबरजस्त सवाल उठिरहेको छ ।

शासकीय शक्तिमा रहनेसँग कुटनीतिक चातुर्यता सहित विविध राजकीय सामर्थ्यता भएनभने र बाह्यशक्तिको भरोशामा रहेर राष्ट्रिय स्वाधिनताको बिषयलाई गौण मानियोभने देश कसरी तहसनहस हुन्छ र जनताहरु कसरी अत्तालिएर मुलुकबाहिरिन बाध्य हुन्छन भन्ने एक खरो उदाहरण हो युक्रेनको वर्तमान अवस्था र त्यसका प्रमुख कारक हुन जेलेन्स्की । जो ब्यक्तिगत रुपमा अब चाहेरपनि युद्द रोक्न सक्ने बिन्दूमा छैनन । यात पूर्ण पराजय स्विकार या अझ बिनाशको बिन्दूमा पुगिसकेका छन ।

गत भाद्र २३ को नवयुवा बिद्रोहको जगमा, २४ गते हुन गएको राष्ट्रिय धरोहर सहितको विभिन्न ध्वँसको कारण नेपालमा पनि जेलेन्स्कीको खोजी कै क्रम हो भन्ने तर्कका आधारमा त्यसको आधारभूत जगका रुपमा बारबराफाउण्डेशन र अमेरिकन युथकाउन्सीलसंग आबद्दहरुको नै नेपालको शासकीय शक्ति र राजनीतिक क्षेत्रमा बढ्दै गएको सकृयता र प्रभाबलाई लिइएको छ । आगामी चुनावी परिणामले जेलेन्स्की प्रबृतिलाई बढावा मिल्न गएमा पाश्चात्य शक्तिले थप चलखेल गर्न पाउने र बैदेशिक शैन्य शक्ति नेपालमा आउने त्रासादिपूर्ण तर्क वा अनुमान गर्नेहरुको पनि कमि छैन ।

तिब्वती स्वतन्त्रताका पक्षधर एवं तिब्वती धर्मगुरु मध्येका रिम्फो छे को भब्य स्वागत र टासीफोन्चो गुरुङ अध्यक्ष रहेको डोल्पो ‘’नामक समाज’’ संस्थामा लगातार १० दिने प्रवचन पछि ड्रागनमीडियामा प्रकाशित फु यु हाइको लेखको साँरास-औपचारिक माफी र एक चीन नीतिको समर्थनको ठोस कदमहरु कि अवज्ञा र बिनाश, ? रोज्ने? भन्ने चिन्ता ग्रस्ततामा छ प्रिय मुलुक । चुनाव वा अर्को खालको बिद्रोहबाट जेलेन्स्कीको उदय र रणभुमिमा परिणत ! यसप्रकारको आँशकाहरुमा सत्यता छैन र ब्यवहारतः नेपालमा जेलेन्स्की को उदय वा लुसिफर प्रवृति जजयकार हुदै हुदैन भन्ने प्रमाणित गर्न सचेत जनमतले राष्ट्र,राष्ट्रियता र जनजीवीकाको पक्षमा रहेर स्वाभिमान र स्वाधिनताको रक्षाको विकल्प देखिदैन । 

अब लागौँ लुसिफरतिर । ल्याटिन भाषामा लुस भनेको ‘’प्रकाश’’‘’फररे’’ भनेको ल्याउने अर्थात उज्यालो ल्याउने (विहानीको तारा) भन्ने हो । रोमन संस्कृतिमा विहान सूर्य उदाउनु भन्दा पहिले देखिने शुक्र तारालाई पनि लुसिफर भनेर बुझिएको पाइन्छ । एक समयमा स्वर्गमा सुन्दर र शक्तिशाली रहेको देवदूत (लुसिफर)  समयअन्तरमा आफूलाई इश्वरसँग समकक्षीय तुलना गर्दै विद्रोही बन्यो । परिणाम इश्वरले त्यसलाई पापीको सँज्ञा दिदै रिसाएर नर्कमा धकेलिदिए । नर्कमा आएपछि लुसिफरले मानिसहरुलाई पथ भ्रष्ट बनाउन थाल्यो । नर्कमा ताण्डप चलाउन थाल्यो । मानिसहरु लुसिफरको डरले आकुल ब्याकुल हुन थाले । यही कारणले जनजनको मनमा लुसिफर सकारात्मक बिद्रोही भन्दापनि विरोधी जतिलाई सखाप पार्ने ध्वँश, लुटपाट, अन्याय र अत्यचारको खलनायकका रुपमा लिन थालियो ।

आफूमा रहेको शक्ति, सौन्दर्य र बुद्दिलाई जनहितकारी काममा सदुपयोग गर्ने भन्दापनि मैमत्तायुक्त घमण्डी स्वभाव र कालो-अँध्यारोमा रमाउने स्वभाव र कार्यशैली (लुसिफरलाई) लाई अन्धकार भविष्यको प्रतिकका रुपमा लिन थालियो ।

हुदा हुदा त चर्चामा आएका उल्लिखित दुइ पात्रहरुलाई राजनीतिकरण गर्न थालियो जताततै । पछिल्लो क्रममा नेपालमा पनि राजनीतिकरणका शब्दहरु बन्न पुगेका छन जेलेन्स्की र लुसिफर शब्दहरु । खासगरी अरुको इशारामा शक्तिको प्रदर्शन गर्ने र बिरोधीलाई दानवीकरण गरेर शक्तिमा आउने र रहिरहने कुटिल एवं सैतानी पात्रहरुको नामाकरण बन्न पुगेका छन यी शब्दहरु । नेपाली राजनीतिक रँगमन्चमा साहित्यकार एवं राजनीतिक विश्लेषक शौरभले टिकाराम यात्रीसँगको टेलिभिजन अन्तरवार्तापछि लुसिफर शब्दको थप चर्चा भएको हो ।

को किन जेलेन्स्की वा लुसिफर बन्दै छ वा बन्न खोजिरहेको छ ? अथवा को कस कसले कसरी जेलेन्स्की वा लुसिफर बनाएर के कस्तो फाइदाहरु लिन खोजिरहेको छ ?  त्यसका आधारहरु के के हुन  ? स्पष्ट रुपमा भन्न वा खुलाउन सकिरहेका छैनन तर पटक पटक प्रयोग गरिरहेका छन नेपालका केही राजनीतिज्ञहरु ले ! जेलेन्स्की र लुसिफर!! शब्दहरुलाई ।

परोक्ष्य रुपमा जेलेन्स्की शब्दको प्रयोग मुलुकी बर्बादीका लागि मुलुकभित्रैको कुनै ब्यक्तिलाई तयार पारिने बैदेशिक दुस्वप्न भन्ने बुझिन्छ भने लुसिफर भन्नाले घमण्डि, बिद्रोही र अन्धकारको प्रतिकलाई लिन खोजिएको र बाइबलमा रहेको (१४:२२) एक शैतानी पात्रका रुपमा पनि लिइएको पाइन्छ ।  

कालो पोषक, कालो चश्मा र कालै जुत्ता लगाउने आकृति वा शैली मात्र हो त लुसिफर ? अथवा असल र सदाचारी मानिसहरुलाई खराब र दुराचारी बनाउने नकारात्मक बिद्रोहको नायकत्वको प्रतिकात्मकता हो त लुसिफर ? एकान्तप्रियता र समूह स्वनामधन्यता थप विशेषता मात्र हो त लुसिफरको ? बाहिर खुल्न नसक्ने तर भित्र भित्र कुटिलतामा रमाउने चारित्रिक र व्यवहारिक विशेषताको पर्याय हो त लुसिफर ? अथवा लुसिफर भनेको एकप्रकारको मानसिक त्रास वा हौवा मात्र हो ? यसप्रकारका सवालहरु उठिरहेका छन यतिवेला ।

सचेतना जरुरी छ कि मानव समाजमा लुसिफर केवल बाइवल वा कुनै धर्मको पात्र होइन, चेतनाको दर्पण हो । जब जब शक्ति, पद, वा निष्ठाको नाममा विवेक गुमाइन्छ ।  नीति भन्दा स्वार्थ अगाडि आउँछ ।  निष्ठा भन्दा पार्टी, मित्रता वा लाभ प्रमुख बन्छ । राष्ट्रियता ओझेलमा पर्दछ । तब तब लुसिफर प्रभाव बढ्दै जान्छ । शान्तिपूर्ण बिरोधमा विश्वास वा भर नगर्ने, अराजकताबस शान्ति भँङ्गर्ने सहितका  हरक्षेत्रमा हुने विश्वासघात, हिंसा र दुश्प्रचारद्वारा देखाइने सत्तालालसा र उदंण्डता तथा बिध्वंसहरु सबै लुसिफर प्रभावका एकपछि अर्को आधुनिक पात्रगत रूपहरु हुन् ।

हृदयभित्रैबाट आउने र ब्यवहारमा देखिने असलपन, सदाचारी जीवन र मानवीय सम्बन्ध मानव सभ्यताका लागि स्तुत्य पक्ष हुनभने अँहकार, ध्वँश, अराजकता र मानवीय असंवेदना तथा विवेकहिनता बिनाशका पर्याय हुन । देशका हरेक राजनीतिज्ञहरुले आफैभित्र कतै जेलेन्स्कीपन त छैन भनेर आत्मसमीक्षा गर्न र समाजका हरेक ब्यक्तिले आफूमा लुसिफर प्रबृति चढेको र कुसंस्रकार बढेको छ छैन ? भनेर समाजिक ऐनामा हेर्नु भने सधै जरुरी हुन्छ । यसो गरियोभने नैतिक अनुशासन, आत्मचेतना, र उत्तरदायी प्रणाली कायमीमा भर विश्वास बढन सक्दछ । आफुभित्र रहेको लुसिफर प्रबृति र कुसंस्कारपनलाई हटाउनु वा हराउनुको अर्थ लुसिफरपनको अस्वीकार्ता मात्र होइन कि लुसिफर चरित्र तथा ब्यवहारको पहिचान र नियन्त्रण पनि हो । यहानेर ‘’सद्गुण र दुष्टताको सीमारेखा कुनै देश, वर्ग, वा सिद्धान्तबाट होइन, प्रत्येक मानिसको हृदयभित्रबाट गुज्रिन्छ’’ भन्ने भनाइलाई स्मरण गर्नु पनि जरुरी हुन्छ । जेलेन्स्की’ र लुसिफर प्रबृति स्वयं हरेक ब्यक्तिको पहिचान र ब्यक्तित्व बिकासको बाधक त हुदै हुन, मुलुकी जीवन र जगतकै हितकोलागि पनि बिनाशक हुन । त्यसैले जेलेन्स्की र लुसिफर प्रबृतिलाई त्याज्य, अस्विकार्य एवं दुत्कार्यका रुपमा लिनु मै सर्वपक्षीय हित हुने छ ।

 

२०८२।१०।२४                                                                                           ऐरावती १ धनबोट।प्यूठान

No comments:

Post a Comment