नेप्का अनुशिक्षणः
अनुभूति र परिमार्जनका
केही सन्दर्भ-क्षेत्रहरु
डिल्लीराज आचार्य****
उत्सुकता,
खटन वा उत्प्रेरणा,
जे जसरी भएपनि
पाँच दिन अघि
नेप्काको यो हलमा आइयो ।
आधा शताब्दिभन्दा बढी,
गुनिला मनहरुसँग सुसँगत
गर्न पाइयो।
समयले अर्नि खाने बेला
भएपनि
केही छाक भातै बजाइयो ।
हँसिला साथीहरुका रसिला
आँखाहरुसँग
आँखा जुधाइयो,
नबझ्ने ल्पाष्टिकका
काँटा चम्चाहरुलाई
बज बज भन्दै बजाइयो ।
बिचरा दुब्लो कपि !
एकैदिनमा सकियो
लाजै नमानी पटक पटक
मागियो ।
हामी प्रशिक्षार्थिपनि
कम्ताका रहेनौ र भएनौ
हामीमध्ये केही जिन्स
पैन्ट र टिसर्टमा आइयो
झण्डै मिनिस्कट र
लेगिजहरु पनि पाइयो।
बितेका पाँच दिन,
जे जे भयो राम्रै भयो ।
असाध्यै सम्झनाको बिषयमा
रुपमा धेरै रहयो
७० वर्षे हजुरबुबालाई २५
वर्षे नातीले पढाउदा
दङग नहुनुपनि कसरी ?
कुरा कति बुझ्नु र कसरी
बुझ्नु ?
मान्छे होइनन जस्तो गरी
बोल्दिन्छन एआइले जसरी !
चलाउछन रिमोट टयाप,
टयाप !!
पापी मोरो रिमोट चल्दैन
उनीहरुको के जान्छ ?
स्क्रिन मै हान्दिन्छन
ढयाप ढ्याप !!
ज्ञान र क्षमता न हो,
प्रशिक्षक बनेर बुहारी
वा पनाती नै पनि आउन सक्दछन
यँहा त केवल बाउ छोराको
संयुक्त प्रस्तुति मात्रै पाइयो !?
बिगत पाँच दिनमा,
यहा यस्तै यस्तै भयो
जे जे भयो राम्रै भयो,
सम्झनाको तरेलीमा धेरै
थोक रहयो
मिलन,
पुनर्मिलन, हाँसो ठट्टा,
चिन्ता सुलह सबै सबै भयो
सबैभन्दा राम्रो,
मध्यस्थ हुने योग्यता
आर्जन भयो
मध्यस्थको रुपमा हामी
सबैको नाउ
रित पुरयाए नेप्काको
रजिष्टरमा दर्ज हुने भयो
हामी सबैको सबै सँग
मात्र होइन
नेप्कासँगको सुसँगत
अबिस्मरणीय रहयो
नेप्काकर्मिहरुसँगको
सुसँगत
अबिस्मरणीय रहयो ।
सभाध्यक्ष एवं विज्ञ प्रशिक्षकहरु र सहभागी मित्रहरु सबैमा
यिनै हास्यब्यँगात्मक काब्य शैलीका शब्दहरुका साथ हार्दिक अभिवादन ।
२०३८ सालमा मध्यस्थता ऐन लागू हुदा काठमाण्डौ जिल्ला
अदालतमा प्रारम्भिक कार्य गर्न पाएको सुखद अनुभूतिको स्मरणका साथ न्यायसेवाको
वरिपरि ४३ वर्ष १० महिना ५ दिन र सुनको तस्करी नियन्त्रण जाँचबुझ आयोगको अध्यक्षको
जिम्मेवारीमा ५ महिना १५ दिनको राष्ट्रसेवाको यात्रा, आजदेखि
अनौपचारिक तर कानूनी रुपमा राष्ट्रसेवक सरहको यात्रा पुनः आरम्भ भएकोमा स्वयं गदगद
छुँ । यस अवसरका लागि नेप्का परिवार प्रति प्रशिक्षार्थि सबैको तर्फबाट र
ब्यक्तिगत तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
अदालती न्याय खर्चिलो, झन्झटिलो र अनिच्छित
बिलम्बको आरोप लागिरहेको बेला न्यायको बैकल्पिक उपाय (ADR) का रुपमा आएको मध्यस्थताको अवधारणा र मध्यस्थता परिषदको
स्थापना र शिक्षण प्रशिक्षणको निरन्तरतासँगै कुसल र सक्षम मध्यस्थहरुको तयारको
क्रममा नेप्काको निरन्तर यात्रा र प्रयास तथा उपलब्धि प्रशँसनीय छ । तर नियुक्ति, सूचना, दाबी,
प्रतिदाबी, प्रमाण परीक्षण आदि पछि हुने छलफल र एवार्डसम्मको
सम्बन्धित नियमले दिएको समयलाई र बेलाबेलामा मध्यस्थता चलिरहेकै क्रममा न्यायिक
उपचारका लागि हुने गरेका अदालती अभ्यासहरु सबैलाई सम्झदा अदालती अर्थात औपचारिक
न्याय सरह नै त हुने होइन ? भन्ने चिन्तायुक्त सँकेतको
पनि अनुभूति भयो ।
यतिबेला छिमेकी मुलुक भारतका सुप्रशिद्द न्यायमूर्ति भिआर
कृष्ण ऐय्यरले अफ द बेञ्च पुस्तक (पृष्ठ
६१) मा ‘’Justice
business is all of us common business, so must possess efficiency together, with modernizations as an attribute’’ भनेर लेखेको र आफ्नै नवौँ
प्रकाशन (२०७० साउन) , इजलास बाहिर पुस्तक (पृष्ठ
११५) मा उद्दरण गरेका हरफहरु सम्झदै, सम्बन्धित सबैको साझा सतत
प्रयत्नबाट न्यायको अभिष्ट पुरा हुने र त्यसकालागि उच्च नैतिकता (Intergrity) , सक्षमता
(Capability) र अन्तरहृदयबाट
न्यायप्रतिको समर्पण (dedication) आवश्यक पर्ने ब्यक्तिगत
अनुभूति र बुझाई साझेदारी गर्नु अस्वभाविक नहोला ।
फेरिपनि व्यवस्थापकीय तैयारी र विज्ञहरुको प्रस्तुतिको
हार्दिक प्रशँसा गर्न चाहन्छु तर सुन भएरपनि केही मान्छेहरुको मन सन्तोष हुदैन । सुनमा सुगन्ध खोज्ने क्रममा
माथि माथिको कल्पनामा रमाउने बौद्दिक र विवेकशिल जमात पनि हो मानव जाति ।
अतः उपलब्ध व्यवस्थापन र प्रशिक्षण रुपी सुनमा सुगन्त हुनका
लागि केही पायनहरु थप्नु अझ बेश हुनेछ भन्ने लागेर यहा केही पायनहरुलाई बूदाँगत
रुपमा मात्र राख्ने अनुमति माग्दछुः
१) परिचय,
परिभाषा वा भुमिका सन्दर्भहरुमा आवश्यकता भन्दा धेरै समय खर्चिएको र कता कता
सहभागिहरुको ज्ञान सीप र क्षमता अर्थात लेभलतर्फ पर्याप्त दृष्टि नपुगेकोले
सन्तुलनता जरुरी लाग्यो ।
२) स्लाइडहरु लेखाउने धेरै,
देखाउने आधि र बुझाउने एकचौथाई जस्तो भयो । यसमा बुझाउने स्लाइडहरुको सँख्या बढी र
वस्तुपरक हुदा झनै राम्रो भन्ने लाग्यो ।
३) मध्यस्थताको क्षेत्राधिकार
सम्बन्धी बिबादमा न्यायिक अभ्यासका उदाहरणहरु पर्याप्त आए तर समान तथ्यमा असमान
निष्कर्षका उदाहरणहरु आउन सकेनन । प्रशिक्षार्थिहरुमा ए, यस्तो र त्यस्तो पनि हुदो रहेछ भन्ने जान्न पाउने
अवसर दिनु राम्रो होला । जसबाट सहि सीप आर्जनको अवसर
अभिबृद्दि हुनेछ ।
४) बिषय वस्तु (Issue based) प्रस्तुतिमा निर्माण खरिदीले पुरै समय र स्थान लियो
। वस्तु खरिद र सेवा खरिदी पनि हुन्छन है भन्ने उदाहरण हुन सके झनै राम्रो हुनेछ ।
५) सहभागिहरुको यस क्षेत्रको बुझाई
गराई र भोगाइका अनुभवहरुको साटासाटको सत्र रहेन । रहेको भए अनुभव आडिलो गुरु हो
भन्ने ज्ञान सबैमा हुने थियो ।
६) मस्यौदा स्वयंमा एक विज्ञता
हासिल गर्नुपर्ने जटिल बिषय हो । तर Award
Drafting को पाटोलाई आवश्यक समय
दिएर न्याय भयो भन्ने लागेन । समय अरु दुई दिन बढाएर भएपनि उल्लिखित सन्दर्भहरुमा
थप ज्ञान आदान प्रदान हुन सके, सुगन्ध सरह हुने थियो ।
७) बेलाबेलामा Mid-Award को अभ्यास छ त भनियो, तर के कुनमा र कसरी
कसरी ? समयक्रममा यसको आवश्यकता बढ्ने संभावनाले यसमा पनि
छुट्टै सत्र राख्न सकिन्छ भन्ने लाग्दछ ।
८) तागतदिने खान्गी त पोषिलै
देख्यो र भेट्यौ तर बौद्दिक खान्गी राख्ने कपि
दुब्लो हुदो रहेछ नेप्कामा । किन होला बुझ्न सकिएन । यसमा केही पाना थपेर
परिशिष्ठमा मध्यस्थता ऐन, नियमावली, नेप्का
विधान र कार्यविधि, राखेर-नेप्का
डायरी र अझ सके नेप्का ह्याण्डबुक नै बनाउन सके क्याबात हुने पनि लाग्यो । प्राप्त
गतिलो झोलामा ओजिलो बौद्दिक खुराक राखेर हिड्दाको मजा लिन सबैले पाउने थिए ।
भन्न सजिलो छ तर गर्न कठीन हुन्छ भन्ने तथ्य बुझ्दा
बुझ्दैपनि यिनै केही गनगन गरियो । नेप्काको गुनगान कर्मले बढाउदै लगोस भन्ने र नेप्का
मध्यस्थता बिबाद समाधानको एकमात्र सगरमाथा बनोस भन्ने सदिक्षाले यस शैली र कोणबाट अनुभूति
र सुझाव प्रस्तुतिमा बल दिएको हो । अन्यथा होइन भन्ने सबिनय निबेदन गर्दछु ।
अन्तमा, सशरीर सहभागी हुनेहरु सबैको
तर्फबाट अनलाइनबाट प्रशिक्षित हुनुहुने सबैमा हार्दिक शुभेच्छा र सम्मान प्रकट
गर्दै, सबै प्रशिक्षकहरु र हरेक व्यवहारमा व्यवस्थापकीय
कौशलता प्रदर्शन गर्नुहुने नेप्काकर्मिहरुको सतत प्रयासको प्रँशसाकासाथ हार्दिक
धन्यवाद ब्यक्त गर्दछु ।
आरम्भमा केही ठट्यौली र केही ब्यँग्यात्मक शैलीका काब्य
शब्दहरु राखेपनि बिट मार्ने क्रममा केही गंभिरताका साथ अनुशिक्षणमा इन्जिनयर र
कानूनी साहित्य क्षेत्रको सहभागिताको बाहुल्यतालाई मनन गर्दै, काब्यशैलीका
थप शब्दहरु राख्ने अनुमति चाहन्छुः
तिमी इञ्जिनियर बनेर तथ्याङ्कहरु हेरिरहु
म कानूनका दफा उपदफाहरु पल्टाइरहने छु ।
तिमी सधै हिसाब फरक नपर्ने गरी हेर
म पनि निसाफ नबिग्रने गरी हेर्नेछु ।
तिमी इस्टिमेट, डिजाइन र परफरमेन्सतिर जाउ
म डकुमेन्टेसन, विडबन्ड, र
बैङ्क ग्यारेण्टी,
अन्तरिम वा अन्तरकारलिन आदेशतिर जानेछु ।
तिमी एल डी का जँघारहरु खोतल्दै जाँउ
म सम्झौताका शब्दहरु छिचोल्न,
तिम्रा डोबहरु पछयाउदै आउनेछु ।
तिमी सत्यऽ न्यायी र सदविवेकी बन्यौभने
मलाई पनि तिमीले त्यही त्यही नै पाउने छौ ।
किनकी, यतिवेला तिमी
हामी
एउटै गन्तब्यका सहयात्री बनेका छौ,
मध्यस्थको कलम समाउनु अघि
सत्य न्यायी र सदविवेकी बन्नेछौ भनेका छौ ।
संविधान कस्सम भनेका छौ
नेप्का कस्सम भनेका छौ
नेपाली जनता कस्सम भनेका छौ ।
धन्यवाद नमस्कार
२०८२।०५।२१ गते । नेप्का सभाहल । कुपण्डोल
-(***प्रस्तोताः उच्च अदालत पोखराबाट
२०८० श्रावणमा अवकाश प्राप्त न्यायाधीश तथा सुन तस्करी
नियन्त्रण जाँचबुझ आयोग २०८० का पूर्व अध्यक्ष समेतको अनुभव हासिल गरेका मध्यस्थता
सम्बन्धी आधारभूत प्रशिक्षण २०८२।५।१७ देखि २०८२।५।२१ का प्रशिक्षार्थि, आचार्य, ‘’प्राकृतिक
न्यायको सिदान्त ‘’(२०४८)
देखि ‘’काब्यरसमा पोखरा’’ (२०८०)
सम्मका विभिन्न १२ वटा पुस्तकका लेखक पनि हुन ।समापन सत्रमा प्रशिक्षार्थिहरुको
तर्फबाट दिएका मौखिक अभिब्यक्तिहरुको लिखित प्राप्ति हो यो आलेख _ संपादक)
No comments:
Post a Comment