Sunday, 22 February 2026

चुनावी महोल र छान्ने आधार ?

 

प्रतिनिधि सभाको निर्बाचन घरदैलो मै आइसक्यो । मत माग्न घर घर आउनेहरुको हजुर का हजुर देखि देखाउने गरेका बिकासका गजुरहरुले सक्कली मतदाता वाक्क भइसक्ने अवस्था सम्म पुगेको छ मुलुकी चुनावी माहोल ।

यतिवेलासम्म करिब ८० प्रतिशत मतदाताहरुको मनभित्र मत कसलाई दिने र किन दिने ? भन्ने  प्रश्नको जवाफले गतिलो घर बनाइसकेको छ । उनीहरुकालागि पैसाको वालछयाल पारुन कि रक्सीको खोलो बगाउन! वाल मतलबको बिषय भइसकेको छ ।

कूल मतदाताहरुमा करिब बीस प्रतिशतमा आधा उधि जसो मतदाता नामावली गाम तिर आफ्नो छाकबास सहर वा सहरोन्मुख ठामतिरको अवस्थामा छन । त्यसैले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको घरदैलो कार्यक्रम नजिकको सहरतिर भइरहेको छ । गाउमा मतदाता नामावली भएको तर रस्ती वस्ती र एकप्रकारले मस्ती भने सहरतिरै रहेको सम्झनेहरुमध्ये कति मतदाता नामावली भएको मतदान केन्द्रमा जाने हुन ठेगान छैन । जान सजिलो पनि कँहा छर ? सहर वा सहरोन्मुख बसाइमा दैलो लाएर जानु पर्ने अवस्थामा छन। दैलै लाएर जाला ग्याँस चुलोपनि चोरिएला भन्ने त्रास छ । सुरक्षाको बन्दोवस्तै गरेर जाँउ भन्दापनि जाते आते खाते बस्ने प्रतिब्यक्ति सालाखाला कम्तिमा पनि दश हजार खर्च हुने अवस्थामा छन । त्यसैले गाँउ ठाउँका वस्तीहरुमा मतदाता नामावली भएका तर सहर वा सहरोन्मुख स्थानमा बसिआएका ब्यक्तिहरुको कमै उपस्थिति हुने हुदा कमै मतदान हुने धरातलीय यथार्थता छ ।

जबसम्म कुनै पार्टी वा उम्मेदवारको जित हार एक मतले नै हुने हो र आफ्नो एकमतको कारणले असल नीति र कुशल नेता संसदमा पुग्न नसक्ने हुन्छ । दुर्जन पुग्दा ब्यक्तित के देशै डुब्ने अवस्था हुन सक्दछ भन्ने महत्ववोध हुन सक्दैन, तबसम्म अधिक मतदानको आशा राख्नु कल्पनाको बिषयमात्र हुने छ।

चुनावमा जित्नु जसरी सजिलो छैन, त्यसैगरी जितेरपनि काम गर्नु झनै असजिलो छ। एकप्रकारले चाहे जस्तो गरी काम गर्ने असंभव प्रायः परिस्थिति रहेको छ । आफ्नो पार्टीले बहुमत ल्याउने हो होइन ? बहुमत नल्याएपनि गठबन्धनबाट सरकारमा जाने अवसर पाउने हो होइन ? सरकारमा जाने अवसर नै प्राप्त भएपनि आफूलाई प्रभावशाली शासकीय कुर्सी अर्थात मन्त्री पद प्राप्त हुने हो होइन ? लौ मन्त्री पद नै पाइएछ तर खान्गीदार र बान्कीदार पाइने पनि हो होइन ? खान्गीदार र वान्कीदार नै पाइएपनि बार्षिक बजेट बिनियोजनमा प्रधानमन्त्री,अर्थमन्त्री र वलशाली नेताहरुलाई रिझाएर वा बुझाएर आफ्नो निर्बाचन क्षेत्रमा राष्ट्रिय बजेट खन्याउन सकिने हो होइन  ?  अनेक फसादमा छन भोट माग्दै घरघर आउने उम्मेदवार नेताहरु पनि । तैपनि यो गर्छु र त्यो गर्छु भन्दै जुम्लेहात लगाएकार दन्त्यकथाहरु फलाक्दै ङिच्च दाँत देखाउनु परिरहेको छ ।

उता मतदाताहरु झनै फसादमा छन । जो आएपनि हुन्छ हजुर, पक्का हजुर, हजुर नै हो हाम्रो भन्ने हजुर,  भन्दै हजुरमा हजुर थप्नु पर्ने अवस्थामा छन । भ्याइ नभ्याइ उनिहरुका कुरा सुन्नमा बाध्य छन । कतिले त ठुला ठुला नीतिका कुरा गरेर दिनै खाइदिन्छन तर यता अघाउन्जेली बर्षौ भोट हालेपनि अघाउन्जेल पानी खान नपाएको अवस्था छ । बर्षौदेखिको हिलाम्मे बाटोको अवस्था छ । घाटीँ त के कपालका रौँ पनि डुब्ने गरी माला लाएर ताली बजाउदै कम्मर भाज्दै नाँच्दैँ आँगनमा आउने मारुने शैलीका उम्मेदवारहरु देखेर हाँसो लागिरहेको छ मतदाताहरुलाई । कति त कविता भन्दै वा गीतहरु गाउँदै मत मागिरहेका छन । हुन सक्ने नसक्ने अनेक बिकासका ट्रेलरहरु देखाउनेहरु पनि कति कति ? सामाजिक सञ्जालमा नाना थरिका नौटँकीहरु देखेर एक्लै बस्दा पनि हाँस्न बाध्य छन आजका मतदाताहरु ।

देश जलाउनेहरुलाई बिजयी बनाउने वा देश बचाउने र चलाउनेहरुलाई ? अबकी बार                     बालेन सरकार. अबकी बार गगन सरकार, अबकी बार प्रचण्ड सरकार वा अबकी बार ओली सरकार !! आदि आदि के के लाई मानेर मतदान गर्ने ? र किन तत तत हरुलाई मतदात गर्ने ? घरदैलोमा पुग्दा हामी त नयाँ भन्दै पुग्नेहरुका  नया का आधारहरु के के हुन ? के नीतीमा नया मान्ने र के थितिमा नया मान्ने ? कुन अनुहारको भर गर्ने वा कुन ब्यवहारलाई नायकीय अनुहार मान्ने ?  बुझ्ने आधारहरु नै पाइरहेका छैनन । नयाँ भनिएकाहरुको अवस्था खुट्टि देखि पत्याँएकै अवस्थामा रहे भएको कारणले पुरानैहरुमध्ये कुनै एकलाई नै छान्नु पर्ने त हैन ? अथवा चाहेजस्ता गतिलाहरु नपाइएपनि खराबहरुका बिचमा कम खराबलाई  छान्नुपर्ने त होइन ?  याबत सवालहरुका बिचमा छन आजका मतदाताहरु ! मत दिदा पनि समस्यामा नदिदा झनै समस्यामा ! तर पनि बिर्सदैनन सायदः मतदात भनेको महादान हो र परोक्ष्य रुपमा आफ्नै लागि हो भन्ने तथ्य र मर्मलाई ।

देश चलाउनु भनेको बौद्दिक हुनु वा लोकप्रिय हुनु मात्र होइन । अन्तराष्ट्रिय सम्बन्ध, संरचनात्मक निरन्तरता, ब्यवहारवादी अनुभव, सम्बृद्दियुक्त विश्वसनीय राजनीतिक एवं आर्थिक नीति, प्रशासनिक दक्षतामा मनोवोध, सादचारिता र समर्पित भाव जरुरी हुन्छ । असल नीति बिना कुसल नेतृत्व जन्मन वा हुन सक्दैन र कुशल नेतृत्व बिना असल नीतिको पनि सफल कार्यान्वयन हुन सक्दैन ।

आक्रोशको कारखानाबाट उत्पादित संवेदन वा रिसको ज्वालाले देश बनाउने त के आफ्नै पार्टी र आफैलाई समेत भस्म बनाउने डर हुन्छ । मानवीय संवेदनाहरुलाई छुन सकिएन र जनजनको मनको नीति वा नेतृत्वदायी ब्यक्ति हुन सकिएन भने घरदैलो कार्यक्रममा हजुर हजुर भन्नेहरुले नै मतपेटिकामा धार्ने हात लाएर नफर्कलान भन्न सकिदैन । 

मताधिकारको प्रयोगका बेला हरेक मतदाताहरुले सोँच्नु पर्ने र मनन गर्नु पर्ने सारभूत पक्षहरुमा-() राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षमा, ()जनजीवीकाको ग्यारेन्टी, ()विधिको शासनको प्रत्याभूति, ()अपेक्षित शान्ति बिकास र सम्बृद्दि, () गरी खाने पूर्वाधार सहितको संस्कृति, ()ब्यवहारिक शिक्षा नीति() सहज स्वास्थ्य सुविधा () आधारभूत आवश्यकताको सहजीकरणको अधिक संभाब्यता तथा () असक्तावस्थाको सहाराको सुनिश्चितता । यी मानक आधारहरुलाई मध्यनजर राखेर हेर्दा को कसलाई आफ्नो मत दिदा सदुपयोग र विवेकयुक्त न्याय हुन सक्दछ भन्ने अन्तरआत्माले मान्दछ । वस, त्यही नै हो मताधिकार प्रयोगको आधार र वस्तुवाली मानक ।      

छोरा, नाती वा आफन्तीले भनेको भन्ने आधारमा हैन, सैदान्तिक आधारमा, मानी आएको र गरिखाने जग तथा आधार भएको मत चिन्ह कुन हो ? स्वस्तिक छाप हातमा लिएपछि एकमिनेट स्वदेशभाव, जन्मेहुर्केको माटो र संस्कृति, आफू हिडेको माटोलाई सम्झेर अन्तरआत्माको विवेक प्रयोगका साथ मनपर्ने दलीय नीति र नेता छान्नु पर्छ । पछिसम्म आफैलाई र सन्तान दरसन्तानलाई हानी नहुने गरी मताधिकार  प्रयोग गर्दछु भन्ने प्रणका साथ भित्र पस्न र देश बनाउन मतदान गरेको छुँ भन्ने भाव र गौरवताका साथ स्वस्तिक छाप लगाएकोमा गर्व गर्दै मतदात कक्षबाट बाहिर निस्कन सक्नु पर्छ ।  मतदानको क्षण, गलत चिन्हमा स्वस्तिक छाप लगाउनु भनेको आफैलाई गलत परिणामको भागिदार बनाउनु हो भन्ने सम्झनु जरुरी छ । मताधिकार प्रयोग, न्याउरी मारी पछुतो नबनोस, बस यहि नै मूल मन्त्र हो ।     

  २०८२।१०।।०२                                         ऐरावती १ धनवोट। प्यूठान

  

 

 

No comments:

Post a Comment