चुनावी सन्दर्भमा पुराना दल ठीक कि नयाँ दल ठीक भन्ने बहस चलिरहेको छ । पुरानै ठिक हुन भने के कति आधार र कारणहरुबाट ठीक हुन ? पुराना मध्येमा पनि सबैभन्दा ठीक दल कुन हो ? त्यसको मानक आधारहरु के के हुन ? भन्ने एउटा प्रश्न । पुराना ठीक भएनन, नयाँ छान्ने वा मान्ने हो र नयाँ नै ठीक हो भन्नेहोभने त्यसका मानक आधारहरु के के हुन ? नयाँ भन्नेमध्येमा पनि सबैभन्दा नयाँ कुन हो र त्यही सबैभन्दा नयाँ नै ठिक छ भन्ने मानक आधारहरु के के हुन ? अर्को प्रश्न ।
यी सवालहरु यतिवेला चर्चा वा
बहसमा आएका, एकप्रकारले समाजिक द्वन्द बढाएका र अधिक मानिसहरुलाई
उद्देलित पारेका प्रमुख सवालहरु हुन । यी सवालहरुमा हुने बहस आगामी फागुन २१
गतेसम्म घनिभूतरुपमा चलिरहने छ । त्यसपछि पनि माथि उल्लिखित सवालहरुको मृत्यु हुने
छैन । यो वा त्यो कोणबाट तिनै मर्महरु छाम्दै जागिरहने,
उठिरहने छन ।
जन्म अर्थात दर्ताको आधारले
नयाँ दल हुने हो (?) भने सबैभन्दा पछि जन्मे (दर्ता
भएको) को दललाई नयाँ दल भन्नुपर्ने हुन्छ । जन्मने र मर्ने (बिघटन
वा खारेज हुने) दैनिकीका रुपमा रहेको नेपाली राजनीतिक धरातलमा हरेक चुनावी
प्रकृया आरम्भको पहिलो दिन दर्ता हुने दललाई नयाँ दल भन्नुपर्ने हुन्छ । अघिल्लो
चुनावमा नयाँ भनिएको दल पछिल्लो चुनावमा पुरानो हुन जान्छ ।
दलको नाउँ फेरेर नयाँ दल भइन्छ
भन्नेहो भने -कामीकाले र कालेकामी, सेतेदमै र दमै सेते, जैसी-बाहुन
र बाहुन-जैसी, गुरुङ्-मगर
र मगर-गुरुङ्, राई-
लिम्बु र लिम्बु-राई, जस्ता शब्दावलीहरु जस्तै
धेरै नाउँहरु लाम लागेर आउनेछन । कमा,फुलिस्टप,
ह्र्स्व, दीर्घ फेर्दै नयाँ नयाँको दाबी गर्नेहरु हुनेछन ।
नयाँ दल दाबीको अर्को
भ्रष्टिकृत दाबीआधार बनिरहेको छ -उम्मेदवारीमा स्थान परिवर्तनको
बहाना । एकपटक झापाबाट उम्मेदवारी दिने, अर्को पटक कञ्चनपुरबाट, अनिफेरि
रुपन्देही पुग्ने, अनि अर्को पटक मुस्ताङ पुग्ने
अनि भन्ने म त नयाँ !? यसैगरी दशकौँ दलको नेतृत्वमा
रहेको ब्यक्तिलाई हटाएर म नयाँ नेतृत्व आएकोले नयाँ दल भन्दै दाबी गर्नेहरु पनि छन
। यसरी नयाँ दल र नयाँ नेता वा नयाँ उम्मेदवार हुँ भन्दै दाबी गर्नेहरुले एकपछि
अर्को आधार खोज्ने र मतदाताहरुलाई भ्रमित बनाउने आशँका सधैँ रहनेछन । शब्द फेरेर
वा दलको अन्तराष्ट्रिय सम्बन्ध हेरेर वा फेरेर वा दलभित्रका काला-गोरा, चुच्चे-थेप्चे, अग्ला-पुड्का, आदि
आदि सन्दर्भहरु जोडेर नयाँ भन्ने दाबी गर्नेहरुपनि देखिने संभावना रहन्छ ।
प्रतिज्ञापत्र वा घोषणा पत्रमा
उल्लिखित शब्दावलीहरुले मात्रैपनि नयाँ दल मान्न कठीन प्रायःअवस्था छ । अघिल्लो
चुनावको घोषणापत्रमा रहेका बाचाहरु के के पुरा भए र के के भएनन ? ब्यवहारिक
परिणामका आधारमा प्रतिशतमै हेर्दा पास अँक आउनेसम्मको सफलता मिल्यो कि फेल नै भए ? मौलिक
वा लिखित शब्दले पनि नयाँ दल हुने योग्यता कायम राख्दैन भन्ने तथ्य बुझनकालागि त्यही
वास्तविक अवस्थालाई हेरे पुग्दछ ।
खासमा नयाँ दल हुनका लागि
चाहिने मानक (आधार)हरु के के हुन ? भन्ने
सन्दर्भमा हेर्दा घोषित वा मान्य मानकहरुको आधारमा मात्र नयाँ भन्नु वा नयाँ
मान्नु स्वभाविक हुन्छ । अन्यथा माथि भनिएजस्तै नयाँ भन्ने शब्द मतदाताहरुलाई
भ्रमित पार्ने माध्यम मात्र बन्न जान्छ । मतदाताहरु, खासगरी अनपढ,
असहाय, विश्लेषण वा सहि मुल्याङ्क गर्न नसक्ने, अति
गरीब, अति असहाय, अति भौगौलिक बिकट अवस्थितिमा
रहेका आदिलाई अलमलाउने वा भ्रमित पार्ने शब्दजाल मात्र हुनेछ नयाँ वा नयाँ दल शब्द
।
दलको नाउँ नै समग्रतामा नयाँ छ
कि छैन ? प्रारम्भिक मानक हुन सक्दछ । दलको नीती (विधान)
मा नयाँ नयाँ व्यवस्थाहरु छन कि छैनन ? नेतृत्व निर्माणको कार्यक्रमिक
आधारमा नयाँपन केही छ त ? दलभित्रको छलफल प्रकृयामा लोकतान्त्रिक अभ्यास वा
जनवादी केन्द्रियताको वस्तुवादी प्रयोगको निश्चयात्मक मानक अभ्यासहरु के के र कहाँ
कहाँ देखिए ? देश र जनताको सेवामा लागिरहेको निरन्तरताको प्रमाणिकतामा छ
कि पेट पाल्नका लागि देश नै छोडेर, अझ देशकै नागरिकता र राहदानी
त्यागेर मुग्लानिएको वर्षौपछि फर्केर राष्ट्रवादीताको कल्पित स्वरमा बोलिएको बोलीभित्र
राष्ट्रवादिताको विश्वास गरेर नयाँ मान्ने कि नमान्ने ? फगत
पेट पाल्नका लागि देशै त्याग्ने मनोदशाभित्रबाट मुलुकी समस्याको निकास खोज्ने सञ्जिवनीको
अँकुरणको आशा राखेर कसरी नयाँ नयाँ भन्न वा बन्न सकिने हो ?
दलभित्र कार्यकर्ता सार्वभौम हुन र मुलुकभित्र आम जनता सार्वभौम
हुन भन्ने मानकलाई स्विकार गर्नेहो भने दलभित्र कार्यकर्ताको बिचारको सुनुवाई र
मतको सम्मानको वस्तुवादी अभ्यास बारेमा ब्यबहार र कार्यक्रमहरु केही देखिए वा
देखिएनन ? उम्मेदवारी छनौटमा प्राइमरि इलेक्सन वा अन्य कुनै नयाँ
प्रकृया त भन्ने तर अभ्यास गरियो कि गरिएन ? यथार्थतामा त्यो आर्थिक
सँकलनको मार्ग मात्र हुन गएर पुरानै टीके प्रथामा आधारित उम्देवार छनौट प्रणाली
प्रभावित त रहेन ? संसदमा पुगेर पुरानै दलसंग सत्ता साझेदारी गरी
मन्त्री पदमा रहने तर नया दलको दाबी गर्नु ? स्वभाविक वा अस्वभाविक ?? एउटा
पार्टीमा मान दाम र शान अधाउन्जेल पाएपछि र बर्षौ रमाएर बसेका तर पछिल्लो चरणमा
टिकट नपाएर अर्को पार्टिमा आएकालाई नयाँ भनिने होभने नयाँ शब्द नै लज्जित हुने छ ।
यसैगरी दल स्थापनादेखि दलको आन्तरिक सङ्कट वा बाह्य दबाबमा ज्यान फालेर लागेका
कार्यकर्ताहरुलाई पाखा लगाएर रातारात बाहिरबाट आउनेलाई शिर्षस्थानमा पाउदा नयाँ
भनिने होभने शिर्षको पर्याय सगरमाथा नै शर्मित बन्ने छ ।
वस्तुतः नयाँ मान्यता पाउने
वास्तविक र आखिरी मानक भनेको देशको मुहार फेर्ने बोली (बचन)
मा बिश्वास लिन सकिने धरातलीय यथार्थताको खोजी हो । नेतृत्वको चरित्र र ब्यवहारले
बहुस्वीकार्यतालाई प्रमाणित गर्नु हो । संविधान संशोधन र निर्बाचन प्रणाली बिना
शासकीय सुधार असंभव छ । उहि संविधान, उही निर्बाचन प्रणाली,
उही कार्यशैली र मानसिकतामा रहने, त्यही धरातलीय यथार्थतामा
निर्बाचनमा होमिने अनि नयाँ नयाँ को दाबी गर्ने (?) कति विश्वासनीय बन्न
सक्दछ । नयाँ भनेर पत्याउलाने कसरी ?
यही फसादमा छन समकालिन नेपाली मतदाताहरु !
उस्तै कार्यक्रम उस्तै चरित्र र ब्यवहारको नेतृत्व मात्र होइन अझ भ्रष्ट र अस्पष्ट
नेतृत्व अनि नयाँ दलको दाबी ? स्वीकार्य हुन्छ सचेत जनमतलाई
।
यसप्रकारको धरातलीय
यथार्थतालाई देखेर को नयाँ, को पुरानो ? भन्ने भाउन्नमा परेर बसेको
बेला वाल्यकालको एउटा घटना याद आयो ।
खेतीपातीका लागि बाउ आमा तल्लो
डाबर र आफू लेक (प्यूठान-धनवोट) बसेको
समयमा बेसीबाट नयाँ ठेको आइपुग्यो घरमा । ततकाल घरेलू कामदारका रुपमा रहेका आले
माहिलालाई अब त त्यही नयाँ ठेकोमा दही जमाएर मोही पारेर खाने भन्दै त्यसैमा राख्न
भनियो दुध । भोलिपल्ट मोही पारियो । तर घिउपनि राम्ररी लागेन र मोही पनि के के
जाति गन्हाएको जस्तो लाग्यो । खानै सकिएन । पारेको मोही बाख्रालाई खुबाइयो । नयाँ
ठेको पठाएपनि पुरानै किन प्रयोग गरेका भन्लान कि भन्नेपनि डरले ! दुइतिन
दिन पुरानै ठेको सोमरे (अभ्यासमै रहेको)को
बेला बेसीबाट बेसीबाट बाउ आएपछि समस्या राख्दा बल्ल थाहा पाइयो कि नयाँ ठेको भनेर
मात्र हुदो रहेनछ । नयाँ पनि पक्का काठ अर्थात गिठी काठ कै हुनुपर्ने रहेछ । त्यो ठेको
परेछ खमारी काठको । गिठीकै भएपनि नयाँ नयाँमा दुध जमाउँदा राम्ररी नजम्ने र पहिला
पहिला मोही पार्दा केही केही गन्हाएजस्तो हुने । खान नमिल्ने । केही समय सजाय (प्रयोग
गरेपछि) पछि मात्र नयाँ ठेकोले काम गर्ने रहेछ । काठको जात नै अगतिलो
भएपछि कस्को के लाग्दछ र !? प्रयोग गर्दै जाँदा फुटेर तीन
टुक्रा भएको थियो त्यो खमारीको ठेको ।
त्यस्तै त्यस्तै लागिरहेको छ नयाँ
दल दाबीको सन्दर्भ पनि । नयाँ भनेर मात्र राम्रो र कामयाबी हुदैन । परीक्षण पक्का
भएपछि मात्र नयाँ स्विकार्य हुन्छ । नयाँ भनेर मात्र हुदैन । गतिलो काठ (नीतिमा)
हुनुपर्छ र ब्यबहारबाट खारिएको हुनुपर्छ । अर्थात साच्चै काम लाग्दछ भन्ने
प्रमाणित भएको हुनुपर्छ । नत्र दुधको नाश र मोहीको पनि नाश !
माथि उल्लिखित मानक आधारहरुमा
पासअँक पनि पाउन नसक्ने दलहरुलाई नयाँ दल भनेर अमूल्य मत राखिदिदा परिणाम हात
लाग्यो शुन्य त हुने हैन अर्थात श्रम,समय,
चिन्तन र अमुल्य मत कै नाश!! हुने त होइन ? समस्त
मतदाताहरुले बुझ्नुपर्ने र मतदानको दिन मनन गर्नुपर्ने नयाँ
दलहरुको मानक आधारहरु हुन ।
बहुदलीय लोकतान्त्रिक
ब्यवस्थामा नयाँ दल खुल्नु वा धेरै हुनु वैधानिक रुपमा स्वभाविक मानिन्छ तर
ब्यवहारमा व्यवस्थापिकामा धेरै दलहरु पुरयाउनु भनेको राजनीतिक अस्थिरतालाई बढावा
दिनु हो । मुलुकी हितका नीति पारित हुन नसक्ने ब्यवस्थापिका बनाउनु हो । कुनै एक
बलियो दल सरकारमा र कुनै अर्को वलियो दल प्रतिपक्षमा रहने अवस्था भएन र च्याउसरी
दलका म्याउसरी र झ्याउसरी प्रतिनिधिहरुको उपस्थिति धेरै भयोभने त्यो ब्यवस्थापिकाले
कामै गर्न सक्दैन । परिणामःनयाँ भनिएका दलहरु आफैमा टुक्रा टुक्रा हुने र अन्तमा
पुर्पुरो समाएर आ-आफै रुने स्थितिमा पुग्दछन । त्यसका लागि अन्त कतै
हेर्न वा बुझ्न पर्दैन । बिगत दश वर्षको नेपालकै अनुभवी अभ्यास काफी छ । बारम्बार
मध्यवधि निर्बाचन र बारम्बार नयाँ नयाँ दलको दाबी यहाको धरातली यथार्थ बन्नुको
कारक यही नै हो ।
त्यसैले जुन दललाई मत दिने हो,
त्यसको अन्तरकुन्तरको पहिचानका साथ संसदमा परिणाम मुखी काम गर्न सक्ने मुल्ययुक्त
उपस्थितिका लागि मतदातामा सचेतनता असाध्यै जरुरी छ । बेलैमा बिचार पुगेनभने फेरि
दुई बर्षपछि मध्यावधि !? मध्यावधिका मध्यावधिको परिणाम
व्यवस्था अर्थात लोकतान्त्रिक गणतन्त्रकै असफलता !
२०८२।११।०८ ऐरावती
१ धनवोट। प्यूठान
No comments:
Post a Comment