Tuesday, 11 November 2025

बढ्दो अविश्वास र दबाबहरुमा सरकार (मेचिकाली कार्तिक २३ मा प्रकाशित )

जेनजी आन्दोलनको जगमा, गत भाद्र २३ गते दिउसोतिर काठमाण्डौको वानेश्वर चौक नजिक चर्का भाषण गरेपछि उचालिएको माहोलमा संविधान मिचिने गरी प्रधानमन्त्री बन्न राजीभएकी, सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका दिनहरु एकपछि अर्को गर्दै पेचिला बन्दै गएका छन । विश्वासका खाडलहरु र दबाबहरु बढ्दै गइरहेका छन।

अन्तरिम सरकार गठन हुदा असंवैधानिक रुपमा भयो । यसले चुनाव गराउन पनि सक्दैन र चुनाव घोषित मिति फागुन २१ मा हुने अवस्था नै छैन । अन्तरिम सरकार बिचमै पनि जान सक्दछ.... भन्ने भावमा तर्क गर्ने र लेखहरु लेख्ने सबैलाई केही केहीले चुनाव बिरोधी भन्ने भाका र आँखा हेरे । लोकतन्त्रमा आवधिक निर्बाचन अनिवार्य शर्त हो तर त्यो संवैधानिक सरकारले मात्र विधिसम्मत रुपमा गराउने हक राख्दछ । जहा विधिसम्मत सरकार र विधिसम्मत चुनावको आरम्भ हुन्छ । जनताले मताधिकार प्रयोग गर्न पाउने शान्तिपूर्ण वातावरणको प्रत्याभूतिमा विश्वस्त भइरहेका हुन्छन, त्यहाँ हुने चुनाव मात्र लोकतान्त्रिक पद्दतिको रक्षाको माध्यम हुन सक्दछ ।

चुनाव घोषणा भएको दुई महिनाको अवधि पुग्नै लागि सक्यो । चुनवाका लागि गर्नुपर्ने धेरै कामहरु थालनी गर्न नै सकिरहेको देखिदैन । अति विलम्ब भइसक्यो । मूलतः मुख्य राजनीतिक दल मध्येको नेकपा एमाले चुनावकालागि तैयारी नै छैन । विश्वसनीय वातावरणमा बन्दछ भन्नेमा विश्वस्त हुन सकिरहेको छैन । अध्यक्ष, स्थान हद आदेशभित्र छन । प्रायः सबै दलहरु भरखरै छिन्नभिन्न भएका छन । टाउकाहरु जोडिएका छन । भुँडी र खुट्टाहरु बिनाको मुर्कुट्टा जस्तो अवस्थामा रहेका छन । कति त हिड्नै नसक्ने अवस्थामा रहेका छन । गाउँ गाउँमा जाने कसरी र मतदाताहरुको आकर्षका लागि लाने के चाही ? भन्नेमा रनभूल्ल छन । 

निर्बाचनका लागि आवश्यक कानून (बिदेशमा रहेका नेपालीहरुको मताधिकार र निर्बाचन प्रकृया आदि) हरु अध्यादेशकै माध्यमबाट भएपनि आउनै बाँकी नै छन । प्रहरी प्रमुख प्रमुख पद रिक्त हुनै लागि सक्यो । प्रमुख निर्बाचन आयुक्त पद रिक्त भएको धेरै भयो । जबरजस्त रुपमा उठिरहेको मुख्य कुरा भनेको जेनजि आन्दोलनको उद्देश्य पुरा हुनेतर्फको सरकारी कदमको गतिशिलता शून्यतामा रहेको छ । 

सिदान्ततः सुशिला कार्कीलाई प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेलले नै बनाएका हुन । अझ उनले नमान्दा नमान्दै सङ्कटको बेला नेतृत्वमा आउन नमान्ने राष्ट्रघाती भनेर सार्वजनिक गरिदिउ ..भन्ने सम्मका डबलफसल पछि मात्र उनले स्विकार गरेकी भन्नेपनि छ । अर्कोतिर उनी आफैले जेनजी नानीहरु नै आएर प्रधानमन्त्री तपाई नै प्रधानमन्त्री भइदिनु परो भनेर रोएँ, अनि बाध्य भए’’ भनेकी हुन । छापाहरुले लेखे अनुसार जेनजीहरुले डिस्कर्टमा गरेको छलफलबाट बालेन साह प्रधान मन्त्री भन्ने थियो तर उनले नमानेर सुशिला कार्कीको नाउ प्रस्ताब गरेकाले सुशिला कार्कीको पोल्टामा आएको हो प्रधानमन्त्री पद । परिस्थिति क्रमशः यस्तो हुदै गएको छ कि घोषित निर्बाचनको सफलता र प्रधानमन्त्री पदको निरन्तरता ‘’खाउँ भने दिनभरिको शिकार नखाउ भने कान्छा बाउको अनुहार’’ बन्दैछ ।

प्रधानमन्त्री पद नखाएर उनलाई दिने बालेन साह रिसाएर भित्रभित्र अन्य योजनाका तानाबानाहरु बुन्दै बसेका छन । मध्यरातमा धुँवा उडाउदै अन्टसन्ट स्टाटस राख्दै मौन मस्तिमा छन । अर्कोतिर उनी प्रधानमन्त्री हुदा आमाक्क्क् भनेर गोडा ढोक्न भुइमा लम्पसार पर्ने युवा (नवयुवाचाहि रहेनछन) सुदन गुरुङग, सुशिला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको मात्र कुरा सुनेको र ओमप्रकाश अर्यालले माखो मार्न नसकेको भन्दै कुर्लन लागेका छन । छापाहरुमार्फत कुर्लदा कुर्लदै सडकमै उर्लने आशँकाजन्य स्थिति देखिएको छ । खास गरी सेतो पाटी अनलाइन खबरमा मिति २०८२।०७।२२ गते प्रकाशित उनको अन्तरवार्ताले उनी गृहमन्त्रीसंग वारकी पारको स्थितिमा पुगिसकेका छन र प्रकारान्तर रुपले आमा (सुशिला) ले पनि धोकादिन लागेको सँकेत गरेका छन । ‘’गृहमन्त्री प्रधानमन्त्रीको मान्छे भन्दैमा देश डुबाउन त भएन नि’’ भन्दै ‘’जेनजीले उठाएका (सुशासन भ्रष्टाचार नियन्त्रण र जेनजी आन्दोलन दमनकारीहरु उपरको कारबाहिको ततकालिनता) मागहरु संवोधनविहिन अवस्थामा रहेका र खाली चुनाव चुनाव’’ भन्दै कुर्लेको देखेर उनी दिक्क छन । आक्रोसित छन भन्ने बुझिन्छ । 

राजनैतिक उपलब्धिलाई बहुपक्षीय सम्झौतामा राखेर आन्दोलनको वैधानिकता कायम गर्नमा चुके जेनजीहरु । अनुभव र अनुभवी उपयुक्त सल्लाहाकारको अभावमा पनि रहे । ततकाल निश्चित योजना पनि बनाउन सकेनन । न त सँगठित नै हुन सके । परिणाम ओली सरकार ढलेपनि राज्यसत्ताका पुराना सबै प्रभृति (फिगर) हरु ढलेनन । शासन प्रशासनभित्र पुरानो संस्कार हाबी भइरहयो । परिस्थितिले विधान बनाउने मान्यता पराजित हुदै आर्यघाट यात्रामा रहेका थोत्रा विधिहरुको आडमा विधिको शासनको दुहाइले जेनजीका मागहरु अलपत्रमा पर्ने र वलिदानी खेर जाने त्रासादिमय अवस्थामा पुगेको छ । 

सुशिलालाई प्रधानमन्त्री बनाउने बेला चुनावको ‘’च’’ पनि उठाइएको होइन ....’चुनाव त हुनै दिन्न । एक हुन दिन्न । दुई हुन दिन्न । तीन हुन दिन्न...’’ गृहमन्त्रीबाट ओमप्रकाश अर्याललाई हटाउनै पर्ने भयो....भन्ने उनका अभिब्यक्तिहरु र एकदुई दिनमा थप मुख खोल्ने भन्ने धम्कीपूर्ण शब्दहरुले सरकार झन सङ्कटमा पर्ने देखिदैछ । घोषित मितिमा चुनाव झनै नहुने अवस्था बढ्दै छ । 

यसको मूल कारण विधिहिन तरिकाले जन्म भएको सरकारलाई विधिहिन तरिकाबाटै सञ्चालन गर्न बाध्य पार्ने गैरसंवैधानिक शक्तिकेन्द्रहरुको निहित स्वार्थ र रणनीति नै हो । विगतमा पनि आलोचना मुक्त कुनैपनि सरकार देखिएन । प्रायः सबै सरकारप्रति जनताको विश्वास हुन सकेन र एकपछि अर्को गर्दै ढल्दै गए । सुशिला कार्कीको सरकारप्रतिको विश्वासको प्राथमिक प्रश्न भनेको संवैधानिकताकै अभाव नै हो । त्यसपछिको अहम आधार भनेको जेनजीका मागहरुको संवोधनमा असफलता हो । अनि हो, प्रशासनिक,न्यायिक र सुरक्षा संयन्त्र सहित सबैतिर रहेको यथास्थितिवादी शक्ति, सोँच र रुपान्तरविहिन कार्यशैली । 

संविधान उही, कानूनहरु उनै, कानून कार्यान्वयन अधिकारीहरु उनै, न्यायालय उही र न्यायाशीनहरु उही मानसिकताका,सुरक्षाधिकारीहरु उनै र उही शैलीका, सार्वजनिक सेवाका सबै सेवाप्रदायकहरुका अगुवाहरुमा सबै उनै ! अनि हुन्छ परिवर्तन अर्थात अनि कसरी हुन्छ जेनजीका मागहरुको संवोधन ? । उनी अर्थात सुशिला कार्की नै प्रधानमन्त्री हुनुपर्छ भन्नेहरुले नै उनिप्रतिको विश्वासमा शङ्खा जनाउने र विशेषतः गृहमन्त्रीलाई जसरीपनि हटाउने अभियानको उदघोषसम्मका आजसम्मका घटनाक्रमले सरकारप्रतिको र घोषित मितिको चुनाव प्रतिको विश्वासको धरातल झनै खलवलिएको छ । हामीले गत भाद्र २३ र २४ गते कार्यरत सबै प्रहरीको नामावली दिएका छौ,लौ कारबाही कस कसलाई गर्ने हो गर, भन्ने भावमा प्रहरी महानिरीक्षक कुबेर खापुँगको पछिल्लो भनाई (वक्तब्य) झनै मार्मिक र पेचिलो बनेको छ । 

विश्वास यस्तो अध्याय हो, जुन भत्क्योभने उठाउन निकै कठीन हुन्छ । राजनीतिक, अर्थतन्त्र, सामाजिक संरचना र बुझाई, सांस्कृतिक अभ्यास आदि सबैमा रुपान्तरण खोजेको समयको आवश्यकताको संवोधन भैरहेका विधिले हुन नसक्ने निश्चित प्रायःको अवस्था बिध्यमान हुदा हुदै, विधि परिवर्तनमा नलागेर यथास्थितिमा मागहरुको संवोधन हुने अपेक्षा गर्नु नै महाभूल भइसक्यो । सकेजति विधि र कुसंस्कार परिवर्तन गर्नुपर्नेमा सबैकाम विधि सम्मत, विधिसम्मत भन्ने हठले झनै विश्वास गुमाएको छ । 

बिर्सनु हुदैन कि समय भनेको जहिलेपनि रुपान्तरित हुन्छ । यथास्थितिवादी हुदैन । रुपमान्तरणकारी पुस्तान्तरणमा विश्वास गर्न नसक्दा र त्यसतर्फ विश्वास जगाउन नसक्दाको परिणाम आफै सकिनु नै हो । आफू सकिएपछि कसले अरु अरुलाई बचाएको वा बनाएको छ ? आफै सकिएको मान्छेले अरु कस कसलाई बनाउन वा बचाउन सक्दछ र ? सक्दैन । त्यस्ताले राष्ट्र बचाउने कुरा त झनै महाभारतको बिषय हो ।  बमचमजबलदयत।दयिनकउयत।अयm 

 

२०८२।०७।२१                            ऐरावती १ धनवोट। प्यूठान