Saturday, 4 April 2026

शुद्द मनहरुको कसीमाः लोकप्रियतावाद (निवन्ध)

 

 

कुशल अभिनय गरेका फिल्म नायक र खलनायकहरु, असाध्यै मधुर स्वरले गाउने गायक गायिकाहरु, र्यापरहरु,  कुसल केही चित्रकारहरु, केही फुटवलरहरु, केही क्रिकेटरहरु, केही विश्वसुन्दरीहरु, केही बैज्ञानिकहरुको प्रभाव सम्बन्धित जनता वा स्रोताहरुका बिचमा हुनु पनि एकप्रकारको लोकप्रियता हो । असल शिक्षक देखि कुशल ब्यवस्थापकसम्म सबै स्थानिय रुपमा नै सहि तर केही न केही लोकप्रिय भएको पाइन्छ ।

बाहिर बाहिर समाजवाद, उदारवाद, राष्ट्वाद, लोकतन्त्र, गणतन्त्र आदि सबैका केही न केही रुपहरुको लेपन गरिरहेको हुने तर भित्रभने खोक्रो अर्थात न कुनै सिदान्त, न कुनै कार्यक्रम, न कुनै विश्वासयोग्य एवं भरपर्दो नायक हुने स्थितिको पृष्ठपोषक धारणा हो लोकप्रियतावाद । लोकप्रियतावाद आफैमा कुनै सिदान्त हैन, विविध राजनीतिक सिदान्तहरुको बिचमा पस्न खोज्ने खाली खोल (इम्पीटी सेल) मात्र हो भनिन्छ । राष्ट्रवादी लोकप्रियताका कुरा रुचाउनेहरुका बिचमा पुग्दा राष्ट्रवादी बनिदिने,  समाजवादी आदर्शको बहसका बिचमा वामपन्थी लोकप्रियतावादका विशेषताहरु अगाडि सारिदिने, उदारवादीहरुका बिचमा मध्यममार्गि लोकप्रिय भाषा प्रयोग गर्ने शैली हो राजनीतिक लोकप्रियतावाद ।

रसियन इम्पायरको समयमा प्रयोग भएको ‘’नारो दिम्की’’ शब्दलाई अँग्रेजीमा पपुलिस्ट का रुपमा अनुवाद गरियो र सन १८८८ तिर अमेरिकामा स्थापना भएको पिपुल्प पार्टीले राजनीतिमा आरम्भ गरयो लोकप्रियतावाद शब्दको । साना किसानमुखी नीतिमा राजनीतिक प्रयोग भएको हो । तर राजनीतिमा लोकप्रियतावादको पहिलो प्रयोग गर्ने उक्त पिपुल्स पार्टीकै आयु धेरै लामो रहेन ।

-आफ्नो पेशा वा ब्यवसायमा यो वा त्यो सफल वा चर्चायोग्य काम गर्ने अनि त्यसैको भरयाङ् चढेर राजनीतिमा प्रबेश गर्ने लोकप्रिय शैलीलाई भजाएर राजनीतिमा पनि लोकप्रियतावादकै धरातलमा सत्ता लोकप्रियतावाद जन्म दिनेहरु धेरै भए । यस कोणबाट विश्वब्यापी राजनीतिमा हेर्ने होभने ब्राजिलका ३८ औ राष्ट्रपति जायरेबोल्सो नारो, अर्जेन्टीनाका प्रधानमन्त्री जेभिए मलाई, हँगेरीका प्रधान मन्त्री भिकंटर आर्वन आदिको नाउ लिन सकिन्छ ।   

लोकप्रियतावादको उदयका विभिन्न धरातलहरु हुन्छन । नेपालमा महावीर पुनको इन्टरनेट इनोभेटिभ चरित्र र कार्यशैलीलाई चामत्कारिक लोकप्रियतावाद भन्न सकिन्छ । यसमा कुलमान घिसिङको लोडसेडिङ अन्त्यको नारा,  हर्क साम्पाँगको श्रमवादी कोदालो-बेल्चा अभियान, आदि आदि पर्दछन । सहरीया नागरिकहरुको असन्तुष्टिलाई भजाएर चर्का भाषणहरु गर्दै भाइरल बोली र फेसबुक स्टाटसप्रियताको माध्यमबाट लोकप्रिय बन्न खोज्ने रवि लामिछाने, बालेन्द्र साह आदिलाई सहरीया लोकप्रियतावादी भन्न सकिन्छ । आशिका तामाङ आदि जस्ता कुनै न कै काम वा चरित्रबाट नागरिकको आँखा र मन तान्ने प्रयासमा रहने शैलीलाई भाइरल लोकप्रियतावादी भन्दा ठीक हुन्छ ।

आज उही कुरामा एकथोक बोल्ने तर भोलि वा केही दिन पछि अर्कै रुपमा बोल्ने, डरले हेलिकेप्टरमा चढेर अन्तै गएको कहाँ हो र ? बसाइ सरेको पो हो….. काठमाण्डौ हुदै केरुङ्सम्म रेल र कोशी गण्डकी तथा कर्णालीमा सरर्र पानी जहाजमा सवार…..शैलीका गन्थनहरु सुनाउने वा सहकारीमा पैसा राख्नेहले अब तीनमहिना भित्र पैसा पाउछन भन्ने तर आफै सहकारीको रकम हिनामिना गर्ने अभियोगमा पर्नेहरु सबैलाई बिरोधाभासी लोकप्रियतावादी भन्न सकिन्छ । विवादित नै सहि तर केही न केही भनिरहने वा ठीक होस वा बेठीक, केही न केही गरिरहनेहरुलाई उत्तेजनात्मक लोकप्रियतावादी भन्नु उपयुक्त हुन्छ । राष्ट्रवादको बुँइ चढेर उर्लने राष्ट्रवादी लोकप्रियतावादीहरु हुन वा फेसबुक इस्ट्राग्राम युटुब आदि सूचना प्रविधिका माध्यमबाट जनजनमा छरिन चाहने डिजिटलाइज्ड लोकप्रियतावादीहरु  हुन, सबैखाले लोकप्रियतावादीहरु देखिएका छन नेपाली भुमिमा यतिवेलै ।  

राजनीतिमा लोकप्रियता स्थायी र कामयामी हुन सक्दैन । क्षणिक वा केही समयको मात्र लै लै को पात्र वा चरित्र बन्न जान्छ । यसको पहिलो कारण भनेको लोकप्रियतावादको असैदान्तिक धरातल र तरल चरित्र नै हो । नागरिकका असन्तुष्टिहरु जम्मा गरेर समाधानको करिस्मेटिक रुपमा आफू नै एक मात्र सक्षम ब्यक्ति वा नायक हो भन्ने भान, खासगरी असिक्षित, अल्पज्ञानी र सुपर ह्युमन खोजीका मानिसहरुको मनमा घरजम गर्ने प्रयत्न सधै गरिरहन्छन लोकप्रियतावादीहरुले । जबसम्म राजनीति भनेको सिदान्त प्रधान बिषय हो  । सहि सिदान्त (नीति) बिना सहि नेतृत्वको जन्म हुन सक्दैन र सही नेतृत्व बिना सहि नीतिको सफल कार्यान्वयन पनि हुन सक्दैन भन्ने बुझाई आम नागरिक (मतदाता)हरुमा हुन सक्दैन, तबसम्म कुनै न कुनै खालको लोकप्रियतावाद ज्यूँदै रहिरहन्छ ।  

करिस्मेटिक (चामत्कारिक) नेतृत्वको खोजी,  नागरिकका मुद्दाहरुको नाउमा संभ्रान्त देखि सैदान्तिक धरातलका मानिसहरुको खेदो खनाई,  असँभव पनि सँभव छ भन्ने सपना देखाउने मनोरोग, स्थानिय सरकार वा ब्यवस्था बिरोधी कृयाकलापहरु, संवेगात्मकताको भजाइ (इमोस्नल ब्ल्याकमेलिँग), उग्रराष्ट्रवाद, उग्रधर्मवाद, कुनै न कुनै बिषयमा उग्र कट्टरपन्थ आदि विश्वब्यापी रुपमा देखिएका लोकप्रियतावादका साझा संस्कारजन्य मान्यताहरु हुन ।

पुराना दलहरुले केही नै गरेनन । सबै बिगारे । अब पनि केही गर्नै सक्दैनन भन्दैछन केही केहिहरु लोकप्रयितावादीहरु । तर नयाँ हुनुको खास विशेषता के हो ? नयाँ हुनुको खास खास नीति र कार्यक्रम के  के हुन ? संघीयता ठ्याक्कै ठीक कि पुरै बेठीक वा रुपान्तरित संघियता मुलुकी आवश्यकता हो ? धर्म निरपेक्ष्यता पुरै ठीक वा धार्मिक सहिष्णुतासहितको सनातनी हिन्दू राज्यको आवश्यकता हो ?  राज्यको पूर्ण पुनःसंरचना अनिवार्य आवश्यकता हो वा टालटुल गरेर चल्ने हो ? निर्बाचन प्रणाली यही नै ठीक कि प्रत्यक्ष कार्यकारी सहितको पूर्ण समानुपातिक निर्बाचन प्रणाली वा अरु कुनै ? असफल स्वास्थ्य बिमालाई सफल र धरातलीय यथार्थतामा लैजाने कार्यक्रमहरु के के हुन सक्दछन ? न्यूनतम आवश्यकताहरु सबै राज्यले पुरयाइदियोस, बढी चाहिय मात्र नागरिकले श्रम गर्ने हो ? भन्ने मानसिकताको उपचार कसरी हुन सक्ला ? जमिनको उर्बरतामा स्याबासी र बाँझोपनमा दण्डित नीति ल्याउने कि भर्सेलैमा परोस, जस जसले जे जे गर्दछ, गरोस भन्ने ? सबै तहको शिक्षा निशुःल्क कि काम गर्दै पढ्दै बढ्दै जाने नीतिको अबलम्बन गर्ने ? आमा बाउको सम्पत्तिमा हकाधिकार तर बृद्द आमा बाउको स्याहार सुसार ऐच्छिक सरह कायमै राख्ने कि बाध्यात्मक र अनुत्तरदायीहरुलाई दण्डनीय बनाउने  ?  संविधान संशोधन हुने परिवेश र संवैधानिक मान्य सँख्याको दृष्टिबाट संविधान संशोधन हुन्छ कसरी ? संविधान संशोधन नभएसम्म रुपान्तरण वा पुनः संरचना हुन्छ कसरी ? यावत सवालहरुमा सबैखाले लोकप्रियतावादीहरु स्पष्ट हुन सकिरहेका छैनन । दोधार मै छन र अलमल मै छन । यसो हुनुको मूल कारण लोकप्रियतावादको मौलिक चरित्र नै हो ।

लोकप्रियतावादको जगमा उदायर शक्तिमा रहिरहन खोज्नेहरुले लोकतन्त्रिक प्रणालीलाई नै भत्काएका उदाहरणहरु धेरै छन । कम्युनिष्ठहरुको अन्तिम सपना (धेय) साम्यवाद र पूँजिवादीहरुको अन्तिम सपना (धेय) लेसिस फेयर क्यापिटालिज्म भएजस्तै राजनीतिक पपुलिज्मको अन्तिम धेय भनेको फासिज्म हो । असैदान्तिक, कार्यक्रमविहिन, ब्यक्तिवादी लोकप्रियतावाद परिणामतः यथास्थितिवाद भन्दा टाढा जान सक्दैन । अवसरवाद र एकाधिकारवादको मलजल गर्दै अरुको अपमानमा रमाउने मात्र हो ।

घर जलाएपछि खरानीको दरिद्रता हुदैन भन्नेमा विश्वस्त हुने कि गाउँ सहर सबैतिरका जन र मन जोगाएर सुखद भविष्यको खोजीमा सधै सिदान्तनिष्ठ, ब्यवहारवादी र असल नागरिक (अगुवा) खोजी र रोजीमा लाग्ने  ? अथवा खराबहरमध्येको असल रोज्ने ? यी सवालहरुलाई मध्यनजर राख्दै समकालिन मुलुकी लोकप्रियतावादलाई जनमतको कसीमा राख्ने भनेका सर्वसाधारण श्रमजीवीहरु हुन अर्थात शुद्द जनता (प्योर पिपुल) हुन ।  

शुद्द जनता (प्योओर पिपुल) को मत समकालिन मुलुकी लोकप्रियतावादको धरातलीय यथार्थता बुझेर पर्दछकि लै लै वा हो हो कै भरमा ? फागुन २१ पछि मात्र निर्क्योल हुनेछ । शुद्द जनताको मतको परिणाम न्याउरी मारी पछुतो को अवस्था बन्न नजावस । मुलुकी राजनीतिक अस्थिरता, भ्रष्ट्राचार र धेरैतिरको अव्यवस्थाले स्थायी निकास पावस । वस यही शुभ कामना र शुभ चाहना मात्र।  

   २०८२।११।०७                                         ऐरावती १ धनवोट प्यूठान ।

No comments:

Post a Comment