Saturday, 4 April 2026

खुसीमा अपराजिता फिनलैण्ड र नेपाली आशा

 

राजधानी हेलसिन्की सहित केही सहरहरुका बाह् ठाउँमा राम्रै रकम रहेका एक एक वटा थैलीहरु जानाजान छोडियो । केहीदिन भित्र बाह्र मध्ये ११ वटा जसको तस थैली सम्बन्धित ब्यक्तिको हात परयो । थैलीभित्र सम्बन्धित मालिकको पहिचानको कागजात पनि रहेकाले पहिचान र छिटो प्राप्ति संभव भएको हो । भनिन्छ, यही प्रयोग विभिन्न १६ देशहरुमा पनि गरियो तर नतिजा फिनलैण्डको जस्तो कतैबाट आएन ।

सन २०२२ मा गरिएको अनुसन्धानात्मक एक प्रयोग थियो त्यो । त्यही फिनलैण्ड लगातार नवौ पटक विश्वमा रहेका देशहरुमध्ये सबैभन्दा बढी खुसी (विश्वप्रसन्नतामा प्रथम) नागरिक रहेको देशका रुपमा फेरि  प्रमाणित भइरहेको छ । गत बिहिबार अर्थात चैत्र १ (मार्च १९) मा प्रकाशित विश्व प्रसन्नता प्रतिबेदनमा फिनलैण्ड सात दशमलव सात छ चार अँक प्राप्त गरेर फेरिपनि सबैभन्दा खुसी नागरिक रहेको देश अर्थात खुसीमा अपाराजिता देशका रुपमा रहिरहेको छ ।

अक्सफोर्ड वेलिविङ्स रिसर्च सेन्टरले प्रकाशित गरेको उक्त प्रतिवेदनका अनुसार फिनलैण्डलाई पछयाउने देशहरुमा-आइरलैण्ड, डेनमार्क, कोस्टारिका र स्वेडेन क्रमशः पाचौँ क्रममा रहेका छन । कूल १४७ देशहरुमा गरिएको उक्त अध्ययनमा पुछारबाट पाँचौमा पर्ने देशहरुमा बोत्स्वाना, जिम्बाबे, मालबी, सिरियालियोना र अन्तमा अफगानिस्तान रहेको छ । उत्तरको चिन ६५ औ र दक्षिणको भारत ११६ औ को बिचमा नेपाल ९९ औ (.१४७) क्रममा रहेको छ । प्रतिबेदन अनुसार पूर्णाङ्क दशमा कम्तिमा पासअङ्क अर्थात चार ल्याउनै नसक्ने अर्थात पूर्ण रुपमा फेल राष्ट्रहरुको सँख्या १३ रहेको छ ।

खुसीमा फिनलैण्ड लगातार यसरी पहिलो स्थानमा किन परिरहेको छ ? नेपाल गतवर्षको खुसीको मापनमा थप एक प्राप्ताङ्कले पनि अगाडि आउन किन सकिरहेको छैन ? आउनुहोस, खुसीको मापन र मूल्याँकनको कडीमा यसतर्फ संक्षिप्त नजर लगाउँ ।

सबै ब्यक्तिहरुको जीवनको साझा उद्देश्य भनेको आफू खुसी हुनु, आफ्ना परिवारहरुलाई खुसी राख्नु र आफू वरपरको समाजको अनुहारमा आफू खुसी र सुखी देख्नु हो । यी तीन चरण वा अवस्थाहरुले क्रमशः स्थान राख्दछन । तर खुसीका पूर्व शर्तहरुमाभने मानिसहरुका बिचमा मतैक्यता पाइदैन । भौतिक सम्पन्नताले खुसी हुने कि आध्यात्मिक शान्तिले ? धन सम्पत्तिको प्रचूरताले खुसी हुने कि पारिवारिक अवस्था तथा सामाजिक रुपमा विशिष्ठ पहिचानसहितको सन्तोषी जीवनले ?  जति धन भएपनि नपुग्ने मनहरु र दिनभरिको कमाइले साँझ पेटभरि खान र न्यानो ओतमा सुत्न पाएखुसी हुने मनयुक्त जीवनीहरुका बिचको खुसीको परिभाषा वा मापन कसरी गर्ने ? धेरै अर्थमा खुसी तर सानो कुरा नपुग भए वा आफूले भनेको नभए बेखुसी हुनेहरुको जीवनमा खुसीको परिभाषा कसरी खोज्ने ?  अनेक सवालहरु आउछन यस प्रसँगमा ।

भौतिक सम्पन्नतालाई खास सिमाले बाँधिएन भने मानिस कहिलेपनि खुसी र सुखी हुन सक्दैन त्यसैगरी खानपान रहन सहन उठबस बोली ब्यवहार आदिबाट बाह्यरुपमै प्रसन्न देखिन नसक्ने मानिस पनि कहिल्यै खुसी र सुखी हुन सक्दैन । खुसी र सुखी जीवनको मापन पक्ष भनेको आवश्यक भौतिक सम्पन्नता, असल समाजिक सम्बन्ध र शारिरीक तथा मानसिक स्वस्थता तथा कमभन्दा कम चिन्तालाई नै लिन उपयुक्त हुन्छ होला ।

जैविक विज्ञानमा खुसीका लागि आवश्यक पर्ने रसायनहरु मुख्य रुपमा चार प्रकारका रहेको मानिएको छ । पहिलोः डोपामाइन (खुसी हुने रसायन), दोस्रोः सेरोटोनिक (भोक निद्रा आदिको सन्तुलनता ल्याउने), तेस्रोः इण्डोमार्फिन (पीडाहरणमा मद्दत गर्ने) र चौथोः अक्सिटोसिक (प्रेम सदभाव बढाउने) । यी रसायनहरुलाई खुसी उत्पादन र सञ्चारको दृष्टिबाट न्यूरोट्रान्स मिटरका रुपमा लिइन्छ ।

फिनलैण्डमा उल्लिखित रसायनहरु उत्पादनको धरातलिय यथार्थता बढी भएकै कारणले फिनलैण्डबासीहरु संसारको सबैभन्दा खुसी नागरिकका परिचित हुन पाएका हुन । जँहा आर्थिक आयमा ज्यादै कम असमानता छ । सार्वजनिक कोषबाट सञ्चालित अतिबिकेन्द्रिकृत निशुःल्क स्वास्थ र शिक्षाको ब्यवस्था छ । धनी र गरीबहरुको बिचको खाडल ज्यादै कम छ । जति धनी त्यति बढी करको नीतिले धनीबाट असुल भएको करको सदुपयोग गरी गरिवहरुको जीवनस्तरलाई खुसीमय बनाउने विविध कार्यक्रमहरु सञ्चालित छन । बालबच्चाहरुका लागि डे केयर र बृद्दबृद्दाहरु तथा अशक्तहरुकालागि सार्वजनिक सेवाहरु प्रभावकारी छन ।  सामाजिक आर्थिक सांस्कृतिक सम्मानमा प्रायः सबै मानिसहरु उदार र मानवीय स्वभावका छन । सबैभन्दा ठूलो प्रभाव त त्यँहा उपलब्ध स्वतन्त्रता र लैङ्कगिक समानता नै हो ।

प्रोफेसर फ्राङ्क मार्टेला आफैमा एक धनाढ्य ब्यक्ति । प्रायः सधै आफ्नै कारमा सवार हुने । एकदिन जबजब उनी कार लिएर सडकमा निस्के । आफंनै आँखा अगाडि आफूभन्दा धेरै धनाढ्य छिमेकी बच्चा काँधमा बोकेर दर्गुदै सार्वजनिक यातायातमा चढेको देखे  । त्यसदिन उनको खुसीको भित्री आँखा खुल्यो । त्यसपछि उनले पनि भरसक निजी कार लिएर सडककमा नदेखिने प्रयासको जीवन शैली अपनाए । फिनलैण्डमा सार्वजनिक यातायात कति भरपर्दो र किफायती छ भन्ने बुझ्न यही सन्देशात्मक अनुभवको पाठ पर्याप्त हुन्छ । प्रोफेसर फ्राङ्क मार्टेलाका शब्दहरुमा खुसी हुनका लागि मुख्यतः चार पक्षमा ध्यान जानु जरुरी छ । पहिलोः छिमेकीसँग प्रतिस्पर्धा होइन, सहकार्यता । दोस्रोः शान्ति, उर्जा र सन्तुष्टिको अमूल्य वरदानका रुपमा प्रकृतिमय जीवनको स्विकार्यता र प्रयोग, तेस्रोः पारिवारिक एवं सामुदायिक विश्वास र चौथोः सार्वजनिक सेवा प्रबाहमा राज्यको उदारता र सफलता ।

यहानेर ‘’ मलाई लाग्दैन कि विश्व प्रसन्नतामा फिनलैण्ड सदाबहार अग्रणी खुसी राष्ट्र हुनुमा कुनै जादूगरी मन्त्र छ, यसको प्रमुख आधार भनेकै स्वतन्त्रता,समानता र न्यायतर्फ अग्रसर भइरहने समाज नै हो भन्ने फिनलैण्डका राष्ट्रपति …. को भनाइ जति मनन योग्य छ । यसका अतिरिक्त फिनिसहरु धेरै सन्तुष्ट र आत्मविश्वासी हुनु, आफ्नो प्रणाली, आफ्नो देश र सरकारप्रति पूर्ण विश्वासी हुनु यसको भित्री कारण हो ।

फिनलैण्डले विश्वप्रसन्ताको ताज पहिरिइ रहन सक्नुको खास कारण भनेको खासमा राज्यको असल नीति र कुशल नेता तथा सक्षम राष्ट्रसेवकहरु हुनु मै हो । नेपाल ९९ औ बाट एकैपटक दशस्थान भित्र आउन त नसक्ला । राम्रो गर्दै जाने हो भने २३ औ क्रमबाट एकैवर्षमा चौथो बन्न सफल भएको कोस्टारिकाको इतिहास उछिन्न सकिदो रहेछ भन्ने गतिलो शिक्षा पनि यसैवर्षको नतिजाले दिएको छ । संविधान र कानून सँशोधन सहितको समग्र राज्य पुनः संरचनातर्फ जबरजस्त रुपमा अगाडि बढयोभने र गरिखाने संसकृतिको दबाबपूर्ण बिकास गर्योभने नेपालीहरुमा पनि क्रमशः अगाडि बढ्दै सर्वाधिक खुसी हुने नागरिकहरुको दशौक्रम सम्म कसो नपुग्लान ? सकारात्मक आशाका  साथ आ आफ्नो क्षेत्रमा सक्रिय सक्रियता देखाउनु नै एकमात्र सुमार्ग हो ।

 

२०८२।१२।८                                             ऐरावती १ धनवोट । प्यूठान

No comments:

Post a Comment