राजनीति पढेको र अलिअलि बुझेको मात्र तर नगरेको बिषय क्षेत्र । जीवनको ४४ वर्षजति सरकारी मानो खाएर राजकीय छानोकै ओतमा बितेको पेन्सनले बाँचिरहेको ज्यान र र चलिरहेको जिन्दगी । राजनीतिक क्षेत्र मात्र के न्यायिक क्षेत्रपनि भाँड मै जावस भनेर बसे हुने ! तर भित्री चेत र चेतना र बुद्दिजीवी भनाउदो नागरिक हैसियत आदिले त्यसो भन्न वा त्यसो गर्न नदिने । एकपछि अर्को टेन्सनका टेन्सन । एकनिमेष चुप लागेर बस्न खोज्यो वा दिउसै सुत्न खोज्यो कि भित्री हृदयले उठ उठ भनेर घोँचिहाल्ने । त्यसैले चरम बेथितिहरु देख्दा र सुन्दा मष्तिस्क जलिरहन्छ र कलम चलिरहन्छ । कति बाहिर आउँछन, कति ल्याइटपका फोल्डरहरुमै हराउछन ।
यहीवेलाको परिस्थितिपनि त्यस्तै भएको छ । अझ भन्ने होभने लेखन यात्राको करिब ४० वर्षे अवधिमा सबैभन्दा असन्तुष्टि, छटपटी र पेचिलो समय बनेको छ समकालिन समय । दोष आफ्नै समेतको हो भन्नेपनि लागिरहेको छ । समयमै पुनः संरचनाका लागि बिद्रोह गर्न नसकेको र केवल शब्दहरुबाट खबरदारी वा अनुनयन आदि गरेको बिगतलाई सम्झदा । करिब छ घण्टा झोसिएको आगोले मुलुकी ऐतिहासिक धरोहरहरु र मुलुकी धनलाई खरानी बनायो । ब्यक्तिगत सम्पत्तिहरुमा पनि झोसियो आगो । लुटपाट भयो । कठै! नेपालको राजकीय शक्ति, रमिते हुनुबाहेक केही हुन सकेन ।
चौबिस घण्टा अगाडि उर्लने र कुर्लने बा र मुस्कुराउने भाउजुहरु जैविक रुपमा सम्म खरानी हुनबाट बचे, नैतिक भौतिक समाजिक सबै सबै दृष्टिबाट खरानी नै भए । तिनिहरुका छोरा नातीहरु, भाउजु र भाउजुका देवर देउरानीहरु, तिनैका गासे आसेपासे र अन्धभक्तहरु प्रायः सबै लुकेका छन । ति मध्ये ठूला हौ भन्ने केही त सुरक्षात्मक आवश्यकताका बन्दीका रुपमा छन । सानाहरुपनि घरको कोठा वा घरबारीकै वरपर मात्र छन । घरबाट निस्कनै सकिरहेका छन। मन खोलेर बोल्न नै सकिरहेका छैनन । बाहिर कर्फयू लागेपनि खुकुलो छ परिवेश । मान्छेहरु हिडीरहेका छन सडकमा । दिनचर्या सहज रुपमै चलिरहेको जस्तो भान भइरहेको छ । तर दुइदिन अगाडिसम्मका अधिकारवालाहरु भित्री हृदयमै कर्फ्यू लागे सरहका भएका छन । यस्तो मौनता त्रास र अकर्मण्यता किन ? आर्श्चय लागिरहेको छ ।
अर्कोतिर बा वा भाउजु वा अन्य विविध प्राधिकरण ब्यक्तिगत अधिकारका साथ सरह सम्मान गरेका र कतिपय सन्दर्भहरुमा ज्याननै होमेका आफ्ना समर्थकहरु दनदनी आफ्ना घरहरु जलिरहदा वा आफूहरु लतारपछारमा परिरहदा पनि कोहि देखा पर्न नसकेकोमा र आफूहरु मात्रै झ्याँइकुटीमा परेको सम्झेर कोठरीहरु भित्रै पनि टाउको ठोकेर बसिरहेका हुनुपर्छ धेरै अगुवाहरु ! सचेत मन र सकृय जीवनको अर्थमा यसरी वा त्यसरी बस्नु रहनु र बर्बताहरु सहनुको किमार्थ बुद्दिमानी मान्न सकिदैन । सुधार वा परिमार्जन वा रुपान्तर आ आफैभित्रबाट गर्नु गराउनु जरुरी छ ।
फुस फुस सास छोडेर बाँचिरहेको जिन्दगीलाई मात्र जिन्दगी नमान्ने होभने जीवन भरभरउदो बनाउन र भरभर वलीरहनका लागि गर्नुपर्ने धेरै काम कुराहरु देखिएका छन यतिवेला । त्यसमध्ये बमबार्डिङ द हेड क्वाटर एक हो ।
आफू आबद्द दलको रणनीति, कार्यनीति र नेताहरुको कार्यशैली समकालिन द्वन्द र बिग्रहको मूल कारण हो भन्ने पक्षलाई आत्मसात गर्नु पहिलो आवश्यकता हो । यस घडीमा आत्मआलोचित हुदै जाग्नु र आफूभन्दा कनिष्ठहरु वा कम बुझेकाहरुलाई जगाउनुको बिकल्प छैन । पहिले आफू शुद्दिनु र सुध्रिनु पर्ने र त्यसपछि आफू आवद्द सँघ सँगठन संस्था आदिलाई सुधार्नु पर्ने र आवश्यकतानुसार पुनःसंरचना गर्नुपर्ने समकालिन घटनाक्रम र परिवेशको शिक्षा हो । त्यसैले दलगत आवद्द चेतहरुको ध्यान बमबार्डिङ द हेडक्वाटर्स शैलीतर्फ जानु पर्छ । सहज सर्भाइभल (बाच्न) का लागि भरभराउदो जीवनका लागि भन्ने यो पङ्तिकारको प्रारम्भिक रुपमा यही बुझाई रहेको छ ।
यसलाई माउचाइँको चल्लाबाठो पनि भन्न सक्लान अथवा चिन्नु न जान्नु ढुँगाले हान्नु पनि भन्लान । जे भनुन र जसरी लिउन । ब्यक्तिगत रुपमा त्यसमा कुनै चिन्ता, छैन तर चिन्ता उच्चतम वलिदानीबाट प्राप्त लोकतन्त्रको अन्त्यको त्रासको मूल्यमा रहेको छ । चिन्ता, शान्ति र न्यायको बढ्दो अभाव र चढदो अराजकतामा गएको छ । चिन्ता, आर्थिक समुन्नतिको हिसाबले मुलुक कम्तिमा बीस बर्ष पर धकेलिएर गयो भन्नेमा छ । चिन्ता, गृहयुद्दको भुमरिमा देश जाने र परचक्रीहरुले नेपाल आमाको अस्मिता लुटेर लानेसम्मको कठीन दुर्दनात्मक क्षण आउने होकि भन्नेमा छ ।
जले राष्ट्रिय धरोधरहरु र कारागारबाट आफूखुसी चले (भागे) स्वयं गृहमन्त्री वा सचिव भएकाहरु! बन्दी र कैदीहरुलाई हिरासत वा कारागारबाट निकालियो र न्यायालयहरु जलाउन तिर पठाइयो ? यहाभन्दा ध्वस्त हुने अब केही ठाँउ र सन्दर्भहरुरु छन र ? मन,धन र जन जलिसकेपछि बन जल्नुमा के पिर ? लाजपनि लजाइरहेको र पिर पनि पिर मानिरहेको समय समकालिन समय। त्यसैले सबै बिचार र भावनाका मान्छेहरु आ-आफ्नो बिचार र भावनाभित्रबाट राष्ट्र,राष्ट्रियता,स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि उठ्नुपर्ने र जुट्नुपर्ने अनिवार्य आवश्यकता भएको छ । यसको पहिलो कदम आ-आफू आबद्द दलहरुको मृतः प्राय अवस्थामा पानी छर्किनु र ब्यूँझ्याउनु हो भने जतिसक्यो चाँडो बमबार्डिङ द हेडक्वाटर मान्यता अगाडि सार्नु हो ।
५ अगस्ट सन १९६६मा चीनमा माओत्सेतुङगले गरेको बमबार्डिङ द हेडक्वाटर को सन्दर्भ शैली र आवश्यकतासँग यहाको परिवेश नमिल्ला । लि साओचि र देङ्गसियाओ पिङलाई प्रहार गर्दै माओले लिएको उक्त नीति हुबहू याँहा नमिल्ला । जलिरहेका यहाँका धरोहरहरुमा त्यहाको जस्तो सांस्कृतिक क्रान्तिको नाउमा थप जल्ने अवस्थातिर लैजानु पर्छ भन्ने पनि नबुझौ । तर समय दलको नीति नेता र नेतृत्वको कार्यशैलीमा बज्रप्रहार गरी नँया ढँगले अगाडि जानु पर्ने समय हो भन्नेपनि बुझिएन भने आफैलाई नबुझेको हुनेछ । आउनुहोस थप मुलुकी क्षयीकरण हुनबाट जोगाउने र पार्टी शुद्दिकरण र सबलीकरण गर्ने उपायहरुको अर्थमा बमबार्डिङ द हेडक्वाटर्स का मुख्य बूँदाहरु तिर लागौः
१) पार्टिले लिएको रणनीती, कार्यनीती र नेताहरुको कार्यशैलीको सम्बन्धमा आ आफ्ना टाउकामा तातो खरानी हालेर समीक्षा, पुनराबलोकन र आवश्यकतानुसार पुनःसंरचना ।
२) पुनः सरंचनाको ततकालीन आवश्यकतावोधका साथ विशेष परिस्थितिमाः विशेष महाधिवेशन आव्हान र व्यवस्थापन ।
३) हरेक तहको सँगठनमा कम्तिमा समाबेशियुत एकचौथाइ महिला, एकचौथाइ युवा, एकपदमा एक व्यक्ति अधिकतः दुई कार्यकाल र ७० वर्षे उमेर अनिवार्य अवकाशको नीति आदिलाई केन्द्रमा राखेर विधान संशोधन ।
४) २०४६ पछिका सबै चरणमा अधिकार प्राप्त पदमा पुगेकाहरुको सम्पत्ति शुद्दिकरण सहित भ्रष्टाचार र साँस्कृतिक पतनको समीक्षा र अन्तरपार्टी मूल्याँकन र दण्ड ब्यवस्थापन ।
५) नेप वेवी (ठूला पदाधारीहरुका छोरा छोरी र आफन्तहरु स्वतः ठूला हुने वा ठूला ठूला अवसरहरु तिनैले पाउने) नीतिको सख्त बिरोधकासाथ नेप बेबी प्रभाव निषेध र क्षमताको सम्मान नीति र व्यवस्थापन ।
६) पार्टी समर्थक जेन-जे (१३ देखि २८ वर्ष उमेरका) हरुका लागि विशेष संयन्त्र, विशेष प्रशिक्षण र समुचित अवसरको स्थान व्यवस्थापन ।
७) प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रदेश समन्वय समिति मात्र रही (नाम मात्रको) स्थानीय तहलाई थप अधिकार सहितको सवलीकरण, विदेशमा रहेका नेपालीहरुलाई मताधिकार, हरेक तहका राजनैतिक पदहरु अवैतनिक, सबै क्षेत्रका उच्च पदस्थ पदहरुको पुन नियुक्ति र न्यायिक पुनः संरचना सहितको शासकीय पुनः संरचना, बेरोजारीको संवोधनका लागि सार्वजनिक निर्माण सेवाको अनिवार्यताका साथ कामको आधारमा पारिश्रमिक नीति आदिलाई मध्यनजर राखेर संविधान संशोधनमा अधिकतम लचकताका साथ सहमतिको वातावरण निर्माण दबाब र कार्यान्वयन ।
मूल रुपमा उल्लिखित बाहेकका धेरै बिषयहरु छन जसलाई दलगत रुपबाट संवोधन र व्यवस्थापनको यात्रा आरम्भ गर्न बिलम्ब भइसक्यो । बुद्दिजीवीहरुको संगठीत रुप र खबरदारीपूर्ण आवाज नहुनु त झनै लाजमर्दो भइसक्यो । चौरासी पुजाको नजिक पुगिरहेकी, सुशिला कार्की रुपी क्षमता र सबै दृष्टिबाट निबृत अनुहारलाई, नवयुवाहरुको प्रतिनिनिध बनाएर, निमित्त नायककीका रुपमा पाखुरामा समाएर उचाल्दै, अगाडि सारेर, इशारामा मुलुक जाने खतरनाक पाइला दैलोँ अगाडि देखिसकेपछि अरु के का लागि र कतिदिनका लागि कुर्ने ? भुटानिकरण वा प्रान्तियकरण ! सम्मको यात्राका लागि ?? नेपाल नामक मुलुक रहन दिने कि भाँड मै जावस भन्ने आ_आफ्नो बिचार र क्षमता !! को कुरा हो । यस्तो लागिरहेको छ कि, वेअर्थको कलम को रोदन !? भइदियोस यो आलेख बरु ।
बिलम्ब भयो र समुचित रुपमा यहाको शासन प्रशासनले गतिलिन वा सम्हालिन सकेन भने अर्को तरिका (ल्पान बि) अर्थात शहरीया थप बिग्रह र विशेषतः तराईमा हुन सक्ने पुनःबिद्रोहले गृहयुद्दमा नेपाल जाने (लाने) सपना दिउँसै देखिरहेको छ यो एकप्रकारले पापी कलमले । थप विग्रहको परिवेशमा संयुक्त राष्ट्रसँघको नाममा बाह्य सेना भित्रिने त्रासले क्षतबिक्षत र थरथर छ भित्री हृदय !?।
यो सपना वाइयात् भइदियोस । यस्तो गलत र असम्भव सपना देख्ने यो कलमलाई केटाकेटी पन वा कुबुद्दिको उपजका रुपमा परिणत गरिदिन दलिय धाक र नेतृत्वका रबाफधारीमा सबिनय निबेदन । सम्बन्धित कार्यकर्ताहरुमा बमबार्डिङ द हेडक्वार्टरका लागि सादर अनुनयन मात्र ।
नजिकबाट हेरे बुझेको प्राणीमध्ये एक भएर होला, ब्यक्तिगत रुपमा विश्वस्त हुन सकिरहेको छैन यो कलम, सम्माननीय सुशिला कार्कीबाट सङ्कटपूर्ण अवस्थामा रहेको देशको वर्तमानले सुशासन शान्ति र न्यायको दिशामा गति लिन सक्ला भन्ने। कुन्नी किन हो त्यस्तो ठान्नका लागि श्रमीत (लज्जित) भइरहेको छ भित्रभित्र ? । ऐलेलाई फेरि पनि यो कलम गलत साबित भइदियोस मात्र भनौ । कहिले काँही यस्तो पनि लाग्दछ कि हुटिटयाउँले आकाश थाम्न खोज्नु नै किन ?
यी सबै परिवेश र संभावित अवस्थाहरुका बारेमा पूर्वाआँकलन गर्न नसक्ने, बिचार र भावनाका पवित्र मनहरुप्रति सादर सम्मान । सुशासनका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति सहितका मागहरुका साथ सडकमा आउदा साहदत प्राप्त गर्न बाध्य जेन जी नवयुवाहरुमा हार्दिक श्रदान्जली र घाइतेहरुमा सुस्वास्थ्यको कामना।
२०८२ भाद्र २६ प्यूठान, ऐरावती १ धनबोट
No comments:
Post a Comment